Category: News

  • वैदेशिक रोजगारमा राज्यको पहलकदमी

    वैदेशिक रोजगारमा राज्यको पहलकदमी

    २००३ देखि २०३६ सालसम्म सर्वसाधारण नेपाली सैनिक सेवा तथा कूटनीतिक रोजगारको सिलसिलामा बाहेक अन्य उद्देश्य बोकी विदेशमा खासै गएको पाइँदैन। २०३६ पश्चात् विश्वमा झांगिदै गरेको विश्वव्यापीकरण, आर्थिक उदारीकरण र निजीकरणको प्रभावबाट वैदेशिक रोजगारी क्षेत्र अछूतो रहन नसक्दा २०३६ ताकाबाट छिट्पुटरूपमा बाह्य मुलुकहरूमा रोजगारीका लागि गमन प्रारम्भ हुन थाल्यो।

    २०४६ सालकोे राजनीतिक परिवर्तन र तत्पश्चात् मुलुकले अवलम्बन गरेको खुला तथा उदार अर्थनीतिका कारण वैदेशिक रोजगार क्षेत्र उदार बन्न पुग्यो। यसरी २०५७ सालमा आइपुग्दा ५५ हजार नेपाली वैदेशिक रोजगारका लागि बाहिरिएकामा आर्थिक वर्ष २०७९/८० मा बाहिरने श्रमिकको संख्या ७ लाख ७४ हजार पुग्यो।

    वैदेशिक रोजागरसम्बन्धी संस्थागत संयन्त्रको जहाँसम्म सवाल छ, २०२८ सालमा उद्योग मन्त्रालयअन्तर्गत श्रम विभाग स्थापना भएकामा २०३८ सालमा श्रम मन्त्रालय स्थापना भई वैदेशिक रोजगारसम्बन्धी कार्य मन्त्रालयमार्फन सम्पादन हुन थाल्यो। श्रम मन्त्रालय स्थापनापश्चात् वैदेशिक रोजगार ऐन, २०४२ जारी गरियो।

    यसरी वैदेशिक रोजगारको इतिहास दुई सय वर्ष पुरानो भए तापनि यससम्बन्धी कानुनी व्यवस्था र संगठनात्मक संरचना निर्माण प्रारम्भ भने २०४२ सालमा मात्र थालनी भएको हो। २०५६ सालमा आइपुग्दा श्रम विभागको नाम श्रम तथा रोजगार प्रवद्र्धन विभागमा रूपान्तरण गरियो। २०६० को दशकमा वैदेशिक रोजगारलाई समयसापेक्ष तुल्याउन वैदैशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ पस्कने कार्य भयो। जुन अद्यावधिक प्रचलनमा छ।

    नागरिकलाई रोजगारीको प्रत्याभूतिको जहाँसम्म सवाल छ, संविधानको धारा ३३ मा रोजगारीलाई नागरिकको मौलिक हकका रूपमा सूचीकृत गरिएको छ। सो हक प्रवद्र्धन गर्न रोजगार हकसम्बन्धी ऐन, २०७५ जारी भइसकेको छ।

    रोजगारको हक कार्यान्वनार्थ प्रधानमन्त्री रोजगार कार्यक्रम अगाडि बढाइएको छ। सोअनुरूप २०७५ माघ २५ मा मन्त्रिपरिषद्को बैठकद्वारा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ स्वीकृत भई आर्थिक वर्ष २०७५/७६ देखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको हो। त्यस्तै, नेपालको संविधान जारी हुनुपूर्व, वैदेशिक रोजगारलाई व्यवस्थित गर्न वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र वैदेशिक रोजगार नीति २०६८ जारी भएका हुन्।

    प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन र नतिजाको जहाँसम्म सवाल छ, कार्यक्रमद्वारा मागअनुरूपको रोजगारी प्रदान गर्न सकेको छैन्। उक्त कार्यक्रममा ठूलो रकम खर्च भए तापनि सीमित स्रोत/साधनका कारण आशातीत रोजगारी सिर्जना हुन नसकेको हो। फिलतो अनुगमन र नियमनको कारण पनि कार्यक्रम प्रभावकारी हुन नसकेको हो। जहाँ आर्थिक वर्ष २०७९/८० मा सो कार्यक्रममार्फत १८ देखि ५९ उमेर समूहका ८ लाख ४१ हजार युवालाई न्यूनतम रोजगारी उपलव्ध गराउने उद्देश्य रहेकामा पहिलो आठ महिनामा १४ हजारले मात्र रोजगरी प्राप्त गरेका छन्। त्यस्तै आ.व. २०७९/८० सम्ममा सात लाख १२ हजार जनाले वार्षिक ७८ दिनको रोजगारी प्राप्त गरेकामा प्रतिव्यक्ति ४८ हजार रुपियाँ पारिश्रमिक पाएका हुन्।

    बजेट बक्तव्यमा बेरोजगारीको समस्या सम्बोधनको जहाँसम्म सवाल छ, आ.व. २०८०।८१ बजेट वक्तव्यमा ‘स्वदेशमै उत्पादन र रोजगार’ भन्ने नारासहित राष्ट्रिय उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८६ हजार र युवा स्वरोजार कोषमार्फत १२ हजार श्रमशक्तिलाई रोजगारी उपलब्ध गराइने, चालु वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रूपमा मनाइने, युवा तथा साना व्यवसयी रोजगार कोषको लगानी मोडालिटी परिवर्तन गरिने, युवा तप्काको सिप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने उल्लेख छ।

    वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने प्रशासनिक संयन्त्रको जहाँसम्म सवाल छ, वैदेशिक रोजागरलाई सुरक्षित, भदपर्दो र मर्यादित बनाउन, कामदार र इजाजतवालाको हकहित सुरक्षा गर्न, श्रम बजार खोजी गर्न, रोजगारीसम्बन्धी सूचना प्रकाशन गर्न, वैदेशिक रोजगार कल्याणकारी कोष परिचालन गर्न र वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको सिप तथा दक्षता उपयोग प्रबन्ध मिलाउन, श्रम तथा रोजगार मन्त्री वा राज्यमन्त्री पदेन अध्यक्ष रहने व्यवस्थासहित वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड गठन भएको छ।

    वैदेशिक रोजगारमा प्रस्थान गर्ने श्रमिकलाई आवश्यक पर्ने सेवा–सुविधाको जहाँसम्म सवाल छ, २०५४ सालदेखि जिल्ला प्रशासन कार्यालयबाट राहदानी उपलब्धता, अनलाइनमार्फत वैदेशिक रोजगारीका लागि आवेदन र वैदेशिक रोजगारमा प्रस्थान गर्न चाहने श्रमिकलाई सिपमूलक व्यावसायिक तालिमको प्रबन्ध मिलाइएको छ।

  • संसद बैठक बस्दै: गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची, के होला आजको बैठक?

    संसद बैठक बस्दै: गृहमन्त्रीको रोष्ट्रममा जाने कार्यसूची, के होला आजको बैठक?

    प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ।

    आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् भने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने छन्।

    यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

    त्यस्तै आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने पनि कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व.२०७९÷८० पेश गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेश गर्ने छन्।

    आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई फिर्ता लिने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

    प्रतिपक्षी नेपाली कांग्रेसको लगातारको अवरोधका कारण अवरुद्ध हुँदै आएको संसद बैठक आज नियमित सुचारु हुने अपेक्षा गरिएको छ। सहकारी विषयमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा सहमति भइसकेपछि आजको संसद नियमित सुचारु हुने अपेक्षा गरिएको हो।

  • घरजग्गा कारोबारमा राष्ट्र बैंक लचिलो

    घरजग्गा कारोबारमा राष्ट्र बैंक लचिलो

    नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ। घरजग्गा कारोबार बढ्न नसकेपछि कारोबारमा केही सहज हुने गरी समीक्षा सार्वजनिक गरेको हो। घरजग्गा खरिदका लागि लिएको कर्जा तिर्दा हेरिने आम्दानीको अनुपात राष्ट्र बैंकले ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्‍याएको छ।

    राष्ट्र बैंकले घर जग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपात (डेट सर्भिस टु ग्रस इनकम रेसियो) लाई सहजीकरण गरेको हो। आम्दानी गरिरहेका र घरजग्गा खरिद गर्ने चाहना राख्नेहरूका लागि सजिलो हुने गरी नीति ल्याएको हो।

    विगतमा कर्जा प्रवाह गर्दा ऋणीको कुल आम्दानीको ५० प्रतिशतका आधारमा इएमआई निर्धारण गरिँदै आएकोमा अब सो अनुपात बढाएर ७० प्रतिशत पुर्‍याएपछि सहज हुने भएको हो।

    राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) भने ०.०५ प्रतिशतले मौद्रिक नीतिमार्फत घटाएको छ। बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेकोमा घटाएर १.२० प्रतिशत कायम गरेको छ। अब असल ऋणबापत गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २० अर्ब हाराहारी रकम ऋण दिन वाणिज्य बैंकहरूलाई सहज हुनेछ।

    मौद्रिक नीतिले सवारी साधनमा कर्जा बढाउन प्रोत्साहन गर्ने नीति लिएको छ। सवारी साधन कर्जा दिँदा १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी १०० प्रतिशतमा झारेको छ।

    विगतमा तपाईंलाई गाडी किन्न कर्जा दिँदा बैंकले १२५ प्रतिशत जोखिमभार राख्नुपर्नेमा अब १०० प्रतिशत मात्रै राखे पुग्छ। यसले बैंकहरू सवारी साधन कर्जा दिन आकर्षित हुन सक्छन्।

    आन्तरिक तथा बाह्य आर्थिक स्थिति र परिदृश्य समेतका आधारमा विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, व्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत् राखिएको छ।

    ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने, बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने भएको छ।

    मौद्रिक नीतिले सवारी साधनमा कर्जा बढाउन प्रोत्साहन गरेको छ। सवारी साधन कर्जा दिँदा १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गरी १०० प्रतिशतमा झारेको छ। यसको अर्थ के हो भने अब तपाईंले गाडी किन्दा केही सस्तो र सहजै बैंकबाट ऋण पाउनुहुन्छ।

    किनभने विगतमा तपाईंलाई गाडी किन्न कर्जा दिँदा बैंकले १२५ प्रतिशत जोखिमभार राख्नुपर्नेमा अब १०० प्रतिशत मात्रै राखे पुग्छ। यसले बैंकहरू सवारी साधन कर्जा दिन आकर्षित हुन सक्छन्। यो व्यवस्थाले बैंकहरूको पुँजी कोषमा केही राहत मिल्ने देखिन्छ।

    राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनु पर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ०.०५ प्रतिशतले घटाएको छ। बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरू लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेकोमा समीक्षामार्फत घटाएर १.२० प्रतिशत बनाएको छ।

    त्यसैगरी बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी रहेको सेयर बिक्री गर्न पाउनेबारे नयाँ व्यवस्था गर्ने भएको छ।

  • संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्दै

    संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्दै

    सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन दलहरूको बैठक बस्न लागेको छ। अहिले बिहान साढे ८ बजे कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्न लागेको हो।

    सत्ता र प्रतिपक्ष दलहरूको शनिवार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो। तर, समितिको कार्यादेश भने टुङ्गो लाग्न सकेको थिएन।

