Author:

  • सकियो यो सिजनको आरोहण, आठ जनाको मृत्यु, छ सय बढीले टेके सर्वोच्च शिखरको चुचुरो

    सकियो यो सिजनको आरोहण, आठ जनाको मृत्यु, छ सय बढीले टेके सर्वोच्च शिखरको चुचुरो

    सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पा विश्वको सवोच्च शिखर सगरमाथाको सफल आरोहण गरेयता हजारौं आरोहीले सगरमाथाको आरोहण गरिसकेका छन्।

    त्यसो त सगरमाथामा पहिलोपटक पाइला टेकिएको ७१ वर्ष पुगे पनि यसको आरोहण इतिहास भने सय वर्ष लामो छ। सन् १९२१ मा जर्ज म्यालोरी र गे बुलकसहितको बेलायती टोलीले पहिलोपटक सगरमाथा आरोहणको यात्रा थालेको थियो।

    प्रत्येक आरोहीहरु विश्वको सर्वोच्च शिखरमा पाइला टेक्नका लागि लालायित् हुन्छन्। यसैले प्रत्येक वर्षको वसन्तकालीन सिजनमा संसारभरीबाट सयौंको संख्यामा आरोहीहरु पर्यटन विभागबाट अनुमति लिई सगरमाथा आरोहणका लागि आउने गर्छन्। बर्षौसम्मको आर्थिक, शाररीक तथा मानसिक तयारी गरी आरोहीहरु सर्वोच्च शिखरको चुचुरोमा पाइला राख्न निस्कन्छन्।

    यस वर्षको वसन्तकालीन सिजनका लागि गत वैशाख २८ गते सगरमाथा आधार शिविरदेखि शिखरसम्म जाने हिमाली बाटो निर्माण कार्य सम्पन्न भएको थियो। बाटो निर्माण सम्पन्न भएसँगै सगरमाथा आरोहणका लागि विभागको अनुमति लिएका स्वदेशी तथा विदेशी आरोही र तिनका कामदार एवम् सहयोगी, पथप्रदर्शक, सबैजनालाई आरोहणका लागि बाटो खुलेको थियो।

    यस्तै वसन्त ऋतुको आरोहण अवधिभरका लागि पर्वतारोहण अनुगमन तथा सहजीकरणका लागि सगरमाथा बेस क्याम्प (इबिसी)मा पर्यटन विभागको फिल्ड क्याम्प स्थापना गरिएको थियो। पर्वतारोहण अनुगमन र सहजीकरण समिति सदस्य गठन गरी विभागले यस सिजनदेखि इबिसीमा आफ्नै विभागको फिल्ड कार्यालय स्थापना गरेको थियो। पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिका सदस्य सचिव प्रमुख नापी अधिकृत गौतमको नेतृत्वमा सगरमाथा बेसक्याम्पमा फिल्ड कार्यालय स्थापना गरिएमा सिजन सकिएपछी फिल्ड विभाग टोली पनि काठमाडौं फर्किसकेको छ।

    ६ सय बढीले गरे सगरमाथाको आरोहण

    सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन् । यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ ।

    विभागको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष वसन्तकालीन सिजनमा विभिन्न आरोहण दलबाट आरोही सदस्य तथा क्लाईम्बिङ गाईड गरी ६ सयभन्दा बढीले आरोहण गरेका छन् । यो तथ्याङ्क केही घटबढ् पनि हुन सक्ने विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरूङले बताए ।

    ‘विभागको प्रारम्भिक तथ्याङ्क अनुसार अहिले ६ सय बढी आरोहीले सगरमाथा आरोहण गरेका छन्,’ उनले भने, ‘लगभग यस सिजनको आरोहीहरुको संख्या यत्ति नै हो, नभएपनि पछि यो संख्या थोरै तलमाथि हुन सक्छ।’ उनले यस सिजनको सम्पूर्ण आरोही र आरोहण कम्पनीहरु सगरमाथा क्षेत्रबाट फर्किसकेको बताए।

    ६८ करोड ९९ लाख ७५ हजार राजश्व संकलन

    वसन्तकालीन सिजनमा सगरमाथा लगायत ३० हिमालका लागि विभागले आरोहण अनुमति दिएको थियो। जम्मा १ हजार २ जनाले हिमाल आरोहणका लागि अनुमति लिएकोमा ७९२ पुरूष र २१० महिला रहेका छन्। जसमध्ये सगरमाथा हिमालको लागि मात्र विभिन्न मुलुकका ४२१ जना आरोहीले विभागबाट आरोहणका लागि अनुमति लिएका थिए। जसबाट सरकाले ६८ करोड ९९ लाख ७५ हजार रूपैयाँ राजश्व दस्तुर संकलन गरेको थियो।

    हाल सरकारले जम्मा ४०५ वटा हिमाल खुला गरेको छ । कुल ४०५ हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ ।

    ८ जना आरोहीको मृत्यु/बेपत्ता

    विश्वको सर्वोच्च हिमाल सगरमाथाको मान, सम्मान र चर्चा जति लोभलाग्दो छ, आरोहण गर्नु त्यती नै चुनौतिपूर्ण छ। सगरमाथा हिमाल नाम, दाम, सम्मान र कीर्तिमानका कथाले मात्र रंगिएको छैन्,आरोहणको क्रममा ज्यान गुमाउने र उनीहरुका परिवार तथा आफन्तमा परेका कहिल्यै नमेटिने पिडादायी सम्झनाले पनि पोतिएको छ।

