Blog

  • अख्तियार प्रमुख राईको राजीनामा माग सुमना श्रेष्ठको सचिवालयबाट तयार

    अख्तियार प्रमुख राईको राजीनामा माग सुमना श्रेष्ठको सचिवालयबाट तयार


    गत २१ असोजमा नेपाली मिडियाहरूमा अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग भयो । राजीनामाको पहिलो माग सार्वजनिक रूपमा मिडियालाई दिने काम जेन–जीका अगुवाले गरेका थिएनन् । अगुवाइ गरेकी थिइन् आकृति घिमिरेले ।
    आकृति सुमना श्रेष्ठकी सहयोगी हुन् । सुमना श्रेष्ठ मन्त्री हुँदा सूचना प्रवाह गर्न बनेको पत्रकार जोडिएको ग्रुपको नाम अहिले प्रेस ग्रुप छ । सोही ग्रुपबाटै सबैभन्दा पहिले उक्त सूचना चुहिएको हो ।
    ग्रुपमा भएका पत्रकारहरूले सूचना अघिल्लो दिनै पाएका थिए । भोलिपल्ट जोडतोड रूपमा सार्वजनिक भयो । जेन–जी मुभमेन्ट एलाइन्सको नाम दिएर यस्तो माग राखिएको थियो । राई पक्षधरले पनि काउन्टर गरे । जेन–जी इन्डिजेनस भन्दै आदिवासीलाई लक्षित गरिएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
    सुमनाको सचिवालयले अभियान चलाएको दुई दिन अर्थात् २३ असोजमा संग्रामसिंह किराँती संयोजक रहेको जेन–जी इन्डिजेनसले विज्ञप्ति जारी गरेको थियो ।

