Blog

  • सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरूको जोड

    सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुनेमा सांसदहरूको जोड

    सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन हुनु नहुने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा सांसदहरुले कानूनको कार्यान्वयनको सन्दर्भमा समेत सशक्त दबाबको आवश्यकता रहेको बताए। उनीहरुले श्रम र रोजगार सम्बन्धी समस्याको पहिचान गरी समाधान गरेर अघि बढ्न जरुरी रहेको बताए।

    सरकारको कार्यक्रम र बजेटमा श्रमको आवश्यकताअनुसार श्रोत सुनिश्चित गर्न जरुरी रहेको सांसदहरुको भनाइ छ। सामाजिक सुरक्षा कोष करिव ५७ अर्ब रुपैयाँ जम्मा भएकाले त्यो रकम सरकारले कसरी परिचालन गरेको छ? भन्नेबारेमा छानबिन हुनुपर्ने धारणा राखे।

    कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद हेमराज राईले श्रम ऐन कार्यान्वयनको सन्दर्भमा सशक्त दबाबको आवश्यकता रहेको बताए। उनले सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन बन्न नहुने बताए।

    उनले भने, ‘कानूनको कार्यान्वयनको सन्दर्भमा समेत सशक्त दबाबको आवश्यकता रहेको छ। तपाईंहरुको दबाब बिना न सरकार क्रियाशिल हुन्छ न त सांसदहरु नै क्रियाशिल हुन्छन्।

    सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा सरकार उदासिन रहेको भन्ने तपाईंहरुको जुन निस्कर्ष छ, त्यसले अरु आन्दोलित गर्नसके त्यो निस्कर्ष कार्यान्वयनमा जानसक्छ। सरकारलाई समितिको तर्फबाट निर्देशन दिन हामी प्रतिवद्ध छौँ।’

    कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी सांसद रमा कोइराला पौड्यालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको करिव ५७ अर्ब रुपैयाँ कसरी परिचालन भइरहेको छ र राज्यले कसरी प्रतिनिधित्व गराइरहेको छ? भन्नेबारेमा छानबिन हुन जरुरी रहेको बताइन्।

    उनले संगठित क्षेत्र, अनौपचारिक क्षेत्र र वैदेशिक रोजगारीको क्षेत्रमा सामाजिक सुरक्षा कोष कार्यान्वयमा लैजाने भनिएपनि हालसम्म कुनै अनौपचारिक क्षेत्रमा लागू हुन नसक्नु दुःखको विषय भएको सुनाइन्।

    ७० प्रतिशत ओगटेको श्रम क्षेत्र अनौपचारिक क्षेत्र रहेकाले अनौपचारिक क्षेत्रलाई पनि सरकारले सामाजिक सुरक्षा कोषमा समेट्न ढिला गर्न नहुने उनले बताइन्। श्रमीकको पक्षमा भएको ट्रेड युनियन ऐनलाई परिवर्तन गर्न जरुरी रहेको बताइन्।

    कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले युवाहरु श्रम बजारमा आफूलाई बेच्न आतुर हुनुले विकराल स्थिति आएको बुझ्न सकिने बताइन्।

    उनले युवा शक्ति देशमा नभए भविष्यको अवस्था पीडादायी बन्ने र युवाहरु विदेश पलायन हुने होडबाजीलाई राज्यले रोक्न आवश्यक रहेको सुनाइन्।

    उनले भने, ‘अहिले युवाहरु श्रम बजारमा आफूलाई बेच्न आतुर भएको देख्छौँ। यो सबैभन्दा विकराल रुप हो। युवा शक्ति देशमा भएन भने भोलिको अवस्था के हुन्छ? युवाहरू विदेशिने होडबाजी जुन छ, त्यो रोक्न राज्य लाग्नैपर्छ।’

    कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रमुख कार्यक्रम अधिकृत सलोमान राजवंशीले कानून कार्यान्वयनमा सरकारले गम्भीर्यता देखाउनु आवश्यक रहेको बताए।

    कानून राम्रो भएपनि कार्यान्वनय नहुँदा अहिलेका समस्या सिर्जना भएको र कानून कार्यान्वयनको जिम्मेवारी सरकारको भएकाले आफ्नो जिम्मेवारीलाई सही ठाउँ र सही तरिकाले प्रश्तुत गर्न सक्नुपर्ने उनको भनाइ छ।

    उनले भने, ‘कानून राम्रो बनेको छ। तर कार्यान्वयन भइरहेको छैन। मुल समस्या त्यही हो। हामी भन्छौँ कानूनको कार्यान्वयनको जिम्मेवारी सरकारको हो, त्यसमा हामीले विभिन्न पक्षहरुको पनि जिम्मेवारी उत्तिकै हुन्छ। त्यो जिम्मेवारीलाई हामीले सही ठाउँमा सही तरिकाले प्रस्तुत हुन जरुरी छ।

    कानून कार्यान्वयनको लागि हामीसँग भएका निकायहरुलाई बलियो बनाउन आवश्यक छ। कानून कार्यान्वयनको मुख्य आधार भनेको श्रम निरीक्षण हो। जहाँसम्म श्रमीक र रोजगारी सम्बन्धित कानून हो, उहाँहरुको रोल महत्वपूर्ण छ। नेपालमा अहिले श्रम प्रशासन वा निरीक्षण सम्बन्धी व्यवस्था नगण्य रुपमा छ। त्यसलाई व्यवस्थित बनाउन जरुरी छ।’

    उनले श्रम ऐन कार्यान्वयको लागि सरकारले एक्शन प्लान बनाएर अघि बढ्न जरुरी रहेको र अन्य देशको तुलनामा नेपालको श्रम निरीक्षण धेरै कमजोर भएकाले यस क्षेत्रलाई व्यवस्थित गर्न जरुरी रहेको बताए। श्रमीकको हकहितका लागि बजेटको सुनिश्चितता गर्न सांसदहरुले महत्वपूर्ण भुमिका खेल्न आवश्यक रहेको उनको भनाइ छ।

  • विकटताभित्र सुसज्जित तिलिचो

    विकटताभित्र सुसज्जित तिलिचो

    पदयात्रा र पर्वतारोहणका लागि नेपाल विश्वकै चर्चित गन्तव्यमा पर्छ। नेपाली पहाड पर्वतमा सहासिक, रोमाञ्चक र अलौकिक यात्राको भरपुर आनन्द लिन सकिन्छ।

    हिमालपारिको जिल्ला भनेर प्रसिद्धि कमाएको छ मनाङले। जसलाई चाँदीजस्ता चमचम चम्किरहने हिम शृङ्खलाको दृश्यले सिँगारेको छ। अद्भुत प्राकृतिक विविधताका बिम्बले झकिझकाउ बनाएको छ।

    अन्नपूर्ण परिक्रमाको प्रसिद्ध र गतिलो गन्तव्य तिलिचो ताल मनाङमा नै पर्छ। प्रकृति प्रदत्त अति सुन्दर गहनारूपी यो ताल संसारको सबैभन्दा अग्लो उचाइ (४,९१९ मिटर)मा अवस्थित छ। जुन आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय गन्तव्य बन्दै गएको छ। दिनानुदिनको बढ्दो उपस्थिति यसैको बलियो प्रमाण हो।

