Blog

  • कानुन मिचेर ८७ प्रतिशत कर्मचारी सरुवा

    कानुन मिचेर ८७ प्रतिशत कर्मचारी सरुवा

    निजामती सेवामा सबैभन्दा ठुलो बेथिति कर्मचारी सरुवामा हुने गरेको छ। महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदनअनुसार ८७ प्रतिशतजति निजामती कर्मचारीको सरुवा बेसमयमा हुने गरेको छ। यसबाट कर्मचारी सरुवामा गम्भीर अनियमितता हुने गरेको पुष्टि हुन्छ।

    निजामती सेवा नियमावली, २०५० को दफा ३६ मा निजामती कर्मचारीहरूलाई सरुवा गर्नुपरेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ १ देखि मसान्तसम्म मन्त्रालय वा मन्त्रालयस्तरको सरुवा, केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ देखि १५ गतेभित्र र क्षेत्रीय स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि मसान्तसम्म सरुवा गरिसक्नुपर्ने व्यवस्था छ।

    दफा ३६ मा तोकिएको समयतालिकाबाहेक सरुवा गर्नुपरेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्छ। काज सरुवा गर्नुपरे मात्र उक्त मन्त्रालयको सहमति लिन आवश्यक नपर्ने व्यवस्था छ। यही व्यवस्थाको गलत फाइदा उठाउँदै मन्त्रालयहरूले बेरीतपूर्वक कर्मचारी सरुवा गर्दै आएका छन्।

    निजामती कर्मचारीको सरुवा गर्दा सरुवापत्रमै अवधि तोकी कम्तीमा दुई वर्षका लागि लेख्नुपर्ने व्यवस्था कानुनमा छ। नियमावलीको दफा ३६ ले सरुवा समयतालिका मात्र नभई त्यसका आधारहरू पनि निर्धारण गरेको छ। महालेखा परीक्षकको प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना तथा राजपत्रअनंकित श्रेणीविहीन १ हजार ३४७ कर्मचारीको सरुवा गरेको छ। जसमा १३ प्रतिशत मात्र भदौमा र बाँकी ८७ प्रतिशत अन्य महिनामा सरुवा गरिएको उल्लेख छ।

    त्यसैगरी विभिन्न श्रेणीका कर्मचारीलाई मन्त्रालयहरूले पटकपटक काजमा राख्ने गरेको प्रतिवेदनमा छ। कानुनमा व्यवस्था भएबमोजिम सरुवा तथा काज व्यवस्थापन गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन गरेको छ।

    निजामती सेवा ऐन, २०४९ को दफा १८ ख (१) मा कुनै पनि कर्मचारीलाई लामो बिदामा बसेको, निलम्बनमा परेको, अन्यत्र काजमा खटिएका कारण पदाधिकारमा नरहेको अवस्थामाबाहेक २ महिनाभन्दा बढी जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्न नपाइने व्यवस्था छ।

    यसरी बिनाकारण कर्मचारीलाई अतिरिक्त समूहमा राखेको पाइए जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएका पदाधिकारीलाई विभागीय कारबाही हुने व्यवस्था गरिएको छ। यो व्यवस्थालाई पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटकपटक उल्लंघन गरेको पाइएको छ।

    महालेखा परीक्षकको प्रतिवेदनमा अतिरिक्त समूहमा राखिएका कर्मचारीहरूको आर्थिक वर्ष २०७९/८० मा तलबभत्तामा मात्र १८ करोड ४८ लाख ६० हजार रूपैयाँ खर्च भएको उल्लेख छ।

    अतिरिक्त समूहमा तीन महिनादेखि १० महिनासम्म जिम्मेवारीविहीन बनाएर राख्ने गरिएको छ। जिम्मेवारी नदिइएको अवस्थामा पनि तलब दिनुपर्छ। एकातिर कर्मचारीलाई कामबिहीन बनाएर राख्ने अर्कातिर सेवाग्राहीको चाप हुने कार्यालयहरूमा दरबन्दीअनुसार पदपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ।

  • कस्तो छ तपाईंको आजको राशिफल ?

