Category: News

  • कालीकोटका ७४ मतदानस्थल अति संवेदनशील

    कालीकोटका ७४ मतदानस्थल अति संवेदनशील

    एउटा मात्र निर्वाचन क्षेत्र भएको कालीकोटमा कूल १ सय ४ मतदानस्थलका १ सय २७ मतदान केन्द्र छन् । निर्वाचनमा सुरक्षाका दृष्टिले ‘अति संवेदनशील’ जिल्लाको रुपमा चिनिँदै आएको कालीकोटका १ सय ४ मध्ये ७४ वटा मतदानस्थल अति संवेदनशील रहेको प्रजिअ गोर्कणराज सुयलले बताए । उनका अनुसार २९ वटा मतदानस्थल संवेदनशील छन् भने सदरमुकाम मान्मीसथत कारागार र बालमन्दिर मतदानस्थल मात्र सामान्यमा राखिएको छ ।
    विगतका निर्वाचनमा भएका हिंसा, भौगोलिक विकटता, यातायातको असुविधा, सञ्चारको पहुँचलगायत सूचकको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरेर सुरक्षा रणनीति तय गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । जिल्लामा ५ सय ९ जना नेपाल प्रहरी, ४ सय सेना, १ सय ८५ सशस्त्र प्रहरी, १ हजार १ सय दुई निर्वाचन प्रहरी गरी कूल २ हजार १ सय ९६ सुरक्षाकर्मी परिचालन गरिने छ ।
    कालीकोटमा नेपाल प्रहरीको दरबन्दी ५ सय ९ भए पनि हाल जिल्लामा ३ सय ४८ जना मात्र छन् । अन्य विभन्नि जिल्लामा काजमा बसेका छन् । जिल्लाको सुरक्षा संवेदशीलता हेरर आवश्यकताअनुसार जुम्ला र सुर्खेतबाट थप सुरक्षाकर्मी पनि बोलाउन सकिने जिल्ला सुरक्षा समितिले जनाएको छ । अति संवेदनशील मतदान केन्द्रमा १४ जना प्रहरीसहित, सशस्त्र, सेना र निर्वाचन प्रहरी परिचालनको योजना बनाइएको छ ।
    फागुन २१ को चुनावमा हिमपात हुनसक्ने आँकलन गरेर जिल्लाभरका १४ मतदान केन्द्रलाई पनि अति संवेदनशीलमा राखिएको छ । यहाँको महादेव मावि फोइकोट, मालिका मावि बजेडीचौर, दुर्गा मावि रताडा, जनता मावि रुप्सा, दिपेन्द्र मावि, शिवालय मावि चिल्खायालगायतका मतदान केन्द्रलाई हिमपातका दृष्टिले अतिसंवेदनशील मानिएको छ । कालीकोटमा दुई स्वतन्त्रसहित १० उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् ।

  • ‘निर्वाचनमा ट्राफिक पनि सक्रिय हुनेछ’

    ‘निर्वाचनमा ट्राफिक पनि सक्रिय हुनेछ’

    राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतको प्रमुखका रुपमा मुकुन्दप्रसाद रिजालले पदीय जिम्मेवारी सम्हालेका छन् । पदबहालीपछि मंगलबार पत्रकारहरुसँग आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा उनले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सभ्य र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न ट्राफिक प्रहरी सक्रिय रुपमा लागिपरेको बताएका छन् ।
    प्रमुख रिजालका अनुसार निर्वाचन अवधिमा सवारी चेकजाँचलाई थप व्यवस्थित बनाइनेछ । उनले पछिल्लो समय ट्राफिक नियम उल्लंघन बढ्दै गएको उल्लेख गर्दै त्यसकै कारण सडक दुर्घटनामा वृद्धि भई ठूलो जनधनको क्षति भइरहेको बताए । ‘ट्राफिक नियम अर्काका लागि होइन, आफ्नै सुरक्षाका लागि हो । सबै सवारी चालकले नियमको पालना गर्नैपर्छ,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य पनि सबैलाई ट्राफिक नियमको पालना गराउने र दुर्घटना कम गर्ने नै हो, यसमा प्रहरी एक्लैले सम्भव छैन । सबै सरोकारवाला निकायको पनि साथ आवश्यक छ ।’
    अन्तरक्रियामा नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष शुसिलराज शर्माले सवारी चालकहरुमा ट्राफिक सचेतनाको कमी र नियमलाई व्यवहारमा लागु नगर्ने प्रवृत्ति नै मुख्य समस्या रहेको धारणा राखे । उनले ट्राफिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समुदायस्तरसम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याए ।
    सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र निर्वाचनका क्रममा सहज यातायात व्यवस्थापनका विषयमा सहकार्य गरेर अगाडि बढ्ने ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

     

