Author:

  • माइतीघरबाट जेनजी अभियन्ता निकोलस भुसाल पक्राउ

    माइतीघरबाट जेनजी अभियन्ता निकोलस भुसाल पक्राउ

    सरकार गठनको करिब एक महिना हुँदा पनि जेनजीको मागहरू पूर्ण रूपमा पूरा नभएको भन्दै आज माइतीघरमा आन्दालेन गर्न पुगेका जेनजी अगुवा डा. निकोलस भुसालसहित तीन जना पक्राउमा परेका छन् ।
    नागरिक सरकारले नै जेनजीको मागलाई बेवास्ता गरेको भन्दै केही व्यक्तिहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्न उत्रिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा डा.निकोलस भुसाल, एसपी साह र सञ्जि दाहाल रहेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कुनै पनि प्रकारको धर्ना, जुलुस र प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा प्रदर्शन गर्न पुगेपछि उनीहरू पक्राउमा परेका हुन् ।

  • दैलेख अस्पतालमा कुर्चीमै उपचार

    दैलेख अस्पतालमा कुर्चीमै उपचार

    बिरामीको चाप बढेसंगै जिल्ला अस्पताल दैलेखले बिरामीहरूलाई कुर्चीमै राखेर उपचार गरेको छ । २०४२ सालमा ओपिडीका रूपमा बनाइएको साँगुरो भवनमा बेड अभाव हुँदा कुर्चीमै राखेर उपचार गर्न थालिएको हो ।
    १५ शय्याको क्षमता रहेको उक्त अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि हाल ५८ बेडसम्मको व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डाक्टर मनोज विश्वकर्माले जानकारी दिए। उनका अनुसार वर्षातसँगै ज्वरोका बिरामी बढेका छन् भने बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमका बिरामी बढी आउने गरेका छन् ।
    ‘गत वर्षको तुलनामा यस वर्ष गर्भवती र सुत्केरीको संख्या पनि उल्लेख्य रूपमा बढेको छ,’ डा. विश्वकर्माले भने, ’बिरामीको चाप बढी हुँदा बाहिरबाट बेड ल्याएर थप्ने गरेका छौं । अत्यधिक भीड हुँदा बेड अपुग हुँदा कुर्चीमै राखेर पनि उपचार गर्नुपरेको छ ।’
    अस्पतालका अनुसार सुत्केरी वार्डमा पनि समस्या चर्किएको छ। १० शय्याको प्रसुति वार्डमा क्षमताभन्दा बढी सुत्केरीहरू हुँदा समस्या झन थपिएको छ । अस्पतालले प्रसुति वार्डमा पनि बेडहरू थपेर सेवा दिएको जनाइएको छ । महिनामा कम्तीमा २५ देखि ३० जनासम्मका शल्यक्रिया मार्फत प्रसुति हुने गरेको अस्पताल प्रमुख डा.विश्वकर्माले बताए । हाल जिल्ला अस्पतालमा ९ जना चिकित्सक कार्यरत छन् ।
    जिल्लामा अनुभव भएका डाक्टरहरू आएसंगै सुर्खेत र नेपालगंज जाने बिरामीहरू जिल्ला अस्पतालमै आउन थालेका हुन् । जसका कारण अस्पतालमा सेवा लिन आउनेहरू बढेका बेला पछिल्लो समय मौसमी बिरामीहरू बढी हुँदा अस्पताललाई सेवा दिन हम्मेहम्मे परेको छ । बिरामी बढी हुँदा निजि मेडिकलमा समेत जाने गरेका छन् । निजी मेडिकलले चर्को मूल्यमा उपचार गरेको समेत गुनासो आएको छ । हिजोआज दैलेखमा सञ्चालनमा आएका मेडिकलमा समेत अनुगमन हुनुपर्ने आवाज उठेको छ । स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ अस्पताल भवन ठेकेदारले समयमा निर्माण नगरेका कारण अस्पतालमा थप समस्या देखिएको छ। विगतमा अस्पताल म्याद थपिए पनि काम हुन सकेन । जसका कारण अहिले ठेकेदारले पटक–पटक म्याद थपका लागि पत्र पठाए पनि काममा प्रगति नदेखिएपछि म्याद विस्तारको प्रक्रिया रोकिएको जनाइएको छ ।
    ५० शय्याको सुविधासम्पन्न भवन निर्माण कार्य ढिलो हुँदा २०४२ सालमा बनेको पुरानो बिरामी चेकजाँच भवनबाटै अहिले बिरामीहरूलाई कोचाकोच गरी उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
    चार वर्षअघि अस्पतालको नयाँ भवन बनाउन सुरु भए पनि ठेकेदारले काम ढिलासुस्ती गर्दा बन्न सकेको छैन । कर्णाली प्रदेश सरकारको १८ करोड २३ लाख ९९ हजार ३ सय ८१ मा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारले काम समयमा नगरेको पाइएको हो। ठेकेदार कम्पनीले प्रदेश सरकारले आफूलाई कामअनुसार पैसा नदिएका कारण ढिलाइ हुन गएको दाबी गरेको छ ।