    कस्तो छ तपाईंको आजको राशिफल ?

    मेष राशिः वैदेशिक यात्राको समय देखिन्छ। आर्थिक लाभ हुने दिन छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमिमा फल प्राप्तिको योग छ। अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने छ।

    वृष राशिः आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने समय छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

    मिथुन राशिः बिलासी कार्यमा रुचि नलिनु राम्रो। कार्यसिद्धिमा सामान्य शुभ छ। कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। व्यापार गर्नेलाई दिन मध्यम छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ।

    कर्कट राशिः पठन पाठनमा रुची बढ्ने छ। परिवारको अग्रजबाट धन प्राप्तीको योग छ। व्यापार व्यवसाय तथा नयाँ कार्य विस्तार हुने दिन छ। आफै कार्य गर्दा बढी लाभ मिल्नेछ।

    सिंह राशिः यात्राबाट शुभ फल मिल्नेछ। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। कार्यमा सामान्य बाधा हुन सक्ने हुँदा, त्यसबाट टाढै रहनु होला। अध्ययनमा शुभ छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ।

    कन्या राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु शुभ देखिन्छ। यात्राको योग छ। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। धन आर्जनमा व्यवधान देखिन्छ। कार्यगर्दा विचारपूर्वक गर्नुहोला।

    तुला राशिः मान प्राप्त हुने दिन छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सफल भइने छ। सामान्य उदर रोग देखिन सक्छ। निर्माणसम्बन्धी व्यवसायमा लगानीबाट सफलता मिल्नेछ। उचित लाभ प्राप्त हुनेछ।

    वृश्चिक राशिः सामाजिक कार्यबाट सम्मान मिल्ने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। मधुर भोजन र पारिवारिक मिलनले मन प्रसन्न हुने देखिन्छ। रोगबाट सचेत रहनु होला। मित्रहरुबीच प्रेम सद्भाव रहनेछ।

    धनु राशिः व्यवसायमा कम फल प्राप्तिको समय छ। सामान्य शिर कष्ट देखिन सक्छ। बिलासी कार्यमा प्रवेश गर्नुपूर्व विचार पुर्याउनु होला। स्वजनबाट मध्यम लाभको योग छ। पढाईको क्षेत्रमा शुभ छ।

    मकर राशिः सरकारी काम प्राप्त हुने योग छ। फलाम सम्वन्धी व्यवसायमा लगानी गरे लाभ मिल्नेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। जलउद्योगमा लगानी सामान्य राम्रो हुन्छ।

    कुम्भ राशिः विद्यार्थीका लागि पढाई राम्रो हुने दिन छ। व्यापारमा केही अर्थ व्यय हुने छ। केहि व्यक्तिहरुले सामान्य मतभिन्नता सिर्जना गर्न सक्ने छन्। स्वास्थ्यमा केही समस्या देखिन सक्छ।

    मिन राशिः पढाईमा कार्यसिद्धिको योग छ। पराक्रमबाट काम फत्ते हुनेछ। व्यापार व्यवसायमा धन खर्च हुने योग छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

  • लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

    लुम्बिनी प्रदेशले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

    लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

    लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

    प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए। रासस

  • साढे २४ अर्ब अनुदान कटौती : पालिका प्रमुख आन्दोलित

    साढे २४ अर्ब अनुदान कटौती : पालिका प्रमुख आन्दोलित

    संघीय सरकारले स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको करिब साढे २४ अर्ब रूपैयाँ कटौती गरेपछि स्थानीय सरकार प्रमुखहरू आन्दोलित भएका छन्। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेपछि स्रोतको दबाब भएको भन्दै अर्थ मन्त्रालयले समानीकरण अनुदानको तेस्रो र चौथो किस्ताको करिब २५ प्रतिशत कटौती गरेको थियो।

    पालिकामा जाने समानीकरण अनुदानको २४ अर्ब ५९ करोड रूपैयाँ कटौती भएकाले आन्दोलित हुनुपरेको नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए।

