
Blog
-

‘कर्णालीमा नेता नभएको अनुभुति भयो’

सुर्खेत । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका सांसद, एमाले पोलिटव्यूरो सदस्य तथा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सडक हेर्दा यहाँ नेता नभएको टिप्पणी गरेका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालिकोट हुँदै स्थलमार्गबाट (कर्णाली राजमार्ग) जुम्ला पुगेका हुन् । उनले भने, सडक हेर्दा यहाँ विकास प्रेमी नेता नभएको अनुभुति भएको छ ।
यो के सडक हो । विकासको मेरुदण्ड भनेकै सडक हो । यही सडक राम्रो नभएपछि यहाँको नागरिकको कसरी समृद्धि हुन्छ । सडक सञ्चालनमा आएको दशकौँ हुदा पनि सुधार स्तरबृद्धि नहुनु दुखद पक्ष हो । यहाँको नेताको कार्यसम्पादन चित्तबुझ्दो नभएको उनले बताए । उनले भने, भ्रमण गर्न हवाईबाट आउदा पनि हुन्थ्यो । तर माथिल्लो कर्णालीका नागरिकको जनजीवन र यहाँको अवस्था बुझ्नकै लागि भएपनि स्थलमार्ग भएर आएको हुँ ।
नेपालकै विशाल पर्यटकिय क्षेत्र मुगुको राराताल पुगेर फर्किने योजना रहेको पुर्व सञ्चारमन्त्री बास्कोटाले बताए । उनले भने, कर्णालीमा समृद्धिको थुप्रै सम्भावनाहरु देखिए । तर काम हुन नसकेको स्थलगत भ्रमणका क्रममा अनुभुति भयो । यहाँका नेताहरुले सक्रियरुपमा काम गर्न सक्नुपर्दछ ।
-

पत्रकारको सुरक्षा ग्यारेन्टी नभएसम्म महासङ्घ चुप लागेर बस्दैन : अध्यक्ष शर्मा
सुर्खेत || नेपाल पत्रकार महासङ्घ सुर्खेतका अध्यक्ष सुशीलराज शर्माले राजतन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई न्याय दिलाउन महासङ्घले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

पत्रकारहरुको सुरक्षाका लागि थप आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष शर्माले स्वतन्त्र प्रेसमाथि भइरहेको आक्रमण रोक्न केन्द्रको सर्कुलर अनुसार एक सातासम्म दबाबमूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । आज सुर्खेतस्थित प्रेससँग सम्बद्ध सङ्घ÷सङ्गठनहरूसँग महासङ्घले भावी कार्यदिशाका बारेमा छलफल गरेको हो । सरोकारवाला संगको छलफलमा प्रेससँग सम्बद्ध विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले पत्रकार सुरक्षाका चुनौतीबारे आ–आफ्ना धारणा राखेका थिए । छलफलका क्रममा महासङ्घका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले पत्रकारितामाथि द्वन्द्वकाल भन्दा अहिले थप असुरक्षा बढेको बताउनुभयो ।
उहाँले रिपोर्टिङका क्रममा पत्रकारहरूले ज्यान जोगाएर काम गर्नुपर्ने अवस्था आएको भन्दै यो चिन्ताको विषय भएको समेत बताउनुभएको छ । यस्तै नेपाल पत्रकार महासङ्घ सुर्खेतका उपाध्यक्ष सुशील खड्काले कार्यस्थलमा पत्रकारको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । समाजलाई सुसूचित गर्ने जिम्मेवारी वहन गरिरहेका पत्रकारहरूमाथि भइरहेको आक्रमण दुखद भएको उल्लेख गर्दै उपाध्यक्ष खड्काले प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस सेन्टर सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले महासङ्घले विज्ञप्ति निकालेर मात्रै पत्रकारको सुरक्षा सम्भव नहुने भन्दै कतिपय अवस्थामा पत्रकारहरूले आचारसंहिता नअपनाउँदा पनि अप्रिय घटना हुने भएकाले सचेत आग्रह गर्नुभयो । तीनकुने घटनाका दोषीलाई कडा कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राख्दै प्रेस चौतारी नेपाल सुर्खेतकी अध्यक्ष मुना हमालले पत्रकारमाथि हुने आक्रमणलाई उन्मुक्ति दिनु लोकतन्त्रकै मर्मविपरीत हुने भन्दै राज्यलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । यस्तै नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले पनी घटनाको विरोधस्वरूप सार्वजनिक कार्यक्रम बहिष्कार गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष देव राना, सञ्चारीका समूह कर्णाली प्रदेशकी सचिव रजनी योगी, अनलाइन मिडिया नेटवर्क सुर्खेतका अध्यक्ष नवीन शाही, नेपाल आदिवासी पत्रकार महासङ्घका अध्यक्ष प्रवाशकुमार शाक्य लगाएतले तीनकुने घटनाबाट पाठ सिक्दै सुरक्षित पत्रकारितामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।















