Author:

  • शिशिर योगीले गाए बुद्ध

    शिशिर योगीले गाए बुद्ध

    नेपाली सांगीतिक क्षेत्रका लाेकप्रिय कलाकार शिशिर योगीले गीतकार केशवराज राजभण्डारीकाे बुद्ध जीवन गीतलाई मीठाे स्वर दिएका छन्।

    पूर्व निर्वाचन आयुक्त राजभण्डारी एक कुशल शासककाे रूपमा परिचित थिए। भजनसम्बन्धी उनकाे केही गीत रेकर्ड भएकाे छ भने अध्यात्मसम्बन्धी थुप्रै पुस्तक पनि प्रकाशित छन्।

    बुद्ध जयन्तीको अवसरमा ल्याइएकाे गीतकाे संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन्। साे गीतलाई संगीतकार राजु सिंहकाे जादुमय संगीतले जीवन्त तुल्याएकाे छ।

    त्यस्तै गितारमा गोपाल रसाइली र बाँसुरीमा उमेश पण्डित रहेका छन्। भावमा डुबेर बजाउन सक्ने पण्डितकाे कलाले गीत उत्तिकै बेजाेड बनेकाे छ। साे गीतकाे छायांकन र दृश्य सम्पादन विरेन्द्र भाट विपीन गरेका छन्।

    गायक याेगीले गीतलाई मीठाे स्वर मात्रै दिएका छैनन् उनकाे अभिनय काैशलले गीतमा सुनमा सुगन्ध पनि थपेकाे छ।

    शिशिर याेगी अफिसियल युट्युव च्यानलबाट रिलिज भएको गीतले संसारभरिका मानव कल्याणका लागि बुद्धको सन्देश प्रवाहित गरेकाे छ।

    याेगीकाे उक्त युट्युव च्यानलबाट मानिस खाेजिरहेछु, कर्णालीपारि, बाेल्ने काेही छैन, सांरगी त रेटे पनि, मरिलानु के नै छ र जस्ता सयाैं गीतकाे रसास्वादन लिन सकिने छन्।

  • भूमि समस्याको चिरफार

    भूमि समस्याको चिरफार

    जमिनदार एमाले थिए किनकि सत्तामा एमाले थियो। सत्ता एमालेबाट कङ्ग्रेसमा सर्‍यो। सत्ता सरेसँगै जमिनदार पनि कङ्ग्रेसतिरै सरे। फेरि केही समयपश्चात् नै सत्ता माओवादीतिर सर्‍यो, अनि जमिनदार पनि फेरि माओवादी नै भए।

    यसरी जमिनदारले पटकपटक दल फेर्नुको उद्देश्य अरू केही नभएर सत्ताको नजिक हुनु थियो। अनि सत्ताको नजिक भइरहनुपर्ने बाध्यताचाहिँ आफ्ना मोहीलाई कानुनले नै सुनिश्चित गरेको हक दिनु नपरोस् भन्ने नै थियो।

    पालिकाहरू गाउँमा सिँचाइको व्यवस्था गरेको सुनाउँछन्। अनुदानमा मल दिएको बताउँछन्। बिउबिजन सित्तैमा बाँडेको भन्छन्। आफ्नो जमिन नभएकै कारण दिनभर अर्काको खेतीमा पसिना बगाएर राती मुन्टो लुकाउन मात्र आइपुग्ने भूमिहीनले सिँचाइको पानी कहाँ लगाउनु? अनुदानको मल लिएर कहाँ खर्चनु? अनि बिउबिजन कहाँ रोप्नु? गैरसरकारी संस्थाहरूले सित्तैमा दिएका चल्लासमेत पाल्ने ठाउँ नभएकाले कि बहिष्कार गर्नुपर्ने कि त चल्लै अरूलाई सुम्पन बाध्य हुनुपर्ने अवस्था कसले बुझ्नु?

    लामो समयदेखि भूमि अधिकारबाट वञ्चितहरूको अधिकार प्राप्तिमा क्रियाशील जगत बस्नेत (पिएचडी) द्वारा लिखित ‘भूश्रमिक’ नामक पुस्तकमा उल्लेख भएका केही विषय हुन् माथिका। जसमा भूमिहीनता मात्र होइन, भूमि शब्द जोडिएका सवालहरूकै कारण पीडित बनाइएका दर्जनौं प्रवृत्तिबारे चिरफार गरिएको छ।

    कार्यक्षेत्र भ्रमणका आधारमा तयार पारिएको यो कृतिमा यस्ता थुप्रै विषय उठान गरिएका छन्, जसमा व्यक्ति/परिवार कसरी भूमिहीन बनाइए वा बनाइँदैछन् भन्ने उल्लेख छ।

    भूमि शब्द जोडिएका सरकारी अड्डाहरू मालिकमैत्री छन्। उनीहरू भूमिहीन र भूमि अधिकारबाट वञ्चितहरूका कुरासमेत राम्ररी सुन्न चाहँदैनन्। असहाय र तल्लो वर्गका सेवाग्राहीलाई प्राथमिकता दिनुपर्ने कर्मचारीहरू उनीहरूलाई उल्टै दासको व्यवहार गर्छन्।

    बोल्नसमेत गाह्रो मान्छन्। रुखोपना प्रदर्शन गर्छन्। त्यसैले यस्ता सेवाग्राही एक्लै कार्यालयहरूमा जाने आँटसमेत गर्दैनन्। जबकि अर्को कोही सहयोगी लिएर जानुपर्दा उसलाई दिनुपर्ने पैसा तथा उसका लागि लाग्ने खर्चका कारण जिन्दगी महँगो बन्दै गएको छ। यसरी भूमि अधिकारबाट वञ्चितहरू जमिनदार मात्र नभई सरकारी कर्मचारीबाट झनै प्रताडित भएका सवाल प्रमाणसहित पेस गरिएको छ पुस्तकमा।

    नीति/कानुन बनाउने ठाउँमा भूमिवालाको बाहुल्य छ। कार्यान्वयन गर्ने ठाउँमा उनीहरूकै हालीमुहाली छ। त्यसैले एकातिर बनेका नीति÷कानुन मालिकमैत्री छन् भने कार्यान्वयन झनै टिठलाग्दो छ। झुक्किएर परेका एकाध गरिबमुखी प्रावधान पनि कार्यान्वयन हुँदैनन्।

    जस्तो– मोही लागेको जमिन कानुनले नै धनी र मोहीबीच आधा–आधा लाग्छ भन्छ तर यही कानुनी प्रावधानअनुसार आधा गरिदेऊ भनेर जाँदा पनि कर्मचारीले उल्टै जग्गा धनीलाई खबर गरेर रोकाउन लगाउने, पैसा माग्ने जस्ता काम गर्छन्। जसबाट मोही हैरान छन्। पुस्तकले गरिबका यस्ता थुपै्र सवाल उजागर गरेको छ।

    नीति, नेता, उच्च प्रशासक मात्र होइन, आफैंले मत दिएर जिताएका स्थानीय जनप्रतिनिधिसमेत शक्तिकै पछि लाग्ने गरेका वास्तविकतालाई पनि पुस्तकले सविस्तार उतारेको छ।

    पुस्तौंदेखि कमाइरहेको जमिन र थातथलोबाट उठिबास गराइदिने, मुद्दा लगाएर हैरान पारिदिने, कमाउनेलाई थाहै नदिई बेचिदिने जस्ता हर्कतले सताइएका थुप्रै परिवारको कथा पनि यसमा समावेश छन्। जसमा पीडितहरू आफैं बोलेका छन्। स्थानीय परिवेश र साक्षीहरूले घटनालाई पुष्टि गरेका छन्। उजाडिएका छाप्रा, रित्ता चुला र च्यातिएका झुत्रा कपडाले उनीहरूका पीडा विशुद्ध अर्गानिक हुन् भन्ने दाबीलाई शङ्कारहित तुल्याएका छन्।

    देशी मात्र होइन, विदेशीले समेत भूमि अधिकारबाट वञ्चितहरूका समस्या नबुझ्दा पीडितको सङ्ख्या क्रमशः वृद्धि भइरहेको दाबी लेखकको छ। विकासका नाममा सहयोगको थैली बोकेर आउनेले विकास गरेको दाबी त गर्छन् तर कसको? उनीहरूको विकासले गरिबलाई छोएको भए अहिलेसम्म पनि किन गरिबी रहिरह्यो त? उनीहरू यहाँको गरिबीको मुख्य कारक अन्यायपूर्ण भूमि वितरणलाई किन नजरअन्दाज गर्छन्? भूमिको समस्या समाधान नगरी यहाँबाट गरिबी हट्दैन भन्ने किन बुझ्न चाहन्नन्? उनीहरूसँग सम्बन्धित यस्ता थुप्रै प्रश्न अनुत्तरित छन्। जसले कतै गरिबलाई झन् गरिब बनाइरहेको त छैन भन्ने अर्को महाप्रश्न उब्जाएको छ पुस्तकले। यो प्रश्न गम्भीर छ र यही कारण थप विमर्श आवश्यक छ।

    भूमिमा स्वामित्वविहीनताले विशेषगरी दलित, महिला र सीमान्तकृत समुदाय कसरी मूलधारका गतिविधिबाट अलग्याइएका छन् र उनीहरू थप वञ्चितीकरणमा पारिएका छन् भन्ने विषयमा मसिनो विश्लेषण पस्केको छ पुस्तकले।

    करिब तीन दशकदेखि यही क्षेत्रमा लागेर थुप्रै अनुभव सँगालेका कारण होला, जगत बस्नेतद्वारा लिखित हरेक शब्द र वाक्यले भूमि अधिकारबाट वञ्चितहरूका पीडा आफैंलाई परेसरह ओकलेका छन्।

    त्यसैगरी प्रत्येक विश्लेषण तथ्य र प्रमाणमा आधारित लाग्छन्। प्रत्येक समस्यालाई नीति र कानुनसँग जोड्न गरिएका प्रयासले समाधान खोज्नेलाई मार्गनिर्देश गरेका छन्। समग्रमा भन्दा पिएचडी बस्नेतको भूमिविज्ञता पुस्तकमा प्रस्टसँग झल्कन्छ।

    पहिलो कुरा, त नेपालको भूमि वितरण नै अन्यायपूर्ण छ। दोस्रो कुरा, जसले जमिनमा पसिना र श्रम बगाउँछ, त्यही जग्गाको स्वामित्व उसको छैन। जोसँग त्यो जग्गाको धनी पुर्जा छ तर उसैले त्यही जग्गा देखेको छैन।

    यस्तो अवस्थाले वास्तविक जोताहालाई पुस्तैनी भूश्रमिकभन्दा माथि उठ्न नदिने त छँदैछ साथै यसको असर उत्पादनमा समेत पर्ने गरेको छ र समग्रमा मुलुकको अर्थतन्त्रमा समेत खिया लगाइरहेको छ। यही वास्तविकतालाई मिहिन ढङ्गले उजागर गरेको छ पुस्तकले। जसबाट नेपाल किन बर्सेनि अर्बौं रूपैयाँको खाद्यान्न तेस्रो मुलुकबाट किन्न बाध्य छ भन्ने बुझ्न मद्दत गर्छ।

    उसै त गरिब किसानहरू नहरको डिल, खोलाको किनार र वनको छेउछाउमा खुम्च्याइएका छन्। उनीहरूका लागि कुनै सहयोगी संस्थाले केही गर्न चाह्यो भने पनि एकातिर निकुञ्जले रोक्छ, अर्कोतर्फ वन कार्यालयले बाधा हाल्छ।

    त्यति मात्र होइन, प्रशासन कार्यालयदेखि प्रहरी हुँदै विभिन्न नामका गुठी र भूमि अड्डाले समेत अवरोध सिर्जना गर्छन्। हात्ती र सलाईसमेत उनीहरूको उठिबासका लागि प्रयोग गरिन्छन्। यस्तो अवस्थाले नेपालका भूमिहीन र भूमि अधिकारबाट वञ्चितहरूको समस्या समाधान उन्मुखभन्दा पनि झन् झन् उग्र बनाइरहेको भूमिविज्ञ बस्नेतको दाबी अनुचित छैन।

    नेपालमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तर र दातृ निकायबाट समेत जति पनि विकासका प्रयास भए, अपवादबाहेक ती सबै असफल भए भन्न हिच्किचाउनु पर्दैन। तर यसको मुख्य कारण केलाउने प्रयास भने कसैबाट पनि भएको पाइँदैन।

    खासमा यसको मुख्य कारण भनेको विकासलाई भूमिसँग नजोडिनु नै हो। जबसम्म यो पक्षमा सबैको आँखा खुल्दैन तबसम्म विकासका प्रयास यसैगरी तुहिइरहनेमा शङ्का छैन। यो पुस्तकको मुख्य निष्कर्ष यही देखिन्छ।

    यसरी हेर्दा मुलुकको गरिबी वास्तवमै हटाउन चाहने हो भने सबैभन्दा पहिले यहाँको भूमि समस्या समाधान गरिनुपर्ने दाबीमै घुमेको छ पूरै कृति। पुस्तकमा समावेश विवरण नियाल्दा यसमा विमति जनाउनुपर्ने ठाउँ पनि खासै देखिन्न।

    रेडपान्डा बुक्सले प्रकाशन गरेको भूश्रमिक १६८ पेजमा विभक्त छ। पैसा अभावमा अधिकार प्राप्तिका लागि मुद्दा लड्न नसकेका मोहीलाई मुद्दा लड्न सहयोग गर्ने प्रतिबद्धतासहित राखिएको ४९५ रुपियाँ मूल्य अनुचित लाग्दैन। विशेषगरी भूमि र विकाससम्बन्धी नीति निर्माण गर्ने ठाउँमा बसेकाहरूले पढे भने यसबाट समाधानका लागि प्रशस्त खुराक मिल्नेमा शङ्का छैन।

  • ‘खेलकुदलाई पाठ्यक्रममा समावेश गरे पदक सम्भव’

    ‘खेलकुदलाई पाठ्यक्रममा समावेश गरे पदक सम्भव’

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले विद्यालयस्तरबाटै खेलकुद विषय अनिवार्य पाठ्यक्रमका रूपमा समावेश गर्न नसकिए आशातीत पदक प्राप्त गर्न कठिन हुने बताएका छन्।

    नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) को शुक्रबार भएको १९औं वार्षिक साधारण सभाको उद्घाटनका अवसरमा राखेप सदस्यसचिव घिसिङले खेलको विशुद्ध प्राविधिक तालिमका आधारमा मात्र पदक प्राप्त गर्न नसकिने प्रस्ट पारे।

    उनले विद्यालयस्तरमा खेल विषय समावेश गर्न सके मात्र नेपाली खेलकुदले सफलता प्राप्त गर्न सम्भव हुने औंल्याए। साथै उनले नेपाली खेलकुद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने धारणा राखे।

    खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको उल्लेख गर्दै सदस्यसचिव घिसिङले पत्रकारहरूले सबै खेलका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि बढ्नुपर्ने बताए। उनले पत्रकारिताको आयाम फेरिरहेको र यस्तोमा खेलपत्रकारले खेलजगत्लाई दीर्घकालीन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनुपर्ने आवश्यक औंल्याए।

    होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष एवम् राखेपका पूर्वसदस्यसचिव युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरू उत्पादन हुनु जरुरी रहेको उल्लेख गर्दै एकैजना खेलाडीले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सूचक रहेको धारणा राखे।

    नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकिरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्ने बताए। नेपालका थुप्रै खेल संघहरूले वार्षिक रूपमा साधारण सभा गर्दै आए पनि थुप्रै खेल संघहरूले आफ्नो संघलाई संस्थागत रूपमा काम नगरेको प्रति उनको संकेत थियो।

    उद्घाटनपछि भएको बन्द सत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आगामी भदौमा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) को कंग्रेस नेपालमा आयोजना गर्न राखेको प्रस्ताव सर्वसम्मतिले स्वागत गर्दै अनुमोदन गरेको थियो।

    बन्द सत्रमा महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र मञ्चको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो।

  • राजधानीका प्रिय ‘फूलप्रेमी’हरू!

    राजधानीका प्रिय ‘फूलप्रेमी’हरू!

    न टिप्नू हेर कोपिला, नचुड्नू पाप लाग्दछ,

    नच्यात्नू फूल नानी हो, दया र धर्म भाग्दछ।

    महाकवि लक्ष्मीप्रसाद देवकोटाले वर्षौंअघि फूलको महत्त्व बुझाउँदै उपवन जोगाउन यी पंक्ति लेखे। तर मैतीदेवीस्थित देवकोटा निवास ‘कवि कुञ्ज’ नजिकैको धोबीखोला किनारमा यति बेला कविताकै धज्जी उड्ने गरी निरन्तर फूलहरू च्यात्तिँदै छन्।

    रातो कुर्ता, सेतो सुरुवाल। निधारमा टिका, ओठमा लाली। उनी आफैं फूलजस्तै फक्रिएकी थिइन्। सोमबार बिहान धोबीखोला किनारमा फूल टिप्दै गर्दा क्यामराको लेन्स देखेपछि उनी एकाएक ओइलाइन्। ‘मन्दिरमा चढाउन टिपेको,’ उनले बिस्तारै भनिन्, ‘आजै मात्र आएको हो।’

    उनी मात्र होइन, हरेक बिहान धोबीखोला किनारमा फक्रिएका फूल चुँडिरहने थुप्रै भेटिन्छन्। कसैले पूजा गर्ने बहानामा टिपेका छन् त कसैले घर सजाउने लहडमा। त्यसैले हरेक साँझको सूर्यास्तमा सूर्यसँग रमाउँदै गरेका फूलहरू बिहानको सूर्योदय देख्न नपाउँदै चुँडिन्छन्।

    ‘किनारमा फूलका मुन्टा चुँडिदै गरेको देखेर धेरैको मन पनि कुँडिन्छ। उनीहरू नटिप भन्दा पनि पछि हट्दैनन्। तपाईंको हो र? भन्ने जवाफ फर्काएपछि नाजवाफ हुन्छन्। ‘मन्दिरजस्तो सहरमा फक्रिएको यो फूल चुँडेर कुन पूजा कोठा सजाउने होला,’ भत्केको पुल नजिकै भेटिएका पुष्कर थापाले भने, ‘फक्रिएको फूल हाँगाबाटै भगवान्लाई चढेकै छ, फेरि चुँडेर कुन भगवान्लाई चढाउने हो?’

    वर्षौंदेखि कुरूप धोबीखोला किनार यतिबेला विभिन्न रङका फूलसँगै दुलहीजस्तै सिँगारिएको छ। भलै, धोबीखोलमा दुर्गन्धित पानी बगेको छ। किनाराका यी फूलले त्यसमा सौन्दर्य भरेका छन्। यिनै फूलमाथि बिहानीपख निर्घात आक्रमण हुने गरेको छ। फूल टिप्नेले हाँगासमेत भाँच्ने गरेको कतिपयले बताउँछन्। ‘हातमा प्लास्टिकको झोला बोकेर आउनेहरू हाँगा लच्काउँदै फूल चुँड्छन्, ‘रातो पुल नजिकै भेटिएका महेश कार्की भन्छन्, ‘अघिल्लो साँझ ढकमक्क रहेको बोट बिहान हुन नपाउँदै रित्तो हुन्छन्।’

    फूल टिप्नेको हात नपुगेर बचेका फूलले पनि यो किनारमा कम्ता सौन्दर्य दिएको छैन। तर कतिपयलाई यी फूल पनि चुँडिने डर छ। ‘फूलको संरक्षणमा कोही नदेखिँदा लाठो लिएर पनि बचेका फूल चुड्लान् भन्ने डर छ, ‘कार्की थप्छन्, ‘कसैले त फूलको पक्षमा बोल्दिनुपर्‍यो।

    काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर सार्वजनिक ठाउँमा रोपेका फूलका हाँगा भाँच्ने तथा चुँड्नेलाई सार्वजनिक मुद्दा लाग्ने बताउँछन्। ‘हामी त्यो क्षेत्रमा नगर प्रहरी पठाएर अवस्थाको अवलोकन गर्ने छौं,’ उनले भने, ‘सहरी सौन्दर्य बिगार्न कानुनले कसैलाई पनि अनुमति दिँदैन।’

    धोबीखोला किनारमा मात्र होइन, सहरका अन्य ठाउँमा पनि पछिल्लो समय सौन्दर्य बढाउने काम भएका छन्। सहरका चोक र बगैंचामा थरी थरीका फूल रोपिएका छन्। तर ती ठाउँमा पनि फूलको नोक्सान पुर्‍याउने गरेको देखिन्छ।

    ‘साँझको अँध्यारोमा पार्कका फुलेका फूल मात्र होइन, बोटैसमेत पनि उखेलिने गर्छ,’ ललितपुर मंगलबजारका विजय शाक्य भन्छन्, ‘यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ।’

    कतिपय भने कानुन लगाएर फूल जोगाउनेभन्दा पनि मान्छे आफैंले विवेकशील भएर फूल संरक्षणमा जुट्नुपर्ने सुझाउँछन्। फूलहरू तोडेर सुन्दरता जम्मा गर्न नसकिने भन्दै जहाँ फुलेका छन्, सौन्दर्य त्यहीं जम्मा हुने उनीहरूको बुझाइ छ। ‘भगवान्लाई खुसी बनाउन फूललाई किन मार्नु,’ मनिता बजगाईं भन्छिन्, ‘ती जहाँ फुलेका छन्, त्यहीं बाँच्न देऊ।’

    सारा सृष्टि भगवान्कै हो भने तिनका निम्ति कुनै फूल चुडेर चढाइरहनु पर्दैन। हो, भगवान्लाई चढाउने हो भने बजारमा किनेर वा आफ्नै बगैंचामा फुलाउन सकिन्छ। त्यसो नगरी सार्वजनिक ठाउँको फूल टिप्नु भनेको भइरहेको सौन्दर्य बिगार्नु पनि हो।

    तर अझै पनि फूल चुँडिन रोकिएको छैन। देवकोटाले फूल नच्यात्नु भनेर उति बेलै साना नानीहरूलाई सम्झाएका थिए। सायद साना नानीहरूले सम्झे। तर यति बेला सहरका ‘ठुला नानीहरू’ निर्धक्क फूल चुँड्दै छन्। यिनलाई कुन महाकविले सम्झाउने होलान्?

    गोपाल सुचीकारले गाएको यो गीत फूल संरक्षणका निम्ति सुन्ने हो कि?

    ‘के पूजा गर्छौ मन्दिरमा गई

    पहिले आफ्नो बानी सुधार।’

  • किमाथांकासहित चीनसँग जोडिएका अधिकांश नाका पुनः सञ्चालन आजदेखि

    किमाथांकासहित चीनसँग जोडिएका अधिकांश नाका पुनः सञ्चालन आजदेखि

    नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि संखुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथांकासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन्।

    कोभिड महामारीका कारण देखाउँदै चीन सरकारले बन्द गरेका ती नाका नेपाल र चीनका उच्च राजनीतिक नेतृत्वबीचको वार्ता, संवाद र सहमतिबाट करिब चार वर्षपछि पुनः सञ्चालनमा आउन लागेका हुन्।

    कोभिड- १९ फैलने डरले चीन सरकारले किमाथाङ्कासहित उत्तरी क्षेत्रमा रहेका १४ वटा परम्परागत सीमा व्यापार नाका बन्द गरेको थियो। परम्परागत नाका पुनः सञ्चालनका लागि दुई मुलुकबीच कूटनीतिक माध्यमबाट निरन्तर छलफल हुँदै आएको थियो।

    उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैतमा गरेको जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका अवसरमा नेपाल-चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापार नाका क्रमशः खुलाउने समझदारी भएको थियो।

    रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाका यसअगावै सञ्चालनमा आइसकेका छन्। ताप्लेजुङको टिप्तला नाका पनि शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।

    किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका पुनः सञ्चालनको उद्घाटन समारोहमा सहभागी हुन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठको नेतृत्वमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, गृह र परराष्ट्र मन्त्रालयका सहसचिव, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारी सहभागी प्रतिनिधिमण्डल आज किमाथाङ्का जाँदै छ।

    उपप्रधानमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले एक समारोहकाबीच किमाथाङ्का–छेन्ताङसहित सम्पूर्ण व्यापार नाका पुनः सञ्चालन भएको घोषणा गर्ने कार्यक्रम छ। उक्त कार्यक्रमबाट नेपाल–चीन सीमामा रहेका १४ वटै व्यापार नाका खुलेको घोषणा गरिने सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले राससलाई जानकारी दिए।

    चिनियाँ पक्षले आजदेखि विभिन्न सातवटा नाका खोल्ने र अन्य नाका निश्चित समयभित्र खुलाउँदै जाने जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आजदेखि दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा, ताप्लेजुङ र संखुवासभा जिल्लासँग सीमा जोडिएका नाका खुल्ने छन्।

    उत्तरी क्षेत्रमा रहेका सम्पूर्ण व्यापार नाका खुलेसँगै सीमा क्षेत्रमा राज्यका उपस्थिति हुने, भन्सार राजस्वमा वृद्धि हुने, स्थानीय उत्पादनको बिक्री तथा रोजगार सिर्जना हुनेछ। ‘अहिले उत्तरी सीमाका सीमित नाकाबाट मात्रै भन्सार राजस्व संकलन भइरहेकामा नाका खुलेसँगै भन्सार राजस्वमा योगदान थप्छ’, संखुवासभाका प्रजिअ खड्काले भने, ‘हिमाली क्षेत्रमा उत्पादन हुने परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा सहजै प्रवेश पाउँछन्।’

