Author:

  • मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

    मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

    कान्तिलोक पथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    शनिबार ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भीरबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्। उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनाका थप एक घाइते छन्। बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साहको उपचार भइरहेको हो। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

  • संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

    संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

    कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ उनले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।

    देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एक ठाउँमा आउन उनले आग्रह गरे।

    ‘देशमा राजनीतिक सङ्कट छैन। राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ती सङ्कटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ’, महामन्त्री शर्माले भने, ‘जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रूपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ।’

  • सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ

    सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा जारी गतिरोध अन्त्य नभए अध्यादेशबाट बाटाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश शाखाले आयोजना गरेको ‘पत्रकारिताको सामयिक विमर्श तथा साधारसभा’ कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन्।

    सभामुख घिमिरेले निकट आइरहेको बजेट र बजेटसँग सम्बन्धित विषय पारित गर्नुपर्ने अवस्थामा संसद् सुचारु हुनुपर्ने बताए।

    ‘त्यसमा पनि अहिले त सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिसकेको बेलामा सरकारले बहुमत देखाउँछु भनेर देखाउनका लागि तिथिमिति तोकेको बेला छ,’ उनले भने,‘यस्तो बेला संसद् अवरोध भयो, चलेन भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसद् अन्त्य गरेर अध्यादेशका माध्यमबाट कतिपय बाटाहरू खोल्नुपर्ने परिस्थिति आउँछ।’

    अहिलेकै अवस्थामा देश त्यो बाटोमा गए प्रजातन्त्रको कसरी उपयोग भयो भन्ने प्रश्न उठ्ने घिमिरेले बताए। यी कुराहरू आज सबैको बहसको विषय भएको सभामुख घिमिरेले बताए।

  • नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले

    नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले

    सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्‌मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन्।

    शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्‌मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए।

    उनले संसद्‌मा कांग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उल्लेख गरे।

    प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरे।

  • अक्करे भीरको सहज यात्रा: अपि हिमाल वेश क्याम्प ट्रेकिङ

    अक्करे भीरको सहज यात्रा: अपि हिमाल वेश क्याम्प ट्रेकिङ

    विश्वभरिका पदयात्रा प्रेमीहरुका लागि नेपाल एक आकर्षक गन्तव्य मुलुक रहिआएको छ। यहाँको भूगोल, अतुलनीय प्राकृतिक सम्पदा, यहाँ बसोबास गर्ने रैथाने मानिस र तीनका भाषा, भेषभुषा, खानपिन आदिका कारणबाट नेपाल पदयात्राका लागि अत्यन्त उपयुक्त स्थलको रुपमा रहेको छ।

    हाल प्रचलनमा रुहेका र विकास भइरहेको अधिकांश पदयात्रामार्गहरु पदयात्रीका लागी मात्र विकास नभएर यी मार्गहरु स्थानीय मानिसहरुले आफ्नो दैनिक जीवनयापनका लागि परापूर्वकालदेखि प्रयोग गर्ने बाटाहरु पनि हुन, यसकारण यी पदमार्ग आफैमा स्थानीय जनजीवनको ऐना पनि हो।

    सुदूरपश्चिम जसलाई सुन्दर सुदूरपश्चिमको रुपमा ब्रान्डिङ गर्ने कोसिस भइरहेको छ, वास्तवमै सुन्दर छ। यस प्रदेशमा शुक्लाफाँट र खप्तड वन्यजन्तु, राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षण क्षेत्र रहेका छन्।

    यही अपि नाम्पा संरक्षण क्षेत्रभित्र दार्चुला जिल्लाको गुँरास हिमश्रृखलामा सुदूरपश्चिमकै अग्लो (७१३२) मिटर उचाइको अपि हिमाल अवस्थित छ।

    यो अपि हिमाल र यसको वेश क्याम्पसम्मको पदयात्रा मार्गको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास परियोजना युएनडिपीको सह-लगानीमा सञ्चालित ‘जीविकोपार्जनका लागि दिगो पर्यटन विकास कार्यक्रम’ (एसटिएलआरपि) र स्थानीय अपि हिमाल गाउँपालिकाबीच सहकार्य भएको छ।

    यस सहकार्यमा पर्यटक सूचनाकेन्द्र, कोसेली घर, स-साना काठेपुल, पर्यटकीय विश्राम घर, साइनेजहरुको निर्माण तथा स्थापना, डस्टवीनहरुको व्यवस्थापन लगायत होमस्टे संचालनका लागि आधारभूत तालिम र सहजीकरण जस्ता कार्यक्रमहरु संचालन भएका थिए।

    यो क्षेत्रको स्थलगत भ्रमण तथा प्रचारप्रसारका लागि विभिन्न संस्था तथा निकायका प्रतिनिधिहरू सम्मिलित एक टोलीले वैशाखको तेस्रो साता यो क्षेत्रको परिचयात्मक भ्रमण गरेको थियो।

    पहिलो दिन: काठमाडौं- गोकुलेश्वर दार्चुला

    यात्राको पहिलो दिन सहभागी टोलीले आफूलाई पदयात्रामा आवश्यक पर्ने जरुरी सामानहरू जस्तै: ट्रेकिङ्ग जुत्ता, ब्याग, न्यानो ज्याकेट, चस्मा, पानीको बोटल लगायतका सामानहरुको जोहो गरी सबेरै धनगढीका लागि हवाईयात्रा गर्न एयरपोर्ट पुगियो।

    आठ बजेका लागि तय भएको यात्रा हवाई ट्राफिक जामका कारण एक घण्टा ढिला भयो। करिब एक घण्टाको उडानपछि धनगढी एयरपोर्टमा अवतरण भइयो, यहाँबाट नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल संघका प्रतिनिधि साथीहरु र नेपाल टेलिभिजनको क्षेत्रीय टिम समेत हाम्रो टोलीमा मिसिनुभयो।

    धनगढीको प्रचण्ड गर्मी अत्तरिया कटेर गोदावरीको उकालो काट्दा नकाट्दै कम हुन लागिसकेको थियो। महाकाली राजमार्गको भासुको भीर हुँदै अगाडी बढ्दा बाटामा प्रशस्त काफल र ऐसेलु बेच्न राखेको पाइयो।