    अँगालोमा कसिन आतुरजस्तो तिलिचो चुली चाँदी भएर चम्किरहेको छ। सबैभन्दा नजिक र ठुलो आकारमा। तालको सिरानमा सेतो हिमाल उभिएको छ, हामीलाई नै पर्खिबसेझैं गरी। पहिलोपटक देखा परेको यो चुली धम्पुस हो। मुस्कुराइरहेका मुक्तिनाथ चुली, खाङसार हिमाल, नीलागिरि हिमालले समेत वातावरण सरस र उजिल्याउन सहयोग गरेको छ।

    उत्तर र दक्षिण दिशा ४.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ तिलिचो ताल। यसको औसत लम्बाइ चार किलोमिटर र चौडाइ १.२ किलोमिटर छ भने गहिराइ ८५ मिटर छ। तर यतिबेला सेताम्मे हिउँले भरिएको ताल हलचल नगरी हिउँको विराट ढिक्काका रूपमा विचारशून्य भई लमतन्न परेर सुतेको छ। वरिपरि सेता हिमशृङ्खला र अग्ला पहाडसमेतको सौन्दर्यपानले भावशून्य भएका छन् पर्यटक।

    आँखा आनन्दको अनुपम भावले चम्किरहेका छन्। गर्मीको थर्मोमिटरमा जस्तै मुहारमा खुसीको पारो ह्वात्तै बढेको छ। हृदयका नूतन लयहरूसित लहसिन पाउँदा सारा संसार बिर्सिएका छन्। तिलिचोलाई पृष्ठभूमिमा राख्दै, तिलिचोलाई नै चढाइएको पञ्चरंगी ध्वजासँगै तस्बिर खिच्नेहरूको लाइन लागेको छ, जीवनभरका लागि सुखद स्मृतिका रूपमा नासो बनाएर राखिराख्न।

    गर्मी बढेपछि अर्थात् वैशाख अन्तिम हप्ताबाट मंसिर दोस्रो हप्तासम्म जमेको हिउँ पग्लेर निलो तालमा रूपान्तरित हुन्छ। झन्डै ८५ मिटर गहिराइमा स्वच्छ र सफा पानी भरिन्छ। त्यतिबेला ताल गाढा निलो रङमा सजिन्छ। आश्चर्यको कुरा के छ भने न त तालको मुहान स्रोत देखिन्छ न त देखिन्छ यसको पानी निकास भएको नै।

    यातायात सुविधाले गर्दा तिलिचो ताल पुग्न सहज भएको छ अहिले। हिँड्न नसक्ने र समयाभाव भएकाहरू मनाङ (३,५४० मिटर)भन्दा माथि खाङसार (३,७४५ मिटर) भन्ने गाउँसम्म सवारी साधनबाट पुग्न सक्छन्। तर एकैचोटि यो उचाइसम्म आउँदा लेक लाग्ने प्रवल सम्भावना हुन्छ। त्यस्तै कमजोरी, श्वासप्रश्वास र शारीरिक अनेक समस्या आइलाग्न सक्छन्।

    खाङसारबाट श्रीखर्क (३,९०० मिटर) पुग्न डेढ÷दुई घण्टाको पैदल दुरी पार गर्नुपर्छ। अधिकांश बाटो उकालो छ। थोरै मात्र तेर्सो छ। यहाँ एक रात नबिताएर तिलिचो आधार शिविर (४,१५० मिटर)सम्म पुग्न पनि सकिन्छ, साढे दुई/तीन घण्टामा। तर जोखिमपूर्ण पहिरो पार गर्नुपर्ने यो बाटो मध्याह्नपछि नहिँड्नु बुद्धिमानी हुन्छ किनभने दिन घर्केपछि वेगले चल्न थाल्छ बतास।

    झर्नै लागेको अवस्थामा रहेका ढुंगा खसाल्न भूमिका खेल्छ यस्तो बतासले। जसबाट सम्भवतः पदयात्री बढी खतरा मोल्नुपर्ने हुन्छ। सानो ढुंगा नै किन नहोस् ! १२÷१५ सय मिटर माथिबाट बत्तिएर खस्दा गोलीझैं प्रबल र भयानक बन्छ।

    तिलिचो आधारशिविरबाट तीनचार घण्टाको उकालो उक्लेपछि पुगिन्छ तिलिचो ताल। उचाइ नाप्दा बायाँतिर झन्झन् खुल्दै जाने तिलिचो चुलीले मन चोर्छ। जसको सौन्दर्यले जो कोहीलाई रोमाञ्चित मात्र पार्दैन, पारिदिन्छ आह्लादित पनि। थकान र उदासीनता मेटाएर नयाँ स्फूर्ति प्रदान गर्छ। तर एक घण्टाको उकालो काट्नासाथ भेटिने खतरापूर्ण पहिरोको बाटो सामना गर्नुपर्छ। ज्यान अत्यन्त जोखिमको दाउमा राखेर खस्दै गरेको ढुंगा हेर्दै छिचोल्नुपर्छ यो पहिरोको बाटो।

    यही ठाउँमा हामीसँगै तिलिचो उक्लँदै गरेका १८ जना चिनियाँ समूहकी एक महिलाको थोरै असावधानीका कारण हेर्दाहेर्दै देव्रे खुट्टा भाँचियो। पहिरोबाट वेगले झरेको नौदश केजीको ढुंगा बजारिनाले।

    प्रकृतिको यो रौद्रलीलालाई चुपचाप हेरिरहें धेरैबेर। लाखौं सम्पत्ति खर्चेर तिलिचोसँग साटिन नपाउँदै गम्भीर दुर्घटनामा परिन्। आनन्द र खुसीको पलबाट बञ्चित मात्र भइनन्, उल्टै आपतकालीन अवस्थामा फर्किन बाध्य भइन्। यही ठाउँमा लकडाउन अगाडि अकस्मात झरेको ढुंगो टाउकोमा बजारिएर एक इजरायली पर्यटक ठहरै भएका थिए।

    मनमा हुटहुटी बोकेर ताल हेर्न जाने जोकसैले खुब होसियारीपूर्वक पैदल यात्रा गर्नुपर्छ, पहिरोभरिको बाटो। कुन बेला कत्रो ढुंगो कति माथिबाट विपत्ति बोकेर खस्ने हो, थाहै हुँदैन। यद्यपि प्रकृतिको प्रत्येक आयामबाट सुसज्जित मनाङ सुन्दर छ। भौगोलिक हिसाबले सानो छ तर सांस्कृतिक, जैविक र भौगोलिक विविधतामा फराकिलो र भरिपूर्ण छ।

  • सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

    सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर

    संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताएका छन्।

    ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताएका हुन्।

    उनले नीति र कानूनहरु भएपनि कार्यान्वयन हुन नसक्नु दुःखको विषय भएको सुनाए। श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको र श्रमजीविहरु ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

    श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गरे। उनले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको र ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताए।

    उनले भने, ‘श्रम प्रशासन कमजोर छ। गुड गभर्नेन्स छैन। हामीसँग रोजगारीको अवसर कम भयो र बेरोजगारी असाध्यै बढी भयो। हाम्रा श्रमजीविहरु ज्याला नपाउँदै गर्दा पनि वा कार्यस्थल असुरक्षित हुँदै गर्दा पनि र सामाजिक सुरक्षा नपाउँदा पनि उहाँहरु काम गरिराख्नुभएको छ। त्यो बाध्यता छ। त्यो बाध्यताले गर्दा श्रम बजारलाई मर्यादित बनाउन, थप सुदृढ गर्ने सन्दर्भमा चुनौति बनेको छ। ट्रेड युनियनको उपस्थिति पनि कमजोर छ। ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू भइरहेको छ। नभएको ठाउँमा श्रम ऐन लागू नभएको अवस्था छ। यसमा सुधार गर्नुपर्छ।’

    अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको सुनाए। उनले व्यवसायीहरुलाई उत्पादनमुलक र निर्यातमुलक व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गरे। ट्रेड युनियन अधिकार संकुचित गर्ने काम भइरहेको भन्दै उनले आपत्ति जनाए।

  • आखिर मानव के चाहन्छ?