    सगरमाथामा गरिने सबै आरोहणहरु सफल हुदैनन्। विविध कारणले कतिपय आरोही तथा गाइडहरुको सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु हुन्छ। यसैक्रममा यस वर्षको वसन्तकालीन सिजनमा ८ आरोहीको मृत्यु/बेपत्ता भएको छ। पर्यटन विभागका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा मृत्यु/वेपत्ता भएका आरोहीहरु ८ जना छन् भने एक जना आरोहीको ल्होत्से आरोहणका क्रममा तेस्रो शिविरमा ज्यान गएको पर्यटन विभागले जनाएको हो।

    आरोहणको क्रममा मृत्यु हुनेमा तीन आरोही नेपालका रहेका छन् भने बाँकी ५ जना विदेशी रहेको विभागले जनाएको छ। मृत्यु हुने नेपाली आरोहीमा संखुवासभाका २३ वर्षीय पास तेन्जी शेर्पा, सोलुखुम्बुका ४४ वर्षीय ङवाङ शेर्पा र कास्कीका ३७ वर्षीय विनोद बाबु वस्ताकोटी रहेको विभागले जानकारी दिएको छ।

    मृत्यु भएका तीनमध्ये पास तेन्जी शेर्पा र विनोद बाबु वस्ताकोटीले सगरमाथाको शिखरमा पुगेको तर ङवाङ शेर्पाले भने सगरमाथाको शिखरमा पाइला टेके नटेकोको यकिन नभएको विभागले जनाएको छ। यस्तै,पास तेन्जी शेर्पा हिलारी स्टेपदेखि काङसङ फेससम्मको दुरीमा हराएको र ङवाङ शेर्पा चुचुरो क्षेत्रमा हराएकोमा दुवैैको अवस्था हालसम्म अज्ञात रहेको विभागले जनाएको छ।

    यसै क्रममा मृत्यु हुनेमा २ आरोही मंगोलियाका, तथा बेलायत, रोमानिया, केन्या र भारतका एक एक आरोही रहेका छन्। दुवै मंगोलिएन आरोहीहरुको मृत्यु सगरमाथाको साउथ समिटमा मे १३ तारिकमा भएको विभागले जनाएको छ। यस्तै विभागका अनुसार दुवै आरोहीले सगरमाथाको शिखरमा पुगे या नपुगेको यकिन भएकौ छैन।

    यस्तै,बेलायतका ४० वर्षीय आरोही डानियल पैलले भने सगरमाथाको चुचुरोमा पाइला टेकेको विभागले जनाएको छ। सगरमाथाको चुचुरोमा पाइला टेकेका उनी पास तेन्जी शेर्पासँगै हिलारी स्टेपदेखि काङसङ फेससम्मको दुरीमा हराएको विभागले जनाएको छ।

    केन्याका ४० वर्षीय जोसुआ चेरियट किरुई र भारतका ४७ वर्षीय बंशिलाल भने सगरमाथाको शिखरमा नपुगेको विभागले बताएको छ। यसैक्रममा रोमनियाका ४६ वर्षीय ग्याब्रियल भियोरेल ताबारा भने ल्होत्से हिमाल आरोहणको क्रममा ज्यान गुमाएका हुन्। उनले पनि ल्होत्से हिमालको चुचुरोमा पाइला नटेकेको विभागले जनाएको छ।

    तीन नेपाली आरोहीले बनाए विश्व कीर्तिमान

    सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर होस् वा सानै उमेरमा शिखर चुमेर होस्। अक्सिजन बिना आरोहण गरेर होस् वा सबैभन्दा छिटो आरोहण गरेर नै किन नहोस्। संसारभरिका धेरै आरोहीले धेरै प्रकारका कीर्तिमान त्यहाँ कायम गरेका छन्। त्यो क्रम अहिले पनि निरन्तर छ।

    यसवर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि विश्वभरबाट ६ सय धेरै आरोहीहरूले सगरमाथा आरोहण गरे। तीमध्येका तीन नेपाली आरोही थामेका कामिरिता शेर्पा, गोर्खाकी पूर्णिमा श्रेष्ठ र फुन्जो जाङ्मु लामाले विश्व कीर्तिमान कायम गरे।

    कीर्तिमानी कामिरिताले यसअघि आफ्नै नाममा रहेको सर्वाधिक पटक सगरमाथा चढ्ने आफ्नै कीर्तिमान भंग गरेका हुन्। उनले ३०औं पटक सगरमाथाको चुचुरोमा पाइला राख्दै आरोहणको दुर्लभ कीर्तिमान आफ्नो नाममा नै कायम राख्न सफल भए।

    फोटो पत्रकारसमेत रहेकी आरोही पूर्णिमा श्रेष्ठले एकै ऋतुमा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएकी छन्। यससँगै एकै ऋतुमा तीन पटकसम्म सगरमाथा आरोहण गर्ने उनी पहिलो महिलासमेत बनेकी छिन्।

    गोरखाकै आरोही फुन्जो जाङ्मु लामाले पनि यस ऋतुमा विश्व कीर्तिमान राखेकी छिन्। उनले सबैभन्दा छोटो समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राखेकी हुन्। लामा आधार शिविरबाट १३ घण्टा ३१ मिनेटमै सगरमाथाको शिखरमा पुगेकी हुन्।

  • बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा

    बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको छः सांसद शर्मा

    नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले आर्थिक वर्ष २०८१/०८२ को बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका छन्। आईतवारको राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ माथि छलफल गर्दै बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको बताएका हुन्। उनले बजेटले समाजवादी आधार तयार पार्ने दिशा पक्रेको पनि बताए।

    निजी, सार्वजनिक र सरकारी स्वामित्वको मोडेलबाट मात्र समाजवादको आधार तयार गर्न सकिने भन्दै उहाँले सोही अनुरुपको बजेट रहेको सुनाए। त्यस्तै बजेटले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको पनि उनको भनाई छ।

    उनले भने,‘बजेट सन्तुलित र वस्तुवादी ढंगले आएको अनुभुति गर्न सकिन्छ। यो बजेटले समाजवादको आधार तयार पार्ने स्प्रिट समातेको छ। कार्यान्वयनको हिसावले कतापटि जान्छ हेर्न बाँकी छ। यसको स्प्रिट समाजवादको आधार तयार पार्ने ढंगले अगाडी बढेको महशुस भएको छ। किनकी समाजवादको आधार भनेको स्वभाविक हिसाबले निजी स्वामित्वलाई मात्रै प्राथमिकता दिएर वा विशुद्ध निरपेक्ष रुपमा राजकीय स्वामित्वलाई मात्र प्राथमिकता दिएर बन्दैन। निजी, सार्वजनिक र सरकारी स्वामित्वबाट पीपीपीको मोडेलबाट गएर आधार तयार पार्न सकिन्छ। समावेशी र समानुपातिक आधारमा दलिय प्रतिष्पर्धा र प्रतिष्पर्धाभित्र पनि कार्यान्वयन गर्नका निम्ति सहमती, सहकार्य र एकताको स्प्रिट समातेको छ राजनीतिक हिसाबले। सांस्कृतिक, सामाजिक हिसाबले यसले सामाजिक न्याय र समृद्धिको दिशा पक्रेको छ।’

    यस्तै,उनले नेपाल बन्दैन भन्ने भाष्य स्थापित गराउन खोज्नेहरुलाई बजेटले झापड दिएर नेपाल बन्छ भन्ने स्थापित गराउन खोजेको बताए।

  • मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

    मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहन गर्नुपर्छः उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका छन्। आईतवार भक्तपुरमा भएको मातृ भाषामा पहिलो अन्तर्रास्ट्रिय पत्रकारिता सम्मेलन समापन कार्यक्रममा बोल्दै उनले मातृभाषाको संरक्षण र विकासमा सरकारका निकायहरुले आवश्यक ध्यान दिन जरुरी रहेको बताएका हुन्। मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

    उनले भने, ‘हामीले मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्नेछ। नेपाल सरकारको निकायहरुले पनि यसमा ध्यान दिन आवश्यक छ। मातृभाषामा पत्रकारिता गर्ने विषयलाई सरकारले महत्व दिएर प्रोत्साहित गर्न आवश्यक छ। मातृभाषाबाट सञ्चालन भएका मिडियाहरुलाई म सम्मान गर्न चाहन्छु। यो प्रकाशन वा प्रशारणको विषय मात्र नभएर यसले मौलिक संस्कृति जोगाउन योगदान पु¥याउँछ। म तपाईंहरुको योगदानको प्रशंसा गर्दछु। कदर गर्दछु। अहिले आदिवासी जनजातिका हराउँदै गएको अवस्थालाई संगठित भएर काम गर्न खोज्ने तपाईंहरुलाई सम्मान गर्दछु।’

    मन्त्री श्रेष्ठले आदिवासी जनजातिका हराउँदै गएका मौलिकताहरुलाई संगठित भएर काम गर्नुले लोपोन्मुख संस्कृतिको जगेर्ना हुने विश्वास व्यक्त गरे।

  • सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छः अर्थमन्त्री पुन

    सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको छः अर्थमन्त्री पुन

    अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव पेश गर्दै उनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताए। उनले बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबाट समेत स्रोतको संकुचनका बीच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको बताए।

    विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गर्नुभएको आधारमा सांसदहरुले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको र सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मुल आधार बनाएर बजेट ल्याएको दाबी गरे।

    उनले अर्थतन्त्र अफ्ठ्यारोबाट बिस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व आवश्यक भएकाले राजश्वमा कम क्षेत्र चलाएको बताए। उनले राजश्वका दर चलाएको क्षेत्र पनि उद्योग र उत्पादनको संरक्षण गर्र्ने भएको दाबी गरे। बजेट बनाउँदा स्रोतको संकुचन महशुस गरेर बनाएको उनले उल्लेख गरे।

    राष्ट्रिय अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको उनको भनाइ छ। गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि भन्दा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर राम्रो रहेको र मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको आर्थिक वृद्धिदरको प्रक्षेपणले पनि देखाएको उल्लेख गरे।

