Blog

  • यार्सा टिप्न गएका पाँचजनाको मृत्यु, पाँच सय बढीको उपचार

    यार्सा टिप्न गएका पाँचजनाको मृत्यु, पाँच सय बढीको उपचार

    मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका पाँचजनाको लेक लागेर मृत्यु भएको छ। पाँच सय २६ जनाको औषधि उपचार भइरहेको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ।

    लेक लागेर दुई दिनमा छायानाथ रारा नगरपालिकाका चारजनाको मृत्यु भएको हो। यस्तै दुई साताअघि जुम्लाको एक युवकको मृत्यु हुँदा हालसम्म पाँचजना यार्चा संकलकको ज्यान गएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीराज बुढाले बताए।

    उनका अनुसार मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका- १२ सोभा गाउँका २९ वर्षीय मुनबहादुर बुढा, वडा नम्बर १२ कम्फा गाउँका २१ वर्षीय सोबान बुढा, सोही वडाका २४ वर्षीय राजबहादुर सावत र वडा नम्बर १० का २० वर्षीय देवराज बुढाको यार्सा टिप्ने क्रममा लेक लागेर ज्यान गएको थियाे।

    यसअघि जुम्लाको पातारासी गाउँपालिका ३ का अन्दाजी २६ वर्षीय सुर्ज रावतको मृत्यु भएको थियो। पाटनमा यार्सा टिप्न जाँदा लेक लागेर सिकिस्त बिरामी भई उपचारका निम्ति मुगु स्वास्थ्य चौकी, सिरानचौर र चितैकुना उपचार केन्द्रमा ल्याइएका ५ सय २६ जना बिरामीलाई औषधि उपचार गरेर निको पारी कोही पाटनतर्फ कोही घरतिर पठाइएको उनको भनाइ छ।

    जनस्वास्थ्य निरीक्षक बुढाका अनुसार लेक लागेर बिरामी भएका ५ सय २६ जनामध्ये २ सय २३ महिला र ३ सय ३ पुरुष गरी जम्मा ५ सय २६ जनाको औषधि उपचार गरिएको छ।

    कार्मारोङ गाउँपालिकाले मुगु, सिरानचौर चितैकुना लेक लाग्ने बिरामीको लागि स्वास्थ्यकर्मी र औषधि उपचारको व्यवस्था मिलाएको छ। समुद्री सतहदेखि करिब ४ हजार ५ सय मिटर उचाइदेखि ५ हजार ५ सय मिटर उचाइको क्षेत्रमा यार्सा टिप्ने गरिएको छ।

  • हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

    हावाहुरीले दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति

    जिल्लामा लगाइएको केरामा केही दिनअघि आएका हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेका अनुसार केही दिनयता आएको हावाहुरीका कारण जिल्लामा लगाइएको दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो।

    पूर्वीचितवनमा लगाइएको केरामा बढी मात्रामा क्षति पुगेको उनले बताए। उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकामा लगाइएको केरामा ठूलो क्षति भएको छ।’

    जिल्लामा लगाइएको ४० लाख ८७ हजार पाँच सय केरामा क्षति पुगेको उनले बताए। उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा हावाहुरीका कारण क्षति पुगेको छ। संघका महासचिव जनक पन्तका अनुसार हावाहुरीका कारण केरामा १२ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

    सत्तरी जना व्यावसायिक किसानको केरा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए। ९० प्रतिशत किसानले केराको बिमा गरेको र १० प्रतिशत किसानले बिमा नगरेको उनले जानकारी दिए। बिमा गरेका किसानले क्षति भएबापत केही रकम पाउने भए पनि बिमा नगरेका किसानको पूर्ण क्षति हुने उनले बताए। जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आएको छ।

    उनका अनुसार यहाँ सात सय जना किसानले केरा खेती गरेकोमा हावाहुरीले एक सय ६५ जना किसानको केरामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। वास्तविक तथ्यांक आउने केही समय लाग्ने उनले जानकारी दिए। –रासस

  • मुक्तिनाथ बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट

    मुक्तिनाथ बैंकका ग्राहकलाई स्काइवाक टावरमा छुट

    मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन वन्डर्स नेपालसँग व्यावसायिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकका ग्राहकले कमलादीमा रहेको ‘स्काइ वाक टावर’ को टिकट खरिदमा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

    सो छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल तथा इन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नुपर्नेछ।

  • संसद बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

    संसद बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

    प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

    आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिम ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आ.व.२०७९/०८०’ पेश गर्नेछन्।

    यस्तै आजको बैठकमा आ.व.२०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने छ।

  • जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

    जेठो हिमाल आरोहणको ७४ वर्ष पूरा

    नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको भूगोलमा पर्छ।

    आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो।

    नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाको रुपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नवीन पोखरेलले बताए।

    हर्गोजको टोलीबाट भएको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएकाले महत्वका साथ दिवस मनाउन लागिएको उनले बताए। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको बताए।

    नारच्याङका तेज गुरुङको अगुवाइमा विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो। पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ।

