Blog

  • अव पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

    अव पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने

    नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

    पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।

    प्रमुख आचार्यले भने, ‘पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । हाल ती संरचनामा ‘चार्ज’ गर्ने र मिटरको गुणस्तर परीक्षणको काम भइरहेको छ ।’

    निगमले पाइलपाइनबाट गत असोज १८ गते पाँच हजार पाँच सय किलोलिटर पेट्रोल र गत मङ्सिर २६ गते एक हजार किलोलिटर मट्टितेल अमलेखगन्ज झारेको थियो । अब निरन्तर पाइपलाइनबाट डिजेलका साथै पेट्रोल र मट्टितेल ल्याउन सक्ने स्थितिमा निगम पुगेको छ । पेट्रोलियम पदार्थको संवेदनशीलतालाई मध्यनजर गर्दै हाल विस्तृत परीक्षणको काम भइरहेको छ ।

    ‘स–साना ‘लिकेज’ हुन सक्छ कि भनेर सुक्ष्म रूपमा निगरानी गरिरहेका छौँ यसै महिनाको अन्तिम साता पाइपलाइन परियोजनाको दोस्रो चरणको काम उद्घाटन गर्ने योजना छ । यसपछि क्रमशः पाइपलाइनबाट पेट्रोल र मट्टिटेल अमलेगन्ज आउनेछ’, कार्यालय प्रमुख आचार्यले भने, ‘ट्रक ट्याङ्करका तुलनामा पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात गर्नु धेरै नै सुरक्षित मानिन्छ । पाइपलाइनबाट इन्धन आउन थालेपछि ट्रकट्याङ्कर दुर्घटना, इन्धन चोरी तथा मिसावट र वातावरणीय प्रदूषणलगायत समस्याको अन्त्य हुनेछ ।’

    पाइपलाइनबाट दैनिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ अमलेखगन्ज ल्याउन सकिन्छ तर पेट्रोलियम पदार्थको माग नबढेकाले पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुने अवस्था भने बनेको छैन । ‘दैनिक छ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गर्नुपर्ने अवस्थामा निगम पुगेको छैन”, प्रमुख आचार्यले भने, ‘डिजेल, पेट्रोल र मट्टितेल पाइपलाइनबाटै आयत हुन थालेपछि भने पूर्ण क्षमतामा सञ्चालन हुन सक्छ ।’

    यसलाई दक्षिण एसियाको पहिलो अन्तरदेशीय पाइपलाइन परियोजना भनिएको छ, जसको कुल लम्बाइ ६९ दशमलव दुई किमी रहेको छ । यसमध्ये भारततर्फ ३३ किमी र नेपालतर्फ ३६ दशमलव दुई किमी रहेको छ । विसं २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले सो परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

    निगमको मधेस प्रादेशिक डिपो अमलेखगन्जबाट विराटनगर, भैरहवा, थानकोट, पोखरा, वीरगन्ज, जनकपुरस्थिति डिपोमा इन्धन आपूर्ति हुँदै आएको छ । अमलेखगन्जबाट स्थानीयस्तरका पम्पका लागि पनि पेट्रोलिमय पदार्थ बिक्रीवितरण हुँदै आएको छ ।

    पूर्ण ‘अटोमेसन’मा अमलेखगन्ज डिपो

    करिब पाँच दशकदेखि सञ्चालित अमलेखगन्ज डिपो पूर्ण ‘अटोमेसन’मा जाँदैछ । पाइपलाइन परियोजनाको दोस्रो चरणअन्तर्गत डिपोमा पेट्रोल, डिजेल र मट्टिटेल भण्डारणका लागि चार वटा नयाँ ‘भर्टिकल ट्याङ्क’ निर्माण गरिएका छन् । पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न दुई वटा ‘ट्रान्समिक्स ट्रयाङ्क’ र अग्नि नियन्त्रण प्रणालीको व्यवस्था गरिएको छ ।

    ट्रक ट्याङ्करमा इन्धन भर्नका लागि थप २४ वटा पूर्णस्वचालित ‘लोडिङ–वे’, अत्याधुनिक प्रयोगशालालगायत संरचना निर्माण गरी परीक्षण सम्पन्न गरिएको परियोजनाका इन्जिनियर प्रशान्त भट्टराईले जानकारी दिए । ‘२४ वटा लोडिङ–वेमा पेट्रोल र डिजल ट्याङ्कर भर्नका लागि टप फिलिङ र बटम फिलिङको व्यवस्था गरिएको छ’, उनले भने, ‘भण्डारण ट्याङ्क र नयाँ लोडिङ–वे करिब आठ सय मिटरको अन्तरमा छ, यसले डिपोलाई झन् सुरक्षित बनाएको छ ।’

    मुलुकमा पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण प्रणालीलाई सुनिश्चित गर्न विसं २०३० मा अमलेखगन्ज डिपोको निर्माण सुरु गरिएको थियो । करिब ६७ हजार सात सय २४ वर्गमिटरमा फैलिएको सो डिपो निर्माण सम्पन्न गरी २०३३ माघबाट सञ्चालनमा आएको थियो । यो देशकै सबैभन्दा ठूलो डिपोका रूपमा रहेको छ ।

    अमलेखगन्जस्थित डिपोमा हाल १५ हजार एक सय १० किलोलिटर पेट्रोल, २४ हजार आठ सय १० किलोलिटर डिजेल र दुई हजार दुई सय ७० किलोलिटर मट्टितेलको भण्डारण क्षमता रहेको छ । सरकारले सातै प्रदेशमा कम्तीमा तीन महिनाको माग धान्न सक्ने गरी भण्डारण क्षमता विस्तारको योजना अघि सारेको छ । सोही योजनाअनुसार निगमले हाल विभिन्न प्रदेशमा भण्डारण क्षमता विस्तारका कार्यक्रम अघि बढाइरहेको छ ।

    अमलेखगञ्ज–लोथर पाइपलाइन विस्तार छिट्टै

    पाइपलाइन परियोजनाको तेस्रो चरणअन्तर्गत अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने योजना कार्यान्वयनका क्रममा छ ।

    लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार परियोजनामा सहयोग गर्न इण्डियन आयल कर्पोरेशसनको विज्ञ टोली नेपाल आएको छ । ‘परियोजना विस्तारका लागि पुनः सर्भे हुनुपर्ने देखिएको छ, पाइपलाइन जाने मार्गमा रहेका वन र आरक्ष क्षेत्रका बारेमा पनि अध्ययन भइरहेको छ’, प्रमुख आचार्यले भने, ‘सम्भवतः अर्को महिनादेखि लोथरसम्म पाइपलाइन विस्तार परियोजनाको काम अघि बढ्छ ।’

  • जाडोमा छालाको स्याहार गरौं

    जाडोमा छालाको स्याहार गरौं

    पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जोडबाट जोगिन र छालाको स्याहार गर्न बढी सतर्कता आवश्यक हुन्छ । विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै अङ्ग चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ ।

    निजामती अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा प्रज्जवल पुडासैनीका अनुसार जाडो मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ । ‘हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी (सिवेसियस ग्लान्ड) एकदम कम हुन्छ । त्यसैले छालामा ओस (मोस्चइर) प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ’, उनले भने ।

    जाडो महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, टुट्ने र चायाँ पनि अत्यधिक पर्ने डा पुडासैनीको भनाइ छ । उनले भने, ‘शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउने (जेरोटिक एक्जिमा) ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, बिमिरा आउने, पाक्नेलगायत समस्या आउन सक्छन् । एटोपिक एक्जिमा हुन सक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ । हात खुट्टाका आँैला चिलाउने, सुन्निने समस्या ‘चिल्बिलेन्स’ पनि बढी देखिन्छ ।’

    जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन् । एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र सङ्क्रमण हुनु हो । डा पुडासैनीले भने, ‘जाडोमा बढी देखिने ‘सोरायसिस’ पनि हो, जसलाई कत्ले रोग पनि भनिन्छ । कुहिना, ढाड, घुँडा, कपालमा फुरफुर फुस्रो खालको छालाको पत्र कत्ला निस्किने हुन्छ । जाडोमा डन्डिफोर पनि बढ्छ । छाला सुक्खा भएर प्राकृतिक रूपमा तेल निकाल्ने ग्रन्थी (सिबेसियस ग्लान्ड) झन् सक्रिय हुन्छ जसले गर्दा डन्डिफोर आउँछ ।’

    वीर अस्पतालकी छाला तथा यौन रोग विशेषज्ञ प्रा डा अनुपमा कार्की जाडो मौसममा बहिरङ्ग सेवा (ओपिडी) मा धेरैजसो छाला सुक्खा हुने, एलर्जी हुने, छाला खस्रो हुने, फुट्नेलगायत समस्या लिएर आउने गरेको बताउछिन् । जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने उनको भनाइ छ । ‘प्रायः मान्छे जाडोमा कम नुहाउँछन् । लुगा फेर्न अल्छी गर्छन् । समय–समयमा सिरक, डसना घाममा सुकाउँँदैनन् । त्यसैले लुतोको समस्या लिएर आउने बिरामी पनि छन्’, उनले भनिन् ।

    जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताइन । ‘जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्’, उनले भनिन् ।

    जाडोमा छालाको स्याहार गर्न बेला–बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय रहेको डा पुडासैनीको सुझाव छ । ‘चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ । नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ । नुहाइसकेपछि अलि–अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ । नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पु¥याउँछ’, उनले भनिन् ।

    डा कार्की छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानुपर्ने बताउछिन् । अधिकांशले जाडोमा पानी कम पिउनाले पछि छाला सुक्खा हुने र खुम्चिने हुन सक्ने बताउँदै उनले भनिन्, ‘पानी प्रशस्त पिउनुपर्छ । कडा खालको सुक्खा बनाउने फेसवास, ह्यान्ड वास प्रयोग गर्नुहुँदैन । सनब्लक क्रिम तथा मोस्चराइजर अनिवार्य लगाउने गर्नुपर्छ । धेरै तातोपानीको प्रयोग गर्नुहुँदैन, यसले थप छाला सुक्खा बनाउँछ । छालासम्बन्धी केही समस्या आए छालारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ ।’

  • दुनै–लासिक्याप सडक ट्रयाक निर्माण सुरु

    दुनै–लासिक्याप सडक ट्रयाक निर्माण सुरु

    डोल्पा सदरमुकाम दुनैबाट माथिल्लो डोल्पाको मरिमसम्मको एक सय किलोमिटर सडकमध्ये २५ किलोमिटर खण्डको ट्रयाक निर्माण सुरु भएको छ ।

    भेरी करिडोर सडक आयोजनाअन्तर्गत सदरमुकाम दुनैसम्म यातायात सञ्चालन भए पनि सो भन्दा माथिल्लो भेगमा सडक सुविधा छैन । दुनै–लासिक्याप सडक निर्माण सुरु भएसँगै सो भन्दा माथिल्लो भेगमा नेपाली सेनाले काम गर्ने छ । हाल २५ किलोमिटर सडकखण्डभित्र ट्रयाक निर्माण तीव्र बनाएको आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए ।

