Blog

  • सिटिजन्स र दुसित प्रिन्सेसबीच सम्झौता

    सिटिजन्स र दुसित प्रिन्सेसबीच सम्झौता

    सिटिजन्स बैंक र लाजिम्पाटको दुसित प्रिन्सेसले बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा हस्ताक्षर गरेका छन्।

    सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउनेछन्। सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

  • प्रधानमन्त्रीले भनेः सरकार निजी क्षेत्रको प्रवर्द्धनमा छ, ढुक्क भएर लगानी गर्नुस्

    प्रधानमन्त्रीले भनेः सरकार निजी क्षेत्रको प्रवर्द्धनमा छ, ढुक्क भएर लगानी गर्नुस्

    प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान नीति तथा कार्यक्रम अनुरुपको बजेट निर्माणमा केन्द्रित रहेको बताएका छन्।

    आज काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्न जोड गरिएको बताए।

    उनले उर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताए।

    प्रधानमन्त्री दाहालले तेस्रो लगानी सम्मेलनबाट लगानी भित्र्याउनका लागि स्वदेशी तथा विदेशी लगानीकर्तामाझ बलियो र सकारात्मक सन्देश प्रवाहित भएको जिकिर गरे।

    उनले लगानी प्रवद्र्धनमा बाधक देखिएका ऐनहरु अध्यादेशमार्फत संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थिति क्रमशः अन्त्य भएको भन्दै सरकार निजी क्षेत्रको प्रवर्द्धनका पक्षमा रहेको पनि उल्लेख गरे।

    प्रधानमन्त्री दाहालले विद्युत निर्यातको दीर्घकालीन सम्झौता उर्जा विकासको लागि कोशेढुंगा हुने बताए।

    उनले नेपाल विद्युत आयात गर्ने मुलुकबाट विद्युत निर्यात गर्ने मुलुकमा रुपान्तरित भएको जिकिर गरे।

    उनले स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेको बताए।

    पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय सवारी साधनलाई प्रोत्साहित गरी विद्युतको खपत बढाउँदै जाने सरकारको योजना रहेको उनको भनाइ छ।

  • वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

    वर्षाका कारण खेल रद्द भएसँगै प्ले अफमा हैदरावाद, रेसबाट बाहिरियो दिल्ली

    सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा स्थान सुरक्षित गरेको छ।

    वर्षाका कारण बिहीवारको खेल रद्द भएसँगै १ अङ्क पाएको हैदरावादले प्ले अफमा स्थान सुरक्षित गरेको हो। टस समेत हुन नसकेको गुजरात टाइटन्स र हैदरावादबीचको खेल वर्षाका कारण रद्द भएसँगै दुबै टिमले समान १/१ अङ्क पाए।

    गुजरात र हैदरावादबीचको खेल रद्द भएका कारण दिल्ली क्यापिटल्स पनि प्ले अफको रेसबाट बाहिरिएको छ। खराब रनरेटका कारण दिल्लीको प्ले अफ यात्रा टुङ्गिएको हो।

    हैदरावादले बिहीवारको म्याच हारेको खण्डमा भने दिल्लीको प्ले अफ यात्रा जारी रहन्थ्यो। अब प्ले अफमा पुग्ने एक टोलीको स्थान खाली छ। यसअघि शिर्ष स्थानमा रहँदै कोलकोत्ता नाइट राइडर्स र दोस्रो स्थानमा रहँदै राजस्थान रोयल्सले प्ले अफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

    अब चेन्नई सुपर किङ्ग्स, रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्समध्य एक टोलीले मात्रै प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्ने छ।

  • इन्साइडर ट्रेडिङ आरोपी त्रितालद्वारा राजीनामा

    इन्साइडर ट्रेडिङ आरोपी त्रितालद्वारा राजीनामा

    अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले आफू सञ्चालक रहेका दुवै कम्पनीबाट राजीनामा दिएका छन्। पत्नी सीता घिमिरे त्रितालका नामबाट इन्साइडर ट्रेडिङ गरेको खुलेपछि उनले बिहीबार अपी पावर कम्पनी र इन्हवा हाइड्रोपावरको सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका हुन्।

    सञ्चालक समितिका रहेका बेला पत्नी सीताका नामबाट इन्साइडर ट्रेडिङ गरेर उनले धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को उल्लंघन गरेको समाचार नागरिक दैनिकले प्रकाशन गरेको थियो। अपी पावर कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले बिहीबार दिउँसो त्रितालले राजीनामा दिएको पुष्टि गरे।

