Blog

  • हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा

    हङकङ र बहराइनबीचको खेल रद्द भएसँगै नेपाल ‘सुपर थ्री’ मा

     नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश गरेको छ।

    आज तय भएको हङकङ र बहराइनको खेल रद्द भएसँगै नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो । आजको खेल हुँदै हङकङले जितेको खण्डमा नेपालको यात्रा यहीबाटै समाप्त हुने थियो ।

    आफ्नो तेस्रो खेलमा नेपाल हङकङसँग पराजित भएसँगै सुपर थ्री मा पुग्ने सम्भाना निकै कम रहेको थियो । नेपालका लागि या त आजको खेल रद्द हुनुपर्ने या त बहराइनले जित्नुपर्ने थियो । तर बैंककमा टस पनि हुन नपाइ दुवैबीचको खेल रद्द हुनपुग्यो र अंक बाँडे ।

    चार खेलबाट एक हार, एक अंक बाड्दै र दुई जितसहित नेपालको पाँच अंक रहेको छ । यता हङकङको पनि चार खेलमा तीन खेल रद्द हुँदा अंक बाड्दै, एक जितसहित पाँच अंक छ । तर समूहचरणमा दुई खेलमा जित निकालेका कारण नेपाल सुपर थ्रीमा प्रवेश गरेको हो ।

    छनोटमा सहभागी नौ राष्ट्रलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेताले सुपर थ्रीमा प्रतिस्पर्धा गर्नेछन् । सुपर थ्रीको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधान छ ।नेपालले सुपर–थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।

  • इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो

    राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रसँग शुक्रबार सर्वोच्च अदालतको इजलासमा बयान लिइँदै छ । त्यसअघि उनलाई सर्वोच्च अदालत परिसरमा हतकडी खोलिएको छ । इजलासमा लैजानु अगाडि मिश्रको हतकडी खोलिएको हो ।

    यसअघि काठमाडौँ जिल्ला अदालतमा लैजाँदा मिश्रलाई हतकडी सहित लगिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइँदैछ ।

    उनलाई बिहीबार साँझ पनि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

    आज भने मिश्रको रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।  गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो ।
    मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।
  • पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन

    पूर्वप्रधानमन्त्री प्रचण्डलाई पाटनमा अभिनन्दन

    पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ । ‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डलगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिए ।
    आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष प्रचण्डले उक्त जनजागरण अभियानको शुभारम्भ गरेका छन् । यो अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड स्वयंले गर्नेछन् ।

    अभियानमा भाग लिन पार्टीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आइपुगेका छन् ।

    यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।
    अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।
  • उत्पादनबिनाको वितरणले समस्या निम्तायो :  गुरुङ

    उत्पादनबिनाको वितरणले समस्या निम्तायो : गुरुङ

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो समात्न नसक्ने भएकाले राज्यको लगानी पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्दै उनले उत्पादन र वितरणबीचको सन्तुलन मिलाएर समाजवादको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकामा जोड दिए ।

    उत्पादनबिनाको वितरण सम्भव नहुने भएकाले पहिले उत्पादन बढाएर मात्र वितरणमा केन्द्रित हुनुपर्नेमा उनको भनाइ थियो । ‘उत्पादनमा शिथिलता तर वितरणमा प्रतिस्पर्धा र होडबाजीको चलन देखियो । यही कारण हाम्रो राजस्व र चालु खर्चबीच ठूलो खाडल देखिन थालेको छ । हामी लोकिप्रियतावादमा बढी रमाउँदा यस्तो भएको हो । आसेपासे पुँजीवादले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाएको छ’, गुरुङले भने ।

    यस्तै, राष्ट्रको लगानी पुँजी निर्माणमा हुनुपर्ने र आर्थिक सुशासन कायम गर्नका लागि सुझाव दिँदे उनले शिक्षा क्षेत्रमा आमूल रूपान्तरणको आवश्यकतासमेत औँल्याए । विदेशमा पढ्न जाँदा ठूलो रकम खर्च भइरहेको उल्लेख गर्दै उपसभापति गुरुङले स्वदेशभित्र ठूलो मात्रामा आवासीय विद्यालय स्थापना गर्न आवश्यक रहेको बताए ।

    उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नयाँ संस्था खोल्नेभन्दा पनि भइरहेका स्वास्थ्य संस्थालाई साधनस्रोत सम्पन्न बनाइनुपर्ने बताए । ‘सङ्ख्या थपेर मात्रै राम्रो स्वास्थ्य सेवा पाउँछ भन्ने हुँदैन । भएका अस्पताललाई सही व्यवस्थापन, पर्याप्त साधनस्रोत र जनशक्ति दिन आवश्यक छ । त्यसतर्फ बजेटले बढी ध्यान पुर्याउनुपर्छ’, गुरुङले भने । एकीकृत स्वास्थ्य प्रणाली बनाएर बिरामीको सबै पुराना विवरण तथा तथ्याङ्क थाहा हुने व्यवस्था मिलाउन पनि उनले सरकारसँग आग्रह गरे ।
    सांसद गुरुङले आगामी आर्थिक वर्षको बजेटले धार्मिक र साहसिक पर्यटनका लागि लगानी केन्द्रित गर्नुपर्ने सुझाव दिए । ‘भौतिक पूर्वाधार निर्माण गर्दा पनि पर्यटन पूर्वाधारसँग जोड्न सक्नुपर्छ । जलविद्युत्का क्षेत्रमा ठूला जलाशययुक्त आयोजना निर्माणलाई बजेटको  प्राथमिकतामा राख्नुपर्छ । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गरी प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गरिनुपर्ने आवश्यकता छ’, उनको सुझाव थियो ।
    गुरुङले वनमा खेर गइरहेको बहुमूल्य काठ प्रयोगमा जोड दिनुपर्ने, जडीबुटीको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्नुपर्नेलगायत सुझाव प्रस्तुत गरे ।
  • सिंजा गाउँपालिका नराकोटको सार्कीवाडा पूर्ण सरसफाई

    सिंजा गाउँपालिका नराकोटको सार्कीवाडा पूर्ण सरसफाई

     सिंजा गाउँपालिका –३ नराकोट गाउँको सार्कीवाडा २० वटा घरघुरी रहेका छन् । यो टोल बस्तीका हरेक घरधुरीमा स्वच्छ खानेपानीका छन् ।

    सवैका घरमा शौचालय र फोहोर व्यवस्थापन गर्नका लागि खाडल खनिएको छ । यत्रतत्र कतै पनि फोहोर देखिदैन । निकै स्वाच्छ र सफा गाउँवस्ती रहेको छ । प्रत्येक घरधुरीमा भाडा सुकाउने चाङ पनि बनाएको छ । ४ वर्षअघि पेस नेपाल जुम्लाले ७ लाख बजेटमा निर्माण गरिएको खानेपानीको आयोजनाले पानी पिउन, शौचालय प्रयोग गर्न र सरसफाई गर्न निकै सहज भएको स्थानीय लालभक्त सार्की बताउन्छन् । उनले भने, पहिला निकै दुर्गन्धित, यत्रतत्र फोहोरैफोहोर थियो । पछिल्लो समयमा खानेपानी शौचालयदेखि सवै सरसफाई कुरामा ध्यान दिन थालेपछि यो बस्ती निकै स्वच्छ देखिएको हो ।

    पेस नेपाल जुम्लाका कार्यक्रम संयोजक अशोक चौधरीका अनुसार यो बस्तीमा ५/६ वर्षदेखि संस्थाले काम गर्दै आएको छ । उनले भने, अहिले उत्थान परियोजना अन्र्तगत सरसफाईका काम गर्दै आएका छौँ । सरसफाई सवै सुचक पुरा हुँदै आएका छन् । सरसफाईमा अनुगमन निगरानी पनि हुने गरेको छ । शौचालयको सुरक्षित प्रयोग, जोखिमपूर्ण समयमा साबुन पानीले धात धुने अध्यास, महिनावारी स्वच्छता व्यवस्थापन, सुरक्षित खानेपानीको प्रयोग, खानाको स्वच्छता र घर तथा आँगनको सरसफाई जस्ता सुचक यो बस्तीले पुरा गर्दै आएको छ, उनले भने । यी सवै सुचक पुरा गर्दै आएकोले यो बस्तीलाई पूर्ण सरसफाई घोषण गर्ने तयारी गरिएको संयोजक चौधरीले बताए ।