    उनले भने,‘मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको छ। सुखद् अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन। सरकारले यसमा मेहनत गरिरहेको छ। युवाहरुको चिन्ता र चासो बजेटले देशभित्रै भविष्य खोज्न सकिन्छ। त्यो सरकारले प्रयत्न गर्छ भन्ने जिज्ञासा रहेको अवस्था थियो। जनताले बजेटमा ठूलो अपेक्षा गरेका थिए। निजी क्षेत्रले बजेटले आशा जगाउन सक्छ की सक्दैन। निजी क्षेत्रको मनोवल उकासन सक्छ की सक्दैन भनेर खबदारी गरेको थियो। बजेटको दबाब थियो। त्यही दबाबमा मुलुकको अर्थतन्त्र अहिले पनि रहेको छ। सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। बजेट प्रश्तुत पछि सत्तापक्ष र प्रतिपक्षका मान्यसदस्यहरुबाट समेत स्रोतको संकुचनकाबीच पनि बजेट सन्तुलित र बस्तुवादी आयो भनेको सुन्दा पाउँदा सरकारले जिम्मेवारी पूर्वक बजेट प्रश्तुत गरेको महशुस गरेको छु। विनियोजन विद्येयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रश्तुत गर्नुभएको थियो। सांसदबाट आएको सुझावहरुलाई आत्मसाथ गरौं। सरकारले नीति तथा कार्यक्रम प्रश्तुत ग¥यो। त्यसलाई हामीले मुलआधार बनायौं। सिमित साधन स्रोतलाई विनियोजन कुशलताका साथ जिम्मेवारी पूर्वक विनियोजन गर्ने प्रयास गरेका छौं। राजश्वका दरहरुमा निकै कम मात्रै चलाउन खोज्यौं। अर्थतन्त्र अफ्ठ्यारोबाट विस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोवल उठाउने भनेको नीतिको निरन्तरता र स्थायीत्व भएको राजश्वमा कम क्षेत्र समाएका छौं। राजश्वका दर उद्योग र उत्पादनको संरक्षण गर्न समाएका छौं।’

    उनले बजेटले युवाहरुलाई देशभित्र भविष्य खाज्ने र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी आएको बताए।

  • पोखरामा कूटनीतिक पाहुनाको हाइकिङ (फोटो सहित)

    पोखरामा कूटनीतिक पाहुनाको हाइकिङ (फोटो सहित)

    उखरमाउलो गर्मिसँगै केहीदिनदेखि नियमित झै वर्षा हुँदा अन्यत्रको तुलनामा पोखरा केही शीतल छ। शनिबारको वर्षापछि त आइतबार झनै शीतल थियो। त्यही शीतलतामा हरियाली डाडाँकाँडा, वनजंगल, खेतबारी, बस्ती, खोलानाला नियाल्दै नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिले पोखरा र आसपासका क्षेत्रलाई आइतबार नियाल्ने मौका पाए।

    काठमाडौंबाट आइतबार बिहानै पोखरा ओर्लेका उनीहरु सिधै २० किलोमिटर परको धम्पुस उक्लिए। धम्पुस अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने मुख्य प्रवेशद्वार मानिन्छ। पोखराबाट धम्पुससम्म गाडीका उक्लेका उनीहरु धम्पुसबाट धितालतिर मोडिए अनि अस्तामसम्म हाइकिङ गरे। करिब अढाईघण्टाको पैदल यात्रा गरेर ती पाहुना अस्ताम ओर्लिए।

    हरियाली डाँडाकाँडा, वस्ती, वनजंगल, खोलानाला नियाल्दै कूटनीतिक नियोगका पाहुना साढे सातकिलोमिटर दूरी पुरा गरेर अस्ताम पुगेका थिए। अस्तामको अन्नपूर्ण इको भिलेज रिसोर्टमा खाना खाएर पोखरा नियाले। बादल लागेकोले पाहुनाले लुकेको हिमाल देख्न त पाएनन, तर हरियाली वनजंगल, बस्ती, खोलानाला नियाल्न पाउँदा भने उनीहरु औधि खुसी थिए।

    कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरुको एकदिने हाइकिङ आयोजना गर्नुको उद्देश्य थियो– अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवस। त्यही अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागि हुन कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरु पोखरा आएका हुन्। कम्तिमा दुइदिन पोखरामा रहने ती पाहुनाले पोखरा क्षेत्र घुमफिर गर्ने, फेवातालमा डुंगा सयर गर्ने कार्यक्रम रहेको पर्यटन बोर्डले बताएको छ। उच्चपदस्थ पाहुनाको यो भ्रमणले पोखरामा पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने व्यावसायीको अपेक्षा छ।

    पर्यटन बोर्डका अनुसार नेपालका लागि इजरायलका राजदूत हनान गोडर, सार्क महासचिव गोलाम सरवर, नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शना पाथिराना, नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, भारतीय राजदूतावासका काठमाडौं नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव, यूएसएआईडी, यूएनडिपी, यूएनएफपीए लगायतका निकायका प्रमुख र उच्च पदस्थ कर्मचारी हाइकिङमा सहभागि भएको बोर्डका पोखरास्थित निमित्त प्रमुख नवीन पोखरेलले जानकारी दिए।

    हाइकिङ नगएपनि पोखरामा हुने अरु कार्यक्रममा सहभागि हुन नेपालस्थित चिनियाँ राजदूत छन सोङ पनि आएका छन्। आइतबारदेखि सुरु भएको तीनदिने कार्यक्रममा सहभागि हुन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र सचिव सेवा लम्साल पनि पोखरा आउने तालिका रहेको पोखरेलले बताए।

