Blog

  • विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर

    विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर

     नेपालमा विवाहितको भन्दा अविवाहितको कमाइमा बढी कर लाग्ने व्यवस्था छ । यस्तो व्यवस्थामाथि संसद्‍मा प्रश्न उठेको छ ।

    नेपाली कांग्रेसकी सचेतक सुशिला थिङका अनुसार कानुनतः परिवार भन्नाले आमा, बुबा, छोरा, छोरी, पति, पत्नि, बाजे, बज्जै र सौतेनी आमा पर्दछन् ।

    ‘बाबु र आमाको मृत्यु भइसकेपछि अविवाहित व्यक्तिको परिवार नै हुँदैन । त्यो बेलामा राज्य अभिभावक हुनुपर्नेमा उल्टै राज्यले अविवाहितको कमाइमाथि गिद्धे नजर लगाइ अविवभाहितको कमाइमा बढी कर लगाउँदै आएको छ’, सांसद थिङ असन्तुष्टि व्यक्ति गरिन् । यसमा पुनरावलोकन हुनुपर्ने उनको माग छ ।

    ‘के राज्यले अविवाहितलाई कर लगाउने बाहेक अन्य कुनै करको दायरा भेटेनछन ?’ उनी थप्छिन्, ‘यदि राज्यलाई विभेद गरी कर उठाउन लाज लाग्दैन भने हामी अविवाहितबाट बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहितहरू सबै कमाइ राज्यलाई बुझाउन तयार छन् ।’ अन्यथा, राज्यले करमा विवाहित र अविवाहित भनेर करमा गरेको विभेद हटाउनुपर्ने उनको माग छ । ‘अविवाहित र विवाहित भनेर कर उठाउन पाइँदैन । यस्तो विभेदकारी कर नीति यसपालीदेखि खारेज गरियोस्’ उनले माग गरिन् ।

  • एसपी खड्काको १४ महिने उपलब्धि

    एसपी खड्काको १४ महिने उपलब्धि

     जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) रूपेश खड्काले आफ्नो कार्यकालमा गरेका कार्यप्रगति सार्वजनिक गरेका छन् । ९ फागनु २०८० मा कार्यालयको जिम्मेवारी सम्हालेका खड्का आफ्नो १४ महिने कार्यकाल सकेर सरूवा भएपछि यो अवधिमा गरेका उपलव्धीहरू सार्वजनिक गरेका हुन् ।

    प्रमुखको रुपमा कार्यरत रहँदा खड्काले सुर्खेत जिल्लाको शान्ति सुरक्षा, अमन चयन, अपराध नियन्त्रण तथा अनुसन्धान, विपद व्यवस्थापन जस्ता क्षेत्रमा कुशलताका साथ कार्य सम्पादन गरेका छन् । जनताको जिउधनको सुरक्षाको सुनिश्चितता गर्दै समाजमा प्रहरी प्रति सकारात्मक भावनाको विकास गर्नु खड्काको मुख्य उपलब्धी हो । आफ्नो कार्यकालमा चालु मुद्दाका ६१३ मध्य फैसला भएका तर लगतमा फरारका २९२ जना प्रतिवादी पक्राउ गरेर अदालतको जिम्मा लगाएका छन् ।

    विगतका बर्षहरुमा कार्यान्वयनमा रहेका अन्य तथा गम्भिर कसुरका १४ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ९७८ जना हराएका मानिस मध्ये ९५९ मानिस फेला पारेर आफन्तसँग पुनर्मिलन खड्काले गराए । तीन हजार ९०३ उजुरीहरुको शतप्रतिशत सम्बोधन गरी अपराध नियन्त्रण तथा अनुसन्धानमा बिशेष भुमिका खड्काले पूरा गरेका छन् । प्रहरी कर्मचारीको आचरण र अनुशासनमा विशेष ध्यान दिई उत्प्रेरित जनशक्तिबाट कार्य सम्पादन उत्कृष्ट गर्नमा सुधारात्मक काम खड्काले गरेका छन् । कर्मचारीहरुको सामान्य स्वास्थ्य परिक्षण, सामुहिक भोजन तथा मनोरञ्जन, प्रहरी कर्मचारीलाई ईच्छाएको युनिटमा आन्तरिक काज, श्रीमान श्रीमती रहेका प्रहरी कर्मचारीहरुलाई नजिक हुने गरी आन्तरिक खटन जस्ता कार्यहरु गरी प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्ने कार्य उनले गरेको एक प्रहरीले बताए ।

    घटना न्युनिकरण, घटित घटनाको तत्काल सम्बोधन तथा ग्रामिण क्षेत्रसम्मका समस्या सम्बोधनका लागी ४१ LRP र १०४०२. सुरक्षित समाजका लागी विभिन्न निकायसंग समन्वय गरी ६० वटा र बबई नाकामा ANPR का लागी ३ वटा क्यामेरा जडान खड्काकै कार्यकालमा पूरा भएको छ । सडक दुर्घटना र अपराधका घटनाहरू न्युनिकरणका लागि वीरेन्द्रनगर बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडानका लागि सरोकारवाला निकायसँग समन्वय गरी जडानका प्रक्रिया उनको कार्यकालमा शुरू गरिएकोछ ।

