Blog

  • केन्द्रीय प्रहरी प्रवक्तामा कार्की

    केन्द्रीय प्रहरी प्रवक्तामा कार्की

    नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारीमा प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की नियुक्त भएका छन्र ।

    नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि कार्कीलाई सो जिम्मेवारी प्रदान गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायव महानिरीक्षक कार्कीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ । प्रहरी नायव महानिरीक्षक कार्कीले यसअघि प्रहरी वरिष्ठ उपरीक्षक पदमा कार्यरत रहँदा समेत नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता एवम् सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

  • विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

    विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

    फिफा विश्वकप २०२६ र एशियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोश्रो चरणमा युएई र यमनबिरुद्धको खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ।

    आज काठमाडौंमा एक कार्यक्रमबीच टोलीको बिदाई गरिएको हो । खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) मा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सिईओ ईन्द्रमान तुलाधर लगायतले आईतबार टोलीलाई बिदाइ गरेका थिए।

    नेपाली टोलीमा २३ खेलाडी र ११ जना अफिसियल गरी ३४ सदस्यीय रहेको छ । २३ सदस्यीय नेपाली फुटबल टोलीमा गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, रक्षकमा अनन्त तामाङ, अभिषेक लिम्बु, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई र मिडफिल्डरमा भरत खवास, लकेन लिम्बू, मनिष डाँगी, वसन्त जिम्बा, सुमित श्रेष्ठ, मणिकुमार लामा, आशिष राई र फरवार्डः जिलेस्पेजंग कार्की, हिसुब थपलिया, आशिकबाबु चौधरी, सञ्जीव विष्ट, आयुश घलान रहेका छन् ।

    दोस्रो चरणमा समूह एचमा रहेको नेपालले अन्तिम दुई खेल साउदी अरेबियाको दमाममा खेल्नेछ । नेपालले युएईबिरुद्ध जुन ६ र यमनविरुद्ध जुन ११ मा खेल्दैछ । दुवै खेल दमामको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा हुँदैछ । नेपाल र युएईविरुद्धको खेल घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर दशरथ रंगशालाको मैदान खेलाउन लायक नभएपछि साउदी अरबमा खेल्न लागेको हो।

  • गण्डकी प्रदेशको श्रमाधान रोजगार मेलाको तयारी पूरा

    गण्डकी प्रदेशको श्रमाधान रोजगार मेलाको तयारी पूरा

    गण्डकी प्रदेशमा भोलीबाट हुन लागेको श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ। पोखराको इभेन्ट सेन्टरमा हुन लागेको मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रम तथा रोजगार कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले जानकारी दिए।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल ९हान० को संयोजन र सह–आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्थाहरू रहेका छन्।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

    मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूको सम्बन्धमा डाटाबेस निर्माणमा योगदान गर्ने उनको भनाइ छ । मेलामा रोजगारदाताहरूको सूचीकरण र रोजगारीका अवसरको पहिचान गरिने बताए।

    मेलामा विभिन्न प्रकारका बुथ तथा स्टलहरू राखिनेछन् । जसमा बायोडाटा निर्माण सिकाइ बुथ, विभिन्न रोजगारदातासँग सम्बन्धित बुथ, वैदेशिक रोजगार बुथ, कल सेन्टर बुथ, लगायतका कम्तीमा ३५ वटा स्टल तथा बुथहरू हुनेछन् ।

    मेलामा श्रमाधानका बहुआयामीक पक्षबारे संवाद समेत हुनेछ । सीप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन र रोजगारदाता तथा रोजगार खोजी गर्नेको आवश्यकता सम्बन्धी अन्तरक्रिया हुनेछ । त्यस्तै स्थानीय संस्कृति झल्किने खालका सांस्कृतिक कार्यक्रम समेत हुनेछन् ।

  • राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

    काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

    भारत सरकारको सहयोगमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको स्थलगत अवलोकन पछि गृहमन्त्री रवि लामिछानेले नेपाल सरकारले गर्नुपर्ने कामलाई थप समन्वयात्मक र गति दिन आफूले पहल गर्ने तथा तत्काल सबै सरोकारवालाबिच छलफल गराएर चेक लिस्टअनुसारका कामलाई प्राथमिकता दिइने प्रतिवद्धता व्यक्त गरे।

    गृहमन्त्रीको अवलोकनको क्रममा भारत सरकारको सरकारी निकायका इन्जिनियर राजेश कुमारले आयोजनाबारे विस्तृत जानकारी गराएका थिए । संक्षिप्त छलफलमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले आफ्नो तर्फबाट गर्नुपर्ने कामलाई नेपाल सरकारले तीव्रता दिए निर्धारित समयमै निर्माण सम्पन्न गरी आयोजना हस्तान्तरण गर्न भारत तयार रहेको जानकारी दिए।