    आखिर मानव के चाहन्छ?

    कहिलेकाहीं मलाई आफ्नै जीवनका आरोह–अवरोहहरूले धेरै प्रश्न खडा गरेर व्यथित पारिदिन्छन्। जीवन, जगत्, मानवीय मन, भाव र व्यवहारलाई केलाउने जमर्को गर्छु अनि चिन्तनशील बन्न पुग्छु। म को हुँ? म के हुँ? म यहाँ किन छु? मेरो अस्तित्व के हो? जीवनको लक्ष्य र उद्देश्य के हो? जीवन र मृत्युको रहस्य के हो?

    हातमा मृत्युको निमन्त्रणा कार्ड बोकेर म जन्मिएकी हुँ। जीवनको यो रंगमञ्चमा मलाई किन मृत्युदेखि भय उत्पन्न हुन्छ? किन म जीवित रहन चाहन्छु? कुन वस्तुको प्राप्तिका लागि मलाई अमर हुनुपरेको छ? मानव जीवनको परम लक्ष्य आखिर के हो? म कहाँबाट आएँ?

    मरेपछि म कहाँ पुग्छु? जीवित हुनुको औचित्य के हो? श्वासको रहस्य के हो? निद्रा के हो? भोक के हो? शरीरको वृद्धि के हो? एउटा इच्छा पूरा भएपछि किन फेरि अर्को इच्छाको पछाडि मान्छे कुद्छन्? कुन कुरो प्राप्त भयो भने मान्छे सन्तुष्ट भएर भौंतारिँदैन होला? आखिर मान्छेले खोजेको वास्तविक पदार्थ के हो? यो अपूर्ण जगत्मा पूर्णता केमा छ? किन मानव अतृप्त, अशान्त र अधैर्य भएर भौंतारिएको छ कल्प कल्पदेखि? आखिर मानव के चाहन्छ?

    बुझ्न खोज्छु विराट ज्ञानको अर्थ। पढ्न खोज्छु ज्ञानका पुस्तकहरू। गीतादेखि वेद, उपनिषद्को छेउ छेउ चहार्छु। म तुच्छ मनुवा असमर्थ छु अखिल ब्रह्माण्डको रहस्य बुझ्न। सीमित ज्ञानको धिपधिपे ज्योति बोकेर म खोज्न थाल्छु अनन्त ज्योतिपुञ्जको रहस्य। म प्रायः आफ्नै शरीर, आफ्नै जीवनलाई बुझ्ने कोसिस गर्छु।

    मलाई लाग्छ, म मेरै जीवन त बुझ्न सक्दिनँ भने कसरी बुझ्न सक्छु विराट ब्रह्माण्डको रहस्य? आफ्नै शरीर विज्ञान त बुझ्न असमर्थ छु, कसरी बुझौं अज्ञेय ब्रह्म। कोसिस गर्छु, अतीतलाई वर्तमानमा ल्याएर जोड्न। हेर्न खोज्छु, अतीतमा छोडेका समयका धारहरू। केही मिल्दैन वर्तमानमा। मैले देखेको सत्य परिवर्तनशील छ।

    म आफैंलाई प्रश्न गर्छु- तैंले सत्यलाई देखिस्? म अक्क न बक्क हुन्छु। भनिन्छ- सत्य दिक्कालसम्म सत्य नै हुन्छ। सत्य अपरिवर्तनीय हुन्छ। तटस्थ हुन्छ। म इन्द्रियभन्दा परको संसार बोध गर्न असमर्थ छु। मेरो चेतना सीमित छ। कसरी जानौं यो असीमित ज्ञानको सागरलाई? त्यो परम सत्यलाई? अचम्मित हुन्छु। हिजो जे सत्य थियो त्यो आज खोई? सत्य के हो? समय, भूगोल र स्वरूप सत्य भए त्यो किन परिवर्तनशील छ? हिजो सत्य होइन भने आज पनि पक्कै सत्य होइन। परिवर्तन भइरहने मेरो शरीर, सम्बन्ध पनि त सत्य होइन।

    आखिर मान्छेको वास्तविक स्वरूप के हो? हिजो गर्भमा बन्धित थिएँ। बच्चा थिएँ, स्वतन्त्र भएँ। जवान छु, पुनः बन्धित छु। आखिर बन्धन के हो? मुक्त हुनु भनेको के हो? शरीर मुक्त भएर मान्छे मुक्त हुन्छ? वाद के हो? दर्शन के हो? वेद, उपनिषद् के हुन्? किन आवश्यक छ हामीलाई वेदान्त ज्ञान? कुन दर्शन ठिक, कुन बेठिक? कुन अपनाउने, कुन नअपनाउने? किन एउटै वाद स्थिर भएर बसिरहेन? किन यी भिन्न भिन्न वादको जन्म भयो?

    यसै सन्दर्भमा प्राध्यापक कृष्ण गौतमको दार्शनिक उपन्यास ‘अद्वैत’पढ्ने सुअवसर प्राप्त भयो। अगम्य दर्शनलाई आख्यानका माध्यमबाट निकै सरल किसिमले बुझाउने कोसिस गरिएको छ यहाँ। अर्थपूर्ण नामधारी पात्रहरूमार्फत् तार्किक वादविवादको मञ्च निर्माण गरिएको छ। दर्शनजस्तो क्लिष्ट विषयलाई निकै सरल तरिकाले उदाहरणसहित व्याख्या गरिएको छ।

    दर्शन पढ्न मान्छेलाई बोझ लाग्छ। अर्थपूर्ण मानव जीवनका लागि सञ्जीवनी स्तुुत्य दर्शनलाई गौतमले गुलियो क्याप्सुल बनाएर यहाँ राखिदिएका छन्। दर्शन, वेदान्त, ब्रह्म, ज्ञान, विज्ञान, धर्मको विशद विमर्श छ। ज्ञान मीमांसा, ब्रह्माण्ड मीमांसा, तत्व मीमांसा र मूल्य मीमांसालाई संवादमार्फत् कति मज्जाले स्पष्ट पारिएको छ। सबै वाद, धर्म र दर्शनको सबल, दुर्बल पाटाहरू पात्रहरूको विचार र धारणाका माध्यमबाट वादविवाद शैलीमा प्रस्ट पारिएको छ। सबै दर्शनको तर्क सुन्दा मलाई त यस्तो लाग्यो।