  • बाघसँग त्रसित मध्यवर्ती क्षेत्रका बासिन्दा

    बाघसँग त्रसित मध्यवर्ती क्षेत्रका बासिन्दा

    गत पुस २३ गते सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरुवानीका ५७ वर्षीय गंगा सारुको बाघको आक्रमणबाट मृत्यु भयो । घर नजिकैको जंगलमा घाँस काट्न गएकी गंगाको परिवारका अरु सदस्यले खोजी गर्नेक्रममा जंगलमा रगत देखेका थिए । सोहीअनुसार परिवारका सदस्यले प्रहरीलाइ खबर गरे । नेपाल प्रहरी, नेपाली सेना, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिको टोलीले सारुको शव छत्विक्षत अवस्थामा फेला पारेको थियो । सुर्खेतको उक्त गेरुवानी गाउँ बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको शक्ति सामुदायिक वन क्षेत्रमा पर्छ ।
    बर्दिया राष्ट्रिय निकुञ्जसँग नजिक भएका गाउँमा यो घटना नौलो भने होइन । सारुको मृत्यु भएको दुई दिनपछि पुस २६ गते सल्यानको कालिमाटी गाउँपालिका–७ की ४२ बर्षीया धनसरी रावतको पनि बाघको आक्रमणबाट भयो । त्यसकै तीन दिनपछि कालिमाटी–८ का ६५ बर्षीय चन्द्रबहादुर खप्तडीको पनि बाघको आक्रमणबाटै मृत्यु भयो । पिठो पिस्न घट्ट गएका उनी बाघको आक्रमणमा परेका हुन् ।
    बस्तीमै पुगेर मान्छेमाथि आक्रमण गर्ने उक्त नरभक्षी बाघ अझै नियन्त्रणमा अएको छैन । बाघलाई नियन्त्रण्मा लिन निकुञ्जको टोली घटनास्थलमा परिचालन भएपनि हालसम्म नियन्त्रणमा लिन नसकिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले बताए । बाघलाई ‘डार्ट (बेहोस पारेर नियन्त्रणमा लिने विधि)’ प्रयोग गरेर नियन्त्रणमा लिन घटनास्थल आसपास ड्रोन प्रविधिबाटसमेत निगरानी गरिएको भएपनि सफल नभएको उनले बताए ।
    लगातार घटेका यी घटनाले निकुञ्ज नजिकका बस्तीका मानिसहरुको ज्यानै जोखिममा रहेको संकेत गर्छन् । संरक्षणका नाममा बाघको संख्या बढ्दै जान दिने हो भने यसले भयावह रुप लिने जोखिम बढेको छ । र्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा अवस्थित सुर्खेतका दुई पालिका भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका सात वटा वडाहरु मध्यवर्ती क्षेत्रमा पर्दछन् । पुसमा भएको घटनाभन्दा अघि पनि यस क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । ‘अहिले बाँके राष्ट्रिय निकुञ्ज नजिकका जङ्गलमा दिनहुँजसो बाघ देखिन्छ, पहिले राति मात्रै देखिन्थ्यो । अहिले त दिउँसै पनि देखिन्छ,’ भेरीगंगा नगरपालिका–५ का स्थानीय गंगबहादुर घर्ती भन्छन्, ‘एक्लै घरबाट निस्कन डर लाग्छ, बालबालिकालाई विद्यालय पठाउन पनि चिन्ता हुन्छ ।’
    भेरीगंगा–५ का वडाध्यक्ष प्रेमबहादुर सारुमगरका अनुसार हरेक वर्षजस्तो निकुञ्ज आसपासका बस्तीमा बाघको आक्रमण हुने गरेको छ । संरक्षणमा स्थानीय बाधक नदेखिएको अवस्थामा बाघ आतंक बढ्ने हो भने निकुञ्ज र मध्यवर्ती क्षेत्रका नागरिकको दूरी बढ्ने उनले बताए । २०७९ सालमा भेरीगंगा नगरपालिका–५ गेरुवानीमा शक्ति सामुदायिक वनमा घाँस काट्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु भएको थियो । उक्त घटनापछि गेरुवानी, छिञ्चु, लेखपराजुल र चेपाङ क्षेत्रका बासिन्दा त्रसित छन् ।
    विगत ३० वर्षको अवधिमा बाघको आक्रमणबाट ३३ जनाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जसँग तथ्याङ्क छ । बाघको आक्रमणबाट घाइते हुनेको कुनै लेखाजोखा नै छैन । सन् २०२२ सम्मको तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ छन् ।
    बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतको सुर्खेत मध्यवर्ती क्षेत्रको आर्थिक वर्ष २०७५–७६ को घरधुरी र जनसंख्या विवरण अनुसार भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको दक्षिण क्षेत्रमा एक हजार ८३३ घर धुरीमा नौ हजार ९२५ जनसंख्या छ । यो जनसंख्या कुनै न कुनै कारणबाट जंगली जनावरको आतंक व्यहोर्न बाध्य रहेको भेरीगंगा–५ का वडाध्यक्ष सारुमगर बताउँछन् । यी पालिकाका सात वडामा चारवटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएका छन् । बराहतालका १ र ३ तथा भेरीगंगाका १, २, ३, ४ र ५ नम्बर वडा मध्यवर्ती क्षेत्रभित्र पर्दछन् । यी क्षेत्रमा अधिकांश वन पैदावारमा आश्रित सिमान्तकृत गरिब समुदायको बसोबास रहेको छ ।
    मध्यवर्ती क्षेत्रमा पर्ने यी वस्तीमा बाघलगायतका जंगली जनावरकै कारण प्रमुख खाद्य बालीहरु उत्पादन र पशुपालमा नै ठूलो समस्या देखिएको छ । निकुञ्जका वन्यजन्तुका कारण परम्परागत स्थानीय खाद्यबालीसँगै पशुपालन व्यवसाय विस्थापित हुने चरणमा पुगेको भेरीगंगा नगरपालिका–५ लेखहात्तिखालका मिलन वलीले बताए । ‘वर्षेनी २५÷३० बढी पशुचौपाय बाघले मार्छ, लगाएको अन्नबाली भित्र्याउन पाइँदैन ।’ उनले भने । निकुञ्जले बेलैमा विकल्पसहितको संरक्षण नीति लिन नसके ठुलो जनसंख्या मध्यवर्ती क्षेत्रबाट विस्थापित हुने उनले बताए ।
    पछिल्लो समय बाघको आतंक बढेपछि स्थानीयहरु निकुञ्जकाविरुद्ध उत्रिन थालेका छन् । एक साता अवधिमा तीन जनामाथि बाघले आक्रमण गरेपछि स्थानीयले उचित विकल्प नदिए निकुञ्ज नै खारेज गर्नुपर्ने मागलाई बलियो बनाउँदै लगेका छन् ।
    बाघको आतंक बढ्न थालेपछि भेरीगंगा नगरपालिकाले बर्दिया राष्ट्रिय निकुञ्जसँग विकल्प दिन माग गरेको छ । मध्यवर्ती क्षेत्रमा जनावरले स्थानीयलाई आतंकित पार्न थालेपछि नगरपालिकाले निकुञ्जलाई ज्ञापनपत्रसमेत बुझाएको छ । नगर प्रमुख यज्ञप्रसाद ढकाल र नगर उपप्रमुख धनसरा बोहोराले निकुञ्जको कार्यालयमा पुगेर निकुञ्ज आसपासका बस्तीमा बाघ लगायतका जंगली जनावरबाट हुँदै आएको क्षतिका बारेमा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मानव–वन्यजन्तु द्वन्द्व रोक्न तत्काल दीर्घकालिन कदम चाल्न आग्रह गरेका छन् ।
    अतिजोखिमयुक्त क्षेत्रका बस्तीलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्नेदेखि मध्यवर्ती क्षेत्र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने माग नगरपालिकाको छ । जंगली जनावरको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति तथा पीडित परिवारका एक सदस्यलाई अनिवार्य रोजगारीको व्यवस्था हुनुपर्ने नगरपालिकाको माग छ ।

