Author:

  • गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक गम्भीर

    गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते, चालक गम्भीर

    गुल्मीको रिडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बिहीबार पोखराबाट तम्घासतर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस बेलुका करिब ५ बजेको समयमा रुरुक्षेत्र गाउँपालिका–१ मक्वादीस्थित रिडी–तम्घास सडक खण्डमा दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा घाइते भएका १३ मध्य एक जनाको अवस्था गम्भीर रहेको छ। बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेको थियो।

    दुर्घटनामा बस चालक स्याङ्जा वालिङ नगरपालिका-५ बस्ने २८ वर्षीय मनोज बस्याल गम्भीर घाइते भएका हुन। उनको बायाँ खुट्टा र शरीरमा भित्री चोट लागेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भइरहेको छ।

    यस्तै, अन्य घाइते हुनेहरुमा स्याङ्जा हरिनाथ-५ बस्ने ३५ वर्षीय खेमराज लम्साल, कास्की मादी गाउँपालिका बस्ने २३ वर्षीय रोशनी नेपाली, पाल्पा रिब्दोकोट गाउँपालिका-१ बस्ने ४० वर्षीय युवराज कुवर, गुल्मी रुरुक्षेत्र गाउँपालिका-१ बस्ने ३० वर्षीय रिता बि.क, पाल्पा रिब्दिकोट गाउँपालिका-१ बस्ने ६५ वर्षीय तारा प्रसाद पाण्डे, डडेलधुरा नवदुर्गा गाउँपालिका-२ बस्ने ३६ वर्षीय राज बहादुर साउद, गुल्मी रेसुङ्गा नगरपालिका-१० बस्ने केशब अर्याल, ठेगाना नखुलेको २१ वर्षीय ईन्द्रा सुबेदी, गुल्मी गुल्मिदरबार गाउँपालिका-२ बस्ने २० वर्षीय ओम बहादुर बलाल, गुल्मी रुरु क्षेत्र गाउँपालिका-३ बस्ने २३ वर्षीय गंगा बहादुर वि.क, ठेगाना नखुलेको २३ वर्षीय सुशिला नेपाली, र ४२ वर्षीय शान्ति सुनार रहेका छन्।

    दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

  • सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

    सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

    सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ।

    न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो।

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गत वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट निवेदन दायर गरेका थिए।

    तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि पहिलो पटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो।

    सोही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गरेका थिए।

    प्रदेश प्रमुख नजिर मियाँले भने दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेशका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

  • संसद्‌मा हंगामा भएपछि छलफलमा दाहाल, ओली र लामिछाने

    संसद्‌मा हंगामा भएपछि छलफलमा दाहाल, ओली र लामिछाने

    प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच नयाँ बानेश्वरमा छलफल जारी छ।

    प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्‌ भवनमा देखाएको व्यवहार र संसद्अवरुद्धकाे विषय सत्ता पक्षका तीन शीर्ष दलका नेताहरुबीच छलफल भइरहेको हाे।

    सदाझैँ आज पनि प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी जारी राखेका थिए। संसद्मा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भन्दै आज पनि नाराबाजी जारी राखेका हुन्।

    प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गर्न पुगेका थिए। सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरू सुनाउनुपर्ने बताएका थिए।

    तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणीकरण गरिएको पत्र पढे। लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाए।

    पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए।

    सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएसँगै संसद्मा होहल्ला भएको थियो भने नाराबाजी अझै बढेको थियो। सत्तापक्षका सांसदहरू समेत उठेर प्रतिपक्षी सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद् बैठकलाई सभामुखले शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरेका थिए।

  • सभामुख पार्टीको निर्देशनमा चलेको कांग्रेसको आरोप

    सभामुख पार्टीको निर्देशनमा चलेको कांग्रेसको आरोप

    नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे नेकपा (एमाले) को निर्देशन अनुसार अघि बढेको आरोप लगाएका छन्।

    संसद्‌ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका सांसद प्रकाशशरण महतले सभामुख घिमिरे पार्टीको निर्देशन अनुसार अघि बढेको आरोप लगाएका हुन्।

    संसदीय विधिको बर्खिलाप त्यसको रक्षा गर्न बसेको सभामुखले पार्टी नेतृत्वको निर्देशनमा पुग्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।

    वेलमा विपक्ष दल निस्कदा पनि सभामुखले सदन सञ्चालन गर्नु संसदीय इतिहासमा सबैभन्दा अर्मयादित भएको उनले टिप्पणी गरे।

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीले कुनै आक्रमण नगरेको बताए ।

  • पूर्वप्रधानमन्त्री आक्रमण गर्न खोज्नु असंसदीय घटना हो: रघुजी पन्त

    पूर्वप्रधानमन्त्री आक्रमण गर्न खोज्नु असंसदीय घटना हो: रघुजी पन्त

    नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको बताएका छन्।

    संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको बताएका हुन्।

    प्रतिनिधिसभा बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ठाउँमा उठेर गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा झम्टिएको उनले आरोप लगाए।

    सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जानु असंसदीय घटना भएको उनले बताए।

    उनले अध्यक्षलाई हातपात गर्न खोजेपछि जोगाउन अरु सांसद गएको बताए।

  • संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी (तस्बिरहरू)

    संसद्‌मा कांग्रेस सांसदहरूको नाराबाजी (तस्बिरहरू)

    प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी जारी राखेका छन्। आज पनि संसद्मा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भन्दै नाराबाजी जारी राखेका हुन्।

    प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दै बेल घेराउ गर्न पुगेका थिए। सभामुख घिमिरेले बैठकमा शून्य र विशेष समय नरहेको जानकारी गराउँदै राष्ट्रपतिबाट आएका पत्रहरू सुनाउनुपर्ने बताएका थिए।

    तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसदीय समिति गठनको माग गर्दै गरिएको नाराबाजी नरोकेपछि खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक प्रमाणीकरण गरिएको पत्र पढे। लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार तोकिएको पत्र पढेर सुनाए।

    पत्र पढिरहँदा अन्य प्रतिपक्ष दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेतले उठेर विरोध जनाएका थिए।

    सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएसँगै संसद्मा होहल्ला भएको थियो भने नाराबाजी अझै बढेको थियो। सत्तापक्षका सांसदहरू समेत उठेर प्रतिपक्षी सांसदहरुको प्रतिवाद गर्न थालेपछि संसद् बैठकलाई सभामुखले शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित गरे।

    तस्बिरहरू : प्रदीपराज वन्त

  • संसद्मा एमाले अध्यक्ष ओलीप्रति आक्रामक बने धनराज गुरुङ

    संसद्मा एमाले अध्यक्ष ओलीप्रति आक्रामक बने धनराज गुरुङ

    प्रतिनिधि सभाको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस सांसद धनराज गुरुङ आक्रामक रूपमा प्रस्तुत भएका छन्।

    बिहीबार साँझ ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरुले छेकेका थिए।

    प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधेकल भएको थियो। सोहि बिचमा उनीहरुबीच आमनेसामने भएका हुन्।

    एमाले सांसदहरू महेश बर्तौला, ठाकुर गैह्रे लगायतले गुरुङलाई छेकेका थिए।

  • सुजल डेरीको ‘रस बदाम ड्रिङ्स’ बजारमा

    सुजल डेरीको ‘रस बदाम ड्रिङ्स’ बजारमा

    सुजल डेरी प्रालिले नयाँ पेय पदार्थ बजारमा ल्याएको छ ।

    ‘रस बदाम ड्रिङ्स’ (Rush Badam Drink) नाम दिएर प्रा.लि.ले बजारमा ल्याएको उक्त पेयपदार्थमा क्यालिफोर्नियाबाट मगाइएको बदाम, केसर र पोखरा आसपासको क्षेत्रबाट संकलन गरिएको दूधको प्रयोग गरिएको छ ।

    उच्चप्रविधिउक्त स्वचालित मसिनबाट उत्पादन गरिने यो पेय पदार्थमा प्रयोग भएको केसर, बदाम र दूधको पौष्टिकतत्वले उपभोक्तालाई तागत दिनुका साथै सन्तुष्ट गराउने दाबी सुजल डेरी प्रालिको छ ।

    रस बदाम ड्रिङ्सले उपभोक्तालाई सधैं एक्टिभ बनाउने विश्वास व्यक्त गर्दै प्रालिले यो पेय पदार्थले शरिरलाई चहिने उर्जाको पनि पूर्ति गर्ने विश्वास व्यक्त गरेको छ ।

  • ‘वेल’ घेराउमा  सभामुखले चलाए संसद्, कांग्रेस–एमाले सांसदबीच धक्कामुक्की

    ‘वेल’ घेराउमा सभामुखले चलाए संसद्, कांग्रेस–एमाले सांसदबीच धक्कामुक्की

    प्रतिनिधिसभाको आजको बैठक तनावग्रस्त बनेको छ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग जारी राखेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको वैठक पनि अवरुद्ध गरेको थियो ।

    बैठकको सुरुमै कांग्रेसले नाराबाजी सहित वेल घेर्दा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका थिए। सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुईवटा पत्र पढेर सुनाउँदा कांग्रेस सांसदहरू झन् आक्रोशित बनेका थिए।

    विपक्षीले वेल घेरिरहँदा सभामुखले संसद् चलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समेत आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए।

    त्यसपछि सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए। जसमा कांग्रेस सांसद्हरूले बाटो छेके।

    सोही क्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङ भनाभनमा उत्रिएका थिए। जसका कारण संसद्मा कांग्रेस–एमाले सांसद्बीच धक्कामुक्की चलेको थियो।

    संसद्मा स्थिती तनावग्रस्त भएपछि सभामुख घिमिरेले आजको बैठक स्थगितको घोषणा गरेका थिए।

  • प्रतिनिधि सभामा प्रतिपक्ष र सत्तापक्षबीच धकेलाधकेल

    प्रतिनिधि सभामा प्रतिपक्ष र सत्तापक्षबीच धकेलाधकेल

    प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षबीच धकेलाधकेल भएको छ।

    बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरेपछि सत्तापक्ष र प्रतिपक्ष दलबीच भनाभन भएको थियो। भनाभन चर्कँदैगएपछि दुवै पक्षबीच धकेलाधकेलको अवस्था सृजना भएको हो।

    बैठकको सुरुमै कांग्रेसले नाराबाजी सहित बेल घेर्दा सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउन खोजेका थिए। सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेर सुनाउँदा कांग्रेस सांसदहरू झन् आक्रोशित बने।

    विपक्षीले बेल घेरिरहँदा सभामुखले संसद् चलाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरूले समेत आफ्नो स्थानमा उभिएर विरोध जनाएका थिए।

    त्यसपछि सभामुख घिमिरेले उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएका थिए। जसमा कांग्रेस सांसदहरूले बाटो छेके। सोही क्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच र प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेका प्रवक्ता प्रकाश शरण महतबीच भनाभनमा उत्रिएका थिए। जसका कारण संसद्मा कांग्रेस–एमाले सांसद्बीच धक्कामुक्की नै चल्याे।

    संसद्मा स्थिति तनावग्रस्त भएपछि सभामुख घिमिरेले आजको बैठक स्थगितको घोषणा गरेका छन्।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न ससदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गर्दै आइरहेको छ।