Blog

  • रत्न राजमार्ग स्तरोन्नति हुँदै

    रत्न राजमार्ग स्तरोन्नति हुँदै

    रत्न राजमार्गको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल सडक स्तरोन्नति हुने भएको छ । यो खण्डले बाँके, बर्दिया र सुर्खेत जिल्ला छोएको छ । सडक विभागले यस राजमार्गको स्तरोन्नति प्रयोजनका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको छ ।

    प्रस्तावित सडक खण्ड स्तरोन्नतिका लागि सडकको क्षेत्राधिकार भित्र नै आयोजनालाई आवश्यक पर्ने जमिन रहेका कारण थप जग्गा भने अधिग्रहण गर्नु नपर्ने प्रतिवेदनमा उल्लेख छ ।

    यो आयोजनाको कुल लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सडक चार वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

    यो सडकको विद्यमान चौडाइ ५.५ मिटर र लम्बाई ९० दशमलव ७५ किलोमिटर छ । चौडाइलाई स्तरोन्नति गरी अब सात मिटर पु¥याइने छ । स्तरोन्नतिपछि सडक दुई लेन कालोपत्र बन्ने छ । यस सडक खण्डमा विभिन्न स्थानमा भत्कने समस्या समेत रहेको र दुईतर्फी सवारी सञ्चालनमा बाधा उत्पन्न भएसँगै सरकारले यो राजमार्ग स्तरोन्नति गर्ने योजना बनाएको हो ।

    आयोजनाभित्र ३८ वटा पुल जीर्ण अवस्थामा रहेको र यसलाई आयोजनाले स्तरोन्नति गर्ने भएको छ । यो सडक आयोजनाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लुम्बिनी प्रदेशको व्यापारिक सहर नेपालगञ्ज र अन्य प्रमुख सहरसँग जोड्छ ।

    यस सडक खण्डभित्र बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र पनि पर्छ । साथै, ७६ दशमलव ७५ किलोमिटर चुरे क्षेत्र पर्छ ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर चोकबाट सुरु हुने यो राजमार्गको अन्तिम बिन्दु सुर्खेत वीरेन्द्रनगरस्थित बाङ्गेसिमल हो । आयोजना कार्यान्वयनका बेला सामुदायिक वनमा चार हजार तीन सय ४८ र राष्ट्रिय निकुञ्जमा ६ हजार पाँच यस ३८ रुख काट्नुपर्ने देखिएको छ । यसरी कुल १० हजार आठ सय ८६ रुख काट्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

  • पत्रकार महासंघ सुर्खेतले विकासे आयोजनाका विवादमा वहस सञ्चालन गर्ने

    पत्रकार महासंघ सुर्खेतले विकासे आयोजनाका विवादमा वहस सञ्चालन गर्ने

    नेपाल पत्रकार महासंघको सुर्खेत शाखाले विकासे आयोजनाहरुका विवादित विषयमा वहस सञ्चालन गर्ने भएको छ । काम सुरु भएका तर समयमा नै सम्पन्न नभएका आयोजनाहरुको विवाद समाधानमुलक बहस गर्ने शाखाले निर्णय गरेको हो ।

    महासंघको सुर्खेत शाखाका अध्यक्ष सुशिलराज शर्माको अध्यक्षतामा बसेको बैठकले सुर्खेतको मदन भण्डारी राजमार्ग, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाइनमा देखिएको विवाद लगायतका विषयमा सम्बन्धित निकायहरुलाई राखेर समाधानमुलक बहस गर्ने निर्णय गरेको हो ।

    यसका साथे बुधवार बसेको बैठकले शाखाको कार्यालय नियमित रूपमा सञ्चालन गर्नका लागि एकजना कार्यालय सहायक नियुक्त गर्ने समेत निर्णय भएको संघका सचिव गोविन्द खत्रीले जानकारी दिए ।

    नवनिर्वाचित समितिलाई नेतृत्व विकास सम्बन्धी प्रशिक्षण, शाखामा पुस्तकालय (ईलाइब्रेरी समेत) स्थापना, अक्षय कोषहरुको व्यवस्थित सञ्चालन अध्ययन लगायतका बैठकमा निर्णयहरु भएका छन् ।