     

  • पूर्व सांसदहरुको राष्ट्रिय सभा यात्रा

    पूर्व सांसदहरुको राष्ट्रिय सभा यात्रा

    आइतबार भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट दुई जना चुनिएका छन् । आइतबार भएको मतदानमार्फत कर्णालीबाट अन्य क्लस्टरमा नेपाली काँग्रेसका ललितजंग शाही र महिला क्लस्टरमा नेकपा एमालेका मिनासिं रखाल निर्वाचित भएका छन् । प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसका शाही ३ हजार २७८ मतभारसहित राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका मिनासिंह रखाल जम्मा मिनासिं रखाल ३ हजार १४५ मतभारसहित निर्वाचित भएकी छन् ।
    निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट १९८ मतदातामध्ये १९१ जनाले मतदान गरेका थिए । प्रदेश सभाका ३९ जना सांसद र स्थानी तथका प्रमुख, उपप्रमुख एवम् अध्यक्ष उपाध्यक्षमध्ये १५२ जनाले मतदान गरेका हुन् । कर्णाली प्रदेशका कुल १९८ मतदातामध्ये १९१ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।
    मतदान गरेका प्रदेश सभाका ३९ जना सदस्यमध्ये १३ जनाले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारलाइ मत दिएका थिए । २६ जनाले नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका रखाल र शाहीको पक्षमा मतदान गरेका थिए । स्थानीय तहका प्रतिनिधिमध्ये एमालेका उम्मेदवार रखालको पक्षमा ९३ जना र काँग्रेसका शाहीको पक्षमा १०० जनाले मतदान गरेका छन् ।
    पराजित भएका नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवार अञ्जु महताराले प्रदेश सभाका १३ र स्थानीय तहका ५५ जना प्रतिनिधिको गरी १ हजार ७३४ मत ल्याएकी छन् । अर्का उम्मेदवार बुद्धिप्रसाद शर्माले प्रदेश सभाका १३ र स्थानीय तहका ५० जनाको गरी १ हजार ६३९ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार ६ मत बदर भएका थिए । बदर हुनेमा स्थानीय तहका जनप्रतिनिधिमध्यका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    २०७६ माघमा हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा साविकको नेकपा माओवादी केन्द्रको तर्फबाट अन्यतर्फ निर्वाचित भएका जाजरकोटका मायाप्रसाद शर्मा र महिलातर्फ निर्वाचित भएकी सुर्खेतकी सुमित्रा बिसीको कार्यकाल सकिँदैछ । सोहीअनुसार रिक्त हुने प्रतिनिधि सभा सदस्यमा यो निर्वाचनबाट शाही र रखाल चुनिएका हुन् । शर्मा र विसीको कार्यकाल फागुन १९ गतेदेखि सकिँदैछ । अहिले निर्वाचित रखाल र शाहीले पनि फागुन २० देखि उक्त क्षेत्रमा प्रतिनिधित्व गर्ने भएका छन् ।
    पूर्वसांसदको राष्ट्रिय सभा यात्रा
    कर्णाली प्रदेशका राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका शाही र रखाल पूर्वसांसद हुन् । शाही संविधान सभाका पूर्वसांसद हुन् भने रखाल प्रदेश सभाका पूर्वसांसद हुन् । प्रदेश र संविधान सभामा अनुभव गरिसकेका यी दुइ नेताले अब राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दैछन् । शाही जुम्लाका हुन् भने रखाल दैलेखकी हुन् ।
    जुम्लाका ललितजंग शाही राजनीतिक यात्राको क्रममा २०४४ सालबाट बल्ल पदमा पुग्न थालेका हुन् । उनी २०४४ सालमा तत्कालिन जिल्ला विकास समिति जुम्लाको सभापति भएका थिए । २०५० सालमा जिल्ला समितिको कार्यवाहक सभापति भए । उनको यो कार्यकाल २०५३ सम्म कायम रहेको थियो । त्यसयता जिल्लाबाट उनी निरन्तर महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि भएर पार्टीभित्र आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए । हाल उनी काँग्रेसको कर्णाली प्रदेश सभापति छन् ।
    २०७० सालमा भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनले जुम्लाबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७९ मा भएको प्रदेश सभा निर्वाचनमा पनि उनी उम्मेदवार बनेका थिए । नेपाली काँग्रेसबाट आधिकारिक उम्मेदवार बनेका उनी काँग्रेसबाटै बागी उम्मेदवार बनेका देवेन्द्र बहादुर शाहीसँग पराजित भएका थिए । त्यसपछि उनी सोझै राष्ट्रिय सभा सदस्यको टिक पाएर अहिले चुनाव लडेका हुन् ।
    कर्णालीबाट महिला क्लस्टरमा राष्ट्रिय सभा सदस्य निर्वाचित मिनासिंह रखाल कर्णाली प्रदेश सभाका पूर्वसदस्य हुन् । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रखाल २०७४ को प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवार थिईन् । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत् पहिलोपटक प्रदेश सभा सदस्य चयन भएकी हुन् ।
    गठबन्धनलाई आएन सबै मत
    कर्णाली प्रदेश सभाबाट राष्ट्रिय सभामा उम्मेदावार बनेका दुवैजनालाई गठबन्धनको कुल मत भने प्राप्त भएको छैन । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ । प्रदेशसभाका ४० जना सदस्य छन् भने ७९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको संख्या १५८ छ । प्रदेशसभा सदस्यको मतभार एक जना बराबर ५३ हो भने स्थानीय तहका जनप्रनिधिको मतभार १९ हो । जसअनुसार प्रदेशसभा सदस्यहरुको कुल मतभार २ हजार १२० हुन्छ भने स्थानीय तहका जनप्रनिधितिको मतभार ३ हजार २ हुन्छ । दुवै तहका मतदाताहरुको कुल मतभार संख्या ५ हजार १२२ छ ।
    कुल मतमध्ये कर्णालीमा नेपाली काँग्रेसको मतभार सबैभन्दा बढी छ । काँग्रेसको कुल मतभार कर्णालीमा १ हजार ८५३ छ । त्यसपछि दोस्रोमा साविक माओवादीको १ हजार ६०१ मतभार छ । नेकपा एमालेको मतभार कर्णालीमा १ हजार १९५ छ । साविक नेकपा (एस) को कुल मतभार कर्णालीमा २४३ छ । यस्तै एक जना प्रदेश सभा सदस्य मात्र भएको राप्रपाको मतभार ५३ र स्वतन्त्रबाट जनप्रतिनिधि बनेकाहरुबाट १६७ मतभार छ । गठबन्धन गरेका काँग्रेस–एमालेको यो राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा जम्मा मतभार ३ हजार ४५४ हुन्छ । तर, गठबन्धनबाट उम्मेदवार बनेका एमालेकी रखालले ३ हजार १४५ र काँग्रेसका शाहीले ३ हजार २७८ मत मात्र पाएका छन् ।