    आज भएको अवलोकनका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए।

  • विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

    विश्वकप क्रिकेटः नेपाल सुपर- ८ मा पुगे सीजी फुड्सले ३० लाख नगद दिने

    लोकप्रिय चाउचाउ वाइवाइको उत्पादक सीजी फुड्स नेपालले जारी आईसीसी टी- २० विश्वकप क्रिकेटमा सहभागी नेपाली टिम र सहभागी खेलाडीका लागि विशेष पुरस्कारको घोषणा गरेको छ ।

    जारी विश्वकपको सुपर- ८ मा पुगे सीजी फुट्सले नेपाली राष्ट्रिय टिमलाई नगद ३० लाख रुपैयाँ दिने घोषणा गरेको हो । सीजीले आइतबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी- २० विश्वकपको सुपर- ८ मा पुग्नासाथ वाईवाई चाउचाउको तर्फबाट नगद रु. ३० लाख प्राप्त गर्नेछ ।’

    सीजी फुड्सले प्रत्येक रन, चौका, छक्का र विकेटका लागि समेत पुरस्कारको घोषणा गरेको छ । प्रत्येक रनलाई एक हजार, प्रत्येक चौकालाई ८ हजार, प्रत्येका छक्कालाई १२ हजार र प्रत्येक विकेटका लागि १५ हजार रुपैयाँ दिने उसको घोषणा छ ।

    यस्तै सीजीले हरेक अर्धशतकका लागि ५० हजार र प्रत्येक शतकका लागि एक लाख नगद दिने घोषणा पनि गरेको छ । उसले नेपाली टिमको जितमा १ लाख ५० हजार नगद उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता पत्रमा हस्ताक्षर गर्दै सीजी फुृड्ले नेपाली खेलाडीको मनोबल उच्च बनाउन उक्त निर्णय लिएको उल्लेख गरेको छ ।

    सम्झौतापछि चौधरी ग्रुपमा प्रवन्ध निर्देशक निर्वाण चौधरीले हरेक नेपालीलाई नेपालले विश्वकपको ट्रफी उचालेको हेर्ने रहर रहेको बताउँदै त्यसका लागि योग्य रहेका हाम्रा खेलाडीको मनोवल उच्च बनाउन आवश्यक रहेको बताए ।

    चौधरी ग्रुपको सीजी फुड्सले विगत २० वर्षदेखि नेपाली अण्डर- १९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।

  • आईसीसी टी २० विश्वकप क्रिकेटको नालीबेली, पहिलोदेखि नवौंसम्म

    आईसीसी टी २० विश्वकप क्रिकेटको नालीबेली, पहिलोदेखि नवौंसम्म

    पहिलो आईसीसी टी २० दक्षिण अफ्रिका(२००७/२००८)

    आईसीसी टी २० विश्वकप क्रिकेटको पहिलो आयोजना दक्षिण अफ्रिकामा भएको थियो । यस प्रतियोगिताको फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै भारतले पहिलो संस्करणको उपाधि जित्न सफल भयो । सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई १५ रनले र पाकिस्तानले न्युजिल्याण्डलाई ६ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । पहिलो संस्करणमा सहभागी १२ राष्ट्रलाई ४ वटा समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहमा तीन तीन राष्ट्र समावेश थिए । समूह ए मा आयोजक दक्षिण अफ्रिका, बङ्गलादेश र वेष्टइण्डिज रहेका थिए । समूह बी मा अष्ट्रेलिया, इग्ल्याण्ड र जिम्बाबे, समूह सीमा श्रीलङ्का, न्यूजिल्याड र केन्या तथा समूह डीमा भारत, पाकिस्तान र स्कटल्यान्ड रहेका थिए ।

    दोश्रो टी २० इग्ल्याण्ड (२००९)

    आईसीसी टी २० विश्वकप क्रिकेटको दोश्रो संस्करण इग्ल्याडमा आयोजना भएको थियो। यस प्रतियोगितामा पाकिस्तानले उपाधि चुम्यो । पाकिस्तानले फाइनलमा श्रीलङ्कालाई ८ विकेटले हराएको थियो । पाकिस्तान दक्षिण अफ्रिकालाई ७ विकेटले र श्रीलङ्का वेष्टइण्डिजलाई ५७ रनले हराउँदै फाइनलमा पुगेका थिए । दोश्रो संस्करणमा सहभागी १२ राष्ट्रलाई ४ वटा समूहमा विभाजन गरिएको थियो । समूह ए मा भारत, आयरल्याड र बङ्गलादेश, समूह बी मा आयोजक इग्ल्याड, पाकिस्तान र नेदरल्याण्ड्स, समूह सीमा श्रीलङ्का, वेष्टइण्डिज र अष्ट्रेलिया तथा समूह डीमा दक्षिण अफ्रिका , न्युजिल्याण्ड र स्कटल्यान्ड रहेका थिए ।

