Category: News

  • अझै त्रिपालमै भूकम्प पीडित

    अझै त्रिपालमै भूकम्प पीडित

    बारेकोट गाउँपालिका ७ सियालाकी मनीषा चलाउने विवाह गरेदेखि नै जाजरकोटको भेरी नगरपालिका १ को रिम्ना दोभानमा होटल व्यवसाय गर्थिन्। व्यवसाय राम्रै चलिरहेको थियो। श्रीमान्को साथ नपाउँदा पनि पाँच छोरीको लालनपालनमा कुनै समस्या थिएन।

    मंसिर १७ गते राति आएको भूकम्पपछि भने मनीषाको जीवन कष्टकर बन्दै गयो। भाडामा लिएर होटल व्यवसाय गरिरहेको घर भूकम्पले भत्कायो। मनीषा र पाँच छोरीहरुको बास एकैपटक घरबाट त्रिपालको छानामा सर्‍यो।

    सरकारले भूकम्पपीडितका लागि तत्कालका लागि दिएको त्रिपाल र केही खाद्यान्न उनको परिवारले पनि पायो। जब अस्थायी आवास बनाउने कुरा आयो, उनको स्थायी ठेगाना सोधियो।

    विवाह गरेदेखि श्रीमान्को घर नगएकी उनले अस्थायी आवास निर्माणका लागि सरकारले दिने घोषणा गरेको पहिलो किस्ताबापतको २५ हजार रुपैयाँ पाइनन्। मनीषाको परिवार अहिले पनि रिम्ना दोभानको किनारमै त्रिपालमुनि छ।

    ‘२२ वर्षदेखि यही ठाउँमा छौं। विवाह भएदेखि श्रीमान्को घर देखेकी छैन’, मनीषाले भनिन्, ‘राहत दिने बेलामा सरकार हामीलाई तिमीहरुको ठेगाना यहाँ होइन भन्दै विभेद गरिरहेको छ।’ भूकम्पलगत्तै एक महिनासम्म दाताहरु उनको त्रिपालमा राहत लिएर पुग्थे। समय बित्दै गएपछि दाताहरु पनि आउन छाडे।

    हातमुख जोर्नकै समस्या हुन थालेपछि जेठी छोरी पवित्रा कामको खोजीमा काठमाडौं पुगिन्। ‘छोरी होटलमा काम गर्छे। उसैले पठाइदिएको खर्चले बिहान–बेलुकाको छाक टार्छौं’, मनीषाले भनिन्, ‘त्रिपाल पनि च्यातिएको छ। बर्खा लागिसक्यो। कसरी दैनिकी कटाउने हो, चिन्ता लाग्न थालेको छ।’

    रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ४ राम्रीका मुगे ओलीको परिवार भेरी नगरपालिकाको रिम्नामा बस्न थालेको वर्षौं भयो। उनको रिम्नामा खाना पसल थियो। मुगेका छोरा पूर्ण ओलीको कम्प्युटर पसल थियो। भूकम्पका कारण मुगेले छोरा पूर्णलाई गुमाए। ‘दुई–दुईवटा पसल थिए। महिनामा एक लाखजतिको कारोबार हुन्थ्यो, होटल र कम्प्युटर पसलबाट कमाएको पैसाले खेत किनेका थियौं’, उनले भने, ‘भूकम्पले सहारा गुमायौं, आम्दानीको स्रोत पनि गुमायौं।’

    उनको परिवार पनि अहिले त्रिपालमुनि छ। भूकम्पलगत्तै संघीय सरकार र प्रदेश सरकारले नगद सहयोग पनि गरेको थियो। उक्त नगद पूर्णकी श्रीमतीले बुझेकी थिइन्। छोरा बितेपछि उनी माइती गइन्। फर्केर आइनन्।

    ‘एक वर्षकी नातिनीलाई लिएर बुहारी माइत गइन्, अहिले न सन्तान रह्यो, न सम्पत्ति नै’, उनले भने, ‘सरकारले पनि बुहारीले पैसा लगिसकेकाले हामी बुढाबुढीलाई राहत दिन्नौं भनिरहेको छ।’

    स्थानीयका अनुसार मुगेको परिवार सगोलमा बस्थ्यो। संघीय सरकार र प्रदेश सरकारले दिएको नगद रकम बुहारी मायाको खातामा जम्मा भएको थियो। प्रदेश सरकारले बिमावापत दुई लाख दिएको थियो। संघीय सरकारले पनि त्यत्तिकै मात्रामा राहत दिएको ओलीले बताए। ‘अहिले स्थानीय तहसँग अस्थायी आवास निर्माणका लागि रकम माग्न जाँदा मिल्दैन भन्छन्’, उनले भने, ‘हामी बुढाबुढीलाई हेरिदिने कोही भएनन्।’