    रैथाने यी फलफूलको स्वाद लिँदै हामी साहुखर्क भन्ने चिसो स्थानमा रोकियौ। यस ठाउँमा प्रायशः यो राजमार्ग भएर यात्रा गर्ने जोकोही खीर खान खोकिने गर्दछन्। खीर बुढाको नामबाट प्रख्यात यो खीर पसल झण्डै चालीस वर्षबाट संचालित छ।

    हाल दोस्रो पुस्ताबाट सन्चालित यो होटलमा आज पनि ४० लिटरको शुद्ध दूधको खीर पाक्दछ। ढिलो पुग्ने यात्रुहरुले यो खीर चाख्न नपाउन पनि सक्दछन्।

    बैतडीको पाटन एरियामा झुलिरहेका पाकेका गहुँका बालाहरु, सल्लाको रुखबाट भइरहेको खोटो संकलन जस्ता दृश्यहरू नियाल्दै पूर्व तय भएको आइटीनरी अनुरूप बास बस्न दार्चुलाको गोकुलेश्वर पुग्नै पर्ने भएकाले डडेलधुराको उग्रतारा मन्दिरको समेत राजमार्गबाटै दर्शन गरी हामी अगाडी बढी रह्यौँ। लखतरान भएर करिब २५० किलोमिटरको यात्रा पश्चात् यो रात हामी गोकुलेश्वरमा बास बस्यौ।

    दोस्रो दिन :गोकलेश्वर – नौपाटा

    बिहान उठी नियाल्दा गोकुलेश्वर बजार बैतडी र दार्चुलाको सिमानामा अवस्थित सुन्दर बजार रहेछ, यहाँ पर्यटकीय होटल लज सहजै उपलब्ध छ। हाल सन्चालनमा नहरेको एयरपोर्ट पनि रहेको यस बजारबाट तीन घण्टाको कच्ची सडकको यात्रा तय गर्न हामी स्थानीय भाषामा चौलानी नदी भनिने चमेलिया नदीको तीरै तीर अगाडि बढायौँ।

    चमेलिया नदीमा संचालित दुई वटा हाइड्रोपावरलाई पछि छाड्दै सडकको अन्तिम बिन्दु मकरीघाटमा हामी पुग्यौ। यहाँ निर्माण भएको पर्यटक सूचना केन्द्र र कोसेली घरको उद्घाटन कार्यक्रम पश्चात् हामीले दिवा खाना यही खायौ। अपि हिमालको खास पदयात्रा यहाँबाट सुरु भयो।

    करिब ५ हजार स्टेप रहेको शिद्धमकरीघाट पदमार्ग भीरको बाटो ठाडै उकालो लाग्दछ, ढुङ्गाले छापिएको बाटामा फलामका रेलिङ्गले पदयात्रीलाई सुरक्षित महसुस गराउँछ। खुकुरी उद्‌दाउने धार भनिने अग्लो धारिलो ठाँउ हुँदै हामीहरू पहाडको शिरमा पुग्छौ।

    यो भूगोललाई स्थानीय भाषामा मल्देश पनि भनिन्छ। यो भूगोलको बारेमा धेरैपछि मात्र तल्लो भूभागका मानिसहरूलाई जानकारी प्राप्त भयो: जनश्रुति अनुसार माथिल्लो भूभागका मानिसहरुले खुकुरीले काटेको रुखको हाँगा चौलानी नदीमा बग्दै आएपछि मात्र यो बस्तीका बारेमा थाहा भयो।

    मिलेको उर्वरा भूमि र हिमालबाटै व्यास क्षेत्र भएर तिब्बत तिरै व्यापार र आउँजाउँ गरिने तत्कालीन अवस्थाले तल्लो भेगतिर खासै सम्बन्ध नभएको पनि हुन सक्दछ। डाँडामा त्यहाँका अन्तिम राजा सतारसिहको दरबारको भग्नावशेष पनि रहेको छ।

    त्यहाँबाट करिब दुई घण्टाको बाटोपछि हामी नौपाटा पुग्यौ, बाटामा हाम्रो समूह आ-आफ्नै तरिकाले हिँड्दा हामी गलत बाटो झरेछौँ। सही बाटो पुग्न घुम्नुपर्ने हुँदा स्थानीय व्यक्तिले आलुबारीबाटै हामीलाई हिँड्न दिए देख्ने साथीहरुलाई कृषि पर्यटनको सम्भावना हेर्न आलु बारी गएको, बाटो भुलेको हैन भनेर ढाँट्ने प्रयास गर्‍यौ।

    नौपाटामा हामीलाई नौपाटा होमस्टे समूहले स्थानीय चाहे र छलियाँ नाँच सहित न्यानो स्वागत गर्नुभयो। स्थानीय भाषामा बोदलु भनिने भाङ्गका पहिरनमा सजिएका स्थानीय कलाकारहरुको प्रस्तुत बेजोड र मनै लोभ्याउने रहेको थियो। गुजुमुज्ज परेको बस्तीमा साँझमा स्थानीय अन्नका परिकारहरुको स्वादिलो भोजन सहित अत्यन्त राम्रो पारिवारिक वातावरणमा नौपाटा होमस्टेमा हामीहरुले रात बितायौ।

    तेस्रो दिन : नौपाटा -सित्ती होमस्टे

    बिहान सबेरै कोदाको रोटी, तरकारी र लोकल कुखुराको अण्डाको अर्ग्यानिक ब्रेकफास्ट पछि हामीले आफ्नो बाटो ततायौ। गाउँपालिकाको नयाँ भवन हुँदै जुस्कुको ओरालो भएर करिब दुई घण्टामा हामीहरू काठेपुल तरेर चौलानी नदी पारी पुग्यौ, यहाँबाट उकालो लाग्दा बाटोमा गुस्याली झरनाको सुन्दरताले हामीलाई मोहित गरायो।

    पाटु होमस्टेका आमा समूहले चोली घाघरा पहिरनमा सजिएर गरेको स्वागत कार्यक्रम सँगसँगै स्वादिलो दिवा खाना हामीले खाइयो। यात्राको क्रममा घुस्साको पारिलो भीरको बाटोमा ठूला ठूला चीलहरूले समूह समूहमा कावा खाइरहेको दृश्यले आफु पनि चील सरी उड्न सके माथि उडी अपिहिमालको दर्शन गर्न पाए हुन्थ्यो भन्ने इच्छा जाग्दछ।

    बाटामा जहाँ पनि चिया भन्ने बित्तिकै डोलु भनिने स्थानीय जडिबुटीबाट बनेको चिया दिने चलन रहेछ। यो चियामा अझ गानानु भनिने बहु उपयोगी वनस्पतिको मिश्रणले थप मिठासता र शुद्धता थप्दछ। साँझमा वासको लागि सित्ती भन्ने स्थानमा पुगियो।