    तेश्रो टी २० वेष्टइण्डिज (२०१०)

    तेश्रो संस्करणको विश्वकप वेस्ट इन्डिजले आयोजना गर्यो । तेश्रो संस्करणको उपाधि इग्ल्याण्डले जित्यो । इग्ल्याण्डले फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको हो । इग्ल्याण्ड श्रीलङ्कालाई ७ विकेटले र अष्ट्रेलिया पाकिस्तानलाई ३ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । यस प्रतियोगितामा सहभागी १२ टोलीमध्ये अष्ट्रेलिया, पाकिस्तान र बङ्गलादेश समूह एमा, न्यूजिल्याण्ड, श्रीलङ्का र जिम्बाबे समूह बीमा, भारत, दक्षिण अफ्रिका र अफगानिस्तान सीमा तथा वेष्टइण्डिज, इग्ल्याण्ड र आयरल्यान्ड समूह डीमा रहेका थिए ।

    चौथो टी २० श्रीलङ्का (२०१२/२०१३)

    आईसीसी टी २० विश्वकप क्रिकेटको चौथौ संस्करण श्रीलङ्कामा आयोजना भयो । यस संस्करणको उपाधि आयोजक श्रीलङ्कालाई ३६ रनले हराउँदै वेष्टइण्डिजले जित्यो ।श्रीलङ्का पाकिस्तानलाई १६ रनले र वेष्टइण्डिज अष्ट्रेलियालाई ७४ रनले हराउँदै फाइनलमा पुगेका थिए । चौथौ संस्करणमा पनि सहभागी १२ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको थियो । समूह ए मा भारत, इग्ल्याण्ड र अफगानिस्तान समूह बीमा अष्ट्रेलिया, वेष्टइण्डिज र आयरल्यान्ड, समूह सीमा दक्षिण अफ्रिका, श्रीलङ्का र जिम्बाबे र समूह डीमा पाकिस्तान, न्युजिल्याण्ड र बङ्गलादेश रहेका थिए ।

    पाँचौ संस्करण बङ्गलादेश (२०१३/२०१४)

    आईसीसी टी २० विश्वकप क्रिकेटको पाँचौ आयोजना बङ्गलादेशमा भएको हो । यस प्रतियोगितामा श्रीलङ्काले भारतलाई ६ विकेटबाट हराउँदै उपाधि जितेको थियो । श्रीलङ्का वेष्टइण्डिजलाई २७ रनले र भारत दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । पाँचौ संस्करणमा आएर नेपालले पहिलो पटक आईसीसी टी २० विश्वकप क्रिकेट खेल्न पायो । यस प्रतियोगितामा नेपालले हङकङलाई ८० रनले र अफगानिस्तानलाई ९ रनले हराउँदै सनसनी मच्चाएको थियो । तर बंगलादेशसंग ८ विकेटले हारेपछि अघिल्लो चरण भने प्रवेश गर्न भने पाएन । १० वर्षपछि फेरि नेपाल सन २०२४ मा अमेरिका र वेष्टइण्डिजमा भईरहेको आइसिसी टी ट्वान्टी २० विश्वकप क्रिकेट सहभागी भएको छ । पाँचौ संस्करण १६ राष्ट्र सहभागी यस प्रतियोगितामा २०२४ मा आएर २० टोलीले सहभागीता जनाएका छन।

    छैठौ संस्करण भारत (२०१५/२०१६)

    आइसिसी टी २० विश्वकप क्रिकेटको छैठौ संस्करण भारतमा आयोजना भएको थियो । यस प्रतियोगितामा वेष्टइण्डिजले इग्ल्याण्डलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । वेष्टइण्डिज आयोजक भारतलाई र इग्ल्याण्ड न्युजिल्याण्डलाई समान ७ विकेटले हराउँदै फाइनलमा पुगेका हुन । यस प्रतियोगितामा पनि दोश्रो पटक १६ राष्ट्रको सहभागीता रहेको थियो ।

    सातौँ आईसीसी टी २० ओमान /यूएई (२०२१/२०२२)