    ‘उहाँले दुवै कम्पनीबाट दिनुभएको राजीनामा कम्पनीको बोर्ड बैठकले स्वीकृत गरेको छ,’ कार्यकारी सञ्चालक न्यौपानेले भने। उनले यो विषयमा छानबिन सुरु गरिएको र कम्पनीमा रहेका कुनै पनि व्यक्तिले गलत काम गरेको भेटिए ऐननियमअनुसार कारबाही गरिने पनि बताए। ‘हामी संस्थागत सुशासनमा प्रतिबद्ध छौं। आमागी दिनमा यस्ता किसिमका गलत कार्य नहोस् भन्नेमा हामी सजग छौं,’ अपी पावरका कार्यकारी सञ्चालकले भने।

    यसैगरी त्रितालले नाबालिका छोरीका नाममा पनि कारोबार गरेको नेपाल स्टक एक्सचेन्ज स्रोतले जनाएको छ। यो विषयमा धितोपत्र बोर्डले पनि छानबिन सुरु गरेको जनाइएको छ। नागरिक दैनिकमा प्रकाशित समाचारलाई आधार मानेर बोर्डले अनुसन्धान सुरु गरेको हो। ‘आज छापा माध्यममा आएको समाचारलाई नोटिसमा लिएर बोर्डले अनुसन्धान सुरु गरेको छ,’ बोर्ड स्रोतले भन्यो।

    उनले २०७७ कात्तिक २५ गतेबाट पत्नी सीताको नामबाट ४८ नम्बरको सेयर ब्रोकर कम्पनीबाट कारोबार सुरु गरेका थिए। स्रोतले उपलब्ध गराएको कागजातअनुसार २०७८ कात्तिक २ गतेसम्म उनले ९६ पटक कारोबार गरेका थिए। सो अवधिमा त्रितालले पत्नी सीताका नामबाट ११ हजार ६०० कित्ता सेयर खरिद गरेका थिए।

    खरिद गर्दा उनको ३७ लाख ८७ हजार ९३० रूपैयाँ लगानी भएको देखिएको छ। त्यसपछि उनले ३१ हजार ६२६ कित्ता सेयर बिक्री गरेका थिए। जसबाट १ करोड २१ लाख ६६ हजार ७०८ रुपैयाँ नाफा कमाएको स्रोतले उपलब्ध गराएको कागजातबाट खुलेको छ। जबकि अपी पावर कम्पनीले तत्कालीन समयमा कायम १ कित्ता सेयर बराबर नयाँ ०.३९ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी थियो।

    प्राप्त विवरणअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्ने सूचना बाहिर आएपछि इन्साइडर ट्रेडिङ गरेको स्रोतको दाबी छ। ‘उनले कारोबार गरेको समयमा सेयरमा निकै उतारचढाव आएको देखिन्छ,’ स्रोतले भन्यो। उनले त्यतिबेला पत्नीका नामबाट प्रतिकित्ता ५२७ रुपैयाँसम्म कारोबार गरेको देखिन्छ।

    कम्पनीले हकप्रद निष्कासनका लागि २०७८ चैतमा १४ गते सेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो। यसअनुसार २०७८ चैत १३ सम्म नेप्सेमा कारोबार भई कायम त्यस कम्पनीका सेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिने प्रावधान थियो। त्यसअघि नै उनले इन्साइडर ट्रेडिङ गरेर कात्तिकमा कारोबार टुंग्याएको देखिन्छ। चैत २५ देखि सर्वसाधारणले हकप्रद सेयर लिएका थिए।

    कारोबार गरेको अस्वीकार गरे पनि सप्रमाण समाचार प्रकाशित भएपछि त्रितालले राजीनामा दिएका हुन्। उनीबाट धितोपत्र ऐन र धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को सिधै उल्लंघन भएको देखिन्छ। धितोपत्र ऐनको परिच्छेद ९ को दफा ९१ देखि दफा १०० सम्म यसबारे उल्लेख गरिएको छ, जसमा कानुनले इन्साइडर ट्रेडिङको व्याख्या र कानुनी प्रावधानबारे तोकेको छ। त्यसैगरी धितोपत्रसम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबारसम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ पनि गरिएको छ।