    भरखरै सुरु गरेको होमस्टे भएपनि आगन्तुक पाहुनाको बसाई सुखद बनाउनका लागि सित्ती होमस्टेले गरेको प्रयत्न सर्हाननीय त छदैछ, पर्यटन प्रतिको स्थानीय उत्साहले यस क्षेत्रमा पर्यटन विकासको सुनौलो भविष्यको समेत अनुमान लगाउन सकिन्छ।

    अपि गाँउपालिकाका युवा अध्यक्ष भक्त सिंह ठेकरे बाेहरा यस क्षेत्रको पर्यटन विकासका लागि लागिपरेका छन्। ट्रेक एण्ड ट्रिट भन्ने आँखा विशेषज्ञहरूको टोलीले यस स्थानका आएर आँखा शिविर सञ्चालन गरिहरेको रहेछ, शिविर सञ्चालन गर्नेहरूलाई हामीसँगै अपि हिमालको वेश क्याम्प सम्मको ट्रेकिङ पालिकाको तर्फबाट संयोजन गरिएको रहेछ।

    आहा ! कस्तो राम्रो आँखा बिशेषज्ञले यो विकट गाउँमा निःशुल्क आँखाको उपचार गर्ने, उनीहरुलाई स्थानीय सरकारले सुन्दर अपि भ्रमण गराउने, धन्यवाद ज्ञापन गर्ने यो भन्दा गतिलो उपाय केही होला र ?

    चौथो दिन: सित्ती – धौली ओडार

    आजको बाटो अलि लामो भएकाले बिहानै हामीले यात्रा सुरु गरी करिब डेढ घण्टाको ओरालो झराई पछि खायकोट भन्ने स्थानमा पुग्यौ। पोहर साल अपि भ्रमण वर्ष मनाएको गाउँपालिकाले यहाँ पर्यटक आगमनको तथ्याङ्क राख्न थालेको छ, सो अनुसार हालसम्म करिब ३५०० पर्यटकहरुले यो क्षेत्र भ्रमण गरेका छन्।

    अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय पनि यहाँ रहेको छ। अब हाम्रो यात्रा चमेलीया नदीको किनारै किनार अघि बढ्छ। सागर भेट्न हतारिएको नदीको सुसेली, निगालो घारीको बीचबाट लमतन्न परेको पदयात्रा मार्ग, चराको चिरचिराहट, पारि भीरमा झुण्डिरहेको भीर मौरीका चाकैचाका, गन्तव्यमा पुग्न हतारिएका खच्चडका बथान, ठाउँ ठाउँमा भेटिने भेडी गोठ र तीनका सुरक्षामा खटिएका भोटे कुकुरका एकोहोरो भुकाई, अपि हिमाललाई स्पर्श गरी फर्किएको चीसो सिरेटो, हिमाली भेगमा पाइने वनस्पतीहको बाक्लो जङ्गलले यो खण्ड वास्तवमै अतुलनीय छ।

    अहिले यो भेगमा याँर्सागुम्बा टिप्ने सिजन सुरु भएकाले हुलकाहुल मानिसहरु आफ्ना लागि अत्यावश्यक सामान बोकी उकालो लागेका छन्, उनीहरु अब असारको दोस्रो साता मात्र गाउँ फर्कन्छन्। जाने बाटै यती सुन्दर छ भने अपि तिमी कस्ती हौलि ? यो कौतुहलाताले हाम्रो मन थप रोमान्चित हुन्छ। करिब तीन घण्टाको यात्रा पश्चात् हामी २५०० मिटरको उचाइमा अवस्थित छिरछिरे भन्ने स्थानमा लन्चका लागि रोकिन्छौ।

    पर्यटन विभागबाट यस भन्दा अगावै यो पदयात्रा मार्गको निर्माण गरिएको छ, सोही क्रममा यात्रु विश्राम गृह समेत यहाँ सन्चालनमा छ। यहाँबाट केही बेरको हिँडाई पछि मौसम बदलिन लाग्दछ, सुरुमा सिमसिम परेको पानी पछि बाक्लो हुँदै जान्छ टोलीमा ओडा नभएका हामी सहभागीहरूलाई स्थानीय व्यक्तिहरूले उदारतापूर्वक आ–आफ्नो ओडा शेयर गर्छन्।

    एक घण्टा पछि सिमार भन्ने स्थानमा तातोपानी, चिया खादै केही बेर आगो तापी शरीर न्यानो बनाएपछि हामी पुनः हिँड्छौ। अब दौलीओडार नपुगी कुनै होटल नभेटिने हुनाले थाकेकै शरीर भएपनि हिँडाइको गति बढाउनुभन्दा विकल्प रहेन धन्न पर्यटन मन्त्रालयबाट टोलीमा सहभागी हुनुभएका अधिकृत गुणराज भट्टराईका रमाइला जोकले ऊर्जा प्रदान गरिरह्यो।

    हामीहरू दोमोल हुँदै करिब चार घण्टाको निरन्तर यात्रापछि झमक्क साँझमा दौलिओडार बास बस्न पुग्दछौ। अहिले यो सिजनमा दौलिओडारका आसपासका क्षेत्र गुलजार छ, यार्सागुम्बा सङ्गलनका लागि भेला भएका मानिसका अस्थाई टेन्टले यो क्षेत्र रङ्गीचङ्गी भएको छ। दौलीओडारमा परियोजनाले निर्माण गरेको विश्राम स्थल निजी क्षेत्रले सन्चालन गरिरहेको छ सोही स्थानमा हाम्रो बास भयो।

    पाँचौ दिन : धौली ओडार वेश क्याम्प– धौली ओडार

    हिजोको झरीले यो क्षेत्रमा हिउँ परि सेताम्मे भएछ, दौलीओडारबाट करिब डेढ घण्टाको उकालो पछि ३९०० मिटरको उचाइमा वेश क्याम्प पुगियो। आँखै अगाडि उभिएको अपि हिमाल काइयाकार, नाम्पा, भवैया, लाइकुपिकको प्रथम सात्क्षात्कारमै यात्राको थकाई भाग्यो, यी हिमालहरुको विशालताले हामी मानिसहरु प्रकृतिका अगाडि कति साना र निरीह छौ बुझ्ने मौका समेत पाइयो।