  • रुकुम पश्चिममा ट्रक दुर्घटना, दुई जना घाइते

    रुकुम पश्चिममा ट्रक दुर्घटना, दुई जना घाइते

    रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ गणेशमोडस्थित राप्ती राजमार्गमा बुधबार खाद्यान्न बोकेको दुर्घटना भएको लु २ ख ४१६४ नं को मिनिट्रक दुर्घटनामा परेको छ ।

    ट्रक दुर्घटना हुँदासल्यानको त्रिवेणी गाउँपालिका–६ लुहामका २८ वर्षीय चालक जनक केसी र सहचालक रोल्पाको गंगादेव गाउँपालिका–३ का डिल्ली ओली घाइते भएको प्रहरीले जनाएको छ ।

    घटनाका विषयमा थप विवरण आउन बाँकी छ ।

  • हिमपातले हवाई सेवा अवरूद्ध

    हिमपातले हवाई सेवा अवरूद्ध

    हिमाली जिल्ला हुम्लामा पुनः दोस्रो पटक हिमपात हुँदा अन्तर जिल्ला जोड्ने छोटो दूरीको हवाई सेवा अवरूद्ध भएको छ । सोमबार रातिदेखि जिल्लामा हिमपात हुँदा हवाई सेवा अवरूद्ध हुन पुगेको हो ।

    मंगलवार बिहान पनि जिल्लामा हिमपात हुनुका साथै बाक्लो कुहिरो लागेका कारण हवाई सेवा अवरूद्ध हुन पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्जबाट दैनिक उडान भर्दै आएका जहाजले हुम्लामा हिमपातका साथै मौसम खराब हुँदा आफ्नो उडान भर्न नसकेको नागरिक उड्डयन प्राधिकरण कार्यालय हुम्लाका प्रमुख मोहन सिंहले बताए ।

    नेपालगञ्जदेखि निजी जहाज समिट, सीता र ताराका साथै सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले आफ्नो उडान भर्दै आएका थिए । मङ्गलबार जिल्लाको मौसम खराब हुँदा जहाजले आफ्नो उडान गर्न नसकेको बताइएको छ ।

    यस्तै सदरमुकाम सिमकोटदेखि चल्दै आएका सवारीसाधनसमेत अवरूद्ध भएका छन् । हिमपातले सिमकोटदेखि खार्पु, उत्तरी हिल्सालगायत गाउँमा पुग्ने सडकमा हिउँले आवतजावतमा समस्या हुने भएपछि सवारीसाधनसमेत आवतजावतमा रोकिएका छन् । यस्तै जिल्लाका दक्षिण भेगमासमेत सवारीसाधनले आवतजावत गर्न नसकेको बताइएको छ ।

    सोमबार दिउँसो मौसम सफा रहे पनि रातीदेखि फेरबदल हुँदा जिल्लामा हिमपात सुरू भएको हो । सोमबार राति ३ः३० बजेदेखि हिमाली जिल्ला हुम्लाको सिमकोट आसपाससहित उत्तरी भेगमा हिमपात भएको हो । सदरमुकाम सिमकोटमा आज बिहानसम्म दुई इञ्चसम्म हिउँ जमेको थियो भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ ।

    जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै दोस्रो पटक हिमपात हुँदा आवतजावतमा समस्या बनाएको छ । हिमपातले उत्तरी नाम्खासहित सिमकोटको जनजीवन थप प्रभावित भएको छ । चिसोले यहाँका नागरिकलाई दैनिक जीवनमा कष्टकर बनाएको छ । साथै सदरमुकाम सिमकोटमा दैनिक सेवाग्राहीको भिडभाड हुने कार्यालय मंगलवार सुनसान थियो ।

    नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम माइनस सात डिग्रीमा पुगेको छ । उत्तरी भेगको तापक्रम माइनस १० डिग्री पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने हावाहुरीका साथै वर्षा भएको छ ।

    जिल्लामा दोस्रो पटक हिमपात हुँदा बालबालिका, वृद्धवृद्धा बालबालिकालगायत सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आग्रह गरेका छन् । हिमपहिरो खस्ने आसपासका बस्तीमा सुरक्षित भएर बस्न प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए ।

  • एनपिएलले उघारेको सपना

    एनपिएलले उघारेको सपना

    डा शोभाकर पराजुली

    – डा शोभाकर पराजुली
    देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो । यसले देशीय मात्रै नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पु¥याएको मात्रै छैन, बरु खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।

    जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपिएलमा सहभागी आठ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पु¥याउन सहयोग पुगेको छ । विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्रै सञ्चार भएको छैन, बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पु¥याएका छन् । यसरी हेर्दा क्रिकेटको यो घरेलु महाकुम्भले खेलमात्रै नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्रै नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । यो सँगै एनपिएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ ।

    नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आआफ्ना महत्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावना र आत्मीयरुपमा पनि जोडिआएका छन् । कुनै कुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैँमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ, क्रिकेट पनि ।

    क्रिकेटको विश्व इतिहास सदियांै लामो छ । १६ औं शताब्दीको शुरुआततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिरमात्रै शुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न शुरु गरेका थिए । शासकीय दायराबाट विस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । यो खेलको साँघुरो इतिहास अहिले यो निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्यको यात्रामा अघि बढिरहेको छ । १६ औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, बरु क्रिकेट अब कैयौ राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ ।

    नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र शुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भविष्य देखिरहेका छन् र खोजिरहेका छन् । नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको शुरुआत भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट सङ्घ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्रै अन्तर्राष्ट्रिय क्रिकेट सङ्घबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आम नागरिकस्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न शुरु भएको इतिहासहरू भेटिन्छन् ।

    सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन शुरु गरेका थिए । १९१९ तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अञ्चलस्तरीय समूहहरू सहभागी भएका थिए । त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिकरुपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ । नेपाल अब एकदिवसीय क्रिकेटको मान्यता प्राप्त राष्ट्र मात्रै होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्रै नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिष्पर्धामा भाग लिनसक्ने भइसकेको छ ।

    खासगरी अहिले क्रिकेट खेल एशियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रुपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्थाजस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्रै होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् । अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्रै होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ । अहिले भारतमा ससाना प्रतियोगिताहरू मात्रै होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र विस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् । भर्खरै सम्पन्न एनपिएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपिएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको शुरुआती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरु व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ । नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मदत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छोड्नुपर्ने बाध्यता हट्दैछ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपिएलले छोडेको छ ।

    हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेलक्षेत्र सबल हुन जरुरी छ । तर हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उतिसारो प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्तिविकासका लागि गठन भएका सङ्घसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ । टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्यो भन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब मात्रै खेलाडीको आफ्नो मेहनत र परिश्रमबाट मात्रै सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ न खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ ।

    अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासिनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रियस्तरको एसिसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो । तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको शुरुआत भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एकमात्रै रङ्गशाला हो । यति हुँदासम्म पनि राज्यले रंगशालालगायत खेल क्षेत्रको भौतिक बिकासमा खासै उदार भएको देखिंदैन । ठाउँठाउँमा मैदानहरू बन्न शुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथिलिङ्ग अवस्थामा छन् ।

    खेल क्षेत्रको यो भौतिक दूरावस्थासँगै कैयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपिएलकै बेला थाहा भयो विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूल्ठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपिएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यस्तै मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरु पनि थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपिएलले छोडेको छ । एनपिएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुनखालको उत्साह, उमङ्ग र गतिशीलता देखिएको छ त्यसलाई राज्यले अवसरका रुपमा लिनुपर्छ । सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ । अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ ।

  • मनोसामाजिक अपाङ्गताका सवालमा प्रदेश सभा सदस्यसँग छलफल

    मनोसामाजिक अपाङ्गताका सवालमा प्रदेश सभा सदस्यसँग छलफल

    छलफल पछि सामुहिक तस्विर खिचाउँदै सहभागिहरु ।

    मनोसामाजिक अपाङ्गताका सवालमा प्रदेश सभा सदस्यहरुसँग छलफल गरिएको छ । सोमवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशमा मनोसामाजिक अपाङ्गताको अवस्था तथा सवालहरुका विषयमा छलफल गरिएको हो ।

    कोशिशको समाहित परियोजनाको आयोजनामा कर्णाली प्रदेश सभाका सदस्यहरुसँग यहाँको कानून, नीति तथा कार्यक्रममा मनोसामाजिक अपाङ्गता विषयमा प्रदेश सभा सदस्यहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।