  • चार पुस्तादेखि चलिरहेका ढुंगा खानी

    चार पुस्तादेखि चलिरहेका ढुंगा खानी

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का गणेश केसीले पछिल्लो तीन बर्षयता गाउँकै ढुंगा खानीमा काम गरिरहेका छन् । यही वडाको सोती गाउँमा रहेको स्लेट (घर छाउने, मार्बलका रुपमा प्रयोग गर्न मिल्ने) ढुंगा खानी छन् । गणेश बर्षमा ६ महिना ढुंगा खानीमै रोजगारी गर्छन् । अहिले खानीको सिजन परेको छ । यो बर्ष पनि मंसिर अन्तिमदेखि उनी दैनिक रुपमा खानीबाट ढुंगा निकालिरहेका छन् ।
    गणेशले आफ्नो आम्दानीको पहिलो स्रोत यही खानीलाई बनाएका थिए । बीचमा चार बर्ष विदेशमा रोजगारी गरे । तीन बर्षअघि फर्किएका उनी फेरि गाउँकै खानीमा रोजगारी गरिरहेका छन् । उनको यो रोजगारीले परिवार चलाउन पुगेको छ । कामै नपाएर बाहिर जानु पनि परेको छैन । ‘गाउँभरिका सबैले रोजगारी नपाएपनि गाउँबाहिर गएर काम गर्न नसक्ने महिला, वृद्ध, गाउँमै बस्ने मजस्ता युवाहरुले काम गरिरहेका छन्,’ गणेश भन्छन्, ‘यहाँको कमाईले सम्पत्ति थप्न मात्र नसकिएको हो, काम गर्न सक्नेहरुको परिवार मजाले चलेको छ ।’
    बर्खामा खानी खोल्न मिल्दैन। हिउँदको ६ महिना स्लेट ढुंगा निकालेर यहाँ खानी सञ्चालकले बाहिर पठाउँछन् । ढुंगा खानीमा सोती गाउँका मानिसको मात्र स्वामित्व भएपनि रोजगारी भने गोहिरीसँगै अरु गाउँलेहरुले पनि पाएका छन् । ‘खानीमा रोजगारी स्थानीयले नै पाएका छन्, कयौं स्थानीयको जिवीकोपार्जनमा केही मद्दत पुगेको छ,’ गणेशले भने, ‘यो खानी नभएको भए हामी बाहिर काम खोज्न जानै पथ्र्यो, युवाहरु गएपनि अरु बेरोजगार बस्नुपथ्र्यो ।’
    चौरजहारी नगरपालिका–८ सोतीका दीपा पुन पनि केही बर्षयता स्थानीय ढुंगा खानीमा काम गर्दै आएकी छन् । उनले खानीबाट निकालिएका र कटान गरी तयार पारिएका ढुंगा ट्रकमा लोड गर्ने काम गर्छिन् । खानी सञ्चालनका समयमा घर नजिकै काम गर्न पाउँदा आफू बेरोजगार बस्नु नपरेको दीपा बताउँछिन् । ‘पुरुषहरु त गाउँमा काम नपाएपनि बाहिर गएर कमाउन सक्छन्, बालबालिकासँग भएका महिलाहरु घरको काममा मात्र सिमित हुनुपथ्र्यो,’ उनी भन्छिन्, ‘घरको काम गरेर पैसा कमाई हुँदैन, खानीमा पाईएको कामले नुन–तेल खर्च त आफैं जुटाउन मिलेको छ ।’
    उनीहरुले काम गरिरहेको सोतीको यो ढुंगा खानी पुस्तौंदेखि चल्दै आएको छ । विगतमा स्थानीय गाउँमा घरको छाना छाउन प्रयोग हुँदै आएको यहाँका स्लेट ढुंगा अहिले देशका अरु जिल्लासम्म निर्यात हुन्छ । ढुंगा निर्यात हुन थालेपछि स्थानीय स्तरमा रोजगारी पनि बढेको छ । गणेशका अनुसार गोहिरी र सोती गाउँको बीचमा पर्ने ढुंगा खानीमा अहिले चार जनाको स्वामित्व छ। गाउँका चारै जनाले आफ्नो जग्गामा भएका स्लेट ढुंगा निकालेर आम्दानी गर्छन् । उनीहरुका यी खानीमा एक सिजनमा कम्तिमा ९० जनासम्मले काम पाउँछन् ।
    ढुंगा खानी सञ्चालकमध्ये कोहीले जमिनभित्रबाट निकालिएका ढुंगा काट्ने मेसिन खानी क्षेत्रमै जडान गरेका छन् । कतिपयले नजिकको चौरजहारी बजारमा मेसिन राखेका छन् । आफ्नो खानीबाट निस्किएका ढुंगा सञ्चालकहरुले मेसिनले काटेर आकार मिलाइसकेपछि अरु जिल्लामा निर्यात गर्छन् । यी खानी कति समयदेखि चलेका छन् भन्न् यकिन छैन । तर अहिले खानी सञ्चालन गरिरहेकाहरु आफ्नो यो पुस्ता चौथो भएको बताउँछन् । ‘हजुरबुवाले पनि हामीलाई भन्दा आफूभन्दा दुई पुस्ता अघिको हो भन्नुहुन्थ्यो, मलाई भने यो कति पुस्तादेखि चलेको छ भनेर ठ्याक्कै थाहा छैन,’ खानी सञ्चालक मिसर मल्लले भने, ‘अहिले यही खानीबाट मैंले आफ्नो परिवारको खर्च धानेको छु, स्थानीयले काम पनि पाईरहेका छन् ।’