    ‘अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवस पारेर कार्यक्रम गरेका हौ। यसमा उच्च पदस्थ कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारी आउँदा यसले पर्यटन क्षेत्रको प्रर्वद्धन हुने अपेक्षा गरेका छौं,’ पोखरेलले भने, ‘पाहुनाले हाइकिङ गर्दै आसपासको दृष्य नियाल्न पाए । उनीहरुले तस्बिर कैद गरे। त्यही तस्बिर सामाजिक सञ्जालमा राख्दा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नेछ।’

    उच्च पदस्थ पाहुनाको भ्रमणले पोखरा क्षेत्रको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन हुने पनि उनले बताए। बोर्डका अनुसार नेपालमा पर्यटक आगमन हुने प्रमुख मुलुकमध्ये पहिलो नम्बरमा भारतीय धेरै छन। त्यसपछि अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेश लगायतका मुलुकका पाहुना बढी आउँछन। ‘उच्च पदस्थ पाहुनाले सामाजिक सञ्जालमा राखेको एउटै फोटो नेपालको पर्यटन प्रवद्र्धनका लागि काफि हुन्छ। उनीहरुको भ्रमणले यो क्षेत्र घुमघामका लागि उपयुक्त, सुरक्षित रहेको सन्देश प्रवाह हुनेछ,’ पोखरेलले भने, ‘यसले पोखरा क्षेत्रप्रति पाहुनाको सकारात्मक धारणा पनि बनाउनेछ।’

    पाहुनाहरुसँगै सहभागि पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीका अनुसार अढाई घण्टाको हाइकिङले पाहुना निकै नै खुसी भएका थिए । ‘मौसमले पनि साथ दियो, खासै गर्मि पनि भएन। पाहुना निकै नै खुसी भए,’ पन्थीले भने, ‘वनजंगल, बस्तीको हरियाली दृष्यमा रमाउँदा पाहुना निकै नै रमाए।’ पन्थीका अनुसार पाहुनाले हाइकिङ गरेको उचाइँबाट धिताल, धम्पुस, मर्दीको फाँट, ल्वाङघलेलका बस्ती देखिन्छ। अरुबेला हिमाली दृष्य देखिने ठाउँ भएपनि बादलले गर्दा हिमाल देख्न नपाएको उनले बताए।

    ‘मनास्लुदेखि धवलागिरीसम्मको हिमाली श्रृंखला देख्न सकिने ठाउँ हो। तर, बादलले गर्दा देख्न पाइएन। तर, ग्रामिण र हरियाली बस्ती तथा वनक्षेत्र घुम्न पाउँदा साह््रै खुसी थिए,’ उनले भने। अझ ठाउँठाउँमा पञ्चेबाजा बजाउँदै पाहुनालाई सेलरोटी र गुन्द्रुकको स्वाद चाख्न पाउँदा पाहुना झनै रमाएको उनले बताए।

    टानका अध्यक्ष धर्मराज पन्थीका अनुसार अन्नपूर्ण दिवसको मूल कार्यक्रम भने सोमबार हुनेछ। सोमबार विशिष्ट पाहुनासहित गण्डकी प्रदेश सरकार, पोखरा महानगरका प्रमुख र प्रतिनिधिसहित पर्यटन क्षेत्रका संघ, संस्था, पर्यटन व्यवसायीको उपस्थितिमा पोखरा क्षेत्रकै हाइकिङ गराइनेछ। ‘पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उच्चपदस्थ पाहुनाको यो आगमनले विशेष अर्थ राख्छ,’ पन्थीले भने, ‘यसले साहसिक पर्यटन प्रवद्र्धनमा थप भूमिका निभाउनेछ। अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो बनाउने प्रयासमा हामी जुटेका हौ।’

    पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि विशिष्ट पाहुनाले गरेको हाईकिङले गण्डकी प्रदेशको पर्यटनमा विशेष महत्व राख्ने बताउँछन। ‘राजदूत र विशिष्ट पाहुनाको भ्रमणले गण्डकी क्षेत्रको प्रवद्र्धन भएको छ। आगामि दिनमा थप पाहुना भित्र्याउन सहज हुनेछ,’ श्रेष्ठले भने, ‘पाहुनाको भ्रमणलाई आधिकारिक मानेर अरु पर्यटक आउन उत्साहित हुनेछन।’ पोखरा र आसपासका क्षेत्रमा पाहुना भित्र्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए।

    अन्नपूर्ण दिवस विश्वका आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहण गरिएको पहिलो हिमाल हो। यसबाट नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ। सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरीस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका आठ हजार मिटर अग्लो हिमालमा पहिलोपटक आरोहण आरम्भ भएको दिनका रुपमा यो दिनलाई विषेश रुपमा मनाउन थालिएको हो।

  • आठ वर्षमा पनि बनेन शीत भण्डार

    आठ वर्षमा पनि बनेन शीत भण्डार

    पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन कोल्डस्टोर (शीत भण्डार) विगत आठ वर्षदेखि अलपत्र बनेको छ। आर्थिक वर्ष २०७३/७४ मा रु पाँच करोडको लागतमा निर्माण सुरु भएको उक्त कोल्डस्टोरले पूर्णता पाउन नसकेको हो।

    बेमौसममा सुन्तला र आलुलगायत फलफूल तथा तरकारीलाई बजारमा पठाउने गरी रु पाँच करोड लागत अनुमान गरी कोल्डस्टोर निर्माणको अवधारणा ल्याइएको थियो। दुई तलाको कोल्डस्टोर निर्माण योजना तीनै तहका सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको शीत भण्डार निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाले बताइन्।

