Blog

  • जनमतका यादव चर्चामै सीमित, सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

    जनमतका यादव चर्चामै सीमित, सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै

    मधेस प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन चार दलले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेस गरिँदै छ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छन्।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।

    जनमतका सिंहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिँदै छ।

    यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भइरहेका बेला जनमतले सिंहको नाम मुख्यमन्त्रीमा सारेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरिने भएको छ।

    जनमत पार्टी १३ सांसदसहित, नेकपा एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी गरेको छ।

    सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित भएक हुन्।

    १०७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका ५४ सांसदको समर्थन चाहिन्छ। केन्द्रीय सत्ता गठबन्धनअनुसार प्रदेशमा बनेको नयाँ गठबन्धनले सरकार बनाउन सामान्य बहुमत जुटाएका छन्।

    बुधबार मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ५० सांसद मत दिएका थिए भने विपक्षमा ५३ मत पर्‍यो।

    मुख्यमन्त्री यादवका पक्षमा जसपाका १९, नेपाली कांग्रेसका २२, लोकतान्त्रिक समाजवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ सांसद मतदान गरेका थिए।

  • १६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

    १६ औँ प्रधानमन्त्री बन्दै मोदी, प्रधानमन्त्री दाहाललाई पनि शपथ समारोहमा निम्तो

    भारतमा आगामी ५ वर्षका लागि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। पछिल्लो १० वर्षदेखि सत्ता सम्हालिरहेका भारतीय जनता पार्टीका नेता एवं वर्तमान कामचलाउ प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी ५ वर्ष सत्ता सम्हाल्ने तय छ।

    विभिन्न ७ चरणमा गरी सम्पन्न भएको १८ औँ लोकसभा निर्वाचनबाट भाजपा नेतृत्त्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिएले बहुमत हासिल गरेको छ। र, सोहि आधारमा नयाँ सरकार गठन हुनेछ।

    मोदी भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् जसले लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेर सत्ता सम्हाल्ने छन्। यसअघि जवाहर लाल नेहरु भारतको लगातार तेस्रो पटक प्रधानमन्त्री बनेका थिए।

    नयाँ सरकार गठनका लागि मोदीले बाटो खुलाउँदै बुधवार प्रधानमन्त्रीको पदबाट राजीनामा दिइसकेका छन्। अब उनले देशको १६ औँ प्रधानमन्त्रीको रुपमा ८ जुनका दिन भव्य समारोहका बीच पदभार सम्हाल्दै शपथ ग्रहण गर्नेछन्। जसका लागि तयारीलाई तीव्रता दिइएको छ।

    नयाँ सरकार गठनका लागि मोदीले बिहारका मुख्यमन्त्री नीतिश कुमार र एनडीए छोडिसकेका आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्र बाबु नायडूसहितको बैठक गर्दै सहमति जुटाइसकेका छन्।

    गठबन्धन सरकार गठनका लागि पहल थालिसकेका मोदीले ७ जुनमा एनडीएको बैठक बस्ने तयारी गरेका छन्। ७ जुनको बैठकले मोदीलाई एनडीएको संसदीय दलको नेता चुनिने छ। त्यसपछि उनले राष्ट्रपति समक्ष सरकार बनाउने दाबी पेश गर्नेछन्। त्यस पछि ८ जुनका दिन उनले प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरिएको छ।

    प्रधानमन्त्रीको शपथ समारोहका लागि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख र प्रधानमन्त्रीहरूलाई निम्तो दिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    जसमा भुटानका राजा जिग्मे क्षेसर नामगेल वाङ्चुक, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना र मोरिशसका प्रधानमन्त्री प्रविन्द जुगनौथ लगायतलाई निमन्त्रणा पठाइएको छ।

  • फिफा विश्वकप छनोट: नेपाल आज युएईसँग खेल्दै

    फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हुँदै छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा नेपाली समयअनुसार राति ९ः४५ बजे खेल हुने छ।

    यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४-० ले पराजित भएको थियो। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। फिफा वरीयतामा युएई ६७औं स्थानमा छ भने नेपाल एक सय ७८औं स्थानमा छ।

    नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन्। त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन्।

    यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनीष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी रहेका छन्। –रासस

  • जापानको जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार

    जापानको जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार

    जापानको स्वास्थ्य मन्त्रालयले देशको जन्मदर चिन्ताजनक रुपमा घट्दै गएको बताएको छ।

    मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।

    मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको जन्मदर अर्थात् एक महिलाले आफ्नो जीवनमा जन्माउन सक्ने औसत सन्तानको सङ्ख्या गत वर्ष १.२० रहेको छ, जुन जनसङ्ख्या सन्तुलन राख्न आवश्यक पर्ने २.१ बालबालिकाभन्दा निकै कम हो।

    यो सङ्ख्या सन् २०२२ मा १.२६ बाट घटेको थियो र १२ करोड ४० लाख जनसङ्ख्या भएको देशमा यो लगातार आठौं वार्षिक गिरावट हो।

    आर्थिक अस्थिरता, काम र बच्चा हुर्काउन कठिनाइ जस्ता विभिन्न कारणले यो सङ्ख्या घट्नुको जिम्मेवार हुन सक्ने मन्त्रालयको भनाइ छ।

    घट्दो जन्मदर विकसित देशहरूमा एक सामान्य प्रवृत्ति हो र जापानको जन्मदर अझै पनि यसको छिमेकी दक्षिण कोरियाको ०.७२ भन्दा माथि छ। तथापि, मोनाको पछि विश्वको सबैभन्दा पुरानो जनसङ्ख्याको साथ, जापानले बढ्दो जनसाङ्ख्यिकीय सङ्कटलाई रोक्नको लागि जन्मदर (बेबी बूम) लाई प्रोत्साहित गर्ने तरिकाहरूको खोजी गरिरहेको छ।

    जापानको संसद्ले बुधवार आमाबाबुका लागि थप वित्तीय सहयोग प्रदान गर्न कानूनमा संशोधन, बाल हेरचाह सेवाहरूमा सुधारिएको पहुँच र विस्तारित अभिभावकीय छुट्टी लाभहरूलाई अनुमोदन गरेको छ।

    प्रधानमन्त्री फुमियो किशिदाले जापानी समाजका लागि तत्काल खतराको रूपमा व्याख्या गरेको जन्मदरलाई बढाउने प्रयास सरकारले गरेको बताए।

    जन्मदर बढाउन जापानले चालेको पहलमध्ये टोकियो शहर सरकारले विकास गरेको ‘डेटिङ एप’ पनि एक हो, जुन यो गर्मीयामदेखि सञ्चालनमा आउनेछ।

    ‘डेटिङ एप’ का प्रयोगकर्ताहरूले उनीहरू कानुनी रूपमा एकल छन् भनेर प्रमाणित गर्ने कागजातहरू पेश गर्न र विवाह गर्न इच्छुक छन् भनेर एक पत्रमा हस्ताक्षर गर्न आवश्यक हुनेछ।

    गत वर्षको अन्त्यदेखि निःशुल्क परीक्षण चलिरहेको एपको दर्ता प्रक्रियाको एक भागको रूपमा प्रयोगकर्ताको पहिचान पुष्टि गर्न अन्तवार्ता पनि आवश्यक हुनेछ। रासस

  • पारामाउन्ट मोटर्स र नबिल बैंकसँग साझेदारी

    पारामाउन्ट मोटर्स र नबिल बैंकसँग साझेदारी

    पारामाउन्ट मोटर्सले आफ्ना ग्राहकलाई उत्कृष्ट वित्तीय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग साझेदारी घोषणा गरेको छ। वुलिङ बिंगो इभिमा रुचि राख्ने ग्राहकको पहुँचमा पुर्‍याउन र आर्थिक सहजता प्रदान गर्न सो सहकार्य गरिएको कम्पनीले जनाएको छ।

