Blog

  • जनकपुरलाई विवाह गन्तव्य बनाइने

    जनकपुरलाई विवाह गन्तव्य बनाइने

    धनुषाको जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने भएको छ।

    अर्थमन्त्री वर्षमान पुनद्वारा सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्लवार प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० मा उक्त व्यवस्था प्रस्ताव गरिएको छ।

    राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हरेक मार्ग शुक्लपक्ष पञ्चमी तिथिमा रामजानकी विवाहपञ्चमी मेला लाग्छ। आश्विन पूर्णिमाका दिन अयोध्याका नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्ल पञ्चमी तिथिमा श्री रामजानकीको शुभविवाह भएको प्रसङ्ग प्राचीन ग्रन्थहरुमा पाइन्छ।

  • नेपालमा महिला सहभागीता देखेर इजरायली टोली उत्साहित

    नेपालमा महिला सहभागीता देखेर इजरायली टोली उत्साहित

    इजरायलका महिला उद्यमीहरुले राज्यका हरेक क्षेत्रमा नेपाली महिलाहरुको सहभागीता उल्लेख्य रहेकोप्रति प्रशंसा गरेका छन् ।

    महिला उद्यमी महासंघको निमन्त्रणमा दुई दिने भ्रमणका लागि नेपाल आएको इजरायलको चेम्बर्स अफ कमर्शका प्रतिनिधिमण्डलले राजनीतिदेखि उद्योगलगायत क्षेत्रमा नेपाली महिलाहरुको सहभागीताको खुलेरै प्रशंसा गरेका हुन् । इजरायलका १८ महिला उद्यमी नेपाल आएका हुन् ।

    नेपाली महिला उद्यमीसँगको भेटमा इजरायली चेम्बर अफ कमर्शका अध्यक्ष एनट बर्नस्टिन रिचले नेपालको राजनीतिमा ३३ प्रतिशत महिला सहभागीता विश्वकै लागि उदाहरणीय रहेको बताइन् । महिला उद्यमी महासंघी अध्यक्ष शोभा ज्ञवालीका अनुसार, अध्यक्ष रिचले इजरायलमा शिक्षा, रोजगारी, व्यापार, उद्योग लगायतमा महिला सहभागीता उल्लेख्य रहेपनि राजनीतिमा १० प्रतिशतमात्रै उपस्थिति हुनु चिन्ताको विषय भएको बताएकी थिइन् । सहभागीता बढाउन प्रयासरत रहेको उनको भनाइ थियो ।

    इजरायली प्रतिनिधिमण्डलसँगको भेटमा नेपाली महिला उद्यमीहरुले प्राविधिक सहायता, प्रशिक्षण कार्यक्रम, लगानीका अवसर, विनिमय कार्यक्रमलगायतबारे जानकारी लिएको अध्यक्ष ज्ञवालीले जानकारी दिइन् । आपसी सहायता र पारस्परिक हितका लागि सहकार्य गर्न दुवै पक्ष सहमत भएको उल्लेख गर्दैै उनले इजरायलको अत्याधुनिक कृषि प्रणाली र पर्यटनको क्षेत्रमा नवीन रणनीति नेपालका लागि अनुकरणीय रहेको बताइन् ।

    नेपाली महिला उद्यमीलाई नवीनतम सीप र ज्ञानको साथ सशक्तिकरण गर्न कार्यशालाहरू र प्रशिक्षण सत्रहरू सञ्चालन आवश्यक रहेको इजरायली प्रतिनिधिमण्डलको भनाइ थियो ।

    भ्रमणका क्रममा उनीहरुले उन्नतर आधुनिक कृषि प्रणाली, कृषि र पर्यटनको क्षेत्रमा लगानी, आपसी सिकाइ र सांस्कृतिक आदानप्रदान आवश्यक रहेकामा जोड दिएका थिए ।

    जवाफमा नेपाली महिला उद्यमीले सम्भावित अवसरबारे इजरायलसँग छलफल गर्न तयार रहेको जानकारी गराएको अध्यक्ष ज्ञवालीले बताइन् ।

  • यस्ता छन् करका दरमा हेरफेर

    यस्ता छन् करका दरमा हेरफेर

    सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलवार अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरिएको छ।

