Author:

  • कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

    शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

    सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए।

  • सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई

    सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई

    सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेलाई दिईएको छ।

    यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेलाई सो जिम्मेवारी दिईएको हो।

    नायव महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं। ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपती थिए।

  • चुलीको पानी मान्ममा

    चुलीको पानी मान्ममा

    चुलिमालिका बृहत् खानेपानी आयोजनाको पानी सदरमुकाम मान्म झारिएको छ। २०७८ सालबाट निर्माण सुरु गरिएको आयोजनाको पानी शुक्रबार सदरमुकामको ट्याङ्कीमा खसालिएको हो।

    खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले २८ करोडमा टेन्डर गरेको थियो, तर कम्पनीले भने घटेर १३ करोड ७१ लाख २९ हजार बजेटमा निर्माण कार्य सुरु गरेको थियो। आयोजनाको मुख्य पाइपलाइनको लम्बाइ साढे १० किलोमिटरभन्दा बढी रहेको निर्माण कम्पनी पराजुली कन्ट्रक्सन प्रालिका साइट सुपरभाइजर मानबहादुर थापाले बताए।

    खानेपानीको चरम अभाव रहेको सदरमुकाम मान्म बजारमा पानी पुगेपछि बजारवासी खुसी देखिएका छन्। खानेपानी सदरमुकाममा पुगे पनि घरघरमा खानेपानी पुर्‍याउन अझै केही समय लाग्ने थापाको भनाइ छ।

    चुली खानेपानी आयोजना निर्माणका लागि तत्कालीन नगर प्रमुख जसीप्रसाद पाण्डेको विशेष पहलमा खानेपानी आयोजनाको काम सुरु गरिएको थियो। खानेपानीका साथै ढल व्यवास्थापनका लागि पहल गरेका पाण्डे मान्मका जनताका लागि खानेपानी भने पुर्‍याउन सफल भएका छन्।

    उनी भन्छन्, ‘खानेपानीका लागि सुख्खा रहेको वडा नम्बर १ देखि ४ सम्मका जनताका घरघरमा धारा निर्माण गरी खानेपानी पहुँच पु¥याउन आफू नगर प्रमुख भएको समयमा पटकपटक लागिपरेको र असम्भवका बिच मान्म पानी पुर्‍याउन सकिएको हो।’ पानीसँगै ढलका लागि पनि व्यवस्थापन गरिएको उनको भनाइ छ।

    जनतामाझ धेरै लोकप्रिय रहेका पाण्डेले २०७४ देखि ७९ सम्म खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतका क्षेत्रमा धेरै विकास गरिएको स्थानीय रवीन्द्र विश्वर्माले बताए। चुलिमालिका बृहत् आयोजनाले वडा नम्बर १ देखि ४ सम्मका १३ सय घरमा एक घर एक घाराको लक्ष्य राखेको छ।

    सदरमुकाम मान्ममा १ लाख २५ हजार लिटरका २ वटा, ५० हजार लिटरका २ वटा, ४० हजार लिटरको १ वटा र २५ हजार लिटरको १ वटा गरी जम्मा ६ वटा ट्याङ्की रहेका छन्। बजारदेखि गाउँसम्मको लाइन पनि व्यवस्थापन गरिएको छ।

    जहिले खानेपानी अभाव रहने मान्ममा चुलिमालिका बृहत् खानेपानी आयोजना नियमित रुपमा सुरु भएका कालिकोटका नागरिकलाइ धेरै राहत हुने विश्वास छ।

  • कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

    कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन

    कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ५ मन्त्री र २ राज्यमन्त्री थप गरेर आज मन्त्रीमण्डल बिस्तार गरेका हुन्।

    मन्त्रिपरिषद् बिस्तार भएसँगै कोशीमा १० सदस्यीय मन्त्रीपरिषद् गठन भएको छ। मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्कीले जिम्मेवारी पाएका छन्।

    सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मुख्यमन्त्री आफैं र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगर मन्त्री नियुक्त भएका छन्। राज्यमन्त्रीहरुमा सिर्जना राईलाई मुख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    यस अघि वैशाख २७ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेबाट राम राना र माओवादी केन्द्रबाट गणेश उप्रेतिलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए।

