Author:

  • ए भरिया दाइ!

    ए भरिया दाइ!

    ए भरिया दाइ,

    भन न भन

    ए भरिया दाइ,

    भन न भन

    तिम्रो मुस्कानको दाम

    हिंड्दाहिंड्दा

    फुटेका पैताला लिई, कहाँसम्म पुग्ने हो।

    यत्रो बडेमानको दायित्व, बोकेर तिमी

    ककसको सामु बिसाउने हो?

    भन न भन

    ए भरिया दाइ,

    एक काँधमा गोलभेडा

    अर्कोमा काँधमा कोभीको क्यारेट

    बोकेर तिमी

    कति दुरीका लागि?

    कहिलेसम्म कति दगुर्ने हो?

    भन न भन

    ए भरिया दाइ,

    लोभलाग्दा तिम्रा रहरहरू

    बनिसके आदिमकालका खण्डहरजस्तै

    भग्नावशेष बनेका केही खुशीहरू

    डोको र नाम्लोले कहिले सम्म बाध्ने हो?

    भन न भन

    ए भरिया दाइ,

    असन चौकका

    साँगुरा गल्लीहरू जस्तै तिम्रा सपनाहरू पनि त

    खुम्चिन थालेका छन्

    चर्चरी फाटे जसरी फाटेका

    तिम्रा कुर्कुच्चाहरू जस्तै

    फाट्दै छन् तिम्रा लोभलाग्दा रहरहरू

    र बग्दैछन् अश्रुधाराहरू

    फाटेका रहर र बगेका आशु

    कहिलेसम्म रोकिनेछ

    भन न भन

    ए भरिया दाइ,

    एउटा हातमा खाजाको पोको

    अर्को हातमा सपनाको पोको

    बोकेर तिमी

    कहिलेसम्म यसरी दगुर्ने हो?

    भन न भन

    ए भरिया दाइ।

  • संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

    संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

    संसद बैठक अघि नेपाली कांग्रेसलगायत विपक्षी दलहरूबीच छलफल सुरु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

    आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफलमा छन्।

    सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ। कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन्। उनीहरूको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन।

    गठित समितिको कार्यदलको पनि बैठक अहिले जारी छ।

  • अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

    अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

    बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ।

    अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए।

    ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ। मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ।

    दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए।

    पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ।

    एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ। पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ। -रासस

  • संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

    संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

    सभामुख देवराज घिमिरेले आज पनि विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।

    अहिले १०ः३० बजे प्रमुख सचेतकहरूलाई उनले छलफलका लागि बोलाएका छन्।

    प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयमा छलफल हुने बताइएको छ।

  • वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

    वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

    १) मुक्तक

    वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ,

    निर्मम छ कठोर छ, त्यही मोरोको याद आउँछ।

    मातृत्व पीडा पनि साँच्चै नै नमिठो हुँदोरहेछ,

    वृद्धाश्रममा छु र पनि त्यही छोराको याद आउँछ।

    २) मुक्तक

    आँखाभरि सपनाको, ताराजून सुकाउँछिन्,

    हृदयभरि वात्सल्यको, विस्कुन सुकाउँछिन्।

    खुसी चुसाँउदा चुसाउँदै, रित्तिएर मेरी आमा,

    अमृतधारा बग्ने आफ्नो, थुन सुकाउँछिन्।

    ३) मुक्तक

    कोमल फूल छातीमाथि खस्दा पनि दुख्छ अचेल,

    मिठा यादहरू मुटुभित्र, बस्दा पनि दुख्छ अचेल।

    तातो बगरमा वसन्तका मुनाहरू खोज्दै जाँदा,

    झुक्किएर शीतल छाल पस्दा पनि दुख्छ अचेल।

    ४) मुक्तक

    कतै घाइते सम्बन्धको, दूरी रोइरहेछ,

    कतै विश्वासको, चुहिने धुरी रोइरहेछ।

    अचानक समय स्वार्थसँग फरार भएपछि,

    विरहमा भक्कानिएर बिचरो बाँसुरी रोइरहेछ।

    ५) मुक्तक

    चिसो लाग्छ कि भनेर जाडामा बाहरू, न्यानोन्यानो भोटो खोज्छन्,

    अंशवण्डामा छोराहरू, चाँदीको करूवा र सुनको लोटो खोज्छन्।

    टुक्राटुक्रामा बाँडिन्छ खेत, चुँडिन्छ बारी, खण्डखण्डमा टुक्रिन्छ घर,

    बा मरेपछि भित्तामा टाँस्न, छोराहरू कन्तुरमा बाको फोटो खोज्छन्।

  • जीविकोपार्जनका लागि बगर खेती, आकर्षक आम्दानीले किसान मक्ख

    जीविकोपार्जनका लागि बगर खेती, आकर्षक आम्दानीले किसान मक्ख

    कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।

    रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्। बगरमा उत्पादित तरकारी बिक्री गरेर उनले घरखर्च जुटाउँदै आएका हुन्। ‘दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ’, उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ। सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन्।

    दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्।

    डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन्। त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ। मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ।’

    डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो। विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्।

    ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ। उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ’, उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन। उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।’

    दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए।

    ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी’, उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ।’ -रासस

  • लडेर एक विद्यार्थीको मृत्यु

    लडेर एक विद्यार्थीको मृत्यु

    बैतडीमा लडेर एक विद्यार्थीको मृत्यु भएको छ। पाटन नगरपालिका-४ स्थित भुमेश्वर मावि ठाँडमा कक्षा-९ मा अध्ययनरत १४ बर्षीय प्रकाश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

    प्रहरीका अनुसार पाटन नगरपालिका-४ बथ्थी घर भएका प्रकाश गएको शुक्रबार विद्यालयमा कुर्सी बाहिर ल्याउने क्रममा लडेर घाइते भएका थिए।

    उनको छातीमा चोट लागेका र विकलाई सोही दिन डडेल्धुरा अस्पताल पुर्‍याएको बताइएको छ।

    उनलाई अस्पतालबाट उपचार गरेर घर ल्याएपछि शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

  • अफगानिस्तानको मध्य क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

    अफगानिस्तानको मध्य क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

    अफगानिस्तानमा बाढीका कारण कम्तिमा ५० जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार अफगानिस्तानको मध्य क्षेत्र घारेमा शनिवार भएको वर्षा र आएको बाढीका कारण कम्तिमा २ सय घर नष्ट भएका छन्।

    प्रहरी अधिकारीहरूका अनुसार वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेको छ भने नदीहरूमा जलस्तर पनि बढेको छ। बाढीमा परी बेपत्ता भएकाहरूको सङ्ख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

    गत साता अफगानिस्तानको उत्तरी क्षेत्रमा आएको बाढीमा पनि ३ सय जनाको मृत्यु भएको थियो।

    अफगानिस्तानको मौसम विभागले आगामी केहीदिन अझै पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

  • लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा

    लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा दीपक थापा निर्वाचित भएका छन्। सङ्घको आज बिहान सम्पन्न निर्वाचनमा दुई प्रतिस्पर्धीलाई पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित हुन्।

    सङ्घको प्रथम उपाध्यक्षमा विनोदजङ्ग केसी, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा सेमन्तराज न्यौपाने र महासचिवमा महेशकुमार बस्नेत, सचिवद्वयमा तुलसीराम पुरी र राज लामा, कोषाध्यक्षमा हिमा गुरुङ र सहकोषाध्यक्षमा लिलबहादुर तामाङ निर्वाचित भए।

    त्यसैगरी सदस्यमा देवीप्रसाद गिरी, शालिकराम अधिकारी, दीपककुमार राय, सौरभ आचार्य, विद्यालक्ष्मी बज्राचार्य, अभिनभमानसिंह बस्नेत, राजेश्वर यादव, सविताकुमारी सिंह, रोशना निरौला र महेशकुमार श्रेष्ठ निर्वाचित भए। सङ्घमा देशभरका चार सयभन्दा बढी व्यवसायी आबद्ध छन्। -रासस

  • किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

    किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

    सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो।

    पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। उक्त राजदूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा करिब दुई सय ८० को सङ्ख्यामा खासगरी बिस्केक र वरपर रहनुभएका नेपाली हाल सकुशल रहनुभएको र स्थिति सामान्य नहुञ्जेलसम्म निवास÷घर बाहिर ननिस्कन आग्रह छ’, भनेको छ।

    दूतावासले कुनै किसिमको समस्या परेमा उक्त देशमा रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ। साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नं. +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।

    बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले उक्त आग्रह गरेको हो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ। छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको र उनीहरूको उपचार भएको जनाएको छ। रासस