Blog

  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा छुट

    ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहकलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ।

    योजनाअन्तर्गत ग्राहकले बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन्।

    योजना जेठ १३ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने बैंकले जनाएको छ। यसैक्रममा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशतसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशतसम्म छुट पाउनेछन्। यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने कम्पनीले जनाएको छ।

    ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्नो डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष योजना सार्वजनिक गर्दै आएको छ।

    यसअघि पनि तीन महिना सञ्चालन गरेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः सञ्चालन गरिएको हो।

  • इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

    इलन मस्कको एक्स-एआई अन्य एआई कम्पनीभन्दा धेरै पछाडि

    कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) प्रति लगानीकर्तामा यति बढी आशा बढिरहेको छ कि नयाँ नयाँ कम्पनीमा ठूलो लगानी गर्नेहरू बढिरहेका छन्। पछिल्लो पंक्तिमा आकर्षणको केन्द्र इलन मस्कको एआई कम्पनी एक्स-एआई परेको छ।

    यसले अमेरिकाको सिलिकन भ्यालीका ठूला भेन्चर क्यापिटल कम्पनीले लगानी गर्ने भएका छन्। तिनमा लाइटस्पिड भेन्चर पार्टनर्स, एन्ड्रिसेन होरोवित्ज, सिकोइया क्यापिटल र ट्राइब क्यापिटलजस्ता कम्पनीले लगानी गर्ने भएका छन्। यी सबै कम्पनीले मस्कको कम्पनी एक्स एआई जस्तो नयाँ स्टार्टअपलाई १८ अर्ब डलर बराबरको मूल्यांकन गरेका छन्। यसअघि मस्कले आफ्नो नयाँ कम्पनी एक्स एआईका लागि ६ अर्ब डलर उठाउने घोषणा गरेका थिए।

    यो मूल्यांकनपछि उठाइएको रकममा उनको लक्ष्यभन्दा केही लाख डलरभन्दा कम लगानी कबुलिएको एक लगानीकर्ताले बताएका छन्।

    अहिलेको एआई बजारमा ओपन एआई सबैभन्दा अगाडि छ। माइक्रोसफ्टको बिङ र को-पाइलट, एन्थ्रोपिक र गुगल पनि दौडमा छन्। यता एक्स एआई भने ती सबैभन्दा कमजोर स्टार्टअप देखिएको छ।

    मस्कले अन्य कम्पनी गज्जबकै बनाएको हुनाले त्यसैका आधारमा यो लगानी जुटेको हो। मस्कले यसको ग्रोक च्याटबट बजारमा ल्याउने तयारी गरेका छन्।

    सन् २०१८ सम्म मस्क ओपन एआईको सहसंस्थापक थिए। हालका प्रमुख कार्यकारी साम अल्टम्यानसँगको विवादपछि उनले यो कम्पनीसँगको सम्बन्ध तोडेका थिए। त्यसपछि मस्कले ओपन एआई र अल्टम्यानलाई विभिन्न कारण देखाएर मुद्दा हालेका थिए।

    एआई प्रणाली बनाइँदा ‘सर्वजन हिताय, सर्वजन सुखाय’को सिद्धान्त अपनाइएको भए पनि पछि नाफाखोर बाटो रोजेको भन्दै मस्कले आलोचना गरेका थिए। मस्कको सो मुद्दा र उनको भनाइलाई पछि ओपन एआईले गलत रहेको र स्वयं मस्क नाफाको बाटो खोजेर ओपन एआईमा गाँसिएको प्रमाण पेश गरेको थियो। सोही आधारमा उक्त मुद्दा यत्तिकै सेलाएको थियो।

    त्यसयता मस्कले आफ्नो नयाँ कम्पनीले आर्टिफिसियल जेनरल इन्टेलिजेन्सको पारदर्शितालाई जोड दिने बताएका छन्। उनको कम्पनीले मानिसभन्दा उच्च संज्ञानात्मक क्षमता प्रदर्शन गर्ने र त्यसले सिधासिधा ओपन एआईलाई टक्कर दिने बताएका छन्।

    उनले आफ्नो कम्पनी उच्च गुणस्तरको सत्यमा आधारित आर्टिफिसियल इन्टेलिजेन्स हुनेमा प्रतिबद्ध भएको बताएका छन्। पछिल्ला एआईहरू ‘पोलिटिकल्ली करेक्ट’ भएकाले आफूले त्यस्ता कुरालाई सच्याएर एक्स एआई तयार पार्ने बताएका छन्।

    त्यसो त मस्कले आफ्नो नयाँ कम्पनीबारे जे भने पनि एक्स एआई अन्य कम्पनीको तुलनामा निकै कमजोर र धेरै पछाडि परिसकेको केही विश्लेषकको धारणा छ। तिनलाई पछ्याउन र सँगसँगै अघि बढ्न मस्कले आधारभूत चिप्सहरूमा अर्बौं डलर लगानी गर्नुपर्ने देखिन्छ। त्यसका लागि हाल उठेको रकम निकै न्यून हुने केहीको धारणा छ।

    -विभिन्न एजेन्सीको सहयोगमा

  • ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

    ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

    कपिलवस्तुको यशोधरा गाउँपालिका ६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एक जना विद्युत कर्मचारीको मृत्यु भएको छ। सोमबार साढे ८ बजेतिर उनकाे मृत्यु भएको हाे।

    नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत ज्यालादारी कर्मचारी यशोधरा २ गणेशपुरका ३२ वर्षीय हरिस चन्द्र मिश्राको मृत्यु भएको हो।

    प्रहरी अनुसार सोमबार हावाहुरी सङै आएको पानीले गर्दा रङ्पुरमा रहेको ट्रान्सफर्मर बिग्रिँदा बिद्युत अवरुद्ध बनेको थियो। त्यही ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो।

    मृतकको शवलाई पोस्टमार्टम लागि कपिलवस्तु ल्याइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीलेले जनाएको छ।

  • काठमाडौंं उपत्यकामै छैन गुणस्तरीय बिजुली

    काठमाडौंं उपत्यकामै छैन गुणस्तरीय बिजुली

    काठमाडौं उपत्यकामा पछिल्लो साता विद्युत् सेवा अवरुद्ध हुने क्रम बढ्दै गएको छ। अधिकांश विद्युत् लाइन ‘ओभरहेड’ प्रणालीबाट ग्राहकसम्म वितरण गर्ने गरिएको छ। जसका कारण ठूलो वर्षा र हावाहुरी आउनासाथ विद्युत् सेवा अवरुद्ध हुने गरेको हो।

    त्यस्तै उच्च भोल्टेजका कारण विद्युत्को पोलमा आगलागी भई विद्युत् अनियमित हुने गरेको छ। वर्षौं पुराना पोल र तार फेर्नतर्फ नेपाल विद्युत् प्राधिकरणको ध्यान पुग्न नसक्दा आम ग्राहकले बर्सेनि उही समस्या भोग्नुपरेको हो।