    पदमार्गको प्रचारप्रसार गर्न प्रवेश विन्दुमा पर्ने नारच्याङमा विसं २०७७ मा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको थियो। कास्की र म्याग्दीका दुई वटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ। अन्नपूर्ण हिमाललाई फन्को लगाउने अन्नपूर्ण चक्रीय पदमार्ग विश्वको प्रसिद्ध पदमार्ग मानिन्छ।

    ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले मौरिसले अन्नपूर्ण आरोहणको अनुभव समेटेर लेखेको पुस्तकले नेपालको पर्वतारोहण पर्यटनलाई विश्व बजारमा उजागर गर्नमा महत्वपूर्ण योगदान पुगेको बताए।

    चौहत्तरौं अन्नपूर्ण आरोहण दिवसको अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपालमा आइतबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म नेपालस्थित नौ देशका राजदूतको पदयात्रा गरिएको थियो।

    आज पोखरामा आयोजना गर्न लागिएको समारोहमा अन्नपूर्ण हिमाल आरोहण गरेका पर्वतारोही पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालगायतलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ। सो कार्यक्रममा गण्डकी प्रदेशको सांस्कृतिक विविधता झल्काउने मौलिक गीत र नृत्य प्रदर्शन गरिने पर्यटन बोर्ड गण्डकीका प्रमुख पोखरेलले बताए।

    अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि कास्कीको घान्द्रुकसम्म म्याराथन प्रतियोगिताको आयोजना गरेको छ। टान गण्डकीले आज पोखराको ‘भ्यु फेवा राउन्ड फेवा’ पदमार्गमा पदयात्राको आयोजना गरेको अध्यक्ष धर्म पन्थीले बताए। –रासस

  • ओमानद्वारा नामिबियासमक्ष ११० रनको लक्ष्य प्रस्तुत

    ओमानद्वारा नामिबियासमक्ष ११० रनको लक्ष्य प्रस्तुत

    आईसीसी विश्वकप टी–२० अन्तर्गत ओमानले नामिबियासमक्ष ११० रनको लक्ष्य प्रस्तुत गरेको छ।

    केनिङ्स्टोन ओभलमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको ओमानले निर्धारित ओभरको २ बल बाँकी छद अलआउट हुँदै १०९ रन बनायो।

    सुरुदेखि नै कमजोर प्रदर्शन गरिरहेको ओमानका कुनैपनि ब्याट्सम्यान नामिबियाका बलरसमक्ष टिक्न सकेनन्।

    ओमानका खालिद कइलले ३४ रन जोड्दा जिशान मसुदले २२ रन बनाए।

    ओमानलाई सस्तोमै समेट्न नामिबियाका रुबेन ट्रम्पलमेनले सर्वाधिक ४ विकेट लिए भने डेभिड विजले ३ विकेट लिए। यस्तै कप्तान जेरहार्ड इरासमसले २ विकेट लिँदा बरनार्ड स्कोल्जले १ विकेट हात पारे।

  • नेपाल प्रज्ञाप्रतिष्ठानमा सामाजिकशास्त्र सङ्गोष्ठी

    नेपाल प्रज्ञाप्रतिष्ठानमा सामाजिकशास्त्र सङ्गोष्ठी

    नेपाल प्रज्ञाप्रतिष्ठान सामाजिकशास्त्र विभागले आयोजना गरेको दुई दिने सामाजिकशास्त्र वार्षिक सङ्गगोष्ठी २०८१ सम्पन्न भएको छ।

    ‘राजनीतिक परिवर्तन र नेपाली समाज’ मुख्य विषय रहेको उक्त सङ्गोष्ठीमा सामाजिक शास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, इतिहास र समाज, द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, सामाजिक विभेद र उत्पीडनले पारेका प्रभाव लगायत विभिन्न विषयका १३ लेखरचना गोष्ठीमा प्रस्तुत गरिएको थियो।

    लेखकहरूका लागि सूचना आह्वानपछि प्राप्त गरिएका सोधमूलक ५८ लेखमध्येबाट प्राज्ञिक मूल्याङ्‌कन समितिले गोष्ठीका लागि अनुसन्धानात्मक २२ लेख छनोट गरेको थियो।

    प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईले उक्त सङ्गोष्ठीलाई सम्बोधन गर्दै समाज, राजनीति, अर्थशास्त्र र मानिसको चिन्तन प्रणालीसँग समाजशास्त्र गाँसिएको छ। समाजवादउन्मुख संविधानप्रदत समाजवाद ल्याउन सबभन्दा पहिले समाजलाई चिन्न सक्नुपर्छ भन्ने तर्क राखेका थिए।

    प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ ले समाजका तमाम पक्षको अध्ययन गरेर मात्रै सबै विषयमा अघि बढ्न सकिने बताएका थिए।

    त्यसैगरी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले समाजको अध्ययन गर्ने दायित्व प्रतिष्ठानको पनि रहेकाले समाजका विविध पक्षको अध्ययन गर्न सामाजिकशास्त्र सङ्गोष्ठीको आयोजना गरिएको बताएका थिए।

