ए भरिया दाइ,
भन न भन
ए भरिया दाइ,
भन न भन
तिम्रो मुस्कानको दाम
हिंड्दाहिंड्दा
फुटेका पैताला लिई, कहाँसम्म पुग्ने हो।
यत्रो बडेमानको दायित्व, बोकेर तिमी
ककसको सामु बिसाउने हो?
भन न भन
ए भरिया दाइ,
एक काँधमा गोलभेडा
अर्कोमा काँधमा कोभीको क्यारेट
बोकेर तिमी
कति दुरीका लागि?
कहिलेसम्म कति दगुर्ने हो?
भन न भन
ए भरिया दाइ,
लोभलाग्दा तिम्रा रहरहरू
बनिसके आदिमकालका खण्डहरजस्तै
भग्नावशेष बनेका केही खुशीहरू
डोको र नाम्लोले कहिले सम्म बाध्ने हो?
भन न भन
ए भरिया दाइ,
असन चौकका
साँगुरा गल्लीहरू जस्तै तिम्रा सपनाहरू पनि त
खुम्चिन थालेका छन्
चर्चरी फाटे जसरी फाटेका
तिम्रा कुर्कुच्चाहरू जस्तै
फाट्दै छन् तिम्रा लोभलाग्दा रहरहरू
र बग्दैछन् अश्रुधाराहरू
फाटेका रहर र बगेका आशु
कहिलेसम्म रोकिनेछ
भन न भन
ए भरिया दाइ,
एउटा हातमा खाजाको पोको
अर्को हातमा सपनाको पोको
बोकेर तिमी
कहिलेसम्म यसरी दगुर्ने हो?
भन न भन
ए भरिया दाइ।

Leave a Reply