    त्यसैगरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा परिवार वा सदस्य वा सोसँग सम्बन्धित व्यक्तिका नाममा सेयर खरिदबिक्री गर्न नपाइने उल्लेख छ। ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाका नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न–गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन,’ सो नियमावली दफा ३८ को १ (क) मा सो कुरा उल्लेख।

  • पूर्वानुमानसँगै पूर्वतयारी

    पूर्वानुमानसँगै पूर्वतयारी

    यो वर्षायाममा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विभागले यही साता सार्वजनिक गरेको जेठ १९ देखि असोज १४ सम्मको ‘मनसुन सिजन र हावापानी आँकलन’ का अनुसार यस वर्ष सरदरभन्दा ३५ देखि ५५ प्रतिशत बढी वर्षा हुनेछ।

    विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा ३५ देखि ६५ प्रतिशतले अधिक वर्षा हुनेछ। कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग तथा कोसी प्रदेशका उत्तरपूर्वी भूभागमा वर्षा सरदर रहने संभावना ३५ देखि ४५ प्रतिशत छ। यसैगरी सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै भूभागमा मात्र वर्षा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेकोे छ। विभागका अनुसार देशका अधिकांश स्थानमा अधिकतम तापक्रम पनि सरदरभन्दा ३५ देखि ६५ प्रतिशतले बढी रहने सम्भावना देखिएको छ। कर्णाली प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको मध्य भूभाग र कोसी प्रदेशको उत्तरपूर्वी भूभागमा अधिकतम तापक्रम सरदरमै रहने संभावना ३५ देखि ४५ प्रतिशत छ।

    देशका अधिकांश स्थानमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म छ। सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशको थोरै भूभागमा न्यूनतम तापक्रम सरदर रहने संभावना ३५ देखि ४५ प्रतिशत छ। यसरी नेपालमा वर्षा, अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुनुले मौसमको प्रकृति र प्रवृत्ति परिवर्तन भइरहेको देखिन्छ। यस्ताखाले परिवर्तनका लागि जलवायु परिवर्तन कारक हुन सक्ने मान्न सकिन्छ।

    तीन वर्षअघि मेलम्चीमा आएको बाढी जलवायु परिवर्तनका कारण सिर्जिएको समस्या मानिएको छ। यसैगरी सामान्यतया पानी कम पर्ने मनाङ र मुस्ताङमा मुसलधारे पानी परी बाढी आएको घटनाले धेरैलाई आश्चर्यमा पारेको छ। यस्तै पछिल्ला वर्षमा फागुन, चैत र वैशाखमा अत्यधिक गर्मी बढेर सुक्खा र खडेरी उत्पन्न हुँदा वन डढेलोका घटना लगातार बढिरहेका देखिएको छ।

    जलवायुमा देखिएका परिवर्तनका कारण नेपालमा अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण कृषि उत्पादन, पशु पालन र मत्स्य पालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको सरकारी अनुमान छ। आर्थिक, सामाजिक क्षेत्रमा हुने गिरावट र बढ्दो स्वास्थ्य र खाद्य सुरक्षाको समस्याका कारण भविष्यमा नेपालमा संकटासन्नता र जोखिम अझ बढ्ने प्रष्ट छ। समग्रमा, जलवायु परिवर्तनले नेपालले हालसम्म हासिल गरेको विकासको उपलब्धिलाई संकटमा पार्न सक्ने देखिएको छ।

    सन् १९७१ देखि २०१९ सम्म जलवायुजन्य विभिन्न घटनाबाट भएको नोक्सानी र क्षतिका तथ्याङ्क हेर्दा प्रत्येक वर्ष नेपालमा जलवायुजन्य विपद्बाट भएको आर्थिक नोक्सानी औसतमा कुल गार्हस्थ्य उत्पादनको (वर्तमान मूल्यमा) २.०८ प्रतिशत हुन आउँछ। यो सानो नोक्सानी होइन।

