मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

कान्तिलोक पथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भीरबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्। उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाका थप एक घाइते छन्। बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साहको उपचार भइरहेको हो। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *