Blog

  • खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

    खुल्यो सोमबार रातिदेखि अवरुद्ध बीपी राजमार्ग

     वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ । डाइभर्सनको मर्मतपछि मङ्गलबार बिहान राजमार्ग खुलेको हो ।

    सोमबार रातिको वर्षाका कारण रोशी खोलामा आएको बाढीले सो सडकको माम्ती, डालाबेसी र बोक्सीडाँडामा क्षति पुर्याएको थियो । तीमध्ये अन्य ठाउँमा सडक मर्मतको काम यसअघि नै सकिएको थियो ।

    माम्तीको डाइभर्सन मर्मत कार्यपछि सडक पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए ।

  • राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन : सन्तोष परियार

    राज्य र नागरिकबीच भावनात्मक सम्बन्ध छैन : सन्तोष परियार

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले राज्य र नागरिकबीच भावनाको सम्बन्ध स्थापित हुन नसकेको बताएका छन् ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा सरकारी सम्पतिमाति क्षति पुर्‍याउने काम भएको स्मरण गरे ।

    त्यस दिन आफू समेत सरकारी गाडी चढेका कारण निशानामा परेको उल्लेख गर्दै उनले नागरिक र राज्यबीच भावनाको सम्बन्ध नरहेको प्रमाण यही भएको बताए ।

    नेपाली समाज समृद्ध हुन नसक्दा जनताले विकासको अनुभूत गर्न नसकेको बताए । २००७ साल देखि नै राजनीतिक दलका नेताहरूले विकास गर्छु भनेर राजनीति गर्दै आएको तर, त्यसअनुसार किन विकास हुन सकेन भन्ने जटिल प्रश्न रहेको उनले बताए ।

    यसको सत्य पहिल्याएर अगाडि बढ्दा मात्रै विकास र समृद्धि ल्याउन सक्ने र त्यसले राज्य र जनताको सम्बन्ध भावनात्मक हुने उनको विश्वास छ ।

  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते

    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु ३ घाइते
     रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

    अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना भएको हो। दुर्घटनामा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घाइते हुनेमा जिपचालक दाङको तुलसीपुर उपमहानगरपालिका–७ का लीलमणि भण्डारी, सोही स्थानका लीला ओली र दुर्गा ओली रहेका छन्। सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए।

    घाइतेको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको थियो।

  • अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध :  प्रधानमन्त्री

    अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार  गौतम बुद्ध :  प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् । २५६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका हुन् ।

    “अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार–यिनै हुन् गौतम बुद्ध”, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “बुद्ध जयन्तीले हामीलाई उहाँको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउँछ ।” उनले बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस् भन्ने कामना समेत गरेका छन ।
  • जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

    जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्ति आवश्यक छ : प्रचण्ड

    सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक छ । समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने छ ।’

    माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको निर्वाचन प्रणाली लुटेरा भएको टिप्पणी प्रचण्डको छ । ‘यो लुटेरा प्रणाली भयो, एउटै उम्मेदवारले करोडौँ खर्च गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो परिवर्तन गर्नुपर्ने आवश्यक छ । हामी संविधान संशोधनको पक्षमा छौँ । राजनीतिक स्थायित्व र अर्थतन्त्र कायम गर्नका लागि आवश्यक छ ।’

    साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सङ्घर्ष गर्नुपर्ने प्रचण्डले बताए ।
    अध्यक्ष प्रचण्डले अब माओवादीले कांग्रेस-एमालेको वैशाखी नटेक्ने पनि दाबी गरे । आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने पार्टी बनाउने आफ्नो सङ्कल्प रहेको बताउँदै त्यसका लागि आफू जनतामा फर्किएको उनले उल्लेख गरे ।
    ‘माओवादी पनि बिग्रेको हो की भन्ने जनताको मनमा लागेको होला, अझ घाइते, सहिदले सम्झने नै भए,’ उनले भने, ‘त्यसैले हामी पुनः जनतामा फर्कने प्रयास गरेका छौँ ।’

    फरक प्रसङ्गमा बोल्दै उनले राजावादीहरू कायर भएको बताए । पछिल्लो समय राजावादीहरू सलबलाए उल्लेख गर्दै राजावादीको प्रतिवाद गर्न र उनीहरूको आन्दोलनलाई निस्तेज पार्न सम्पूर्णमा आग्रह गरे ।

  • चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

    चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

     चीन र संयुक्त राज्य अमेरिका (अमेरिका) बीच व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप दुई देशले एक अर्कामाथि लगाइएको भन्सार महसुलमा ११५ प्रतिशतले कटौती गर्ने सहमति गरेका छन्।

    बिगत केही वर्षदेखि जारी व्यापार युद्धका कारण दुवै मुलुकले अर्बौं डलर बराबरका वस्तुहरूमाथि उच्च भन्सार शुल्क लगाउँदै आएका थिए। यसले विश्व व्यापारमा समेत प्रतिकूल असर पारेको थियो। यद्यपि, पछिल्लो चरणमा भएका वार्ताहरू सकारात्मक दिशामा अघि बढ्दै गएपछि दुवै देशले आपसी व्यापार सहज बनाउनका लागि सहमति जनाएका हुन्।

    सोमबार वार्तापछि संयुक्त वक्तव्य जारी गरिएको छ।

    वक्तव्यअनुसार हाल दुवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको छ।

    अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

    चीनको वाणिज्य मन्त्रालय र अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले संयुक्त वक्तव्य जारी गर्दै आगामी तीन महिनाभित्र अधिकांश उच्च शुल्क हटाउने तथा केही मुख्य वस्तुहरूको भन्सार ११५ प्रतिशतले घटाउने निर्णय भएको जनाएका छन्।