    आखिर हरेक सिद्धान्त, दर्शन र वादहरूको गन्तव्य एउटै हो, मार्ग मात्र भिन्न भिन्न हो। जसरी दही, घिउ, पनिर, खुवा, बर्फी, पेडा जे जे भने पनि आखिर मूल त दुध नै हो। भाषाको विकास हुनुभन्दा अगाडि जुन सत्य विद्यमान थियो त्यही नै परम सत्य हो जस्तो लाग्यो। भाषाको उद्भवपछि नै यी वाद जन्मिएका हुन्। भाषा, वाद, दर्शन, वेदभन्दा अगाडि जे थियो, त्यही सत्य हो। भाषाको मात्र भेद हो। त्यो परम ज्ञान अद्वैत छ।

    कृष्ण गौतम अद्वैतको व्याख्या यसरी गर्छन्, ‘अद्वैत एउटै नियममा विश्वस्त छ, जसद्वारा जगत् गतिमान हुन्छ। अद्वैत द्रव्य र शक्तिको म्याटर र इनर्जीको एकात्मक सङ्घन हो। अद्वैत मूल हो, जसबाट द्वैत र बहुलहरू निस्कन्छन्। अद्वैत मूलको पनि मूल हो, जसको कुनै मूल छैन।’ (पृष्ठ ६०)

    पुस्तक पढ्दै जाँदा पाठकलाई यस्तो लाग्छ– यो त सामान्य जीवन दर्शन हो। गौतमले जटिल ज्ञानलाई दैनिक जीवनमा घट्ने घटनाहरू जोडेर नजिकै ल्याएर छर्लंग पारिदिएका छन्। पाठकलाई यस्तो लाग्छ– अहो ! यो त अद्वैतवाद पो रहेछ। अहो ! यो त द्वैतवाद पो रहेछ। यो त बहुलवाद पो रहेछ। पुस्तक पढ्दा यस्तो अनुभूत भयो– हामीले दैनिक जीवनमा गर्दै आएका कतिपय कर्महरू त कुनै न कुनै वाद, सिद्धान्त, धर्म र दर्शनसँग जोडिएर नै पो आएका हुँदा रहेछन्।

    कृष्ण गौतम हरेक दर्शनलाई हाम्रै व्यवहारमा आउने घटनाहरूसँग जोड्दै स्पष्ट पार्छन्। अबोध शिष्यलाई सजिलै ज्ञान सागरमा डुबाइदिन्छन्। स्रष्टा गौतम अद्वैतलाई अझ यसरी बुझाउँछन्, ‘यो घटना सानैदेखि मेरो मनमा खाँदिएर रहेको छ। माग्ने, गरिब, असहायहरू देख्दा रित्तो भए पनि मेरो हात खल्तीतिर जान्छ। तिनीहरूका निम्ति आफूले केही गर्न नसक्ने देखेर कहिले त नैराश्यको कुनामा गुम्सँदै म आफूलाई सराप्ने गर्छु।’

    प्राध्यापक गौतमको शिक्षण शिल्प बडो प्रभावकारी लाग्यो। मैले त दर्शनलाई यति सरल किसिमले बुझ्न सक्छु जस्तो लागेकै थिएन। जति जति गौतमलाई पढ्दै गएँ, म त विस्मित हुँदै गएँ। प्रकृति पूजाको रहस्य उद्घाटित हुँदै गयो।

    अद्वैत नै मूल हो भनेर दंग परेकी थिएँ। सुरथ पात्रमार्फत् पुनः मेरो मन बिथोलियो। गौतम फेरि द्वैतवादको वकालत यसरी गर्छन्, ‘सबलाई मनले एकतामा राख्छ भनूँ भने मेरो मन कहिल्यै स्थिर भएर रहेन। जो आफैं अस्थिर छ, त्यसले अरू अंगलाई स्थिरतामा राख्न सक्ला?

    मनले स्थिरतामा राख्छ भन्ने मान्यतामा भने हामी विश्वास गर्छौं। मन अस्थिर, चञ्चल र छालजस्तो भएकाले यसमा एकता पाइँदैन। बगिरहेको नदीको पानी उस्तै त देखिन्छ तर आउने र जाने पानीमा एकता छैन। यसकारण, म आफैं बहुल छु भने मेरो बृहत् रूप सृष्टि हो, जो बहुल नहुने करै भएन। (पृष्ठ ७२ )

    ब्रह्मको पूर्णव्याख्या सायद असम्भव नै छ। आखिर यो अखिल ब्रह्माण्डलाई कसैले पनि पूर्णरूपमा हेर्न र बुझ्न सकेका छैनन्। सबै आआफ्ना ठाउँबाट ठिक छन्। मनको भावना नै शक्तिशाली रहेछ। भाव नै ठुलो रहेछ। भावले नै पत्थरमा पनि संवेदना सम्प्रेषित गर्न सक्दो रहेछ भन्ने बोध भयो। जीवनको आधारभूत आवश्यकता सबैको एउटै छ। कोरनाकालमा त थाहै भयो मानवको तुजुक। त्यो बेला जात, धर्म, वाद, भूगोल, दर्शन सबै फेल खाए। आखिर जीवन रहे सबै कुरा रहेछ।

    अद्वैतको प्रस्तुति पृथक् छ। विषय रोचक छ। भाषा मिठो छ। सरल, सरस र साधारण ढंगबाट जटिल ज्ञानलाई बुझाउन खोजिएको छ। यो प्राध्यापक गौतमको पेसागत विशेषता नै होला। कोही पनि एउटा वादमा बाँधिएर बसिरहन नसक्दो रहेछ।

    अबोध्य ज्ञानलाई आखिर हामीले आफ्नै शरीरमा धारण गरेर हिँडेका रहेछौं। हामी अद्वैतवादी हौं भनेर आफूलाई भने पनि हामी द्वैतवादी भइरहेका हुने रहेछौं। बहुलवाद मान्दिनँ भन्दा पनि मान्नुपर्ने अवस्था आउने रहेछ। यस्तै दर्शनले भरिएको ‘अद्वैत’ उपन्यास मात्र नभएर एउटा विशाल ग्रन्थ बनेको रहेछ।

  • ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु

    ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर ठोक्किंदा दुवै चालकको मृत्यु

    ललितपुरकाे इमाडाेलमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी तथा प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार स्कुटर चालक काठमाडौंको साखु घर भई डल्लु बस्ने २१ वर्षीय आयुष श्रेष्ठको उपचारका क्रममा बिहान मृत्यु भएको र मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षीय लोकेश राईलाई उपचारका लागि बि एन्ड बी अस्पताल पुर्‍याइएको थियो। उनको पनि उपचारका क्रममा आज बिहान ६:२५ बजे मृत्यु भएको हाे।

    गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडाेलकाे टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए।

    दुर्घटनाबारे अनुसन्धान भैइरहेकाे प्रहरीले जनाएकाे छ।

  • सफलताका सात आध्यात्मिक नियम

    सफलताका सात आध्यात्मिक नियम

    सफलता हामी सबैको सपना हो। हामी सबै यसलाई प्राप्त गर्न चाहन्छौं। हामीमध्ये धेरै कम मान्छे मात्र सफल हुन्छौं। धेरै मान्छे योजना मात्र बनाउँछन् र कार्य गर्दैनन्। यसकारण सफल हुँदैनन्। धेरै मान्छे योजना बनाउँदैनन्, काम गर्छन्। यसकारण सफल हुँदैनन्। धेरै मान्छे योजना पनि बनाउँछन् र काम पनि गर्छन् तर एक दुई पटक असफल हुँदा पनि निराश भइहाल्छन्। जसले गर्दा यिनीहरू पनि सफल हुँदैनन्।