    उनका अनुसार ढुंगा खानी सोती गाउँमा भएपनि रोजगारी भने आसपासका गोहिरी, गेस्मा, बडाखोला लगायतका गाउँलेहरुले समेत पाएका छन् । सात बर्ष अघिदेखि जिल्ला बाहिर ढुंगा निर्यात हुन थालेको मल्लले बताए । स्थानीय स्तरमा यी ढुंगाको पहिलेजस्तो माग हुँदैन । अहिले बुटवल, पोखरा, काठमाडौं लगायतका क्षेत्रमा हुने मागले खानीलाई राम्रो प्रभाव परेको उनले बताए । बाहिरबाट स्लेट ढुंगाको माग आउने क्रम बढेपनि खानीको ढुंगा उत्पादन भने कम हुँदै गएको उनले बताए । सोतीमा सञ्चालनमा रहेको ढुंगा खानी सञ्चालकको जग्गा पनि आफ्नै नाममा रहेको छ । उनीहरुले आफ्नो निजी जग्गामा भएको स्लेट ढुंगालाई खानीका रुपमा दर्ता गरेर उत्खनन् गरिरहेका छन् ।
    अहिले खानीको स्लेट ढुंगा मार्बलका रुपमा प्रयोग भईरहेको अर्का खानी सञ्चालक पुतला पुन मल्लले बताईन् । अहिले गाउँमा भन्दा बढी माग बाहिरका जिल्लाहरुमा भईरहेको उनले बताईन । बाग्लुङ, दाङ, बुटवल, पोखरा, काठमाडौंका लागि ढुंगा माग भईरहेको मल्लले बताईन् । ठेकेदारको डीपोहरुमा ग्राहकले ढुंगा माग गर्ने र डीपोहरुबाट खानीमा लिन ठेकेदार पुग्ने गरेका छन् । उनका अनुसार अहिले एक वर्गफिट स्लेट ढुंगाको खानीबाट निर्यात हुँदा एक सय रुपैयाँ मुल्य पर्दछ । मल्लको खानी पनि चार पुस्ता अघिदेखि सञ्चालनमा छ । उनले उक्त खानी सञ्चालन तथा कारोबारको जिम्मा अहिले छोरा धिरजलाई दिएकी छन् ।
    चौरजहारीको स्लेट ढुंगा खानी सञ्चालनको नियमन गर्ने काम नगरपालिकाले गरेको छ । नगरपालिकाले सञ्चालकहरुबाट निश्चित राजस्व लिने गरेको छ । ‘पालिकाको नियमभित्र बसेर ढुंगाको उत्खनन् र व्यापार गरेका छौं, नगरपालिकाबाट हामीले बाहिर निकासा गर्छौं,’ मल्लले भनिन्, ‘पहिले बर्षभरिको लागि एउटा पुर्जी लिएर काम गथ्र्यौं, अहिले भने हामीले निकासा गर्नेबेलामा ढुंगाको परिमाणका आधारमा नगरपालिकालाई राजस्व बुझाउँछौं ।’ नगरपालिकाले लिएको राजस्व भने महंगो भएको गुनासो खानी सञ्चालक मल्लको छ ।
    सिजनका बेला सोतीको खानी क्षेत्रबाट महिनामा ७ देखि १० ट्रक परिमाणमा ढुंगा जिल्लाबाहिर निर्यात हुने गरेका छन् । चौरजहारी नगरपालिकाको पूर्वाधार विकास शाखाका सवइञ्जिनियर भिमबहादुर केसीका अनुसार खानी सञ्चालकले ढुंगा निर्यात गर्दा प्रतिवर्गफिटको २५ रुपैयाँ राजस्व नगरपालिकामा बुझाउनुपर्ने हुन्छ । यो राजस्व भनेको खानीबाट निकालेर तयार भईसकेका ढुंगा अरु जिल्लामा निकासी गरेवापतको भएको उनले बताए । तोकिएको राजस्व बुझाएपछि नगरपालिकाले सडक पास अनुमतिपत्र सञ्चालकलाई दिन्छ ।
    खानीबाट कति ढुंगा निकालिन्छ, कति निर्यात हुन्छ भन्ने कुरा नगरपालिकाले नै निगरानी गर्छ । यसका लागि नगरप्रहरी खटाईएको छ। सम्बन्धित वडा कार्यालयले पनि यसको निगरानी गर्ने गरेका छन् । केसीका अनुसार आर्थिक बर्ष २०७९÷०८० र २०८०÷०८१ मा ८÷८ लाख रुपैयाँ नगरपालिकामा स्लेट ढुंगा खानीबाट प्राप्त भएको थियो। यो आर्थिक बर्षमा पनि एक लाख बढी राजस्व उठिसकेको केसीले बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष सशिराम विकले गाउँमा भएका ढुंगा खानीबाट सञ्चालक र रोजगारी पाउने स्थानीय दुवैलाई फाइदा भएको बताए । ‘पहिलेको तुलनामा अहिले खानी सञ्चालकले उत्खननमा लगानी भने बढी गर्नुपरेको छ, माथीको ढुंगा निकालिसकेपछि जमिनमुनि परेको ढुंगा निकाल्न लगानी बढाउनुपरेको हो।’ वडाध्यक्ष विकले भने ।