  • अख्तियारमा गोकुल बास्कोटाको बयान– टेरामक्स प्रविधि खरिदको शुरुवात मैले गरेको होइन

    अख्तियारमा गोकुल बास्कोटाको बयान– टेरामक्स प्रविधि खरिदको शुरुवात मैले गरेको होइन

    पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले नेपाल दुरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधि खरिदको शुरुवात नगरेको जिकिर गरेका छन् ।

    टेरामक्स खरिद प्रकरणमा मुछिएपछि अख्तियारमा बयान दिँदै उनले आफूभन्दा अघिल्ला मन्त्रीले नै त्यसबारे निर्णय लिएको बयान दिएका हुन् ।

    उनले अख्तियारमा बयान गर्दै भनेका छन्, ‘टेरामक्स मैले सुरु गरेको होइन र मैले कार्यभार सम्हाल्नु पूर्व नै प्राधिकरणले टेन्डर लगायत काम गरी दायित्व सृजना गरेको रहेछ ।’

    पूर्वमन्त्री बास्कोटामाथि टेरामक्स प्रविधि खरिदको बजेट तथा कार्यक्रम स्विकृत गरी खर्च गर्ने अनुमति दिएको आरोप थियो । बजेट तथा कार्यक्रम बनाउने कार्यक्षेत्र प्राधिकरणकै रहेको भन्दै उनले त्यसमा सञ्चार मन्त्रालयको कुनै भूमिका नभएको जिकिर गरेका छन् ।

    उनले आफूले अघिल्ला मन्त्रीहरुको निर्णयबाट दायित्व सिर्जना भएको कार्यक्रमलाई निरन्तरता दिएको मात्रै जिकिर गरेका छन् । ‘मेरो कार्यकाल सुरु हुनु अगावै भइसकेकाले पेस भए बमोजिम नियम अनुसार सहमति दिनैपर्ने भएकाले दिएको मात्र हो’ उनले भनेका छन्, ‘आर्थिक वर्ष २०७४/७५मा नै टेरामक्स कार्यक्रम समावेश भई सरकारको दायित्व सृजना भइसकेकोमा वार्षिक कार्यक्रमको निरन्तरता दिनुपर्ने दायित्व थियो ।’

    उनले उल्लेख गरेको आर्थिक वर्षमा मोहन बस्नेत मन्त्री थिए ।

    बस्नेतसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियारले उनीहरूमाथि ३ खर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरेको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अपराधिक कामको अनुसन्धानमा अदालतको अनुमति लिएर मात्रै नागरिकको व्यक्तिगत सूचनामा राज्यको पहुँच हुने भन्दै बास्कोटाले आफूले अघिल्ला मन्त्रीहरुको निर्णयबाट दायित्व सिर्जना भएको कार्यक्रमलाई निरन्तरता दिएको मात्रै जिकिर गरेका छन् ।

    उनले २५ करोड रुपैयाँ माग भएकोमा ७० करोड रुपैयाँको बजेट स्विकृत गरेका थिए । कुन कार्यक्रमका लागि कति बजेट चाहिन्छ भन्नेबारे प्राधिकरण र त्यहाँका पदाधिकारीहरुले ध्यान दिनुपर्ने विषय रहेको भन्दै उनले दोब्बरभन्दा बढी बजेट अनुमोदन भएको विषयमा आफ्नो संलग्नता नभएको बताएका छन् ।

    उनले बयानमा भनेका छन्, ‘जहाँसम्म २५ करोडलाई ७० करोड गर्न दिइयो भन्ने कुरा छ त्यस विषयमा कतिपय कार्यक्रम दोहोरो परेको, प्राधिकरणको कार्य क्षेत्रसँग मेल नखाएको हटाउनु पर्दा कुल विनियोजित रकम यथावत् राखी कुनै कार्यक्रमका रकम तलमाथि गरेको हुनसक्छ । त्यसमा कार्यान्वयन गर्ने निकायको जिम्मेवारी भएकोले मेरो संलग्नता छैन ।’

