Category: News

  • प्रतिनिधिसभा बैठक अनिश्चित

    प्रतिनिधिसभा बैठक अनिश्चित

    प्रतिपक्षी दलहरुले छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म प्रतिनिधिसभा सञ्चालन हुन नसक्ने बताएका छन् ।

    विपक्षी दलहरुको बैठकपछि सभामुख देवराज घिमिरेलाई भेट्दै राप्रपाका ज्ञानेन्द्र शाहीले टीओआरमा सहमति भएपछिमात्र बैठक सञ्चालन गर्न आग्रह गरेका थिए ।

    बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

    प्रतिपक्षी दलहरूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‍मा बोल्न दिने र चित्त नबुझे सदनको बाँकी कामकारवाही अघि बढाउन नदिने निर्णय गरेका थिए ।

    सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलले बिहानैदेखि छलफल जारी राखेपनि सहमति भने जुटाउन सकेको छैन । कार्यदलमा सहमतिको पहल गर्न कांग्रेस प्रमुख सचेतक रमेश लेखक बैठक स्थल पुगेका छन् ।

    एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् ।

    यसअघि ज्ञानेन्द्र कार्की पनि कार्यदल बैठकमा थपिएका थिए ।

  • राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि दबाब कार्यक्रम गर्ने

    राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि दबाब कार्यक्रम गर्ने

    राष्ट्रिय संयुक्त सङ्घर्ष समितिले भोलि जनप्रदर्शनसहितको दबाब कार्यक्रम गर्ने भएको छ।

    सत्याग्रहले ‘स्वदेशमै काम गरेर खान दे, उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारा बनाई विभिन्न १८ बुँदे माग राखेर पटकपटक सरकारलाई खबरदारी गर्दा पनि नसुनेपछि सत्याग्रह सुरु भएको १४ दिन बितिसक्दा पनि माग सम्बोधन नभएको भन्दै समितिले भोलि दबाबमुलक कार्यक्रम गर्न लागेको हो।

    आर्थिक संकटले गर्दा सम्पुर्ण क्षेत्रमा समस्यै समस्या देखा परेको हुदा समस्या समाधान गर्न सामुहिक सत्याग्रह सुरु गरिएको हो।

    सामुहिक बलमा आफ्ना मागहरू पुरा गर्न जनदबाब कार्यक्रम गर्न खोजेको र अनशनकारीको जीवन रक्षाको लागि जनप्रदर्शन गर्न खोजेको तर, सत्ता पक्षले नसुने पछि कठिन कदम चाल्न बाध्य हुने गोविन्द बिष्टले बताए।

  • भक्तपुर एमालेमा देउजा दोहरिए

    भक्तपुर एमालेमा देउजा दोहरिए

    नेपाल कम्युनिष्ट पार्टी एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा निर्वाचित भएका छन्। अर्का अध्यक्षका प्रत्यासी मोहनवीर श्रेष्ठलाई पराजित गरी देउजा अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन परिणाम आइतबार विहान सार्वजनिक भएको हो।

    देउजा यसअघि पनि अध्यक्ष थिए। मोहनवीर यसअघिका सचिव थिए। निर्वाचनमा मुख्यतः दुई प्यानल थियो।

    उपाध्यक्षमा भने मोहनवीर प्यानलका किरण थापा निर्वाचित भए। उनी वागमती प्रदेश सांसद पनि हुन्। उनले निर्वतमान उपाध्यक्ष एवं देउजा प्यालनका उपाध्यक्षका उम्मेदवार एवं सूर्यविनायक नगरपालिकाका प्रमुख समेत रहेका वासुदेव थापालाई पराजित गरेका थिए।

    सचिवमा देउजा प्यानलकै विष्णु तामाङ निर्वाचित भए। साथै एकजना उपसचिवमा पनि देउजा प्यानलकै सानुकाजी कायस्थ निर्वाचित भए। अर्को उपसचिवमा भने मोहनवीर प्यानलका उत्तरा नेपाल विजयी बने। पार्टीको नवौं जिल्ला अधिवेशनले यी पाँच पदाधिकारीसहित १ सय ५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

    जेठ ३ र ४ गतेका लागि तय भएको अधिवेशन नेतृत्व चयन गर्न नसक्दा एक अधिवेशन लम्बिएको हो। बिहीबार र शुक्रबारको अधिवेशन सहमतिमा जाँदा निर्वाचन भएको हो।