    अझ बर्खायाम सुरु भएपछि त काठमाडौं उपत्यकाको बिजुली ‘ट्रिपिङ’ हुने क्रम बढ्ने गरेको छ। पछिल्ला केही दिनलाई मात्र हेर्ने हो भने पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा हप्तैपिच्छे विद्युत् सेवा अवरुद्ध हुने गरेको छ। सरकारले २०७३ को लक्ष्मीपूजाका दिन काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त घोषणा गरे पनि उपत्यकाबासीले हालसम्म गुणस्तरीय बिजुली पाउन सकेका छैनन्।

    पछिल्लो पटक भने प्राधिकरणले सूचना जारी गरेरै बिजुली काटिरहेको छ। अहिले काठमाडौं उपत्यकाभर प्राधिकरणले तार भूमिगत गर्ने कार्य गरिरहेको छ। तार भूमिगत गर्ने बहानामा प्राधिकरणले उपत्यकाका विभिन्न ठाउँहरूमा विद्युत् लाइन काट्न थालेको हो।

    जेठ सुरु भएसँगै प्राधिकरणले काठमाडौंको नयाँबजार फिडरअन्तर्गत खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध गरेको थियो। गत जेठ ५ गते क्षेत्रपाटी फिडरअन्तर्गत टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी धोविचौर, ठहिटी, पकनाजोल चोक, ज्याठा र कान्तिपथ, खुसिबु, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो।

    त्यस्तै, जेठ ६ गते भीमसेन स्थान फिडरअन्तर्गत वडा नं १२ वडा कार्यालय, ह्युमत, जैसीदेवल चिकँमुगल, भीमसेनस्थान, काष्ठमाण्डप, जेठ ८ गते भीमसेनस्थान, त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु, पचलीभैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर, विश्वनिकेतन स्कुल, वडा नं १२ वडा कार्यालय लगायतका क्षेत्रमा प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेको थियो।

    त्यस्तै प्राधिकरणले जेठ १३ गते आइतबारदेखि पुनः एक हप्ता काठमाडौं उपत्यकाभर विद्युत् आपूर्ति बन्द गर्ने तालिका सार्वजनिक गरेको छ। आइतबार साँखु फिडर अन्तर्गत साँखु बजारमा र चौमती फिडरअन्तर्गत छाउनीस्थित आर्मी अस्पताल क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको प्राधिकरणले सोमबार केएमसी र पुरानो एयरपोर्ट फिडरअन्तर्गत सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्रमा बिजुली अवरुद्ध गरेको थियो।

    आगामी १६ गते कालीमाटी फिडरअन्तर्गत सोल्टी मोडदेखि कलंकी क्षेत्र, १७ गते रोपवे फिडर अन्तर्गत मैत्रोनगर र टेङ्लाफाँट क्षेत्र र १८ गते मूलपानी फिडरअन्तर्गत पर्ने फिकल चोकदेखि बाबा चोकसम्म बिजुली आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

    ती क्षेत्रमा पनि भूमिगत तार व्यवस्थापन कार्यका निम्ति विद्युत् सेवा बन्द गरिएको प्राधिकरणको दाबी छ। तार भूमिगत गर्ने प्रयोजनका लागि मात्र होइन, यसअघि पनि प्राधिकरणले बिना जानकारी लाइन काट्ने गरेको छ।

    पछिल्लो पटक विद्युत् सेवामा ट्रिपिङ समस्याले हैरानी खेप्नुपरेको घट्टेकुलोकी गीता आचार्यले बताइन्। ‘पानी पर्‍यो र हावाहुरी चल्यो भने बिजुली गएर हैरान हुन्छ,’ उनले भनिन्, ‘कहिले सडक खनेर होस् वा पोलमा टाँगिएका तार जलेर बारम्बार बत्ती गइरहेको हुन्छ।’

    प्राधिकरणले भने गुणस्तरीय बिजुली आपूर्ति वितरण गरिरहेको दाबी गरे पनि ग्राहकले भने भरपर्दो बिजुली उपभोग गर्न पाएका छैनन्। भरपर्दो र गुणस्तरीय विद्युत् वितरण गर्न ओभरहेडको सिस्टमलाई ‘अन्डरग्राउन्ड केवलिङ’ गरिएको र विभिन्न प्रसारण तथा वितरण प्रणालीमा व्यापक सुधार गर्दै लगिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए।

    यसअघि प्राधिकरणले ग्राहकलाई एलपिजी ग्यासको सट्टा निर्धक्क भएर इलेक्ट्रिक चुलोको प्रयोग गर्न आग्रह गरेको थियो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयम्ले विद्युत् खपतका लागि विद्युतीय चुलो बाँड्ने अभियान चलाएका थिए।

    अहिले पनि उपत्यकाका अधिकांश ग्राहकको भान्साबाट एलपिजी ग्यास विस्थापित हुन सकेको छैन। कारण, विद्युत् सेवाप्रति आम ग्राहकको भरोसा र विश्वास नहुनु नै हो।

    त्यति मात्रै होइन, मुलुकको ठूलो प्रशासनिक क्षेत्र सिंहदरबारभित्रै ग्यास सिलिन्डर हट्न सकेको छैन । गत आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डरलाई विद्युतीय चुलोले विस्थापन गर्ने घोषणा गरेको थियो। हालसम्म पनि सिंहदरबाभित्रका अधिकांश क्यान्टिनमा ग्यास सिलिन्डर नै प्रयोग भइरहेको छ।

    विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गरिरहेका उपभोक्ता पनि गुणस्तरीय विद्युत् आपूर्ति हुन नसकेकाले हैरानी बेहोर्न बाध्य छन्। कहिले विद्युत् लोड उच्च हुने, कहिले भोल्टेज कम हुँदा उपभोक्ताले विद्युतीय चुलो प्रयोग गर्न नपाएको गुनासो गर्दै आएका छन्।

    भोल्टेज कम भएका कारण माइक्रो ओभन चलाउन नपाएको गुनासो पनि ग्राहकले गरिरहेका छन्। ‘पुराना र जीर्ण बिजुलीका पोल र गुणस्तरीय प्रशारण लाइनका कारण पनि आम उपभोक्ताले धेरै ठाउँमा जोखिम बेहोरिरहेको पुष्टि पछिल्लो समय अनेक स्थानमा भइरहेको विद्युतीय दुर्घटनाले गर्दछ’, उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।

    स्मार्ट पोलको प्रयोग र गुणस्तरीय बिजुली प्रदान गर्न नियमनकारी निकायको ध्यान नगएको उनको भनाइ छ। हामी कहाँ अहिलेसम्म स्मार्ट पोलको अवधारणा भित्रिएको देखिँदैन।

    वितरण लाइन व्यवस्थित नहुँदा विद्युत् चुहावट भइरहेको छ। यसतर्फ विद्युत् प्राधिकरण, दूरसञ्चारलगायतका नियमनकारी निकायको ध्यान पुग्न नसक्दा नेपाली उपभोक्ताले आफूले मूल्य तिरेअनुसारको विद्युत् सेवा पाउन सकेका छैनन्। विद्युत् सेवा अबरुद्ध भएका बेलाको सहुलियत र छुट पनि प्राधिकरणले नदिएको उनको भनाइ छ।

  • ‘पिस कोर कार्यक्रम कम लागतमा उच्च लाभ दिने लगानी’

    ‘पिस कोर कार्यक्रम कम लागतमा उच्च लाभ दिने लगानी’

    पिस कोर उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर गत साता नेपाल भ्रमणमा थिए। आफ्नो पाँच दिने बसाइमा ह्वाइटले सरकार र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गरेर पिस कोर कार्यक्रमलाई लगातार सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै यसको विस्तार योजनाबारे पनि छलफल गरेका थिए। यसक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिकाका सम्पादक कोषराज कोइरालाले ह्वाइटसँग गरेको वार्तालाप:

    तपाईंको नेपाल भ्रमणको उद्देश्यबारे बताइदिनुहुन्छ कि?