    यस सहमतिपछि दुबै देशका प्रमुख उद्योगहरू—जस्तै प्रविधि, कृषि, गाडी, र लुगा कपडाको व्यापारमा राहत आउने अपेक्षा गरिएको छ। विश्लेषकहरूका अनुसार यस कदमले विश्व अर्थतन्त्रमा सकारात्मक संकेत दिनेछ र अन्य मुलुकहरूलाई पनि व्यापारिक सम्बन्ध सुधार गर्न प्रेरणा मिल्नेछ।

    व्यापार सम्झौताको विस्तृत कार्यान्वयन प्रक्रिया आगामी महिनाहरूमा सार्वजनिक गरिने बताइएको छ।

  • कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

    कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने

    whatsapp sharing button
    sharethis sharing buttonkarnali rajmarga
     कर्णाली राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । कर्णाली राजमार्गको दैलेखको सिस्ने–साई सडक खण्ड मर्मत गर्नका लागि १५ दिनसम्म दैनिक आठ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखले एक सूचना प्रकाशित गर्दै सडक निर्माण कार्यका कारण यो निर्णय गरिएको जानकारी गराएको छ । प्रशासनका अनुसार बिहान ८ बजेदेखि १२ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सो सडक खण्ड बन्द रहनेछ ।

    जिल्ला प्रशासन कार्यालय दैलेखका अनुसार निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको सिस्नेदेखि साइ खण्डमा निर्माणका क्रममा समस्या भएको र वैकल्पिक रुट दिएर सडक बन्द गरेको हो ।

    रामाघाट–साई खण्डको दुरी झण्डै १८ किलोमिटर छ । मध्यपहाडी भएर साइ निस्कनु पर्ने सवारीले झण्डै ३२ किलोमिटर लामो दूरी पछ्याउनु पर्नेछ । सिस्ने साई खण्डको १२ किलोमिटर दुरीको सडक बिग्रिएपछि नयाँ ठेक्का व्यवस्थापन गरिएको छ ।

  • नागरिकले प्रत्यक्ष देख्नेगरी खानेपानी क्षेत्रमा काम भएको छ : मन्त्री यादव

    नागरिकले प्रत्यक्ष देख्नेगरी खानेपानी क्षेत्रमा काम भएको छ : मन्त्री यादव

    खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् ।

    सोमबार बाराको कलैया उपमहानगरपालिकास्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरीका खानेपानीका समस्या समाधानका लागि आफू सहित सिङ्गो मन्त्रालयको टिमले काम गरिरहेको बताए ।

    ‘हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ,’ उनले भने ।

    यसैगरी आफूले मन्त्रालय सम्हालेपछि देशका विभिन्न स्थानमा रोकिएका एवं अधुरा रहेका खानेपानी आयोजनाहरू सञ्चालनमा आएको उनको भनाइ थियो । पानीको गुणस्तर, पहुँच र व्यवस्थापनमा सुधार ल्याउन मन्त्रालय निरन्तर लागिपरेको मन्त्री यादवले उल्लेख गरे ।

    ‘हाम्रो अबको प्राथमिकता भनेको तराई–मधेस सहित देशका ग्रामीण बस्तीमा शुद्ध खानेपानी पुर्‍याउने हो, यसका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्यमा काम भइरहेको छ,’ मन्त्री यादवले भने ।

    नागरिकले अनुभूति गर्न सक्ने खानेपानी सेवामा सुधार ल्याउनेतर्फ सरकार प्रतिबद्ध रहेको समेत मन्त्री यादवले बताए । कलैया उपमहानगरपालिका अन्तर्गतका वडा नं १५, २६ र २७ मा सञ्चालन हुने यो आयोजना यहाँका नागरिकहरूको खानेपानीका क्षेत्रमा दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको समेत उनको भनाइ थियो ।

    तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको र विशेषगरी तराई–मधेशका बारा, पर्सा, रौतहट गायतका अन्य जिल्लाहरुमा पनि पछिल्लो समय खानेपानीको गम्भीर समस्या देखिएकाले ती क्षेत्रमा खानेपानीका समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गरिन थालिएको उनले बताए ।

    शिलान्यास गरिएको उक्त आयोजनाले कलैया उपमहानगरपालिकाका करिब १५ हजार ५६५ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरगञ्जका प्रमुख बिपुलकुमार दासले जानकारी दिए ।

  • कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

    कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

     ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक खर्ब २१ करोड रकम असुल गर्नुपर्ने निष्कर्षसहित मुद्दा दायर भएको छ ।

    देवमाथि राजस्व अनुसन्धान विभागले ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित पाटन उच्च अदालतमा मुद्दा दर्ता गराएको हो ।

    ‘राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान तथा तह किकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको छ,’ विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।

    काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने उक्त कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बंैकमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको अभियोग– पत्रमा उल्लेख छ ।

    यस्तै, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेस गरेको, मालसामान खरिदको स्रोत पुष्टी नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागले अनुसन्धानबाट खुलाएको छ ।

    विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ विपरीत कार्य गरी सोही ऐनको दफा ४ बमोजिमको कसुर गरेको पुष्टि भएकाले प्रतिवादी देवलाई सोही ऐनको को दफा २ (छ १) बमोजिम मूल्य अभिवृद्धि करतर्फ रु ४५ करोड ८० लाख ८३ हजार ४३४ र आयकरतर्फ रु १४ करोड ६५ लाख ३१ हजार ८२४ बिगो बराबरको राजस्व छली गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

    सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो असुल तथा बिगोको शतप्रतिशत जरिवाना गरी एक अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ असुलउपर गर्न तथा ऐनको दफा २३ को उपदफा (१)(घ) बमोजिम कैद सजायको मागदावी लिई अभियोगपत्र दायर गरिएको उनले बताइन् ।