    प्रत्येक वडाबाट सदस्य संख्याको आधारमा र जिल्लामा क्रियाशील १८ वटा जनवर्गीय संगठन र सल्लाहकारबाट समेत गरी कुल ४ सय ९८ जना अधिवेशन प्रतिनिधि चयन भै आएका र उनीहरु मतदानमा सामेल भएका थिए।

  • प्रहरी जवान घिमिरेको हत्या गरेकाे आरोपमा छ जना पक्राउ

    प्रहरी जवान घिमिरेको हत्या गरेकाे आरोपमा छ जना पक्राउ

    प्रहरी जवान युवराज घिमिरेको हत्या गरेकाे आरोपमा छ जनालाई पक्राउ गरिएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरले अभियुक्तहरूलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ।

    जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो। उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा खटिएको थिए। -रासस

  • ए भरिया दाइ!

    ए भरिया दाइ!

    ए भरिया दाइ,

    भन न भन

    ए भरिया दाइ,

    भन न भन

    तिम्रो मुस्कानको दाम

    हिंड्दाहिंड्दा

    फुटेका पैताला लिई, कहाँसम्म पुग्ने हो।

    यत्रो बडेमानको दायित्व, बोकेर तिमी

    ककसको सामु बिसाउने हो?

    भन न भन

    ए भरिया दाइ,

    एक काँधमा गोलभेडा

    अर्कोमा काँधमा कोभीको क्यारेट

    बोकेर तिमी

    कति दुरीका लागि?

    कहिलेसम्म कति दगुर्ने हो?

    भन न भन

    ए भरिया दाइ,

    लोभलाग्दा तिम्रा रहरहरू

    बनिसके आदिमकालका खण्डहरजस्तै

    भग्नावशेष बनेका केही खुशीहरू

    डोको र नाम्लोले कहिले सम्म बाध्ने हो?

    भन न भन

    ए भरिया दाइ,

    असन चौकका

    साँगुरा गल्लीहरू जस्तै तिम्रा सपनाहरू पनि त

    खुम्चिन थालेका छन्

    चर्चरी फाटे जसरी फाटेका

    तिम्रा कुर्कुच्चाहरू जस्तै

    फाट्दै छन् तिम्रा लोभलाग्दा रहरहरू

    र बग्दैछन् अश्रुधाराहरू

    फाटेका रहर र बगेका आशु

    कहिलेसम्म रोकिनेछ

    भन न भन

    ए भरिया दाइ,

    एउटा हातमा खाजाको पोको

    अर्को हातमा सपनाको पोको

    बोकेर तिमी

    कहिलेसम्म यसरी दगुर्ने हो?

    भन न भन

    ए भरिया दाइ।

  • संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

    संसदमा साझा प्रस्तुतिबारे छलफल गर्दै विपक्षी दलहरू

    संसद बैठक अघि नेपाली कांग्रेसलगायत विपक्षी दलहरूबीच छलफल सुरु भएको छ। आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको साझा प्रस्तुतिबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन्।

    आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग छलफलमा छन्।

    सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ। कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन्। उनीहरूको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन।

    गठित समितिको कार्यदलको पनि बैठक अहिले जारी छ।

  • अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

    अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

    बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम शीघ्र प्रारम्भ हुने भएको छ। मोतीहारी–अमलेखगञ्जको पाइप लाइनको काम पूरा भएपछि त्यसलाई लोथरसम्म विस्तार गरिने नेपाल आयल निगमले जनाएको छ।

    अमलेखगञ्ज–लोथर ६९ किलोमिटरमा पाइप लाइनको काम प्रारम्भ गर्न प्राविधिक टोलीबाट अध्ययन भइरहेको निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए।

    ‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययन भइरहेको छ’, उनले भने, ‘टोलीको प्रतिवेदन प्राप्त भएपछि काम थालिन्छ।’ पाइप लाइन विस्तार गरी लोथरमा एक लाख लिटर पेट्रोलियम पदार्थ भण्डारण गरिने छ। मोतिहारी–अमलेखगञ्ज पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७० प्रतिशतभन्दा बढी काम पूरा भएको छ।