    लासिक्याप–मरिमको लम्बाइ ७५ किलोमिटर छ । उक्त ठाउँमा नेपाली सेनाले ४० किलोमिटर ट्रयाक निर्माण पहिले गरिसकेको आयोजना प्रमुख रञ्जितकारले बताए । दुनैबाट लासिक्याप २५ किलोमिटर छ भने लासिक्यापबाट मरिम ७५ किलोमिटर छ । २०८२ पुस १६ गते निर्माण पूरा गर्ने गरी सडक निर्माणको जिम्मेवारी सूर्य–श्रेया–शान्ति देवी जेभी काठमाडौँले २०७८ चैत १७ गते रु १३ करोड ४२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

    भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राख्नुका साथै त्रिदेशीय पारवहनमा सजिलो हुने भएकाले छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय मार्गलाई महत्वका साथ हेरिएको छ । यो करिडोर सम्पन्न भएमा सबैभन्दा छोटो त्रिदेशीय मार्ग बन्नेछ । सेनाले भेरी करिडोरअन्तर्गतका जाजरकोट–डोल्पा सडक वि.सं. २०६५ मा निर्माण सुरु गरेको थियो ।

    ट्रयाक खुलेसँगै सेनाले उक्त एक सय १८ किलोमिटर सडक २०७६ सालमा भौतिक पूर्वाधार मन्त्रालयलाई हस्तान्तरण गरेको थियो । दुनैबाट मरिम नाकासम्मको एक सय किलोमिटरमध्ये नेपालतर्फको ४० किलोमिटर सडक निर्माण भइसकेको छ । दुनैबाट धोसम्म सडक बन्न बाँकी छ ।

    जाजरकोटबाट दुनैसम्म बेलिब्रिज निर्माण भएपछि यातायात सञ्चालनमा छ । माथिल्लो डोल्पाका तीन गाउँपालिकाका जनताले नेपालतर्फ सडक सुविधा नहुँदा अझै सरकारी कामकाजका लागि सदरमुकाम दुनै आउन एक साता पैदल हिँड्नुपर्ने बाध्यता छ ।

  • सुनको मूल्य बढ्यो

    सुनको मूल्य बढ्यो

    आइतवार सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतवार सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ ।

    गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतवारका लागि एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै, निर्धारित मूल्यअनुसार आइतवार चाँदी प्रतितोला एक हजार सात सय ९० रुपैयाँमा कारोबार हुनेछ ।

  • जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई बधाईसहित सम्मान गरेका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गर्ने उक्त टोलीका खेलाडी, नेपाल क्रिकेट संघका पदाधिकारी र व्यवस्थापकलाई बधाई दिएको हो ।

    शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि हात पारेको थियो । प्रधानमन्त्री ओलीले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न शुभकामना दिँदै विश्वमा ख्यातिप्राप्त ब्याटर नेपाली पनि हुनसक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न सकुन भन्ने कामना पनि गरे ।

    ‘यो सम्पूर्ण नेपालीको जित हो, नेपाली क्रिकेटको जित हो, प्रतियोगितामार्फत तपाईंहरुको असाधारण क्षमता देखिएको छ । उपविजेता सुदूरपश्चिम रोयल्सले पनि राम्रो प्रदर्शन ग¥यो, कठोर चुनौतीको सामना गर्दै जित हासिल गर्ने जनकपुर बोल्ट्स्का खेलाडीहरु बधाईका पात्र हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘आगामी दिनमा अझ ठूला सफलता हासिल गर्नका लागि म शुभकामना दिन्छु ।’

    आफू प्रधानमन्त्री भएपछि कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तरोन्नतिसम्बन्धी पहिलो निर्णय गरेको उल्लेख गर्दै उनले यसका लागि बोलपत्र आह्वान भइसकेको बताए । उनले नेपालको खेल क्षेत्रको विकासका लागि आफ्नो र सरकारको प्रयास निरन्तर हुने बताए ।

    त्यस अवसरमा नेपाल क्रिकेट संघ र खेल व्यवस्थापकहरुले नेपालमा विदेशी खेलाडी ल्याउन र खेल क्षेत्रमा विदेशी लगानी वा सहयोग ल्याउने प्रक्रिया झन्झटिलो भएको गुनासो गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।

    संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिँदै विदेशका राम्रा खेलाडीको श्रम स्वीकृतिसम्बन्धी झञ्झटिलो प्रक्रिया अन्त्य गराउन आग्रह गरे । जनकपुर बोल्ट्सका कप्तान आशिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरुलाई खुसी भएको प्रतिक्रिया दिए ।

  • शनिवारको भूकम्पबाट आठ घरमा क्षति

    शनिवारको भूकम्पबाट आठ घरमा क्षति

    जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

    नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले सङ्कलन गरेको तथ्याङ्कअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका–२ मा स्थानीय कल्पना बुढाको दुई तले घर, वडा नं ४ मा स्थानीय जनक बोहरा, वडा नं ९ पाण्डुसैनमा पदम सार्कीको घरमा पूर्ण क्षति भएको छ ।

