Author:

  • कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

    कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक र संसदीय दलको संयुक्त बैठक यही जेठ ९ गते बस्ने भएको छ।

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए।

    बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए।

  • तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

    तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

    चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा व्यहोरेको छ।

    भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो।

    विभागका अनुसार चालु आवको १० महिनामा १४ खर्ब २९ अर्ब ५३ करोड पाँच लाख बराबरको वैदेशिक व्यापार भएको छ। यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दुई दशमलव ५० प्रतिशतले घटेको हो। गत आर्थिक वर्षको दश महिनाको तुलनामा आयात दुई दशमलव ३९ र निर्यात तीन दशमलव ६१ प्रतिशतले घटेको छ।

    समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ। भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ।

    नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ। दश महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ।

    वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ। यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ। सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ।

    नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ।

  • नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्योः विप्लव

    नेताहरुको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्योः विप्लव

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन्।

    पद र कुर्सीका लागि नेताहरु राष्ट्रिय हितमा अडिन नसक्ने मुलुक एकदमै कमजोर अवस्था पुगेको उनको तर्क थियो।

    सोमवार बेपत्ता योद्धा समाज परिवार, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेताहरु पदीय लोभमा फस्दा शान्ति प्रक्रियाका बाँकि कामहरु पनि ओझेल परेको दाबी गरे। उनले नेपालको संविधान विगतका सबै संविधानहरुभन्दा उत्कृष्ट भएपनि त्यसको कार्यान्वयनमा लाग्ने काममा नेताहरु पछि परेको बताए।

    महासचिव चन्दले बेपत्ता योद्धाहरुलाई राष्ट्रिय सम्मान गर्ने कुरामा राज्यले स्वामित्व लिने कुरामा ढिलाई गर्न नहुने पनि बताए।

  • गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले लेखे सभामुखलाई पत्र

    गृहमन्त्रीलाई कारबाहीको माग गर्दै कांग्रेस उपसभापति गुरूङले लेखे सभामुखलाई पत्र

    नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै सभामुखलाई पत्र लेखेका छन्।

    गृहमन्त्री लामिछानेले संसदमा अर्थहीन र आधारहीन कुरा गरी कांग्रेस सांसदहरूको मानमर्दन गर्न खोजेको र उनको अभिव्यक्ति प्रतिनिधिसभा नियमावली विपरीत भएको भन्दै संसदको अवेहलनामा कारवाही गर्न गुरूङले माग गरेका छन्।

    उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन्।

  • दुवै पक्ष ठिक नभएकाले तटस्थ बसे: सांसद सुवाल

    दुवै पक्ष ठिक नभएकाले तटस्थ बसे: सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभामा भइरहेको गतिविधिलाई सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका छन्।

    सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रतिनिधि सभामा भइरहेको गतिविधिहरु पुँजीवादी पार्टीहरुको सत्ताको भागबण्डाको झगडा भएको टिप्पणी गरेका हुन्।

    विगतमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले विश्वासको मत दिएको भन्दै अहिले केही विषयमा झगडा भएका कारण विश्वासको मत नदिएका उल्लेख गरे।

    उनले विश्वासको मतको पक्ष वा विपक्षमा बस्दा साक्षी बसेको जस्तो हुने भएकाले मत नै नदिएको सुनाए। उनले दुवै पक्ष ठिक नभएकाले आफू तटस्थ बसेको बताए। उनले प्रमुख प्रतिपक्ष दलले नाराबाजी गर्दा संसद्को कारबाही रोक्नु राम्रो हुने धारणा राखे।

  • कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछः प्रधानमन्त्री

    कांग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछः प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन्।

    सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका हुन्।

    नेपाली कांग्रेसले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा बिरोध जनाएको थियो। जवाफमा प्रधानमन्त्री दाहालले धेरै ठूलो मूल्य चुकाउने चेतावनी दिएका हुन्।

    ‘नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिन्छ। आज कांग्रेसले गरेको अवरोध नेपालको मात्रै होइन विश्वमा रेकर्ड बनेको छ। जरुरी प¥यो भने १०,१२ पटक विश्वासको मत लिन्छु।’ उनले भने।

    प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि उक्त गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए।

    सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रधानमन्त्री बोलिरहँदा समेत प्रमुख प्रतिपक्षी कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो।