    कार्यादेश टुङ्गो लगाउन नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन गरिएको छ। उक्त समितिमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल छन्।

  • उपत्यकाका चार ट्रायल सेन्टर बन्द

    उपत्यकाका चार ट्रायल सेन्टर बन्द

    उपत्यकाका चार वटा ट्रायल सेन्टरहरूले बिहीबारदेखि सवारीचालक अनुमति पत्रका लागि लिने प्रयोगात्मक परीक्षा (ट्रायल)को सेवा बन्द गरेका छन्। राष्ट्रिय सतर्कता केन्द्रका अनुसार केन्द्रको निर्देशनपछि इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, भेइकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि, एकान्तकुनाले बिहीबारदेखि ट्रायल परीक्षा बन्द गरेका छन्।

    ट्रायल सेन्टर बन्द हुँदा लिखित परीक्षा पास भई प्रयोगात्मक परीक्षाको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन्। बिहीबार उपत्यकाका चारवटा सेन्टरबाट दुई हजार परीक्षार्थीको प्रयोगात्मक परीक्षा लिने तयारी थियो। तर प्रयोगात्मक परीक्षा लिन उपत्यका ट्राफिक कार्यालयले आफ्ना प्रतिनिधि नपठाएपछि ट्रायल सेन्टरहरूले अकस्मात् प्रयोगात्मक परीक्षा बन्द गरेका थिए।

    बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले राष्ट्रिय सतर्कता कन्द्रको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्म उपत्यकाका ती सेन्टर बन्द गरिएको बताए। ‘केन्द्रले हामीलाई पठाएको चिठीअनुसार हामीले प्राविधिक टोली बनाएर सेन्टरहरूको जाँच गर्दै छौं। टोलीले प्रतिवेदन नदिएसम्म परीक्षा बन्द गरका छौं,’ निरौलाले भने, ‘टोलीले मापदण्डअनुसार ट्रायल सेन्टरले मापदण्ड पूरा गरेको/नगरेको विषयमा जाँच गर्नेछ। त्यसपछि केन्द्रसँग समन्वय गरेर ट्रायल खोल्नेछौं।’

    केन्द्रले यसअघि तोकिएको निर्देशिकाविपरीत सञ्चालन भइरहेका ट्रायल सेन्टरहरूलाई तोकिएको मापदण्डअनुसार हुबहु सञ्चालन गर्न या बन्द गर्न निर्देशन दिएको थियो।

    साथै, केन्द्रले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, बागमती प्रदेश मुख्यमन्त्री कार्यालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरलाई बोधार्थ दिएको थियो।

    केन्द्रले उपत्यकामा सञ्चालित केही ट्रायल सेन्टर (प्रयोगात्मक परीक्षा केन्द्र)हरूले तोकिएको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा नलिई जानीजानी परीक्षार्थीलाई फेल गराएको निष्कर्ष निकालेको छ। सतर्कताले गत चैत महिना एउटा टोली बनाएर उपत्यकाका सञ्चालन भइरहेका ट्रायल सेन्टहरूको विषयमा विस्तृत अध्ययन तथा अनुगमन गरेको थियो।

    टोलीमा रहेका सदस्यहरूले ट्रायल सेन्टरमै गएर अध्ययन गरेका थिए जसअनुसार उपत्यकाका ट्रायल सेन्टरहरूले निर्देशिकाविपरीत प्रयोगात्मक परीक्षा लिएको केन्द्रले तयार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। ती ट्रायल सेन्टरहरूले सवारीचालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ ले तोकेको मापदण्डअनुसार परीक्षा नलिएको प्रतिवेदनमा जनाएको छ।

    सतर्कताले ट्रायल दिँदा सवारी चालकले आफ्नै सावरी प्रयोग गर्न पाउने गरी व्यवस्था मिलाउन प्रदेश यातायात मन्त्रालयलाई चिठी लेखेर निर्देशन दिएको छ। यस विषयमा प्रदेश यातायात मन्त्रालयले सतर्कतालाई चिठी लेखेर जवाफ पठाएको छ तर यसबारे प्रष्ट पारेको छैन। ट्रायल सेन्टर प्रदेश यातायात मन्त्रालयमातहत रहने व्यवस्था छ।

  • ‘सुकुमवासी व्यवस्थापनमा विकल्प खोज, जंगल नबाँड’

    ‘सुकुमवासी व्यवस्थापनमा विकल्प खोज, जंगल नबाँड’

    सर्वोच्च अदालतले वनजंगल फडानी गरेर सुकुमवासीलाई जमिन नबाँडी अन्य विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गरेको छ। सधैं समस्या बनेर बल्झिरहने सुकुमवासी व्यवस्थापन गर्न जंगलको मात्रै भर नपरी विकल्प खोज्न सर्वोच्चले सरकारलाई झक्झकाएको हो।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संवैधानिक इजलासले २०८० माघ ३ गते गरेको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरेको हो।

    ‘सुकुमवासी समस्या समाधान गर्न वन क्षेत्रकै जग्गा दिने विकल्पमा भर पर्नुको साटो अन्य वैकल्पिक उपाय अवलम्बन गर्नुपर्छ। विकल्पको खोजी नगरी वनजंगलको जमिनमा सुकुमवासी बसाउने कार्य कदापि उचित मान्न सकिँदैन,’ सर्वोच्चले भनेको छ।

    वन ऐन, २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को कार्यान्वयनसँग सम्बन्धित कानुनीप्रक्रियाको अनुसरण नगरी ऐनद्वारा स्थापित निकायको आधिकारिक र औपचारिक निर्णयबेगर, वन र निकुञ्जमार्फत गरिएका संरक्षणका प्रयास प्रभावित वा निस्तेज हुने,’ सर्वोच्चले भनेको छ, ‘वनजंगललगायत संरक्षित क्षेत्रको अतिक्रमणले वैधता पाउने गरी सुकुमवासी वा अव्यवस्थित बसोबासीको नाममा जग्गा वितरण गर्ने गराउने कार्य नगर्नू, नगराउनू भनी परमादेशको आदेश जारी हुने ठहर्छ।’

