Author:

  • नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ

    नेपालको विकासमा रसियाको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताएका छन्।

    पूर्वशोभियत सङ्घ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रसियाको सधैँ साथ र सहयोग रहँदै आएको बताएका हुन्।

    ‘नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारको क्षेत्रमा रसियाको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,’ उनेले भने। उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रसियाबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

    परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले रसिया र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे। उनले रसियाली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे।

    नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रसिया र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘रसिया र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,’ उनले भने।

    मित्रकुञ्जका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदान साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताए।

    नेपालबाट पूर्वशोभियत सङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरुको साझा संस्थाका रुपमा सन् १९६७ देखि मित्रकुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिए।

    मित्रकुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रसिया र पूर्वशोभियत सङ्घअन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष पाण्डेको भनाइ छ।

    तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिए।

    मित्रकुञ्ज सम्मेलनका हस्पिटालिटी प्रमुख किशोर चापागाईंले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मित्रकुञ्जले काम गर्दै आएको बताए। सो अवसरमा मित्रकुञ्जबाट प्रकाशित स्मारिका समेत विमोचन गरिएको थियो।

  • प्राकृतिक स्रोत सम्पदामाथि स्थानीय सरकारको गिद्दे दृष्टि

    प्राकृतिक स्रोत सम्पदामाथि स्थानीय सरकारको गिद्दे दृष्टि

    प्राकृतिक स्रोत सम्पदाको संरक्षण गरी स्थानीय पर्यावरणलाई सुदृढ बनाउने अभिभारा बोकेका सम्बन्धित निकायहरूले नै चरम दोहन गरिरहँदा आउँदो समयमा ठूलो प्राकृतिक विपत्ति निम्त्याउन सक्ने आशंका गरिएको छ।

    अनधिकृत रूपमा खोलाजन्य वस्तु उत्खनन एवं चुरे क्षेत्रबाट झिकिँदै गरिएका ठूलाठूला बोल्डरका कारण आउँदो समयमा ठूलो प्राकृतिक विपत्ति निम्त्याउन सक्ने आशंका वातावरणविज्ञहरूले गरेका हुन्।

    खोलाजन्य वस्तु पाइनेमा बागमती, चाँदी, धनसर, लालबकैया, हर्दियासहित विभिन्न नदीबाट गिटी, बालुवा, ग्राबेल झिकेर नदीको सतह परिवर्तन गरिने कार्यका साथै नदीमा ठूलाठूला खाल्डाहरू खनेर चरम दोहन गर्दै प्रकृतिसँंग खेलबाड गरिरहेको आरोप रौतहट जिल्लाको स्थानीय सरकार प्रमुखमाथि लागेको छ। प्रकृतिको चरम र विकृत दोहन कार्यलाई जिल्लाको प्रहरी प्रशासनले सघाइरहेको आरोप रहेको छ।

    जिल्लामा अनधिकृत रूपमा वर्षौंदेखि सञ्चालनमा रहेका क्रसर उद्योगहरू नेपाल सरकारको उद्योग मन्त्रालयले निर्धारण गरेको मापदण्डविपरीत कार्य गरिरहँदासमेत तिनीहरूलाई ऐन–कानुनको परिधिभित्र ल्याउन नसक्नु नै संस्थागत रूपमा आर्थिक भ्रष्टाचारले जरो गाडिसकेको गम्भीर आरोप स्थानीयहरूले लगाउने गरेका छन्।

    निकायको डण्डा नचल्नाले क्रसर उद्योगीहरूले उच्च मनोबलका साथ गैरकानुनी कार्य जारी राख्दै राज्यलाई तिर्नुपर्ने करोडौं राजस्व रकमलाई समेत मास्दै आएका छन्।

    स्थानीय सरकारले खोलाजन्य बस्तुको निकासी गर्न–गराउन आह्वान गरिएका बोलपत्रमा प्रायः मिलिभगतमै लगाउने गरिएको, त्यस कार्यमा स्थानीय सरकार प्रमुखको समेत संलग्नता रहने गरेको, अनधिकृत रूपमा खोलामा मेसिन लगाउन इजाजत दिएर स्थानीय सरकार प्रमुखहरू नै चरम आर्थिक भ्रष्टाचारमा डुबेको जस्ता समाचार बारम्बार प्रकाशित भए पनि सम्बन्धित निकाय कुम्भकर्णे निद्रामा सुतिरहेका छन्।

    जिल्ला समन्वय समितिका सभापतिको नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिका पदाधिकारीमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपी, सम्बन्धित स्थानीय सरकार प्रमुख, डिभिजन वन कार्यालय रहने प्रावधान रहेको छ।

    व्यापक आलोचना भएपछि जिल्ला समन्वय समिति रौतहटले बिहीबार जिल्ला अनुगमन समितिको बैंठक गत ६ महिनामा पहिलोपटक बस्यो।

    जिल्लाका ६ स्थानीय सरकार प्रमुखलाई अनिवार्य उपस्थितिका लागि बोलाइएको भए पनि बैठकमा चन्द्रपुर र गढिमाई नगरपालिका नगर प्रमुख मात्र उपस्थित भए। वृन्दावन, गुजरा, फतुवा विजयपुर र कटहरिया नगरपालिकाले अनुगमन समितिलाई टेर्दै टेरेनन्।

    बैठकमा नदीको अवैध दोहनको विषयमा गम्भीर रूपमा छलफल हुनुका साथै सञ्चारमाध्यममा भइरहेको आलोचनाबारेमा पनि गम्भीर विश्लेषण भएको बुझिएको छ। व्यापक र अवैध दोहनका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ।

    अनुगमन समितिले पाँचवटा निर्णय गर्दै अनुगमन गर्ने भएको छ। नियमित रूपमा अगुगमन गर्ने, अनधिकृत रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगलाई बन्द गराउने प्रक्रियामा जाने, कर छल्दै आएका क्रसर उद्योगलाई करको दायरामा ल्याउने, मापदण्डविपरीत मेसिन प्रयोग गर्नेमाथि पुनर्विचार गर्ने, अनुगमन एवं कारबाहीका हकमा स्थानीय सरकारलाई बढी सक्रिय बनाउने निर्णय गरिएको स्रोतले दाबी गरेको छ।

    बागमती नदीलाई रौतहट र सर्लाही दुवैतिर उत्तिकै अवैध दोहन गरिएको छ। रौतहट र सर्लाही दुवैतिर अवैध दोहन दुवैतिरका स्थानीय सरकार र प्रहरी प्रशासनको मिलेमतोमा हुँदै आएको गुनासो रहेको छ। लगातार अवैध रूपमा दोहन भइरहँदा यस वर्षको बर्खामा बाढीले नोक्सान पु¥याउने अनुमान धेरैले गरेका छन्।

    बागमती नदीबाट खोलाजन्य वस्तु निकाल्न स्थानीय तहले लगाएको ठेक्का बन्दोबस्त गरेर दर्जनौं स्थानमा ठूलाठूला मेसिन प्रयोग गरी बागमती नदीमा खाल्डाखुल्डी बनाउँदै भौतिक संरचनामा प्रतिकूल असर पर्ने गरी भइरहेका दोहन कार्यबाट तलतिरका दर्जनौं बस्तीहरू बाढीको समयमा सम्भावित जोखिम बढ्दै गएको छ।

    रौतहटको चन्द्रपुर, वृन्दावन, गढीमाई, गुजरा, कटहरिया, फतुवा विजयपुर सर्लाहीका वरहथवा, बसवरिया, धनकौललगायतका स्थानीय तहका क्षेत्रमा रहेका बागमती, लालबकैया, धनसरलगायतका विभिन्न नदीको दर्जनौं स्थानमा ठेकेदारहरू ठूलाठूला एक्जाभेटर मेसिन र मोबाइल क्रसर प्रयोग गराएर धमाधम उत्खनन कार्य जारी राखेका छन्।

    उत्खननको गैरकानुनी कार्य गर्नमा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकारको साँठगाँठकै कारण कुनै कारबाही हुन नसकेको स्थानीय बासिन्दाले आरोप लगाउने गरेका छन्।

    गढिमाई नगरपालिकाले बोलपत्र आह्वान गरे पनि आन्तरिक मिलेमतोमा समनपुरदेखि उत्तर–दक्षिणसम्ममा चार–पाँच स्थानमा करिब एक दर्जन एक्जाभेटर मेसिनबाट बागमती नदी उत्खनन गरिरहेको छ।

    दैनिक रूपमा खोलाजन्य वस्तुहरूको उत्खनन एवं दोहन कार्य गराएवापत स्थानीय नेपाल प्रहरी तथा सशस्त्र प्रहरी युनिटहरूको साँठगाँठ गरी महिनाको लाखौं रुपैयाँ उठाउने गरेका छन्। युनिटहरू कमाउने धन्दामा लागिरहँदा जिल्लाका प्रशासनिक निकायका साथै प्रमुख निकायहरू बेखबर रहेको बताइएको छ।