    यो वेश क्याम्प अत्यन्त ठूलो र फराकिलो छ सेतै हिउँले ढाकेको फाँटमा ठाउँ-ठाँउमा फूलहरु फूलेका देख्न सकिन्छ। अपि हिमालको ठ्याक्कै काखमा चमेलिया खोलाको मुहान छ, धार्मिक आस्थाको स्थलको रुपमा रहेको यस मुहानमा सानो मन्दिर पनि रहेको छ। यहाँबाट करिब तीन घण्टाको दूरीमा ४२०० मिटरको उचाइमा अत्यन्त आकर्षक कालीढुङ्गा ताल रहेको छ।

    वेश क्याम्पको मनमोहक वातावरणमा मन्त्रमुघ्द भएर हिउँसँग खेल्दै त्यहाँको सौन्दर्यलाई तस्बिरमा कैद गर्दा समय बितेको पत्तै भएन। यहाँ स्थानीय स्तरमा ‌सन्चालनमा रहेका दुई वटा होटल छन्। मन नहुँदा नहुँदै पनि वेश क्याम्पको स्वर्णिम अनुभवलाई जीवन भरका लागि हृदयमा समेटी साँझमा रातको बसाइका लागि पुनः दौलीओडारझरियो।

    अन्तमा, प्राकृतिक छटाले भरिपूर्ण यार्सागुम्बा, पाँचऔले बनलसुन, बलैचन लगायत अन्य बहुमूल्य जडीबुटी पाइने ओखर, तितिलो, पाड्गर,खस्ररु, भोजपत्र, चिमाल, धुपी लगायतका वनस्पतिको विविधता रहेको अत्यन्त राम्रो र सुरक्षित पदयात्रा मार्ग भएको, प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध बनाएर जीवन यापन गरिरहेका पर्यटक मैत्री स्थानीय बासिन्दाहरूले संचालन गरेका होमस्टेको आत्मीय बसाइँका साथमा कम भिडभाड माट्रेकिङ्ग गर्ने सोचमा हुनुहुन्छ भने अपि हिमाल वेश क्याम्पसाच्चै उपयुक्त छनौट हुन सक्दछ।

    लेखक प्रदिप बस्नेत नेपाल पर्यटन बोर्डका अधिकृत हुन्।

  • व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल

    व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे।

    उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए। विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताए।

    सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए। उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए।

  • सवारी दुर्घटना हुँदा चालकको मृत्यु

    सवारी दुर्घटना हुँदा चालकको मृत्यु

    मोरङ विराटनगरमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

    कोशी राजमार्गअन्तर्गत विराटनगरको बरगाछीबाट उत्तर कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार विराटनगर ३ पीपलचोकमा दुर्घटनामा भएको मोरङ प्रहरीले जनाएको छ।

    मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार गुडिरहेका बेला आफैं अनियन्त्रित भई सडकबीचको डिभाइडरमा ठोक्किएर बिहान पौने २ बजेतिर कार दुर्घटना भएको हो।

    विराटनगर ५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको उपचारका क्रममा बिहान साढे ६ बजेतिर मृत्यु भएको डिएसपी बस्नेतले बताए। उनका अनुसार कार यादवले चलाएका थिए।

    दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थिती विराट नर्सिङ होममा भर्ना गरिएको थियो।

    कारभित्र चालक मात्रै रहेको खुलेको छ। तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुन सक्ने र शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखी घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

  • एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

    एक सय दुई वर्षमा आँखाको ज्योति फर्किएपछि…

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्माका सहरमान विश्वकर्माको दुवै आँखाको दृष्टि ९८ वर्ष उमेर पुगेपछि कमजोर हुँदै गयो। बढ्दो उमेरसँगै आँखा पनि कमजोर भएको होला भन्ने लागेर उनले वास्ता गरेनन्। विस्तारै नजिकैका मानिस तथा वस्तु चिन्न छाडेँ। दुई वर्षअघिदेखि सहरमान अरुको सहाराबिना हिँडडुल गर्ने नसक्ने भए। श्रीमतीको मृत्युपछि दुई वर्षसम्म नातिको सहारामा हिँडडुल गरे।

    उनको जीवनमा फेरि खुसी फर्किएको छ। एक सय दुई वर्षको उमेरमा उनको आँखाको ज्योतिसँगै खुसी फर्किएको हो। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले आयोजना गरेको निःशुल्क आँखा शिविरमा उनको आँखा परीक्षण गर्दा दुवै आँखामा मोतियाबिन्दु भएको थाहा भयो। वैशाख ३० गते दाहिने र ३१ गते देब्रे गरी उनका दुवै आँखाको निःशुल्क शल्यक्रिया गरियो।

    नेपाल नेत्रज्योति सङ्घ, सगरमाथा चौधरी आँखा अस्पताल लहानका नेत्ररोग विशेषज्ञ डा. दीवाकर चौधरीको नेतृत्वमा शल्यक्रिया शिविरका लागि खोटाङ पुगेको टोलीले सहरमानको दुवै आँखाको मोतियाबिन्दुको सफल शल्यक्रिया गरेको हो।

    दुई दिनअघि नातिको सहारामा आँखा शिविर आउनुभएका सहरमान अहिले कसैको सहाराबिनै हिँडडुल गर्नसक्ने भएका छन्। शल्यक्रिया पछि आँखाको दृष्टि खुलेसँगै उनले लौरो टेकेर खुसी हुँदै शिविर वरपर हिँडडुल गरे। गुमेको आँखाको दृष्टि पुनःफर्किएपछि उनमा खुसीको सीमा छैन।

    ‘अहिले त हेर्न पाएँ, सबैलाई देख्न पाएँ मलाई हर्ष छ, मेरो मनकति रमाएको छ’, उनले खुसी हुँदै भने। शल्यक्रियापछि पुनःसंसार हेर्न पाएकाले अरुले पनि यसरी संसार देख्न सकून् भन्दै आर्शीवाद दिए।

    आँखा देखेपछि खुसीका आँसु झार्दै उज्यालो देखाउने सबैलाई उहाँले धन्यवाद दिए। ‘मलाई परमेश्वरले फेरि खुसी दिनुभयो मेरो लागि तपाईहरु सबै जना परमेश्वर हुनुहुन्छ’, सहरमानले भने।