    सबैभन्दा पहिले म यहाँ आउन पाउँदा अत्यन्तै खुसी छु। भ्रमणका पाँच दिन अत्यन्त फलदायी रहे। नेपाल सुन्दर छ। यो मेरो पहिलो नेपाल भ्रमण हो।

    मैले भेटेका अधिकांश मानिस र भ्रमणका क्रममा भएका अन्य क्रियाकलाप एवम् अन्तक्रियाका आधारमा मैले नेपाली संस्कृति धेरै हिसाबले फरक, गहिरो र सर्वव्यापी पाएँ। यो मेरा लागि साच्चिकै सानदार अनुभव बनेको छ। म संयुक्त राज्य अमेरिका फर्केपछि सबैलाई नेपाल कति सुन्दर छ भनेर भन्न र मेरो नेपाल भ्रमणको अनुभव सुनाउन व्यग्र छु। मैले उनीहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्नेछु।

    तपाईंलाई थाहै होला, राष्ट्रपति बाइडेनले जुन २०२३ मा मलाई पिस कोरको उपनिर्देशकका रूपमा मनोनित गरेका हुन्। त्यही वर्ष डिसेम्बरमा संयुक्त राज्य अमेरिकाको सिनेटले मेरो नियुक्ति अनुमोदन गरेको हो। त्यसपछि पिस कोर निर्देशक क्यारोल स्पानसँग शपथ ग्रहण लिएर यही वर्ष जनवरीदेखि मैले यो पदभार ग्रहण गर्दै आएको हुँ। यो सस्थासँग मेरो करिब चार महिनाको मात्र आबद्धता भए पनि यस अवधिमा नेपालसहित विश्वका अन्य देशमा रहेका पिस कोर समुदायको सहयोगले म आह्लादित भएको छु। मैले पिस कोरमा काम गरेर फर्किएका स्वयंसेवकहरूसँग पनि बसेर कुराकानी गरेको छु। यो पृष्ठभूमिमा आज तपाईंसँग बसेर हाम्रा कामबारे अलिकति कुरा गर्न पाउनु मेरा लागि साँच्चिकै महत्त्वपूर्ण क्षण हो।

    अमेरिका र नेपाल सरकारबीच द्विपक्षीय सम्बन्धको ७७ वर्ष लामो इतिहास छ। यो अवधिको ठुलो हिस्सा पिस कोरले नेपाली जनता र नेपाल सरकारसँग बलियो साझेदारी स्थापना गरेको छ। पिस कोर नेपाली भूमिमा विगत ६२ वर्षदेखि कार्यरत छ।

    म मुख्यतया तीन कारणले यहाँ आएको हुँ। पहिलो कारण, हाम्रा स्वयंसेवकहरूसँग भेट्न र आफ्नो परियोजना क्षेत्रका स्थानीय परिवारसँग बसेर हरेक दिन उनीहरूले गरिरहेका उत्कृष्ट र परिवर्तनकारी कामसँग साक्षात्कार हुनु हो। कार्यक्रम सञ्चालनको मेरुदण्डका रूपमा रहेका नेपालमा कार्यरत हाम्रा स्थानीय कर्मचारीहरूलाई भेट्नु भ्रमणको दोस्रो उद्देश्य हो। उनीहरू नेपाली नागरिक हुन् र उनीहरूले हरेक दिन हामीलाई साथ दिँदै आएका छन्।

    पिस कोर स्वयंसेवक र यी नेपाली कर्मचारी नेपाली जनताको हितमा काम गर्न जुटेका छन्। तेस्रो, नेपालमा भइरहेका कार्यसँग सम्बद्ध सरकारी प्रतिनिधिसँग भेट्नु हो। उनीहरू हाम्रा लागि ठुला साझेदार र अग्रदूत हुन्।

    यसैगरी, भ्रमणका अवसरमा ढिँडोदेखि ममजस्ता नेपालका उत्कृष्ट खाना खाने अवसर मैले पाएँ। फापरको ढिँडोले नेपालको कृषिको महत्त्वलाई झल्काउँछ। भूगोल र उचाइका आधारमा हुने यो अन्नबालीको आफ्नै महत्त्व छ। यस्तो स्वादिलो खाना बनाउन सक्ने विशिष्ट कलाको पनि आफ्नै महत्त्व छ।

    नेपाल र अमेरिकाले हालै आफ्नो कूटनीतिक सम्बन्धको ७५ औँ वार्षिकोत्सव मनाएका छन्। पिस कोरको नयाँ कार्यक्रमले नेपालसँग अमेरिकाको लामो समयदेखिको साझेदारीलाई कसरी सुदृढ पार्छ?

    केही दिनअघि मात्र नेपाल आइपुगेका १० जना पिस कोर रेस्पोन्स स्वयंसेवकलाई शपथ दिलाउने अवसर मैले पाएँ। मेरा लागि यो एक महत्त्वपूर्ण अनुभव थियो।

    नेपाल अमेरिका सम्बन्धलाई अगाडि बढाउन यो महत्त्वपूर्ण कदम हो। यसले हाम्रो साझेदारीलाई अर्को स्तरमा लैजानेछ। सन् १९६२ देखि दुई वर्षे स्वयंसेवा दिँदै आएका स्वयंसेवकभन्दा नयाँ कार्यक्रमअन्तर्गतका पिस कोर रेस्पोन्स स्वयंसेवकहरू अलि फरक खाले स्वयंसेवक हुन्। त्यसो त, सुरुदेखि हालसम्म नेपालमा कुल चार हजार पिस कोर स्वयंसेवकले सेवा गरेका छन्।

    नयाँ स्वयंसेवकहरू अधिकांश क्याम्पसको पढाइ सकेर कैयन् वर्ष बिताएका र अलि पाको उमेरका छन्। काम सुरु गर्नुअघि उनीहरूले नेपालमा तीन महिना लामो पूर्वसेवा तालिम लिनुपर्छ। त्यसपछि मात्र उनीहरूले २४ महिना समुदायमा सेवा गर्छन्। त्यहीं भाषा सिक्छन् र आतिथ्य परिवारहरूसँग बस्छन्। त्यसपछि उनीहरूले नेपालका विकास परियोजना सफल पार्न सघाउ पुर्‍याउँछन्।