    यसै विषयलाई लिएर मुलुकभरिबाट काठमाडौं आएका नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले आइतबार अर्थ मन्त्रालयमा धर्ना दिए। तेस्रो किस्तामा वित्तीय समानीकरण अनुदान कटौती गरेपछि यसअघि पनि स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री पुष्पकमल दाहालदेखि अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए।

    प्रधानमन्त्री दाहालले वित्तीय समानीकरण अनुदान वित्तीय समानीकरण अनुदान कटौती भएपछि पालिका आन्दोलित भएका हुन्। ‘संघीयताको मर्मविपरीत अर्थ मन्त्रालयले स्थानीय तहको अनुदान कटौती गरेको छ,’ नीलकण्ठ नगरपालिकाका प्रमुखसमेत रहेका ढुंगानाले भने, ‘माग सुनुवाइ नभएपछि बाध्य भएर धर्ना दिन आएका हौं।’

    स्थानीय तहले बजेट तयार गरेर कार्यक्रम अघि बढाएको अवस्थामा अहिले अनुदान कटौती गर्दा धेरै समस्या सिर्जना हुने ढुंगानाले बताए। पाालिका प्रमुखहरूले अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन अर्थमन्त्रीलाई आग्रह गरेका छन्। निर्णय फिर्ता नभए स्थानीय तह बन्द गरेर सिंहदरबारमै बस्न आउने चेतावनी पनि उनीहरूले दिएका छन्।

    संघीय सरकारले बजेट भाषणमा स्थानीय सरकारलाई समानीकरण, ससर्त, विशेष र समपूरक गरी चार प्रकारका अनुदान दिँदै आएको छ। संघीय सरकारले दिने यही अनुदानका आधारमा पालिकाले बजेट निर्माण गर्छन्। स्थानीय तहमा राजस्वको ठुलो स्रोत छैन। संघीय सरकारले दिने अनुदानकै आधारमा पालिकाहरूले विकास निर्माणलगायत काम गर्दै आएका छन्।

    बजेट बनाएपछि तेस्रो किस्तामा आएर सरकारले अनुदान कटौती गरेर संघीयताको उपेक्षा गरेको गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी पाण्डेले बताइन्। ‘वित्तीय अनुदान कटौतीले धेरै योजना प्रभावित हुन्छन्,’ उनले भनिन्, ‘अर्थ मन्त्रालयले कटौती गरेको वित्तीय समानीकरण अनुदानको रकम तुरुन्त दिनुपर्छ भन्ने हाम्रो माग हो।’

    सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा वित्तीय समानुनीकरण अनुदानतर्फ प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड गरी एक खर्ब ४६ अर्ब दुई करोड रूपैयाँ विनियोजन गरेको छ।

    ससर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई एक खर्ब ९१ ऋर्ब ८९ करोड गरी दुई खर्ब २७ अर्ब ६१ करोड रूपैयाँ, समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई सात अर्ब पाँच करोड गरी १३ अर्ब २७ करोड रूपैयाँ, विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई आठ अर्ब ७३ करोड रूपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड रुपैयाँ छुट्याइएको छ।

    सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि ल्याएको बजेटमा पनि स्थानीय तहलाई दिने अनुदान नबढाएको भन्दै पालिका प्रमुखहरूले असन्तुष्टि जनाएका छन्।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री वर्षमान पुनले वित्तीय समानीकरण अनुदानअन्तर्गत प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब रूपैयाँ विनियोजन गरेका छन्।

    त्यसैगरी आगामी आवका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई २५ अर्ब ८४ करोड र स्थानीय तहलाई दुई खर्ब आठ अर्ब ८८ करोड गरी दुई खर्ब ३४ अर्ब ७३ करोड रूपैयाँ विनियोजन भएको छ।

