
Blog
-

सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु
सल्यान । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बिहीबार बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेका थिए।
कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो । उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। -
कर्णाली प्रदेशसभाबाट दलित विधेयक पास

कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशनको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो ।
प्रदेशसभाबाट पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ । तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।
दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानवअधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो ।
कर्णाली प्रदेशमा बसोबास गर्ने दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न कानुनी व्यवस्था गर्न दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्द्धन गर्न विधेयक ल्याइएको प्रदेश सरकारले जनाएको छ ।