    नदी उत्खनन गर्न आवश्यक सम्पूर्ण मापदण्ड र नीतिनियम उल्लंघन गर्दै आए पनि गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव मौन रहँदा नदी दोहन कार्यले तीव्रता पाएको आरोप स्थानीयको रहेको छ।

    जनप्रतिनिधिको मिलिभगतका कारण करोडौंमा लाग्ने ठेक्का अहिले कौडीको भाउमा लागेर आन्तरिक आम्दानीमाथि गढीमाई नगरपालिकाको गिद्दे दृष्टि परेको हुँदा यस्तो अवस्था आएको यतिखेर गम्भीर आरोप लागेका छन् स्थानीय सरकारमाथि।

    बागमती नदीमा बालुवा, गिटी, ग्राबेल, ढुंगा उत्खनन, प्रशोधन, भण्डारण तथा ओसारपसार गर्ने क्रसर माफियाको एकछत्र राज हुँदा पनि मोटो रकम लिएर स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन तैं चुप मै चुप बनेर बसेका कारण अराजकता बढेको छ।

  • संसद बैठक अझै सुरु हुन सकेन, सभामुख र दलहरू छुट्टाछुट्टै छलफलमा

    संसद बैठक अझै सुरु हुन सकेन, सभामुख र दलहरू छुट्टाछुट्टै छलफलमा

    आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन। संसद सचिवालयले बिहान ११ बजेका लागि बैठक बस्ने समय तोकेको थियो। तर, बैठक सुचारु हुन समय लाग्ने भएको छ।

    संसद सहज रुपमा सुचारु गर्ने विषयमा सत्ता पक्ष र विपक्षका दलहरूबीच सहमति हुन नसक्दा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरू छलफल सुरु गरेका छन्।

    सभामुखसँगको छलफलपछि कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने तयारी रहेको छ।

    यता, प्रमुख प्रतिपक्षी नेपाली कांगे्रसले आफ्नो मागलाई यथावत राख्ने बताएको छ। संसदीय दलको बैठक लगतै कांग्रेस र अन्य विपक्षी दलहरू अहिले आन्तरिक छलफलमा छन्। संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल भइरहेको बुझिएको छ।

  • लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगियो

    लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगियो

    लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति सगरमाथा आधार शिविर लगिएको छ। बुद्धको जन्मस्थल लुम्बिनी र विश्वकै सर्वोच्च शिखर सगरमाथालाई एकैसाथ पहिचान गराई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले लुम्बिनीको अखण्ड शान्ति दीपको ज्योति बिहिबार सगरमाथा आधार शिविर लगिएको हो।

    नेपाली ओलम्पियन, एथलेटिक्स बक्सिङका राष्ट्रिय खेलाडीहरुको टोलीले शान्ति दिपको ज्योति सगरमाथा प्रस्थान गरेको जनाएको छ।

    ओलम्पियन बैकुण्ड मानन्धरको नेतृत्वमा एथलेटिक्सका राष्ट्रिय खेलाडी अर्जुन घिमिरे,सुरेन्द्र महर्जन,ट्रेल रनर बाबुराजा घिमिरे,बक्सिङका दिपक तामाङ,साउथ एशियन म्याराथन धवक राधा श्रेष्ठ सहितको ६ सदस्यीय टोलीले शान्ति दीपबाट लिएको पिस फ्लेम बोकेर मायादेवी मन्दिर,पुष्करणी पोखरी र अशोक स्तम्भ परिक्रमा गरी निग्रोधाराम र तिलौराकोट पुगेर त्यहाँको परिक्रमा गरी प्रस्थान गरेका हुन्।

    टोली सो ज्योति लिएर जेठ १४ (मे २७)मा सगरमाथा आधार शिविर पुग्ने कार्यक्रमका आयोजक बिक्रम पाँडेले बताए।

    पिस फ्लेमले जेठ १४ मा सगरमाथाको आधार शिविर परिक्रमा गराएपछि विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजित तेन्जिङ हिलारी एभरेष्ट म्याराथन शुभारम्भ गरिने म्याराथनका परिकल्पनाकार पाँडेले बताए।