    यी पिस कोर स्वयंसेवकहरूले यसअघिको महान् परम्परा र विरासतलाई कायम राख्नेछन् तर उमेरका हिसाबले उनीहरू अलि पाको उमेरका छन्। पछिल्लो पटक आएका १० पिस कोर स्वयंसेवकको औसत उमेर ५० वर्ष छ।

    सबैभन्दा जेठाका तीन नातिनातिना छन्। धेरैसँग उच्चतम शैक्षिक उपाधि छ र उनीहरू आफ्नो क्षेत्रका विशेषज्ञ पनि हुन्। उनीहरूले आफ्नो उन्नत अनुभव र विशेषज्ञतालाई नेपालमा प्रयोग गर्नेछन्। यो समूहका स्वयंसेवक फरक फरक क्षेत्रमा काम गरिरहेका छन्।

    स्थानीय वैज्ञानिकसँग मिलेर कृषि क्षेत्रका अनुसन्धान र कृषि अनुसन्धानमा रसायन विज्ञानको प्रयोग उनीहरूले काम गर्ने एक क्षेत्र हो भने पर्यटनको विकास र पर्यटक वृद्धि अर्काे क्षेत्र। यसैगरी उनीहरूले सूचना र सञ्चार प्रविधिको क्षेत्रमा काम गर्नेछन्। यो कार्यक्रमअन्तर्गत शिक्षक र विद्यार्थी दुवैको हितका लागि कक्षाकोठालाई डिजिटल बनाउन सहयोग गरिनेछ।

    महत्त्वपूर्ण पक्ष के हो भने यी परियोजनाले नेपाल सरकारका चाहना र आवश्यकतालाई सम्बोधन गर्नेछन्। म नेपाल आउनुअघि अमेरिकाका लागि राजदूत श्रीधर खत्रीसँग दूतावासमा वार्तालाप गरेँ र मैले उहाँलाई सोधेँ, ‘हामी तपाईंलाई पर्यटन र कृषिक्षेत्रमा केकस्तो सहयोग गर्न सक्छौं ? यी आयोजनाले नेपाली जनताको आकांक्षाको प्रतिनिधित्व गर्छन्।’

    नेपालमा रहँदा स्थानीय जनतासँग पनि कुराकानी गर्नुभयो। छलफलमा उनीहरूका वास्तविक आवश्यकताहरू के थिए?

    सबैभन्दा पहिले म भन्न चाहन्छु, नेपाली जनता अन्वेषक र उत्थानशील छन्। गहिरो र ऐतिहासिक सांस्कृतिक विरासत बोकेका नेपाली जनताको भविष्य उत्कृष्ट छ। काठमाडौं मात्रै नभई पोखरा र पर्वतका सर्वसाधारणसँग पनि भेट्ने अवसर पाएँ। मैले त्यहाँ आमासमूहसँग भेट गरें र उनीहरूका आवश्यकताहरू र हामीले उनीहरूलाई कसरी सहयोग गर्न सक्छौं भन्ने बारेमा केही कुरा गर्‍यौं।

    त्यस क्रममा उनीहरूले दुई फरक परियोजनाबारे चासो राखेका थिए। एउटा च्याउसँग सम्बन्धित थियो। उनीहरूले ओइस्टर च्याउ खेतीबारे धेरै चासो राखेका थिए। यो खेतीमा हामी अझ बढी सहयोगी कसरी हुन सक्छौं र सही तरिकाले यो खेती गर्न एकअर्कालाई कस्तो खाले सहयोग गर्न सकिन्छ भन्नेमा हाम्रो छलफल भएको थियो।

    उक्त ठाउँमा मोये नाम गरेका एक पिस कोर स्वयंसेवकले उक्त आमासमूहलाई च्याउखेतीमा गरिरहेको सहयोगबारे जानकारी लिने मौका समेत मिल्यो।

    मैले आमासमूहका एक जनालाई सोधेँ, ‘अब तपाईं आफैंले यो गर्न सक्नुहुन्छ?’ उनले गजबको जवाफ दिइन्, ‘हो, मलाई थाहा भयो अब यो कसरी गर्ने भनेर।’ ज्ञानको साझेदारी गर्ने यो ठुलो अवसर हो। यसले सदाका लागि सबैलाई सहयोग पुग्छ।

    दोस्रो परियोजना माहुरीपालनसँग सम्बद्ध थियो। स्थानीय स्तरमा माहुरीको घार हेर्ने मौका मलाई मिल्यो। हाम्रा तीन स्वयंसेवक तीनवटा विभिन्न समुदायसँग मिलेर माहुरीपालनका उत्कृष्ट अभ्यासहरू र सिकेका पाठहरू साझेदारी गरिरहेका छन्। सो जिल्लाका १०० भन्दा बढी माहुरीका घारमा यो सिकाइले काम गरिरहेको छ। साझा विकास प्राथमिकतामा पिस कोर स्वयंसेवकले कसरी सहयोग गर्न सक्छन् भन्ने कुरा नेपाली जनताबाट प्रत्यक्ष सुन्न पाउँदा अत्यन्त खुसी लाग्यो।

    नेपालमा सरकारी अधिकारीहरूसँगको भेटमा के कुराकानी भयो?

    पिस कोरले नेपाल सरकारसँग साझेदारी गरेकामा उहाँहरूले खुसी व्यक्त गर्नुभयो। पिस कोर ६२ वर्षदेखि नेपालमा क्रियाशील छ। प्रत्येक मन्त्रालयका बैठकमा मैले सम्बद्ध मन्त्रीबाट पिस कोरसँगको उहाँहरूको व्यक्तिगत अनुभवबारे सुनें।

    कतिपयसँग पिस कोर स्वयंसेवकका लागि आफूहरूले आतिथ्य दिएको अनुभव थियो भने कतिपयलाई पिस कोर स्वयंसेवकले केही कुरा सिकाएका थिए। आफूले भेटेको पहिलो विदेशी नागरिक पिस कोर स्वयंसेवक रहेको अन्यको अनुभव थियो।

    मलाई लाग्छ, आफ्नो सरकारले पिस कोर स्वयंसेवकको सेवाका लागि अमेरिकी सरकारसँग हातेमालो गरेकामा नेपाली जनता खुसी छन्। विकासका साझा प्राथमिकताका क्षेत्रमा यसप्रकारको सहकार्य निरन्तर जारी रहनुपर्छ भन्नेमा सबै एकमत रहेको मैले पाएको छु।

    नयाँ पिस कोर रेस्पोन्स स्वयंसेवक कार्यक्रम परम्परागत पिस कोर कार्यक्रमभन्दा कसरी फरक छ?

