Blog

  • संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

    संसदमा कांग्रेसको नाराबाजी, बैठक स्थगित

    प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ। बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेका हुन्।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ससदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।

    कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाका अध्यक्ष देवराज घिमिरेले जेठ ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

  • रविकै नाममा अड्कियो समिति, कांग्रेसले संसद् अवरोध जारी राख्ने

    रविकै नाममा अड्कियो समिति, कांग्रेसले संसद् अवरोध जारी राख्ने

    सहकारी ठगी प्रकरणमा गठन गर्ने भनेको संसदीय छानबिन समिति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा आएर अड्किएको छ।

    संघीय संसद्को गतिरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहालको बिहानैदेखिको सक्रियताले देखाएको आशा गृहमन्त्री लामिछानेको नाममा आएर अड्किएको हो।

    बिहान प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेसँग संवाद् गरेपछि सत्ता पक्ष संसदीय छानबिन समिति बनाउन लचक देखिएको थियो। त्यसमा गृहमन्त्री लामिछानेले आफूले पहिले संसद्मा बोल्न पाउनुपर्ने शर्त राखेका थिए।

    प्रधानमन्त्री दाहालले त्यसपछि कांग्रेससँग गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिन आग्रह गरेका थिए। आफ्नो मागअनुरुप संसदीय छानबिन समिति बन्ने भए कांग्रेस लामिछानेलाई संसद्मा बोल्न दिन सहमत भएको थियो।

    तर, अहिले संसदीय छानबिन समिति बन्दा गृहमन्त्री लामिछाने उपर पनि छानबिन गर्नुपर्ने कुरामा सत्तापक्ष तयार नभएकाले सहमती जुट्न नसकेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए।

    ‘अहिलेसम्म सहमती नै जुट्न सकेको छैन्। उहाँहरूले मुल समस्यालाई पर राखेर विषयवस्तुलाई विषयान्तर गर्नेगरी समिति गठन गर्ने भन्ने कुरा गर्नुभयो। त्यसमा हामी सहमत हुने कुरा भएन,’ उनले भने, ‘त्यसैले सहमती नै नजुट्ने भए हामी हाम्रो कुराहरू निरन्तर अघि बढाइराख्छौं।’

    सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको, कतिपय प्रमाण सार्वजनिक रुपमा नै आएको र अनुसन्धान गर्ने निकायले काम गर्न नसकेको, अनुसन्धान रोकिएको कुरालाई लिएर नै संसदीय छानबिन समिति माग गरिएको महतले बताए। ‘त्यही कुराबाट सत्तापक्ष विषयान्तर गर्न खोजेपछि हामी सहमत कसरी हुने ?,’ उनले प्रश्न गरे।

  • पूर्व प्रधानसेनापति धर्मपालवर सिंहको निधन

    पूर्व प्रधानसेनापति धर्मपालवर सिंहको निधन

    पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

    लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।

    उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए।

    उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो। उनका तीन छोरा र एक छोरी छन्।

  • लिखित र ट्रायलविनै सवारी लाइसेन्स जारी प्रकरणमा थप एक कम्प्युटर अपरेटर पक्राउ

    लिखित र ट्रायलविनै सवारी लाइसेन्स जारी प्रकरणमा थप एक कम्प्युटर अपरेटर पक्राउ

    नक्कली लाइसेन्स प्रकरणमा प्रहरीले यातायात व्यवस्था विभागबाट एक कम्प्युटर अपरेटरलाई नियन्त्रणमा लिएको छ।

    लिखिल र ट्रायलविनै सवारी लाइसेन्स जारी गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई आज दिउँसो कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

    उनी यातायात व्यवस्था विभागमा विगत तीन वर्षदेखि कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन। नक्कली विवरणका आधारमा अनुचित लाभ लिएर लाइसेन्स छपाइमा संलग्न भएको आशंकामा सिआइबीले उनलाई पक्राउ गरेको हो।

    उनीसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। अनुसन्धानका क्रममा हरिश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, लुजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोलालाई पक्राउ परेका छन् भने आशंकित लक्षण पाण्डे फरार रहेका छन्।

    विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। यस अवधिमा यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार लाइसेन्स कार्डमा नम्बर मात्रै राखिएको छ। आवश्यक परेका बेला अन्य विवरण भरेर बिक्री गर्न यसो गरिएको स्रोतको दाबी छ।

    पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो।

    सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागले छानबिन गरेपछि विभागका महानिर्देशक उद्धव रिजालको सरुवा गराउनका लागि शक्ति केन्द्रलाई दबाब समेत दिइएको थियो।

  • दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

    दुई दशकदेखि बेपत्ता शमशेर घर फर्किए

    दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएका छन्। स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो। शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसीयाली छाएको छ।

    बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग स्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ। कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता थिए। ‘श्रीमान् भेटिनुहुन्छ भन्ने कल्पना नै गरेकी थिइन, उहाँ जिउँदो हुनुहोला भन्ने आश मरिसकेको थियो’, शमशेरबहादुरकी श्रीमती सीताले भनिन्।

    शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो। दुवै जनाबाट छ सन्तान जन्मिए।

    ‘कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता हुनुभयो, म एक्लैले छ सन्तान हुर्काएँ’, सीताले भनिन्। यसबीचमा परिवारको साथ नपाएपछि उनी माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी थिइन्।

    शमशेरबहादुर बोल्न सक्दैनन्। उनी घाँटीको क्यान्सर रोगबाट पीडित छन्। आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ। कटुवालको उपचार गराउन सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउँछन्।

    बिरामी भएपछि कटुवाल सम्पर्कमा आएकी हुन्। धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए। ‘कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ’, उनले भने।