    मनीषा र मुगेले पाल हालेर बसेको पार्कभित्रै छ देवी पुनको ओत लाग्ने ठाउँ पनि। जाजरकोटको नलगाड नगरपालिका– १ पाली स्थायी घर भएकी उनी पनि विवाह भएदेखि रिम्नामै बस्दै आएकी छन्। होटल व्यवसाय गरेर जीवन गुजारा चलाउने उनको भूकम्पपछि त्रिपालमुनि बास छ।

    देवीका साथमा श्रीमान् छैनन्। होटल व्यवसाय गर्दाको ऋण तिर्न नसकेर बेपत्ता भएका उनी अर्को विवाह गरेर भारत पसेका छन्। ‘श्रीमान्को घर देखेकै छैन, विवाह भएदेखि यहीँ आएर बसेका हौं’, उनले भनिन्, ‘अहिले सरकारले तेरो घर यहाँ होइन, राहत दिँदैनौं भन्न मिल्छ ?’

    सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन स्थानीय तहमार्फत बजेट वितरण ग¥यो। पहिलो किस्तावापत रकम पाएका केहीले अस्थायी आवास पनि बनाए। एउटा पालिकाबाट अर्को पालिकामा आएर बसेका मनीषा, मुगे र देवीजस्ताले सरकारले दिने पहिलो किस्ताको पनि रकम पाएनन्। केही भूकम्पपीडित अस्थायी आवासमा सरिसक्दा उनीहरु त्रिपालमुनिनै छन्।

    भेरी नगरपालिकाका उपमेयर सीता जैसीले भूकम्प पीडितका लागि आएको पहिलो किस्तावापतको रकममा कसैलाई विभेद नगरिएको बताइन्। उनले स्थानीय वडामा बनेको समितिको सिफारिसका आधारमा पालिकाबाट अस्थायी आवास बनाउनका लागि रकम दिइएको बताइन्। उनले अस्थायी आवास निर्माणका लागि कसैलाई पनि पालिकाले विभेद नगरेको बताइन्।

    जाजरकोटका प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले स्थानीय तहबाट आएका नामका आधारमा पहिलो किस्ताको रकम स्थानीय तहलाई वितरण गरिएको बताए।

    उनले अस्थायी आवास निर्माणका लागि रकम नपाएको भन्दै कोही पनि प्रशासनसम्म नआएको बताए। ‘अस्थायी आवास निर्माणमा विभेद नगर्ने नीति सरकारकोे छ। कसैले नपाएको खण्डमा सीधै प्रशासनमा सम्पर्क राख्नुहोला’, उनले भने, ‘स्थानीय तहलाई पनि यो विषयमा जानकारी गराउँछौं।’

  • मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय

    मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने सरकारको निर्णय

    सरकारले मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने भएको छ।

    शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन्।

    जेठ ३ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पती सार्वजनिक गर्ने निर्णय भएको हो।

    त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। श्रमजीवि पत्रकारहरुको न्युनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ। उनी यसअघि पनि सो पदमा थिइन्।

    मन्त्री शर्माले स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ।

  • गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन समिति चाहिएको होः सांसद महत

    गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन समिति चाहिएको होः सांसद महत

    नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानबिन समिति बनाउनुपर्ने बताएका छन्।

    शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताए।

    उनले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उनलाई छानबिनको परिधिभित्र ल्याउनुपर्ने बताए। उनले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानबिनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानविन समितिको माग गरिएको बताए।

    सत्ता र शक्तिमा हुनेहरु छानबिनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानबिनमा आउनेगरी समिति बन्नु नहुने उनको भनाई छ।

  • कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह: माग के हो लेटरहेडमा लिखितरूपमा ल्याउनुस्

    कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह: माग के हो लेटरहेडमा लिखितरूपमा ल्याउनुस्

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखितरूपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्।

    शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरु पिच्छे फरक धारणा आएकाले पार्टीको आधिकारिक धारणा ल्याउन भनेका हुन् ।

    उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए।

    उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे। सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानविन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्ने बताए।

  • कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

    शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

    सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए।

  • सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई

    सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई

    सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिईएको छ।

    यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो।

    नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपती थिए।

  • चुलीको पानी मान्ममा

    चुलीको पानी मान्ममा

    चुलिमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्म झारिएको छ। २०७८ सालबाट निर्माण सुरु गरिएको आयोजनाको पानी शुक्रबार सदरमुकामको ट्याङ्कीमा खसालिएको हो।

    खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोडमा टेन्डर गरेको थियो, तर कम्पनीले भने घटेर १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण कार्य सुरु गरेको थियो। आयोजनाको मुख्य पाइपलाइनको लम्बाइ साढे १० किलोमिटरभन्दा बढी रहेको निर्माण कम्पनी पराजुली कन्ट्रक्सन प्रालिका साइट सुपरभाइजर मानबहादुर थापाले बताए।

    खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारवासी खुसी देखिएका छन्। खानेपानी सदरमुकाममा पुगे पनि घरघरमा खानेपानी पुर्‍याउन अझै केही समय लाग्ने थापाको भनाइ छ।

    चुली खानेपानी आयोजना निर्माणका लागि तत्कालीन नगर प्रमुख जसीप्रसाद पाण्डेको विशेष पहलमा खानेपानी आयोजनाको काम सुरु गरिएको थियो। खानेपानीका साथै ढल व्यवास्थापनका लागि पहल गरेका पाण्डे मान्मका जनताका लागि खानेपानी भने पुर्‍याउन सफल भएका छन्।

    उनी भन्छन्, ‘खानेपानीका लागि सुख्खा रहेको वडा नम्बर १ देखि ४ सम्मका जनताका घरघरमा धारा निर्माण गरी खानेपानी पहुँच पु¥याउन आफू नगर प्रमुख भएको समयमा पटकपटक लागिपरेको र असम्भवका बिच मान्म पानी पुर्‍याउन सकिएको हो।’ पानीसँगै ढलका लागि पनि व्यवस्थापन गरिएको उनको भनाइ छ।

    जनतामाझ धेरै लोकप्रिय रहेका पाण्डेले २०७४ देखि ७९ सम्म खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रमा धेरै विकास गरिएको स्थानीय रवीन्द्र विश्वर्माले बताए। चुलिमालिका बृहत् आयोजनाले वडा नम्बर १ देखि ४ सम्मका १३ सय घरमा एक घर एक घाराको लक्ष्य राखेको छ।

    सदरमुकाम मान्ममा १ लाख २५ हजार लिटरका २ वटा, ५० हजार लिटरका २ वटा, ४० हजार लिटरको १ वटा र २५ हजार लिटरको १ वटा गरी जम्मा ६ वटा ट्याङ्की रहेका छन्। बजारदेखि गाउँसम्मको लाइन पनि व्यवस्थापन गरिएको छ।

    जहिले खानेपानी अभाव रहने मान्ममा चुलिमालिका बृहत् खानेपानी आयोजना नियमित रुपमा सुरु भएका कालिकोटका नागरिकलाइ धेरै राहत हुने विश्वास छ।

  • कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

    कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

    कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मन्त्री र २ राज्यमन्त्री थप गरेर आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्।

    मन्त्रिपरिषद् बिस्तार भएसँगै कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ। मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

    सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए।

  • शुल्क मापदण्ड कार्यान्वयन गर्न उपमहानगरको एकहप्ते समयसीमा

    शुल्क मापदण्ड कार्यान्वयन गर्न उपमहानगरको एकहप्ते समयसीमा

    इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड निजी विद्यालयले अटेर गर्दै आएका बेला सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही गर्ने भएको छ।

    इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने २७बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षका रुपमा लिएर अयिभान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुईतिहाइ अभिभावक भेला राखेर शुल्क प्रस्ताव गर्न सकुर्लर गरिएको थियो। निजी विद्यालयले वैशाख ७ विद्यालयलाई आन्तरिक रुपमा पत्रचार गर्दै इटहरी उपमहानगरपालिकाको सकुर्लर अटेर गर्ने निर्णय गरेका थिए।

    निजी विद्यालयको छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसियसन इटहरीद्वारा विद्यालयमा गरिएको सकुर्लरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख गरेका थिए।

    उपमहानगरपालिकाले विद्यार्थी भर्ना, मासिक पढाइ, परीक्षालगायतको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न सातदिने समयसीमा तोकेको छ।

    शैक्षिक सत्र २०८१ का लागि नयाँ निर्धारण गरिएको मासिक शुल्कअनुसार पूर्व प्राथमिक तह (नर्सरी) को अधिकतम शुल्क तीनवटा श्रेणीमा विभाजन गरी तोकिएको छ, जसमा पहिलो श्रेणीका विद्यालयले दुई हजार पाँच सय, दोस्रो श्रेणीकाले एक हजार ८ सय ५० र तेस्रो श्रेणीकाले एक हजार २ सय ५० मासिक तोकिएको छ।