    कांग्रेसको अवरोधकाबीच पनि प्रधानमन्त्रीलाई एक सय ५७ सांसदले विश्वास मत दिएका छन्।

  • सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही

    सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही

    राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रस्तुत भएको बताएका छन्।

    सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भूमिका निर्वाह नगरेको बताएका हुन्।

    उनले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुर्सीमा देखेको टिप्पणी गरे। सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनी प्रश्न समेत गरे।

    उनले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको जिकिर गरे। ‘आज हामीले सभामुख देखेनौँ। कुर्सिमा बसेको मान्छे देख्यौँ। तर कुन पार्टीको कार्यकर्ता देख्यौँ।’ उनले भने।

    प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भूमिका सभामुखको जस्तो नभएको रहेको बताए।

  • सुर्खेत बस दुर्घटना: मृतक दुईको पहिचान खुल्यो

    सुर्खेत बस दुर्घटना: मृतक दुईको पहिचान खुल्यो

    सुर्खेतको वीरेन्द्रनगरमा सोमबार दिउँसो भएको मिनी बस दुर्घटनामा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रुपेश खड्काका अनुसार मृत्यु हुनेहरूमा डुंगेश्वर गाउँपालिका –६ दैलेखका २२ वर्षीय भिमसेन राना र भुरीगाउँ बर्दियाका ७० वर्षीय शेर बहादुर खड्का रहेका छन्। दुवैको घटनास्थलमै मृत्यु भएको हो।

    दुर्घटनामा परि घाइते हुनेहरूको संख्या २१ रहेको छ। घटन लगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि पठाइएको थियो। घाइतेहरू मध्य १९ जनाको कर्णाली केयर ईन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको छ। अन्य दुई जनाको सुर्खेत र प्रदेश अस्पतालमा उपचार जारी छ। घाइतेहरू मध्य एक जनाको अवस्था भने गम्भीर रहेको एसपी खड्काले जानकारी दिए।

    दैलेखको दुल्लु नगरपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस वीरेन्द्रनगर –१४ स्थित कटकुवा नजिकै सोमबार साढे १ बजेतिर दुर्घटना भएको थियो।

    ओरालो सडक र मोडमा गति नियन्त्रण हुन नसक्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको कर्णाली प्रदेशका ट्राफिक प्रमुख राम प्रकाश शाहले बताए।

  • कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री

    कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन्।

    सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन्।

    प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसद्मा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै उनले संसद्को विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको जिकिर गरे।

    गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए। संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जायज भएको तर व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने उनको भनाइ थियो।

    उनले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाए।

    प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशील र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने उनको जिकिर थियो।

    गृहमन्त्री लामिछानेले आफूले संसद्मा बोल्दा प्रतिपक्षका नेताहरुलाई कुनै आरोप लगाउने र धम्काउने काम नगरेको बताए।

  • कांग्रेसले समिति होइन, सरकार माग गरेको होः महेश बर्तौला

    कांग्रेसले समिति होइन, सरकार माग गरेको होः महेश बर्तौला

    नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार माग गरेको आरोप लगाएका छन्।

    सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली कांग्रेसले संसदीय छानबिन समितिको नाम गरेर सरकारको माग गरेको बताएका हुन्।

    उनले गृहमन्त्री रवि लामिछानेको नाममा छानबिन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत कांग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने उल्लेख गरे।

    ‘नेपाली कांग्रेसको यस प्रकारको दादागिरी, उद्दण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन। यदि कांग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी संवादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ। कार्यदलको बैठक बस्न सक्छ। कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहन्छौँ। सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडी जान चाहन्छौँ।’ उनले भने।

    उनले कांग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको जिकिर गरे। उनले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पारे।

    ‘तपाईँहरूलाई चाहिएको छ रवि लामिछानेको नाम। नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने। सरकारलाई ढाल्ने। अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ। नेपाली कांग्रेसले समिति माग गरेको होइन। समितिको नामबाट सरकार माग गरेको हो। जुन कुरा असम्भव छ। नेपाली कांग्रेसको त्यो बदनियत हो भन्ने कुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदाङ्गो भएको छ।’

    उनले संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि जानकारी दिए।