    विभिन्न अध्ययनले यो शताब्दीको अन्त्यसम्म जलवायुजन्य विपद्का कारण कुल गार्हस्थ्य उत्पादनको (वर्तमान मूल्यमा) १३ प्रतिशत पुग्ने अनुमान गरिएको छ। जलवायु परिवर्तनका कारणले कुल गार्हस्थ्य उत्पादनमा २–४ प्रतिशत वार्षिक गिरावट भए जलवायु परिवर्तन अनुकूलनको लागत २०३० सम्ममा २.४ बिलियन अमेरिकी डलर पर्न जाने सरकारी आकलन छ। यो निकै ठूलो रकम हो। यस्तो अवस्थामा नेपालले मौसम तथा जलवायु परिवर्तनका कारण आउन सक्ने विपद्का लागि पूर्वसूचना तथा पूर्वतयारीमा गंभीर हुन आवश्यक देखिएको छ। यसैगरी विपद् आइसकेको अवस्थामा त्यसलाई थेग्न र अनुकूलित हुने दिशामा ध्यान दिन पनि उत्तिकै आवश्यक छ।

    कठिन परिस्थितिमा पनि मानव समाज र सभ्यताले धेरैअघिदेखि समस्या समाधान गर्दै आएको छ। प्रविधि, ज्ञान र मानवीय चातुर्यका कारण मानिस विकासको वर्तमान अवस्थामा आइपुगेको हो। यही सन्दर्भ र दृष्टिकोणमा जलवायु परिवर्तनले निम्त्याएको संकट समाधानमा पनि हेर्न सकिन्छ। यसका लागि एकातिर, यसका लागि नेपालले उपयुक्त र महत्त्वाकांक्षी घरेलु नीति अवलम्बन गरेर अगाडि बढ्न आवश्यक छ। अर्काेतिर जलवायु परिवर्तनको चुनौती भूगोल र राजनीतिक सिमामा मात्र सीमित नभएकाले अन्तर्राष्ट्रिय तहमा समेत यो समस्या समाधानका लागि सहकार्य र हातेमालो गर्न आवश्यक छ। समयमै गरिने प्रयासले मात्र भविष्यमा हुने ठूलो नोक्सानीबाट जोगाउन सक्छ।

  • अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनमा

    अखिल क्रान्तिकारी विद्यार्थी आन्दोलनमा

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी) विद्यार्थी युनियन संघर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिएको छ।

    युनियनका केन्द्रीय संयोजक मिलन राईलाई विनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आन्दोलनमा उत्रिएको हो। ६०औं विद्यार्थी दिवसको पूर्वसन्ध्यामा प्रहरीले संयोजक राईलाई गत सोमबार राति नागार्जुन–१ रानिवन कृष्ण मन्दिरपरिसरबाट गिरफ्तार गरेको थियो।

    जेठ २ गते कोणसभा गरी देशव्यापी रूपमा आन्दोलनमा उत्रिएको युनियनले बिहीबार गृहमन्त्रीको पुत्ला दहन गरेको छ।

    त्यस्तै शुक्रबार पर्चा वितरण, प्रचार–प्रसार तथा दलाल राज्यसत्ता र प्रहरी प्रशासनको श्वेत आतंकको भण्डाफोर गर्ने, शनिबार मशाल जुलुसका साथै ६ गते आइतबार आम शैक्षिक हड्ताल घोषणा गरेको युनियनका केन्द्रीय सह–संयोजक पेशल दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    ‘मानव अधिकारको गम्भीर उल्लंघनसहित प्रहरीको यस्तो घृणित र तुच्छ हर्कतको घोर भत्र्सना र निन्दा गर्दछौं। विनाकारण गिरफ्तार गरी प्रहरीले आफ्नो लाज छोप्न कथित अभद्र व्यवहारको मुद्दा दर्ता गरी जग हसाउने कुकार्य गरेको छ। कुनै अमुक पार्टीको झोला बोकेर शैक्षिक माफियाहरूसँगको मिलेमतोमा हाम्रो संगठनका नेताकार्यकर्तासँग प्रतिरोध साँध्ने र पूर्वाग्रही रवैया अपनाउने प्रहरीको यस्तो हर्कतबारे सम्पूर्ण पत्रकार मित्रहरु, मानवअधिकारकर्मी, युवा विद्यार्थी र आमजनतामा यसको प्रतिरोधका लागि हार्दिक अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘संगठनका संयोजक कमरेड मिलन राईको प्रहरीद्वारा गरिएको बदनियतपूर्ण गिरफ्तारीविरुद्ध र स–सम्मान रिहाइका लागि तपसिलबमोजिमका संघर्षका कार्यक्रम घोषणा गर्दछौं । साथै हाम्रो संघर्षमा भौतिक र नैतिक सहयोगका लागि सम्पूर्ण शिक्षण संस्था, युवा विद्यार्थी र आमजनसमुदायमा हार्दिक अपिल गर्दछौँ।’