    उक्त सङ्गोष्ठी उद्घाटन सत्रका सभाध्यक्ष, प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले नेपालको राजनीतिक इतिहासमा अनेकौं घटनाक्रम जोडिन्छ्न्, देशमा राजनीतिक परिवर्तन त भयो स्थायित्व र विकास भयो कि भएन? समावेशिताको सिद्धान्त सन्तोषजनक छ त? २०७२ मा जारी संविधानपछि मुलुक समाजवादतर्फ उन्मुख भएको हो त? जातीय लैङ्गिक, भाषिक अधिकारको ठोस आकार प्राप्त भयो र भएन? यी प्रश्नहरूमा बहस आवश्यक छ। त्यसैले कार्यक्रमको प्रमुख विषय राजनीतिक परिवर्तन र नेपाली समाजमा जोड दिइएको हो।

    समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा समाज सदैव गतिशील र परिवर्तनशील हुन्छ। अहिले भएका राज्यको शासकीय स्वरूपसँगै सबै वर्ग र समुदायको सांस्कृतिक अस्तित्व, राजनीतिक अधिकार र नेपाली जनताको सामाजिक, आर्थिक पक्ष राजनीतिक परिवर्तनसँग जोडिएका विषय हुन्। राजनीतिशास्त्र, अर्थनीति, मानवशास्त्र, इतिहास, जातीय सवाल, सांस्कृतिक विषय, भाषिक अवस्था, पठनपाठनमा राष्ट्रिय चिन्तन, स्वास्थ्यको सवाल जस्ता विषय नेपाल प्रज्ञाप्रतिष्ठानको पनि चासो र सरोकार भएकाले यिनै विषयमा बहस गर्न यस किसिमको सङ्गोष्ठीको आयोजना गरिएको बताए।

    यस सामाजिकशास्त्र सङ्गोष्ठीमा ‘राजनीतिक परिवर्तन र नेपाली समाज’, शीर्षकका मुख्य प्रवचनकर्ता प्राडा कृष्ण हाछेथुले अग्रगामी परिवर्तन भनिए पनि सांस्कृतिक र जातीय विभेद र असमानता व्याप्त छ भनेका थिए।

    यस सङ्गोष्ठीलाई पहिलो र दोस्रो सत्रमा विभाजन गरिएको थियो। यी दुवै सत्रमा क्रमशः २२ अनुसन्धानात्मक लेख प्रस्तुत गरिएको थियो। जसमा प्राडा दीपबहादुर अधिकारीको ‘नेपाली समाज र जनस्वास्थ्य’, कुमार यात्रु रटासी लामाको आदिवासी ह्याल्मोको प्रथाजन्य स्वशासन पद्धति, डा. सोमबहादुर धिमालको नेपालका आदिवासीमा जीवित सङ्ग्रहालयको सम्भावना र औचित्य, तुलसी सापकोटाको नेपालमा कोरोना महामारी कालमा सञ्चारसंस्थाको पत्रकारमैत्री रणनीतिको सामाजिकशास्त्रीय अध्ययन, भोजविक्रम बुढामगरको नेपाली राजनीतिमा मगर जातिको समावेशिकरणको अवस्था, कृष्णकुमार शाहको मधेस प्रदेशको राजनीतिमा सीमान्तकृत दलित प्रस्तुत गरिएकाे थियाे।

    त्यस्तै दामोदर न्यौपानेको योग र प्राकृतिक चिकित्सा, गौरी तमूको ‘तमूको राजनीति परिवर्तन जनजातिका पहिचानका आधारहरू, मकरबहादुर सार्कीको सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू, सन्तोष चोङवाङ लिम्बूको सङ्घीय नेपालमा एकीकृत बहुभाषा योजना र आवश्यकता विषयक लेख प्रस्तुत गरिएकाे थियाे।

    यसैगरी गङ्गा पुनको इन्टरप्राइज आइडेन्टिफिकेसन एण्ड निड्स् एसेसमेन्ट: अन द राेल्पा मगर रिजन, डा. पुनम आर एल रानाको नेक्सस बिटविन द वैदिक म्यारिज सिस्टम एण्ड द ट्रान्जिसन इन द सनातन नेशन अफ काठमाडाैं, डा. शशी थापा पण्डितको थामी जातिमा राजनीतिक परिवर्तनले पारेको सामाजिक असर, डा. श्यामु थापा मगरको रिभिजिटि इन्डिजिनस इथिक आइडेन्टिफाइ मुभमेन्ट इन द कन्टेक्स्ट अफ द पाेलिटिकल चेन्ज इन् नेपाल, डा. सुरेशकुमार ढकालको समावेशी लोकतन्त्र र सांस्कृतिक राजनीतिक पश्चिम नेपालका थारूहरूको पहिचानसहितको समावेशीताको अभ्यास प्रस्तुत गरिएकाे थियाे।

    डा. देवी पौडेलको नेपालको सन्दर्भमा राजनीतिक परिवर्तन र समाज विकासका आयामहरू, हिक्मतबहादुर खत्रीको सामाजिकशास्त्रको पठनपाठनमा राष्ट्रिय चिन्तन, केशव पुडासैनी विमलको नेपालको वर्तमान शासन व्यवस्था र समाजवाद स्थापनाको प्रश्न, डा. विष्णुराज उप्रेतीको द्वन्द्व र शान्ति निर्माण प्रक्रियामा समाज, योगी दयानाथको नाथ सम्प्रदाय र नेपाली समाज, हरि रोकाको विकास र समाज,केशवराज सिलवालको रिसर्च नेपालिज साेसाइटिज थ्रु रिसाइडेन्टल रिलाेकेशन एण्ड इट्स साेसल इफेक्ट र धर्मेश पोखरेलको नेपाली जनयुद्धको सौन्दर्य प्रस्तुत गरिएको थियो।

