नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद उमरावतीदेवी यादवले विद्यमान संसदीय शासन प्रणाली र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त रहेको बताएकी छन्। ‘सांसदसँग संवाद’का क्रममा उनले अहिलेको संसदीय अभ्यास क्रमशः परिपक्व दिशातर्फ उन्मुख भइरहेको प्रतिक्रिया दिइन्।
नेत्री सिंहले भनिन्, “संसदमा बेलाबखत हुने अवरोध अन्त्य गर्दै लैजानुपर्छ, देशको शासन व्यवस्थाका लागि योगदान दिएका प्रमुख राजनीतिक दल मिलेर काम गर्नुपर्छ। हामीले जनताका सुखदुःखमा साथ र सहयोग गर्नुपर्छ।”
निर्वाचित सांसदले जनताको पक्षमा नै काम गर्नुपर्नेमा जोड दिंदै उनले संसद् तथा सरकारले जनताका समस्या तथा गुनासालाई सम्बोधन गर्छ भन्ने विश्वास दिलाउनुपर्ने बताइन्।
लामो समयसम्म वञ्चितीकरणमा परेका वर्ग तथा समुदायलाई सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले राज्यको मूलप्रवाहमा ल्याएको उनको भनाइ छ।
जिल्लाका जनताले खास गरी विकास र कानुन निर्माणको पाटो दुवैमा उत्तिकै चासो दिएर साेधेको बताउँदै उनले पछिल्लो समय मतदाताले बजेट र विकासका माग र मुद्दालाई प्राथमिकतामा राख्न सुझाव दिएको सुनाइन्। तराई मधेस कृषि उब्जनीको दृष्टिकोणबाट उर्वर रहेको जनाउँदै सांसद् यादवले कृषि क्षेत्रका समस्या समाधानका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिइएकामा खुसी पाेख्दै उनले बजेटको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने बताइन्।
कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवर्द्धनलाई प्रमुख प्राथमिकतामा राखिएको बजेटले मुलुकको वर्तमान समस्या समाधान गर्ने विश्वास गरिन्।
राज्यबाट प्रदान गरिएको सेवासुविधा प्राप्त गर्न जनताले अझै घुसका रूपमा पैसा नै बुझाउनुपर्ने स्थिति रहेको बताउँदै उनले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सहज र सरल मार्गबाट उपलब्ध गराउनुपर्नेमा जोड दिइन्।
देशमा काम नपाएपछि युवा तथा विद्यार्थी रोजगारीका लागि बाध्य भएर विदेश जानुपरेको बताउँदै नेत्री देवीले भनिन्, “पेट पाल्नपर्छ, बच्चा पढाउनुपर्छ, परिवार धान्नपर्छ, महँगीको जमाना छ, यहाँ आयआर्जनका बाटा पर्याप्त छैनन्। अनि विदेश नगएर के गर्नु?”
कानुन निर्माणलाई कति प्राथमिकता दिने भन्ने विषय प्रमुख राजनीतिक दल र सरकार बिचको सहमतिमा निर्धारण हुने बताउँदै उनले बेरोजगारी मतदातालाई घरमै बसेर खेतीपाती र पशुपालन गर्नमा संलग्न हुन सुझाइन्।
सानै उमेरदेखि राजनीतिमा संलग्न सांसद देवी राष्ट्रिय जनता पार्टीको स्थापनाकालदेखि नै राजनीतिमा सक्रिय भइन्। उनी मधेस प्रदेश बारा जिल्ला महागढीमाई नगरपालिका-६ का स्थायी बासिन्दा हुन्। हाल सांसद देवी प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति सदस्य पनि हुन्।