    सफलताका तीनवटा महत्त्वपूर्ण सिद्धान्त छन्: कठोर परिश्रम, कठोर परिश्रमको निरन्तरता र इमानदारीपूर्वक पालना।

    सफलताको खास सूत्र वा नियम छैन। सूत्र भयो भने सबै सफल हुन्थे तर पनि सफलतामा दुई कुरा अस्त्र बन्न सक्छन्। पहिलो, सफलताको कुनै पैतृक र खानदानसित सम्बन्ध छैन। दोस्रो, जसले पनि सफलता प्राप्त गर्न सक्छ।

    सफलता के हो ? सामान्य रूपमा मान्छे भौतिक समृद्धिलाई सफलता भन्छ। तर विशेष रूपमा सफलता चार प्रकारका हुन्छन्: आर्थिक समृद्धि, राम्रो स्वास्थ्य, मधुर सम्बन्ध र आध्यात्मिक ज्ञान। यी चार क्षेत्रमा सफलता प्राप्त गरेपछि मात्र खास अर्थमा सफल भन्न सकिन्छ।

    सफलताका लागि ध्यान दिनुपर्ने केही कारक तत्त्व छन्:

    सन्तुलित विचार

    हाम्रो मन कहिले विषयको पक्षमा रहन्छ, कहिले विपक्षमा। पक्ष र विपक्षको चक्करमा फसेकाले मनमा कहिल्यै पनि शान्ति हुँदैन। हाम्रो मनले सानो सानो कुरामा पनि पक्ष–विपक्षको खेल खेल्न थाल्छ। जुन कुरामा हाम्रो कुनै सम्बन्ध हुँदैन, त्यस्तो कुरामा पनि हामी आफ्नो भावना जोडेर तर्क–कुतर्क गर्न थाल्छ। यसकारण हाम्रो मन पक्ष वा विपक्षमा नभई बीचमा रहनुपर्छ।

    महात्मा बुद्ध भन्नुहुन्थ्यिो, ‘गोल्डेन मीन’। मध्यम मार्ग भन्नाले बीचको बाटो। जुन कुराबारे हामीलाई थाहा छैन, सम्बन्ध पनि छैन तर पनि पक्ष वा विपक्षमा गएर विवाद गर्छौं। सम्बन्ध बिगार्छौं। यसो गर्नु शान्ति मार्ग होइन। गीतामा पनि भगवान् कृष्ण भन्नुहुन्छ: अनाशक्त भावले काम गर्नुहोस्। तिम्रो कर्ममाथि अधिकार छ, फलमाथि होइन। यसकारण यसको चिन्ता नगर। दैनिक कार्य गर्दा तथा आफ्नो सम्बन्धमा पनि मध्यम मार्गको कुरालाई याद राख्नुहोला।

    सर्वकल्याण भाव

    आफ्नो काम, सम्बन्ध वा व्यापार यात्रामा जुन मान्छेले आफ्नो कल्याणको भाव राख्छ, त्यसको सफलता अपूर्ण हुन्छ, सन्तुष्टि हुँदैन र शान्ति पनि हुँदैन। उसको पारिवारिक समृद्धि हुँदैन। यसका लाखौं उदाहरण पाइन्छन्।

    जसले अर्काको कल्याण भाव राखेर कार्य गर्छ वा व्यापार गर्छ, त्यसको मन शान्त हुन्छ। जसले सबैको कल्याणको भाव राखेर कार्य गर्छ, त्यो उच्च स्थानमा पुग्छ। उसलाई आन्तरिक आनन्द पनि प्राप्त हुन्छ। आधुनिक व्यवस्थापनमा यसलाई ‘थ्रिडब्लु’का नामले चिनिन्छ। थ्रिडब्लु अर्थात् तीनवटा पक्ष: पहिलो पक्ष, दोस्रो पक्ष र तेस्रो पक्ष।

    सबैको जितको र कल्याणको भाव राख्नु। हिन्दु सनातन दर्शन विज्ञान सर्वकल्याणको भावमा नै आधारित छ। सर्वकल्याण भाव राखेर गरेको कार्यले शान्ति, सम्मान र सन्तुष्टि दिन्छ।

    सन्तुलनको विज्ञान

    यो सृष्टिको आधार नै सन्तुलन हो। आयुर्वेदमा भनिएको छ, ‘विष पनि सन्तुलित रूपमा उपयोग गरे औषधि बन्छ र अमृत पनि असन्तुलित रूपमा उपयोग गरे विष बन्छ।’

    यसकारण सम्बन्ध, स्वास्थ्य, व्यापार र दैनिक कर्ममा निश्चित रूपमा सन्तुलन राख्नुपर्छ। सन्तुलन शान्ति हो, सन्तुलन शक्ति हो, सन्तुलन बुझाइ हो र सन्तुलन ज्ञानको आधार पनि हो। जसरी काम गर्न जरुरी छ, स्वास्थ्यमाथि ध्यान दिन त्यति नै जरुरी छ। यसका साथ साथ व्यक्तिगत सम्बन्धको मूल्य सम्झेर त्यसलाई समय दिनुपर्छ।

    स्वीकारको नियम

    जीवनमा सबै कुरा प्राप्त गर्नु भयो तर मनमा शान्ति र आनन्द छैन भने त्यो सफलता अर्थहीन हुन्छ। सबै कुरा हाम्रो सोचअनुरूप हुँदैन। एउटा भनाइ छ ‘जे सोच्छु त्यो हुँदैन, जे हुन्छ त्यसबारे सोचेको हुँदैन।’

    अस्वीकार दुःख हो, असन्तुष्टि हो र तनाव हो। स्वीकार सुख हो, शान्ति हो, सफलता हो र आनन्द हो। स्वीकार भावले कार्य गर्‍यौं भने दैनिक शक्ति र मनमा उमंगको स्थिति बनिरहन्छ। त्यस अवस्थामा जुन काम गर्छौं, आनन्द आउँछ। यही बुझाइ नभएकाले हामी सानो ‘सानो कुरामा पनि दुःखी, व्यथित र तनावग्रस्त हुन्छौं। स्वीकार भाव जीवनको आधार हो। भगवान् बुद्ध पनि सधैं स्वीकारोक्तिकै भाव व्यक्त गर्नुहुन्थ्यो।

    उच्च बुझाइ विज्ञान

    भनाइ छ– जीवनमा दुईवटा उद्देश्य हुन्छन्, सफलता प्राप्त गर्नु र प्राप्त सफलतामार्फत मजा लिनु। धेरै मान्छे सफलता प्राप्त गर्दागर्दै स्वास्थ्य बिगारिसक्छन्, सम्बन्ध बिगार्छन्। अन्त्यमा दुःखी र निराश हुन्छन्। जीवन वर्तमान हो, भविष्य वा अतीत होइन। जुन मान्छे जीवनको तयारी मात्र गर्छ, त्यसले जीवनको मजा लिँदैन। त्यो सांसारिक बन्छ। जुन मान्छे आध्यात्मिक बन्छ, त्यसले जीवनको मजा लिन्छ। उच्च बुझाइको ज्ञानअनुसार वर्तमान नै असली पुँजी हो, वर्तमान नै आनन्दको आधार हो। अतीत वा भविष्य उल्झन र अशान्तिको आधार हो। यो बुझाइ नै अध्यात्म हो।