    नेपाल नेत्रज्योति सङ्घ खोटाङका सभापति इन्द्र कसजूकाअनुसार तीन दिनसम्म चलेको आँखाको शल्यक्रिया शिविरमा सहरमान जस्तै एक सय तीन जना मोतियाबिन्दुको र ३९ जना अन्य समस्याका गरी जम्मा एक सय ४२ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ। तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको उनले जानकारी दिए।

    नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले सङ्घ अन्तर्गतका आँखा अस्पतालले देशैभरि विभिन्न शिविरमार्फत वार्षिक हजारौँ आँखाका बिरामीको निःशुल्क उपचार गरिरहेको जानकारी बताए।

    सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, एक सय ५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन्। स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ। ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ।

    -रासस

  • लडेर एकजना महिलाको मृत्यु

    लडेर एकजना महिलाको मृत्यु

    ट्वाइलेट जाने क्रममा घरको पहिलो तल्लाबाट लडेर भक्तपुरमा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्लाको सूर्यविनायक नगरपालिका-५ कटुन्जेमा ट्वाइलेट जाने क्रममा घरको पहिलो तलाबाट लडेर गम्भीर घाइते भएकी खोटाङ ऐसेलुखर्क गाउँपालिका ५ घर भई हाल कटुन्जेमा डेरा गरी बस्ने जमुना भट्टराईको मृत्यु भएको हो।

    घटनापछि उपचारका लागि उनका परिवारले अस्पताल लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई प्रारम्भिक अनुसन्धान गरिएको परिसरका सूचना अधिकृत राजन कार्कीले जनाए। प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ।

  • पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबिरहेको धर्ती जोगाउन नेपाल नेतृत्व आवश्यक

    पग्लिरहेको हिमाल, उर्लिरहेको नदी र डुबिरहेको धर्ती जोगाउन नेपाल नेतृत्व आवश्यक

    नेपाल सरकारले पर्वतीय क्षेत्रका प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तरसम्बन्धका बहुआयामिक पक्षबारे विश्वको ध्यानाकर्षण गराउने भएको छ।

    पर्वतीय क्षेत्र सामाजिक आर्थिक मात्रै नभई प्राकृतिक र मानवीय पद्धतिबीचको अन्तरसम्बन्धमा बाँचेको जीवन्त क्षेत्र भएकाले यस क्षेत्रमा परेको बहुआयामिक प्रभावलाई अन्तर्राष्ट्रिय पर्वतीय संवादमा उजागर गर्न लागिएको हो।

    जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा हिउँ पग्लिने र तटिय क्षेत्रमा बस्ने समुदायहरु उच्च जोखिममा पर्दछन्। यसको असर र जोखिम सबै क्षेत्र र वर्गमा पर्ने भएकोले जोखिम न्युनिकरण तथा अनुकुलनका परियोजनाहरु बनाउने क्रममा पर्वतीय क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने विषय नेपालले उठाउन लागेको हो।

    हिमालको मुद्दा विश्व समुदायमा स्थापित गराउने पहल स्वरुप यही जेठ ९ र १० गते काठमाडाैँको चन्द्रागिरीमा गर्न लागिएको पर्वत, मानव र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय संवादमा मुख्य गरी पर्वतीय क्षेत्रसँग सम्बन्धीत विषयमा छलफल गर्न लागिएको हो।

    वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले हिमालको मुद्दा विश्व समुदायमा स्थापित गराउन अन्तर्राष्ट्रिय पर्वतीय संवाद आयोजना गरिएको बताए। हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे साझा एजेण्डा तय गर्नसक्दा यो विषयले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा उच्च स्थान पाउने भएकाले सबैसँग मिलेर जलवायु जोखिमहरु कम गर्ने र अनुकुलित क्षमता वृद्धि गर्ने पर्वतीय संवादको प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए।

    उनले भने,‘यो हिमाल संवाद मुख्य गरी हिमालको मुद्दा विश्व समुदायमा स्थापित गराउन आयोजना गर्न लागिएको हो। दुबईमा सम्पन्न विश्व जलवायु सम्मेलन कोप- २८ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हिमालको अवस्था सुनाउन छुट्टै बैठक आयोजना गरिएको थियो।

    पर्वतीय क्षेत्र जलवायु परिवर्तनबाट बढी प्रभावित छ,भनेर राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरुमा भन्दै गर्दा २८ औं जलवायु सम्मेलन दुबईमा भयो। त्यसले पर्वतीय क्षेत्र, त्यहाँको जीवन र प्राकृतिक प्रणालीबारे अन्तर्राष्ट्रिय रुपमा छलफल गर्नुपर्छ भन्ने निर्णय गर्‍यो। नेपालका प्रधानमन्त्रीले उठाएको मागको प्रभाव पनि पर्‍यो। आगामी जुनमा लगानी सम्मेलन हुँदैछ।

    त्यसमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरहरु बारेमा छलफल हुँदैछ। त्यो छलफलमा जलवायु परिवर्तनको दृष्टिकोणले एकदमै प्रभावित भएको मुलुक भएको नाताले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बढी पैरवी गर्नुपर्छ। सगरमाथा डायलगमा यही पैरवीलाई अन्तर्राष्ट्रिय स्तरमा सबैले देख्ने र सुन्ने गरी पुर्‍याउनुपर्छ भन्ने प्रयासमा सगरमाथा डाईलग गरिएको हो।’

    नेपालले अन्तर्राष्ट्रिय स्तरमा सबैले देख्ने र सुन्ने गरी हिमाली क्षेत्रको मुद्दा उठाउनुपर्छ

    पर्वतीय मुलुकहरुमध्ये नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुक हो। संसारका अग्ला हिमश्रृंखलाहरु भएकाले नेपालले यो मुद्दालाई विश्वसामु स्थापित गराउनु जरुरी छ। पर्वतीय मुद्दामा नेपालले विश्वस्तरमा स्वार्थ मिल्ने हिमाली राष्ट्रहरुको नेतृत्व लिने वातावरण सृजना गर्न सम्मेलन प्रभावकारी हुने विश्वास सरकार, यस क्षेत्रमा कार्यरत संघसंस्था तथा विज्ञहरुले गरेका छन्।

    ‘जलवायु परिवर्तनका विषयमा साझा एजेण्डा हुन सकेन भने राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सबैले सुन्ने र देख्नेगरी जान सक्दैन। नेपालमा भएका ज्ञान र सीपहरुलाई प्रवर्द्धन गर्न जरुरी छ’ सहसचिव ढकालले भने।