     

  • बालबालिकामा नसर्ने रोगबारे कार्यशाला

    बालबालिकामा नसर्ने रोगबारे कार्यशाला

    बालबालिकामा नसर्ने (एनसिडी) रोगसम्बन्धि दुई दिने कार्यशाला सुर्खेतमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका, युनिसेफ नेपाल र सोसेक नेपालको संयुक्त आयोजनामा शनिबार र आइतबार दुई दिने कार्यशाला सम्पन्न भएको हो । सामाजिक व्यवहार र परिवर्तन परियोजना (एसबिसी) ले बालबालिकामा नसर्ने रोगसम्बन्धि उक्त कार्यशाला गरेको हो ।
    उक्त कार्यशालामा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा नसर्ने रोगको अवस्था भयावह रहेको बताए । नसर्ने रोगको समाधानका लागि स्थानीय तह विशेष रुपमा सक्रिय हुनुपर्ने उनले बताए । यसमा आवश्यकता अनुसार प्रदेश सरकारले स्थानीय तह र विकास साझेदार संस्थासँग सहकार्य गर्ने उनलेब ताए ।
    ‘आन्तरिक आय एकदमै कामजोर रहेको कर्णाली प्रदेश सरकारले यो क्षेत्रमा एक्लै काम गर्न सक्षम छैन,’ मन्त्री भण्डारीले भने, ‘स्वास्थ्यका यस्ता जटिल क्षेत्रमा कुनै पनि तहको सरकारले एक्लैले काम गर्न सक्ने अवस्था छैन, तीनै तहका सरकारले सहकार्य गरेर यस्तो क्षेत्रमा काम गर्नु जरुरी छ ।’ उनले कर्णालीमा बालबालिकामा भएको नसर्ने रोग पहिचानका लागि सबैको सहकार्यमा तत्काल ‘स्क्रिनिङ’ गर्नुपर्ने औंल्याए ।
    कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ड खनालले स्वास्थ्य, सरसफाई र खानेपानी वीरेन्द्रनगरको चुनौती भएको बताए । यो चुनौती समाधानका लागि वीरेन्द्रनगरले माथिल्लो तहको सरकार र विकास साझेदार निकायसँग निरन्तर सहकार्य गरेर काम गरिरहेको उनले बताए । बसाईसराइका कारण वीरेन्द्रनगर उपत्यकामा बढ्दो जनघनत्वका कारण स्वास्थ्य तथा अन्य समस्या पहिचानमा समते सहज नभएको उनले बताए ।

  • स्थानान्तरण हुँदै लिमीवासी

    स्थानान्तरण हुँदै लिमीवासी

    हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ लिमी उपत्यकाका बासिन्दाहरु सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् । जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुख्र्यौली थलो छोडेर लिमीवासीहरु स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरुले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् ।
    केही दिनअघि मात्रै तीन गाउँहरुबिच स्थानान्तरण हुने सहमति भएको हो । स्थानीय समाजसेवी मंगल लामाकाअनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् । सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताए । लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गर्नुभयो । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ ।
    विगतका वर्षहरुमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरुलाई बस्नै नसक्ने बनाएको छ । जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकी परिवारहरु काठमाडौँ वा अन्यत्र बसाइँ सरेका छन् । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरुले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् । ‘कृषि सुरु भएपछि मानिसहरु बिस्तारै तल सरे, अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ,’ स्थानीय समाजसेवी लामाले भने, ‘कैलाश दर्शन गर्नेहरुका लागि माथि सांस्कृतिक घरहरु बनाएर कल्चर जोगाउन सकिन्छ ।”
    उनीहरु आफू मात्र सरेका छैनन्, गाउँमा भएका सांस्कृतिक सम्पदा गुम्बाहरु पनि सँगै लगेका छन् । जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताए । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको स्थानीयहरुको भनाइ छ । हुम्लाको नाम्खा गाउँपालिकाअन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरु जलवायु परिवर्तनको बढ्दो प्रभावले पुख्र्यौली थलो छोड्न बाध्य भएको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउँछन् ।
    बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरुले सामूहिक रुपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उनको भनाइ छ । चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो । यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरु जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताए । नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ भन्छन्, ‘हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि पुगेको छैन दुर्गम स्थानमा, हाम्रो पालिकामा बजेट नै पर्याप्त हुँदैन । जलवायु परिवर्तनले ठुलो क्षति गरिरहेको छ । पहिले हिउँ र हिउँ पहिरो मात्र समस्या थियो, अहिले तापक्रम बढेर नयाँ जोखिम थपिएको छ ।’