    यसैगरी पहिलो सत्र प्राडा कर्णाखर खतिवडाको अध्यक्षतामा भएको थियो। ‘नेपाली राजनीतिक परिवर्तनको सन्दर्भमा समावेशिता’ विषयक शीर्षकमा प्राडा त्रिरत्न मानन्धर, प्राडा रामकृष्ण तिवारी,उप प्राडा लक्ष्मी थापामगर र डा. निमानन्द रिजालले समूहगत छलफल गरेका थिए। यसको सहजकर्तामा प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य डा. विष्णुकु‌मार सिङ्‌जाली रहेका थिए।

    यस गोष्ठीको दोस्रो सत्रको अध्यक्षता प्राडा प्रेम खत्रीले गरेका थिए। यस सत्रमा समाज र राजनीति ,संस्कृति र सीमान्तकृत समुदायका बारेमा बहस भएको थियो।

    तेस्रो सत्रको अध्यक्षता प्राडा सोम खतिवडाले गरेका थिए। यस सत्रमा विकास र समाजबारे बहस भएको थियो। चौथो सत्रको अध्यक्षता प्रा. दिनेशराज पन्तले गरेका थिए। यस सत्रमा द्वन्द्व र शान्ति ,समाजवाद र आदिवासी पहिचानका विषयमा बहस गरिएको थियो।

    प्राज्ञ चेतनाथ धमलाका अनुसार प्रत्येक सत्रको अन्तिममा फ्लोर ओपनको लागि पन्ध्र मिनेट छुट्याइएको थियो। यस समयमा सहभागीका विभिन्न जिज्ञासा र प्रश्नको उत्तर प्रस्तोताबाट दिइएको र सुझाव सङ्कलन गरिएको थियो। प्रस्तुत भएका सबै लेख आवश्यक परिमार्जनसहित विज्ञ समीक्षित गराई ‘समाज अन्वेषण’ को आगामी अङ्कमा प्रकाशन गरिने बताइको थियो।

    दुई दिने सङ्गोष्ठीको सञ्चालन लगायत अन्य व्यवस्थापन विभागीय सदस्यहरूले गरेका थिए। कार्यक्रममा कार्यपत्र प्रस्तोता, प्रमुख वक्ता, सत्राध्यक्ष लगायत सङ्गोष्ठी सफल पार्न निरन्तर लागिपर्ने संयोजकद्वय डा. विष्णुकुमार सिङ्जाली र नारायण शर्मा तथा विभागका सदस्यहरू विश्वेश्वर कट्टेल, डा.टीपी धमला, धर्मेश पोखरेललाई कुलपति भूपाल राईले प्रशंसापत्र प्रदान गरेका थिए। कार्यक्रमको समापनपूर्व डा.टीपी धमलाले धन्यवाद ज्ञापन गरेका थिए।

  • जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

    जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

    उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ।

    जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए।

    कम्पनीले आइतवार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो। सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने छन्।

    कम्पनीले वित्तिय व्यवस्थापन गरेको केही दिनभित्रै विश्वव्यापी बोलपत्र आह्वान गरेर कामको गतिलाई तीव्र पारेको हो। कम्पनीले यही जेठ २ गते मात्रै आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापनको काम गरेको थियो। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर गरिएको थियो।

    आयोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्नेछ। सहवित्तीयकरणमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सन्राइज र एभरेष्ट बैंकले लगानी गर्नेछन्।

    यस्तै, एचआइडिसीएलले रु चार अर्ब लगानी गर्नेछ भने कर्मचारी सञ्चयकोषले रु चार अर्ब, लक्ष्मी सन्राइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड लगानी गर्नेछन्। यो आयोजना निर्माणका लागि रु २३ अर्ब लाग्ने अनुमान गरिएको छ। जसमध्ये करिब रु १६ अर्ब ऋण र रु सात अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ।

    वित्तीय व्यवस्थापन भएसँगै आयोजना निर्माणको बाँकी प्रक्रिया अघि बढाउने बाटो खुलेको थियो। ‘हामीले समयमै महत्वपूर्ण काम अगाडि बढाएका छौँ। यसले आयोजना तोकिएको समयमा सम्पन्न गर्न मार्ग प्रशस्त गरेको छ’, प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने।

    प्राकृतिक साधन र स्रोतले सम्पन्न भएपनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनौ जलविद्युत् आयोजना पहिचान भएका छन्। निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको थिएनन्। डोल्पा जिल्लामा आयोजनास्थल रहेका जगदुल्लाको कूल क्षमता एक सय छ मेगावाट हो।

    सरकारको अध्ययनअनुसार कर्णाली प्रदेशको कूल ऊर्जा उत्पादन क्षमता (कर्णाली, भेरी, तिलालगायतका नदी करिडोरमा) १८ हजार मेगावाट बराबर छ। हाल आठ दशमलव ५५ मेगावाट बिजुली मात्रै दैलेखमा उत्पादन भएको छ। सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान शून्य दशमलव २० मेगावाट मात्रै उत्पादन भएको छ। दैलेखको पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः चार दशमलव आठ मेगावाट र तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