    आइसिसी टी ट्वान्टी २० विश्वकप क्रिकेटको सातौँ संस्करणको आयोजना संयुक्त रुपमा ओमान र युएईमा भएको हो । यस प्रतियोगितामा अष्ट्रेलियाले उपाधि जित्यो । अष्ट्रेलियाले फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटबाट हराउँदै उपाधि जितेको हो । अष्ट्रेलिया पाकिस्तानलाई ५ विकेटबाट तथा न्युजिल्याण्ड इग्ल्याण्डलाई ५ विकेटबाट हराउँदै फाइनलमा पुगेका हुन । यस प्रतियोगिता देखि सहभागी राष्ट्रको संख्या २० पुगेको थियो । पहिलो देखि चौथो संस्करण सम्म १२ /१२ तथा पाँचौ र छैठौ संस्करणमा १६/ १६ राष्ट्र सहभागी थिए ।

    आठौ टी २० अष्ट्रेलिया (२०२२/२०२३)

    आईसीसी टी २० विश्वकपको आठौ संस्करणको आयोजना अष्ट्रेलियाले गर्यो । आठौँ संस्करणको उपाधि इग्ल्याण्डले हात पारेको थियो । इग्ल्याण्डले फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि चुम्यो । इग्ल्याण्ड भारतलाई १० विकेटले र पाकिस्तान न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेका थिए । यस प्रतियोगिता दोश्रो पटक सहभागी राष्ट्रको संख्या २० पुगेको थियो ।

    नवौँ संस्करण अमेरिका/ वेस्ट इण्डिज (२०२४)

    आईसीसी टी २० विश्वकप क्रिकेट अमेरिकामा सुरु भएको छ । नवौँ संस्करणको संयुक्त आयोजना अमेरिका र वेष्टइण्डिजले गरिरहेका छन । यस प्रतियोगितामा सहभागी २० राष्ट्रलाई पाँच समूहमा विभाजन गरिएको छ । नेपालले दोश्रो पटक आइसिसी टी २० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको छ । नेपालको समूह डीमा बङ्गलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलङ्का रहेका छन् । सन् २०१४ मा भएको विश्वकपमा सहभागी सोमपाल कामीबाहेक नेपालका सबै खेलाडी नयाँ छन् ।

  • जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

    जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

    यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

    मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ आँकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ।

    महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जुन १३ आसपास भित्रिने बताए। हाल मुलुकका विभिन्न भू–भागमा भईरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जानकारी दिए।

    नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ। तर मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ। यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ।

    ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ। मनसुनको आँकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आँकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आँकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए। साथै यो आँकलन तयार गर्दा नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ (एल निनो एण्ड साउदर्न ओस्सिालोसन) तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थालाई विश्लेषणका आधारमा गरिएको हो।

    यसबाहेक जलवायु प्रारुपको मनसुन सिजनको आँकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको सिजनमा परेको हिउँ, अन्तर ऋतु परिवर्तनशिलताका कारकलाई मध्यनजर गरिएको छ। प्रवक्ता पोखरेलले भने, ‘हाल ‘एन्सो’ तटस्थ अवस्थामा रहेको छ र आगामी मनसुन सिजनमा ‘ला निना’ को अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारुपहरुको आँकलन रहेको छ। त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी मनसुन सिजनमा धनात्मक हुने आँकलन गरिएको छ।’

    जलवायु विज्ञ डा धर्मराज उप्रेतीले यो वर्षको मनसुन शनिबारसम्म भारतको आसाम, सिक्किम र सो वरिपरिका भागमा पुगिसकेको बताए। उनले भने, ‘भारतको केरलामा निर्धारित मितिभन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिनअघि नै मनसुन पुगेको देखिन्छ। यही विषयलाई आँकलन गर्दा भारतका भू–भागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मिति भन्दा एक साताअघि नै प्रवेश गर्ने आकलन गर्न सकिन्छ।’

    गत वर्ष आसाम र सिक्किममा मनसुन पुगेको तीन दिनमा कोशी, मधेस र गण्डकी प्रदेशमा पुगेको थियो। गतवर्ष आसाममा जुन १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मै पुगेको छ। त्यो गत वर्षभन्दा १२ दिन अगाडि हो । मनसुनी वायु थप सक्रिय हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमै मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ।

  • सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते

    सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते

    पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४ च ८८५५ नम्बरको सफारी जिप अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा घाइते सबै भारत मुम्बई बेण्डाली थानाका हुन्। घाइते हुनेमा ५२ वर्षे सुस्मिता सुदेश खाडिया, ७४ वर्षे रेखारामचन्द्र जादव, ६० वर्षे सुदेशशङ्कर खाडिया, ६४ वर्षे बिजय मोरे, ५८ वर्षे बैशाली गुप्तेश्वर, ६२ वर्षे पङ्कज गुप्तेश्वर छन्।