  • जुम्लामा तीन वर्षपछि हिमपात

    जुम्लामा तीन वर्षपछि हिमपात

    जुम्लामा तीन वर्षपछि हिमपात हुँदा किसान उत्साहित भएका छन् । पछिल्लो समय लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि तल्लो क्षेत्रमा सामान्य बर्षा भइरहेको हुन्थ्यो । तर यो पटक जिल्लाभर हिउँ परेकोले किसानलाई बाली सप्रने आशा लागेको छ । शनिबार बिहानदेखि परेको हिउँ दिउँसोसम्म पनि रोकिएको छैन । चिसोले भने जनजीवन प्रभावित बनेको छ । पशुबस्तुलाई किसानले गोठमै राखेर घास पानी दिइरहेका छन् । सदरमुकामतिर झण्डै आधा फिट र लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
    कर्णाली राजमार्गलगायत अन्य सडकमा सवारी साधन गुड्न सकेका छैनन् । हिमपातले हवाईसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबालीको रुपमा रहेको जौं, गहुँ खेती सप्रने किसानहरुको भनाइ छ । सिंजा २ का गोपाल रोकायाले यो पटक हिउँदेबाली सप्रने भन्दै खुसी छन् । उनले भने, ‘कहिले खडेरी त कहिले असिनापानीले आजित जुम्लाबासी यो पटकको हिमपातले उत्साहित छन् । मंसिर÷पुसमै हिउँ पर्नुपर्ने हो तर माघ महिनामा हिउँ परे पनि किसानलाई फाइदा नै छ । भर्खर व्यवस्थापन गरिएको बगैंचामा चिस्यान थपेको छ । सिँचाइ व्यवस्थापन भएको छ ।’
    यही मौकामा किसानले मलखादको उचित व्यवस्थापन गर्नसकेमा यो पटक जुम्ली किसानहरुले चिन्ता मान्नुपर्ने देखिँदैन । जिल्लाको आठै वटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउनको लागि हार्दिक अपिल गरेको छ । स्याउमा कालो तुसारो नलाग्नेदेखि रोकिराको संक्रमण अत्यन्तै कम हुने कृषि विज्ञहरुले बताएका छन् ।

  • प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    प्रतिनिधि सभा निर्वाचन–२०८२ः कर्णालीमा गत निर्वाचनको अङ्क गणित

    फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कर्णालीबाट पुराना र नयाँ राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले निर्वाचनमा भाग लिंदैछन् । जेन–जी आन्दोलपछि विकसित राजनीतिक परिस्थितिले २०८४ मा हुनुपर्ने यो निर्वाचन अहिले हुँदैछ । अहिलेको निर्वाचनको नतिजा कस्तो आउँछ भन्ने आम चासो छ ।
    विगतका निर्वाचनहरुमा चुनावी गठबन्धन गरी दल र उम्मेदवारलाइ पाखा लगाउने परिस्थिति यो चुनावमा छैन । अहिले दलहरु एक्लाएक्लै चुनवाी प्रतिस्पर्धामा उत्रिएकाले विगतका भन्दा नतिजा फरक आउने देखिन्छ । कर्णालीको सन्दर्भमा भने विगतका निर्वाचनमा जस्तो प्रमुख राजनीतिक दलमध्ये एउटा दल शून्य अवस्थामा पुग्ने परिस्थिति अहिलेको चुनावमा नहुन सक्छ । कर्णालीमा विशेष गरी कांग्रेस, एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यसपटक रास्वपाले पनि पुराना दललाई चुनौती दिन सक्ने अड्कल गरिएको छ । अहिलेको निर्वाचनलाई यसअघिका निर्वाचनको अङ्क गणितलाइ आधार मानेर हेर्दा काँग्रेस, एमाले र नेकपा (साविक माओवादी केन्द्र) का उम्मेदवारहरु मिश्रित रुपमा चुनिने देखिन्छ ।
    २०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र नेपाली कांग्रेस मिलेर बनेको गठवन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा भएको थियो । गठवन्धनका कारण एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फका कर्णालीका १२ वटै सिट गुमाउनुपरेको थियो । २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको चुनावी गठवन्धनका कारण नेपाली कांग्रेसले १२ वटै सिट गुमाएको थियो ।
    तर, यस पटक भने यीनै दलहरु एक्लाएक्लै चुनावी मैदानमा छन् । कर्णालीमा दुई चुनावमा फरक–फरक दलबीच गठवन्धन भएर कुनै एक दल सून्य हुने अवस्था यस पटक नआउने देखिन्छ । विगतका दुई निर्वाचनमा गठबन्धन गरेका यी दलले योपटक आ–आफ्ना स्पष्ट जनाधार प्रस्तुत गर्नेछन् । अहिले वाम एकतापछि चुनावमा होमिएको नेपाली कम्युनिष्ट पार्टीभित्रको घटक साविक नेकपा माओवादी केन्द्रले कर्णालीलाई आफ्नो जनाधार ठान्छ । यो निर्वाचनमा अघिल्लो निर्वाचनबाट प्रतिनिधिसभातर्फ एक सिट प्रत्यक्ष जितेको राप्रपा र समानुपातिकतर्फ एक सिट पाएको रास्वापा पनि चुनावी मैदानमा उत्रिएका छन् ।
    यस्तो थियो गत निर्वाचनको अङ्क गणित
    २०७९ मा कांग्रेस–माओवादी र समाजवादीबीचको गठवन्धनका तर्फबाट उम्मेदवार बनेका प्रकाश ज्वाला सल्यानबाट विजयी भएका थिए । तत्कालिन समाजवादीका उनले ३५ हजार ७०७ मत प्राप्त गरेका थिए । उतिबेला पुतली चिन्हबाट स्वतन्त्र चुनाव लडेका राजेन्द्रबहादुर शाहले १९ हजार ७९२ मत ल्याउँदा एमालेका राजेन्द्रवीर रायले १ हजार ३३९ मत पाएका थिए । डोल्पामा कांग्रेस–माओवादीको गठवन्धनबाट उम्मेदवार बनेका साविक नेकपा (एस) का उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत प्राप्त गरी विजयी हुँदा एमालेका गणेशबहादुर शाहीले ५ हजार ५०५ मत ल्याएर पराजित भएका थिए । मुगुबाट कांग्रेसका ऐनबहादुर शाहीले १४ हजार ७०६ मत प्राप्त गर्दा एमालेका राजबहादुर कार्कीले १० हजार सात १० मत प्राप्त गरी पराजित भएका थिए ।