    साझेदारीसँगै वुलिङ बिंगो इभी परिवारमा सामेल हुन चाहने ग्राहकले नबिल बैंकको सात वर्षसम्मको फ्लोटिङ ऋण सुविधा र गाडीको मूल्यको ८० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा पाउनेछन्। साथै ग्राहकले पाँच वर्षका लागि ९.९९ प्रतिशत र सात वर्षको लागि १०.४९ प्रतिशतको स्थिर ब्याज दरहरू वा आधा दर र प्रिमियम मोडेलमा आधारित अस्थिर ब्याजदर बीच छनौट गर्न सकिने भएको छ।

    यस्तै बैंकले व्यक्तिगत कर्जाको लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म फाइनान्सिङ गर्ने र यसको वित्तीय सीमा २५ लाख रहेको छ। साथै अटो लोनको अवधि बैंकको नीति अनुसार स्टयान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम सात वर्षसम्म लम्बिन सक्ने जनाएको छ।

  • गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

    गलकोटको कोतघर जीर्णोद्धार गर्दै सेना

    नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ। यसको मौलिक स्वरुप कायम गरिएको छ।

    गलकोट नगरपालिका– ३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालामा बनेको हो। गलकोट नगरपालिका ३ का वडाध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनर्निर्माण चलिरहेको र अहिले पुनर्निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।

    कोतघरलाई पुरानै शैलीमा नयाँ काठको प्रयोग, झ्याल ढोका नयाँ राख्ने र छाना पुरानै स्वरुपमा छाउने काम चलिरहेको छ। गलकोट राज्य सञ्चालन गरिएको दरबारको भग्नावशेषनजिकैको कोतघर २०४० मा पुनर्निर्माण गरी ढुंगाले छाइएको थियो। त्यसयता गलकोट नगरपालिकाले मर्मतसम्भार गर्दै आए पनि भत्काएर पुनर्निर्माण भने गरिएको थिएन।

    ‘बाहिरबाट रङरोगन गरिए पनि भित्रका काठ कुहिएका रहेछन्। ढुंगाको छाना चुहिएर कोतघर जीर्ण भएको थियो। नगरपालिकाले विस्तृत परियोजना प्रतियोदन तयार गरेर कोतघरको पुनर्निर्माण गर्ने तथा त्यस क्षेत्रको समग्र विकास गर्ने योजना जारी छ’, वडाध्यक्ष खत्रीले भने, ‘नगरपालिकाको योजनामा नेपाली सेनाले साथ दिएको छ।’

    घोडाबाँधेस्थित नेपाली सेनाको श्रीमेहर गणले दु्रत प्रभाव योजनाअन्तर्गत गलकोटस्थित कोतघर जीर्णोद्धार गरिरहेको प्रमुख सेनानी धनबहादुर रानाले जानकारी दिए। आगामी असारभित्रै निर्माण सम्पन्न गरेर कोतघर नगरपालिकालाई हस्तान्तरण गरिने जानकारी दिँदै उनले जीर्णोद्धार लागत नौ लाख रहेको बताए।

    गलकोट नगरपालिकाका प्रमुख भरत गैरेले कोतघरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने गरी ५० लाखभन्दा बढी खर्चेर भौतिक पूर्वाधार निर्माण गरिएको जानकारी दिए।

    उक्त कोतघरबाट दुई सय १३ वर्षसम्म मल्ल राजाले स्वतन्त्र राज्य चलाएको स्थानीयको भनाइ छ। गलकोट राज्यका पहिला राजा जितारी मल्लले कोतघर बनाएको इतिहासमा उल्लेख छ। राजाले त्यहाँ दरबार, कोतघर, मन्दिर, पोखरी, कुवा, किल्ला, मोर्चा, पर्खाल निर्माण गरेका थिए। कोतघरले झन्डै सात रोपनी जग्गा चर्चेको छ। कोतघरसँगै भगवतीको मन्दिर पनि छ।