  • कर्णालीमा विपदजन्य घटनाबाट ६ जनाको मृत्यु, ३७० वटा भौतिक संरचनामा क्षति

    कर्णालीमा विपदजन्य घटनाबाट ६ जनाको मृत्यु, ३७० वटा भौतिक संरचनामा क्षति

    यही असोज १८ गतेदेखि २० गतेसम्म भएको भारी बर्षाले मध्य र पूर्वी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । सामान्यतया बर्षा हुने मौसम सकिएपछि सक्रिय भएको मनसुनी वायुका कारण ठूलो धनजनको क्षति भएको छ । सडक लगायतका पूर्वाधारमा पनि यो बर्षाले निकै क्षति गरेको छ । देशभर पानी पर्ने आँकलन गरिएपनि कर्णालीमा भने क्षति हुनेगरि निरन्तर बर्षा भएन । २०८२ साउन यता बर्षा हुने मौसमबाट भने कर्णालीमा ३ सय ३३ वटा विपदजन्य घटना भएका छन् । यी घटनाबाट यस बर्ष पनि कर्णालीमा धनजनको क्षति भएको छ ।
    कर्णाली प्रदेशमा यो वर्षको साउन १ गतेदेखि हालसम्म ३ सय ३३ वटा विपदजन्य घटनाहरु भएको प्रहरीले जनाएको छ । यी घटनाबाट ६ जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मनसुनी विपदजन्य घटनाबाट प्रदेशभर २९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यो बर्षको विपदजन्य घटनाबाट ५९ वटा पशुचौपाया मरेका छन् । ३ सय ७० वटा भौतिक संरचनामा क्षति भएको छ ।
    प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार यो बर्ष सबैभन्दा बढी विपदजन्य घटना रुकुमपश्चिम जिल्लामा भएका छन् । रुकुमपश्चिममा ७९ वटा विपदजन्य घटना भएका छन् । यसबाट जिल्लाभित्र २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । रुकुपश्चिममा १७ वटा चौपाया मरेका छन् भने ७७ वटा भौतिक संरचनामा क्षति पुगेको छ प्रहरीले जनाएको छ ।
    यो बर्षको मनसुनजन्य विपदका घटना हुने दोस्रो जिल्ला जाजरकोट रहेको छ । जाजरकोटमा ६९ वटा विपदजन्य घटना भएको प्रहरीसँग तथ्याङ्क छ । यी घटनामा परि एक जना वेपत्ता भएका छन् । ४ जना घाइते भएका छन् । जाजरकोटमा १० वटा चौपायाको मृत्यु भएको छ भने ८१ वटा संरचनामा क्षति पुगेको । भौतिक संरचनामा पुगेको क्षति भने जाजरकोटमा अरु जिल्ला भन्दा धेरै रहेको तथ्याङ्क उल्लेख छ ।
    विपदजन्य घटनाबाट हुने मानवीय क्षतिका हिसाबले यस बर्ष सुर्खेत जिल्ला अग्रभागमा रहेको छ । सुर्खेतमा भएका २७ वटा विपदका घटनाबाट ३ जनाको मृत्यु भएको छ । यसबाट ७ जना घाइते भएका छन् भने २२ वटा संरचनामा क्षति पुगेको छ । घटनाबाट तीन वटा पशुचौपाया मरेका छन् ।
    दैलेखमा ३५ वटा विपदजन्य घटना भएका छन् । यसमा परि ५ जना घाइते भएका छन् । ९ वटा चौपाया मरेका छन् भने २७ वटा संरचनामा क्षति पुगेको छ । कालिकोटमा भएका ४७ वटा विपदजन्य घटनाबाट १ जना घाइते भएका छन् भने ४६ वटा संरचनामा क्षति पुगेको छ । सल्यानमा भएका १४ वटा यस्ता घटनाबाट ४ वटा चौपाया मरेका छन् भने २९ वटा संरचनामा क्षति पुगेको छ ।
    यस बर्षको साउन यता जुम्लामा १८ वटा विपदजन्य घटना भएका छन् । यहाँ मानवीय क्षति भएको छैन । घटनाबाट जुम्लामा १८ वटा संरचनामा क्षति पुगेको छ । मुगुमा १६ वटा विपदजन्य घटनाबाट १ जना घाइते भएका छन् । ७ वटा चौपाया मरेका छन् भने २० वटा संरचनामा क्षति पुगेको छ ।
    डोल्पामा भएका १३ वटा विपदका घटनामा परि १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । यसबाट १० वटा संरचनामा क्षति पुगेको छ । हुम्लामा १५ वटा विपदका घटनाबाट ४० वटा भौतिक संरचनामा क्षति पुगेको छ भने सात वटा पशुचौपाया मरेका छन् ।
    कर्णालीमा यस बर्ष भएको मनसुजनजन्य विपदका घटनामा क्षति भएका भौति संरचनामध्ये अधिकांश व्यक्तिगत संरचना रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी केदार प्रसाद खनालले बताए । यस बर्षको मनसुनजन्य समयमा कर्णाली राजमार्ग सबैभन्दा धेरै अवरुद्ध भएको थियो । भौगोलिक रुपमा बढी जोखिम र पहिरो निरन्तर खसेपछि कर्णालीमा अन्य सडकहरुको तुलनामा कर्णाली राजमार्ग बढी अवरुद्ध भएको हो ।