    गठवन्धनमा माओवादीको भागमा परेको हुम्लाबाट छिरिङ डम्डुल लामाले १४ हजार ३७१ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका दल रावलले ९ हजार ५१६ मत प्राप्त गरेका थिए । २०७९को चुनावमा गठवन्धनलाई चुनौति दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) दोब्बर मतान्तरले विजयी भएका थिए । उनले गठवन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी गोमा गौतम कँुवरलाई हराएका थिए । कँुवरले ११ हजार ९५९ मत प्राप्त गर्दा एमालेका रतननाथ योगीले ६ हजार ५२८ मत प्राप्त गरेका थिए । शाही यस पटकको निर्वाचनमा पनि राप्रपाका तर्फबाट जुम्लामा उम्मेदवार छन् । कालीकोटबाट २३ हजार ७२७ मत ल्याएर गठवन्धनका तर्फबाट माओवादीका मेहन्द्रबहादुर शाही विजयी हुँदा एमालेका नगिन्द्र शाहीले १६ हजार ७१८ मत प्राप्त गरेका थिए । यी दुवै जना अहिलेको निर्वाचनमा पनि प्रतिस्पर्धीका रुपमा उभिएका छन् ।
    दुई निर्वाचन क्षेत्र रहेको दैलेख–१ बाट कांग्रेसका दिक्पालकुमार शाही २० हजार १८३ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि एमालेका लक्ष्मीप्रसाद पोखरेलले २० हजार १६ मत प्राप्त गरेका थिए । यस पटक पनि शाही र पोखरेल चुनावी मैदानमा छन् । यस्तै, दैलेख–२ बाट समाजवादीका अम्मरबहादुर थापा १८ हजार २९७ मतले विजयी हुँदा एमालेका रविन्द्रराज शर्माले १७ हजार ४४५ मत प्राप्त गरी पराजित भएका थिए । थापा र शर्मा पनि आगामी निर्वाचनमा उम्मेदवार छन् ।
    जाजरकोटमा गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत ल्याएर विजयी हुँदा एमालेका निरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरेका थिए । बस्नेत पुनः उम्मेदवार बनेका छन् । उनका प्रतिद्वन्द्वी काँग्रेसका खडक बहादुर बुढा र एमालेका डम्बर सिंह छन् । रुकुम पश्चिमबाट तत्कालिन माओवादीबाट जनार्दन शर्मा निर्वाचित भएका थिए । शर्माले ३९ हजार ५४९ मत प्राप्त गरी विजयी हुँदा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राप्त गरेका थिए ।
    यस्तै, दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत–१ बाट गठवन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्का विजयी भएका थिए । उनले ४२ हजार ६०७ मत प्राप्त गर्दा एमालेका ध्रुवकुुमार शाहीले ३० हजार ९८८ मत प्राप्त गरी पराजित बनेका थिए । शाही यस पटक पनि आगामी निर्वाचनमा उम्मेदवार बनेका छन् । शाहीसँग अहिले पूर्णबहादुरका भाई विष्णु बहादुर खड्का काँग्रेसबाट उम्मेदवार छन् ।
    विगतका गठबन्धनसहितको नतिजालाई छोडेर यो पटक कर्णालीमा ठूला दलहरुको एकल प्रतिस्पर्धालाई २०७० सालसम्मको नतिजासँग तुलना गर्न सकिन्छ । यसरी तुलना गर्दा अहिलेको निर्वाचनमा रुकुम पश्चिम, जाजरकोट, कालीकोटमा नेकपाका उम्मेदवार प्रतिनिधि सभा सदस्य चुनिन सक्छन् । किन भने यी जिल्लामा साविक माओवादी केन्द्रले पकड राखेको क्षेत्र छन् । दैलेखका दुई निर्वाचन क्षेत्र, सल्यान, डोल्पा र मुगुमा एमालेका उम्मेदवार चुनिन सक्छन् । सुर्खेतका दुइ निर्वाचन क्षेत्र, जुम्ला, हुम्लामा काँग्रेसका उम्मेदवार चुनिन सक्छन् । यद्यपि विगतका चुनावको आधारमा यकिन आँकडा भने निकाल्न सकिँदैन ।