    आफूले संसदमा र अन्यत्र पनि नेपालमा टेरामक्स आवश्यक छैन भन्ने अभिव्यक्ति दिएको भन्दै उनले आफूले टेरामक्सका लागि बजेट अनुमोदन गरे पनि त्यो कार्यान्वयनमा जान नसकेको जिकिर गरेका हुन् ।

    उनीसँग बयान लिए पनि अख्तियारले ‘प्रमाणको अभाव देखिएको’ भन्दै मुद्दा नचलाउने निर्णय लियो । टेरामक्स खरिदमा बास्कोटाले कुनै आदेश वा स्विकृती दिएको नदेखिएको अनि खरिदको कुनै पनि चरणमा उनले कारबाही अघि नबढाएको भन्दै अख्तियारले उनलाई प्रतिवादी नबनाउने निर्णय लियो ।

    पूर्वमन्त्री बास्कोटाको बयानको सारसंक्षेप

    बजेट तथा कार्यक्रम राख्ने र स्वीकृत गर्ने काम कानुन नियम बमोजिम प्राधिकरणकै कार्यक्षेत्र भित्र फर्दछ । सरकारको वार्षिक नीति कार्यक्रममा समावेश अनुसार नै बजेट तथा कार्यत्रम हुन्छ । र मन्त्रालयको खासै उल्लेखनीय भूमिका हुँदैन ।

    प्राधिकरण छुट्टै ऐनबाट चल्छ र स्वायत्त संस्था भएकोले नीति कार्यक्रम र बजेट निर्माणमा मन्त्रालयको प्रतिनिधित्व हुँदैन । सरकारको नीतिमा रहेको कुरा बाहेक मन्त्रालयले प्राधिकरणलाई सुझाव दिन सक्ने हो । त्यो कुरा वाध्यकारी समेत हुँदैन ।

    सूचना सम्बन्धी मौलिक हकबारेमा मलाई थाहा छ । आपराधिक कार्यमा अदालती अनुमति लिएर बाहेक कसैले पनि व्यक्तिगत सूचना कानुनले तोकेको बाहेक पहुँच पुर्‍याउन सक्दैन भन्ने सर्वोच्चको फैसलावारे पनि मलाई सामान्यतया जानकारी थियो ।

    आर्थिक वर्ष २०७४–७५ मा नै टेरामक्स कार्यक्रम समावेश भई सरकारको दायित्व सृजना भइसकेकोमा वार्षिक कार्यक्रमको निरन्तरता दिनुपर्ने दायित्व थियो ।

    त्यो कार्यक्रम कानुनसम्मत भए/नभएको र कुन कार्यक्रममा के कति रकम चाहिने भन्नेवारे प्राधिकरणले र सम्बन्धित निकायका पदाधिकारीले कार्यक्रम सुरु गर्दै ध्यान/विचार गर्नुपर्ने हो । जहाँसम्म २५ करोडलाई ७० करोड गर्न दिइयो भन्ने कुरा छ त्यस विषयमा कतिपय कार्यक्रम दोहोरो परेको हुनसक्छ । प्राधिकरणको कार्यक्षेत्रसँग मेल नखाएको विषय हटाउनुपर्दा बजेट बँचेको हुन्छ । कुल  विनियोजित रकम यथावत् राखी कुनै कार्यक्रमका रकम तलमाथि गरेको भए त्यो कार्यान्वयन गर्ने निकायको जिम्मेवारी भएकोले मेरो संलग्नता छैन ।

    यस्ता विषय मन्त्रालयको जिम्मेवारीमा पर्दैनन्, प्राधिकरण कै पदाधिकारीको अधिकारको कुरा हो । टेरामक्स मैले सुरु गरेको होइन र मैले कार्यभार सम्हाल्नु पूर्व नै प्राधिकरणले टेन्डर लगायत काम गरी दायित्व सृजना गरेको रहेछ ।

    कार्यक्रममा प्राधिकरणले समावेश गरेता पनि मन्त्रालयसँग समन्वय भएर खरिद प्रक्रिया र टेन्डर भएको होइन । टेण्डर रद्द सम्मको कुनै जानकारी गराइएको थिएन । मेरो कार्यकालमा सो सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गएकै छैन । मैले संसद्को समिति र थाहा भएसम्म अन्यत्र पनि यो टेरामक्स अहिले आवश्यक छैन भन्ने गरेको छु ।