    स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाइएको छ।’मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको छु। आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागेको मूल्य अभिवृद्धि कर खारेज गरेको छु, अर्थमन्त्री पुनले भने, ‘यसबाट स्वदेशी उत्पादन संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छु।’

    मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्कको दरमा वृद्धि गरिएको छ। त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी तीस लाख पुर्‍याइएको छ। पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको छ। स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तःशुल्कमा वृद्धि गर्ने नीति सरकारले लिएको छ। उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था मिलाउने बजेटमा उल्लेख छ।

    वैदेशिक पुँजी आकर्षित गर्न जनाउँदै सरकारले विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छ। ‘लगानी सम्भाव्य मुलुकबाट लगानी आप्रवाह वृद्धि गर्न दोहोरो करमुक्ति सम्झौताको मोडल विकास गरिनेछ। सो नमुनाका आधारमा सम्भाव्य मुलुकसँग सम्झौता गर्न वार्ता शुरू गरिनेछ’, बजेट वक्तव्यमा भनिएको छ।

    त्यस्तै, सूचना प्रविधि उद्योगले आफ्नो नाफा पुँजीकरण गरेमा लाग्ने लाभांश करमा छुट दिने व्यवस्था बजेटमा राखिएको छ। व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने व्यवस्था पनि सरकारले ल्याएको छ। यसबाट खासगरी स्टार्ट अप र भेन्चर क्यापिटल, प्राइभेट इक्विटि फन्ड लाभान्वित हुने विश्वास लिइएको छ। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा गरिएका प्रतिवद्धता तथा सम्झौताबमोजिम व्यापार सहजीकरण एवं लगानी प्रवर्द्धन गर्न नयाँ भन्सार ऐन तर्जुमा गरिने योजना सरकारले अघि सारेको छ।

    दैनिक एक हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाइ एक प्रतिशत मात्र कायम गरिएको छ।

    निकासी कर्ताले विदेशी मुद्रा प्राप्तीको कागजात तत्काल पेश गर्न नसक्ने अवस्था भएमा त्यस्तो कागजात पछि पेश गर्ने शर्तमा निकासी गर्न सकिने निकासी मूल्यको सीमा साविकको अमेरिकी डलर १० हजारबाट वृद्धि गरी अमेरिकी डलर २५ हजार पु¥याइएको छ । यसबाट खासगरी साना तथा मझौला निकासी कर्ता उद्योग लाभान्वित हुने ठानिएको छ। वनमारा, पात पतिङ्गरलगायत खेर जाने सामग्रीबाट बन्ने पिलेटको निकासीमा लाग्ने महशुल हटाइएको छ। अपाङ्गता भएका व्यक्तिले पैठारी गर्ने स्कुटरमा मूल्य अभिवृद्धि कर फिर्ता दिने व्यवस्थाको सट्टा भन्सार विन्दुमा नै छुट दिने व्यवस्था बजेटमा राखिएको छ।

    आन्तरिक राजस्व परिचालन रणनीति तर्जुमा गरी लागू गर्ने, छैठौं चरणको भन्सार सुधार तथा आधुनिकीकरण योजनाबमोजिम भन्सार प्रशासन सुधार गर्ने, राजस्व प्रशासनको विभागीय प्रमुखमा पदस्थापन गर्दा आवश्यक पर्ने निश्चित योग्यता एवं कार्यअनुभव सहितको मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्ने, कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै लगिने लगायतका व्यवस्था बजेटमा राखिएका छन्।

    त्यस्तै, कर छुट दिँदा सरकारले त्याग गरेको करको हिसाब सरकारको वित्तीय प्रतिवेदनमा प्रतिबिम्बित हुने गरी कर खर्च प्रणाली अबलम्बन गरिने, विकास सहायतासम्बन्धी नयाँ सम्झौता गर्दा आयोजनालाई कर छुट दिने व्यवस्था गर्नुको सट्टा कर फिर्ता वा निकासाको माध्यमबाट कर छुट प्रदान गर्ने व्यवस्था मिलाइनेलगायत विषय बजेटमा परेका छन्।

    मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट बिजक जारी गर्नुपर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ। वार्षिक रु २५ करोड भन्दा बढीको कारोवार गर्ने सबै करदाताको कारोवारलाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आवद्ध गर्नुपर्नेछ।

    उपभोक्तालाई बिलिङ प्रणालीमा आकर्षित गर्न डिजिटल माध्यमबाट भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम उपभोक्तालाई फिर्ता दिने व्यवस्थाको कार्यान्वयनमा देखिएका समस्या समाधान गरी आगामी साउनदेखि प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

    सबै सरकारी निकायले स्थायी लेखा नम्बर लिइ विद्युतीय माध्यमबाट अग्रिम कर कट्टीको विवरण दिनुपर्ने व्यवस्थालाई अनिवार्य गर्ने योजना अघि सारिएको छ। त्यस्तै, स्थानीय तहसँग समन्वय र सहकार्य गरी एकीकृत रूपमा करदाता दर्ता गर्ने र करका विवरण सङ्कलन गर्ने कार्यमा सहयोग आदान प्रदान गर्न सूचना प्रणालीको विकास गरिने जनाइएको छ। करदाताको सङ्ख्या र कारोवारको प्रकृतिअनुसार आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयको विस्तार एवं स्तरोन्नति गर्ने, भन्सार प्रशासनको संगठनात्मक सुधार गर्ने, भन्सार जाँचपास कार्यालयको पुनर्संरचना गरी जाँचपास पछिको परीक्षण कार्यलाई प्रभावकारी बनाइनेलगायत विषय बजेट वक्तव्यमा परेका छन्।

    त्यसैगरी, राजस्व प्रशासनमा कार्यसम्पादनमा आधारित व्यवस्थापन प्रणाली लागू गर्ने बजेट वक्तव्यमा उल्लेख छ । राजस्व प्रशासनमा कार्यरत कर्मचारीको व्यावसायिकता एवं मनोबल उच्च राख्न उपयुक्त उत्प्रेरणाको व्यवस्था गरिने, बैंक तथा वित्तीय संस्थामा पेश गरिएका वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणबीच आबद्धता कायम गर्ने स्वचालित प्रणाली विस्तार गरी लागू गरिनेलगायत व्यवस्था बजेटमा परेका छन्। त्यस्तै, करदाताले बुझाउनुपर्ने विवरण बुझाएको र कर बक्यौता नरहेको अवस्थामा करदाता स्वंयले क्यूआर कोड सहितको कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने प्रणालीको विकास गरिनेछ। व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यूआर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था ल्याइएको छ।

    करपरीक्षण तथा अनुसन्धानलाई स्वच्छ, पारदर्शी र आधुनिक बनाउन ई– एसिसमेन्ट तथा फेसलेस अडिट लागु गर्ने, राजस्व प्रशासनमा इन्टेलिजेन्स युनिट खडा गरी सूचनाको प्राप्ति, वर्गीकरण, एकीकरण र विश्लेषण गर्ने प्रणालीको विकास गरिने जनाइएको छ। आयकर प्रयोजनका लागि भौतिक उपस्थिति नभएको तर आर्थिक उपस्थितिलाई समेट्ने गरी बासिन्दाको परिभाषामा परिमार्जन गरिएको छ। यसबाट अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगबाट हुन सक्ने कराधारको क्षयीकरण रोक्ने आधार तयार गरिने ठानिएको छ। रासस

  • सुरु भयो संसद बैठक

    सुरु भयो संसद बैठक

    संसद बैठक सुरु भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाएको बैठक २ घन्टा ढिलोगरी सुरु भएको हो।

    आजको संसद बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ।

  • गणतन्त्र दिवसको अवसरमा रक्तदान

    गणतन्त्र दिवसको अवसरमा रक्तदान

    गणतन्त्र दिवस २०८१ को अवसरमा तौलिहवा स्थित कपिलवस्तु अस्पतालमा रक्तदान र बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

    नेपाल रेडक्रस सोसाईटी कपिलवस्तु शाखाको सहकार्य र कपिलवस्तु अस्पतालको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो। सो अवसरमा १६ जनाले रक्तदान गरेको अस्पतालका मेसु डाक्टर बिपिन जैसवलाले बताए।