  • ४९ जनाले लिए नाम फिर्ता

    ४९ जनाले लिए नाम फिर्ता

    निर्वाचन आयोगले ४९ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ । नियमित पत्रकार सम्मेलनमार्फत् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारी फिर्ताको विवरण सार्वजनिक गरेका हुन् ।
    निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार दिउँसो १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । शुक्रबार नै आयोगले उम्मेदवारहश्रलाई निर्वाचन चिह्न पनि प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारले आयोगले प्रदान गर्ने चिह्न प्राप्त गर्नेछन् भने दलीय उम्मेदवारहरुले दलको चिह्न पाउनेछन् ।
    फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएको थियो । आयोगका अनुसार ३ हजार ९० पुरूष, ३ सय ९६ महिला र १ अन्य गरी ३ हजार ४ सय ८७ जनाले मनोनयनपत्र दर्ता गरेका थिए ।

  • स्याउ बगैंचा व्यवस्थापनमा जुटे किसान

    स्याउ बगैंचा व्यवस्थापनमा जुटे किसान

    जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागिपरेका छन् । गुणस्तरीय स्याउ उत्पादन गर्न उनीहरु बगैँचा व्यवस्थापनमा लागेका हुन् । विशेषगरी यो याममा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापनमा किसान व्यस्त रहने गरेको तिला गाउँपालिका–१ का पदम बुढाले जानकारी दिए । जिल्लामा स्याउ बगैँचा काँटछाँट तथा व्यवस्थापन अभियान सुरु गरिएको छ । गुणस्तरीय स्याउ उत्पादन गर्ने र किसानलाई स्याउका बिरुवा काँटछाँट तथा व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले अभियान थालिएको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।
    बोटका फल टिपेलगत्तै यो समयमा काँटछाँट अत्यन्त महत्वपूर्ण मानिएको छ । प्रमुख अधिकारीले भने, ‘यतिबेला स्याउका बिरुवा सुषुप्त अवस्थामा हुने भएकाले काँटछाँट गर्न उपयुक्त हुन्छ ।’ यसै कारण अहिले किसानको बगैँचामै पुगेर स्याउका बगैँचा व्यवस्थापनका विषयमा जानकारी दिने उद्देश्यले अभियान सुरु गरिएको उनको भनाइ छ ।
    अहिले काँटछाँट, सिँचाइ र मलखादको मात्रा मिलाउन सके उत्पादन राम्रो हुन्छ । स्याउमा लाग्ने रोग नियन्त्रणका लागि नीलोतुथो र चुनाको प्रयोग गर्न यहाँका किसानलाई अहिले सिकाउने काम भइरहेको छ । कार्यालयले यहाँका आठवटै स्थानीय तहका ६० वडामध्ये ३० वडामा पुगेर बगैँचा व्यवस्थापनको तालिम स्याउ किसानलाई दिने तयारी रहेको प्रमुख अधिकारीले बताए । स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन । यतिबेलाको समयमा स्याउको स्याहार नगरे गुणस्तर फल दिँदैन । रोगसमेत लाग्ने डर हुन्छ । जसका कारण समयमै स्याउ काँटछाँट गर्न लागेको तातोपानी गाउँपालिका–४ का प्रेम पाण्डेले जानकारी दिए ।
    जिल्लामा खासगरी पुसदेखि माघको अन्त्यसम्म स्याउका बिरुवा लगाउने र स्याउको बगैँचा काँटछाँट गर्ने समय हो । धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैँचा काँटछाँट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको गुनासो आएपछि यो वर्षदेखि किसानका बगैँचामै कृषि प्राविधिक खटाएर काम गरिने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । जिल्लामा चार हजार ४४५ हेक्टर क्षेत्रफलमा स्याउखेती हुने गरेको छ । यसै वर्ष मात्रै १७ हजार ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लाबाट मात्रै यस वर्ष रु ३१ करोड २९ लाख ८० हजारको स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।