    सो आयोजनाको आवश्यक तयारीको काम पूरा भइसकेको छ। जग्गा अधिग्रहण कार्यअन्तर्गत दुई सय ५५ रोपनी जग्गाको मुआब्जा वितरणको काम पूरा भएको छ। आयोजनाका कर्मचारीलाई आवश्यक पर्ने आवास तथा कार्यालय प्रयोजनका लागि १४ कोठे अस्थायी प्रिफ्याब भवनको निर्माण सम्पन्न भएको छ।

    विद्युतगृह स्थलमा थप जिओलोजिकल अध्ययनका लागि चार सय ६० मिटर बराबरको टेसट अडिट टनेलका साथै २५ मिटरको च्याम्बरको निर्माण सम्पन्न भएको छ। यसले निर्माण व्यवसायीलाई काम गर्न थप सहज हुनेछ। उत्पादन अनुमतिपत्र प्राप्त गरी उद्योग दर्ता र लगानी बोर्डबाट लगानी स्र्वकतिको लागि आवश्यक कागजातसहित निवेदनसमेत कम्पनीले पेस गरिसकेको छ।

    यस्तो छ शेयर संरचना

    सो आयोजना निर्माणपछि सबैभन्दा बढी कर्णाली प्रदेशले नै लाभ हासिल गर्ने गरी शेयर संरचना तय गरिएको छ। पहिलोपटक प्रसारण लाइन प्रभावितका लागि शेयर लगानी गर्न सक्ने गरी शेयर ढाँचा तय गरिएको छ। संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत बराबरको शेयर स्वामित्व छ।

    यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरण नौ, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले समान एक÷एक प्रतिशत बराबरको शेयर स्वामित्व छ।

    सर्वसाधारण शेयरधनीका रुपमा सर्वसाधारण नागरिकले ३३ प्रतिशत, आयोजना प्रभावित डोल्पाका बासिन्दाले १० प्रतिशत, प्रसारण लाइन प्रभावित बासिन्दा र आयोजनाका कर्मचारीले समान तीन÷तीन प्रतिशत बराबरको शेयर लगानी गर्न पाउने व्यवस्था गरिएको छ।

    कम्पनीको अधिकृत पँुजी रु आठ अर्ब, जारी पँुजी रु सात अर्ब एक करोड र चुक्ता पँुजी रु एक अर्ब एक करोड बराबर छ। सो आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो। विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो। आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा गत वैशाख २७ गते हस्ताक्षर भएको हो।

    अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाको ग्रस हेड सात सय ८९ दशमलव छ मिटर छ। आयोजनाले छ सय २३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ। आयोजनामा कूल २३ मिटर उचाइ र ९३ मिटर लम्बाइ भएको बाँध निर्माण हुनेछ। यस्तै, जगदुल्ला गाउँपालिका–१ को हुरिकोटमा बाँध निर्माण गरी छ दशमलव एक किलोमिटर लामो सुरुङमार्फत लगिएको पानी मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुने विद्युत् गृहमा खसालेर बिजुली निकालिने छ।

    आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीले गरेको हो। यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो।

    आयोजनाको निर्माण अवधि पाँच वर्ष रहेको छ। आयोजना आगामी आवदेखि निर्माणमा जाने गरी आवश्यक बनदोबस्ती गरिएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए।

    आयोजना निर्माणका लागि भेरी करिडोरको त्रिवेणीबाट भेरी नदी पार गरी मुडकेचुलाको इल पुग्नका लागि सडक निर्माण भएको छ। त्रिवेणीबाट इलसम्म पुग्ने एक दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि नेपाली सेनाको सहयोगमा विष्फोटनको काम भइरहेको छ। कडा चट्टान भएकाले अहिले विस्फोटक पदार्थको प्रयोग गरी सडक निर्माण भइरहेको छ। चालु आवको अन्त्यसम्म सडक निर्माण सक्ने तयारी छ।

    सो आयोजनासँगै एक सय २० मेगावाट क्षमताको जगदुल्ला ए जलविद्युत् आयोजनाको पनि अध्ययन जारी छ। विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) र वातावरणीय अध्ययनको काम भइरहेको छ। यस्तै, लगानीको ढाँचा तय गर्ने काम पनि सँगसँगै भइरहेको छ। सो आयोजनाको कूल लागत रु २७ अर्ब जति रहने अनुमान गरिएको छ। यस्तै, २० मेगावाट क्षमताको अर्को आयोजनाको पनि अध्ययन कार्य सुरु भएको छ।

    आयोजनाको निर्माणपछि वार्षिकरुपमा रु चार अर्ब ८० लाख बराबरकोे आम्दानी हुनेछ। त्यसबाट सङ्घीय सरकारले वार्षिकरुपमा रु १९ करोड २३ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ। कर्णाली प्रदेश सरकारले रु नौ करोड ६१ लाख र मुड्केचुला र जगदुल्ला गाउँपालिकाले रु नौ करोड ६१ लाख बराबरको रोयल्टी प्राप्त गर्नेछ।