    उत्प्रेरित जनशक्तिद्वारा समाजलाई सुरक्षित महशुस बनाउन महत्वपुर्ण योगदान गराउन जहिले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न हौसला दिँदै आफ्नो कार्यकालमा खड्काले प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षको सचिवालय नक्साल र प्रदेश कार्यालय कर्णाली प्रदेश ६ पटक पुरस्कृत गराउन सफल भए । खड्का प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखा नक्सालमा सरुवा भएका छन् ।

  • आर्थिक वर्ष सकिन २ महिना बाँकी, ३४ प्रतिशतमात्र विकास खर्च

    आर्थिक वर्ष सकिन २ महिना बाँकी, ३४ प्रतिशतमात्र विकास खर्च

    कमजोर विकास खर्चको सिलसिला चालु आर्थिक वर्ष २०८१/८२ मा समेत दोहोरिएको छ ।

    चालु आव १० महिना (साउन–वैशाख) सम्म सरकारले लक्ष्यको ३४.१६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । अब आव सकिन २ महिनामात्र बाँकी छ ।

    यस वर्ष सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर पूँजीगत बजेट विनियोजन गरेको छ । जसमध्ये वैशाख मसान्तसम्म १ खर्ब २० अर्ब रुपैयाँ खर्च गर्न सकेको छ ।

    सरकारले गत आव यसै अवधिमा लक्ष्यको ३७ प्रतिशत विकास बजेट खर्च गरेको थियो । सरकारले जेठ र असार लागेसँगै विकासका गतिविधि र खर्चको गति बढाउँछ । जुन असारे विकासका नाममा बदनाम छ ।

    आवको बाँकी दुई महिनामा लक्ष्य अनुसार विकास बजेट खर्च गर्ने हो भने अब २ खर्ब ३१ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विकास बजेट खर्च गर्नुपर्छ । जुन मासिक १ खर्ब १५ अर्ब ९८ करोड ८८ लाख र दैनिक ३ अर्ब ८६ करोडका दरले खर्च गर्नुपर्छ । अहिले दैनिक ४० करोडका दरले मात्र विकास खर्च भएको तथ्यांक छ । उता, चालु खर्च भने लक्ष्यको ६७.७९ प्रतिशत पुगिसकेको छ । यस वर्ष ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ चालु बजेट विनियोजन भएको छ । १० महिनासम्म ७ खर्ब ७३ अर्ब २२ करोड ६७ लाख रुपैयाँ चालु बजेट खर्च भइसकेको छ । जुन लक्ष्यको ६७.७९ प्रतिशत हो ।

    चालु, पूँजीगत र वित्तीय व्यवस्थासहित कुल बजेट खर्च ११ खर्ब ५७ अर्ब ८९ करोड २५ लाख पुगेको छ । जुन यस वर्ष विनियोजनको तुलनामा ६२.२४ प्रतिशतमात्र हो ।

    यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । वित्तीय व्यवस्थातर्फ १० महिनामा २ खर्ब ६४ अर्ब २८ करोड खर्च भइसकेको छ । जुन लक्ष्यको ७१.९६ प्रतिशत हो ।

    यस वर्ष पूँजीगत खर्चभन्दा वित्तीय व्यवस्थामा बढी बजेट विनियोजन भएको छ । जुन ऋणको साँवा–ब्याज भुक्तानी तथा सेयर लगानीमा खर्च हुन्छ ।

    राजस्व लक्ष्यभन्दा धेरै टाढा

    उता, राजस्व संकलन भने यस वर्ष लक्ष्यभन्दा निकै टाढा देखिन्छ । १० महिनामा लक्ष्यको ६४.९९ प्रतिशत राजस्व उठेको छ । १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ९ खर्ब २२ अर्ब ४३ करोड १९ लाख संकलन भएको छ ।

    कर राजस्व लक्ष्यको ६४.५५ र गैरकर राजस्व ६९.२ प्रतिशत उठेको छ । वैदेशिक अनुदान वैशाखसम्म लक्ष्यको २४.२६ प्रतिशत अर्थात् १२ अर्ब ६९ करोड रुपैयाँमात्र उठेको छ । यस वर्षको लक्ष्य ५२ अर्ब ३२ करोड रुपैयाँको हो ।

    आम्दानी र खर्चबीच २ खर्बभन्दा ठूलो खाडल

    अन्य आम्दानी, राजस्व र वैदेशिक अनुदानबाट कुल ९ खर्ब ४६ अर्ब ३३ करोड ४३ लाख आम्दानी भएको छ । उता, सरकारको खर्च भने ११ खर्ब ५७ अर्ब ८९ करोड पुगेको छ । यस प्रकार सरकारको आम्दानी र खर्चबीच २ खर्ब ११ अर्ब ५५ करोड बराबर खाडल छ । यसलाई परिपूर्ति गर्न सरकारले ऋण काढ्नुपर्ने अवस्था छ ।

  • चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई

    चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई

     प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले बिहीबार भेट गरेको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने सगरमाथा संवादको सफलताको कामना गर्दै दुई देशबीचको लामो र मित्रवत् सम्बन्धलाई अझ अभिवृद्धि गर्न चीन तत्पर रहेको बताए । उनले नेपालको विकास र समृद्धिका लागि चीनियाँ नेतृत्वको शुभेच्छा रहेको अवगत गराउँदै गत डिसेम्बरमा प्रधानमन्त्री ओलीबाट भएको चीनको औपचारिक भ्रमण सफल रहेको स्मरण गराए ।

    प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि मित्रवत र समस्यारहित एवम् हार्दिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले विकास र प्रविधिमा गरेको प्रगतिको विश्वव्यापी प्रभावबाट आफू प्रसन्न रहेको बताए । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चीनफिङको पछिल्लो नेपाल भ्रमणको स्मरण गर्दै उक्त भ्रमण बहुआमिक र ऐतिहासिक रहेको उल्लेख गरे ।

    उनले नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै दुई देशबीच भएका सहकार्यका सम्झौताको कार्यान्वयनका लागि सबै पक्षबाट अग्रसरता लिनुपर्नेमा जोड दिए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि चिनियाँ राजदूत चन सोङ र चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओली, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए ।
  • माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

    पोखरामा माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका- ३२ लामेआहलमा धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    दुर्घटनामा  परी थप ८ जना घाइते भएको कास्की प्रहरीले जनाएको छ  । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ ।

  • दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले रोक्यो एनओसी

    दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले रोक्यो एनओसी

    दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) सरकारले स्थगित गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने र त्यसले दिने प्रतिवेदनको आधारमा थप निर्णय लिइने मन्त्रालयले जनाएको छ ।

    सूचनामा कोरियामा डी टू र डी फोर भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरिएको उल्लेख छ ।

    सरकारले विद्यार्थीहरू (विशेष गरी अन्डर ग्य्राजुएट कोर्स अध्ययन गर्न) सुरुदेखि नै रोजगारीमा बढी प्राथमिकता दिएकाले अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययनको निरन्तरतामा समस्या आउने, कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरेको जस्ता कारण देखाएको छ ।

    मन्त्रालयले विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिक रूपमा भए पनि काम गर्न पाइने भनेर आश्वासन दिने तर उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा पर्ने गरेको गुनासोसमेत आएको जनाएको छ ।

  • भारतमा केही उडान अझै रद्द, यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह

    भारतमा केही उडान अझै रद्द, यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह

    भारतमा केही उडान अझै रद्द यात्रुलाई ट्राभल एड्भाइजरीको पालन गर्न आग्रह
    एयर इन्डियाले मंगलबारका लागि केही उडान रद्द गरेको छ। भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो। तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले केही प्रमुख एयरलाइन्सले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।

    भारतको निजी विमान सेवा प्रदायक एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट हुने उडान रद्द गरेको जानकारी दिएका छन्। एयर इन्डियाले आफ्नो एक्स खातामा लेखेको छ, “हालको घटनाक्रम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मे १३ मंगलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडान रद्द गरिएको जानकारी गराउँछौँ।”

    इन्डिगोले पनि जम्मु, अमृतसर, चण्डीगढ़, लेह, श्रीनगर र राजकोटबाट हुने उडान रद्द गरिएको जनाएको छ।

    यसबीच, भारतीय सेनाले सोमबार जम्मु कश्मीरको साम्बा क्षेत्रमा संदिग्ध ड्रोन देखिएको दाबी गरेको छ, जसले अझै पनि सुरक्षा अवस्था संवेदनशील रहेको संकेत गरेको जनाइएको छ। यात्रुलाई ट्राभल एड्भाइजरीको पालना गर्दै सतर्कता अपनाउन सुझाव दिइएको छ।

  • हुलाक बचत बैंकको रकम अनियमितताको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर

    हुलाक बचत बैंकको रकम अनियमितताको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर

    हुलाक बचत बैंकको रकम अनियमितताको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर
     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    आयोगले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मा लिँदै आएकाहरूले बचतकर्ताको रकमको अभिलेख नराखी आफूखुशी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएकाले मुद्दा दायर गरिएको जनाएको छ।

    उनीहरूले बैंकमा जनताको निक्षेप संकलन गरी बचतकर्ताको पासबुक, लेजरमा मात्रै प्रविष्ट गरेको र कार्यालयको नगदी रजिस्टरमा नराखेको, बैंक दाखिला नगरी आफूखुशी बाँडफाँट गरी अपचलन गरेको अनुसन्धानका क्रममा पाइएको आयोगको ठहर छ।

    जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह, तत्कालीन नासु बलिरामप्रसाद कुर्मीलगायतले पाँच करोड ३५ लाख ६४ हजार २७९ बराबरको रकम हिनामिना गरेको आयोगको अभियोग छ।

    उनीहरुविरुद्ध कैद, जरिबाना र बिगोसमेत असुल उपरको गरी पाऊँ भन्दै आयोगले मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।