    नयाँ कार्यक्रमअन्तर्गत स्वयंसेवकले स्थानीय स्तरमा छोटो समयमा उच्चतम नतिजा दिने अवसर सिर्जना गर्न सक्छन्। यी सबै स्वयंसेवकसँग सम्बद्ध क्षेत्रको उच्च शैक्षिक उपाधि र दशकौंको अनुभव छ। कैयन् साताको प्रशिक्षण लिएर मात्र उनीहरू कार्य क्षेत्रमा जान्छन्। उनीहरूलाई सहजीकरण गर्न भाषा र सांस्कृतिक सहजकर्तासमेत हुन्छन्, जसले उनीहरूलाई आफ्नो आतिथ्य परिवारसँग मिलाउन र नेपाली संस्कृतिसँग परिचय गराउन मद्दत गर्छन्। त्यसपछि उनीहरू कार्यक्षेत्रमा खटिन्छन् र नौदेखि १२ महिनासम्म स्थानीय स्तरमा काम गर्छन्। कार्यक्रम सम्पन्न भएपछि उनीहरू अमेरिका फर्केर नेपाली संस्कृतिबारे अन्य अमेरिकीलाई जानकारी दिन्छन्।

    यसअघिको परम्परागत दुई वर्षीय कार्यक्रमको तुलनामा यो केही हिसाबले फरक र केही हिसाबले मिल्दोजुल्दो कार्यक्रम हो। यसमा थोरै संख्याका स्वयंसेवकले अत्यधिक नतिजा दिन्छन्। विश्वका अन्य देशमा समेत कार्यान्वयन भइरहेको यो कार्यक्रम गर्व गर्न लायक छ। यो कार्यक्रम सन् १९९६ बाट सुरु भएको हो र यो अवधिमा यो झन् परिष्कृत बनेको छ। हाम्रा साझेदार देशमा यसको उच्च माग छ। परम्परागत पिस कोर स्वयंसेवक कार्यक्रम दुई वर्षका लागि थियो।

    त्यसो त, प्राविधिक रूपमा, पिस कोर रेस्पोन्स स्वयंसेवकहरूले तीनदेखि १२ महिनासम्म कहीं पनि सेवा गर्न सक्छन्। भर्खरै आएका १० स्वयंसेवकले पनि नेपालमा नौदेखि १२ महिनासम्म काम गर्नेछन्। तर स्वयंसेवकहरूले आफ्नो बसाइ थप्नु सामान्य मानिँदैन। प्रायःजसोले आफूले गरिरहेको काम अत्यन्त महत्त्वपूर्ण रहेको र नेपाली संस्कृतिप्रति आफ्नो रुचि बढेका कारण तत्काल घर फर्कन नचाहेको बताउँछन्।

    कतिपय स्वयंसेवक अमेरिका फर्केर केही समय आफ्नो परिवारलाई भेटेर पुनः नेपाल फर्कन्छन्। यो अवसरले एकातिर अमेरिकी सरकार र पिस कोरको सम्बन्ध प्रगाढ बन्ने गरेको छ भने अर्कातिर नेपाल सरकारसँगको सम्बन्धलाई सुमधुर पारेको छ।

    सेवा गर्न आउने व्यक्तिहरूमा पिस कोर स्वयंसेवक कार्यक्रमको आजीवन प्रभाव कस्तो रहन्छ?

    यो पोखरीमा ढुंगा खसाल्नुजस्तै हो। जब तपाईं पोखरीमा ढुंगा खसाल्नुहुन्छ, त्यो पानीको सतहमुनि डुब्छ तर यसले पोखरीमा तरंग सिर्जना गरेको तपाईं देख्नुहुन्छ। कहिलेकाहीं यी तरंगले छालसमेत सिर्जना गर्छन्।

    त्यसैगरी पिस कोर स्वयंसेवक कार्यक्रमले नेपाली जनता र स्वयंसेवकको भविष्यलाई सकारात्मक प्रभाव र उज्ज्वल पार्न सहयोग गरेको छ। विगत ६२ वर्षमा नेपालमा सेवा गरेका चार हजार स्वयंसेवकले नेपाल बसाइले आफ्नो जीवनमा आधारभूत प्रभाव पारेको बताउने गरेका छन्। उनीहरूमध्ये कोही कोही विश्वविद्यालयका अध्यक्ष, कर्पोरेट सिइओ वा उच्च स्तरीय सरकारी अधिकारीहरू बनेका छन्।

    म अमेरिकी सरकारमा रहेका कतिपय मानिसलाई चिन्छु, जसले पिस कोर स्वयंसेवकका रूपमा काम गरेका थिए। त्यो अनुभवले उनीहरूको जीवनलाई फरक अनुभूति र आकार दिएको छ। त्यो अनुभवले उनीहरूमा सकारात्मक परिवर्तनको लहर ल्याएको छ। यसैगरी अमेरिका र उनीहरूले सेवा गरेको देशलाई जोड्ने पुल निर्माण गरेको छ।

    नेपाल बसाइमा उनीहरूले आफ्नो संस्कृति नेपाली जनतासँग बाँड्छन् भने अमेरिका फर्किएपछि नेपाली संस्कृतिलाई प्रवर्धन गर्छन्। यसरी आपसी ज्ञान र वृद्धिको वृत्त (सर्कल) सिर्जना हुन जान्छ। पिस कोर कार्यक्रम हाम्रा दुवै देशका जनताका लागि सकारात्मक परिवर्तनको लहर सिर्जना गर्ने ठुलो अवसर हो।

    नेपालसँग रहेको पिस कोर सम्बन्धलाई आगामी दिनमा कसरी अगाडि बढाउने योजना छ?

    यो धेरै लामो साझेदारी हो। नेपालीसँग छलफल गरेर यो सम्बन्धलाई अर्को तहमा कसरी लैजान सकिन्छ भनेर निक्र्योल गर्ने हो। सम्बन्धको यो कोसेढुंगालाई आधार मान्दै दुई देशबिच शान्ति र भाइचारको प्रवर्धन गर्ने दिशामा यो कार्यक्रमलाई अझ बढी परिष्कृत पार्न म उत्साहित छु।

    संयुक्त राज्य अमेरिकामा पिस कोर परिवारभन्दा समग्र पिस कोर समुदाय भनेर बुझिन्छ। यस सन्दर्भमा मलाई पुरानो संस्कृत भनाइको पनि सम्झना हुन्छ, ‘सारा संसार एउटै परिवार हो।’ यो विचार मसँग प्रतिध्वनित हुन्छ र हाम्रा स्वयंसेवकहरूमार्फत नेपाली जनता र अमेरिकी जनताबीच सम्बन्ध एकै परिवारका जस्तो बन्न जान्छ।

    पिस कोरले आफ्नो कार्यक्रमको प्रभावकारिता र प्रभावलाई कसरी मापन गर्छ? यसका लागि कुनै प्रकारको प्रणाली छ?