    प्रसारण लाइन प्रभावितले समेत आयोजनाको शेयर पाउने भएकाले थप सहज हुने र स्थानीयवासीमा आयोजनाप्रति अपनत्वको महसुससमेत हुने विश्वास लिइएको छ। भौतिक विकासमा पछाडि परेका ती स्थानीय तहले एउटा आयोजनाबाट प्राप्त गर्ने रोयल्टीले आर्थिक समृद्धिको नयाँ ढोका खोल्नेछ। त्यस्तै, एक सय २० मेगावाट क्षमताको जगदुल्ला ए आयोजनाको निर्माणपछि रोयल्टी बढेर रु २० करोड बराबर पुग्नेछ।

    आयोजनाले रु एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ। त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ। आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना तोकिएको समयमा पूरा गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। जनताको जलविद्युत् कार्यक्रममा समावेश भएको सो आयोजनामा पहिलोपटक प्रसारण लाइन प्रभावित नागरिकलाई शेयर उपलब्ध गराउने प्रावधान राखिएको छ।

    कर्णाली प्रदेशको विकासका लागि आयोजना असाध्यै महत्वपूर्ण रहेकाले यसलाई तोकिएको समयमा पूरा गराउन सरकारले महत्वपूर्ण सहयोग गर्ने जानकारी दिँदै मन्त्री बस्नेतले सबै राजनीतिक दल र सरोकारवालाई आवश्यक सहयोगका लागि आग्रह गरे।

    उनले क्यास्केड आयोजनाका रुपमा रहेको जगदुल्ला ए को समेत आगामी असारभित्र विस्तृत अध्ययन प्रतिवेदन तयार हुने जानकारी दिँदै वित्तीय व्यवस्थापनका लागि समेत आवश्यक तयारी भइरहेको बताए।

    भारतीय कम्पनी ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर)ले जिम्मा लिएको नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढ्न नसकेको अवस्थामा जगदुल्ला नै कर्णाली प्रदेशको पहिलो ठूलो आयोजनाका रुपमा निर्माण सुरु हुन लागेको हो। सो आयोजना डोल्पा जिल्लाको मात्रै नभई कर्णाली प्रदेशको विकास र समृद्धिको यात्राका लागि महत्वपूर्ण मानिएकाले पनि त्यसको आफ्नै महत्व छ।

    हाल कोहलपुर सुर्खेत प्रसारण लाइनबाट समग्र कर्णाली प्रदेशभर नै बिजुली प्रवाह भइरहेको छ। लामो र कम क्षमताको प्रसारण लाइनका कारण गुणस्तरीय बिजुली कर्णाली प्रदेशवासीले पाउन सकेका छैनन्। जगदुल्ला जलविद्युत् आयोजनाको निर्माणपछि गुणस्तरीय र भरपर्दो बिजुलीसमेत कर्णालीवासीले पाउनेछन्।

    आयोजना जनताको जलविद्युत् कार्यक्रममा समेत समेटिएको र निर्माण सुरु हुन लागेको खास आयोजना हो। आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रममा ‘नेपालको पानी जनताको लगानी’ शीर्षकमा समेटिएको सो आयोजनाले दैनिक करिब रु एक करोड २० लाख बराबर आम्दानी गर्नेछ। राज्यलाई वार्षिकरुपमा करिब रु २९ करोड बराबरको राजस्वसमेत उपलब्ध गराउनेछ।

    आयोजनाले रु एक अर्ब बराबरको सामाजिक उत्तरदायित्वको कामसमेत गर्नेछ। त्यसबाट हरेक हिसाबले पछाडि परेको डोल्पामा विकासको नयाँ आयाम स्थापित हुनेछ। आयोजनाका कारण पुगेको सडक, सञ्चार सम्पर्क, स्वास्थ्य शिक्षाका कार्यक्रमले महत्वपूर्ण योगदान गरेको प्रमुख कार्यकारी अधिकृत सापकोटाको भनाइ छ।

    ‘एउटा आयोजना सुरु हुँदा विशुद्ध आयोजना मात्रै अगाडि बढ्दैन। त्यसबाट विकासका नयाँ आयाम समेत अगाडि बढ्छन्। सडक निर्माण भएको छ। पुल निर्माण भएको छ। बिजुली पुगेको छ। यसले समग्र कर्णाली प्रदेशको भाग्य र भविष्यसमेत सुनिश्चित गरिदिएको छ’, प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने। रासस

  • बंगलादेशी सांसद हत्या आरोपी हुसेनलाई भारत पठाइँदै

    बंगलादेशी सांसद हत्या आरोपी हुसेनलाई भारत पठाइँदै

    बंगलादेशका सांसद अनवरुल अजिम अनारको हत्या आरोपमा पक्राउ परेका बंगालदेशी नागरिकलाई भारत पठाउने तयारी थालिएको छ। नेपाल प्रहरीले बिहीबार मोहम्मद सियाम हुसेन नाम गरेका बंगलादेशीलाई पक्राउ गरेपछि बंगालदेश प्रहरीले आफूलाई जिम्मा लगाउन गरेको आग्रहलाई अस्वीकार गर्दै भारततर्फ पठाउने तयारी गरेको हो।