    सीमा क्षेत्रमा भन्सार सञ्चालनमा आउने, स्थानीय उत्पादनको बिक्री वितरण बढ्ने हुँदा त्यसबाट स्थानीय रोजगारीमा वृद्धि हुनेछ। ‘सीमानाका सञ्चालनमा नआउँदा उत्तरी क्षेत्रका रोजगारी ठप्प भएका थिए’, उनले भने, ‘अब चिनियाँ भूभागमा गएर रोजगारी गर्न पाउने अवसर खुल्छ, सीमा क्षेत्रमा हुने भन्सार गतिविधिले रोजगारी पनि सिर्जना गर्छ।’ सीमानाका खुलेसँगै उच्च हिमाली क्षेत्रका जनताको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने उनको भनाइ छ।

    स्थानीयस्तरमा बढ्यो उत्साह

    विसं २०७६ माघ ५ गतेदेखि बन्द रहेको किमाथाङ्का नाका खुल्ने भएसँगै स्थानीयस्तरमा ठूलो उत्साह बढेको प्रमुख जिल्ला अधिकारी खड्का बताउँछन्। नाका खुलेको खुशियालीमा आज भोटखोला क्षेत्रमा ठूलो व्यापार मेला आयोजना गरिएको उनले जानकारी दिए। मेलामा सहभागी हुन सदरमुकामबाट व्यापारीको टोली शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ।

    किमाथांका नाकासँग भोटखोला गाउँपालिका जोडिएको छ। भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ ले उत्तरी छिमेकी चीनको भूभाग छोएका छन्। किमाथांका-छेन्ताङ नाकाको प्रवेश विन्दु भोटखोला वडा नं १ मा पर्छ।

    भोटखोलामा करिब पाँच हजार मानिसको बसोबास रहेको अनुमान छ। यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ। स्थानीय उत्पादनले मुस्किलले दुई-तीन महिनाको मात्र माग धान्ने स्थानीयको भनाइ छ।

    नाका बन्द भएसँगै सीमावर्ती क्षेत्रसँग जोडिएको भोटखोलाका स्थानीयको जनजीवन कष्टकर हुँदै आएका थिए। भोटखोला गाउँपालिकाका अधिकांश जनता खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजारमा निर्भर हुँदै आएका थिए।

    सीमावर्ती क्षेत्रका नागरिकले उत्पादन गरेका चौरीको दूध, घिउ, भेडाको ऊन र जडीबुटीलगायत चिनियाँ बजारमा बिक्री गर्ने तथा चौरी तथा भेडा चरनका लागि चिनियाँ भूभागमा लाँदै आएका प्रजिअ खड्काले बताउँछन्। नेपालमा चौँरी तथा भेडाका लागि खर्कको अभाव छ। चीनको तिब्बत क्षेत्रमा रहेका खर्कमा उत्तरी सीमावर्ती क्षेत्रका स्थानीयले चौरी तथा भेडा चराउने गरेका थिए।

    किमाथाङ्का नाकाबाट मुख्य गरी स्थानीय उत्पादन तथा दैनिक जीविकाका सामग्रीको व्यापार हुँदै आएको थियो। किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन।

    ‘अहिले पनि सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाका पुग्न सकिन्छ, निकै विकट स्थानमा भएकाले सदरमुकामबाट चामल, नुन, तेल, चिनीलगायत दैनिक अत्यावश्यक वस्तुको आपूर्ति गर्न असहज छ’, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए। सीमावर्ती क्षेत्रका स्थानीयले दैनिक आवश्यकताका वस्तु चिनियाँ बजारमा खरिद गरेर ल्याउने गरेका थिए।

    चीनले यसअघि देखिनै नेपालका चौरी तथा भेडालाई तिब्बतका खर्कमा चरन सुविधा उपलब्ध गराउँदै आएको थियो। यसका लागि दुवै देशबीच सहमति भएको थियो। कोरोना महामारीका बेला नाका बन्द भएसँगै सीमावर्ती बासिन्दाले चरन सुविधा पनि गुमाएका थिए। ‘नेपालका चौँरी र भेडाको चरन खर्क उतै (चीन) मा थियो, नाका बन्द भएपछि साह्रै नै सकस भएको थियो’, उनले भने, ‘नाका खुलेसँगै अब सीमावर्ती क्षेत्रको जनजीवन सहज हुनेछ।’

    सरकारी कार्यालय स्थापना गरिँदै

    प्रमुख जिल्ला अधिकारी खड्काले सिमानाका खुल्ने तयारीसँगै आवश्यक सरकारी कार्यालय पुनःस्थापनाको प्रक्रिया अघि बढेको बताए। तत्कालका अस्थायीरुपमा सीमा प्रशासन कार्यालय स्थापना गरिने र आगामी आर्थिक वर्षको सुरुआतसँगै आफ्नै भवन निर्माण गरेर कार्यालय सञ्चालन गरिने उनको भनाइ छ।

    ‘सीमा प्रशासनका कर्मचारी किमाथाङ्का पुगिसक्नुभएको छ’, उनले भने, ‘सो कार्यालयबाट के–के सेवा दिन सकिन्छ भन्ने अध्ययन गरेर निर्णयमा पुगिने छ।’

    आगामी साउन १ गतेदेखि किमाथाङ्कादेखि नै सेवा प्रवाह गर्ने गरी तयारी थालिएको प्रजिअ खड्काले जानकारी दिए। विसं २०३५ मा किमाथाङ्कामा सीमा प्रशासन स्थापना भएको थियो। द्वन्द्वका कारण २०५७ सालमा सीमा प्रशासन कार्यालय विस्थापित भएर सदरमुकाममा झरेको थियो।

    सिमानाका सञ्चालन गरेर सीमावर्ती क्षेत्रमा सहज आवतजावतका व्यवस्था मिलाउन भोटखोलावासीले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। नाका खोल्नका लागि नेपाल र चीनका स्थानीय अधिकारीबीच पटकपटक वार्ता भए पनि नाका खुल्ने वातावरण बन्न सकेको थिएन। –रासस

  • फ्रिडम ‘ए’ र जोरपाटी क्वार्टरफाइनलमा

    फ्रिडम ‘ए’ र जोरपाटी क्वार्टरफाइनलमा

    फ्रिडम ‘ए’ र जोरपाटी तेस्रो वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। चाबहिल खेलमैदानमा विकर्ण श्रेष्ठको ह्याट्रिक मद्दतमा फ्रिडम ‘ए’ ले सिन्धु भेट्रानलाई ५-२ गोलले पराजित ग¥यो।