    घाइतेहरुको रत्ननगर र भरतपुरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालक चितवन रत्ननगर नगरपालिका–४ का ४५ वर्षे सन्तकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

  • मधेस प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे मेलाको अवलोकन

    मधेस प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे मेलाको अवलोकन

    संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेस प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।

    मेला शुरु भएको पहिलो दिन जेठ १९ गते शनिवार करिब तीन हजार पाँच सय र २० गते आइतबार करिब दुई हजार पाँच सयले मेलाको अवलोकन गरेका छन्।दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिब २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन्।

    मेलामा रोजगारीको लागि होटेलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैङ्कमा २७ र सेक्युरिटी गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरूलाई अन्तरवार्ताको लागि बोलाइएको छ।

    मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरू–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा रोजगार कार्यालय जनकपुर र रोजगार सूचना केन्द्रसमेत ६ गरी जम्मा ३७ वटा स्टल राखिएका थिए।

    नेपाल उद्योग परिसंघ मधेस प्रदेशको संयोजनमा भएको मेलाको शनिवार माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले उद्घाटन गरेका थिए।त्यस्तै मेलामा माननीय प्रदेश श्रम तथा यातायात मन्त्री बेची लुगेलीको उपस्थिति रहेको थियो।

    मेलामा श्रमाधान संवाद अन्तर्गत ४ वटा प्यानलहरूमा श्रम आप्रवासन र कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, श्रम बजारमा भ्रामक सूचनाको असर, मधेशमा महिला उद्यमी सङ्घर्ष बिचको अवसर र वैदेशिक रोजगार कति सहज कति असहज, अबको बाटो सामाजिक सुरक्षाको प्यानल छलफल सम्पन्न भयो।उक्त प्यानल छलफलमा करिब २ हजार जनाको उपस्थिति रहेको थियो।

    आन्तरिक रोजगारीलाई प्रवद्र्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले आयोजित ‘श्रमाधान रोजगार मेलाको श्रम’ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, मधेस प्रदेशको श्रम तथा यातायात मन्त्रालय र वीरगन्ज महानगरपालिका, जनकपुर, कलैया, जीतपुर सीमरा उपमहानगरपालिका र चन्द्रपुर नगरपालिका आयोजकका रुपमा रहेका थिए।

    देशका सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ बागमती प्रदेशको ललितपुरमा जेठ ३० गते समापन हुनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ र होटल संघ नेपाल मेलाको सहआयोजकका रुपमा रहेका छन।अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र (सामी) र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन एकीकरण परियोजना (रेमी) ले पनि मेलामा विशेष सहयोग गरेका छन।मेलामा सहयोग पुर्‍याउने सबैलाई आयोजकका तर्फबाट प्रशंसा पत्र वितरण तथा धन्यवाद ज्ञापन गरिएको छ ।

  • प्रशासकीय अधिकृत सहित तीन जनामाथि मुद्दा दायर

    प्रशासकीय अधिकृत सहित तीन जनामाथि मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीमाथि मुद्दा दायर गरेको छ।

    भ्रष्टाचार गरेको अभियोगमा आइतबार आयोगले चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

    धनुषाकै सहिद नगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारमा रहँदा अधिकृत चौधरी विद्यालयमा बनाइएको पर्खाल भुक्तानी गर्न नक्कली ठेकेदार कम्पनी खडा गरी २ लाख ७५ हजार रुपैयाँ राज्य कोसको दुरुपयोग गरेको आरोपमा अख्तियारले सावन कुमारसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

    इन्जिनियर चौधरीले सेवाग्राहीसँग घुस मागेको अख्तियारले सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले इन्जिनियर चौधरी र उनका साथी यादवलाई सेवाग्राहीसँग लिएको १ लाख नगद र १ लाख १५ हजार चेकसहित पक्राउ गरेको थियो।

    अख्तियारले सहिद नगर नगरपालिकाका तत्कालीन इन्जिनियर रमेशलाई घुससहित नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा प्रमुख प्रशासकीय अधिकृत चौधरीले २०७९/८० को सम्पन्न योजनाको भुक्तानीका लागि रुफ कन्सल्टेन्सी एण्ड कन्सट्रक्सन कम्पनीसँग अधिकृत चौधरीको मिलेमतोमा घुस लिएको ठहर गर्दै विशेष अदालतमा उनीहरूमाथि मुद्दा दायर गरेको हो।