    स्थानीय खेमबहादुर हमाल र बुद्धिकुमारी हमालको जग्गामा निर्माण थालिएको कोल्ड स्टोर एकतला बनेपछि अलपत्र बनेको छ। हमाल दम्पतीका नाममा रहेको जग्गा रकम निकासा आएपछि भुक्तानी गर्ने सहमतिमा कोल्डस्टोर निर्माण गर्ने सम्झौता भएपछि एक तल्ला बने पनि अहिले अपूर्ण संरचना जीर्ण बन्दै गएको स्थानीय बताउँछन्।

    घर नजिकै अलपत्र बनेको भवन देख्दा उदास लाग्न लागेको जग्गा दाता ६० वर्षीय खिमबहादुर हमालले बताए। विगत आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको यही भवन आज टाउको दुखाइको विषय बन्दै गएको उनको भनाइ छ। आफ्नै घर आँगनमा चिस्यान केन्द्र बन्ने कुरा सुनेर उत्साहित हुँदै गाई–गोठ समेत सारेर निर्माण समितिलाई जग्गा दिने सहमति गरेका हमालले अहिलेसम्म जग्गाबापतको रकम पाएका छैनन्।

    स्थानीय प्रेमबहादुर हमाल, मानबहादुर पौडेल र मनोजकुमार शर्माको रोहवरमा हमाल दम्पतीको सात आना एक दाम जग्गा रु १३ लाख ५० हजारमा खरिद गर्ने गरी तमसुक लेखिएको थियो। विसं २०७४ वैशाख १७ मा लेखिएको तमसुकमा उक्त जग्गा गङ्गा तिमिल्सिनाका नाममा सोही वर्षको जेठ १५ भित्र पास गर्ने उल्लेख छ। तिमिल्सिना निर्माण समिति अध्यक्ष छन्।

    दिन गन्दै बसे पनि यस्ता जेठ १५ अहिलेसम्म आठवटा गइसकेका हमाल दाम्पतीको भनाइ छ। “न जग्गा पास भएको छ, न रकम नै पाएका छौँ”, उनले गुनासो गरे। स्थानीय सरोकार भएका निकायले अनुमान अनुसारको बजेट नआउँदा भवन निर्माणलगायत सबै काम अलपत्र परेको बताउँछन्।

    निर्माण समिति अध्यक्ष तिमिल्सिनाले सुरुको वर्ष रु ५० लाख विनियोजन गर्ने सम्झौता भए पनि रु २४ लाखभन्दा बढी रकम नआएको बताए। ‘क्रमिक रूपमा बजेट आउँछ भन्ने थियो। रु २४ लाख विनियोजन भएपछि काम सुरु गरेका थियौँ,’ उनले भने, ‘अनुमानअनुसार बजेट नआएपछि काम अघि बढ्न नसकेको हो।’ रकम निकासा हुने भनिएकाले जग्गा लिने सम्झौता भए पनि रकम नआउँदा समस्या भएको उनको भनाइ छ।

    दुईतले कोल्डस्टोर निर्माण एक वर्षमा सक्ने लक्ष्य थियो। लक्ष्य अनुसार काम गर्न बजेट अभाव भएपछि एक तलाको ढलान गरेर अलपत्र छोडिएको छ। बनेको संरचना पनि अहिले खण्डहर बनेको छ।

    समयमै निर्माण सम्पन्न भएको भए अहिलेसम्म प्रयोगमा आइसक्ने स्थानीय दाताराम चापागाईंले बताए। ‘हामीले कौडीका भाउमा सुन्तला तथा उत्पादित फलफूल र तरकारी बेच्नुपरेको छ’, उनले भने, ‘कोल्डस्टोर भइदिएको भए अहिले टिपेका सुन्तला फागुन–चैतमा रु डेढ सय किलोमा बिक्री गर्न सकिन्थ्यो।’

    योजना अनुसार ५० टन क्षमताको दुईतले चिस्यान केन्द्र निर्माण एक वर्षमा सक्ने लक्ष्य थियो। मोदी–२ देउपुरका तत्कालीन वडाध्यक्ष विकास तिमिल्सिनाले चिस्यान केन्द्र निर्माणका लागि गाउँपालिका, प्रदेश र केन्द्रसम्म अनुरोध गरेको भन्दै हालसम्म सुनुवाइ नभएको बताए। जग्गा व्यवस्थापन गर्न वडाबाट रु १५ लाख विनियोजन गरिएको जनाउँदै उनले जग्गा खरिदमा सहमति हुन नसक्दा काम अगाडि नबढेको बताए।

    वर्तमान वडाध्यक्ष बेलबहादुर कार्कीले उक्त स्थानमा चिस्यान केन्द्र निर्माणका लागि जग्गा खरिद गर्न प्रक्रियागत समस्या रहेको बताए। ‘जग्गा खरिद गर्न अहिले कुनै पनि शीर्षकबाट रकम विनियोजन गर्न सक्ने अवस्था छैन’, उनले भने, ‘जग्गा विवादकै कारण केन्द्र निर्माण अलपत्र परेपछि सार्वजनिक जग्गाको खोजी गरी काम अगाडि बढाउने तयारीमा छौँ।’