    सिन्धुका शम्भु श्रेष्ठ र रोम प्रधानले समान १-१ गोल गरे। जोरपाटीले तकामी भेट्रानलाई ३-० गोलले हरायो। जोरपाटीका रञ्जित लामा, राकेश लामा र इन्द्र लामाले समान १-१ गोल गरे।

    काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा सरस्वतीनगर भेट्रान र सानोगौचरन नाइट किङ क्लब प्रिक्वार्टरफाइनलमा पुगे। सरस्वतीनगरले जोन टेन टेनलाई ९-१ को विशाल गोलअन्तरले पाखा लगायो।

    सरस्वतीनगरका सुन्दर नेपालले ५ तथा शशि रिमाल, सुनील सुवेदी, सुदीप केसी र युवराज भुजेलले समान १-१ गोल गरे। जोनका लागि राज थापाले सान्त्वना गोल गरे।

    सानो गौचरनले सजन स्मृति युथ क्लब, चाबहिललाई टाइब्रेकरमा ३-१ ले पन्छायो। निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि निर्णय सीधै पेनाल्टी सुट आउटबाट गरिएको थियो।

  • हेटौंडामा सवारी दुर्घटनामा एकको मृत्यु

    हेटौंडामा सवारी दुर्घटनामा एकको मृत्यु

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ थानाभर्‍याङस्थित पूर्व–पश्चिम सडक खण्डमा गए राति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

    सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको ना७ख १६७५ नम्बरको बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिइन्।

    उनका अनुसार मृतक पुरुषको हाल नामथर वतन नखुलेको र मृतक पुरुषको शव हेटौंडा अस्पतालमा राखिएको छ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। -रासस

  • गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल

    गणतन्त्र दिवसमा भक्तपुरमा बुद्धिचाल

    भक्तपुरमा नेपाल इको प्यानल गोपाल खागी स्मृति फिडे रेटिङ ब्रिट्ज चेस प्रतियोगिता हुने भएको छ। गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते भक्तपुरको देकोचा चाँगुनारायण जाने बस स्टप चोकको भवनमा प्रतियोगिता हुने भएको हो।

    प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्नका लागि चेसका भेट्रान्स गणेशमान दुवालको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरिएको छ। प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाइजूका अनुसार प्रतियोगितामा देशविदेशका जसले पनि सहभागिता जनाउन सक्ने छ।

    प्रतियोगितामा सहभागी हुन जेठ १३ गतेसम्म अन्तिम नाम दर्ता गर्ने समय राखेको र ८० खेलाडी पुगेपछि सहभागिता दर्ता बन्द गर्ने योजना उनले सुनाए। प्रतियोगिता स्विस लिगका आधारमा नौ चरणमा खेलाइने उनले जानकारी गराए।

    प्रतियोगितामा प्रथम हुनेलाई ६ हजार, दोस्रोलाई चार हजार, तेस्रोलाई तीन हजार नगद पुरस्कार पनि व्यवस्था गरिएको छ।

    साथै यी तीनसहित कुल १९ जना विभिन्न समूहलाई गरी कुल ३० हजार नगदबराबरको पुरस्कार वितरण गरिने जनाइयो प्रतियोगिताको प्रायोजक नेपाल इको प्यानलले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतियोगिता सञ्चालन गरेको जनाएको छ।

  • ‘ट्रान्सम्यान’ को अधुरो प्रेम कहानी

    ‘ट्रान्सम्यान’ को अधुरो प्रेम कहानी

    मोरङका ४२ वर्षीय राज चौधरी आफ्ना मातापिताका निम्ति पहिलो सन्तान छोरी भएर जन्मिए पनि उनी आफूलाई छोरा ठान्छन्। छोरीका रूपमा परिवारले दिएको उनको नाम हो– राजकुमारी। अहिले उनी एक ट्रान्सम्यानमा अनुदित भएका छन्। अब उनी बनेका छन्– राजकुमार।

    उनलाई सानैदेखि केटी मान्छेप्रति उधुमै आकर्षण थियो। छोरीमान्छे देखेपछि उनका आँखा उतै जान्थे। स्कुलमै छँदा एक सहपाठीमा महिलामित्रमा उनका आँखा पुगे। एउटै कक्षामा कुम मिलाएर सँगै बस्न नपाए पनि राजले उनलाई मन मन्दिरमा सजाइसकेका बताए।

    ‘त्यो स्कुल पढ्दाको मायालाई अझै भुल्न सकेको छैन,’ उनले भने, ‘स्कुलबाट घर फर्केपछि भोलिको उज्यालोको आशामा रात बित्थ्यो। रातभरि उनकै सम्झना झलझली आइरहन्थ्यो। तर, उनी कहिल्यै मेरी भइनन्। समय बितेको यतिका वर्ष भयो, त्यस्तो माया अहिलेसम्म कसैलाई गर्न सकिनँ। कसैको माया लाग्दा पनि लाग्दैन। उनको मायाले अझै पिरोल्छ। उनकै मायाले अझै कुमार छु।’

    उनका अनुसार छोरीकै पहिरनमा स्कुल गए पनि भित्री मनमा भने छोरी होइन, आफू छोरा हुँ भन्ने लाग्थ्यो। त्यसैले त उनीसँग नजिक हुन त्यो मन चाहन्थ्यो। उनीसँगै खाजा खान मन लाग्थ्यो। दिन बित्दै जाँदा आफ्नो मायाको गाठो उनी सामुन्ने फुकाएका थिए।

    प्रेमिकासँग प्रेम प्रस्ताव राख्दै गर्दाको क्षण राजको मनमा सधैं ताजा छ। ‘मलाई खै किन हो तिम्रो असाध्यै माया लाग्छ,’ उनले प्रेमिकासँग भनेका थिए, ‘म पनि तिमीजस्तै केटी हुँ। तर, भित्री मनमा आफूलाई केटाको रूपमा पाउँछु। अनि तिमीलाई श्रीमती देख्छु। सधैं स्कुलमा तिमीलाई देख्दा मन भक्कानिएर आउँछ। त्यत्रा केटाहरू छन्। तर, तिनीहरू सब बेकार लाग्छन्। मलाई तिमी मन पर्छ।’

    यसरी आफ्नो प्रेम प्रस्ताव राख्दा उनी आफैं पनि आश्चर्यमा परेकी राज बताउँछन्। केही दिन बोलीचाली नभए पनि राज र उनकी पे्रमिका भने गहिरो मित्रतामा थिए। पछि त्यही मित्रता प्रेममा परिणत भयो।

