Blog

  • मोरङमा आगलागी हुँदा ३२ लाखको क्षति

    मोरङमा आगलागी हुँदा ३२ लाखको क्षति

    मोरङमा आगलागी हुँदा ३२ लाख बराबरको क्षति भएको छ। पथरीशनिश्चरे नगरपालिका–७ फाल्गुनन्द चोकका रेवतीप्रसाद सापकोटाको अंशु एण्ड अमिसा पसल तथा कोल्ड सेन्टरमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

    उनका अनुसार मंगलबार बिहान ३ बजेतिर पसलमा भएको आगलागी र कर्कटपाताको छानो र इँटा प्रयोग गरेर बनाइएको १ तले घरमा सापकाेटाले पसल थापेका थिए।

    विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने बताउँदै, डिएसपी बस्नेतले भने, ‘के कारणबाट आगलागी भएको हो अनुसन्धानपछि मात्रै यकिन हुनेछ। आगोले पसलको गल्लाभित्र रहेको २ लाख रूपैयाँ नगद जलेको जानकारी पसल सापकाेटाले गराएका छन्।’

    पसल सञ्चालन गरिएको घरसहित पसलभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा ३२ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनकाे भनाइ छ।

    प्रहरी, स्थानीय र दमकलको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

  • संसदीय छानबिन विशेष समिति गठन, कार्यादेशमा गोरखा मिडियाको नामै उल्लेख

    सहकारीको रकम अपचलनबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको हो।

    मंगलबार दिउँसो कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा रहेको कार्यदलले चार बुँदे टिओआर तयार पारेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको हाे।

    अब संसदीय समिति ७ सदस्यीय रहने पनि कार्यदलले टुङ्ग्याएको छ। जसको कार्यविधि तीन महिना तोकिएको छ।

    टीओआरमा संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरूको भूमिकाको अध्ययन गर्ने जस्ता विषय रहेको छ।

    योसँगै संसदीय गतिरोध समेत अन्त्य भएको छ। सहकारी ठगी प्रकरणमा छानबिन समिति गठन हुनुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुनु पर्ने माग गर्दै कांग्रेससहितका प्रतिपक्षी दलले लामो समयदेखि सदन अवरुद्ध पार्दै आएका थिए।

    उनीहरुको नाराबाजीका बीच सरकारले सदनबाट नीति तथा कार्यक्रम पारित गराएको थियो भने अन्य कार्यसूचीसमेत अघि बढाएको थियो।

    मंगलबारको सहमतिपछि सरकारलाई सहजरुपमा आगामी आर्थिक वर्षको बजेट ल्याउन बाटो खुलेको छ। बजेट अपराह्न ३ बजे सार्वजनिक गर्नै तयारी सरकारको छ।

    यस्ता छन् टिओआरमा समेटिएका विषयहरू:

    १. सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिने।

    २. समस्यामा परेका सहकारी संस्थाका बचतकर्ताको बचत रकमको सुरक्षा गर्न, जोखिममा रहेको तथा दुरुपयोग भएको बचत रकम छिटो र सहज ढङ्गले फिर्ता गर्न सकिने उपायका सम्बन्धमा अध्ययन गरी सिफारिस गर्ने।

    ३. नेपाल सरकार सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका अनुसूची–१ मा उल्लेख भएका संस्थाहरू लगायतका सहकारी संस्थामा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने।

    ४. सहकारी संस्था सदस्य (शेयर धनी) एवं बचतकर्ताबाट सहकारी संस्थामा जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन गरी हानी नोक्सानी पुर्‍याएको भनी सङ्घीय संसद् र सार्वजनिक रूपमा प्रश्न उठेका, विभिन्न तह र निकायमा उजुरी परेका अनुसूची २ मा उल्लेखित लगायतका सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालि लगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैर कानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैर कानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुन बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने।

  • बैतडीमा बुधबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    बैतडीमा बुधबारदेखि पोलियोविरुद्धको खोप लगाइँदै

    बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ। जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो।

    जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिए।

    उनका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने छ।

    देशभरि सञ्चालन भइरहेको खोप अभियान बैतडीमा भने भोलिदेखि जेठ २३ गतेसम्म हुने भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिए।

    खोप अभावका कारण यसअघि छुटेका बालबालिकालाई पोलियोको जोखिम हुने भएकाले अभियान सञ्चालन गरी सबैलाई खोप लगाउने तयारी भएको उनको भनाइ छ।

    नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ।

  • मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

    मध्यकालीन खर्च संरचना र वार्षिक विकास कार्यक्रम पारित

    राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र तीनवर्षे मध्यकालीन खर्च संरचना पारित गरेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो। बजेटसँगै वार्षिक विकास कार्यक्रम संसद्मा टेबुल हुने गरेको छ।

    आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनियोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमताअनुसार नै बजेट विनियोजन गर्नेगरी सुनिश्चित गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

    बैठकममा प्रधानमन्त्री दाहालले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबीच तादात्म्य नमिलेको गुनासो आउने गरेको भन्दै यस वर्ष त्यस्तो नहुने बताए। नीति तथा कार्यक्रममा पनि जनमुखी बजेट निर्माणका लागि आफूले निर्देशन दिएको र त्यसकै आधारमा अर्थमन्त्री वर्षमान पुनले बजेट तयार गरेको प्रधानमन्त्री दाहालले बताए।

    बैठकमा अर्थमन्त्री वर्षमान पुन, आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ, मुख्यसचिव बैकुण्ठ अर्याल तथा आयोगका सदस्य र सदस्य सचिवलगायत उपस्थित थिए।

  • अमेरिकाको ४ राज्यमा वर्षासँगैको आँधीका कारण २१ जनाको मृत्यु

    अमेरिकाको ४ राज्यमा वर्षासँगैको आँधीका कारण २१ जनाको मृत्यु

    अमेरिकामा आँधीका कारण २१ जनाको मृत्यु भएको छ। अमेरिकाको दक्षिणी क्षेत्र ओजाक्र्ससहित ४ राज्यमा वर्षासँगैको आँधीका कारण २१ जनाको मृत्यु भएको हो भने १ सयभन्दा बढी घाइते भएका छन् ।

    आँधीका कारण सैयौँको सङ्ख्यामा घरहरू क्षतिग्रस्त बनेका छन्।

    समाचार संस्था अल जजीराका अनुसार टेक्सास, केन्टकी, अर्कान्सस र ओक्लाहेम लगायतका राजय बढी प्रभावित बनेका छन् भने ३० मिनिलयनभन्दा बढी नागरिक प्रभावित भएका छन्।

    न्यूजर्सी, न्यूयोर्क र पेन्सिलभेनियाका केही भागमा आँधीका कारण चेतावनी जारी गरिएको छ।

    अटलान्टा र जर्जिया क्षेत्रसहित दक्षिण क्यारोलिनामा आपतकाल घोषणा गरिएको छ भने सडक, विद्यतु, हवाई, सञ्चार लगायतका क्षेत्र अवरुद्ध बनेका छन्।

  • धानको बीउ किसानलाई ‘पैँचो’

    धानको बीउ किसानलाई ‘पैँचो’

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई ‘पैंचो’का रूपमा परम्परागत जातका धानको बीउ उपलब्ध गराउन थालेको छ। परम्परागत जातका धान जोगाउनका लागि सहकारीले किसानलाई पैँचोका रूपमा बीउ उपलब्ध गराउन थालेको हो। किसानलाई एकदेखि दुई किलोसम्म धानको बीउ उपलब्ध गराउने व्यवस्था गरेको छ।