    कृषि तथा दुग्ध उत्पादन बिक्री वितरण गर्दै आइरहेको मोदी खोला सहकारी संस्थाका अध्यक्ष बेदप्रसाद तिमिल्सिनाले गाउँपालिकाले सहजीकरण गरी भवन प्रयोगमा ल्याउने वातावरण तयार गरेको अवस्थामा सहकारीले थप लगानी गरी सञ्चालन गर्ने बताए। राज्यको लाखौँ रकम यसरी खेर जान दिनुभन्दा जग्गाको समस्या समाधान गरी उपयुक्त निकास निकाल्नतर्फ गाउँपालिकाले पहल गर्नुपर्ने उनको भनाइ छ।

    मोदीको देउपुर सुन्तलाको पकेट क्षेत्र हो। यहाँ बर्सेनि रु तीन करोडभन्दा बढीको सुन्तला उत्पादन हुन्छ। क्याङ र लेस्पार आलु उत्पादनका लागि उर्वर भूमि हो। यहाँको आलु तरकारी र बीउका रुपमा स्थानीय बजारलगायत सदरमुकाम कुस्मा र पोखरासम्म पुग्छ। मोदीका धेरै क्षेत्रमा तरकारी उत्पादन हुने गरेको छ। यहाँको दूध कुस्मादेखि नागडाँडा, पोखरा लगेर बिक्री गर्ने गरिएको छ भने यहाँ उत्पादित रेन्बो ट्राउट माछा मुलुकका प्रमुख सहरमा पुग्ने गरेका छन्।

    गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछाने उक्त जग्गामा बनेको भवनलाई निरन्तरता दिने वा अन्यत्र सुविधासम्पन्न कोल्डस्टोर बनाउने भन्ने विषयमा सामान्य छलफल भए पनि निचोडमा पुग्नेगरी काम नभएको बताए। ‘यस विषयमा समान्य छलफल भइरहे पनि निषकषृमा पुगोका छैनौँ’, उनले भने, ‘निर्माणाधीन भवनलाई निरन्तरता दिँदा जग्गा कमी हुने, जग्गाधनीलाई पैसा दिनुपर्नेलगायत समस्या छन्। अन्यत्रै सार्वजनिक जग्गा खोजेर बनाउनेबारे छलफल भइरहेको छ। यथाशीघ्र निर्णय लिनेछौँ।’ रासस

  • अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयोः पूर्वअर्थमन्त्री पौडेल

    अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयोः पूर्वअर्थमन्त्री पौडेल

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन्। आईतवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को विनियोजन बजेट माथिको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले अर्थमन्त्री पुनले सहज बाटो नरोजेको बताए।

    उनले अर्थतन्त्रीले अर्थतन्त्रका चुनौतीकाबीच काम गर्ने कोशिस गरेको देखिएको बताए। पौडेलले अर्थमन्त्री पुनले बजेट तुलनात्मक रुपमा सन्तुलित ल्याएको सुनाए। २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आशका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरु पनि सन्तुलित आकारको बजेट आएको उनले दाबी गरे। अर्थमन्त्रीले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे।

    उनले भने,‘अर्थमन्त्रीले आफैँले चुनौती सिर्जना गर्ने चुनौती सामना गर्ने अठोट गरेको पाए। अर्थमन्त्रीले सहज यात्रालाई रोज्नुभएको छैन। चुनौती सिर्जना गर्ने र सामना गर्ने अठोट अर्थमन्त्रीले गर्नुभएको छ। बजेट निर्माणको यो दृष्टिकोणलाई राम्रो मान्छु। सहज यात्रालाई जो कसैले पनि गर्न सक्छ। चुनौती पूर्ण यात्रा तय गरी त्यसलाई पार गर्नु महत्वपूर्ण हुन्छ। अर्थमन्त्रीले सहज ढङ्गले काम गर्दिन। अफ्ठ्याराहरुका बीचमा काम गर्छु। मुलुकका निम्ति चुनौतीका बीचमा काम गर्ने र चुनौतीलाई पार गर्ने अठोट लिनु भएको छ। अर्थमन्त्रीले बजेटको स्रोतमा जुन प्रश्तावहरु गर्नुभएको छ त्यहाँ चुनौती सिर्जना गर्ने र पार गर्ने रहेको पाउँछु। जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजश्व संकलन भएको छ।’

    ‘चालु आर्थिक वर्षमा ११ खर्ब राजश्व संकलन होला भन्ने अनुमान गर्न सकिन्छ । तर आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गर्नुभएको छ। यो लक्ष्य सजिलो छैन। तर मेहनतका साथ राज्यका सबै संरचना संयन्त्रहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजश्वको लक्ष्य पूरा गर्न असम्भव पनि छैन। वैदेशिक सहयोगमा जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेका छौं,’ उनले भने।

    यस्तै,उनले भने,‘आगामी आर्थिक वर्षको लागि ५२ अर्ब लक्ष्य निश्चित गर्नु भएको छ। वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेका छौं। २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नुभएको छ। यो प्रस्ताव पनि चुनौतीपूर्ण छ तर असम्भव भने छैन। राजश्वले साधरण खर्च धान्न नसक्ने,ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा छौं। यस्तो अवस्थामा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वभाविक रुपमा सीमा भन्दा माथि छ,’ उनी भन्छन्।