    स्कुलमा पनि उनीहरूको मिल्ती देखेर सबैले साथी हुनु त यस्तो भनेर हौस्याउँथे। राजले भने, ‘उनले मेरो माया सहर्ष स्वीकार गरेपछि हामी एक अर्काको घर जान सहज भयो। दुईजना एउटै थालमा खाने, सँगै घुम्न जाने त्यस्तो प्रगाढ माया थियो। जुन दिन हामी सँगै हुन्थ्यौं, आफूलाई स्वर्गै पुगेको अनुभूति हुन्थ्यो। हाम्रोजस्तो माया अरू कसैले गरे होलान्, त्यस्तो माया गरेका थियौं।’

    उनीहरू एकअर्कामा अत्यन्त समर्पित थिए। दुईचार घण्टा मात्रै कामविशेषले टाढा हुन सक्थे। अन्यथा, हरेक दिनरात सँगै हुने गरेका थिए। मायालु यो जोडी लामो समयसम्म अगाडि जान नसक्ने अवस्था अचानक आयो। राजभन्दा पनि केटीको परिवार तगारो बनेर उभिएको थियो।

    ‘सँगै बस्ने खाने गरेकोमा परिवारलाई शंका लाग्दै गयो,’ राजले भने, ‘हामी एक अर्काबीचको सम्बन्ध परिवारमाझ खुल्दै गयो। परिवारले जिन्दगीभर एकआपसमा नभेट्ने बाचाबन्धनसमेत गरायो।’

    सम्बन्ध खुलेपछि राजलाई केटीको परिवारले ‘छक्का’ भन्दै गाली गर्‍यो। उनीहरूले एकअर्काको हात बलियो गरी समातेका थिए, हात फुत्काउन धेरै जना चाहिन्थे। सबै मिलेर त्यो काम गरे। उनीहरूबीचको सम्बन्ध भने मनमा अटुट रूपमै ताजा बनेर बसेको छ।

    स्कुलको पढाइ सकिँदै गर्दा तिनको आपसी मायामा परिवारको कुदृष्टि पर्‍यो। परिवार त्यसविरुद्ध भए पनि सम्बन्धमा कहिल्यै पूर्णविराम लागेन। राजले आफ्नी प्रेमिकालाई भगाएर सिन्दुरपोते गरिदिएका थिए। प्रेमिकाको सिउँदोमा राजकै हातको सिन्दुर धेरै पटक परिसकेको छ। तर, केटीकेटीबिचको विवाहले सामाजिक मान्यता पाउन सकेको छैन।

    राज भन्छन्, ‘सिन्दुर नै हालिसकेपछि कसले छुट्याउन सक्छन् र ? भन्ने थियो। त्यसैले हाम्रो चार पटक बिहे भयो। हामी दुवै मन्दिरमै गएर उसको सिउँदोमा सिन्दुर र गलामा पोते मैले नै लगाइदिएको हो। तर, त्यसो हुँदा पनि सबैको नराम्रो नजर हामीमाथि थियो।’

    राज र उनकी प्रेमिकालाई घरपरिवारले टाढा गराए पनि दुवैको मनमा बसेकै थिए। एक दिनको कुरालाई सम्झँदै राज भन्छन्, ‘धेरै दिन भएको थियो उसको अनुहार नदेखेको। अचानक उनले एक रातसँगै बस्ने भनेर चिठी पठाइन्। त्यो खबरमा धेरै हर्षित थिए। नभन्दै त्यो रात आयो। बिरालो चालमा म उसको कोठामा पसेँ। संसारको बहुमूल्य उपहारभन्दा ठुलो उसलाई भेट्दा खुसी महसुस भयो।’

    ‘हामी एकै अँगालोमा बेरिएर सुतेका थियौं। मेरी प्रेमिकाकी आमाले मध्यरातमा हामीलाई समात्नुभयो। उहाँ ठुलो स्वरमा कराउँदै ‘छक्का, हिजडा आएछ यहाँ, सबै उठेर आउनुपर्‍यो’ भन्दै कराउनुभयो। सबै आएर मेरो हात बाँधेर झुन्ड्याए। त्यति मात्रै नभएर बोरामा राखेर भर्‍याङबाट गुल्ट्याए। त्यो दिन जस्तो धोवी कुटाई जिन्दगीमा कहिल्यै खाएको छैन।’

    राजले मात्र कुटाई खाएका थिएनन्। परिवारको कुटाई खानेमा उनकी प्रेमिका पनि थिइन्। उनलाई पनि डोरीले बाँधिएको थियो। राजले धेरै कुटाई खाएपछि प्रेमिकाले अनुनय गरेकी थिइन्, ‘उसलाई छोड्नुस्।

    मेरो बिन्ती छ। आजबाट म उसलाई कहिल्यै भेट्दिनँ। आमाबुबा तपाईंहरूलाई मेरो कसम भयो। प्लिज राज तपार्इं पनि यहाँबाट गइहाल्नुस्। हामी एकआपसमा छुटे पनि यो मनमा तपाईंबाहेक अरू कोही हुने छैन।’

    यसरी राज र उनकी प्रेमिकाको बिछोड भयो। यो सम्बन्धलाई राजको परिवारले स्विकारे पनि प्रेमिकाको परिवारमा भने सधैं विरोध थियो। उनी बिछोडकै कारण धेरै वर्ष डिप्रेसनमा गएका थिए।

    ‘हाम्रो बिहे चार पटक भए पनि एकै घरको छतमुनि बस्न सकेनौं। परिवारले उनलाई अन्तै विवाह गराइदिए। त्यसपछि झन् पागल भएँ। मेरो साथमा उनी नभए पनि रक्सी हुन थाल्यो। सधैं उनकै सम्झनामा टोलाउने म अब रक्सीले बौलाहा बन्दै गएँ,’ राजले भने।

    ‘घरपरिवारले जेठो छोराका रूपमा मलाई स्विकार गरेका थिए। मेरो अवस्था देखेर आमा सधैं चिन्ता लिनुहुन्थ्यो,’ राज भन्छन्, ‘अरूले मलाई हेपेर छक्का भनेको सुनेर आमा धेरै रुनुहुन्थ्यो। आमाको आसु देख्न नसकेर शिक्षण पेसामा लागेँ। आफ्नो पढाइलाई पनि निरन्तरता दिएँ। उनको माया त अझै लाग्छ के गर्नु र? उनी दुई बच्चाकी आमा भइसकिन्। मेरै कारणले गर्दा उनका पतिले मेरी उनीलाई धेरै कुटेको खबर पनि सुनेँ। अब उनी खुसी भएको हेर्न चाहन्छु।’