    ‘किसानलाई उपलब्ध गराइएको बीउ पछि फिर्ता हुने गरी पैँचोका रूपमा दिएका हौँ’, सहकारीका अध्यक्ष भीमराज अवस्थीले भने, ‘फिर्ता भएको बीउ अर्को वर्ष अरु किसानलाई दिन्छौँ, किसानले उत्पादन गरेको पम्परागत जातको बीउबाहेकको धान प्रतिकिलो ४० देखि ५० का दरले गुणस्तरका आधारमा खरिद गर्ने व्यवस्था गरेका छौँ।’

    उनका अनुसार सहकारीमा आबद्ध ५० जना किसानले परम्परागत जातका धानको बीउ पैँचोका रूपमा लगेका छन्। बीउ लगेकाहरूले एक कठ्ठादेखि पाँच कठ्ठा खेतमा धान रोप्ने उनले उल्लेख गरे। हालसम्म सहकारीबाट पम्परागत जातका लालचन्द, अन्जना, वामान चिनी, सेतो अन्ती, रातो अन्ती, ध्यूपुरी, सौँठारी, राइमुनुवा, बगटी, बन्दनालगायत २३ प्रजातिको दुई क्विन्टल जति धान बीउ वितरण गरिएको छ।

    यससँगै सहकारीले भुरा, गुडरा, गुर्रा, तिल्कीलगायतका बीउ पनि वितरण गरेको छ। परम्परागत जातको धानबीउको माग किसानले गर्दै आएकाले पुर्याउनै धौधौ रहेको अध्यक्ष अवस्थीले जानकारी दिए।

    परम्परागत जातका धानमा सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने उनको भनाइ छ। ‘परम्परागत जातका धान अहिले गाउँघरतिर पाउनै मुस्किल छ’, उनले भने, ‘कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको बीउ नै खोज्छन्।’

    उन्नत जातभन्दा कम फल्ने हुँदा किसानले परम्परागत जातका धान खेतमा लगाउन छाड्दै गएको उनले बताए। बढी उत्पादन दिने, आम्दानी हुने धानखेतीप्रति किसानको मोह बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन्।

    ‘धानका विकासे जातको तुलनामा रोग कीराको समस्या कम हुन्छ, कम मलजलमै फल्छ’, सहकारीका अध्यक्ष अवस्थीले भने, ‘उन्नत जातका धान लगाउँदा नफल्ने समस्या पनि छ, विकासे र उन्नतको तुलनामा स्थानीय जातका धान कम फले पनि किसानले निराश हुनु पर्दैन।’

    परम्परागत जातका धानसँगै किसानको मागअनुसार सहकारीले उन्नत जातका धान बीउ पनि ढुवानी भाडा जोडेर नाफा नराखी किसानलाई बिक्री वितरण गर्दै आएको छ। पहाडी क्षेत्रमा उत्पादन हुने कोदो प्रबर्द्धन गरी सहकारीले गत वर्षदेखि नै बेच्दै आएको छ।

    विभिन्न कृषि मेला, प्रदर्शनी, दिवसलगायतका अवसरमा परम्परागत प्रजातिका अन्नका परिकार बनाई सहकारीले प्रदर्शन गर्ने कार्यसँगै सहभागीलाई स्वाद लिनका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गर्दै आएको छ।

    वडाध्यक्ष लालबहादुर ऐरले सहकारीले स्थानीय प्रजातिका धानलगायतका अन्न जोगाउने अभियानमा महत्त्पूर्ण भूमिका खेल्दै आएको बताए।

    परम्परागत प्रजातिका धानलगायतका अन्नबालीप्रति किसानलाई सचेत पार्ने कामसँगै सहकारीले जोगाउनमा योगदान दिँदै आएको उनले बताए।-रासस

  • कांग्रेसले गर्‍यो संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन

    कांग्रेसले गर्‍यो संसदीय छानबिन समिति बनाउन भएको सहमतिलाई अनुमोदन

    प्रमुख प्रतपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनसम्बन्धी संसदीय छानबिन समिति बनाउन भएको सहमितलाई अनुमोदन गरेको छ।