    दोस्रो चरणमा भारतीय आयल निगमले बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार एक सय किलोलिटर क्षमताका दुई ‘पेट्रोल ट्याङ्क’, दुई सय ५० किलोलिटर क्षमताका दुई ‘ट्रान्समिक्स ट्याङ्क’, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित ‘लोडिङ वे–रिफिलर’, ‘पम्प हाउस’ र प्रयोगशाला निर्माण गरेको प्रमुख उपाध्यायले बताए।

    पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमले निर्माण गर्ने सम्झौता भएको छ।

    एउटै पाइप लाइनबाट पेट्रोल र मट्टितेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा अहिले ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता छ। पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी खर्च जोगिने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्नेछ। -रासस

  • संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

    संसद बैठक अघि प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

    सभामुख देवराज घिमिरेले आज पनि विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।

    अहिले १०ः३० बजे प्रमुख सचेतकहरूलाई उनले छलफलका लागि बोलाएका छन्।

    प्रतिनिधि सभाको बैठक सञ्चालनको विषयमा छलफल हुने बताइएको छ।

  • वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

    वृद्धाश्रममा छु र पनि त्यही छोराेको याद आउँछ!

    १) मुक्तक

    वात्सल्यको हाँगामा बाँधिएको डोरोको याद आउँछ,

    निर्मम छ कठोर छ, त्यही मोरोको याद आउँछ।

    मातृत्व पीडा पनि साँच्चै नै नमिठो हुँदोरहेछ,

    वृद्धाश्रममा छु र पनि त्यही छोराको याद आउँछ।

    २) मुक्तक

    आँखाभरि सपनाको, ताराजून सुकाउँछिन्,

    हृदयभरि वात्सल्यको, विस्कुन सुकाउँछिन्।

    खुसी चुसाँउदा चुसाउँदै, रित्तिएर मेरी आमा,

    अमृतधारा बग्ने आफ्नो, थुन सुकाउँछिन्।

    ३) मुक्तक

    कोमल फूल छातीमाथि खस्दा पनि दुख्छ अचेल,

    मिठा यादहरू मुटुभित्र, बस्दा पनि दुख्छ अचेल।

    तातो बगरमा वसन्तका मुनाहरू खोज्दै जाँदा,

    झुक्किएर शीतल छाल पस्दा पनि दुख्छ अचेल।

    ४) मुक्तक

    कतै घाइते सम्बन्धको, दूरी रोइरहेछ,

    कतै विश्वासको, चुहिने धुरी रोइरहेछ।

    अचानक समय स्वार्थसँग फरार भएपछि,

    विरहमा भक्कानिएर बिचरो बाँसुरी रोइरहेछ।

    ५) मुक्तक

    चिसो लाग्छ कि भनेर जाडामा बाहरू, न्यानोन्यानो भोटो खोज्छन्,

    अंशवण्डामा छोराहरू, चाँदीको करूवा र सुनको लोटो खोज्छन्।

    टुक्राटुक्रामा बाँडिन्छ खेत, चुँडिन्छ बारी, खण्डखण्डमा टुक्रिन्छ घर,

    बा मरेपछि भित्तामा टाँस्न, छोराहरू कन्तुरमा बाको फोटो खोज्छन्।

  • जीविकोपार्जनका लागि बगर खेती, आकर्षक आम्दानीले किसान मक्ख

    जीविकोपार्जनका लागि बगर खेती, आकर्षक आम्दानीले किसान मक्ख

    कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।

    रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्। बगरमा उत्पादित तरकारी बिक्री गरेर उनले घरखर्च जुटाउँदै आएका हुन्। ‘दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। सुरुमा घरपरिवमारका लागि मात्र खेती गर्थेँ’, उनले भने, ‘आकर्षक आम्दानी हुनथालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ। सिजनमा रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको छ।’ उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्ने गर्छन्।

    दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्।

    डाँगाजाईँका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन्। त्यस बेला बाढीले उनको करिब तीन बिघा जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ। मोलसिंह भन्छन्, ‘बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ।’

    डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो। विसं २०६४ मा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्।

    ‘बर्खामा दोदाको बाढीले सास्ती गर्छ। उर्लेर आउने बाढीले कुन बेला के हुन्छ डराइडराइ बस्नुपर्छ’, उनले भने, ‘बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन। उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।’

    दोदा नदीमा करिब पाँच सयभन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताए।

    ‘वर्षौँदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरु समयमा मजदुरी’, उनले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ।’ -रासस