    सर्वोच्चले वन विनासका कारण प्राकृतिक जलचक्रका असरका विषयमा मिहीन ढंगबाट व्याख्या गरेको छ। फैसलाले वातावरणको चक्रीय ढंगलाई व्याख्या गर्दै वनसँग जोडिएको सुकुमवासी समस्या समाधानको विकल्पमा विश्लेषण गरिएको छ। वन अतिक्रमणबाट घुमिफिरी खडेरीको जोखिम बढ्ने, वायु प्रदूषण बढेर मानव स्वास्थ्यमा असर पर्ने भएकाले सुकुमवासीका नाममा जंगल बाँड्न नहुने उल्लेख छ। वनजंगलको महŒव र वातावरणमा पर्नसक्ने प्रतिकूलतालाई व्याख्या गर्दैै सर्वोच्चले वन जोगाउनमा जोड दिएको छ। ‘वन अतिक्रमणबाट त्यसमा आश्रित जनावरको वासस्थानसहित उनीहरूको प्राकृतिक आवागमनमा पनि असर पर्ने र जंगली जनावर मानव बस्तीमा पस्ने व्याख्या छ।

    ‘वनजंगलको अतिक्रमणबाट हुने बाढीपहिरो, पानीको अभाव, वायु प्रदूषण, माटाको क्षयीकरण, जनावरको आक्रमणजस्ता जोखिमले समुदायमा बढी असर पुग्छ,’ सर्वोच्चले भनेको छ, ‘भूमिहीनताको विषयलाई सम्बोधन गर्न तत्कालका लागि वनजंगल फाँडेर बसोबास गराउनुको सट्टा मानवीय र वातावरणीय पक्ष दुवैलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानको खोजी गर्नु आवश्यक हुन्छ।’

    संविधानमा राखिएको मौलिक हक स्वच्छ वातावरणको हकलाई पनि सर्वोच्चले व्याख्या गरेको छ। संविधानको धारा ३० ले स्वच्छ वातावरणको हकलाई मौलिक हकको रूपमा मान्यता दिएको छ। स्वच्छ वातावरणलाई वनजंगल, पर्यावरणसँग जोडेर व्याख्या गरेको हो। ‘स्वामित्वको हक भोगको र प्रचलित कानुनले अन्यथा व्यवस्था गरेकोबाहेक वन सिमाना, वनले घेरिएको, घाँसे मैदान, खर्क, हिउँले ढाकेको, नांगो पहाड, बाटो, पोखरी, तालतलैया, सिमसार, नदी, खोलानाला, बगर, पर्ती, ऐलानी जग्गाले ओगटेको क्षेत्र सम्झनुपर्छ’ कानुननमा परिभाषित छ।

    दफा १२ र २ (फ) लाई एकै साथ राखी हेर्दा वनको सीमाभित्र पर्ने, वनक्षेत्र भनी नक्सांकन भएको जुनसुकै जग्गा पर्ने देखिन्छ। कुनै क्षेत्रमा अतिक्रमण गरी घरबास भएको छ वा कुनै कारण वन पातलिएको वा विनास भएको छ भन्ने आधारमा कानुनविपरीतको अतिक्रमणलाई मान्यता दिने गरी वन क्षेत्रका जग्गामा मानव बसोबास वा पुनर्वास गराउन नमिल्ने सर्वोच्चको व्याख्या छ।

    ‘सुकुमवासी समस्या मुलुकमा रहेको धेरै समस्यामध्येको एउटा समस्या हो। यो समस्या समाधान गर्ने उपाय छनोट गर्दा त्यसले निम्त्याउने अन्य थप समस्यातर्फ पनि सजग रहनुपर्छ,’ फैसलामा भनिएको छ, ‘सुकुमवासी समस्या समाधानमा वनजंगलको जग्गामा भर पर्दा त्यसबाट सिर्जना हुने समस्याहरूलाई बेवास्ता गर्न सकिँदैन। जब सरकारको अनुमतिमा वा विनाअनुमति सुकुमवासी वा अव्यवस्थित बसोबासीहरू वनक्षेत्रमा गैरकानुनी रूपमा बसोबास गर्छन्, उनीहरूबाट हुने आवास, कृषि, पशुधनको चरनलगायतको कार्यबाट वनजंगल फडानी हुन पुग्छ।’

    यसले पारिस्थितिकीय प्रणालीमा असन्तुलन, जैविक विविधतामा ह्रास, बाढीपहिरो, पानीको अभाव, वायु प्रदूषण, माटाको क्षयीकरणजस्ता दीर्घकालीन समस्या निम्त्याउँछ।

    पर्यावरणीय जोखिमको कारण मात्र नभई नेपालको संवैधानिक प्रावधान अन्तर्राष्ट्रिय प्रतिबद्धता र वनजंगल तथा राष्ट्रिय निकुञ्जसम्बन्धी विद्यमान कानुनले समेत वनजंगल मासी बस्ती बसाउने कुरालाई मान्यता दिएको छैन।

    सुकुमवासी वा अव्यवस्थित बसोबासीको नाममा वनक्षेत्रको जग्गा वितरण हुने व्यवस्था छैन। यसअघिका नजिरमा पनि नेपालले अन्तर्राष्ट्रिय कानुनी दस्तावेजहरूमा जनाएको प्रतिबद्धता, संवैधानिक एवं कानुनी प्रावधानविपरीत रहेको भनी व्याख्या भएको पाइन्छ।