  • आन्दोलनपछि निश्क्रिय कर्णालीका राजनीतिक दल

    आन्दोलनपछि निश्क्रिय कर्णालीका राजनीतिक दल

    जेन–जी समूहको आन्दोलनपछि कर्णालीमा राजनीतिक गतिविधि सक्रिय हुन सकेका छैनन् । सत्तामा रहेका र प्रतिपक्षमा रहेका कांग्रेस, एमाले र माओवादी लगायतका दलहरुले आफ्ना नियमित गतिविधि पनि सञ्चालन गरेका छैनन् । प्रदेशमा राजनीतिक दल र उनीहरु सम्मिलित कार्यक्रमहरु पनि पहिले जस्तो हुन सकेका छैनन् ।
    आन्दोलनका क्रममा एमाले र माओवादीको प्रदेश र जिल्ला कार्यालय तथा कांग्रेसको जिल्ला कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि कार्यालयहरुमा छिटपुटबाहेकका गतिविधि भएका छैनन् । गएका वर्षहरुमा दसैंतिहारका अवसरमा दलहरुले चियापान र कार्यकर्ता भेटघाट कार्यक्रमको आयोजना गर्ने गरेका थिए । तर यसपाली ती कार्यक्रम पनि आयोजना गरिएन । आन्दोलनपछि नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरु अन्योलमा छन् ।
    केन्द्रदेखि अलमल भएकाले कार्यकर्तामाझ सकारात्मक सन्देश अझै प्रवाह गर्न नसकिएको कांग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायाले बताए । आन्दोलनपछिको असहज अवस्थाका कारण अनौपचारिक रुपमा कार्यकर्ता भेटघाट कार्यक्रम भइरहे पनि औपचारिक बैठक तथा सार्वजनिक कार्यक्रम गर्न नसकिएको उनी बताउँछन् । ‘चाडपर्वको समय भएकाले पनि राजनीतिक सक्रियता बढाउन सकिएको छैन, त्यहीमाथि आन्दोलनले पनि पार्टीका गतिविधिमा अन्योलता ल्याएको हो ।’ रोकायाले भने ।
    आन्दोलनयता एमालेले पनि प्रदेश कमिटीको बैठक आयोजना गर्न सकेको छैन । यही असोज २७ गते जिल्ला कमिटीको सचिवालय बैठक भने बसेको थियो । बैठकमा सहभागी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले अहिले एमालेमाथि चौतर्फी प्रहार भइरहेको भन्दै जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने बताएका थिए । उनले पार्टीका कार्यकर्तालाई जनताको घरघरमा गएर वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाउन जरुरी रहेको बताए ।
    कर्णालीमा एमाले र कांग्रेसबीच सत्ता गठबन्धन छ । दुईदलीय संयन्त्रको बैठक पनि साउन २५ गतेयता बस्न सकेको छैन । जेन–जी नेतृत्वको आन्दोलनपछि भदौ ३० गते मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप एकताबद्ध भएर अघि बढ्न अपिल गरेका थिए ।
    माओवादीले असोज ९ र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयहरु विभिन्न माध्यमबाट प्रवाह गरिरहेको जनाएको छ । तर माओवादीका औपचारिक कार्यक्रम पनि आन्दोलनयता शून्य छन् । ‘एकातिर राजनीतिक अस्थिरता, अर्कोतिर पार्टी कार्यालयहरु नै आगजनी भएको छ,’ माओवादी कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले भने, ‘पार्टी कार्यालय सामान्य सरसफाइ गरेर विभिन्न जनवर्गीय संगठन र पार्टीका अनौपचारिक बैठकलाई त निरन्तरता दिएका छौं, तर औपचारिक कार्यक्रम तत्काल केही पनि गरिएको छैन ।’ उनले तिहारपछि प्रदेश कमिटीको बैठक बस्ने तयारी गरिएको जानकारी दिए ।
    अहिले दलहरुले कार्यकर्तालाई झन् क्रियाशील बनाउनुपर्ने बेला भए पनि उनीहरुको मौनताले सकारात्मक सन्देश नगएको मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले बताए । ‘दलहरुको सक्रियता नहुँदा त्यसको मार प्रदेश सरकारका कामकारबाहीमा पनि परिरहेको छ, निर्वाचनको मिति घोषणा भइसकेकाले कार्यकर्तामाझ जागरण ल्याउन पनि अहिले नै दलहरु सक्रिय हुन जरुरी छ,’ उनले भने, ‘चाडबाडको बेला कार्यकर्ताहरु गाउँमा हुन्छन्, यहीबेला दलहरुले आफ्ना सकारात्मक सन्देश प्रवाह गर्न सके उनीहरुकै पक्षमा जनमत सिर्जना हुन्छ ।’