    पर्वतीय क्षेत्र सामाजिक आर्थिक रुपमा मात्रै नभएर प्राकृतिक पद्धति र मानवीय पद्धतिबीचको अन्तर सम्बन्धमा बाँचेको जीवन्त क्षेत्र हो। यो क्षेत्रमा पछिल्लो समयमा जलवायु परिवर्तनको तापक्रम वृद्धि भएर हिउँ पग्लिरहेको छ। यसले नयाँ हिमतालहरुको निर्माण हुन थालेको छ।

    तत्काल तटिय क्षेत्रमा बस्ने समुदायहरुमा जोखिम सिर्जना भइरहेको छ। त्यो जोखिम न्युनिकरण गर्न र तल्लो तटिय क्षेत्रका समुदायहरुको जलवायु अनुकूलन क्षमता वृद्धि गर्नको लागि सरकारले संवाद गर्न खोजेको सहसचिव ढकालले बताए।

    करिव ३६ प्रतिशत नेपालीहरुलाई जलवायु परिवर्तनबारे सामान्य जानकारी रहेको प्रतिवेदन भर्खरै सार्वजनिक भएको छ। नेपालले आफ्नो अगुवाइमा जलवायु परिवर्तनका विषयमा साझा एजेण्डा बनाउन चाहेको छ।

    ‘नेपालले नेतृत्व नलिने हो भने राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा सबैले सुन्ने र देख्ने गरी मुद्दा स्थापित गर्न सकिँदैन भन्ने नेपाल सरकारको बुझाइ छ’ सहसचिव ढकालले भने।

    नेपालमा भएका ज्ञान र सीपहरुलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय मञ्च नेपाललाई आवश्यक छ। पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको जोखिमलाई न्युनिकरण गर्नको लागि र त्यो जलवायु परिवर्तनसँग अनुकुलित हुनको लागि निजी क्षेत्र, नागरिक समाज र राष्ट्रिय रुपमा तीन तहका सरकार र अन्तर्राष्ट्रिय समुदायहरुसँग मिलेर काम गर्नु पनि नेपाललाई विश्वमञ्चको पहुँचमा जान आवश्यक छ।

    प्रविधि माथिको पुँजी वृद्धि गर्ने नेपालको एजेण्डा हो

    सम्मेलनमा जलवायु अनुकुलन, कार्बन उत्र्सजन कम गर्ने, अनुकुलन र न्युनिकरण गर्न चाहिने आर्थिक वित्त, अनकुलनका कार्यक्रमहरु कार्यान्वयनका लागि आवश्यक पर्ने प्रविधि त्यसको व्यवस्थापन, क्षमता विकास आदि विभिन्न आयाममा छलफल र बहस गर्ने बताइएको छ। सम्मेलनमा नेपाल हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे तथ्यपरक ढंगले प्रश्तुत हुने तयारी नेपालको छ।

    ‘नेपालले जलवायु परिर्वतनबाट भएको असरको विषय उठाउँदा जलवायु परिवर्तनबाट सबैभन्दा बढी कहाँ प्रभावित भयो? कति क्षेत्र प्रभावित भयो? कति जनतामा प्रभाव परेको छ? भन्ने प्रमाणहरू संकलन गर्नुपर्ने हुन्छ। नेपालको पर्वतीय क्षेत्रमा मात्रै जलवायु परिवर्तनको असर परेको छैन, भूगोलको हिसावमा पर्वतीय क्षेत्र, कार्य क्षेत्रको हिसावले कृषि, खाद्य क्षेत्र, हरित अर्थतन्त्र, ऊर्जा, खानेपानी, सिंचाई, प्रकृतिमा आधारित पर्यटन, स्वास्थ्य, जलवायुजन्य जोखिम रहेको छ’ सहसचिव ढकालले भने।

    बाढी, पहिरो डुवानहरुको व्यवस्थापन, खोज र अनुसन्धान गर्दै मान्छेलाई उद्धार गरेर पुनःस्थापना गर्न नेपालले जलवायु परिवर्तनबाट बढी प्रभावित भएको प्रामाणित गर्दै आवश्यक आर्थिक वित्तको विषयमा वकालत आवश्यक रहेको छ।

    जैविक विविधता संरक्षणको लागि स्थापना गरिएका कोषहरुसँग वकालत गर्न सक्छौं। नेपाल परम्परागत ज्ञानबाट हुर्किएको भएकोले उन्नत,आधुनिक सिप र प्रविधिमा पहुँच बढाउदै प्रविधि माथिको पुँजी वृद्धि गर्ने विषयमा नेपालको एजेन्डा हो। त्यसैगरी क्षमता विकासको कुरा पनि छ।’ सहसचिव ढकालले तर्क गरे।

    अन्तराष्ट्रिय जगतलाई हिमाली मुद्दामा ध्यानाकर्षण गराउनुको साथै नेपाल सरकार स्वयम्ले पनि जलवायु वित्त र आधुनिक प्रविधिमा आन्तरिक बजेट तर्जुमा तथा कार्यक्रम कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। नेपाल सरकारले खर्च गर्ने बजेटमा जलवायु अनकुलनको क्षेत्र खोजि गर्नुपर्ने धारणा सहसचिव ढकालको छ।

    ‘बजेटमा गर्न सकिने धेरै क्षेत्रहरु छन्। अहिले नेपालमा विदेशबाट आउने पैसा र प्रविधिको बढी चासो छ। संगै राष्ट्रिय रुपमा गरिने गविधिविधिहरु जलवायु परिर्वतन जोखिम न्युनिकरण गर्ने तर्फ हुनुपर्छ। त्यसले चेतनाको विकास गर्छ’ सहसचिव ढकालले भने।

    दिएको पैसा खर्च गर्न नसक्ने अनि थप चाहियो भन्दा कसैले पत्याउँदैन, खर्च गर्ने क्षमता बढाउनुपर्छ,जलवायु परिवर्तनको असर नेपालले धेरै भोगिरहेकाले क्षतिपूर्ति र अनुकुलनका कार्यक्रमका लागि जलवायुजन्य विश्व कोषहरुबाट पैसा ल्याउनुपर्छ भन्ने आवाज टट्कारो उठेपनि कतिपय जलवायु कोषका रकमहरुलाई नेपालले खर्च गर्न सकेको छैन। बन मन्त्रालय अन्तर्गतको खाद्य तथा कृषि सम्बन्धी परियोजनाको रकम सरकारले खर्च गर्न सकिरहेको छैन। मन्त्रालयका सहसचिव ढकाल नेपालले स्वीकृत कार्यक्रम कार्यान्वयका लागि सबै प्रकारका क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गरे।