  • शुल्क मापदण्ड कार्यान्वयन गर्न उपमहानगरको एकहप्ते समयसीमा

    शुल्क मापदण्ड कार्यान्वयन गर्न उपमहानगरको एकहप्ते समयसीमा

    इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड निजी विद्यालयले अटेर गर्दै आएका बेला सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही गर्ने भएको छ।

    इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने २७बुँदे संकल्प पत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षका रुपमा लिएर अयिभान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुईतिहाइ अभिभावक भेला राखेर शुल्क प्रस्ताव गर्न सकुर्लर गरिएको थियो। निजी विद्यालयले वैशाख ७ विद्यालयलाई आन्तरिक रुपमा पत्रचार गर्दै इटहरी उपमहानगरपालिकाको सकुर्लर अटेर गर्ने निर्णय गरेका थिए।

    निजी विद्यालयको छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसियसन इटहरीद्वारा विद्यालयमा गरिएको सकुर्लरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख गरेका थिए।

    उपमहानगरपालिकाले विद्यार्थी भर्ना, मासिक पढाइ, परीक्षालगायतको शुल्क निर्धारण गरी कार्यान्वयन गर्न सातदिने समयसीमा तोकेको छ।

    शैक्षिक सत्र २०८१ का लागि नयाँ निर्धारण गरिएको मासिक शुल्कअनुसार पूर्व प्राथमिक तह (नर्सरी) को अधिकतम शुल्क तीनवटा श्रेणीमा विभाजन गरी तोकिएको छ, जसमा पहिलो श्रेणीका विद्यालयले दुई हजार पाँच सय, दोस्रो श्रेणीकाले एक हजार ८ सय ५० र तेस्रो श्रेणीकाले एक हजार २ सय ५० मासिक तोकिएको छ।

    यस्तै कक्षा १० को अधिकतम मासिक शुल्क पहिलो श्रेणीका विद्यालयले पाँच हजार, दोस्रो श्रेणीकाले तीन हजार ७ सय ५० र तेस्रो श्रेणीकाले एक हजार २ सय ५० रुपैयाँ तोकिएको छ।

    उपमहानगरपालिकाद्वारा निर्धारण गरिएको शुल्कअनुसार मासिक पढाइ शुल्क एक वर्षमा १२ महिनाको स्वीकृत मासिक शुल्क शिक्षक(कर्मचारीको तलब भत्तालाई आधार मानेर तय गरिएको सार्वजनिक परिपत्रमा उल्लेख छ। यस्तै, वार्षिक शुल्क दुई महिनाको स्वीकृत मासिक शुल्क बराबरको रकम लिन पाउने उल्लेख गरिएको छ।

    यस्तै भर्ना शुल्क भर्ना हुँदा एकपटक मात्र जुन कक्षामा भर्ना हुने हो, सोही कक्षाको स्वीकृत मासिक शुल्कको एक महिनाको शुल्क लिन पाउने गरी तोकिएको छ। धरौटी शुल्कमा विद्यालय अवधिभर विद्यार्थीले तिर्नुपर्ने कुनै बक्यौता हुन गएमा त्यसको सुरक्षणबापत लिन पाउने र जुन रकम फिर्ता गर्नुपर्ने गरी तोकिएको छ। धरौटी शुल्क भने यकिन तोकिएको छैन।

    यस्तै, परीक्षा शुल्क एक महिनाको पढाइ शुल्कको ५० प्रतिशत मात्र वार्षिक वा किस्तामा लिन पाउने गरी तोकिएको छ। स्थानान्तरण शुल्क कक्षा ५ सम्म पाँच सय र माध्यमिक तहको एक हजार मात्र लिने पाउने तोकिएको छ।

    विशेष प्रशिक्षण, आवास, यातायात र भोजन शुल्क भने सुविधा उपयोग गर्ने विद्यार्थीका अभिभावकहरुको दुईतिहाई भेलाबाट पारित भएअनुसार गर्नुपर्ने गरी तोकिएको छ। यस्तै, शैक्षिक सामग्री शुल्क मासिक शुल्कको १० प्रतिशत मात्र लिन पाइने गरी तोकिएको छ।