    सर्वोच्चले स्रोत परिचालनको विषयमा देशका समस्त जनताको हित नहेरी सीमित व्यक्ति वा समुदायको लाभका लागि सरकारले जे पनि गर्छु भन्न नमिल्ने उल्लेख गरेको छ।

    यसअघिकै नजिर, शैलेन्द्रप्रसाद अम्बेडकरसमेत विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको चुरे क्षेत्रबाट गिटीबालुवा उत्खननविरुद्धको रिटमा ‘पर्यावरणीय दिगो विकासको सिद्धान्तलाई राज्य नीतिका सिद्धान्तमध्ये सबैभन्दा आधारभूत सिद्धान्तको रूपमा स्विकारिनु अनिवार्य देखिने’ व्याख्या गरिसकेको छ।

    त्यसैगरी नन्दकेशर राईसमेत विरुद्ध नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतको वनक्षेत्रको जग्गा सुकुमवासीको नाममा दर्ता गरिएको रिट निवेदनमा वनक्षेत्रभित्रको सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता गर्न नमिल्ने गरी फैसला भइसकेको विषय हो। यी नजिर हेर्दा पनि वन तथा संरक्षित क्षेत्रमा जथाभावी बाटो बनाउन, उत्खनन गर्न र सुकुमवासीको नाममा दिन नमिल्ने भन्ने सर्वोच्चको दृष्टिकोण रहेको छ।

    सुकुमवासी समस्याको समाधानका लागि वनजंगलमा बसोबास गर्न दिने काम वातावरण संरक्षण र पारिस्थितिकीय कायम गर्ने संवैधानिक दायित्व, विद्यमान कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने हुँदा कुनै पनि तवरबाट वन र संरक्षित क्षेत्र बसोबासका लागि प्रदान गर्न मिल्दैन। त्यसैमाथि विशेष रूपमा वन ऐन, २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले स्पष्ट रूपमा वनक्षेत्र, निकुञ्ज क्षेत्र र संरक्षित क्षेत्रमा बसोबासलाई निषेध गरेको छ।

    ऐनको व्यवस्था नाघेर, ऐनले तोकेका पदाधिकारीका धारणा नबुझी, उनीहरूको लिखित सहमति नलिई, वन वा निकुञ्ज क्षेत्रमा भइरहेको अतिक्रमणबारे अध्ययन नगरी, अतिक्रमणको विषयमा कुनै उजुरी, मुद्दा चलेको नहेरी कुनै जग्गामा हाल वन नरहेको भन्नेसम्म आधारमा वन र निकुञ्जको जग्गा वितरण गर्न मिल्दैन।

  • एटिएफ यु–१२ टिम प्रतियोगिता भोलिदेखि

    एटिएफ यु–१२ टिम प्रतियोगिता भोलिदेखि

    एटिएफ यु–१२ टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) भोलिदेखि हुने भएको छ।

    नेपाल टेनिस संघको आयोजनामा भोलिदेखि बोइज र गल्र्सको टिम प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा बोइजतर्फ सात र गल्र्समा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने आयोजक संघका सदस्यसमेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए। बोइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र भुटान सहभागी हुनेछन्। गल्र्समा पाकिस्तान र भुटानको सहभागिता रहने छैन।

    नेपालबाट बोइजमा निश्चल ज्ञवाली, विश्वविशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गर्नेछन्। गल्र्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसीले खेल्नेछन्। नेपाली खेलाडीको प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य (बोइज) तथा कान्छा खड्गे (गल्र्स) रहेका छन्। एक टिममा ३ खेलाडी रहनेछन्। टिममा २ सिंगल्स र १ डबल्स खेल हुनेछ।

    बोइज÷गल्र्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजाकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु–१२ टिम प्रतियोगिताका लागि छनोट हुने प्रतियोगिता निर्देशक विष्टले जानकारी गराए। शुक्रबारसम्म चल्ने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछन्। प्रतियोगिताका लागि प्रशिक्षकको बैठक आइतबार हुनेछ।

  • मूलभट्ट हजुरबुवाका कथाकार नाति

    मूलभट्ट हजुरबुवाका कथाकार नाति

    भारतका ठुला पुस्तक प्रकाशकहरूमध्ये एक पेन्गुइन र्‍यान्डम हाउस इन्डियाले हालै एक नेपालीको कथासंग्रह ‘लिच एन्ड अदर स्टोरिज’ बजारमा ल्याएको छ। यसका लेखक हुन्, रञ्जन अडिगा।

    काठमाडौंको कालिकास्थानमा जन्मिएका अडिगाको थर सुन्नेबित्तिकै तपाईंलाई भारतका प्रख्यात लेखक अरबिन्द अडिगा र उनको उपन्यास ‘द ह्वाइट टाइगर’को सम्झना आउन सक्छ। धेरैले रञ्जनलाई सोध्छन् पनि तर उनको कथा त्योभन्दा रोचक छ। र, यो कथा ठीक सय वर्षअघि सुरु हुन्छ ।

    रञ्जनका हजुरबुवा सय वर्षअघि भारतको कर्नाटक राज्यस्थित मेंगलोर जिल्लाको कुन्दापुर गाउँबाट नेपाल आए। उनी काठमाडौंस्थित पशुपतिनाथ मन्दिरको मूलभट्ट नियुक्त भए। कार्यकाल सकिएपछि उनलाई भारत फर्केर जान मन लागेन। उनलाई लाग्यो–मलाई भगवान्ले खटाएर यहाँ पठाए भने म यहीँ बाँच्छु, यहीँ मर्छु। उनी यतै बसे।

    उनका चार सन्तान यतै हुर्किए। रामभद्र डाक्टर भए। सोम पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक बने। एक जना भने भारत पढ्न जाँदा पारसी महिलाको प्रेममा परेपछि मूलभट्ट बुवाले जातिच्यूत गरिदिए।