    मंगलवार संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले सहमतिलाई अनुमोदन गरेको हो।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठकमा नेपाली काँग्रेस लगायत संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरु सहकारीको रकम हिनामिना, अपचलन भएको सम्बन्धमा छानबिन गर्नका लागि संसदीय छानबिन समिति गठन गर्ने प्रक्रिया निस्कर्षउन्मुख रहेको र सोमवार भएको सहमतिलाई अनुमोदन गर्ने निर्णय गरेको बताए।

    उनले सोमवारको बैठकले कार्यादेश, सदस्यहरु सबै सहमति गरिसकेकाले आजको प्रतिनिधि सभाको बैठकमा कार्यदलले अन्तिम रुप दिएपछि संसदमा आएर समितिका रुपमा बन्ने बताए। उनले ४ बजेको प्रतिनिधि सभा बैठकमा कार्यादेश सहितको सहमति बैठकबाट पारित हुने गरेर प्रस्तुत हुने जानकारी दिए। काँग्रेसले समितिका लागि आफ्नो तर्फबाट ३ बजेसम्म नाम दिइसक्ने बताए।

  • संसदीय समितिको कार्यादेशलाई टुंगो लगाउन दलहरु अन्तिम कसरतमा

    संसदीय समितिको कार्यादेशलाई टुंगो लगाउन दलहरु अन्तिम कसरतमा

    सहकारी ठगी प्रकरणमा गठन हुने भनिएको संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदल अन्तिम कसरतमा जुटेको छ।

    सत्ता पक्ष र कांग्रेसबीच सोमबार साँझ भएको छलफलमा संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि मंगलबार ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ।

    कार्यादेशलाई शीर्ष नेतासमक्ष प्रस्तुत गर्ने र अपराह्नसम्ममा संसदबाट अनुमोदन गराउने तयारी दलहरुको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलबारै अपराह्न ३ बजे सार्वजनिक गर्ने तयारी गरेको छ। सो अगावै दलहरुले समितिको कार्यादेशलाई टुंगोमा पुर्याउने बताएका हुन्।

    संसदीय दलको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमाथि छानबिन गर्न आजै प्रतिनिधिसभा बैठकमा कार्यादेशसहित संसदीय समिति गठनको सहमति पारित हुने जानकारी दिए।

    दलहरुबीच कार्यादेशमा सहकारी सञ्चालकको नाम उल्लेख गर्नेगरी सहमति जुटेको छ। समितिमा रहने सदस्यहरुको नामसमेत टुंगो लगाउन दलहरु गृहकार्यमा छन्।

  • यार्सा टिप्न गएकी युवतीको मृत्यु

    यार्सा टिप्न गएकी युवतीको मृत्यु

    यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ।

    डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए।

    उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन्।

    ‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो’, वडाध्यक्ष विष्टले भने, ‘शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।’

    अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने बताए। -रासस

  • छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

    छ महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

    छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ।

    कार्यालयको ६१ औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ। जुन रकमको हिसाबले पाँच लाख १५ हजार मात्रै हो। प्रतिवेदनअनुसार उक्त आवमा आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो।

    प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार रहेको छ।

    यस्तै वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् चार करोड ५१ लाख बेरुजु छ।

    भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु गत वर्षहरुको तुलनामा अरु घटेको छ। आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो। आर्थिक वर्ष २०७७/०७८ मा पेश्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत थियो।

    असुुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ। महानगरपालिकाले वेरुजु नहुने गरी कार्यसम्पादनमा कडाई गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए।

    भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताइन्। उनले भनिन्,‘ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फछ्र्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो।’

    गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ। उनले थपिन, ‘हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौं।’भरतपुर महानगरपालिकाले बेरुजु फछ्र्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ। उनले भनिन्, ‘जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ।’

    उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए। उनले भने, ‘छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ।’ खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास,आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए।

    महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ। देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई बिशेष ध्यानमा राखेको जनाउँदै आएको छ।-रासस