    उनले भने, ‘हरेक जलवायु कोषबाट विभिन्न आयोजनाहरुमा करिव ८७ मिलियन अमेरिकी डलर प्राप्त गरेका छौं। दुई वटा परियोजना ४० मिलियन र अर्को २८ मिलियनको छ। हाम्रा योजना तर्जुमा गराउने क्रममा जसरी हामीले जलवायु नीति लगायतका योजना बनायौ त्यसलाई सोही अनुसार कार्यन्वयनमा लैजान सकिरहेका छैनौँ। हामीले पैसा प्राप्त गर्ने कुरामा जसरी चासो दियौं। पैसाको खर्च गर्नेमा नेपालको क्षमता पुगेको रहेनछ भन्ने पनि सिकिएको छ। यसमा आगामी दिनमा सुधार गर्नुपर्ने देखिन्छ। दिएको पैसा खर्च गर्न नसक्ने थप पैसा चाहियो भनेर कसैले पत्याउँदैन।

    यो विषयमा स्थानीय र प्रदेश सरकारलाई पनि साथमा लिएर निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्यमा पैसा खर्च गर्ने क्षमता बढाउनुपर्छ। खर्च बढाउन नसकेको यथार्थ हो। तथ्याङ्कले त्यही देखाउँछ। आउँदा दिनहरुमा हामीले सरकारी कोषमा राख्यो भने मात्रै खर्च गर्न सकिन्छ भन्ने मान्यतामा गएका छौं। हरित जलवायुकोष अथवा अन्य कोषहरुका शर्तहरु, जुन विश्व परिवेशलाई हेरेर बनाईएका हुन्छन्।

    नेपाल सरकारका पनि शर्तहरु पालना छोड्न सक्दैनौं। नेपाल सरकारको कर्मचारी भएको मान्नै पर्‍यो। अर्कोतिर अन्तर्राष्ट्रिय संस्थाहरुका पनि सीमाहरु (लिमिटेशनहरु) छन्। ती दुई सिमितताबाट हामीले सबैभन्दा राम्रो मार्ग खोज्नुपर्छ। आगामी दिनमा खर्च गर्ने बढाउनुपर्ने हुन्छ। यो सिकाईको अवस्था हो।’

    जलवायु सम्बन्धी नेपालको नीतिगत अवस्था राम्रो छ, कार्यान्वयन पक्ष कमजोर नेपालको बजेट प्रणालीलाई जलवायु अनुकुलनमा लैजानुपर्छ

    नेपालले व्यहोर्नुपरेको जलवायुजन्य हानी नोक्शानीको तुलनामा विश्व जलवायुकोषहरुबाट वित्तीय रकम ल्याउन सकेको देखिँदैन। त्यसैगरी आयोजनाको प्राथमिकिकरणमा पनि समस्या देखिन्छ। तर नीतिगत व्यवस्थामा नेपालले विश्वसामु राम्रो छवि बनाएको छ।

    सहसचिव ढकालले भने,‘नेपालले राष्ट्रिय अनकुलन आयोजना बनाएर ८ प्राथमिक क्षेत्रहरु तोकेर रणनीतिहरु बनाएर स्पष्ट बोलेको अवस्था छ। नीतिगत रुपमा नेपालको राम्रो अवस्था छ। तर कार्यान्वयनको पक्षमा कमजोर छौं। कमजोर बनाउन तीन कुराले काम गरेको छ।

    वैदेशिक वित्त बढी ल्याउनको लागि वैदेशिक वित्त बुझेको, त्यसको बारेमा छलफल बहस गर्नसक्ने मान्छेलाई निरन्तरता दिन सकिरहेका छैनौं। जलवायु सम्मेलनमा एक वर्ष एउटा मान्छे जान्छ। एउटा हिसावले कुरा गर्छ। अर्को वर्ष अर्को मान्छे गएर अकै हिसावले कुरा गर्छ। तर अरु धेरै देशहरुमा जलवायु परिवर्तन सम्बन्धि बहस गर्नको लागि १५ जनासम्मको टोली बनाएर त्यसलाई १० वर्ष निरन्तर काम गर्न दिएको पाइन्छ।

    विदेशबाट धेरै पैसा आउँछ र हामी जलवायु परिवर्तनको असरबाट उद्धार पाउँछौं भन्ने मान्यतालाई पनि आंसिक रुपमा बुझ्नुपर्छ। नेपालको योजना र बजेटलाई व्यवस्थित गर्न नसक्ने तर विदेशबाट पैसा आउँछ। जलवायुबाट अनुकुलित हुन्छौं भन्ने मान्यता बलियो भएको अवस्था छ। त्यो मान्यता गलत र भ्रम हो । त्यसलाई पनि हामीले चिर्नुपर्छ। नेपालले अन्तर्राष्ट्रिय क्षमता वृद्धि गर्नुपर्छ । छलफल बहस गर्नसक्ने मान्छेको खोजी गर्नुपर्छ। नेपालको बजेट प्रणालीलाई जलवायु अनुकुलनमा लैजानु पर्छ। त्यो गर्नसक्यो भने आगामी दिनमा सुधार गर्नसक्छौं।’

    हानीनोक्शानी कोषमा पहुँच बढाउनका लागि सर्तहरुको सरलीकरण गर्न जोड दिनुपर्छ

    जलवायुजन्य विपद्को क्षतिपूर्तिलाई तत्काल सम्बोधन गर्न गठन गरिएको हानी नोक्शानी कोषमा अहिले ६ सय ६१ मिलियन अमेरिकी डलर जम्मा भएको छ। तर यसले अझै पनि आफ्नो कार्यविधि बनाईसकेको छैन। हानीनोक्सानी कोषबाट उपलब्ध गराउने रकमका लागि पूरा गर्नुपर्ने प्रावधान अथवा शर्तहरु विश्वस्तरका हुने भएकाले नेपालले ती सर्तको सरलीकरणमा विशेष पहल गर्नुपर्ने देखिन्छ।जलवायु हानी नोक्शानी सम्बन्धी अन्तराष्ट्रिय समितिमा नेपालको तर्फबाट वैकल्पिक सदस्य समेत रहेका ढकालले कोष परिचालनको कार्यविधि बन्ने क्रममा रहेकाले नेपालले कार्यविधि सरलिकरणका लागि पनि पैरवी गर्नुपर्ने आवश्यकता औंल्याए।