  • घरबासको अनुभव साट्न भुजुङका स्थानीय तनहुँमा

    घरबासको अनुभव साट्न भुजुङका स्थानीय तनहुँमा

    लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङका घरबास सञ्चालक पर्यटन प्रवर्द्धन र घरबासको अनुभव साटासाटका लागि तनहुँ आएका छन्।

    तनहुँको बन्दीपुर र भानु नगरपालिकामा सञ्चालित घरबाससँग अनुभव साटासाट र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित भुजुङका पर्यटन व्यवसायी यहाँ आएका हुन्।

    लमजुङको सबैभन्दा ठूलो गुरुङ गाउँ, मौलिक कला र संस्कृतिले भरिएको भुजुङ गाउँ र तनहुँको संस्कृति, रीतिरिवाज र यहाँ सञ्चालित घरबासको अनुभव साटासाटका आएको समूहले पर्यटकीय नगरी बन्दीपुरको भ्रमण गरेको छ।

    कार्यक्रमको सहजीकरण गरेका पर्यटनविज्ञ एवम् सम्पदा नेपालका अध्यक्ष हरिसिंह गुरुङका अनुसार भुजुङबाट आएको टोलीलाई बन्दीपुरका पर्यटकीयस्थलको भ्रमण गराइएको छ।

    उनले भने, ‘यसले तनहुँको पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्नेछ। साथै भुजुङको पर्यटन विकासका लागि पनि यो भ्रमण कोसेढुङ्गा हुने विश्वास गरिएको छ।’

    भुजुङको कलासंस्कृति र वातावरणमैत्री विकास गतिविधि एवम् प्रक्रिया र ग्रामीण पर्यटन विकासका चुनौती, बन्दीपुर र टुटेपानीमा विकसित सकारात्मक पर्यटकीय गतिविधि एकआपसका लागि राम्रा सिकाइ हुने उनको भनाइ छ।

    यसैबीच भुजुङ सामुदायिक होमस्टे पर्यटन समितिको आयोजनामा आज बन्दीपुरमा होमस्टे व्यवस्थापन तालिम सञ्चालन गरिएको छ।

    पर्यटन व्यवस्थापन उपसमिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले भुजुङका घरबास सञ्चालकलाई पर्यटकीयस्थलको भ्रमण गराउँदै घरबासको अनुभव साटासाट गर्न र थप व्यवस्थापकीय सुधारबारे जानकारी दिन तालिम आयोजना गरिएको जानकारी दिए।

    गुरुङबाहुल्य भुजुङ लमजुङ सदरमुकाम बेसीशहरदेखि ३२ किलोमिटर दूरीमा अवस्थित छ।

  • नासाका वैज्ञानिकले नेपालगन्जका विद्यार्थीलाई अनुभव सुनाउने

    नासाका वैज्ञानिकले नेपालगन्जका विद्यार्थीलाई अनुभव सुनाउने

    नासाका वैज्ञानिक डा. रायन जेइग्लरले नेपालगन्जका विद्यार्थीलाई आफ्नो अनुभव सुनाउने भएका छन्। स्काईमिट नक्षेत्रालयको समन्वयमा उनी पहिलो पटक नेपालगन्ज आउन लागेका हुन्।

    यही जेठ ८ गते नेपालगन्जमा एक कार्यक्रमकाबीच चन्द्रमाको विकास, चन्द्रमा उल्का पिण्डहरु र अपोलो माटोमा भेटिएका साना काँचका टुक्राबारे गरिएको अनुसन्धानका विषयमा विभिन्न विद्यालयका विद्यार्थीलाई अवगत गराउने कार्यक्रम रहेको छ।

    नेपालगन्जमा बिहीबार पत्रकार सम्मेलन गर्दै स्काईमिट नक्षेत्रालयका प्रमुख निरज श्रेष्ठले लामो प्रयासपछि नासाका वैज्ञानिक डा. रायन नेपाल आउन लागेको बताए।

    उनले उक्त कार्यक्रममा नेपालगन्जका करिब ८ वटा विद्यालयबाट एक हजार ५ सय विद्यार्थी सहभागी हुने जानकारी दिए। ‘कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी हुनेछन्,’ श्रेष्ठले भने ‘विद्यार्थीका लागि यो ठुलो अवसर पनि हो।’