    यसैबीच सम्पूर्ण शिक्षक र कर्मचारीको नियुक्तिपत्र, अध्यापन अनुमति पत्र र शैक्षिक योग्यताको प्रतिलिपि विवरण पनि तत्काल बुझाउन निजी विद्यालयलाई सकुर्लर गरिएको छ। यसअघि पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई सकुर्लर गरे पनि अधिकतरले नबुझाएपछि १५दिने समयसीमा तोकी सकुर्लर गरेको हो।

    सकुर्लरमा तहगत शिक्षकलाई आर्थिक वर्ष २०८०(०८१ मा भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनुपर्ने छ। विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ति पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्ने छ।

    उपमहानगरपालिकाको नगर शिक्षा समितिको फागुन १५ गतेको निर्णयअनुसार एकै प्रकारको पोसाक कार्यान्वयन गर्न पनि सकुर्लर गरिएको छ। उपमहानगरपालिकाले एकै प्रकारको पोसाक इटहरीभरि लागू गर्ने पनि निर्णय गरेको थियो।

    सो निर्णयसमेत इटहरीका निजी विद्यालयले लागु नगर्न सकुर्लर गरेका थिए। इटहरी उपमहानगरपालिकको एकै प्रकारको डे«स लागु गर्ने निर्णयविरुद्ध निजी विद्यालयको छाता संगठन प्याब्सन इटहरीले उच्च अदालत विराटनगरमा रिटसमेत दायर गरेको थियो। सो रिटमा आन्तरिम आदेश नहुने आदेश भएको थियो।

    इटहरी उपमहानगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न जनप्रतिनिधि तथा कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने, कुनै पनि विद्यालयले पाठ्यपुस्तक तथा पाठ्यसामग्री आफैंले बेच्न नपाउने पनि निर्णय गरेको छ।

    इटहरी क्षेत्रमा १७० वटा विद्यालय रहेका छन्, जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरु निजी रहेका छन्।

  • प्रहरीले संसद् भवनबाहिर फुटपाथमा हिँड्न रोक्याे

    प्रहरीले संसद् भवनबाहिर फुटपाथमा हिँड्न रोक्याे

    प्रहरीले नयाँ बानेश्वरमा रहेको संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ।

    शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधरणलाई हिँड्न रोक लगाएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा गरिएको जानकारी दिए। त्यहाँ सर्वसाधारणलाई हिँड्न रोकिएको उनको भनाइ छ।

    फुटपाथबाट हिँड्न नदिएपछि पैदलयात्रीहरूले सडकबाटै हिँड्नुपर्ने भएको छ।

  • आठ तस्बिरमा हेरौं सूदूरपश्चिममा चर्चित छलिया नृत्य

    आठ तस्बिरमा हेरौं सूदूरपश्चिममा चर्चित छलिया नृत्य

    दार्चुलाको अपी हिमाल गाउँपालिकाको वडा ४ नौपाटाका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् ।

    छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलित छ । तलबारसहितको कला देखाउँदै गरिने यो नृत्य विवाहमा बढी प्रयोग गरिन्छ । नेपालभित्र भने बैतडी, डडेल्धुरा, दार्चुला र डोटी क्षेत्रमा यो नृत्य बढी चर्चित छ ।

    परापूर्वकालमा विवाहका समय दुलाहा र दुलहीको सुरक्षाका लागि युद्धकौशलमा निपुण सैनिकहरूलाई तरबार नचाउँदै, गीत गाउँदै अगाडी पछाडी लिएर हिड्ने चलन थियो । पछि त्यहीँ छलिया नृत्यका रुपमा स्थापित भएको संस्कृतिविदहरु बताउँछन् ।

    यसै क्रममा नौपाटामा गएका आन्तारिक पर्यटकहरुको आगमनलाई उत्सवमय बनाउन स्थानीय मल्देश नृत्य देखाउँदै ।