    ‘हुसेन भारतबाट नेपाल छिरेका र अपराध पनि भारतमै गरेका कारण उनलाई उतै माग्नुस्, हामी प्रक्रिया पूरा गरेर पठाइदिन्छौं,’ बंगलादेशबाट आएको प्रहरी टोलीलाई नेपाल प्रहरीको जवाफ थियो।

    नेपाल प्रहरीले सियाम हुसेनलाई विमानस्थलबाट पक्राउ गरेको भनेर भारततर्फ ‘डिपोर्ट’ गरिदिने वा केही दिन अनुसन्धान लागि अदालतबाट समय लिएर राख्ने त्यसपछि भारततर्फ पठाउने तयारी थालेको हो। ‘यसअघि गुपचुपमै डिपोर्ट गर्ने वा भारतीय प्रहरीलाई जिम्मा लगाउने गरिन्थ्यो, अहिले हल्ला भएपछि प्रक्रिया पुर्‍याउन लागिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। यो विषयमा प्रहरीले आधिकारिक रूपमा केही बताउन चाहेको छैन।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दानबहादुर कार्कीले यो विषयमा नेपाल प्रहरीलाई जानकारी नभएको बताए। ‘मलाई जानकारी छैन। बंगलादेशबाट प्रकाशित हुने पत्रपत्रिकामा समाचार आएको देखेथें। अरू केही थाहा भएन,’ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कार्कीले भने।

    बंगलादेशका सांसदको हत्या आरोप लागेका हुसेन नेपालको सीमा क्षेत्रबाट बिहीबार राति पक्राउ परेका थिए। नेपाल प्रहरीको उच्च स्रोतले भन्यो, ‘उनी (बंगलादेशी नागरिक मोहम्मद सियाम हुसेन) पक्राउ परेको सत्य हो। उनी सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। उनलाई बंगलादेश नपठाउन भारतको उच्च तहबाट समेत नेपाल प्रहरीलाई आग्रह गरिएको स्रोतले बतायो। भारतीय गृह मन्त्रालयका एक अधिकारीले नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई हुसेनलाई पक्राउ गरी राम्रो काम गरेको भन्दै धन्यवादसमेत दिइसकेका छन्।

    हुसेनलाई लिन बंगलादेशबाट नेपाल आएका प्रहरीले कूटनीतिक पहल गरिरहे पनि त्यो असफल भएको छ।

    नेपालको कुनै पनि मुलुकसँग हालसम्म सुपुर्दगी सन्धि नभएको भन्दै पक्राउ परेका हुसेनलाई बंगलादेश पठाउन नसकिने जवाफ नेपाल प्रहरीले दिएको हो। नेपालमा पक्राउ परेका हुुसेनलाई सिधै बंगालदेश पठाउँदा त्यहाँको कानुनअनुसार मृत्युदण्ड हुने भएकाले पनि नेपाल प्रहरी हच्किएको हो।

    ‘यो घटनामा संलग्नलाई क्रिमिनल कन्स्पाइरेसी एक्टअनुसार कारबाही हुन्छ। त्यसकारण पनि हामीले बंगलादेशलाई भन्दा भारतबाट आएका नागरिक भएकाले उतै पठाउँदा ठिक हुन्छ भन्ने लागेर तयारी गरेका हौं,’ नेपाल प्रहरीका एक अधिकृतले भने।

    नेपाल–भारतका प्रहरीबीच अनौपचारिक रूपमा लामो समयदेखि अपराध नियन्त्रणमा सहकार्य हुँदै आएको र अपराधी पनि लेनदेन हुँदै आएकाले यसमा नेपाल–भारतको रुचि मिलेको स्रोतको दाबी छ।

    बंगलादेशी सांसदको कोलकातामा हत्या भएकाले पनि भारततर्फ पठाउन सहज हुने प्रहरीले ठानेको स्रोतको दाबी छ। उनलाई लिन भन्दै महानगरीय प्रहरी कार्यालय ढाकाअन्तर्गतको डिटेक्टिभ ब्रान्च (डिबी) बाट चार सदस्यीय टोली काठमाडौं आएको छ। सो टोलीले नेपाल प्रहरीका उच्च अधिकारीसँग भेटघाट गरेर डिपोर्ट गरिदिन आग्रह गरेका थिए। तर नेपाल प्रहरीले उनलाई पठाउन अस्वीकार गरिदिएको छ।

    हुसेन सांसद हत्या आरोपित रहेको थाहा पाएपछि उनलाई विशेष निगरानीका साथ प्रहरी हिरासतमा राखेको छ। बंगलादेशका सांसद अनारको मे २२ मा भारतको कोलकातामा हत्या भएको थियो। उनको हत्यामा संलग्न भएको आरोपमा भारतीय प्रहरीले केहीलाई पक्राउ गरिएको र केही संदिग्ध व्यक्ति फरार रहेको जनाइएको थियो।

    हत्या आरोपमा तीनजना बंगलादेशी र एक भारतीय पक्राउ परेको भारतीय समाचार संस्थाले जनाएका छन्। तर हत्यामा संलग्न भनिएका हुसेनसहित अन्य चारजना फरार रहेको भारतीय समाचार संस्थाले जनाएका छन्। हुसेन भने नेपालमा पक्राउ परेको प्रहरी स्रोतको दाबी छ।