    यस्तै सोही नागरपालिका–३ मा स्थानीय धनी बोहरा, साइमल रोकाया, घनश्याम बुढा, तिने चदारा, मानसिंह थापा भोटेको घरमा आंशिक क्षति भएको छ । सोही ठाउँको कैलाश अतिथि गृहको भवनमा पनि क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी जनकबहादुर बोहराले भूकम्पले स्वामीकार्तिक खापर गाउँपालिका–१ का स्थानीय दशरथ विक, आनन्द विक, चम्फे विक र मन विकको घरमा पनि क्षति भएको बताए ।

    भूकम्पको केन्द्रबिन्दु रहेको गोत्रीमा एक सय २३ परिवार जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । सोही विवरणबारे वडा नं ५ कार्यालयबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस प्राप्त भएको निमित्त प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले जानकारी दिए ।

    वडा कार्यालयबाट आएको विवरण अन्य स्रोतबाट पनि यकीन गर्ने काम भइरहको उनले बताए । यहाँका अन्य पालिकामा भएको क्षतिको विवरण स्थानीय प्रहरी चौकीमार्फत सङ्कलन भइरहेको जनाइएको छ ।

    प्रभावितहरूलाई चिसोबाट जोगाउन तत्काल राहत र उद्धारका कार्यमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयको माग छ । नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले समस्यामा परेकाहरूलाई तत्काल अत्यावश्यक सहयोग सामग्री उपलब्ध गराउन आग्रह गरे ।

  • ‘तातोपानी’मा पढाइ मेलाको आयोजना

    ‘तातोपानी’मा पढाइ मेलाको आयोजना

    जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि पालिका स्तरीयमा शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको छ ।

    बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले बिहीबारदेखि पढाइ मेला सुरु भएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । गाउँपालिकाभित्रका २९ सामुदायिक विद्यालयमध्ये २० विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित रहेको छ ।

    शैक्षिक सामग्री निर्माण, यसको प्रयोग प्रभावका विषयमा विद्यालयले प्रदर्शन गरेका छन् । गाउँपालिका अध्यक्ष चौलागाईंले भने, ‘विद्यालयले बालबालिकाद्वारा निर्मित विभिन्न शिक्षण सामग्री राखेका स्टल प्रदर्शनीमा राखेका छन् ।’ सहभागी विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली, र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा चार उत्कृष्ट विद्यालय छानिएको गाउँपालिका अध्यक्ष चौलागाईंको भनाइ छ ।

    छनोट भएका विद्यालयमध्ये कालिका आधारभूत विद्यालय, लिताकोट प्रथम, सुन्दरमणि आधारभूत विद्यालय दोस्रो, कालिका आधारभूत विद्यालय, हियाखोला र कालिका मावि, टोप्ला तेस्रो र हिमाली आधारभूत विद्यालय, बाबिरा चौथो भएको गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत शाहीले जानकारी दिए ।

    शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको गाउँपालिका उपाध्यक्ष रेवती रावलको भनाइ छ । स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

  • तालिम प्राप्त कुकुरबाट घटनाको अनुसन्धान गरिँदै

    तालिम प्राप्त कुकुरबाट घटनाको अनुसन्धान गरिँदै

    रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ कुनाखेतमा घटेको घटनाको तालिम प्राप्त कुकुरबाट अनुसन्धान गर्दै नेपाल प्रहरी । सोमबार मेला हेर्न गएका रुकुम पर्वको पुथाउत्तरगंगा गाउँपालिका–५ हुकामका ४७ वर्षीय लीलाबहादुर घर्ती मृतावस्थामा भेटिएका थिए । घटना शङ्कास्पद देखिएपछि मङ्गगलबार तालिम प्राप्त कुकुरबाट प्रहरीले अनुसन्धान थालिएको छ। (तस्बिरः बलबहादुर ओली)

  • डोल्पामा छायाङ्कन भएको चलचित्र ‘द्रौपदी’ चैतमा

    डोल्पामा छायाङ्कन भएको चलचित्र ‘द्रौपदी’ चैतमा

    केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ ।

    निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरुमा छायाङ्कन गरिएको जानकारी दिए ।

    उनले भने, ‘यो नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’

    निर्देशक आचार्यले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक कथा रहेको बताए । यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाका साथमा निर्देशक आचार्यको अभिनय रहेको छ ।

    आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाङ्कन गहेका हुन् ।

  • उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

    उपल्लो डोल्पामा सीमा सुरक्षा राख्ने योजना अन्योलमै

     । कर्णाली प्रदेशका दश जिल्लामध्ये हुम्ला र डोल्पामा चिनियाँ नाका पर्दछन् । हुम्लामा हिल्सा नाका पर्दछ भने डोल्पामा मोरिम्ला र क्याटो नाका पर्दछन् । हिल्सा नाका पूर्ण रूपमा सञ्चालनमा छ । हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लावासीलाई दैनिक उपभोग्यलगायत सामग्री किनमेल गर्न सहज भएको छ । हिल्सा क्षेत्रमा सीमा सुरक्षाका लागि हिल्साबाहेक डोल्पाको मोरिम्ला नाका पनि आशिंक रूपमा खुल्ने तर प्रचुर व्यापारिक सम्भावना बोकेको चिनियाँ नाका हो । पाँच वर्षअघिसम्म नियमित रूपमा प्रत्येक वर्ष खुल्ने मोरिम्ला नाका यस वर्ष पाँच वर्षपछि खुलेको हो ।