    करिब २० वर्षदेखि शिक्षण पेसामा रमाउँदै गरेका राजले ४०/४५ वटा भन्दा बढी गीत लेखेका छन्। ‘मेरो नसा भनेकै अहिले गीत हो। उनैलाई नै सम्झिएर गीत लेख्छु। उनको सधैं राम्रो होस् भनेर भगवान्सँग प्राथना गर्छु। तर, जिन्दगीभर बिहे गर्दिनँ,’ उनले प्रेमिकालाई सम्झँदै भने।

    चौधरी परिवारका तीन सन्तानमध्ये राजलाई छोराका रूपमा धेरै वर्ष अघिदेखि स्वीकार गर्दै आएका थिए। उनलाई परिवारले मात्र स्विकारेका थिएनन्, समुदायका मानिसले पनि उनलाई राज नै भनेर सम्बोधन गर्छन्।

    यही मे १७ मा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस आयोजना भएको थियो। यो दिवसको आयोजना विश्वव्यापी यौनिक तथा लैंगिक विविधता भएको समुदायप्रति जागरण ल्याउनका निम्ति हो।

    सोही दिनमा मितिनी नेपालले आफ्नो सन्तानलाई स्वीकार गरेकामा राज चौधरीको परिवारलाई सम्मान गरेको हो। यसका साथै समुदायमा लामो समयदेखि सँगै बस्दै आएका एक जोडी चितवनवासी मिलन बास्तोला र निर्मला बास्तोलाको परिवार पनि सम्मानित भयो।

    फरक यौनिकता र लैंगिकताकै कारण समुदायमा भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाइ र कठिन परिस्थितिलाई मितिनी नेपालले साथ र सहयोग गर्दै आएको छ। मितिनीकी अध्यक्ष लक्ष्मी घलानका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आइरहेका चुनौती र असमानतालाई सकारात्मक र प्रगतिशील परिवर्तनतर्फ लैजानुपर्छ।

    मितिनी नेपालका अनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र धेरै संख्या रहेको छ। तर, त्यससहितको जनगणना भएको छैन। १२औं राष्ट्रिय जनगणना २०७८ अनुसार अन्य नागरिकता लिनेसहित यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको संख्या दुई हजार नौ सय २८ जनाको मात्रै उल्लेख गरेको छ।

    उक्त जनगणनामा दुई प्रकारका प्रश्नपत्र राखिएका थिए। महिला, पुरुष र अन्य लिंगी भनेर प्रश्न राखिएको थियो। तर, लेस्बियन, गे आदि सबैलाई तेस्रो लिंगी भनिएकाले यसको तथ्यांक सही मान्दैनन्। एक मुख्य प्रश्नावली र घरपरिवार सूचीकरण थियो। मुख्य प्रश्नावलीमा एसजिबिटिआइक्यु समुदायका मानिसहरू गणना समावेश नभएको मितिनी नेपालले बताएको छ।

    मितिनी नेपालकी कार्यक्रम अधिकृत विमला गुरुङका अनुसार जनगणा गर्ने फारममा अन्य (अदर्स) मात्रै छ। त्यो भनेको लेस्वियन, गे जस्ता विविध यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफू अन्य भनेर मान्दैनन्। यस्तो समस्याले गर्दा यकिन तथ्यांक नआएको उनी बताउँछिन्।

    त्यस्तै २०६८ को जनगणनाअनुसार अन्य नागरिक भनेर एक हजार पाँच सय मात्रै गणना भएका थिए। यी तथ्यांकलाई सही मान्यता नदिएको गुरुङको भनाइ छ। मितिनी नेपालको आन्तरिक म्यापिङअनुसार यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरू करिब आठ सय जना छन्।

    राज प्रतिनिधि पात्र हुन्। उनले जस्तै धेरैले यस्तो पीडादायी अवस्थाबाट गुज्रिनुपरेको छ। राजको जीवनमा देखिएको यो विषम परिस्थिति आफैंमा संवेदनशील छ। उनको अवस्थाले स्वाभाविक रूपमा यस क्षेत्रमा पनि समभाव राख्न प्रेरित गर्छ।

  • एनएसएसएफ र रेडियन्टबीच सहकार्य

    एनएसएसएफ र रेडियन्टबीच सहकार्य

    नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र रेडियन्ट रिडर्स एकेडेमीले विद्यालय खेलकुदको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्।

    ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले शुक्रबार नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) सँग शुक्रबार सम्झौता गरेको हो। रेडियन्टका संस्थापक प्रिन्सिपल डिके ढुंगाना र एनएसएसएफका महासचिवसमेत रहेका अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) का कार्यकारी सदस्य राजकुमार कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे।

    सम्झौतासँगै रेडिअन्टले आइएसएफको स्वीकृतिमा एनएसएसएफको आधिकारिक सदस्यताको मान्यता पाएको छ। सम्झौताअनुसार रेडियन्टले आइएसएफको खेलकुद गतिविधिका साथै शैक्षिक र सांस्कृतिक कार्यक्रमका लागि विश्वव्यापी मञ्च पाउने भएको छ।

    आइएसएफको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रथम पक्ष एनएसएसएफमार्फत सीधै सहभागी हुन पाउने, आइएसएफको अन्तर्राष्ट्रिय मञ्चमा विद्यालयको झन्डा र लोगो प्रयोग गर्न पाउने, आइएसएफ र एसियाली विद्यालय खेलकुद महासंघ (एएसएसएफ) को साधारण सभामा एनएसएसएफको प्रतिनिधिसँगै सहभागी हुन पाउने र विद्यालय खेलकुदको गतिविधि प्रवद्र्धनमा क्रियाशील हुनुपर्ने लगायत विषयवस्तु सम्झौतापत्रमा समावेश छन्।

    सम्झौता तीन वर्षसम्म कायम रहने भएको छ। सम्झौतापछि महासचिव कार्कीले आइएसएफबाट स्वीकृति प्राप्त सदस्यता आबद्धताको प्रमाणपत्र संस्थापक प्रिन्सिपल ढुंगानालाई हस्तान्तरण गरेका थिए।

    महासचिव कार्कीले एनएसएसएफसँग आबद्ध भएको विद्यालय परिवारलाई धन्यवाद दिँदै आबद्धताले खेलकुदका अलावा आइएसएफको विभिन्न सोलिडारिटी परियोजनामा पनि सहभागी हुन पाउने बताए।

    एकेडेमीका संस्थापक प्रिन्सिपल ढुंगानाले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आबद्ध भए पनि खेलकुदको अन्तर्राष्ट्रिय संस्थासँग रेडियन्ट पहिलो पटक आबद्ध भएको जानकारी गराए।