    कार्यक्रमको प्रभाव संख्यामा गणना गर्ने विषय होइन। यो कार्यक्रमले कति सर्वसाधारणलाई छुन सकेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। पिस कोर कार्यक्रमबाट फरक हिसाबले प्रभावित भएका केही नेपालीहरूसँग मैले रात्रिभोज गर्ने मौका पाएँ। पिस कोर स्वयंसेवकको प्रोत्साहन र पढाइका कारण एकजनाले आफू मेडिकल स्कुल जान प्रेरित भएको बताए।

    यस्ता खाले आपसी सम्बन्धका कारण विश्व शान्ति र मित्रतामा भएको प्रवर्धनलाई हामीले मापन गर्नुपर्छ। परिमाणात्मक रूपमा हामीले कति विद्यार्थीलाई सिकायौं, कति शिक्षकसँग साझेदारी गर्‍यौं र कतिवटा कृषि परियोजनामा मिलेर काम गर्‍यौं भनेर रेखांकन गर्न हामीसँग बलियो प्रणाली छ। यो तथ्यांक र जानकारीले हामीलाई अमेरिकी कांग्रेसमा रिपोर्ट गर्न र कसरी पिस कोर कार्यक्रम कम लागतमा उच्च प्रतिफल दिने लगानी हो भनेर प्रमाणित गर्न सहयोग पुग्छ।

    यसैगरी हामी यी प्रमाणहरूलाई अमेरिकी जनतासँग साझेदारी गर्छौं भने उनीहरूलाई वर्तमान विश्वमा पिस कोर कार्यक्रम किन महत्त्वपूर्ण र सान्दर्भिक छ भनेर भन्छौं।

    अमेरिकी समाजका विभिन्न तहलाई भेट्दा हरेक अवसरमा मैले पिस कोर कार्यक्रमबारे बताउँछु। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति, सेक्रेटरी अफ स्टेट, पिस कोरका निर्देशक सबैलाई नेपाल कसरी भिन्न छ र किन नेपाल भ्रमण गर्न आवश्यक छ भनेर म बताउन चाहन्छु। नेपाल र अमेरिकाबीच लामो समयदेखिको सुमधुर सम्बन्ध छ र यो जनस्तरमा पनि उत्तिकै प्रगाढ छ।

    के तपाईं पिस कोर रेस्पोन्स स्वयंसेवक कार्यक्रमभित्र नयाँ कार्यक्रमहरू प्रस्तुत गर्ने सोच्दै हुनुहुन्छ?

    हामी नेपाली जनताका लागि के कुरा महत्त्वपूर्ण छ भन्ने कुरा जान्न र सुन्न सधैं उत्साहित र लालायित छौं। म पिस कोर कार्यक्रम लागु भएका देशहरूमा जाँदा सधैं सोध्छु, ‘तपाईंका लागि के महत्त्वपूर्ण छ? कसरी यो कार्यक्रमले स्थायी र सकारात्मक परिवर्तन गर्न सक्छ? कसरी हामी मिलेर काम गर्न सक्छौं?

    नेपालमा भएका हरेक अन्तक्र्रियामा पनि मैले त्यही प्रश्न राखेको थिएँ। हो, आपसी सम्बन्ध एकतर्फी हुँदैन। यो दुवै तर्फबाट हुनुपर्छ। यो कार्यक्रमबाट जति नेपाली जनतालाई फाइदा हुन्छ, अमेरिकी नागरिकलाई पनि उत्तिकै फाइदा छ। उनीहरूले नेपाली संस्कृतिलाई जान्ने मौका पाउँछन्।

    अर्कोतर्फ संयुक्त राज्य अमेरिकाको डालासदेखि बोस्टन र न्युयोर्क सहरसम्म ठुलो संख्यामा नेपालीहरू छन्। उनीहरूले नेपाली संस्कृतिलाई जीवन्त राखेका छन्। अमेरिकाको शक्ति भनेको यही विविधता हो। अमेरिकामा बलियो, जीवन्त नेपाली समुदाय रहेकोमा हामीलाई गर्व छ।

    हाम्रा नेता, नीतिनिर्माता र नेपाली जनताका लागि केही सन्देश छ?

    पिस कोरको प्रभावकारिता, विरासत र उज्ज्वल भविष्य भनेको यो कार्यक्रममार्फत विश्वभर स्वयंसेवकले गरेको योगदान हो। विश्वका १४४ देशमा दुई लाख ४४ हजार अमेरिकीले सेवा गरेका छन्। विश्वका हरेक स्थानमा जाँदा यो कार्यक्रमसँग जोडिएका व्यक्तिसँग सडक, औपचारिक बैठकमा हाम्रो जम्काभेट हुन्छ।

    हालै युनिभर्सिटी अफ मिचिगनमा मैले १९८० को दशकमा सेवा गर्ने एक पूर्वस्वयंसेवकलाई भेटें। यहींबाट तत्कालीन सिनेटर जोन एफ केनेडीले अक्टोबर, १९६० मा पिस कोर कार्यक्रमको सुरुवात गरेका थिए। उनले मलाई आफ्नी नेपाली पत्नीसँग परिचय गराए। उनले आफूलाई नेपालको संस्कृति र इतिहास अत्यन्त मन परेको र कसरी दुईजनाबीच प्रेम बसेको थियो भन्ने कुरा समेत बताए। यो एउटा उदाहरण मात्र हो।

    पिस कोरको तेस्रो लक्ष्य भनेको अन्य संस्कृतिहरूलाई अमेरिकामा प्रवेश गराउनु र यसलाई थप समझदार, समृद्ध र जीवन्त बनाउनु हो। यो सन्दर्भमा पनि नेपालमा आउन पाउँदा म एकदमै खुसी छु।

    म काठमाडौंमा बौद्ध स्तुप पुग्न पाएकोमा खुसी भएँ। पोखरा विमानस्थलमा जाँदै गर्दा एक पल हामीले माछापुच्छ्रे हिमाल देख्न पायौं। हाम्रा लागि बादल केही क्षण फाटेको थियो।

    हामीले सो शिखर देख्न सक्यौं। यो कौतुकमय थियो। त्यही क्षण मैले अर्काे भ्रमणमा मेरी पत्नीलाई पनि पोखरा घुमाउन ल्याउने प्रण गरेँ। उनले प्रत्यक्ष रूपमा यो सुन्दरतालाई देख्न सकून् र हामीले मिलेर त्यो क्षणको आनन्द लिन सकौं। म चाँडै फर्कन आतुर छु। नेपालका हुने धेरै यात्रामध्ये यो पहिलो हुनेमा म विश्वस्त छु।

  • प्यान्थर्स र एनबिएससीको विजयी सुरुआत

    प्यान्थर्स र एनबिएससीको विजयी सुरुआत

    प्रथम कोसी प्रदेश दिवा–रात्रिकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स र एनबिएससी लायन्स क्रिकेट क्लब विजयी भएका छन्।

    विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसिसी क्रिकेट क्लबलाई ६ रनले हराउँदै प्यान्थर्स र दोस्रो खेलमा फूलबारी क्रिकेट क्लबलाई ५० रनले हराउँदै एनबिएससी लायन्स विजयी भएका हुन्। जितसँगै दुवै टोलीले समान २÷२ अंक जोडेका छन्।

    टस जितेर ब्याटिङ रोजेको प्यान्थर्सले ७ ओभरमा ७ विकेट गुमाई ८१ रन बनायो। प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले ११ बलमा ३२ रन बनाए। उनले ४ छक्का र १ चौका प्रहार गरेका थिए। तुलबहादुर थापाले ८ बलमा १५ रन बामउँदा एमडी अफाकले ६ बलमा ११ रनको योगदान दिए। वाइआरसिसीका अभिषेक पाठकले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए। हेमन्त धमला र विपिन खत्रीले समान २÷२ विकेट लिए।