    कोरोना कहरपछि चीनले पाँच वर्षसम्म नाका खुलाउन अनुमति नदिँदा नाका खुल्न सकेन । यस वर्ष गत साउन महिनामा १५ दिनका लागि नाका खुलाइएको हो भने प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय डोल्पाले एक हजार आठ सयभन्दा धेरै सीमा पास जारी गरेको थियो ।
    अस्थायी रूपमा सञ्चालन हुँदै आएको मोरिम्ला नाका क्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा (बीओपी) राख्ने कुरा वर्षौंदेखि अन्योलमा पर्दै आएको छ । दुई देश बिचको व्यावहारिक समझदारीमा नाका सञ्चालन भए पनि न सीमा सुरक्षा पोष्ट छ न त भन्सार कार्यालय राखिएको छ ।
    नेपालको संविधानअनुसार सीमा सुरक्षा गर्ने दायित्व सशस्त्र प्रहरीको हो । तर डोल्पाका पुराना यी दुई नाका भने सुरूदेखि नै सीमा सुरक्षा फौज राखिएको छैन । यी दुई नाका चीन नेपाल र भारतबीच हुने त्रिदेशीय व्यापारिक नाकाका रूपमा समेत रहेका छन् ।

    रणनीतिक महत्त्व बोकेका यी तीन नाकामध्ये मोरिम्ला नाका पूर्ण रूपमा सञ्चालन आएमा चीनको सामान नेपाल हुँदै भारत र भारतको सामान नेपाल हुँदै चीन पुर्‍याउन सकिन्छ । यी तीन नाका जोड्ने प्रमुख सडक भेरी करिडोर हो । जुन सडकको जाजरकोट जिल्लाको तल्नुबगरसम्म स्तरोन्नति सुरू गरिएको छभने त्योभन्दा माथि मोरिम्लासम्म ‘ट्र्याक’ मात्र खुलाइएको छ ।

    डोल्पामा पर्ने ल्यासीक्यापदेखि शिसौलसम्मको ४० किलोमिटर सडक त ट्र्याक नै खुलाइएको छैन । भौगोलिक रूपमा कठिन भूगोल भएकाले सेनालाई निर्माणको जिम्मा दिने बताइएको एक वर्ष बितिसक्दासमेत काम सुरू भएको छैन । मोरिम्ला नाका डोल्पोबुद्ध गाउँपालिकामा पर्दछ भने क्याटो नाका शे–फोक्सुण्डो गाउँपालिकामा पर्दछ । उपल्लो डोल्पामा बसोबास सुरू भएदेखि उपल्लो डोल्पावासी र तिब्बती व्यापारीबिच दैनिक उपभोग्य वस्तुलगायत वस्तुहरूको व्यापार हुँदै आएको उपल्लो डोल्पावासीको भनाइ छ ।

    उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङ्सोङ् र शे–फोक्सुण्डो गाउँपालिकाका बासिन्दालाई जिल्ला सदरमुकाम झरेर दैनिक उपभोग्य सामग्री किनमेल गर्न पाँच दिन लाग्ने भएकाले पनि दुई दिनमा क्याटो र मोरिम्ला नाका पुगेर किनमेल गर्न सजिलो हुन्छ । त्यतिमात्र नभई यी दुई नाका आधिकारिक रूपमा खुलाइएमा चिनियाँ सामान सिधै नेपाली बजारमा भित्र्याउन सकिने र नेपालमा उत्पादन हुने यार्सागुम्बालगायत नेपाली जडीबुटी सिधै चिनियाँ बजारमा निर्यात गर्न सकिने डोल्पाली व्यापारीहरू बताउँछन् ।

    त्यसो त उपल्लो डोल्पावासीले पहिलादेखि नै चिनियाँ नाकाबाटै दैनिक उपभोग्यलगायत सम्पूर्ण घरायसी सामानहरू खरिद गरेर आफ्ना आवश्यकता टार्दै आएका छन् । उपल्लो डोल्पावासीले खाद्यवस्तुमात्र होइन मोटरसाइकललगायत मेसिनरी सामानसमेत चिनियाँ नाकाबाट खरिद गर्दै आएका छन् । नेपालमा सात लाखसम्म पर्ने मोटरसाइकल दुई–तीन लाखमै आउने भएपछि आवतजावतको सुविधाका लागि प्रायः स्थानीयले चिनियाँ नाकाबाट मोटरसाइकल खरिद गर्ने गरेको धेरै वर्ष भएको डोल्पोबुद्ध गाउँपालिकाका स्थानीयको भनाइ छ ।

    सीमा सुरक्षाको जिम्मेवारी 

    उपल्लो डोल्पामा रहेका मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि राज्यले नै बेवास्ता गरेको पाइएको छ । प्रत्येक वर्ष सीमाक्षेत्र अनुगमनका लागि भन्दै हेलिकप्टरमा उपल्लो डोल्पा पुग्ने सरकारी प्रतिनिधि, उच्च राजनीतिक नेतृत्वले पनि नाकालाई वैध बनाउनका लागि ठोस कदम चाल्ने बताउने गरे पनि काम भने भएको  छैन । त्यतिमात्र नभई स्थानीय सरकारका प्रतिनिधि, जिल्लास्थित सुरक्षाका निकायका प्रमुखहरू, जिल्लाका सांसद मन्त्रीहरूको पनि भ्रमण हुने गरे पनि उपलब्धि भने शून्य देखिन्छ ।