    यस्तै कक्षा १० को अधिकतम मासिक शुल्क पहिलो श्रेणीका विद्यालयले पाँच हजार, दोस्रो श्रेणीकाले तीन हजार ७ सय ५० र तेस्रो श्रेणीकाले एक हजार २ सय ५० रुपैयाँ तोकिएको छ।

    उपमहानगरपालिकाद्वारा निर्धारण गरिएको शुल्कअनुसार मासिक पढाइ शुल्क एक वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क शिक्षक(कर्मचारीको तलब भत्तालाई आधार मानेर तय गरिएको सार्वजनिक परिपत्रमा उल्लेख छ। यस्तै, वार्षिक शुल्क दुई महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाउने उल्लेख गरिएको छ।

    यस्तै भर्ना शुल्क भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो, सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने गरी तोकिएको छ। धरौटी शुल्कमा विद्यालय अवधिभर विद्यार्थीले तिर्नुपर्ने कुनै बक्यौता हुन गएमा त्यसको सुरक्षणबापत लिन पाउने र जुन रकम फिर्ता गर्नुपर्ने गरी तोकिएको छ। धरौटी शुल्क भने यकिन तोकिएको छैन।

    यस्तै, परीक्षा शुल्क एक महिनाको पढाइ शुल्कको ५० प्रतिशत मात्र वार्षिक वा किस्तामा लिन पाउने गरी तोकिएको छ। स्थानान्तरण शुल्क कक्षा ५ सम्म पाँच सय र माध्यमिक तहको एक हजार मात्र लिने पाउने तोकिएको छ।

    विशेष प्रशिक्षण, आवास, यातायात र भोजन शुल्क भने सुविधा उपयोग गर्ने विद्यार्थीका अभिभावकहरुको दुईतिहाई भेलाबाट पारित भएअनुसार गर्नुपर्ने गरी तोकिएको छ। यस्तै, शैक्षिक सामग्री शुल्क मासिक शुल्कको १० प्रतिशत मात्र लिन पाइने गरी तोकिएको छ।

    यसैबीच सम्पूर्ण शिक्षक र कर्मचारीको नियुक्तिपत्र, अध्यापन अनुमति पत्र र शैक्षिक योग्यताको प्रतिलिपि विवरण पनि तत्काल बुझाउन निजी विद्यालयलाई सकुर्लर गरिएको छ। यसअघि पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई सकुर्लर गरे पनि अधिकतरले नबुझाएपछि १५दिने समयसीमा तोकी सकुर्लर गरेको हो।

    सकुर्लरमा तहगत शिक्षकलाई आर्थिक वर्ष २०८०(०८१ मा भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनुपर्ने छ। विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ति पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्ने छ।

    उपमहानगरपालिकाको नगर शिक्षा समितिको फागुन १५ गतेको निर्णयअनुसार एकै प्रकारको पोसाक कार्यान्वयन गर्न पनि सकुर्लर गरिएको छ। उपमहानगरपालिकाले एकै प्रकारको पोसाक इटहरीभरि लागू गर्ने पनि निर्णय गरेको थियो।

    सो निर्णयसमेत इटहरीका निजी विद्यालयले लागु नगर्न सकुर्लर गरेका थिए। इटहरी उपमहानगरपालिकको एकै प्रकारको डे«स लागु गर्ने निर्णयविरुद्ध निजी विद्यालयको छाता संगठन प्याब्सन इटहरीले उच्च अदालत विराटनगरमा रिटसमेत दायर गरेको थियो। सो रिटमा आन्तरिम आदेश नहुने आदेश भएको थियो।

    इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जनप्रतिनिधि तथा कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने, कुनै पनि विद्यालयले पाठ्यपुस्तक तथा पाठ्यसामग्री आफैंले बेच्न नपाउने पनि निर्णय गरेको छ।

    इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन्, जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरु निजी रहेका छन्।

  • प्रहरीले संसद् भवनबाहिर फुटपाथमा हिँड्न रोक्याे

    प्रहरीले संसद् भवनबाहिर फुटपाथमा हिँड्न रोक्याे

    प्रहरीले नयाँ बानेश्वरमा रहेको संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ।

    शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा गरिएको जानकारी दिए। त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको उनको भनाइ छ।

    फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरूले सडकबाटै हिँड्नुपर्ने भएको छ।