    ओलपिक स्तरको म्याराथनका लागि ३३ मुलुकका १८० विदेशी सहित २ सय ५० जना धावकले भाग लिने उनले बताए।

    पाँडेले सद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अखण्ड शान्ति दीपबाट शान्ति ज्वाला प्रज्वलन गरी हरेक बर्ष सगरमाथाको लागि शान्ति टर्च मार्च निकाल्दै आएको जानकारी दिए।

  • १ लाख ४० हजार रुपैयाँ पुगेको सुनको मूल्य ७ सयले घट्यो

    १ लाख ४० हजार रुपैयाँ पुगेको सुनको मूल्य ७ सयले घट्यो

    अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ४० हजार रुपैयाँ पुगेको सुनको मूल्य आज घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ३९ हजार ३ सय रुपैयाँमा झरेको हो।

    यस्तै,आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

    यस्तै,चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र घट्दै १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो।

  • कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु

    कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु

    नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक केहीबेर अघि सुरु भएको हो।

    कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेमकिपा, जनमोर्चा लगायत दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

    प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्ने भएिपनि अझै सुरु हुन सकेको छैन।

  • पक्की भवनमा रमाउँदै विद्यार्थी

    पक्की भवनमा रमाउँदै विद्यार्थी

    विगत लामो समयदेखि भवन अभावमा रहेको कालीकोटको शुभकालीका गाउँपालिका–३ सञ्ज्यालबाडास्थित महादेव आधारभूत विद्यालयमा पक्की भवन बनेपछि विद्यार्थी खुसी भएका छन्।

    पुरानो जस्ता पाताले छाएको भवनमा अटि नअटि बस्दै आएकी कक्षा ८ की छात्रा सिर्जना धिताल अहिले पक्की भवनमा बसेर पढ्न पाउँदा फुरुंग छिन्। ‘जिर्ण भवनमा बसेर पढ्नु पर्दा डरैडरले पढाएको पनि बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो,’ उनले भनिन्, वर्खामा कक्षाकोठाभित्र पानी चुहिँदा पढाइ नै प्रभावित हुने गरेको थियो। अहिले ५ कोठे पक्की भवन निर्माण भएको छ।’ पक्की भवन निर्माणपछि विद्यार्थी खुसी छन्।

    ‘नयाँ भवन पाएसँगै हामी उत्साहित छौं, अब पढाइ प्रभावित हुँदैन,’ विद्यालयका प्रधानाध्यापक तुलाराम धितालले भने, ‘अब पढाइको स्तर पनि केही परिवर्तन हुनेछ र बर्खा तथा हिउँदमा कुनै समस्या झेल्नुपर्दैन,जिर्ण भवनमा विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्दा विद्यार्थीको ध्यान पढाइमा भन्दा अन्यन्त्र जाने गर्दथ्यो्। निर्माण भएको भवनले विद्यार्थीको पढाइमा सुधार हुने अपेक्षा गरिएको छु।’

    नयाँ भवनमा पढ्न पाएपछि र्सिजना मात्र होइन, कक्षा ७ मा पढ्दै आएकी सितला धिताल पनि कम्ती खुसी छैनन्। जिर्ण टहरामा कष्टका साथ पढ्दै आइरहेका उनीहरु पक्की भवन,शौचालयको सुविधासहितको सेवा पाएपछि पढाइमा सुधार हुने देखिन्छ।

    अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित सञ्चालन गर्ने हो भने सुनमा सुगन्ध थनिने स्थानीयको भनाइ छ। निर्माण गरिएको विद्यालय भूकम्पप्रतिरोधी छ,भने छात्रछात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ।

    विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ। ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयको संरचना निर्माण गरिएको छ। विद्यालय भवन निर्माणपछि पढाउन पनि सहज भएको शिक्षिका उर्मीला आचार्य धिताल बताउन्छिन्।

    ‘धेरै वर्षसम्म कष्टका साथ टहरामा पढायौं,’ उनले भनिन्, ‘अहिले ५ कोठे भवन निर्माण भएको छ, अब सहज हुनेछ।’ विद्यालयमा कम्प्युटर प्रयोगशालाको समेत निर्माण गरिएको छ। १ करोड छाया नेपाल सहयोग र २० लाख गाउँपालिकाको साजेदारी १ करोड २० लाखमा विद्यालयको भवन तयार गरीएको हो।