    कान्छा छोरा पूर्णभद्र इन्जिनियर बने। उनै पूर्णभद्र र श्यामाका कान्छा सन्तानका रूपमा रञ्जन जन्मिए। रञ्जनले सेन्ट जेभियर्स स्कुलमा अध्ययन गरे। त्यसअघि बुवा थाइल्यान्डमा पढुन्जेल उनले पनि बैंककमा पनि पढे। त्यहाँ उनी विदेशी थिए।

    जब उनी नेपाल फर्किए, तब ‘कल्चरल सक’मा परे। विद्यालयमा उनी सामान्य विद्यार्थी थिए। तर साहित्यप्रति रुचि भने त्यहीबेला बसिसकेको थियो।

    अलिअलि कविता लेख्ने र पुरस्कार पाउने भइरहन्थ्यो। एकपटक ब्रिटिस काउन्सिलले आयोजना गरेको कथा प्रतियोगितामा उनी प्रथमसमेत भए। सो प्रतियोगिताको निर्णायकमा मञ्जुश्री थापा थिइन्। त्यो पुरस्कारले नै उनलाई लेखनका लागि हौस्याइरहेको थियो।

    लेखाइ राम्रो भएकाले उनले मुम्बईस्थित एउटा विज्ञापन एजेन्सीका लागि ‘कपिराइटर’का रूपमा काम पाए। उनलाई जहिले पनि अमेरिका जाने हुटहुटी चलिरहन्थ्यो। कपिराइटर राम्रो भए पनि उनी आफ्नो लेखन तिखार्न क्रिएटिभ राइटिङ पढ्न चाहन्थे।

    जब उनी अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलाइनामा स्नातकोत्तरका लागि भर्ना भए, तब उनले पहिलो पटक सिर्जनशील लेखन यस्तो हुँदोरहेछ भन्ने थाहा पाए। अन्य विद्यार्थीहरू पहिलेदेखि नै क्रिएटिभ राइटिङ पढेर मास्टर्स पढ्न थालेका थिए, उनी भने एकैपटक नयाँ विषय पढ्दै थिए। केही महिना उनलाई यो कक्षाले दिक्क पारे पनि उनले समयमै मास्टर्स सके। त्यसपछि उनलाई पिएचडीको चस्का लाग्यो। उनी हवाई युनिभर्सिटीमा क्रिएटिभ राइटिङमा पिएचडी गर्न पुगे।

    ‘त्यहाँ धेरै नेपालीले पिएचडी गरिरहनुभएकाले मलाई त्यो ठाउँ रमाइलो लाग्यो,’ रञ्जन भन्छन्, ‘हवाई राज्यले धेरै पिएचडी स्कलरलाई आकर्षित गर्दोरहेछ भन्ने मैले त्यहीँ पुगेपछि मात्र बुझें।’ पिएचडीपछि भने उनले विभिन्न कलेज तथा विश्वविद्यालयमा आफू क्रिएटिभ राइटिङ पढाउन चाहेको भन्दै निवेदन लेखे। यतिबेला उनी उटाहस्थित साल्टलेक सिटीमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

    यो त भयो उनको साङ्गोपाङ्गो परिचय। विगत १० वर्षयता उनी अमेरिकी नागरिकता लिएर त्यहीँका विद्यार्थीलाई पढाउँदै गर्दा भने उनलाई एउटा परिचयको संकट महसुस भयो। उनी को हुन्? नेपाली हुन्? उनी आफ्ना पितापुर्खाको थर भएका दक्षिण भारतीय ब्राह्मण हुन्? नेपाली हुन् भने अहिले नेपाली रहेनन्। उनी दक्षिण भारतीय ब्राह्मण हुन् भने त्यो परिचय पनि अमेरिकामा काम छैन।

    ‘खासमा मैले आफूलाई सधैं एउटा आउटसाइडर महसुस गरिरहें,’ रिमाल आमा र अडिगा बाबुका कान्छा छोरा रञ्जन भन्छन्, ‘यो थर, जुन मसँग झुन्डियो, त्यसले मलाई सधैं आउटसाइडर बनाइरह्यो। कहिलेकाहीं मेरा पुर्खाको परिचय खोज्दै दक्षिण भारत पनि पुगें तर त्यहाँको भाषा म बुझ्दिनँ, बोल्दिनँ। म जुन भाषा बोल्छु, जुन देश मेरो हो, त्यहाँका मान्छेले मेरो थरलाई अनौठो तरिकाले हेर्छन्। अझ कतिपय अवस्थामा भारतीय नै ठान्छन्।’

    आफ्नो परिचयबाट टाढिँदै जाँदा उनले भने मुम्बईमा भने शान्ति महसुस गरे। त्यहाँ उनी ब्राह्मण हुनुमा फरक पर्दैनथ्यो। त्यहाँ उनी जुनसुकै ठाउँबाट आए पनि मतलब थिएन। मात्र प्रतिभाको बलमा उनले गरिखाएका थिए। तर अमेरिका पुगेपछि उनले फेरि ‘आउटसाइडर’ महसुस गर्न थाले। उनी पुरै अमेरिकी हुन सकेनन्। उनी नेपाली भाषामा सपना देख्छन्, उनी काठमाडौंका गल्लीलाई सपनामा पछ्याउँछन् तर यतिबेला अमेरिकी पासपोर्ट बोकेर नेपाल आएका छन्।

    यही आउटसाइडर महसुस गराइले उनलाई किताब लेख्न प्रेरित गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘ममा लेख्नुपर्छ भन्ने थियो तर के लेख्ने भन्ने थाहा थिएन। विगत १० वर्षदेखि म फाट्टफुट्ट लेखिरहेकै थिएँ। नेपालमा हुँदा पनि लेखिरहेको थिएँ तर मैले जब पढाउन थालें, आफ्नो पराइपनमाथि लेख्नुपर्छ भन्ने महसुस भयो।’