    प्रदेश र स्थानीय तहका लागि पूर्वाधारका आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान क्रमशः ६ अर्ब २० करोड र सात अर्ब, विशेष अनुदान प्रदेशका लागि चार अर्ब ४० करोड र स्थानीय तहका लागि आठ अर्ब ५० करोड रूपैयाँ विनियोजन भएको छ।

    त्यस्तै ससर्त, समपूरक र विशेष अनुदान कार्यसम्पादनका आधारमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको अर्थमन्त्री पुनले बताएका छन्। प्रदेश र स्थानीय तहमा राजस्व बाँटफाँटबाट एक खर्ब ५९ अर्ब हस्तान्तरण हुने र राजस्व बाँटफाँट तथा अनुदान गरी प्रदेश र स्थानीय तहमा आगामी आर्थिक वर्ष ५ खर्ब ६७ अर्ब हस्तान्तरण हुने अनुमान गरेको बजेट भाषणमा उल्लेख छ।

  • आईसीसी विश्वकप टी-२०: ओमानविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नामिबिया

    आईसीसी विश्वकप टी-२०: ओमानविरुद्ध पहिला फिल्डिङ्ग गर्दै नामिबिया

    आईसीसी विश्वकप टी-२० अन्तर्गत आजको खेलमा ओमानविरुद्ध नामिबियाले पहिला बलिङ्ग रोजेको छ।

    केनिङ्स्टोन ओभलमा हुने आजको तेस्रो खेलमा नामिबियाले टस जितेर ओमानलाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।

    खेल अबको केही बेरमा सुरु हुनेछ।

    यसअघि आइतवार भएको पहिलो खेलमा अमेरिका र दोस्रो खेलमा वेस्ट इन्डिजले विजयी सुरुआत गरिसकेको छ।

  • सडक सम्भावना

    सडक सम्भावना

    सहरी जीवनमा ‘ट्राफिक’ सबैलाई सहजै छुने विषय हो। प्रायः सबै सडकका प्रयोगकर्ता हुन्छन्। कोही पैदल हिँड्छन्। कोही आफ्नो गच्छेअनुसारको सवारीमा यात्रा गर्छन्। यी सबैलाई व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी भने प्रहरीको हुन्छ। यसकारण प्रहरी सर्वसाधारणसँग प्रस्तुत भएअनुसार नागरिकको राज्यसँगको सम्बन्ध पनि परिभाषित हुन्छ। प्रहरी व्यवहार मैत्रीपूर्ण भयो भने सरकारले राम्रो व्यवहार गरेको ठानिन्छ। सरकारले सडकमा लागु गरेका नियमको सबैभन्दा छिटो मूल्यांकन पनि हुन्छ। यतिबेला सडक अनुशासन उल्लंघन गर्नेहरूलाई ‘स्वयंसेवक’को भूमिकामा समेत उतारिएको छ। यसको पनि पक्ष र विपक्षमा चर्चा भइरहेको छ। मादक पदार्थ सेवन, लेन अनुशासन, दु्रत गतिमा सवारी सञ्चालन र ट्राफिक बत्ती उल्लंघनलाई यतिबेला विशेष ध्यान दिइएको छ। यसैका आधारमा कारबाही भइरहेको छ।

    हाम्रो सडकमा सबैभन्दा धेरै प्रभावकारी भएको कारबाही चल्तीको भाषामा मापसे अर्थात् मादक पदार्थ सेवन गरेर सवारी चलाउने माथि हो। मादक पदार्थ सेवनपछि स्टेयरिङ चलाउनु हुँदैन भन्ने मान्यता क्रमशः विकास भइरहेको छ। भोजमा जाँदा अचेत चालकको व्यवस्थापन गरेर समेत जाने चलन सुरु भएको छ। मापसेविरुद्ध शून्य सहनशीलता हुँदा पनि यो पूरै सफल भने भएको छैन। अझै पनि प्रहरीका आँखा छल्न सकिन्छ कि भन्ने धेरैको दाउ हुन्छ। त्यसैले सकेसम्म मापसेपछि साधन चलाउँदै नचलाउने प्रतिबद्धता अहिलेको आवश्यकता हो। यसले आफूलाई मात्र बचाउँदैन, अरूको घर उजाडिनबाट समेत जोगिन्छ। यस हिसाबले ट्राफिक प्रहरी यसका निम्ति साधुवादका पात्र छन्, जसले रातदिन नभनी सेवा गरेका छन्।