    प्यान्थर्सले दिएको ८२ रनको विजय लक्ष्य पछ्याएको वाइआरसिसीले ७ ओभरमा सबै विकेट गुमाई ७५ रन मात्रै बनायो। वाइआरसिसीका ओपनर देव खनालले ७ बलमा २० रन बनाए। उनले २ छक्का र २ चौका हिर्काए। अभिषेक पाठकले ८ बलमा २८ रनको योगदान दिए। उनले तीन छक्का र १ चौका प्रहार गरे। विनोद भण्डारीले १२ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    प्यान्थर्सका अलराउन्डर खेलाडी बसिर अहमदले घातक बलिङ गरे। उनले २ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए। उनी खेलको प्लेर अफ म्याच घोषित भए। साहब आलम र आयुष तिम्सिनाले समान १/१ विकेट लिए।

    सोही दिन भएको दोस्रो खेलमा एनबिएससी लायन्स क्लबले फूलबारी क्रिकेट क्बललाई ५० रनले पराजित गर्‍यो। एनबिएससी लायन्सले निर्धारित १० ओभरमा १ विकेट गुमाई १५७ रन बनायो। जसमा राहुल रोमाल्डले २९ बलमा ८ छक्का र ४ चौका प्रहार गर्दै अविजित ७५ रन बनाए। सन्तोष कार्कीले २७ बलमा ६४ रनको योगदान दिए। उनले ७ छक्का र २ चौका हिर्काए।

    फूलबारीका एमडीले १ विकेट लिए। एनबिएससीले दिएको १५८ रनको लक्ष्य पछ्याएको फूलबारीले निर्धारित १० ओभरमा ७ विकेट गुमाई १०७ रन मात्रै बनायो। जसमा राजेश सिंहले १४ बलमा ४१ रन बनाए। दीपकराज जोशीले १८ बलमा २३ रनको पारी खेल्दा भुवन कार्कीले १४ रन बनाए।

    एनबिएसीका बलर फिरदोस अन्सारी, सन्तोष कार्की र दीपेश कँडेलले समान २÷२ विकेट लिए। प्लेर अफ द म्याच एनबिएससीका सन्तोष कार्की भए। दिवा रात्रीकालीन प्रतियोगिता सञ्चालनका लागि विराटनगर ६ बरमपुरामा १२ लाखको लागतमा बाँसको खम्बामा अस्थायी फ्लडलाइटको व्यवस्था गरिएको छ।

    विराटनगर–६ का वडाअध्यक्ष अक्षय सहनीका अनुसार विजेताले ५ लाख, उपविजेताले २ लाख, तेस्रोले एक लाख र चौथो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन्।

    प्रतियोगिता सञ्चालनका लागि करिब ३५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। त्यसमध्ये वडा कार्यालयले ७ लाख दायित्व बोक्ने र बाँकी रकम प्रायोजकबाट संकलन गर्ने लक्ष्य रहेको मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमदबावु कुरेसीले बताए ।

  • गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

    गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र: अध्यक्ष ओली

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताएका छन्।

    सत्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गरेका छन्।

    ‘आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ। कहिलेकाहीँ हामी गलतलाई चुन्न सक्छौँ, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन’, अध्यक्ष ओलीले शुभकामना सन्देशमा भनेका छन्, ‘गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ। जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफै गलत छ। हामीले अधिकार पाएका छौँ। सँगसँगै कर्तव्य पनि नभुलौँ।’

  • धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

    धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

    सशस्त्र प्रहरी धनुषाले २३ लाख बराबरको काजु किसमिस बरामद गरेको छ।

    सोमबार राति भारतबाट भन्सार छली गरी नेपाल ल्याउँदै गरेको २३ लाख बराबरको काजु किसमिस जनकपुरधाम उपमहानगरपालिका-१ सीता चौकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

    २१ क्विन्टल काजु र ५ क्विन्टल ४० किलो किसमिस लोड गरिएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद गरेको काजु किसमिसको बजारको मूल्य २३ लाख बराबरको रहेको सशस्त्र प्रहरीले जनाइएको छ।

    भारतबाट अवैध रूपमा काजु किसमिस नेपाल भित्र्याएको सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहतका सुरक्षा वेश जनकपुरबाट सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीको कमाण्डमा टोली खटिएको थियो। उक्त टोलीले काजु किसमिससहित मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।

    बरामद गरिएको काजु किसमिस आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको उपरीक्षक गिरीले बताए।

  • साँगाको जित, रेलिगेसन जोनको स्वयम्भूलाई राहत

    साँगाको जित, रेलिगेसन जोनको स्वयम्भूलाई राहत

    स्पोर्ट्स एकेडेमी साँगाले सहिद स्मारक ‘सी’ लिगमा सानेपा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा सानेपालाई साँगाले २–१ ले पराजित गरेको हो।

    जितसँगै १० खेल खेलेको साँगा १५ अंक जोड्दै पाँचौँ स्थानमा उक्लिएको छ। पराजित सानेपा समान खेलबाट ११ अंक जोड्दै १०औँ स्थानमा झरेको छ।साँगाको जितमा गमबहादुर मगर र विकास परियारले गोल गरे। सानेपाका नीराजनजंग शाहीले गरेको गोल सान्त्वना बन्यो। खेलको १७औँ मिनेटमा गमको गोलमार्फत साँगाले सुरूआती अग्रता लिएको थियो। विकासले डी बक्सबाहिरबाट निकालेको थु्र पासलाई कनेक्ट गर्दै उनले गोलमा परिणत गरे।

    पहिलो हाफको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा विकासले गोल गर्दै साँगाको अग्रता दोब्बर बनाए। स्यामुयल सुनारले डी बक्सभित्रबाट गरेको प्रहारलाई सानेपाका गोलरक्षक रुविन बोगटीले जोगाए। तर, रिबाउन्डमा अनमार्कमा रहेका विकासले सहजै गोल गरे। दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा नीराजनले सानेपाका लागि गोल गरे। स्यामुयलले आफ्नै साथीलाई दिएको बल नियन्त्रणमा लिँदै सन्देश भुजेलले नीराजनलाई पास दिएका थिए। उक्त पासलाई नियन्त्रणमा लिँदै उनले गोल गरेका थिए। त्यसपछि सानेपा खेलमा फर्किन सकेन।

    सोमबार नै सम्पन्न अर्को खेलमा अन्तिम समयमा सुग्रित मगरले गोल गरेसँगै लिगको रेलिगेसन जोनमा रहेको स्वयम्भू क्लबलाई राहत मिलेको छ। खेलको १३औँ मिनेटमा मार्वल सुनारको गोलमार्फत खालीबारी युवा क्लबले सुरुआती अग्रता लिएको थियो। ओमनाथ थापा क्षत्रीले बललाई डी बक्सबाहिर गएर रिलिज गरेपछि रेफ्री उमेश बिडारीले खालीबारीलाई फ्रिकिक प्रदान गरेका थिए। डी बक्सनजिकबाट मार्वलले फ्रिककमार्फत प्रहार गरेको बलले सीधै जाली चुम्यो। तर, खालीबारीले उक्त अग्रता जोगाउन सकेन।