    यसैबीच,पूर्वअर्थमन्त्री पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए। उनले प्रस्तुत गरिएका स्रोत परिचालन,खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने,उत्पादनका क्षेत्रहरुमा लगानी केन्द्रित गर्नसक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हु सक्ने दाबी गरे । अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुसँग बजेटका विषयमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाए।

    अर्थमन्त्रीले शिर्ष नेताहरुसँग छलफल गर्नसकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको र नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको उनको भनाइ छ। उच्च स्तरको कार्यदल गठन भन्दा पनि राजनीतिक नेतृत्वले नयाँ चरणको आर्थिक सुधारका कार्यक्रम गर्ने भनेर आउनुपर्ने उनले बताए।

  • सहमतिबाट नेतृत्व चयन हुन्छ: झलनाथ खनाल

    सहमतिबाट नेतृत्व चयन हुन्छ: झलनाथ खनाल

    नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनबाट सहमतिपूर्ण नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन्।

    आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताएका हुन्।

    महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने समेत बताए। अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको उनको भनाइ छ। पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने उनले जानकारी दिए।

    उनले भने, ‘अहिले महंगी बढिरहेको छ। भ्रष्टाचार व्याप्त छ। मानिसहरु हाम्रो देशका युवाहरु विदेश जानको लागि विवश भइरहेका छन्। यि ठाउँहरुबाट, भ्रष्टाचार र अहिलेका समस्या ज्वलन्त जुन छन्, ति जनताका मागहरुलाई लिएर यहाँबाट शुरु गर्दै हामी आमुल परिवर्तन गर्नेछौँ। यो अहिलेको पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्म्को यो कार्यक्रम हो। त्यसैले यो कार्यक्रम नेपालको समाजवादी क्रान्तिको सिंगो काललाई प्रतिनिधित्व गर्ने र समग्र समाजलाई रुपान्तरण गर्ने कार्यक्रम हो। यो हामी पहिलो पटक कार्यक्रम अघि सार्दैछौँ। महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं। त्यो सहमतिपूर्ण नेतृत्व निर्माणका लागि हामी छलफल गर्दैछौँ, गर्छौं र अन्तिमसम्म गर्नेछौँ। यो महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउनेछौँ।’

  • राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको नेकपा एसको निष्कर्ष

    राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको नेकपा एसको निष्कर्ष

    सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले वर्तमान राजनीतिमा बढेको अस्थिरता, अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको छ।

    आईतवार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको बताएको बताएको हो।

    पत्रकार सम्मेलनमा बोल्दै पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए। उनले राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको बताए। रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

    उनले भने, ‘वर्तमान राजनीतिमा बढेको अस्थिरता र अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा बुद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला दिएको छ र उनीहरु सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गर्दैछन्। राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ। मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्दै मुख्यतः रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने भएको छ। हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को यो महाधिवेशन त्यस क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्ने सङ्कल्पका साथ आयोजना हुँदैछ । यस महाधिवेशनको सफलताका लागि मुलुकभरीका श्रमजीवी, किसान, उद्योगी तथा व्यवसायी, बुद्धिजीवी, पत्रकारलगायत सम्पूर्ण देशवासीबाट पार्टीले नैतिक तथा भौतिक सहयोग तथा समर्थनको अपेक्षा गरेको छ।’

  • बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल

    बजेट जनतामा विद्यमान निराशा चिर्नेगरी आएको छः देवेन्द्र पौडेल

    सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन्।

    सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले त्यसका कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई परिचालन गरेर अघि बढ्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका हुन्।

    आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सचिव पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको दावी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गरे।

    सचिव पौडेलले भने, ‘यो बजेट निकै असहज स्थितिमा माननीय अर्थमन्त्रीजीले अर्थ प्रणालीलाई एउटा ट्रयाकमा ल्याउनका निमित्त र बढ्दै गएको निराशालाई खास गरी पछिल्लो १५ वर्षमा बढ्दै गएको निराशालाई लयमा ल्याउनका लागि कोशिस गरेर, मेहनत गरेर कतिपय अपुग्दाहरु होलान, प्रक्षेपण गरेर ल्याएको बजेटको रुपमा मैले यसलाई बुझेको छु। यसकारण केही सीमा, समस्याका बाबजुत अहिलेको परिस्थितिमा यो प्रकृतिको बजेट ल्याउनुभएकोमा माननीय अर्थ मन्त्रीज्युलाई हार्दिक धन्यवाद र उहाँप्रति आभार व्यक्त गर्दै कार्यान्वयनका लागि तदारुकताका साथ सम्बन्धित निकाय, सबै पक्षलाई परिचालित गरेर बजेट कार्यान्वयनका जुन आशंका बाहिर प्रकट भएको छ। बजेट कार्यान्वयनका निम्ति माननीय अर्थमन्त्रीज्युले महत्वपूर्ण भुमिका निर्वाह गर्नुहुनेछ भन्दै हाम्रो दलको तर्फबाट बजेटका स्पिडलाई दृढतापूर्वक समर्थन गर्न चाहन्छु।

    उनले बजेट मुलुकलाई सही बाटोमा अघि बढाउने गरी आएकाले आफ्नो पार्टीले दृढतापूर्वक समर्थन गर्ने पनि बताए।

    सचिव पौडेलले सरकारले राजस्व परिचालन र आर्थिक वृद्धिका लागि तय गरेको लक्ष्य पनि सही भएको बताए।