    त्यसपछि उनले केही कथा लेखे। ती कथालाई गएको कोभिड १९ को अवधिमा अन्तिम रूप दिए। कथा त लेखे तर कुनै पनि ठुला अमेरिकी प्रकाशकले कथाकारको पहिलो कृति कथासंग्रह निकाल्दैन भनेर पछि मात्र बुझे। अमेरिकामा हरेक वर्ष चार लाख टाइटलका पुस्तक निस्कन्छन्। तीमध्ये निकै कम कविताका पुस्तक छापिन्छन्। कम छापिनेमध्ये कथासंग्रह पनि हो। बरु उपन्यास बढी संख्यामा छापिन्छ।

    उनी कथा छाप्न व्यग्र थिए। त्यसका लागि उनी अमेरिकी प्रकाशकसँग झुत्ती खेलिरहन चाहँदैनथे। ‘तपाईं अमेरिकाजस्तो देशमा लेखकका रूपमा स्थापित हुन चाहनुहुन्छ भने एउटा कुरामा प्रस्ट हुनुस् कि यहाँ हरकोही लेखक बन्न चाहन्छ,’ उनी आफ्नो पुस्तक प्रकाशनको अप्ठेरो खुलाउँदै भन्छन्, ‘यहाँ यति धेरै प्रतिस्पर्धा छ कि तपाईंको कृतिमा केही दम छैन भने जीवनभर साहित्यकार नहुन सक्नुहुन्छ।’

    उनी स्वयं क्रिएटिभ राइटिङ पढाउने भए पनि उनले लेखेका कैयौं सिर्जना कैयौं साहित्यिक पत्रिकाले अस्वीकृत गर्थे। ‘तर म मोटो छाला भएको प्राणी परें, मलाई त्यस्ता अस्वीकृतिले खासै फरक पारेन,’ उनी भन्छन्, ‘अस्वीकृतिले तपाईंलाई अझ बढी सिकाउँछ।’

    उनले आफ्ना कथा छाप्न अर्को एउटा बाटो रोजे। मञ्जुश्री थापासँग भारतीय एजेन्टहरूको ठेगाना मागे। सम्राट उपाध्यायसँग अन्य कुराको सहयोग मागे। त्यसपछि भारतीय एजेन्टसँग कुरा गरे। एक जना एजेन्टले त उनको एक हजार डलर नै खाइदियो तर आफ्नो कथामा केही सहयोग गरेन। पछि कनिष्क गुप्ताले भने तिम्रा कथा राम्रा छन् भनेर हौस्याए।

    गत साता मात्र बजारमा आएको कथासंग्रह ‘लिच एन्ड अदर स्टोरिज’मा १० वटा कथा छन्। ती सबै कथाले उनको हृदयमा गढेको ‘पराइपन’का कथा नै विभिन्न पात्रका माध्यमबाट कहेका छन्। पुस्तक त सम्राट उपाध्यायलाई पनि यति मन पर्‍यो कि उनले त्यसलाई ‘पृथक्पनाको संकलन’ भनेका छन्।

    हुन पनि उनले यस कथामा डिभी परेर अमेरिका पुगेका, प्रतिभाका बलमा पुगेका, प्रतिभा भएका, प्रतिभा नभएका सबै किसिमका पात्रहरूबारे मात्र लेखेका छैनन्, दलित युवतीको संघर्षदेखि कुकुरसम्मको समस्या लेखेका छन्। ‘मलाई जहाँसम्म लाग्छ, यस्ता साना ठानिएका विषयमा यसअघि मैले जसरी अरूले लेख्न भ्याएका थिएनन्,’ आफ्नो कृतिको पृथक्पनाबारे रञ्जन भन्छन्, ‘त्यही देखेर पनि होला यो संग्रह प्रकाशित भयो।’

    उनको यो संग्रहलाई अमेरिकी मिनेसोटा युनिभर्सिटी प्रेसले आउँदो अक्टोबरमा बजारमा ल्याउँदैछ। यो पुस्तक अमेरिकामा पुगेपछि कथानकहरूको विविधता थपिने र त्यो संसारले नेपालको एउटा पाटो चिहाउने अवसर पाउने उनी बताउँछन्।

    ‘नेपाल भन्नेबित्तिकै सगरमाथा, बुद्धको देश र नेपालीहरूको सरलपना मात्र बुझ्ने गरिन्छ,’ रञ्जन भन्छन्, ‘तर नेपाली जाति संसारका अन्य जातिजस्तै विविधतायुक्त र क्लिष्ट नै हुन्। उनीहरूका पनि अन्यकै जस्ता समस्या छन्। यहाँको छुवाछूत, यहाँको विभेद, यहाँका समस्याको तह संसारका अन्य मानिसहरूजस्तै पत्रपत्र खाँदिएर बसेका छन्। यो संग्रहले ती पत्रपत्र खाँदिएका समस्यामार्फत नेपालीहरूको मन चिहाउन सक्लान् भन्ने लागेको छ।’

    उनको किताब नेपालका केही पुस्तक पसलेकहाँ आइपुगेको छ। उनी किताबबारे खोजखबर लिँदै विभिन्न पसलमा पुगे तर धेरैले थरका कारण र अरबिन्द अडिगाको नातेदार ठानेर उनका किताब कुनामा फ्याँकिदिँदा रहेछन्। ‘यो नेपालीहरूको कथा हो, एउटा नेपाली लेखकले लेखेको कथा हो,’ रञ्जन चित्त दुखाउँदै भन्छन्, ‘नेपाली लेखकले लेखेको किताब भएकाले अन्य नेपाली लेखकलाई जस्तै माया गरिदिनुहोस्, पढिदिनुहोस्।’