    मोरिम्ला र क्याटो नाकालाई स्थायी बनाउन पहिलो काम भनेको सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने जिल्लाका सुरक्षा अधिकारीहरू नै बताउँछन् । यससँगै अस्थायी भए पनि भन्सार कार्यालय स्थापना गर्नुपर्ने उनीहरूको भनाइ छ । जग्गा प्राप्तिपछि सरकारले सीमाक्षेत्रमा अत्याधुनिक भवन बनाइदिएमा बाह्रै महिना बसेर सशस्त्र प्रहरीले सिमाना सुरक्षा गर्न सक्ने बताइन्छ ।

    नेपाल–चीन सीमा सुरक्षाका लागि जिम्मा पाएको सशस्त्र प्रहरी नहुँदा नेपालको भौगोलिकता अखण्डताको रक्षामा राज्यले नै चासो नदिएको प्रस्ट हुने डोल्पाका सरोकारवाला बताउँछन् । त्यतिमात्र नभई सीमाक्षेत्रको निगरानी, शान्तिसुरक्षा कायम गर्न र ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्ने कार्यसमेत हुन सकेको छैन । अहिले एकल रूपमा चिनियाँ प्रहरीले सीमाक्षेत्रहरू नियमित रूपमा अनुगमन गरिरहको देख्न सकिने उपल्लो डोल्पावासी बताउँछन् ।

    सीमा सुरक्षा राज्यको प्रमुख दायित्व भएकाले राज्य र सरकारको चासो धेरै हुनुपर्ने डोल्पोबुद्धका स्थानीय पेम्माछेवाङ्ग गुरूङले बताए । त्यसमा पनि डोल्पाबाट निर्वाचित मन्त्रीहरूले यो कुरा सरकारसम्म पुर्‍याएर कार्यान्वयन गर्न लगाउनुपर्ने उनको भनाइ छ ।

    “उपल्लो डोल्पाको तीन्जेमा सशस्त्र प्रहरीको बिओपी राख्ने कुरा वर्षौंदेखि उठे पनि अहिले अन्योलमा परेको छ, तीन्जेबाट मोरिम्ला नाका नजिक पनि पर्दछ, आफ्नो देशभित्रको साँध सिमाना सुरक्षा गर्ने दायित्व राज्यको हो तर डोल्पाको हकमा राज्यको चासो देखिँदैन,” उनले भने, “जग्गा खोज्नका लागि आवश्यक पहल स्थानीय सरकारले गर्नुपर्छ, जुन कुरा भएको छैन्, बिओपी स्थापना गर्न राज्य पनि तातिएको छैन ।”

    सशस्त्र प्रहरीका अनुसार बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा चाहिन्छ । तर, डोल्पोबुद्ध गाउँपालिकाकै धो ताक्सीमा इलाका प्रहरी कार्यालय स्थापना गर्ने भन्दै साढे एक रोपनी जग्गा प्राप्त भएर शिलान्यास गरिएको भवन अलपत्र छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी राख्दा सीमाक्षेत्रबाट पनि टाढा पर्ने भएकाले बिओपी राख्न उपयुक्त नहुने जिल्लाका सुरक्षा अधिकारी बताउँछन् ।

    मोरिम्ला नाकाबाट नजिक पर्ने तिन्जे, पोल्दे, फालमध्ये एक ठाउँमा बिओपी स्थापना गर्नुपर्ने उहाँहरूको भनाइ छ । बिओपी स्थापनाका लागि पाँच रोपनीभन्दा माथि नै जग्गा आवश्यक पर्नेछ ।

    यसकारण आवश्यक छ बीओपी

    आफ्नो देशको साँध सिमाना सुरक्षा गर्नु देशको प्रमुख दायित्व हो । विश्व परिवेश नियाल्दा आफ्नो सीमाक्षेत्र रक्षाका लागि कतिपय देशबीच युद्धसमेत हुने गर्दछ । भौगोलिक अखण्डताको सुरक्षा, भौगोलिक सीमा सुरक्षा सुनिश्चित गर्न, अनधिकृत आवगमन तस्करी, गैह्रकानुनी गतिविधिहरूको खतरासमेत बढेको छ । त्यतिमात्र नभई सीमावर्ती बस्तीहरूको सुरक्षा, आपत्कालीन रूपमा आइपर्ने प्राकृतिक प्रकोपका घटनाहरूमा राहत तथा उद्धारको पूर्वतयारीसमेत हुन सकेको छैन ।

    राज्यले जतिसक्दो चाँडो सशस्त्र प्रहरीको बिओपी स्थापना गर्नुपर्ने नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए । सीमाक्षेत्र परेको ठाउँमा सुरक्षा बल राख्नु राज्यको प्रमुख दायित्व भएको उनको भनाइ छ । त्यसका लागि डोल्पाबाट निवार्चितहरूको विशेष पहल हुनुपर्ने बुढाले बताए ।

    हुँदैन सीमा गस्ती

    उपल्लो डोल्पामा सीमा सुरक्षा बल बिओपी नहुँदा नियमित रूपमा सीमा गस्ती हुन सकेको छैन । प्रत्येक दिन सिमानमा नेपाली सुरक्षा टोली पुग्नुपर्ने भए पनि अहिले उपल्लो डोल्पामा पर्ने सीमाक्षेत्र सुरक्षाविहीन भएका छन् ।

    तीन्जेमा सशस्त्र प्रहरीको बिओपी स्थापना हुन नसकेको पछि मोरिम्ला र क्याटो दुवै नाका सुरक्षाविहीन भएका हुन् । दुई देश बीचको उक्त सीमाक्षेत्रमा चिनियाँ प्रहरी भने नियमित पुग्ने गरेको उपल्लो डोल्पावासी बताउँछन् । तर नेपालका तर्फबाट भने सुरक्षा बल नहुँदा चिनियाँ प्रहरीले के कस्ता गतिविधि गर्छन् भन्ने कुरा रहस्यमय रहेको उनीहरूको भनाइ छ ।