    कोतघरमा खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार छन्। तत्कालीन राजाले पूजाआजा गर्ने इष्टदेवी र भगवतीका मन्दिरमा त्यतिबेलैका मूर्ति र शिला छन्। खुँडा, खुकुरीलगायतका परम्परागत हातहतियार राख्नका लागि नेपाली सेनाले छुट्टै भवनसमेत बनाइरहेको छ।

    कोतघरमा ६५ किलोको खुँडा, ५० किलोको तरबार र ६० किलोका दुई खुकुरी प्रतिस्थापन गरिएपछि कोतघरमा आन्तरिक पर्यटक पुग्न थालेका छन्। अहिलेको गलकोट नगरपालिकाको नामसमेत यही कोतबाट निर्माण भएको इतिहास छ। गोलो पहाडको टाकुरामा दरबार निर्माण गरी राज्य सञ्चालन भएकाले त्यस क्षेत्रको नाम गोलकोत रहन गएको पाइन्छ। उक्त नाम अपभ्रंश हुँदै अहिले गलकोटका रुपमा प्रचलित छ।

    कोतघरमा बडादसैं र चैतेदसैंमा विशेष पूजा हुने गरेको छ। विसं १६३१ देखि १८४४ सम्म कोतघरबाट गलकोट राज्य सञ्चालन भएको थियो। –रासस

  • पीएनजीलाई हराउँदै युगान्डाले खोल्यो जितको खाता

    पीएनजीलाई हराउँदै युगान्डाले खोल्यो जितको खाता

    आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत युगान्डाले पहिलो जित हात पारेको छ।

    समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा युगान्डाले पपुआ न्यूगिनी (पीएनजी) लाई ३ विकेटले हराउँदै जितको खाता खोलेको हो।

    गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो।

    ७८ रनको लक्ष्यसहित मैदान उत्रेको युगान्डाले निर्धारित ओभरको १८.२ बल खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

    सामान्य लक्ष्य पाएपनि युगान्डाले सुरुदेखि नै जितका लागि निकै सङ्घर्ष गर्नुपर्यो। ओपनर ब्याट्सम्यानद्वय रोजर मुकासा शून्य र सिमोन सेस्सजी १ रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका रोबिन्सन ओबुया पनि १ रनमै पभेलियन फर्के।

    चैथो नम्बरमा मैदान उत्रेका रिजन अलि शाहले युगान्डाको पारी सम्हाल्दै सर्वाधिक ३३ रन जोडे। त्यसबाहेक जुमा मियागीले १३ रन जोडे। जितका लागि २ रन चाहिँदा युगान्डाले साँतौ विकेट गुमायो। त्यसपछि केनाथ वसिबाले सट प्रहार गर्दै युगान्डालाई पहिलो जित दिलाए।

    पीएनजीका लागि एलेई नाओ र नोरमन वनुवाले समान २/२ विकेट लिँदा चाड सोपर र असद वालाले समान १/१ विकेट हात पारे।

    त्यसअघि टस हारेर ब्याटिङ्ग गरेको पीएनजीका लेगा साइकाले १२, हिरी हिरीले १५ र किलपिन डोरिगाले १२ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

    पीएनजीलाई सस्तोमा समेट्न युगान्डाका अलपेश रामजानी, कोसमस केयुटा, जुमा मियागी र फ्रान्क न्सुबुगाले समान २/२ विकेट लिए भने कप्तान ब्रिएन मसाबाले १ विकेट लिए।

    यसअघि आफ्नो पहिलो खेलमा युगान्डा भने अफगानिस्तानसँग १२५ रनको विशाल अन्तरले पराजित भएको थियो।

  • विश्व वातावरण दिवसमा वृक्षरोपण तथा साइकल र्‍याली

    विश्व वातावरण दिवसमा वृक्षरोपण तथा साइकल र्‍याली

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले विश्व वातावरण दिवसको अवसरमा साइकल र्‍याली गरेको छ। कम्पनीले ५ मेमा कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंबाट सुरु गरी नारायणचौर, नक्साल भवगतीवहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरबारमार्ग हुँदै पुनः नारायणचौरसम्म साइकल र्‍याली आयोजना गरेको हो।