    तस्बिरहरुः एनिका राई/नागरिक

    तस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिकतस्बिर: एनिका राई/नागरिक

  • इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

    इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

    राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा इतिहासकार ज्ञानमणि नेपालले पुर्‍याएकाे योगदान नेपाल र नेपालीको लागि सदैव स्मरणीय रहने बताएका छन्।

    इतिहासकार ज्ञानमणिको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउँदै राष्ट्रपति पौडेलले उनका परिवारजनलाई आज पठाएको समवेदना सन्देशमा सो उल्लेख गरेका हुन्।

    ‘तथ्य र प्रमाणको कसीमा रहेर नेपालको राजनीति, साहित्यलगायतको इतिहास लेखनमा जीवन समर्पित गरेका विद्वान इतिहासकार ज्ञानमणि संस्कृत वाङ्मय, शिलालेख तथा ऐतिहासिक दस्ताबेजलाई समेटेर इतिहास लेखनमा दख्खल राख्नुहुन्थ्यो’, समवेदना सन्देशमा भनिएको छ।

    ज्ञानमणिका ‘नेपालको महाभारत’ तथा ‘नेपाल निरुक्त’ लगायतका महत्वपूर्ण कृति एवम् कैयौं अनुसन्धान र खोजमूलक लेखरचना चीरकालसम्म ज्ञानका भण्डारकारुपमा रहिनै रहने पनि राष्ट्रपति पौडेलले उल्लेख गरेका छन्।

    साथै स्वर्गीय ज्ञानमणिको आत्माको चीर शान्तिको कामनासहित श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

    सो समवेदना सन्देश राष्ट्रपति पौडेलकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलले परिवारजनलाई हस्तान्तरण गरेका थिए।

  • पोल्ट्री उद्योग : आधाभन्दा बढी बन्द, सञ्चालन भएका पनि ४२ प्रतिशत क्षमता

    पोल्ट्री उद्योग : आधाभन्दा बढी बन्द, सञ्चालन भएका पनि ४२ प्रतिशत क्षमता

    नेपालका पोल्ट्री उद्योग आधाभन्दा बढी बन्द भएका छन्। कोरोना भाइरस (कोभिड) र त्यसपछिको आर्थिक मन्दीका कारण ५८ प्रतिशत पोल्ट्री उद्योग बन्द भएका हुन्। नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार यो अवधिमा दुई सय उद्योग बन्द भइसकेका छन्।

    ‘नेपालमा अन्य क्षेत्रसँगै पोल्ट्री क्षेत्रमा पनि चरम संकट छ। यहाँ भएका तीन सय ५० पोल्ट्री उद्योगमध्ये एक सय ५० उद्योग मात्र सञ्चालित छन््। दुई सय उद्योग बन्द भइसके’, पोल्ट्रीको अवस्थाबारे बताउँदै नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले भने, ‘सञ्चालन भएका उद्योगले पनि क्षमताको ५० प्रतिशत मात्र उत्पादन गरेका छन्।’

    नेपालमा पोल्ट्रीको उत्पादनसमेत घट्दै गएको छ। चार वर्षअघि प्रतिहप्ता ४५ लाख ब्रोइलर चल्ला उत्पादन हुँदै आएकोमा हाल २० लाखको हाराहारीमा उत्पादन भइरहेको अध्यक्ष विष्टले जानकारी दिए। त्यस्तै लेयर्स चल्लाको उत्पादन पनि घटिरहेको छ। प्रतिहप्ता दुई लाख लेर्यस चल्ला उत्पादन भएकोमा २० हजार मात्र उत्पादन भएको उनले बताए। उत्पादन प्रतिशत हेर्दा पनि ४४ प्रतिशत मात्र छ।

    यसरी व्यवसायीले उत्पादन घटाउँदै लगेपछि चल्ला र अन्डाको मूल्य भने वृद्धि भइरहेको छ। चितवनमा ब्रोइलर चल्ला प्रति गोटा ८५ रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यसअघि २० रुपैयाँमा पनि बिक्री नभएर व्यवसायीले चल्ला गाडेका थिए।