    केवल ठुलो मात्रामा राजस्व चुहावट भएकोले रोक्न यो प्रणालीको आवश्यकता भएर सुरु भई सकेको भन्ने जानकारी दिइएको थियो । तर कानुन र अदालती फैसलाबारे विश्लेषण र कार्यान्वयन गर्ने दायित्व प्राधिकरण कै हो । अदालती आदेश र कानुन विपरीत कार्य गर्न मैले कुनै आदेश निर्देश दिएको छैन ।

    मेरो कार्यकाल सुरु हुनु अगावै यो प्रक्रिया अघि बढिसकेकाले पेस भए बमोजिम नियम अनुसार सहमति दिनैपर्ने भएकोले दिएको मात्र हो ।(अनलाइनखबर)

  • सल्यानमा घरको छतबाट खसेर एक मजदुरको मृत्यु

    सल्यानमा घरको छतबाट खसेर एक मजदुरको मृत्यु

    सल्यान । घरको छत ढलान गर्ने क्रममा खसेर सल्यानमा एक मजदुरको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा जितबहादुर भण्डारीको घरको छत ढलान गर्ने क्रममा खसेर शारदा–२ भगवती खोला घर भएका ४५ वर्षीय रिमबहादुर बस्नेतको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार तीनतले घरको छत ढलान गर्नेक्रममा बस्नेत खसेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनको जिल्ला अस्पताल सल्यान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।

    छतबाट खसेपछि उपस्थित भएका सबैले तत्काल उद्धार गरेर उपचारका लागि बस्नेतलाई जिल्ला अस्पताल सल्यान पुर्‍याएका थिए । अस्पताल पुर्‍याएपछि जाँच गर्दा डाक्टरले मृत्यु भएको घोषणा गरेका थिए, उनले भने । सव जिल्ला अस्पताल सल्यानमा पोस्टमार्टमपछि दाहसंस्कारका लागि आफन्तलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

  • रुकुम पश्चिमको कारागारलाई सौर्य ऊर्जा सहयोग

    रुकुम पश्चिमको कारागारलाई सौर्य ऊर्जा सहयोग

     रुकुम पश्चिमस्थित कारागार कार्यालयलाई सौर्य ऊर्जा सेट प्रदान गरिएको छ ।

    मुसिकोट नगरपालिका–५ स्थित न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलले कार्यालयलाई सोलार सेट उपलब्ध गराएको हो । कारागार प्रशासक ताराबहादुर कुँवरका अनुसार १५० वाटको सौर्य ऊर्जा सेट प्राप्त भएको हो । उनका अनुसार सौर्य ऊर्जाले कारागारको बन्दी आवास गृहको विद्युत् आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने छ । न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल खड्क कुवँरले विद्यालयको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत कारागारमा सोलार सेट प्रदान गरिएको बताए । उनले कारागारका कैदीबन्दीहरूको आवास गृहमा विद्युत् आपूर्तिमा समस्या आइरहेको जानकारी पश्चात उक्त समस्या समाधान गर्न सौर्य ऊर्जा सेटको व्यवस्थापन गरिएको जानकारी दिए ।

    प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले विद्यालयले गरेको महत्त्वपूर्ण सहयोगको प्रशंसा गरे । उनले विद्युतको अनियमित्ताले समस्या निम्त्याइरहेको बेला सौर्य ऊर्जाको व्यवस्थापन भएको र यसले कैदीबन्दीको आवास गृह उज्यालो बनाउन मद्दत गर्ने बताए । यसैबिच कारागार कार्यालयले विद्यालयलाई कदरपत्र प्रदान गरेको छ । विद्यालयबाट महत्त्वपूर्ण सहयोग भएको भन्दै कार्यालयले कदरपत्रले सम्मान गरेको छ ।

  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

     बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

    आज तोलामा रु. तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु. ३५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ८१ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी रु. एक हजार ९२५ मा बेचबिखन भइरहेको छ ।

    बुधबार प्रतितोला सुन रु एक लाख ८५ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु. एक हजार ९६० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार १६० अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।