    सडकको अर्को सफल अनुशासन ‘हर्न निषेध’ हो। यो धेरै हदसम्म सफल भए पनि फेरि यसमा अनुगमन गर्नुपर्ने देखिएको छ। अचेल फेरि हर्न लगाउने क्रम बढेको महसुस हुन्छ। अर्कोलाई एकै छिन पनि कुर्न नसक्ने प्रवृत्ति देखिँदैछ। अरूबेला फुर्सद हुने तर सडकमा निस्केपछि हतारिने जुन प्रवृत्ति देखिएको छ, त्यो राम्रो होइन। त्यति मात्र होइन, सडकमा आक्रोशित हुने प्रवृत्ति पनि देखिँदैछ। अरूलाई मर्का पर्ला कि भनेर सोच्ने प्रवृत्ति पनि कम देखिन्छ। आफूले जथाभावी सवारी पार्किङ गर्दा अरूलाई पर्ने मर्कामा पनि ध्यान दिन सक्नुपर्छ। अतः सवारी साधनलाई व्यवस्थित ढंगले चलाउने, सडकमा निस्केपछि शान्त हुने र हर्न नलगाउने प्रवृत्तिको विकास गर्दै जानुपर्ने देखिन्छ। कुनै पनि व्यक्तिलाई सवारी चलाउने अनुमति प्राप्त हुनु भनेको ऊ जिम्मेवार नागरिक हुनु पनि हो। त्यसैले उसलाई बेलैमा जिम्मेवार बनाउन प्रभावकारी कार्यक्रम ल्याउन सकिन्छ।

    हाम्रो सडकमा चालक मात्र जिम्मेवार भएर पुग्दैन, ट्राफिक व्यवस्थित हुन अन्य धेरै पक्षमा ध्यान दिनुपर्छ। सडकको अवस्था सबैतिर ठिक हुनुपर्छ। हाम्रो सडकमा कहिल्यै निर्माण सकिँदैन। कुनै एउटा निकायले सडकको काम सकेपछि फेरि अर्को त्यहाँ आइपुग्छ। समन्वयको सर्वथा अभाव देखिएको छ। त्यसले सडकलाई ठिक अवस्थामा रहे÷नरहेको अनुगमन गर्ने निकाय आवश्यक छ। सडकबाटै बर्सेनि ठुलो संख्यामा धनजनको नोक्सानी हुने गरेको छ। सन् २०१९/२० देखि २०२३/२४ को पाँच वर्षबीच १२ हजार पाँच सय ४२ जनाको मृत्यु सडक दुर्घटनाबाट भएको छ। यसबीच २९ हजार सात सय २९ जना गम्भीर घाइते भएका थिए। यसबाट पनि बुझ्न सकिन्छ, सडक सबैभन्दा धेरैको ज्यान जाने कारण बनिरहेको छ। त्यसैले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्था अहिले छ।

    ट्राफिक नियम पालना गर्ने क्रममा कारबाहीमा परेका व्यक्तिलाई स्वयंसेवामा लगाउने वा नलगाउने ? यो प्रश्न अहिले उठेको छ। यस्ता निर्णय गर्दा पहिले अध्ययन गरेर मात्र लागु गर्नु उचित हुन्छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला चार दिन आराम दिने गरी यी ‘स्वयंसेवी’लाई प्रयोग गर्ने घोषणासँग यो लागु भएको हो। तर, यस्तो विषय स्वेच्छाका आधारमा हुनुपर्छ, जरिबाना तिराइसकेपछि शारीरिक सजायजस्तो हुने गरी यस्तो व्यवस्था गर्न सकिन्न। ट्राफिक व्यवस्थापनलाई व्यावहारिक बनाउनतिर ध्यान दिनु आवश्यक छ। यसै सन्दर्भमा ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक व्यवस्थापनका नाममा स्वयंसेवी भूमिकामा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रभावकारी ट्राफिक व्यवस्थापनले सहरलाई सभ्य मात्र बनाउँदैन, जनधनको क्षति पनि कम गर्छ मद्दत गर्छ।