  • डेढ अर्ब लागतमा स्तरोन्नति गरिँदै डोल्पा सडक

    डेढ अर्ब लागतमा स्तरोन्नति गरिँदै डोल्पा सडक

    भेरी करिडोरअन्तर्गत तल्नु–दुनै खण्ड स्तरोन्नति हुने भएको छ । दुई खण्ड गरेर लागेको ठेक्कामा १ अर्ब ७३ करोड लागत सम्झौता भएको हो । सो खण्ड कालोपत्रेसहित स्तरोन्नति गरिने भेरी करिडोर कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका इन्जिनियर अच्युत पन्तका अनुसार तल्नु–त्रिवेणी खण्ड स्तरोन्नतिका लागि ८८ करोडमा ठेक्का लगाइएको छ । यस्तै त्रिवेणीदेखि त्रिपुराकोटसम्मको खण्डमा ८५ करोडमा ठेक्का लागेको छ ।

    तल्नु–त्रिवेणी खण्डमा सीएबी कन्ट्रक्सनले ३१ प्रतिशत कम दरमा निर्माणको जिम्मा लिएको छ । त्रिवेणी–त्रिपुराकोट खण्ड स्तरोन्नति गर्न मैनाचुली सिस्ने जेभीले ४२ प्रतिशत कम दरमा जिम्मा लिएको छ । सएबीले गत असार र मैनाचुलीले असोजमा ठेक्का सम्झौता गरेका थिए । तर दुवैले अझै काम सुरु गरेका छैनन् ।
    तल्नु–त्रिपुराकोट सडकखण्डको कुल लम्बाइ करिब ४८ किलोमिटर छ । करिडोरको बीचमा पर्ने आधा दर्जन नदी र खोलामा पक्की पुल बन्न बाँकी छ । मोटरेबल पुल नहुँदा प्रत्येक वर्ष बर्खाको समयमा डोल्पा ६ महिना आन्तरिक सडक सञ्जालमा खुम्चिने गर्छ ।
    सुर्खेतको छिन्चुदेखि उपल्लो डोल्पामा पर्ने धोमोरिम्ला नाकासम्म भेरी करिडोर पर्छ भने यस सडकको कुल लम्बाइ ३ सय ७१ किलोमिटर छ । भेरी करिडोरलाई चीन–नेपाल र भारत जोड्ने त्रिदेशीय सडकमार्गको रुपमा समेत चिनिन्छ । यो करिडोरबाट ०७५ मंसिरमै डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