    लेयर्स चल्ला भने सय रुपैयाँमा बिक्री भइरहेको अध्यक्ष विष्टले जानकारी दिए। ‘अहिले धेरैजसो साना पोल्ट्री व्यवसाय बन्द भएका छन्। हन्डर–ठक्कर खाएर बचेका व्यवसायीलाई अहिले राहत भएको छ’, उनले भने, ‘अन्डाको मूल्य पनि जृद्धि भइरहेको छ। यो अझै बढ्नेवाला छ।’

    कुखुराको मूल्य बढ्दै गएपछि आफूहरूलाई केही राहत महसुस भएको नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले बताए। ‘हामी चार वर्षदेखि घाटामा थियौं’, उनले भने विगत ६ महिनादेखि राहत महसुस भएको छ।’ चितवनमा प्रतिकिलो चार सय रुपैयाँमा ब्रोइलर कुखुराको मासु बिक्री भइरहेको छ। किसानले समेत ब्रोइलर कुखुराको मूल्य प्रतिकेजी तीन सय २० रुपैयाँ पाएको उनले बताए।

    केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ चैत महिनामा अन्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको थियो। पोल्ट्री क्षेत्रको निर्यात गर्न सक्ने क्षमता भए पनि विदेशी राष्ट्रसँग नेपालले प्रतिस्पर्धा गर्न कठिन हुने उनले बताए। नेपाल दानामा समेत आत्मनिर्भर रहेको छ, तर अधिकांश कच्चा पदार्थ भने विदेशबाटै आउने गर्दछ।

    चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स पो हुँदै

    चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्स पो हुने भएको छ। नेपाल पोल्ट्री महासंघ र इन्डिया पोल्ट्री इक्युमेन्ट एसोसिएसनको आयोजनामा यही जेठ १८ देखि २० सम्म एक्स पो हुन लागेको हो। पोल्ट्री क्षेत्रको विकासका लागि एक्स पो आयोजना गर्न लागिएको आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले जानकारी दिएको छ।

    भरतपुरस्थित औद्योगिक प्रदर्शनी केन्द्रमा हुने एक्स पोमा १५ देशका विज्ञान प्रविधि तथा विज्ञहरूको उपस्थिति रहने छ। एक्स पोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका विषयमा विज्ञहरू बोलाएर पाठशाला सञ्चालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिए। उनका अनुसार एक्सपोमा विदेशी प्रविधिको वर्चश्व रहने छ।

    बिष्टले पोल्ट्री क्षेत्रको वर्तमान समस्या र त्यसको समाधानका लागि पनि एक्स पोमार्फत पहल गरिने बताए। चितवनमा २०५२ सालमा पहिलोपटक पोल्ट्री एक्स पो गरिएको थियो। त्यसपछि यहाँ पोल्ट्री क्षेत्र विस्तार हुँदै क्रमशः फट्को मार्न सफल भएको थियो।

    तीन दिनसम्म सञ्चालन हुने एक्स पोमा दुई सयको हाराहारीमा स्टल रहने नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले जानकारी दिए। उनले पन्ध्र देशका दश हजारले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको बताए।

  • शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय ११ पुग्याे

    शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय ११ पुग्याे

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि भएको छ। बाह्य संरक्षण क्षेत्रबाट स्थानान्तरण गरेर ल्याइएका १२ वर्षको अवधिमा लोपोन्मुख प्रजातिका कृष्णसारको सङ्ख्या ४२ बाट बढेर तीन सय ११ पुगेको छ।

    निकुञ्जमा वयस्क भाले ८१, अर्धवयस्क भाले ३१, वयस्क पोथी एक सय दुई, अर्धवयस्क पोथी ३८ र भर्खरै जन्मेका लिङ्ग पहिचान नभएका ३९ कृष्णसार संरक्षित रहेका छन्। हिरापुर फाँटाको ५८ दशमलव आठ हेक्टर क्षेत्रको चारैतिर हिंस्रक जनावरबाट जोगाउनका लागि तारजाली लगाएर कृष्णसारका लागि सुरक्षित बासस्थान बनाइएको छ।