    तीन वर्षअघि आफ्नो सीमाक्षेत्र कायम गरिएको १५ नं पिल्लर हेर्न पुगेका पूर्वाधार विकास कार्यालय डोल्पाका इन्जिनियर प्रकाश बुढालाई किन आइस् भन्दै चिनियाँ प्रहरीले नियन्त्रमा लिनसमेत खोजेको थियो । त्यतिमात्र नभई चिनियाँ प्रहरी एकल रूपमा सीमा स्तम्भ रङ्गाएको समाचार समेत बाहिरिएको थियो ।

    सर्वसाधारणमा सधैँ सुरक्षा त्रास

    भौगोलिक रूपमा अत्यन्तै विकट उपल्लो डोल्पा पुग्न जिल्ला सदरमुकाम दुनैबाट पाँच दिनसम्म लाग्ने गर्दछ । त्यसकारण पनि उपल्लो डोल्पावासीलाई सधैँ सुरक्षा त्रास हुने गर्दछ । उपल्लो डोल्पाको धो, साल्दागं, कागकोटलगायत स्थानमा नेपाल प्रहरीको सुरक्षा चौकी राखिएको छ ।

    बाह्रै महिना हिमपात हुने उपल्लो डोल्पामा कात्तिकपछि अत्यधिक चिसो बढ्ने र प्रशस्त हिमपात हुने भएकाले चौकीहरू पनि जिल्ला कार्यालयमा गाभिने गर्दछन् । यस समयमा उपल्लो डोल्पामा सुरक्षा चुनौती थपिने शे–फोक्सुण्डो गाउँपालिका–८ का अध्यक्ष निमा गुरूङले बताउनुभयो । यस वर्ष पनि सबै चौकीहरू दुनैमा गाभिसकेका छन् ।

    कात्तिकदेखि चैतसम्म चिसो नघट्न भएकाले उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ । छ महिनासम्म सुरक्षा नहुँदा उपल्लो डोल्पामा ऐतिहासिक सम्पदा चोरी हुने, गाउँघर लुटिने, सर्वसाधारण, वन्यजन्तुको आखेटोपहार अवैध रूपमा बिक्री गर्नेजस्ता आपराधिक गतिविधिहरू विगतमा घटेको पाइएको छ । त्यतिमात्र नभई हिँउदको समयमा कतिपय सर्वसाधारणहरू घर, गुम्बामा ताला मारेर जाडो छल्न बेँसी झर्ने भएकाले हतियारधारी समूहद्वारा पुरातात्विक सम्पदा चोरी हुनेगरेको हो ।

    भरपर्दो सुरक्षा व्यवस्था नहुँदा जिल्ला प्रहरी कार्यालय डोल्पाको ‘रिपोर्ट’ अनुसार २०७२ सालदेखि हालसम्म उपल्लो डोल्पाबाट ७३ थान प्राचीन मूर्ति चोरी भएकामा ५० थान फेला परे । अझै २३ थान फेला पर्न बाँकी छ । चोर्ने मनसाय राख्ने मान्छेहरू प्रायः मान्छे नभएको मौका छोपी हिउँदको समयमा उपल्लो डोल्पाको गाउँबस्तीमा छिर्ने गरेकाले यस समयमा सुरक्षा खतरा बड्ने धो का स्थानीयको भनाइ छ ।

    करिब छ महिना उपल्लो डोल्पा सुरक्षाविहीन हुने गर्दछ भने छ महिना मात्र नेपाल प्रहरीको आशिंक सुरक्षा हुन्छ । अहिले उपल्लो डोल्पाको फोक्सुण्डोमा बाहेक अन्य सबै सुरक्षा चौकीहरू दुनै सरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए ।

    छैन अस्थायी भन्सार

    राज्यका कारण मोरिम्ला र क्याटो नाका वैधानिक हुन सकेका छैनन् तर प्रत्येक वर्ष प्रहरी भने खटाइन्छ । यसमा पनि क्याटो नाका कहिलेकाहीँ मात्र खुल्ने गर्दछ । वर्षमा एक पटकमात्र खुल्ने उक्त नाकाहरूमा अस्थायी भन्सार कार्यालयसमेत राखिएको छैन ।

    जडीबुटीलगायत वन पैदावार बेच्न जाने सर्वसाधारणको चेक जाँचका लागि सीमाक्षेत्रमा डिभिजन वन कार्यालयको चेक पोष्टसमेत छैन । व्यापारीहरू निर्बाध रूपमा जडीबुटीको कारोबार गर्ने गर्दछन् । राज्यको दरिलो उपस्थिति नहुँदा प्रत्येक वर्ष नाका खुल्दा गैह्रकानुनी गतिविधि हुन सक्ने बताइन्छ ।

    उपल्लो डोल्पाको कतिपय क्षेत्र शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले कस्तुरी, हिँउचितुवालगायत वन्यजन्तुहरू पाइन्छन् । त्यतिमात्र नभई बहुमूल्य जडीबुटी पुरातात्विक मूर्ति राखिएका ऐतिहासिक गुम्बाहरू समेत उपल्लो डोल्पामा छन् । तर नाका खुल्दा सामान्य चेकजाँच गरेरै सर्वसाधारणलाई पठाइने भएकाले अवैध गतिविधि हुन सक्ने आकलन समेत गरिएको हो ।