  • ‘संसदको भित्रको अप्रिय स्थितिको जिम्मेवारी सभामुखले लिनुपर्छ’

    ‘संसदको भित्रको अप्रिय स्थितिको जिम्मेवारी सभामुखले लिनुपर्छ’

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदभित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै त्यसको जिम्मेवारी सभामुखले लिनुपर्ने बताएका छन्।

    प्रतिनिधि सभा बैठकपछि पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले संसद्‍‌भित्र अप्रिय स्थितिको सिर्जना भएको भन्दै सभामुखको कारण त्यस्तो स्थिति आएको बताएका हुन्।

    सभामुखले सत्तारुढ दलका तीन पार्टीका अध्यक्षहरुसँग परामर्श गरेर उनीहरुको निर्देशन अनुरुप बैठकमा कांग्रेसलाई पेलेर अगाडी बढेको उनकाे जिकिर थियाे।

    उनले संसद्‌मा जबर्जस्ति कार्यसूचि प्रवेश गराएर सभामुखले अप्रिय र अनपेक्षित स्थिति सिर्जना गरेको उल्लेख गरे। उनले सभामुखले आफ्नो निष्पक्ष भुमिका निर्वाह गर्न चुकेको बताए।

    महामन्त्री थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता ठानेको भन्दै कांग्रेसका सांसदहरुलाई त्यस्तो नगर्न चेतावनी दिए। उनले सभामुखले जबर्जस्त बैठक अगाडी बढाएपछि कांग्रेसका सांसदहरुले बिरोध गरेको भन्दै एमाले अध्यक्ष ओलीले कांग्रेसका सांसदहरुलाई निर्देशन दिन खोजेको बताए।

    महामन्त्री थापाले सरकारले जसको फाइल खोले पनि हुने बताए। उनले सरकारमा बसेका मन्त्रीहरुले यसको र उसको फाइल खोल्छौँ भनेर अभिव्यक्ति दिइरहेको भन्दै काम गरेर देखाउन आग्रह गरे। उनले सबै फाइल खोले पनि कांग्रेस त्यसको लागि तयार रहेको स्पष्ट पारे।

    महामन्त्री थापाले संसदीय छानविन समिति अनिवार्य शर्त भएको भन्दै समिति नबनेसम्म संसद्‌मा सरकारी काम, कारबाही अगाडी बढ्न नदिने बताए।

  • गुल्मी बस दुर्घटना: घाइते एक जनाको मृत्यु

    गुल्मी बस दुर्घटना: घाइते एक जनाको मृत्यु

    गुल्मीमा बस दुर्घटना हुँदा घाइते भएका १३ जना मध्य एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ।

    पाल्पा रिब्दोकोट गाउँपालिका-१ बस्ने ४० वर्षीय युवराज कुवरको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। दुर्घटनाका अन्य घाइतेहरूको उपचार भइरहेको छ।

    बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको थियाे।

    प्रहरीका अनुसार बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको थियो। दुर्घटनामा बस चालक स्याङ्जा वालिङ नगरपालिका-५ बस्ने २८ वर्षीय मनोज बस्याल गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा र शरीरमा भित्री चोट लागेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ।

    यस्तै, अन्य घाइते हुनेहरुमा स्याङ्जा हरिनाथ-५ बस्ने ३५ वर्षीय खेमराज लम्साल, कास्की मादी गाउँपालिका बस्ने २३ वर्षीय रोशनी नेपाली, गुल्मी रुरुक्षेत्र गाउँपालिका-१ बस्ने ३० वर्षीय रिता बि.क, पाल्पा रिब्दिकोट गाउँपालिका-१ बस्ने ६५ वर्षीय तारा प्रसाद पाण्डे, डडेलधुरा नवदुर्गा गाउँपालिका-२ बस्ने ३६ वर्षीय राज बहादुर साउद, गुल्मी रेसुङ्गा नगरपालिका-१० बस्ने केशब अर्याल, ठेगाना नखुलेको २१ वर्षीय ईन्द्रा सुबेदी, गुल्मी गुल्मिदरबार गाउँपालिका-२ बस्ने २० वर्षीय ओम बहादुर बलाल, गुल्मी रुरु क्षेत्र गाउँपालिका-३ बस्ने २३ वर्षीय गंगा बहादुर वि.क, ठेगाना नखुलेको २३ वर्षीय सुशिला नेपाली, र ४२ वर्षीय शान्ति सुनार रहेका छन्।