    ‘निकुञ्जको संरक्षित क्षेत्रमा कृष्णसारको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ’, निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी मनोज ऐरले भने, ‘संरक्षणकर्मीका लागि यो खुसीको कुरा हो, स्थानान्तरणको अभ्यास सफल भएको छ, निकै उत्साहित छौँ।’ उनका अनुसार चार वर्ष लगाएर बासस्थानको गहन रुपमा अध्ययनपश्चात् स्थानान्तरणको कार्य गरिएको थियो।

    निश्चित क्षेत्रमा राखेर संरक्षण गरिएका कृष्णसारलाई प्राकृतिक बासस्थानमा छाड्नका लागि अध्ययनको कार्य भइरहेको छ। ‘प्राकृतिक क्षेत्रमा कृष्णसारलाई छाड्नका लागि उपयुक्त स्थान छनोटका लागि छलफलको कार्य भइरहेको छ’, अधिकृत ऐरले भने, ‘निकुञ्जले उपलव्ध गराउँदै आएको चना, मटर, मकैलगायत खुवाउने कार्य घटाउँदै लगेको छ।’

    आफ्नै तरिकाले चर्नका लागि आत्मनिर्भर बनाउने प्रयास जारी रहेको जनाउँदै उनले हाल घाँसमा मात्रै निर्भर हुने तरिकाले चरन क्षेत्रको विस्तार गरिएको बताए।

    विस्तृत अध्ययनको कार्यपछि सन् २०१२ मा पहिलो पटक नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क, एक अर्धवयस्क भाले, चार वयस्क र एक अर्धवयस्क पोथी गरी आठ कृष्णसार स्थानान्तरण गरी हिरापुरफाँटामा ल्याइएको थियो।

    त्यसको पाँच दिनपछि मिनी चिडियाखानाबाट अर्धवयस्क भाले तीन, वयस्क पोथी आठ र अर्धवयस्क पोथी तीन गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। त्यसपछि सन् २०१२ कै अक्टुबर महिनामा जाउलाखेल सदरचिडियाखानाबाट तीन वयस्क भाले, दुई वयस्क पोथी र एक वर्ष नपुगेका बच्चा गरी छवटा कृष्णसार निकुञ्जको संरक्षित क्षेत्रमा ल्याइएको थियो।

    सन् २०१५ मा कृष्णसार संरक्षित क्षेत्र खैरापुर बर्दियाबाट तीन वयस्क भाले, एक अर्धवयस्क भाले र १० वयस्क पोथी गरी १४ कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो। निकुञ्जमा कृष्णसार अघि विसं २०५८ मा चितवन राष्ट्रिय निकुञ्जबाट चार गैँडा स्थानान्तरण गरेर ल्याइएको थियो।

    यस वर्ष चितवनबाटै घडियाल गोही स्थानान्तरण गरेर ल्याइएको छ। स्थानान्तरण गरेर ल्याइएकामध्ये कृष्णसार र गैँडाको सङ्ख्या निकुञ्जमा उत्साहजनक रुपमा बढेको संरक्षण अधिकृत ऐरको भनाइ छ।

    निकुञ्जको पूर्व पश्चिम राजमार्गको अर्जुनीफाँटाभन्दा उत्तर झन्डै चार किलोमिटरको दूरीमा कृष्णसारलाई संरक्षित गरिएको छ। संरक्षित क्षेत्रमा कृष्णसारका लागि खानेपानीका पोखरी, छहारीमा बस्न सेड हाउस (छहारी घर), चर्न घाँसेमैदान निर्माण गरिएका छन्।

    कृष्णसार अवलोकनका लागि पुग्ने पर्यटकको सुविधाका लागि मचानको व्यवस्था गरिएको छ। संरक्षित क्षेत्रमा पुग्ने सडकमा ग्राभेल राखेर पर्यटकको आवागमन सहज बनाइएको छ।

    कृष्णसार संरक्षणमा खटिएका कर्मचारीका लागि सौर्य बत्ती जडान गरिएका आवास निर्माण गरिएका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ।

    हाल बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा मात्रै कृष्णसारलाई संरक्षित गरेर राखिएको छ। -रासस