    अपेक्षाको विज्ञान

    मानव मनको स्वभाव हो-अपेक्षा राख्नु। यही अपेक्षाले मोह, द्वेष र लोभलाई जन्माउँछ। विवाद र दुस्मनी यहींबाट उत्पन्न हुन्छ। अधिक अपेक्षा दुःख र असफलताका लागि जिम्मेवार हुन्छ। अपेक्षा पूरा भएन भने रिस उठ्छ। रिससँगै अहंकार र अशान्ति बढ्छ। यसकारण हामीले कुनै पनि कर्म गर्दा धेरै अपेक्षा राख्नु हुँदैन।

    हामीले सन्तुलित भएर अपेक्षा राख्न सक्नुहुन्छ र पूरा भएन भने उदास हुनुहुँदैन। सद्गुरु ओशो भन्नुहुन्थ्यो-कसैको अपेक्षा पूरा गर्नका लागि कोही जन्मेको होइन। सबै आफ्नो व्यक्तिगत इच्छा पूरा गर्नका लागि जन्मेका हुन्।

    स्वयंको नियम

    नियम छैन भने जीवन पनि छैन। हामी सबैले देशको संविधानजस्तै आफ्ना लागि केही नियम बनाउनुपर्छ अनि त्यसैअनुरूप जीवन यात्रा गर्नुपर्छ। जुन मान्छेले आफ्नो नियम वा सिद्धान्त बनाउँदैन, ऊ अर्काको नियमबाट चल्छ, चल्नैपर्छ। आफ्नो नियममा स्वतन्त्रता छ, आनन्द छ। अर्काको नियममा बन्धन छ, अपमान छ।

  • स्याङ्जामा उपन्यासकार पौडेलको  चरीमाईमाथि विमर्श

    स्याङ्जामा उपन्यासकार पौडेलको चरीमाईमाथि विमर्श

    साहित्यकार अञ्जना पौडेलको उपन्यास ‘चरीमाई’ माथि स्याङ्जामा विमर्श गरिएको छ। वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार वालिङ- ६ मिर्दीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टमा कार्यक्रम गरिएको हो।

    परिचर्चा कार्यक्रममा समीक्षक शम्भु अर्याल र अनन्त अर्यालले ‘चरीमाई उपन्यासको समीक्षात्मक टिप्पणी राखेका थिए। पुस्तकमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई लेखकले गहिरिएर लेखेको वक्ताहरूले बताए।

    नेपाली समाजका कथालाई चरीमाई उपन्यासमा जोड्ने कोसिस गरेको लेखक पौडेलले बताइन्। ‘हाम्रो समाजमा अझै व्याप्त आम विषयवस्तु छन्, नुवाकोट र रसुवा बसाइँका क्रममा त्यहाँ देखेको तिनैलाई उपन्यासको कथा बनाएकी हुँ’, पौडेलले भनिन्।

    साहित्यकार मिलन समीरले सहजीकरण गरेकाे कार्यक्रममा अतिथि चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले चरीमाईका कथाव्यथा सबैतिर भएको बताए। आफू प्रशासकका रूपमा स्याङ्जाका विभिन्न गाउँठाउँ पुग्दा चरीमाईहरू यहाँ पनि रहेको उनले बताए। इन्डिगो इन्कबाट प्रकाशित पुस्तकको मूल्य ४४९ छ।

    कार्यक्रमको दोस्रो चरणमा रचना वाचन कार्यक्रम राखिएको थियो। ध्रुवप्रसाद शर्मा पंगेनी, लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पंगेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले कविता वाचन गरेका थिए।

  • दुई चरणमा जिल्ला फुटबल लिग सञ्चालन हुँदै

    दुई चरणमा जिल्ला फुटबल लिग सञ्चालन हुँदै

    ताप्लेजुङमा दुई चरणमा फुटबलको जिल्ला लिग सञ्चालन हुने भएको छ। आयोजक जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत ‘ए’ र ‘बी’ डिभिजन लिग दुई चरणमा सञ्चालन गर्ने जनाएको छ।

    जिल्ला फुटबल संघका अध्यक्ष अशोक चेम्जोङका अनुसार ‘बी’ डिभिजन नकाउट प्रतियोगिता जेठ १८ देखि २२ सम्म फुङलिङस्थित भानु जनमाविको खेल मैदानमा हुने छ।

    ‘ए’ डिभिजन लिग भने जेठ २१ देखि २५ गतेसम्म आठराई त्रिवेणी गाउँपालिकाको चाँगेस्थित चाँगे माविको खेल मैदानमा हुने भएको छ। ताप्लेजुङ जिल्ला फुटबल संघका महासचिव दिनेश खवासका अनुसार ताप्लेजुङ जिल्ला फुटबल संघका १४ वटा क्लब आबद्ध छन्।

    तीमध्ये अहिलेसम्म ६ वटा ‘ए’ डिभिजनमा र ८ वटा ‘बि’डिभिजनका रहेका छन्। यो लिगमार्फत ‘ए’ डिभिजनको पुछारमा रहेका २ वटा क्लबलाई घटुवा गरी ‘बी’ डिभिजनमा सूचीकृत गरिने छ भने ‘बी’ डिभिजनको खेलका विजेता र उपविजेता टोलीलाई ‘ए’ डिभिजनमा बढुवा गरिने छ।

    ‘ए’डिभिजन लिगको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार रूपैयाँ पुरस्कार पाउँदा ‘बी’ डिभिजनका विजेताले नगद ३० हजार उपविजेताले नगद १५ हजार रूपैयाँ पुरस्कार पाउने छन्।

  • ब्रिजबनदेखि उलुँगोंगसम्म

    ब्रिजबनदेखि उलुँगोंगसम्म

    जेटस्टारको विमानबाट किँसफोर्ड स्मिथ एयरपोर्ट, सिड्नीमा उत्रँदा बिहानको दश बजिसकेको थियो। हामी ब्रिजबनमा साढेआठ बजे जहाजमा उक्लेका थियौं। सिड्नीको आकाश धुम्म परेर बसेको थियो। सिड्नी घुम्नका लागि मोटर भाडामा लिन बुकिङ भइसकेकाले कम्पनीकै बसमा चढेर हामी एयरपोर्टबाट ‘इस्टकोस्ट कार रेन्टल’को कार्यालयमा पुग्यौं। ढाई वर्षकी नातिनीका लागि ‘बेबी सिट’ जडान गर्नुपर्ने भएकाले केहीबेर कुर्नुपर्ने भयो।

    म र मैयाँ सिड्नी पहिलोचोटि घुम्दैछौं। हामीलाई घुमाउन छोरी निन्जु र ज्वाइँ विवेकसँगै आएका छन्। साढेसातको उडानको टिकट लिए पनि जहाज ‘डिले’ भएको थियो। यस्तो समस्या नेपालमा मात्र नभई विकसित देशमा पनि हुँदोरहेछ। हामीले चारबजे नै उठेर नरुचे पनि जबरजस्ती अल्पाहार गरिसकेका थियौं। त्यसले अहिले ठुलो सहारा बनेको थियो।