  • अझैं नगरपालिकाबाटै वडाका सेवा

    अझैं नगरपालिकाबाटै वडाका सेवा

    जेन–जी आन्दोलनका क्रममा वीरेन्द्रनगरका १२ वटा वडा कार्यालय आगजनी र तोडफोडले पूर्ण रुपमा नष्ट भएपछि वीरेन्द्रनगर नगरपालिकाले एकीकृत सेवा प्रवाह गर्न थालेको छ ।
    नगरपालिकाले जिल्ला समन्वय समितिको हलबाट वडा नं १ देखि १२ नम्बर वडाका सेवा प्रदान गरिएको छ । आगजनी भएको एक महिनाभन्दा बढी समय बितिसक्दासमेत नगरपालिकाले वडा कार्यालयबाटै सेवा सञ्चालनन गर्न कुनै चासो दिएको छैन । वडा कार्यालय सञ्चालनमा नआउँदा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको छ ।
    सेवाग्राहीहरु टाढाटाढाबाट अटोरिक्सा रिजर्भ गरेर नगरपालिका आउनुपरेको वीरेन्द्रनगर–१ का अध्यक्ष दिनेश खत्रीले बताए । वडा तहका जनप्रतिनिधि र सेवाग्राहीले वडा कार्यालय सञ्चालन गर्न नगरपालिकाको नेतृत्वले बेवास्ता गरेको गुनासो गरेका छन् । वडा १२ का अध्यक्ष चूडामणि चपाईले एउटै कोठाबाट सेवा प्रवाह गर्दा निकै समस्या भएको बताए । ‘जेष्ठ नागरिक, बालबालिका, मृत्युदर्ता र अन्य सिफारिस लिन आउनेहरुलाई समस्या छ,’ उनले भने, ‘टाढाबाट आउनुहुन्छ तर पनि सामान्य कागजपत्र नमिलेपछि फर्कनुपर्ने बाध्यता छ ।’
    आगलागी भएको महिना दिन पुगे पनि नगरपालिका कार्यालय र जिल्ला समन्वय समितिबाट सेवाप्रवाह सञ्चालनमा छ । आगलागी र तोडफोडका कारण वडा कार्यालयका सम्पूर्ण कोठा, कागजात, फर्निचर, कम्प्युटर तथा इलेक्ट्रोनिक सामग्री नष्ट र चोरी भएपछि समन्वय समितिबाट सेवाप्रवाह थालिएको हो ।

  • ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    ३ पूर्वप्रधानमन्त्री र २ पूर्वमन्त्रीको सम्पत्ति अनुसन्धान सुरु

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो । छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका छन् ।