  • आईसीसी विश्वकप टी २०: वेस्ट इन्डिजले  पीएनजीलाई  ५ विकेटले हरायो

    आईसीसी विश्वकप टी २०: वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हरायो

    आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगितामा सहआयोजक वेस्ट इन्डिजले विरुद्ध पपुवा न्युगिनी (पीएनजी) लाई हराउँदै सुखद शुरुवात गरेको छ।

    आइतबार राति वेस्ट इन्डिजको गुयनामा सम्पन्न खेलमा पपुवा न्युगिनी (पीएनजी)ले दिएको १३७ रनको विजयी लक्ष्य वेस्ट इन्डिजले १९ औ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो।

    यस अघि टस हारेर पहिला व्याटीङको निम्तो पाएको विरुद्ध पपुवा न्युगिनी (पीएनजी)ले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो।

    पपुवा न्युगिनी (पीएनजी)का लागि सेसे बाऊले सबैभन्दा वढि ५० रन बनाए। त्यसैगरी किप्लिन डोरिगाले २७ तथा कप्तान असद वालाले २१ रन बनाए। वेस्ट इन्डिजका लागि अल्ज़ारी जोसेफ़ र आंद्रे रसल दुई दुई विकेट लिए त्यसैगरी अकील हुसैन,रोमारियो शेफ़र्ड र गुडाकेश मोतीले एक एक विकेट लिए ।

    जवाफमा वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेट गुमाउँदै १३७ को विजयी लक्ष्य पुरा गयो।

    वेस्ट इन्डिजका लागि सबै भन्दा वढि रॉस्टन चेज़ले आउट नभई ४२ रन बनाए । त्यसैगरी ब्रैंडन किंगले ३४, निकोलस पूरनले २७ तथा कप्तान रोवमन पॉवेल र आंद्रे रसलले १५ /१५ रन बनाए ।

    विरुद्ध पपुवा न्युगिनी (पीएनजी)का लागि असद वालाले दुई तथा आलेई नाओ,चैड सोपर र जॉन करिकोले एक एक विकेट लिए।

    आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ । यस अघि आईतबार विहान सम्पन्न खेलमा सह आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको थियो।

  • आईसीसी विश्वकप टी २० :वेस्ट इन्डिजविरुद्ध पीएनजीले १३६ रन बनायो

    आईसीसी विश्वकप टी २० :वेस्ट इन्डिजविरुद्ध पीएनजीले १३६ रन बनायो

    आईसीसी विश्वकप टी २० क्रिकेट प्रतियोगिता दोश्रो खेल अन्र्तगत सहआयोजक वेस्ट इन्डिज विरुद्ध पपुवा न्युगिनी (पीएनजी) १३६ रन बनाएको छ ।

    आइतबार राति वेस्ट इन्डिजको गुयनामा नेपाली समयअनुसार ८ः१५ बजे सुरु भएको यो खेलमा पपुवा न्युगिनी (पीएनजी)ले टस हारेर पहिला व्याटीङको निम्तो पाउँदै निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको हो ।

    पपुवा न्युगिनी (पीएनजी)का लागि सेसे बाऊले सबैभन्दा वढि ५० रन बनाए । त्यसैगरी किप्लिन डोरिगाले २७ तथा कप्तान असद वालाले २१ रन बनाए । वेस्ट इन्डिजका लागि अल्ज़ारी जोसेफ़ र आंद्रे रसल दुई दुई विकेट लिए । त्यसैगरी अकील हुसैन,रोमारियो शेफ़र्ड र गुडाकेश मोतीले एक एक विकेट लिए ।