    अहिले हाम्रो मोटरमा बेबीसिट जडान भई हम्बुस वेस्टतर्फ गुडिरहेको छ। स्ट्राथफिल्डमा भदै सविताको अपार्टमेन्ट भएकाले हाम्रो पहिलो गन्तव्य त्यही हो। एयरपोर्टदेखि पश्चिमतिरको पारामाटा रोड हुँदै अगाडि बढ्ने क्रममा यत्रो ठुलो सहरको सडक उस्तै साँघुरो देख्यौं। यो त सिड्नीको सबैभन्दा पुरानो सडक पो रहेछ।

    सन् १७९० मा निर्मित यो सडकले सिड्नी र पारामाटालाई जोड्ने रहेछ। यसको वरिपरि भएका ससाना अत्यन्तै पुराना आपसमा तासका पत्ताझैं जोडिएका एन्टिक घरहरू (प्राचीनता बोकेका)ले इतिहासको एउटा कालखण्डको तस्बिर प्रस्तुत गरिरहेका थिए।

    यी घरहरू न त भत्काउन पाइन्छ, न बाह्य स्वरूपमा कुनै परिवर्तन गर्न नै! भित्र भने फेरबदल गर्न पाइँदोरहेछ। प्राचीनताकै कारणले यी घरहरूको अत्यन्तै महँगो दाम पर्दोरहेछ। मलाई हाम्रा प्राचीन घर र सडकको त कुरै छाडौं, प्रज्ञा प्रतिष्ठानजस्तो जिम्मेवार संस्थाले महाकवि निवासको मौलिकतामा डोजर चलाएको सम्झेर नमिठो लाग्यो।

    ट्राफिकको असाध्यै भीडका कारणले हाम्रो मोटरको गतिमा प्रतिकूल प्रभाव परिरहेको थियो। ट्राथफिल्ड पुग्दा सविता हाम्रा लागि स्वादिष्ट भोजन तयार गरेर पर्खिरहेकी रै’छन्। लामो समयपछिको भेट भएकाले हामीले छोटो समयमा धेरैभन्दा धेरै ठाउँ घुम्नुछ भन्ने पनि भुलेर धेरै समय बिताएछौं।

    अबेर खाएको भोजनले पनि हामीलाई लठ्याएछ। सापेक्षमा ठन्डा भएकाले बरन्डामा घाम तापेर बस्दा पनि शरीरले सन्चो मानेछ। मैयाँ र निन्जु सवितासँग बाह्रसत्ताईस कुरा गरिरहेका थिए भने नन्ना आफ्नो सिप र दक्षताको अबोध प्रदर्शन गरिरहेकी थिई।

    आजको हाम्रो मुख्य गन्तव्य सिड्नीभन्दा १४० किलोमिटर दक्षिणमा अवस्थित सानो सहर उलुँगोँग हो। डेढघण्टाको यात्राको बाटो भएकाले हतार थिएन। त्यसैले नजिकै रहेको ओलम्पिक पार्क हेर्न गयौं।

    सन् २००० को हिउँदे ओलम्पिक खेल भएको मुख्य स्टेडियमहरूका अगाडि निर्मित पार्कको बाहिरी बनावट र सौन्दर्यको अवलोकन गरेर नजिकैको हरियालीपूर्ण पार्कमा गएर केही समय बितायौं।

    आकाशमा पातलो बादलको बर्को थियो। जमिनमा केही ओसिलोपन र हाम्रा मनमा न्यानोपना थियो। पार्कको हरियो चौरमा पूरै सन्ध्या बिताउने लालसालाई तिलाञ्जली दिँदै पाँचबजेतिर उलुँगोँग हानियौं। सहरको भिडभाड कटेपछि गाडीले ८०–१०० किमी प्रतिघण्टाको रफ्तार लियो।

    पैँतालीस मिनेटको यात्रापछि समुद्री किनारको मनोरम दृश्य हेर्दै यात्रा गर्न पाइन्छ, जसलाई ‘ग्र्यान्ड प्यासिफिक ड्राइभ’ भनिँदोरहेछ। रेल र सार्वजनिक बसबाट पनि सुगम यात्रा गर्ने सुविधा रहेछ। तर केही दिन पहिलाको वर्षा र बाढीले रेलमार्गमा अवरोध पुर्‍याएको रहेछ।

    सिड्नीबाट केही दक्षिण लागेपछि डाँडाकाँडा भेटिए। साँझ घना जंगलबिच बनेका चाक्ला र चिल्ला सडकमा यात्रा गर्दा ‘जंगलमा मंगल’ भएको अनुभूति भइरहेको थियो। हामीले सुनेअनुसार उलुँगोँग सिड्नीबाट टाढाको गाउँ हो, जहाँ विद्यार्थीहरू अस्ट्रेलिया आएपछि स्थायी आवासीय पुर्जा प्राप्त गर्नका लागि जान्छन्। साँझको ६ बजे हामी पुग्दा त झलमल्ल उज्यालो सहरका रूपमा भेट्यौं।

    हामी पुगेपछि गोविन्द थापा दम्पती प्रफुल्लित देखिए। उनीहरू हाम्रा छिमेकी हुनुका साथै उनीहरूकी छोरी निन्जुकी सैनी थिइन् र उनीहरू स्कुलदेखि कलेजसम्म सँगै पढेका पनि थिए। हालै उनलाई पुत्रीलाभ भएकाले नवजात शिशुको मुख हेर्ने इच्छाले पनि डोर्‍याएको थियो।

    नेपाल राष्ट्र बैंक, पोखराबाट अवकाश पाएका गोविन्द मिठो खाना पकाउन चर्चित छन्। मैयाँले उनको पाककलाको सधैं प्रशंसा गरे पनि मैले स्वाद लिन पाएको थिइनँ। आज थाहा भयो, यत्तिको स्वादिष्ट खाना पकाउने मान्छे बिरलाकोटीकै हुन्छन्।

    भोलिपल्ट बिहान हामी दृश्यावलोकनका लागि निस्कियौं। अर्को मोटरमा गोविन्द दम्पती र ज्वाइँ रोशन थिए। हामी केही उच्चा ठाउँबाट समुद्रतिर झर्दै थियौं। वास्तवमा उलुँगोँग एउटा रमणीय उपत्यका रहेछ। वरिपरि होचा डाँडाहरू हरियालीपूर्ण थिए। घाँस काटेर चिटिक्क पारिएका चौरहरूका साथै ससाना सुन्दर बस्तीहरू दृष्टिगोचर भइरहेका थिए। जहाँ प्रकृतिले उदारतापूर्वक सौन्दर्य खन्याएको थियो भने मानिसको सिप, जाँगर र सचेतताले चिटिक्क पारेको थियो।

    यो देखेर मलाई अमेरिकाको नेपभ्यालीको याद आयो। फरक यति थियो कि नेपभ्याली एउटा विस्तृत अंगुरखेती भएको रक्सी उत्पादनका लागि प्रख्यात ठाउँ हो। यहाँ गाई र घोडा फर्महरू छन्। भूबनोट एकै एकैजस्तो लाग्यो।