    बंगलादेशका सांसद अनारको हत्या आरोपित केही व्यक्ति भारतमै पक्राउ परेको र केही नेपाल पसेको भारतीय गुप्तचर संस्थाहरूले जनाएका थिए। त्यसकै आधारमा नेपाल प्रहरीले संदिग्ध व्यक्तिहरूमाथि निगरानी बढाएको थियो। सियान नेपालमा पक्राउ परेपछि शुक्रबार र शनिबार नेपाल प्रहरीको विशेष ब्युरोले सर्च अप्रेसन नै चलाएको थियो। ‘आशंकित स्थानमा सर्च गरिएको हो। दरबारमार्ग, सुन्धरा, ठमेललगायत स्थानमा सर्च अप्रेसन चलाइएको हो,’ विशेष ब्युरो स्रोतले भन्यो।

    हत्या आरोपमा भारतमा पक्राउ परेका जिहाद हवलदारले भारतीय प्रहरीलाई शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका थिए। बंगलादेशको गुप्तचरी निकायका अधिकारीले सांसद अनारले अमेरिकी साथी र मोहम्मद अख्तरज्जमानसँग मिलेर सुन तस्करी धन्दा चलाएको आशंका गरेका छन्। उनीहरूले दुबईबाट बंगलादेश हुँदै भारतसम्म तस्करीको सुन ओसारपसार गर्थे।

    गत वर्ष अनार र अख्तरुज्जमानबीच तस्करीको सुनको हिस्सालाई लिएर विवाद भएको थियो। त्यसपछि उनीहरूबीचको मित्रतामा दरार आएको थियो। अख्तरज्जमान पनि सांसद अनार हत्याका आरोपित हुन्। बंगलादेश प्रहरीले अनारको हत्यामा थप प्रभावशाली व्यक्ति पनि संलग्न भएको आशंका गरेको छ। अमेरिका पुगेका हत्या आरोपित अख्तरज्जमानलाई पक्राउ गर्न बंगलादेश प्रहरीले इन्टरपोलको सहयोग लिने जनाएको थियो। तर अहिलेसम्म अदालतमा अख्तरज्जमानको मुद्दा नपुगेकाले रेड नोटिस जारी हुन सकेको छैन।

    समाचार एजेन्सी पिटिआईका अनुसार बंगलादेशी प्रहरी र डिटेक्टिभ ब्रान्चका अधिकारीहरू घटनाको अनुसन्धान गर्न कोलकाता गएका थिए। त्यहाँ उनीहरूले हत्या आरोपमा पक्राउ परेका हवलदारसँग सोधपुछ गरेका थिए। यसअघि शनिबार सिआइडीले गिरफ्तार अभियुक्त हवलदारलाई उद्धृत गर्दै सांसद अनारको फ्ल्याटमा प्रवेश गरेको १५ मिनेटभित्रै सम्पूर्ण घटना भएको बताएको थियो। उनलाई बेहोस बनाउन क्लोरोफर्म प्रयोग गरिएको थियो। यसपछि उनको सिरानीको सहाराले हत्या गरिएको हवलदारले बयानमा बताएका थिए।

    अनारको शवलाई चक्कु र ब्लेडको सहायताले टुक्राटक्रा पारेको बयान पनि हवलदारले दिएका थिए। हत्याराले शवका टुक्राहरूलाई प्लास्टिकको झोलाले बेरेर सुटकेसमा राखेर लगेको सिआइडीले जनाएको छ।

    सांसद अनार मे १७ मा बेपत्ता भएका थिए। त्यही क्रममा बंगलादेश सरकारले उनको हत्या भएको घोषणा गरेको थियो। मे २२ मा फरेन्सिक टोली कोलकातामा उनको फ्ल्याटमा पुगेको थियो। त्यहाँ जुत्ताको छेउमा र ड्रइङ रुममा रगतको दाग भेटिएपछि उनको हत्या पुष्टि भएको थियो। त्यस क्रममा फ्ल्याटबाहिरको सिसिटिभी फुटेज पनि हेरिएको थियो। सिसिटिभी फुटेजमा हवलदारसहित दुईजना प्लास्टिकको झोला र सुटकेस बोकेको अवस्थामा देखिएका थिए।

    अनार उपचारका लागि मे १२ मा कोलकाता पुगेका थिए। भोलिपल्ट उनले आफ्नो परिवारलाई दिल्ली जाँदै गरेको बताएका थिए। त्यसयता उनी सम्पर्कमा थिएनन्। त्यसपछि कोलकाता प्रहरीले उनको शव फेला पारेको थियो।

  • आज देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने

    आज देशका अधिकांश भू-भागमा हल्कादेखि मध्यम वर्षा हुने

    आज देशका अधिकांश भू–भागमा मौसम बदली भइ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    महाशाखाले आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

    कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    लुम्बिनी प्रदेशको एक–दुई स्थानमा हावा हुरीको सम्भावना रहेको भन्दै महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बताएको छ।

    यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    महाशाखाका अनुसार कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ २२ गते (मङ्गलवार)

    दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    २०८१ जेठ २३ गते (बुधवार)

    दिउँसोː कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक–दुई स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।