    छाया नेपालको आर्थिक सहयोग तथा स्थानीय तहको समन्वयमा विद्यालय भवन निर्माण गरेको हो। शौचालयसहित ५ कोठे भवन तयार भएको छाया नेपाल कर्णाली प्रदेशका टिम लिडर मिन बहादुर रावतले बताए।

    कालीकोटका स्थानीय तहमा संस्थाले काम गरिरहेका छन्। तर, समयमै भवन निर्माण हुन नसक्दा हजारौं बालबालिका चिसो भुई र खुला आकाशमा पढ्न बाध्य छन्। निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, उपभोक्ताको कमीजस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भइरहेको सरोकारवाला बताउँछन्।

    छाया नेपालले निर्माण गरेको ५ कोठे पक्की भवन बुझ्दै शुभकाली गाउँपालिका अध्यक्ष गोविन्द्र प्रसाद आचार्यले पालिकाकै नमुना भवन सञ्ज्यालबाडामा निर्माण भएको बताए।

    उनले भने,‘पालिकाको हकमा धेरै राम्रो भवन तयार भएको छ, विद्यालयको भवन तयार गर्ने छाया नेपाल लगाएत सम्पुर्ण सहयोगी दातालाई धन्यवाद छ। उनले थपे विद्यालयमा धेरै कुराको अभाव कायमै छ।’ घेरबार, खानेपानीलगाएतका संरचना निर्माणको लागि पालिका सरकारले सहयोग गर्ने बताए।

    छाया नेपालले कर्णालीका मुगु, कालीकोट, जाजरकोटमा बाहिरिदाताहरुको समन्वयमा भवन, सडक,खानेपानी लगाएतका क्षेत्रमा कामगदै आएको छ।

  • आफ्नो मागलाई यथावत राख्ने कांग्रेसको निर्णय

    आफ्नो मागलाई यथावत राख्ने कांग्रेसको निर्णय

    नेपाली कांग्रेसले आफ्नो मागलाई यथावत राख्ने भएको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी छानबिनमा संसदीय समिति गठन हुनुपर्ने मागलाई यथावत राख्दै आजको बैठक पनि अवरोध गर्ने निर्णय गरेको छ।

    साथै बैठकले सभामुख देवराज घिमिरेले संसद बैठक सञ्चालन गर्दा तटस्थता नदेखाएको ठहर गर्दै तटस्थता र निष्पक्षता पूर्वक बैठक सञ्चालन गर्न सभामुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ।

  • विद्युत् निर्यातसँगै आन्तरिक खपतका लागि योजना बनाउँदै सरकार

    विद्युत् निर्यातसँगै आन्तरिक खपतका लागि योजना बनाउँदै सरकार

    प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्।

    स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धी हुने विश्वास व्यक्त गरे।

    ‘छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ। त्यसैगरी भारतको प्रसारण लाइन हुँदै बङ्गलादेशसँग विद्युत व्यापार गरिनेछ’, प्रधानमन्त्री दाहालले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ। यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धितर्फको यात्रा, सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो।’

    बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोसेढुङ्गा सावित हुनेमा आफू विश्वस्त रहेको बताउँदै प्रधानमन्त्री दाहालले छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बङ्गलादेशले समेत नेपालको बिजुली लैजाने गरी शीघ्र सम्झौता हुने विश्वास व्यक्त गरे।

    विद्युत निर्यात मात्र होइन स्वदेशभित्रै विद्युत खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थको आयात घटाउँने तथा विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना रहेको बताए।

    प्रधानमन्त्री दाहालले कुनै बेला दैनिक १६ घण्टाको चरम विद्युत् भार कटौतीको अवस्थामा रहेको मुलुक वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको स्मरण गर्दै यो अवस्था सिर्जना गर्नमा निजी क्षेत्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे।

    आन्तरिक खपत तथा निर्यातका लागि ऊर्जा उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा इप्पानको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। उनले विद्युत् उत्पादनका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए। रासस

  • विपक्षी दलका नेताहरूसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

    विपक्षी दलका नेताहरूसँग छलफल गर्दै कांग्रेस सभापति देउवा

    नेपाली कांग्रेसले विपक्षी दलहरूको संयुक्त बैठक आह्वान गरेको छ। कांग्रेस संसदीय दलको बैठक लगतै विपक्षी दलहरूको बैठक बस्ने बताइएको छ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेमकिपा, जनमोर्चा लगायत दलका नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

    प्रतिनिधि सभाको बैठक अहिले ११ बजे बस्दै छ।