    उनले भने, ‘पहिलो बैठकमा हामीले पैसा प्रयोग गर्नको लागि साङ्गठनिक स्वरुप कस्तो हुनुपर्छ। नियम कानूनहरु कस्ता हुनुपर्छ भन्ने विषयमा छलफल गर्‍यौं। आन्तरिक सुशासन र आन्तरिक संरचना कस्तो बनाउने भन्ने प्रारम्भिक चरणमा छौं। आउने दिनमा हानी नोक्शानीमा पहुँच पुर्‍याउनुमा नेपाल पनि सदस्य भएकाले अरुलाई सिकाउने मद्दत पुग्ने भएको छ।

    हानी नोक्शानी भनेको के हो भन्ने विषय सबैभन्दा पहिला बुझ्नुपर्छ। भारतको एउटा रिपोर्टमा वार्षिक बजेटमा १० प्रतिशत हानीनोक्शानीमा भएको छ भनिएको छ। नेपालको पनि १२ वर्ष अघि अध्ययन गरेको एउटा रिर्पोटले जीडिपीको २ प्रतिशत भनेको छ।

    नेपालमा हानीनोक्शानी व्यापक छ। हिमालहरु पग्लिएर हिमताल बन्ने, हिमताल फुट्ने र तल्लो तटिय क्षेत्रहरुमा बाढी र तराईमा डुबान हुने गरेको छ। कुवाको पानी विस्तारै सुक्दै गएको छ। पानीका मुहानहरु सुकेको कारण गाउँ नै बसाइसराई गर्नुपर्ने अवस्था छ।

    हानीनोक्शानी जलवायु परिवर्तनले पारेको प्रभावबारे जल्दोबल्दो मुद्दा हो। यसमा प्रमाणहरु जुटाउन लागेनौ भने कोष स्थापना भएको पैसा आउनेवाला छैन। कोष विश्वव्यापी हो। जसले बढी प्रमाण जुटाउँछ त्यसले बढी पैसा लैजाने हो। हामी सक्रिय रुपमा लाग्यौं भने यस्ता कोष स्थापनाको उद्देश्य पूरा हुन्छ।

    नेपालले कोष बनेको छ भनेर कोषमा पहुँच वृद्धि गर्न चाल्नुपर्ने पाइलाहरुमा हामी गति बढाउन सकेनौं भने कोषमात्रै स्थापना भएर हुँदैन। अध्ययन अनुसन्धानमा वृद्धि गरेर प्रमाण संकलन गर्नुको विकल्प छैन।’

    उनले जलवायुजन्य आकस्मिक घटनाका प्रभावितलाई क्षतिपूर्ति दिनका लागि हानीनोक्शानी कोष स्थापना गरिएको र तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ भन्नेमा सबै एकमत रहेको पनि उनले उल्लेख गरे।

    उनले भने, ‘हरित जलवायु कोषमा पैसा लिने पहुँचको लागि जुन प्रक्रिया छ। त्यही प्रक्रिया अपनाउने हो भने हानीनोक्शानीको छुट्टै कोष स्थापना गर्नुपर्ने थिएन। हानीनोक्शानीमा दुई वटा एर्पोजमा छलफल भइरहेको छ। आकस्मिक रुपमा आउने बाढी पहिरोका विषयमा कोषले छलफल गरेको छ। यसमा कति चाँडो जलवायु परिवर्तनको जोखिम परेका राष्ट्रहरुलाई सहयोग गर्न सकिन्छ भन्ने हो।

    तत्काल पैसा निकासा गर्नुपर्छ भनेर छलफल भएको छ। यसमा अन्तर्राष्ट्रिय समुदाय पनि सचेत छ। तत्काल दिँदा ट्रान्सपारेन्सीका विषयमा प्रश्न आउने गर्छ । सुरक्षाका उपायहरु कसरी अपनाउनुहुन्छ। जोखिम भएको देशको कोष मार्फत वा देशले तोकेको संस्थाबाट खर्च गर्नेमा जानुपर्छ। बोर्डको बैठकमा यस्ता छलफल हुनेवाला छ । हामीले पनि त्यही हिसाबमा लभिङ गर्दैछौं।

    नेपालमा घटेका पुराना घटनाहरुको प्रमाण जुटाउने विषय एकदमै जटिल छ। यसको प्रमाण भेटाउन पनि गारो छ। यसैले जलवायु हानीनोक्शानी कोषले पुराना घटना भन्दा पनि भविष्यमा हुने घटनामा केन्द्रित रहेर सहायता उपलब्ध गराउँछ। सहसचिव ढकालले हानीनोक्शानी कोषले तत्काल राहत दिनेगरी जानुपर्ने बताए। विगतका घटना केलाउन थालियो भने सहायता लिन नसकिने बताए।

    हानीनोक्शानी कोषलाई तत्काल राहत र उद्धारका लागि र अर्को सम्भावित जोखिमबाट बचाउन बनाइने पूर्वतयारी र योजनामा खर्च गर्नसक्ने गरी सरल बनाउनु पर्ने विषय नेपालले उठाउने भएको छ। सम्मेलनमा जलवायुको जोखिममा परेकालाई तत्काल पैसा दिनुपर्छ र पाउनुपर्छ भन्ने विषयमा सबैकोे एक मत रहेको छ। ’सहसचिव ढकालले भने।

    नेपालमा जलवायुजन्य विपद र जोखिमको दर बढिरहेको छ। यसमा मौसमजन्य विपदको घटना धेरै छन्। नेपालको मौसम जन्य विपदको घटनाको महत्त्वपूर्ण कारण जलावायु परिवर्तन नै हो।

    अधिक वर्षा, अधिक सुक्खाखडेरी, पहिरो, बाढी डुबान साथै लू (तातो हावा) शीतलहरले हरेक वर्ष मानवीय क्षति पनि बढिरहेको छ। यसको कुनै आधिकारिक लेखाजोखा हुन सकेको छैन।

    नेपालमा जलवायु जन्य विपद र पर्यावरण चक्रमा परेको प्रभावले बसाईं–सराई र सांस्कृतिक विरासतमा पुगेको हानि–नोक्शानी पनि अभिलेखिकृत हुनुपर्छ। यस्ता विषय नेपालले विश्वमञ्चमा निरन्तर राख्नुपर्ने आवश्यकता छ।