    ‘कथा पढ्दा मन परेन भने त्यो मेरो असफलता होला तर लेखकका रूपमा मैले एउटा मौलिक कृति दिने प्रयास गरेको छु,’ रञ्जन भन्छन्। गत साता मात्र उनी अमेरिकाबाट आइपुगेका हुन्। उनी अझै केही समय नेपाल बस्नेछन् र पुस्तकमाथि चर्चा गर्नेछन्। उनी एउटा लेखकबाट साहित्यकार बनिसकेका छन्। प्रमाणका रूपमा उनको कथासंग्रह छ। अब उनी अर्को के लेख्लान् त? ‘मभित्रको एक्लोपना, मैले महसुस गरेको आउटसाइडरनेस अझै मरिसकेको छैन,’ उनी भन्छन्, ‘मैले ४६ वर्षे जीवनकालमा भोगेको त्यो एक्लोपनमाथि संस्मरण लेख्न सक्छु। थाहा छैन, अरूका लागि त्यो कत्तिको रोचक होला तर मभित्रको क्षुधा भने मेटिएला होला कि?’

  • तपाईंको आजको राशिफल

    तपाईंको आजको राशिफल

    मेष राशिः धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। मित्रसँग वैचारिक एकताको समय रहेको छ। स्वदेश, विदेश यात्राको योग छ। विद्यार्थीका लागि पढाइ, लेखाइमा रुचि बढ्ने योग छ। उन्नति प्रगति हुने दिन छ।

    वृष राशिः ठुला र नविन कार्यमा हात नहाल्नु राम्रो हुन्छ। विद्यार्थीका लागि पढाई राम्रो छ। नेत्र रोगको समस्या देखिन सक्छ। व्यवसायमा सामान्य लाभ देखिन्छ।

    मिथुन राशिः वाणी प्रभाव वढ्ने छ। दिमागी कार्यमा वृद्धि र सफल हुने दिन छ। स्वास्थ्यमा सामान्य बाधा देखिन्छ। सन्चित धन खर्च हुने समय छ। अध्यापनमा सफलता मिल्ने छ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्नेछ।

    कर्कट राशि: दाम्पत्य सम्बन्ध राम्रो रहनुका साथै पारिवारिक सदस्यबीच सुमधुर सम्वन्ध रहने छ। पुराना व्यक्तिबाट लाभ मिल्नेछ। मित्रको सहयोगबाट सुरु गरिएको कार्यमा सफलता मिल्नेछ। पढाईमा रुचि बढ्नेछ।

    सिंह राशिः कार्यमा योग्यता अनुसारको सुविधा मिल्नेछ। भ्रमण गर्नु शुभ छ। स्वास्थ्यमा सामान्य राम्रो छ। वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ। व्यवसायमा फल प्राप्तिको समय राम्रो छ।

    कन्या राशिः दाम्पत्य जीवनमा वैचारिक एकतामा बाधा हुने समय छ। वैदेशिक इष्टमित्रबाट सहयोग पाउन समय लाग्नेछ। जागिर प्राप्त हुने योग छ। दाजुभाइबीच कार्य गर्दा शुभ छ। रोजगारबाट कम फल मिल्ने देखिन्छ।

    तुला राशिः विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। सामान्य शिर रोग देखा पर्न सक्ने छ। नयाँ काममा मतान्तर हुन सक्ने हुँदा, जोगिनु नै बेस हुनेछ । साथीहरुबाट सहयोग मिल्ने समय देखिन्छ।

    वृश्चिक राशिः परिश्रमको कम लाभ प्राप्त हुनेछ। आफन्तसँग रमणीय भेटघाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। बस्त्र सम्वन्धी व्यवसायमा राम्रो छ। समाजिक पद र सम्मान मिल्ने छ।

    धनु राशिः आफन्तसँग शुभ भेटघाट हुँदा पुरानो धन प्राप्त हुने समय छ। राजनीतिक सम्मान प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ। यात्रामा सफलता मिल्ने छ।

    मकर राशिः व्यापार व्यवसायमा फल प्राप्तिको समय छ। कठिन पराक्रमबाट कार्यसिद्धि हुने र राम्रो फल प्राप्त हुनेछ। सम्मान प्राप्त हुने दिन छ। अध्ययनको क्षेत्रमा दिन शुभ रहेको छ। उपलब्धिपूर्ण आर्थिक लाभ हुनेछ।

    कुम्भ राशिः वैदेशिक यात्राको योग देखिन्छ। भूमि लाभको योग छ। माया प्रेमभावले पारिवारिक सदस्यहरुबीच शुभ सम्वन्ध रहने छ। आर्थिक लाभ हुने दिन रहेको छ। प्रगतिले परिवारमा समृद्धि ल्याउने छ।

    मीन राशिः प्रेम आकर्षणमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। वाणी प्रभाव वढ्ने छ। विद्यार्थीका लागि अध्ययनमा रुचि बढ्ने छ। आर्थिक लाभ कम हुने दिन रहेको छ।

  • पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजदेखि १६ दिन बन्द

    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग आजदेखि १६ दिन बन्द

    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड आजदेखि १६ दिनसम्म बन्द हुने भएको छ। स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रुपमा बन्द गरिएको हो।

    रानीटारीदेखि हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए। व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं. ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे।

    व्यास नगरपालिका–५ रानीटारीदेखि म्याग्दे गाउँपालिका हुदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ।

    कूल एक हजार नौ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार छ सय मिटर काम पूरा भएको छ भने नौ किलोटिर नाला लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिए। ‘आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ’,उहाँले भन्नुभयो ‘उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।’रासस