    प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले ‘रक्तदान जीवन दान’ भन्ने नारालाई आत्मसात गरी रक्तदानका लागि चाहिने सामग्री हस्तान्तरण गरी कार्यक्रको शुभारम्भ गरेका थिए।

    कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, प्रहरी उपरिक्षक नवरत्न पौडेल ,पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य नेपाल रेडक्रस सोसाईटीका महामन्त्री सन्तोष श्रीवास्तव, स्वास्थ्य कार्यालयका प्रमुख नारायाण चौधरी लगायतको सहभागीता थियो।

    दिवस कै अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई कर्मचारी मिलन केन्द्रको अगुवाईमा फलफुल समेत बिररण गरिएको थियो।

    यस्तै दिवसकै अवसरमा बालगृहमा रहेको ३१ जना बेसाहरा बालकहरुलाई समेत फुलफुल वितरण गरिएको थियो।

    यस्तै दिवस कै अवसरमा जिल्ला प्रहरी कार्यालयमा वृक्षरोपण पनि गरिएको छ। प्रजिअ अर्याल, प्रहरी उपरिक्ष पौडेलले विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

  • बजेटको तयारी पूरा

    आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको छ। अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको हो।

    हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गरेका छन्। अहिले ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम रहेको छ।

    प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सिंहदरबारमा आयोगको पूर्ण बैठकले मध्यमकालीन संरचना र वार्षिक विकास कार्यक्रम पारित गरिसकेको छ।

  • टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

    टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको हो।

    मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

    उनले भने, ‘डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज ठक्कर दिँदा निज नेपाली घाइते भएका थिए, उनलाई उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।’

    ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए।-रासस

  • भारतीय क्रिकेट टिमको हेड कोचका लागि नरेन्द्र मोदीदेखि शाहरुख खानसम्मको आवेदन !

    भारतीय क्रिकेट टिमको हेड कोचका लागि नरेन्द्र मोदीदेखि शाहरुख खानसम्मको आवेदन !

    भारतीय क्रिकेट टिमको हेड कोचका लागि झन्डै ३ हजारभन्दा बढी आवेदन परेको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अनुसार हालसम्म टिम इन्डियाको हेड कोचका लागि ३ हजार ४ सय आवेदन परेका छन्। जसमा देशका प्रमुख हस्तीहरूको पनि नाम समावेश छन्।

    सोमवार कोचका लागि आवेदन दिने अन्तिम समय थियो। बोर्डले आवेदन दिनेमा नरेन्द्र मोदी, अमित शाह, विरेन्द्र सहवाग, शाहरुख खान, सचिन तेन्दुल्कर, एमएस धोनीसहित विभिन्न चर्चित नामबाट आवेदन परेको बताएको छ। तर, बोर्डले ती आवेदन नक्कली भएको पनि बताएको छ।

    बीसीसीआईले भारतीय पुरुष क्रिकेट टिमको मुख्य कोचका लागि आवेदन माग गरेको थियो। र, अब छनौट प्रक्रिया पनि अघि बढाइसकेको छ। बोर्डले कोचका लागि परेको नक्कली आवेदन नयाँ विषय नभएको भन्दै यसअघि पनि यस्ता नक्कली आवेदन पर्ने गरेको बताएको हो।

    बोर्डले नियुक्त गर्ने नयाँ कोचले सन् २०२४ को जुलाई १ बाट २०२७ को डिसेम्बरसम्म कार्यभार सम्हाल्ने छन्।

    बोर्डका अनुसार प्रमुख कोच हुनका लागि कन्तिमा ३० टेस्ट म्याच वा ५० वन डे म्याच खेलेको हुनुपर्ने छ।

    हाल भारतीय पुरुष क्रिकेट टीमका प्रमुख कोच राहुल द्रविड रहेका छन्।

  • गाउँमा पहिरो खसेपछि बस्ती तितर बितर

    केही वर्षअघि जैमिनी नगरपालिकाको वडार गाउँ भरिभराउ थियो। कृषि कर्मबाट गुजारा चलाउनेहरू खुशी देखिन्थे। वडा र गाउँ २०७० को दशकमा सडक सञ्जालसँग जोडियो। गाउँलाई फेरो हालेर जैमिनी–१ कुश्मिशेरा र बागलुङ नगरपालिका–११ रायडाँडा जोड्ने सडकले गाउँ नै पहिरोको जोखिममा पार्‍यो।