    दोस्रो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा सुग्रितले गोल गर्दै स्वयम्भूलाई महŒवपूर्ण अंक दिलाए। प्रकाश पुनले डी बक्सभित्रबाट दिएको बललाई सुग्रितले खालीबारीका डिफेन्डरलाई बिट गर्दै गोलमा परिणत गरेका थिए। योसँगै खालीबारीले छैटौँ स्थानमा उक्लिने मौका गुमाएको छ। १० खेलबाट ११ अंक जोडेको खालीबारी सानेपालाई गोल संख्यामा पछि पार्दै नवौँ स्थानमा उक्लिएको छ। समान खेलबाट ७ अंक जोडेको स्वयम्भू १३औँ स्थानमा छ।

  • ‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

    ‘बैंक खाता छोरीको: सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र

    छोरीमाथि हुने सबै प्रकारका हिंसाको अन्त्य गर्न र न्यूनतम माध्यमिक शिक्षासम्मको पहुँचसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको ‘बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको’ कार्यक्रम अलपत्र परेको छ।

    २०७६ साउन १ गतेयता जन्मिएका छोरीको खाता खोल्दा सुरुमा एक हजार र त्यसपछि मासिक पाँच सय रूपैयाँ जम्मा गरिदिने उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो।

    २०७१ पुस १ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको खाडाचक्र नगरपालिकाका दुई छोरीको बैंक खातामा रकम जम्मा गरी कार्यक्रमको शुभारम्भ गरेका थिए।

    आर्थिक वर्ष २०७६/७७ मा तीन करोड ८४ लाख र आर्थिक वर्ष २०७७/७८ मा ६ करोड रूपैयाँ स्थानीय तहमार्फत कर्णालीका ११ हजार ४१५ छोरीको खातामा जम्मा गरिएको थियो। त्यसपछि भने प्रदेश सरकारले यो कार्यक्रमका लागि बजेट नै छुट्याएको छैन। प्रदेश सरकारको सिको गर्दै केही स्थानीय तहले पनि छोरीको खातामा रकम जम्मा गर्न थालेका थिए।

    गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले छोरीहरूका लागि प्रभावकारी मानिएको कार्यक्रम रोकिँदा स्थानीय स्तरमा असन्तुष्टि पैदा भएको बताइन्।

    ‘प्रदेश सरकारले स्थानीय तहमार्फत मासिक जम्मा गरिदिने भनेको रकम दुई वर्षदेखि रोकिएको छ,’ उपप्रमुख विकले भनिन्, ‘स्थानीय स्तरमा रकम किन रोकियो भन्दै दैनिक सेवाग्राही पालिकामा आइराख्नुहुन्छ।’

    उपप्रमुख विकले प्रदेश सरकारले यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन्। ‘यो कार्यक्रमबाट छोरी मात्रै जन्माउनेहरू हर्षित थिए, गर्भपतनलगायत लैंगिक विभेदमा पनि कमी आएको थियो, छोरीको शिक्षामा पहुँच पुग्ने अवस्था थियो,’ उनले भनिन्, ‘यति प्रभावकारी कार्यक्रम प्रदेश सरकारले रोक्नु हुन्नथ्यो।’

    उनले प्रदेश सरकारले कार्यक्रमलाई निरन्तरता नदिए पनि जन्मिएका छोरीहरूको खाता खोल्ने क्रम भने नरोकिएको बताए। ‘खाता खोल्दा पालिकाको सिफारिस आवश्यक पर्छ, अहिले पनि निरन्तर खाता खोल्नका लागि अभिभावक आइराख्नुभएको छ,’ उनले भनिन्, ‘आगामी आवदेखि भए पनि कार्यक्रमलाई निरन्तरता दिइनुपर्छ।’

    प्रदेश सरकारले बनाएको कार्यविधिमा छोरीमाथि हुने हिंसा, भ्रूणहत्या, छोरीलाई न्यूनतम माध्यमिक शिक्षासम्मको पहुँचसम्म पुर्‍याउन, लैंगिक विभेदको अन्त्य गर्न, उमेर नपुग्दै हुने विवाह रोक्ने यो कार्यक्रमको उद्देश्य हो।

    सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महाशाखाका प्रमुख अनिता ज्ञवालीले कार्यक्रम सुरु भएयता दुई आवको रकम मात्रै बैंक खाता खोलेका छोरीहरूको खातामा पुगेको बताइन्।

    ‘कार्यक्रम लागु भएको पहिलो आर्थिक वर्षमा तीन करोड ८४ लाख र दोस्रो आर्थिक वर्षमा ६ करोड रूपैयाँ स्थानीय तहमार्फत ११ हजार ४१५ छोरीहरूको खातामा जम्मा गरेका थियौं,’ उनले भनिन्, ‘त्यसयता बजेट नहुँदा पठाउन सकिएन।’

    सामाजिक विकास मन्त्रालयका अनुसार अघिल्लो आवको असार मसान्तसम्म ४१ हजार ५९७ छोरीको खाता खोलिएको छ। यो विवरण कर्णालीका ७९ स्थानीय तहमध्ये ५८ स्थानीय तहको मात्रै हो। कर्णालीका २१ स्थानीय तह यो कार्यक्रममा सहभागी छैनन्।

    ‘अघिल्लो आवको असार मसान्तसम्म ४१ हजार ५९७ छोरीको खाता खोलिएको विवरण आइपुगेको छ,’ उनले भनिन्, ‘सरकारले बजेट छुट्याउन छोडेपछि स्थानीय तहमार्फत विवरण माग्न पनि छोड्यौं।’

    कार्यक्रममार्फत २० वर्षसम्म प्रदेश सरकारको दायित्व झन्डै एक अर्ब ४० करोड रूपैयाँ पुग्ने अनुमान थियो। कार्यविधिमा छोरीका नाममा जम्मा गरिएको पैसा उनीहरू २० वर्ष पुगेपछि मात्र निकाल्न पाउने व्यवस्था थियो। उमेर २० वर्ष पुगे पनि माध्यमिक तहसम्मको पढाइ पूरा नगरेमा, पढाइ बीचैमा छोडेमा र २० वर्ष नपुग्दै विवाह गरेमा भने खातामा जम्मा भएको रकम उनीहरूले नपाउने व्यवस्था गरिएको थियो।

    कार्यविधिमा खातावाला छोरीको मृत्यु भएमा, कडा रोग लागेको वा गम्भीर प्रकृतिको अपांगता भएमा, अभिभावक वा संरक्षकको मृत्यु भई आर्थिक कठिनाइका कारणले विद्यालय शिक्षालाई निरन्तरता दिन वा पूरा गर्न नसक्ने अवस्था भएमा भने स्थानीय तहको सिफारिसका आधारमा रकम झिक्न सकिने व्यवस्था गरिएको थियो।