    विभागले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र जयवीर तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण संकलन गरी पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखिसकेको छ । त्यस्तै, जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा बिहीबार पत्राचार गरिएको छ । पत्रबमोजिम विवरण संकलन भइरहेको सम्बद्ध निकायका अधिकारीले जानकारी दिएका छन् ।
    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि विवरण संकलन गरी पठाउन ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई निर्देशन दिइएको भूमि व्यवस्थापन विभागका एक अधिकारीले जानकारी दिए । बैंक÷वित्तीय संस्थामा खोलिएका खाता र तिनमा भएको नगद, गरगहना र बैंकिङ कारोबारको विवरण राष्ट्र बैंकसँग मागिएको छ ।
    प्रहरीसँग पनि २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा तत्कालीन मन्त्री खड्काका घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक परीक्षणको रिपोर्ट मागिएको छ ।
    २४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाल लगायतका नेताका घरमा आगजनी गरेका थिए । बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए ।
    त्यस्तै, खुमलटारस्थित दाहालको निवासमा पनि पैसा जलेको दाबी गरिएको छ । विभागले ५ असोजमा देउवा र खड्का तथा ७ असोजमा दाहाल निवास पुगेर मुचुल्का कागज तयार पारेको थियो । मुचुल्का विवरण फरेन्सिक जाँचका लागि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएको थियो । त्यसको प्रतिवेदन ब्युरोले विभागलाई बुझाउन बाँकी छ ।
    सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा घर तथा ससुरालीतर्फ ३ पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी र कारोबारको जाँचबुझ हुन्छ । विभिन्न निकायबाट मागिएको विवरण प्राप्त भएपछि दोस्रो चरणको अनुसन्धान हुने र आरोपितसँग बयान लिने तयारी रहेको विभागका एक अधिकारीले बताए । ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि मूलभूत रूपमा कम्पनी, बैंक÷वित्तीय संस्थामार्फत गरिएका कारोबार, घरजग्गा, सेयर, जीवनशैली लगायत विषय हुन्, अनुसन्धानका लागि सुरुमा यी विषय निक्र्योल हुनुपर्छ,’ उनले भने ।
    ‘त्यसपछि अनुसन्धानको दायरामा रहेका व्यक्तिमार्फत लाभ लिने नातागोता सबैलाई तहगत रूपमा जोड्दै अघि बढ्नुपर्ने हुन्छ । यसका लागि विभिन्न निकायबाट विवरण संकलन कार्य अघि बढाइएको छ,’ उनले भने ।
    लामो समयदेखि सत्ता र शक्तिमा रहेका देउवा, ओली र दाहालविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढेको यो पहिलो पटक हो । सार्वजनिक खरिद, विभिन्न नियुक्ति, सरुवा÷बढुवा, राष्ट्रिय सम्पत्ति हिनामिनालगायत अनेक प्रकरणमा पटकपटक विवादित भए पनि उनीहरूमाथि कहिल्यै अनुसन्धान भएको थिएन ।
    जेन–जी विद्रोहले तत्कालीन सरकार ढालेपछि बनेको अन्तरिम सरकारले भने उनीहरूमाथि अनुसन्धान अघि बढाएको हो । एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला २०७४ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अन्तरिम सरकारले अर्थ मन्त्रालयमा फिर्ता गरिसकेको छ ।
    पूर्वप्रधानमन्त्री देउवा २०४८ देखि निरन्तर सार्वजनिक लाभको पदमा छन् । २०४८ पछिका सबै संसदीय र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट विजयी भएका थिए । उनी २०४८ मै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए । २०५२, २०५८, २०६१, २०७४ र २०७८ मा गरी ५ पटक उनी प्रधानमन्त्री भए । देउवा पत्नी आरजु राणा देउवा २०६४, २०७० र २०७९ मा कांग्रेसबाट समानुपातिक सांसद भइन् । जेन–जी विद्रोहअघिसम्म ओली नेतृत्वको सरकारमा उनी परराष्ट्रमन्त्री थिइन् । प्रदर्शनकारीले २४ भदौमा निवासमै देउवा दम्पतीमाथि हातपात पनि गरेका थिए ।
    अर्का पूर्वप्रधानमन्त्री एवं माओवादी संयोजक दाहाल २०६२÷६३ को परिवर्तनपछि संसदीय राजनीतिमा सक्रिय भएका हुन् । त्यसयता उनी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी लडाकुका लागि सरकारले दिएको भरणपोषण खर्च हिनामिना गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ । दाहाल विवादास्पद व्यवसायी शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका थिए, जुन घर २४ भदौमा प्रदर्शनकारीले आगजनी गरेका थिए ।
    ओली पनि सधैं सत्ता र शक्तिको केन्द्रमा रहेका नेता हुन् । २०५१ मा बनेको मनमोहन अधिकारी नेतृत्वको सरकारमा गृहमन्त्री रहेका ओली २०६२÷६३ को राजनीतिक परिवर्तनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री थिए । उनी २०७२, २०७४, २०७७ र २०८१ गरी चार पटक प्रधानमन्त्री भए ।
    ओलीमाथि विवादित व्यापारीलाई पोसेको, सरकारी÷सार्वजनिक सम्पत्ति कौडीको भाउमा सुम्पिएको आरोप लाग्दै आएको छ । पञ्चायतकालमै उद्योग सञ्चालनका लागि हदबन्दी छुटमा दिइएको झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा हिनामिना गर्ने प्रपञ्चलाई साथ दिँदै कानुन संशोधन गरेको, मन्त्रिपरिषद्बाट निर्णय गराएको आरोप उनीमाथि छ ।
    कांग्रेस नेता खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भएका बेला जलविद्युत् आयोजनाको लाइसेन्स दिँदा र ठेक्का लगाउँदा विवादमा मुछिएका थिए । जलस्रोत उत्पादनको लाइसेन्स र ठेक्का दिलाउन ‘मन्त्री क्वार्टर र मन्त्रालयमै बसेर’ चेक लेनदेन गरेको आरोप उनीमाथि लागेको थियो । तर उनीमाथि अनुसन्धान हुन सकेको थिएन । लैनचौरस्थित नेपाल स्काउटको जग्गा हिनामिनामा पनि उनी मुछिएका थिए । पार्टीका बलशाली नेताहरूको ‘सहयोगदाता’ का रूपमा पनि चिनिएका उनको आर्थिक स्रोतको खोजबिन नै भएन ।
    सडकमै उत्रिने गरी जेन–जी आक्रोशित हुनुमा पनि भ्रष्टाचारका अनेक प्रकरणमा निष्पक्ष अनुसन्धान नगरिनु, पहुँचवालालाई संरक्षण गरिनु मुख्य कारण थिए । जेन–जी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार नियन्त्रण थियो । जेन–जी जन्मन थालेयता (२०५३ पुसयता) मात्र वाइडबडी जहाज खरिद, सुडान घोटाला, लडाकु शिविर अनियमितता, कर फछ्र्योटमा बेइमानी, सार्वजनिक जग्गा हिनामिना (ललिता निवास, पतञ्जलि जग्गा, गिरीबन्धु टी–इस्टेट, टीकापुर जग्गा, लिची बगान जग्गा, बाल मन्दिर र बाँसबारी जग्गा), नक्कली भुटानी शरणार्थी, भिजिट भिसा जस्ता अनियमितताका चर्चित प्रकरण भएका थिए ।
    कोरोनाकालमा औषधि÷उपकरण खरिदसम्बन्धी ओम्नी काण्ड, नेपाल ट्रस्टको जग्गामा अनियमितता, सुन तस्करी प्रकरण, सहकारी ठगी, सेक्युरिटी प्रेस खरिद, टेरामक्स, अन्तःशुल्क स्टिकर छपाइ, मेलम्ची आयोजनालगायत सम्बन्धी हिनामिनाका घटना भएका थिए । यी अधिकांश प्रकरणमा राजनीतिक दलका नेताहरू मुछिएका थिए ।