    कार्यक्रमका सहभागिहरुले मनोसामाजिक अपाङ्गता भएकालाई राज्यबाट नै विभेद भएको बताएका थिए । निजामति सम्बन्धि ऐनको विषयमा चर्चा गर्दै कोशिशको समाहित परियोजनाका कार्यक्रम अधिकृत सुर्यप्रसाद भट्टराईले कानुनमा विभेदकारी शब्दको प्रयोग भएको जनाए ।

    अपाङ्गता भएका व्यक्तिलाई होच्याउने तथा उनीहरुलाई अवरोधको सृजना हुनेगरी कानुन निर्माण हुनेगरेको उनको धारणा छ । वीरेन्द्रनगरमा मात्र हाल दुई सय जनाको हाराहारीमा मनोसामाजिक अपाङ्गता व्यक्तिहरु रहेको उनले जनाए ।

    मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई अन्य अर्थ लगाउदै उनीहरुलाई निर्वाचनमा उठ्न, मतदान गर्न लगायत करार गर्न ऐनहरुले अयोग्य ठानेको उनले जानकारी दिए । उनले भने, ‘नेपालको कुल जनसंख्यामा चार दशमलव दुई प्रतिशत जनसंख्यामा मनोसामाजिक अपाङ्गता छ । संख्यात्मक आधारमा यो २८ हजार ४५ जना हो ।’

    ‘मानसिक स्वास्थ्य भन्नाले मनमा रहेको सोचाइ, भावना साथै व्यवहारको स्वास्थता भएको अवस्थालाई जनाउँदछ’, उनले भने, ‘मनोसामाजिक अपाङ्गता भन्नाले मन वा मानसिक स्वास्थ्य समस्याका कारण सिर्जना भएको दीर्घकालिन सिमितता तथा विद्यमान अववोधहरुको (कानुनी, भेद्भाव, लाञ्छनाहरु) कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा पुगेको अवस्था हो । यस्तो अवस्थामा रहेका व्यक्तिलाइ मनोसामाजिक अपाङ्गतामा रहेको व्यक्ति भनिन्छ ।’

    विभेद रोक्ने प्रतिवद्दता

    प्रदेश सभा सदस्य तुलसा मल्ले कानुनमा विभेदकारी शब्दहरुको प्रयोगमा आफुहरु सचेत रहेको जनाइन् । अपाङ्गता रहेका व्यक्तिहरु समुदायमा खुलेर आउन अनुरोध गर्दै उनले मनोसामाजिक अपाङ्गता रहेका व्यक्ति नखुल्दा विभेदको सिकार हुन वाध्य रहेको जनाइन् ।

    उनले भनिन्, ‘कानुनको कार्यान्वयनमा समेत जटिलता देखिएको छ । कानुनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । प्रदेश सभा सदस्य रणसिंह परियारले मनोसामाजिक अपाङ्गता रहेका व्यक्तिको पहिचान गर्न जरुरी रहेको बताए ।

    मनोसामाजिक अपाङ्गताको कारणले भएको विभेद विरुद्ध आफुहरु प्रतिवद्द रहेको प्रदेश सभा सदस्यहरुको भनाई थियो ।

  • एमालेद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान

    एमालेद्वारा पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान

    नेकपा एमालेको सुर्खेत कमिटिले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश तथा सुर्खेत जिल्ला शाखामा निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।

    नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा नेकपा एमालेको सुर्खेत जिल्ला कमिटीका अध्यक्ष कुलमणी देवकोटाले पत्रकारहरूले सत्य, तथ्य, र निष्पक्षता अपनाउँदै महत्वपूर्ण योगदान गर्ने विश्वास रहेको बताए ।

    आइतबार नेकपा (एमाले) जिल्ला कमिटी, सुर्खेतद्वारा आयोजित कार्यक्रममा अध्यक्ष देवकोटाले विकृति र विसंगति हटाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।

    संघीय लोकतान्त्रिक प्रणालीमा दलगत आस्था अन्यथा नभएको उनको भनाइ छ । । ‘जनताले विश्वास गरेको गठबन्धनले सुशासन कायम गर्न सकेन भने परिवर्तन सम्भव हुँदैन,’ उनले भने ।

    यस्तै, कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले कर्णालीका पत्रकारहरूले निष्पक्ष र जिम्मेवार पत्रकारिताका लागि प्रयासरत रहनुपर्ने बताए । ‘सरकारका राम्रो कामलाई समर्थन गर्नुपर्छ, तर गलत कामलाई सशक्त रुपमा उजागर गर्न हाम्रो कलम सधैं तयार रहनुपर्छ’, शर्माले भने ।