    घरेलु टोली वेस्ट इन्डिज पीएनजीविरुद्ध जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछ । पीएनजी पनि टेष्ट राष्ट्रलाई हराउँदै विश्वकपमा अप्रत्यासित नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रेको छ ।

    वेस्ट इन्डिजले सन् २००७ को पहिलो संस्करणदेखि नै निरन्तर सहभागिता जनाउँदै आएको छ भने पीएनजीले दोस्रो पटक विश्वकप खेल्न लागेका हो । उसले यसअघि सन् २०२१ मा पहिलो पटक विश्वकप खेलेको थियो ।आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो र पीएनजी २०औँ स्थानमा छ ।

  • स्थानीय तहका जनप्रतिनिधिद्वारा कटौती भएको बजेट माग

    स्थानीय तहका जनप्रतिनिधिद्वारा कटौती भएको बजेट माग

    स्थानीय तहका जनप्रतिनिधिले कटौती भएको वित्तीय समानीकरणको बजेट माग गर्दै अर्थ मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घको टोलीले आज अर्थमन्त्री वर्षमान पुनलाई भेटेर वित्तीय समानीकरणको बजेट कटौती भएको भन्दै उक्त बजेट तुरुन्त पठाउन माग गरेका हुन् ।

    नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले चालु आव २०८०/८१ को अन्तिम किस्ताको वित्तीय समानीकरण अनुदान सरकारले कटौती गरेपछि स्थानीय तह निकै समस्यामा परेको बताए । उनले काटिएको बजेट तत्काल पठाउन माग गरिएको बताए ।

    “बजेट काटिएपछि स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्तालाई दिनुपर्ने रकम दिन सकिएको छैन, स्थानीय तहको बजेट कटौती स्थानीय सरकारलाई कमजोर बनाउनु हो”, उनले भने।गाउँपालिका राष्ट्रिय महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सरकारले संविधान विपरीत वित्तीय समानीकरणको बजेट कटौती गरेको आरोप लगाए ।

    उनले चालु आर्थिक वर्षको अन्त्यमा आफूहरुलाई बजेट भुक्तानीको दबाब पर्ने भन्दै बजेट अभावमा निर्माण सम्पन्न भइसकेका आयोजनाको भुक्तानी दिन समस्या हुने स्पष्ट पारे।

    उनीहरुले स्थानीय तहमा अनुदान रकम नगएमा आफूहरु आन्दोलनमा जान बाध्य हुनेसमेत बताए ।

  • जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

    जर्मनीमा विनाशकारी बाढी : ६०० जना भन्दा बढी निकालियो

    भारी वर्षाले दक्षिणी जर्मनीमा विनाशकारी बाढी निम्त्याएको छ । बाढीका कारण छ सयभन्दा बढी मानिसलाई उनीहरूको घरबाट अन्यत्र सारिएको छ ।

    धेरै दिनदेखि लगातार परेको वर्षाले जर्मनीका डोनाउ, नेकर र गुएन्जलगायतका धेरै नदीमा पानीको स्तर बढेको छ । यसले तटीय सहरहरू व्यापक बाढी आएको छ र र धेरै क्षेत्रमा पानीको स्तर एक शताब्दीको उच्चस्तरमा पुगेको छ ।

    जर्मनीका दुई दक्षिणी राज्य बाभेरिया र बाडेन–वुर्टेम्बर्ग सबैभन्दा बढी प्रभावित छन् । स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजे बाभेरियाका १० जिल्लामा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । न्युबर्ग–श्रोबेनहौसेन जिल्लाका छ सय ७० भन्दा बढी बासिन्दालाई निकालिएको स्थानीय अधिकारीले बताउनुभयो ।

    जर्मन मौसम सेवाले दक्षिणी जर्मनीका धेरै जिल्लामा उच्चस्तरको गम्भीर मौसम चेतावनी जारी गरेको छ । बाडेन–वुर्टेम्बर्गको मेकेनब्युरेन सहरमा पनि बाढीको जोखिमका कारण करिब एक हजार तीन सय मानिसलाई आफ्नो घर छोड्न भनिएको थियो ।