  • जुवा खेलिरहेका ११ जना पक्राउ

    जुवा खेलिरहेका ११ जना पक्राउ

    सुर्खेतको वीरेन्द्रनगरबाट जुवातास खेलिरहेको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका वीरेन्द्रनगर–८ खजुराबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर–८ को रुद्रप्रसाद खनाल, दुर्गबहादुर पुलामी, सुनिल गौतम, जगतबहादुर राना, सुरतबहादुर शाही, बिरजंग शाही, रेशम मल्ल, रमेश खाँण, दानबहादुर सिंह, वीरेन्द्रनगर–१० का अशोक कुमार खड्का र बिनोद मल्ल रहेका छन् ।
    उनीहरु रुद्रप्रसाद खनालको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ५८ हजार ९४० रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

  • निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयोगको छलफल

    निर्वाचनका विषयमा २९ राजनीतिक दलहरूसँग आयोगको छलफल

    निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका विषयमा आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
    बिहीबार सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दलहरू र निर्वाचन आयोगका पदाधिकारीहरूबिच छलफल भएको हो ।
    दलहरूले घोषित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गराउन नेपाल सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदान गर्ने नागरिकहरूलाई निर्भयतापूर्वक निर्वाचनमा सहभागी हुने वातावरण बनाउनुपर्ने सुझाव आयोगलाई दिएका छन् ।
    त्यस्तै आचारसंहिताको पूर्णरुपमा पालना गराउनुपर्ने, निर्वाचनलाई कम खर्चिलो बनाउनुपर्ने एवम् विद्यमान विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकोले सम्बद्ध पक्षसँग निरन्तर छलफल हुनुपर्ने सुझाव समेत राजनीतिक दलहरुले दिएका छन् ।
    छलफलमा निर्वाचन आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा हुन गइरहेको आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सबै राजनीतिक दलहरुलाई सक्रियतापूर्वक सहभागी हुन अनुरोध गरे ।
    आयोगको तर्फबाट सरकारसँग पटक–पटक छलफल भएको उनले बताए । सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता प्राप्त भएको, शान्ति सुरक्षा लगायत निर्वाचनमय वातावरण बनाई कसैले कसैलाई पनि निर्वाचनमा निषेधको राजनीति नगर्न आयोगको तर्फबाट सबै पक्षलाई आग्रह गरिसकिएको बताउँदै भण्डारीले तोकिएको समयमा निर्वाचन हुने विश्वास दिलाए ।