    नाका खुल्दा जिल्लाबाट पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरीले अस्थायी रूपमा सुरक्षा दिँदै आए पनि पूर्ण सुरक्षाका लागि बीओपी स्थापना गरिनुपर्ने उपल्लो डोल्पावासीको माग छ । वर्षमा एकपटक चिनियाँ क्षेत्रमा लाग्ने व्यापारिक मेलामा सर्वसाधारणले करोडौँको वस्तु आयात तथा निर्यात गर्ने गरे पनि भन्सार शुल्क रू एकसम्म उठ्दैन । जसले गर्दा राज्यलाई उठ्नुपर्ने भन्सार कर त्यसै खेर जाँदै आएको हो । प्रत्येक वर्ष जति दिन नाका खुल्छ त्यति समयका लागि भए पनि अस्थायी भन्सार कार्यालय सरकारले राख्नुपर्ने जिल्लाका सुरक्षा प्रमुखहरूको धारणा छ ।

    के भन्छ स्थानीय सरकार ?

    उपल्लो डोल्पामा सशस्त्र प्रहरीको सीमा सुरक्षा चौकी राख्न अत्यावश्यक रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्माधोर्चे गुरूङले बताए । “उपल्लो डोल्पामा चीनसँगका दुईवटा खुला सिमाना छन्, ती सिमानाहरू, सीमास्तम्भहरू के कस्तो अवस्थामा छन् राज्यको ध्यान पुग्न सकेको छैन, उपल्लो डोल्पाका विभिन्न ठाउँमा सशस्त्र प्रहरीको सुरक्षा फौज राख्ने भनेको पाँच छ वर्ष भयो तर उपलब्धि हात लागेको छैन”, उनले भने ।

    गुरूङका अनुसार दुई वर्षअघि नै सशस्त्र प्रहरीको टोलीलाई डोल्पोबुद्ध गाउँपालिकाको तीन ठाउँमा २०–२५ रोपनी क्षेत्रफलसम्म भएका जग्गा देखाएको थियो । त्यसपछि कुनै प्रतिक्रिया आएन । उनले उपल्लो डोल्पामा दुई स्थानमा बिओपी स्थापना गर्न आवश्यक जग्गा दिन गाउँपालिका तयार रहेको बताए । उनले भने, “समन्वय गर्न पनि तयार छ, बरू प्रजिअलगायत जिल्लाको सुरक्षा टोलीले चासो राख्नुपर्‍यो ।”

    उनका अनुसार उपल्लो डोल्पाको तीन्जेमा बिओपी स्थापनापछि सीमा सुरक्षा मात्र होइन जनताको जनधनको सुरक्षाको ‘ग्यारेन्टी’ हुन्छ, शान्तिसुरक्षा कायम गर्न सकिन्छ । तिन्जेबाट एक घण्टामा मोरिम्ला नाका पुग्न सकिने उपाध्याक्ष गुरूङले बताए । उपल्लो डोल्पामा पर्याप्त सुरक्षाकर्मी नहुँदा अहिले पनि नागरिक त्रासमा जिउन बाध्य भएको उनको भनाइ छ । बीओपी राख्ने भनिएको तिन्जेदेखि भित्रको भूभाग निकुञ्ज क्षेत्रमा नपर्ने भएकाले कानुनी जटिलता पनि नभएको उनको भनाइ छ ।

    यता डोल्पाका सङ्घीय सांसद धनबहादुर बुढाले सीमा सुरक्षा बल स्थापनाका लागि सुरूदेखि नै आवश्यक पहल गरिरहेको बताए । “उपल्लो डोल्पामा सशस्त्र प्रहरीको बिओपी राख्न आवश्यक हो, जिल्लाका सुरक्षा प्रमुखहरूसँग पनि कुरा भइरहेको छ तर पनि जग्गा प्राप्त हुन सकेको छैन, त्यहाँका स्थानीय सरकारका जनप्रतिनिधिहरूलाई जग्गा टुङ्ग्याउन भनेको छु, आशा छ यो काम छिट्टै होला”, उनले भने ।

    जग्गाको प्राप्तिको कुरा सकिएपछि बाँकी केन्द्रमा गर्ने प्रक्रियामा जस्तोसुकै सहयोग गर्न पनि तयार भएको उनको भनाइ छ ।

    के भन्छ प्रशासन ?

    उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाका सुरक्षाका लागि एउटा बिओपी राख्न आवश्यक भएको सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताए ।

    “त्यसका लागि सुरूमा जग्गा चाहियो, जग्गा प्राप्त हुन सकेको छैन्, जिल्लाका सुरक्षा अधिकारीहरूले पनि जग्गा कहाँ कति खाली छ हेर्न जान पाएको छैन, अब एक पटक जिल्लाको सुरक्षा टोली पुग्छौँ र जग्गाका लागि सामान्य गर्छौं”, सहायक प्रजिअ ज्ञवालीले भने, “भौगोलिक विकटताका कारण पनि भनेको समयमा पुग्न सकिँदैन्, बीओपी स्थापनापछि अस्थायी भए पनि राज्यले भन्सार कार्यालय स्थापना गर्नुपर्छ, जसबाट राज्यलाई राजस्वसमेत प्राप्त हुन्छ ।”

    प्रत्येक वर्ष आधा महिनाका लागि मात्र खुल्ने यो नाका हुम्लाको हिल्सा नाका जस्तै कम्तीमा सात–आठ महिना खुलेमा डोल्पालीहरूलाई किनमेल गर्न सजिलो हुने उनको भनाइ छ ।