    साथै, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशिलराज शर्माले पत्रकारितामा दलगत हस्तक्षेपका कारण स्वतन्त्रता कमजोर हुने खतरा रहेको औंल्याए । ‘पत्रकार महासंघमा हुने दलगत हस्तक्षेपले व्यवसायिक पत्रकारितालाई कमजोर बनाएको छ’, उनले भने, ‘स्वतन्त्र पत्रकारिताको प्रवर्धन अहिलेको आवश्यकता हो ।’

    पत्रकारिताको व्यावसायिक चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउँदै कार्यक्रममा सहभागीहरूले संस्थागत सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

  • लागूपदार्थ दुव्यर्शन विरुद्द पुर्नस्थापना केन्द्र सञ्चालनको तयारी

    लागूपदार्थ दुव्यर्शन विरुद्द पुर्नस्थापना केन्द्र सञ्चालनको तयारी

    कर्णाली प्रदेश सरकारले लागूपदार्थ दुव्यर्शन न्युनिकरणका लागि पुनस्थापनमा केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

    कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाल प्रहरीसँगको समन्वयमा पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिए ।

    आईतवार वीरेन्द्रनगरमा आयोजित ‘लागूपदार्थ दुव्यर्शनी, बालविवाह, बालश्रम, मानव बेचविखन तथा ओसारपसार एवं लैङ्गिक हिंसाका घटना सम्बन्धी सामाजिक सवाल र सरोकारवालाहरूको आगामी कार्यदिशा’ सम्बन्धी प्रदेश स्तरीय कार्यशालामा बोल्दै सामाजिक विकास मन्त्री भण्डारीले पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याइने जनाएका हुन् ।

    नेपाल प्रहरीद्वारा सञ्चालित पुर्नस्थापना केन्द्रलाई समन्वय गरी त्यसको शाखा सुर्खेतमा सञ्चालन गरिने उनले जनाए । त्यसका लागि सम्भब भएसम्म चालू आर्थिक वर्षमा सञ्चालन गर्न सकिने प्रतिवद्धता जनाए ।

    समाजमा हुने हिंसाजन्य घटनाहरू कम गर्न मानवियताको आधारमा व्यवहार गर्नुपर्ने उनले सुझाव दिए । जनावरलाई माया गर्ने र मानिसबीच विभेद गर्ने व्यवहारका कारण हिंसा बढिरहेको उनको टिप्पणी थियो ।

  • एनपिएलमा कुन खेलाडीले कुन अवार्ड ?

    एनपिएलमा कुन खेलाडीले कुन अवार्ड ?

    पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।

    एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।

    नेपाल क्रिकेट संघ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपिएलका नौ खेलबाट दुई सय २७ रन जोड्दै नौ विकेट बनाएका छन् ।

    एनपिएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रन समेत जोड्न सफल भए ।

    ‘सिद्धार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाख रुपैयाँको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि दुई सय ७५ रन जोड्दै १२ विकेट लिएका थिए ।

    जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन् । मिलान्थाले एनपिएलमा कूल दुई सय ९३ रन बनाएका छन् ।

    यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इन्र्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले दुई लाख रुपैयाँकोे चेक समेत प्राप्त गरेका छन् । निशमले जनकपुरको लागि दुई ४७ रन जोड्दै ७ विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।

    कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार रुपैयाँको चेक प्राप्त गरेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट दश लाख रुपैयाँ बराबरकोे छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।

  • खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान

    खेलकुद क्लबलाई धावक रोकायाद्वारा जग्गा दान

    धावक हरिबहादुर रोकायाले जुम्लास्थित कर्णाली खेलकुद क्लबलाई निःशुल्क जग्गा दान गरेका छन् । उनले चन्दननाथ नगरपालिका– ५ को वडा कार्यालय नजिक रहेको करिब ३५ लाख रुपैयाँ बराबरको जग्गा क्लबलाई शुक्रबार प्रदान गरेका हुन् ।

    जुम्लाको खेल क्षेत्रको भविष्यलाई निश्चित बाटोमा पुराउन जग्गा दानले सहयोग पुग्ने कर्णाली खेलकुद क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरिने जानकारी दिए ।

    जुम्लाको खेल क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने धावक रोकायाले बताए ।