  • फरार ३ कैदी पक्राउ

    फरार ३ कैदी पक्राउ

    सुर्खेत प्रहरीले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका तीन जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुेर्खेतको टोलीले जिल्लाका विभिन्न क्षेत्रमा लुकीछिपी बसेका कैदीहरुलाई बुधबार पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार नकबजनी चोरी मुद्दामा ३ महिना ९ दिन कैद सजाय फैसला भएका सुर्खेतको वीरेन्द्रनगर– ९ का सुशिल बोगटी, कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय भोगिरहेका सुर्खेतको लेकवेशी नगरपालिका–२ का गिरबहादुर दमाई र जबर्जस्ती करणी मुद्दामा फैसला नभई पूर्पक्षका लागि थुनामा रहेका जाजरकोटको जुनीचाँदे गाउँपालिका–११ का प्रेमबहादुर चदारालाई पक्राउ गरिएको हो ।
    उनीहरु तीनै जना भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए । नियन्त्रणमा लिईएका सबैलाई आवश्यक कारबाहीका लागि सुर्खेत जिल्ला अदालतमा पठाईएको छ । उनीहरुलाई भागेको सम्बन्धित कारागारमा पनि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

  • बन्यो हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको ईआईए

    बन्यो हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको ईआईए

    ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली–२ जलविद्युत आयोजनाको कार्यान्वयन अगाडि बढेको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । यो आयोजना रुरु जलविद्युत परियोजनाले बनाउने तयारी छ । सुरुमा यो आयोजना सिचुआन वाङपिङ इनर्जी साइन्स एन्ड टेक्नोलोजीले पहिचान गरेको थियो । आयोजनाको अध्ययन पनि सोही कम्पनीले गरेको हो । पछि रुरु जलविद्युत परियोजनाका नाममा हस्तान्तरण गरिएको थियो ।
    यो आयोजना हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा रहेको छ । हुम्ला कर्णाली २ जलविद्युत आयोजना नदीको बहावमा आधारित जलविद्युत आयोजना हो । बाह्रैमास हिम नदी बग्ने हुम्ला कर्णाली नदीमा आयोजना बनाउन लागिएको छ । यो कर्णाली नदी बेसिनको प्रमुख नदी मानिन्छ । आयोजनाको लागत ७२ अर्ब ९० करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड ७६ लाख रुपैयाँ हुने अनुमान छ ।
    प्रतिवेदन अनुसार यस आयोजनामा दुई वटा डाइभर्सन सुरुङ बन्नेछन् । नदीको पिँधबाट ६२ मिटर अग्लो बाँध बनाइने छ । यो आयोजनाको कार्यान्वयनका लागि कुल ६१.०२ हेक्टर जमिन चाहिने अनुमान गरिएको छ । यसमध्ये निजी १३.९ हेक्टर जमिन पर्ने छ । बाँकी सरकारी÷वन जग्गा रहेको छ ।
    आयोजनाका कारण ५६ घरधुरी प्रभावित हुने छन् । यो आयोजना सन् २०२६ मा सुरु भई २०३१ सम्म सकिने अनुमान छ । आयोजना निर्माणका चरणमा औसत् १ हजार ८०५ जनशक्ति प्रतिवर्षले रोजगारी पाउने अनुमान छ । आयोजना सञ्चालनका चरणमा भने ११५ जनाले स्थायी रोजगारी पाउने प्रक्षेपण छ ।

     

  • बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

    बालेन र सुदनविरुद्ध अखिलले देशैभरि जाहेरी दिने

    एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ । जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ ।
    ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ अखिलका महासचिव दीपक धामीले भने । आजदेखि जिल्ला जिल्लामा जाहेरी दिने उनले बताए । ‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिन्छौं,’ उनले भने । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दार्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो ।

  • रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन हुनुपर्छ: महेश बस्नेत

    रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन हुनुपर्छ: महेश बस्नेत

    नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनको बहानामा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार एमाले पार्टी कार्यालयमा युवा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले लामिछानेलाई भगाउनेमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।
    ‘२४ गते रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराउन गएका डीपी अर्याल, मनीष झा र ज्वाला संग्रौलाबारे छानबिन होस्,’ बस्नेतले भने, ‘जेलबाट भागेका १४ हजार कैदीबारे छानबिन होस्, भागेका कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा १२ हजार लुटिएका हतियार कहाँ छन् ?’ प्रहरीबाट लुटिएका हतियारमार्फत नयाँ शक्ति सृजना गरेर विद्रोह गराउने षडयन्त्र हुनसक्ने उनको आशंका छ ।

  • मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

    मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

    नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी–२०आई शृंखला जितेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३–२ ले जितेको हो ।
    मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा ग¥यो । रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । पूजा महतोले २३ रन बनाइन् । रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।
    मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो । कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् । नेपालकी कविता कुँवरले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिइन् । राजमती ऐरीले पनि ३ विकेट लिइन् ।
    नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।

  • महिलाको उजुरीप्रति महेश बस्नेतले साइबर ब्युरोमा पुगेर दिए लिखित बयान

    महिलाको उजुरीप्रति महेश बस्नेतले साइबर ब्युरोमा पुगेर दिए लिखित बयान

    नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेर लिखित बयान दिएका छन् । एक महिलाले दिएको उजुरीको विषयमा आज ब्युरोको कार्यालय पुगेर बयान दिएका हुन् ।
    उनले आज बिहान सवा ९ बजे कार्यालय पुगेर बयान दिएको सूचना अधिकारी एसपी दीपकराज अवस्थीले शिलापत्रलाई जानकारी दिए । उनीविरुद्ध एक महिलाले दुव्र्यवहार गरेको आरोपसहित उजुरी दिएकी थिइन् । उजुरी दिए फर्किएका बस्नेतले आजै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।

  • भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफको डेढ करोड सहयोग

    भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सूर्यज्योति लाइफको डेढ करोड सहयोग

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगबापतको चेक हस्तान्तरण गरेको छ । भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।
    यसरी क्षति पुगेका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतलगायत कार्यका निम्ति सरकारले सञ्चालनमा ल्याएको कोषमा उक्त रकम जम्मा गर्ने गरी कम्पनीले चेक हस्तान्तरण गरेको हो ।