    वातावरण स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जय होस्, जीवनभर वातावरणमैत्री कार्यमा हात बढाऔं, प्रकृतिप्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारासहित कम्पनीले विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाएको छ।

    साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादेश्रेष्ठले वातावरण जोगाउँ, साइकलको प्रयोग गरौं, स्वस्थ भएर जीवनजीउँ भन्ने भावका साथ लायन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधिलाई विभिन्न जातका बिरुवाहरू हस्तान्तरण गरेका छन्।

  • अस्ट्रेलियाद्वारा ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

    अस्ट्रेलियाद्वारा ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत

    आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा अस्ट्रेलियाले ओमानसमक्ष १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    केनिङ्स्टोन ओभलमा समूह ‘बी’ अन्तर्गत भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६४ रन बनाएको छ।

    अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले नट आउट रहँदै सर्वाधिक ६६ रनको पारी खेले भने ओपनर ब्याट्सम्यान डेभिड वार्नरले ५६ रनको योगदान गरे।

    ट्रेविस हेड १२, मिचेल मार्स १४, टीम डेभिडले १० रन जोड्दा ग्लेन म्याक्सवेल भने शून्यमै पभेलियन फर्के।

    ओमानका लागि मेहरान खानले सर्वाधिक २ विकेट लिँदा बिलाल खान र कलिमुल्लाहले समान १/१ विकेट हात पारे।

  • गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

    गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

    गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ। चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१.२ किलोमिटर ढलान भएको छ।

    भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुुवर्षीय आयोजनामार्फत थप सय किलोमिटरभन्दा बढी ग्राभेल भएको छ। गत आव २०७९÷०८० सम्म पाँच सय ९९ किलोमिटर सडक ग्राभेल र छ सय ६८ किलोमिटर कालोपत्र भएको थियो।

    ‘प्रदेश स्थापना भएदेखि हालसम्म आठ सय ८२ किलोमिटर सडक कालोपत्र र ढलान गरी स्तरोन्नति गरेका छौं’, उक्त मन्त्रालयअन्तर्गतको पूूर्वाधार विकास निर्देशनालयका निर्देशक महेन्द्र बानियाले भने, ‘सडक निर्माण र स्तरोन्नतिमा हालसम्म ४८ अर्बभन्दा बढी खर्च भएको छ।’

    बाह्र अर्ब पुँजीगत बजेट रहेको भौतिक मन्त्रालयले चालु आवमा पुराना बहुवर्षीय र सालबसालीसहित एक हजार चार सय ६४ योजनालाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो। यस वर्ष एक सय २७ प्रादेशिक सडक, पाँचवटा संघीय समपूरक सडक, ३० पक्की पुल र चार झोलुंगे पुल आयोजना बहुुवर्षीय ठेक्कामार्फत कार्यान्वयन भएका छन्।

    निर्देशक बानियाका अनुसार बहुवर्षीय योजनका सडक, मोटरेबल र झोलुुंगे पुलका लागि १२ अर्ब ७३ करोड ९८ लाख बजेट सुनिश्चित भएको छ। अधिकांश तीन वर्ष र केही योजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य छ।

    राष्ट्रिय राजमार्गका वैकल्पिक सडक पनि खोल्ने र स्तरोन्नति गर्ने योजनालाई प्राथमिकता दिइएको भौतिक मन्त्रालयमार्फत एक निर्वाचन क्षेत्र, एक सडक, स्थानीय तहको केन्द्र जोड्ने, अन्तरजिल्ला, अन्तरपालिका जोड्ने रणनीतिक महत्वका सडक गौरवका आयोजनाका रुपमा कार्यान्वयनमा रहेका उक्त मन्त्रालयका सचिव शंकरप्रसाद पण्डितले बताए। –रासस