    सुविधाका लागि बनाइएको सडकले वडार वासीको उठिबास लगायो। तीस परिवार रहेको गाउँ अहिले पाँच परिवारमा खुम्चिएको छ। पहिले पहिरो आउलाकी भनेर गाउँले बसाइँ सरे र अहिले घरछेउमै पहिरो खसेपछि गाउँलाई तितर बितर बनाएको छ।

    दुई वर्षअघि भदौ २१ गते बागलुङ–११ को तल्लो रामतोलामा ठूलो पहिरो खस्यो। पहिरोले वडार र रामतोलाका दर्जनौँ घरपरिवार विस्थापित भए। जमिन बग्दा सडक, जङ्गल र पीपलका रूख बगेसँगै पहिरो भने रोकिएको छैन। ‘हिउँदमा ढुक्कले घरमै बसियो, बर्खा लागेसँगै पहिरोले सताउँछ, पहिरो छेवैमा घर भएका वडारका खेम पौडेलले भने, ‘भीमकाय पहिरोले बेचैन बनाएको छ।’

    पहिरोले रामतोलाका सात र वडारका १५ परिवार विस्थापित भएका छन्। बागलुङ र जैमिनी नगरपालिकाका दुवै गाउँमा बाँकी रहेका घरपरिवारमा समेत बर्खा लागेसँगै पहिरोको चिन्ता छ। जमिन चिरा परेको स्थान हेर्दा सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको पौडेलले बताए।

    पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले अध्ययन गरेको थियो। पहिराको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार काम भए पनि स्रोत अभावमा वर्षौं लाग्ने रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए। तीन तहका सरकार मिलेर पहिरो नियन्त्रणको प्रयास भइरहेको गौतम बताउँछन्।

    ‘घरवासविहीनलाई तत्काल राहत उपलब्ध गराइयो, बस्ने बन्दोबस्ती मिलाइयो, बाँकी नियन्त्रणको काम चलिरहेको छ’, गौतमले भने,‘पहिरो सानोतिनो बजेट र कामले रोकिने अवस्थामा छैन्।’ उनका अनुसार पहिरोले बगेका सडक पुनर्निर्माण गर्ने, भलबाढी तर्काउने र पहिरो थप गहिरो हुन नदिन तारजाली लगाउने काम चलिरहेको छ।

    पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले जलाधार संरक्षण कार्यक्रमबाट २५ लाख र गण्डकी प्रदेश सरकारले विपत् व्यवस्थापनबाट ३० लाख बजेट विनियोजन गरेको छ।

    उक्त बजेट चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेकाले थप क्षति हुनबाट बचाउन सहयोग पुग्ने जैमिनी–१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए।

    पहिरोको त्रासले गाउँ छाडेकाहरू चितवन, नवलपरासी र देशका ठूला सहरमा बसाइँ सरेका छन्। गाउँमा बाँकी रहेका पनि हिउँदे वर्षामा समेत सुरक्षित घर खोजेर बास बस्ने अवस्था रहेको आचार्य सुनाउँछन्।-रासस

  • तीनजना प्रहरी अधिकृतहरु सम्मानित

    उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै गण्डकी प्रदेशका विभिन्न ठाउँमा कार्यरत तीनजना प्रहरी अधिकृतहरु पुरस्कृत भएका छन।

    पुरस्कृत हुनेमा पोखरास्थित तालिम केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापा तथा मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेय रहेका छन।

    गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृतलाई पुरस्कृत गर्ने क्रममा ती प्रहरी अधिकृतहरुलाई गणतन्त्र दिवसको अवसरमा आयोजित समारोहमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार सम्मान गरेका हुन।

    बिपद् ब्यबस्थापन र शान्ती सुरक्षा कायम गरेको भन्दै सुरक्षा निकाय अन्र्तगत गण्डकी प्रदेश सरकारको सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा प्रहरी अधिकृतहरुलाई सम्मान गर्ने घोषणा गरेको थियो।