    यहाँको सेलहार्बर भन्ने नयाँ गाउँबाट हाम्रो गन्तव्य कियामा दश मिनेटको बाटोको दुरीमा रहेछ। यहाँको समुद्री किनारमा सुन्दर बस्ती छ। सडकको बायाँतिर समुद्र र दायाँतिर लहरै उभिएका एन्टिक घरहरू। यहाँका अधिकांश घरहरूमा अवकाशप्राप्त जेष्ठ नागरिकहरू बस्दारहेछन्।

    पुरानो मोडलको छुकछुके रेललाई पनि जेगाएरै राखेका रहेछन्। नयाँ प्रविधिको आविष्कार गरिरहने अंग्रेजहरू पुरानोलाई जोगाएर राख्न पनि उत्तिकै खप्पिस छन्। समुद्रको किनारमा पदयात्रीका लागि पदमार्ग पनि छ। अलि पर गएपछि समुद्र थोरै भित्र घुसेको र त्यो भागलाई भित्रै पारेर पदमार्ग बनाएको रहेछ।

    ‘त्यो बाटोमा बिहान बेलुकी हिँड्दा कति मज्जा आउला !’ मैले उत्सुकता प्रकट गरें।

    ‘जोखिमपूर्ण पनि उत्तिकै छ नि! केही दिन पहिला त्यहाँ एक बिहान बाबुछोरी हिँडिरहेको बेलामा एक्कासी छाल आएर बगाएको थियो। कस्सो तत्काल उद्धार भएकाले मुस्किलले बाँचेका थिए,’ ज्वाइँ रोशनले दिएको जानकारीले हाम्रो आङ सिरिंङ भयो।

    हामी कियामाको प्रकाशस्तम्भमा पुगेर चारैतिर नजर दौडायौं। बायाँतर्फ तलपट्टि चट्टानको प्लेटमाथि पानी भरिएर प्राकृतिक पौडी पोखरी बनेको थियो।

    ‘कस्तो पौडी खेलौं खेलौं लाग्ने ठाउँ!’ म लोभिएँ।

    ‘त्यहाँ मान्छे पौडी त खेल्छन् तर खतरा छ,’ ज्वाइँ रोशनले भनेपछि मलाई ठन्डी लाग्यो। हुन पनि ब्रिजबनको सापेक्ष यहाँ ठन्डी नै छ।

    हामी प्रकाशस्तम्भनेरबाट तल ओर्लियौं। यहाँको आकर्षण भनेकै स्तम्भको फेदबाट चालीस पचास मिटरसम्म कालो र नांगो चट्टान र स्तम्भकै फेदको नजिकै एउटा प्वाल परेको थियो। जसबाट बेला बेलामा पानीको मुस्लो उठेर आकाशतिर जाँदोरहेछ। प्रकृतिको कलाको विचित्रताको यो पनि एउटा नमुना हो।

    ‘आज त पानीको मुस्लो सानो आइरहेछ। अघिल्लो पटक हामी आउँदा त त्यहाँमाथि उभिएका मान्छेलाई पनि भिजाएको थियो,’ श्रीमती गोविन्दले जानकारी दिएपछि हामी प्यालमाथि नै बनेको रेलिङमा गई हेर्‍यौं। प्वासबाट तल समुद्रको पानी देखियो। जब ठुलो छाल आउँथ्यो, तब छाल पत्थरमा ठोक्किएर जोडले प्वालको मुखबाट पानी माथि उठ्थ्यो र वरिपरि चारैतिर भिज्याउँथ्यो।

    यहाँ विश्वयुद्धमा प्रयोग गरिएका तोपहरू पनि छन्। हेर्न जाऊँ,’ रोशनको प्रस्तावलाई हामीले दायाँतिर पर देखिएको बन्दरगाह र पोर्टकिम्ला औद्योगिक क्षेत्रतिर नजर लगाउँदै अस्वीकृत गर्‍यौं। वास्तवमा हामीलाई महाविध्वंशक युद्धको हतियार हेर्ने रहर पनि थिएन।

    हामी फर्कंदा जम्बेरुको बाटो फर्कियौं। हामी रोबर्टसन वा टुरिस्ट ड्राइभ हुँदै फर्कंदै थियौं। जहाँ चाक्ला चाक्ला फर्महरू भए पनि अधिकांश भूभाग खाली थिए। झन्डै आधा पोखराजति देखिने भूभागको जनसंख्या १६ सय ३६ जना भनी नामपट्टि टाँसिएको थियो।

    यहाँको केही भूभाग दलदल पनि रहेछ र मिन्नामुर्रा नदीमा बाढी पनि आउने रहेछ भन्ने कुराको प्रमाण नदीको छेउछाउमा केही दिन पहिलाको बाढीका डोबहरू प्रस्ट देखिन्थे। दायाँतर्फ घना जंगलवेष्टित डाँडाहरू थिए। यो ठाउँमा जेष्ठ नागरिक र केटाकेटी मात्र देखिँदा रहेछन्। उमेरदारहरू अवसरको खोजीमा सहर पस्ने नै भए। अगाडिको मिन्टो भन्ने गाउँमा सर्लक्कै नेपाली बस्दारहेछन्।

    गोविन्द दम्पतीले पकाएको स्वादिष्ट भोजनपछि हामी फर्कंदै थियौं। गोविन्द दम्पती र ज्वाइँ रोशनले सी क्लिप बिच देखाउने भनेर सँगसँगै निस्कियौं। हामीलाई पनि खुदो भइहाल्यो।

    समुद्रको मनोहारी दृश्यावलोकन गर्दै अगाडि बढ्यौं। एकतर्फी बाटो र पार्किङ नपाउँदा समुद्र छोएरै मज्जा लिन त पाएनन् तर केही पर अग्लो डाँडा बाल्ड हिल अब्जरभेसनमा पार्किङ पायौं। उच्च ठाउँबाट समुद्र र किनारी दृश्य हेर्नुको मज्जै बेग्लै हुने। यो प्याराग्लाइडिङ उड्ने ठाउँ पनि रहेछ।

    केही युवाहरू उड्दै थिए। एकजना त नेपाली पनि रहेछन्। ती उडेर पर समुद्रको किनारमा अवस्थित गाउँको चौरमा नउत्रिन्जेल हामीले हेरिरह्यौं। नेपालीप्रतिको अपनत्व नै बेग्लै हुने! हामीले त्यहाँ केही फोटाहरू खिच्यौं र मेरो फोटो खिच्ने बेलामा सुन्दर पन्छी क्रिमजन रोजेला ठिक अगाडि उडिरहेको थियो। क्यामेराले कैद गरेछ। बडो रमाइलो लाग्यो।

    यहाँको अवलोकनपछि गोविन्द परिवार फक्र्यो र हामीहरू पनि समुद्री किनार छाडेर जंगलको बाटो उकालो लाग्यौं।

  • नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

    नेपाल प्रहरीका चार एसपी एसएसपी बढुवामा सिफारिस

    नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।

    बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसपीहरूलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

    एसएसपी बढुवा सिफारिसमा गण्डकी प्रदेश गण पोखरामा कार्यरत एसपी श्यामकृष्ण अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रविन्द्र रेग्मी, कोशी प्रदेश प्रहरी गण विराटनगर मोरङमा कार्यरत भीमबहादुर दाहाल, बागमती प्रदेश प्रहरी कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध महाशामा कार्यरत नान्तीराज गुरूङ परेका छन्।