Blog

  • सरकारको आग्रहमा बजेट भाषणको समय तीन बजेलाई सर्‍यो

    सरकारको आग्रहमा बजेट भाषणको समय तीन बजेलाई सर्‍यो

    आज दिउँसो एक बजेलाई तय भएको बजेट भाषण सरेको छ। सरकारको आग्रहमा दिउँसो तीन बजेलाई दुवै सदनको बैठक सारिएको संसद सचिवालयले जनाएको छ।

    संसद सचिवालयका अनुसार सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको हो।

  • ४ सयले सुनको मूल्य बढ्यो

    ४ सयले सुनको मूल्य बढ्यो

    स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भैइरहेको छ।

    अघिल्लो दिन १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, वैशाख ७ गते सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

    त्यस्तै,चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँ बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा चाँदीको कारोबार भएको छ।

    अघिल्लो दिन १ हजार ८८० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिन बिदा दिने गृहमन्त्रीको घोषणा

    महिनावारी हुँदा महिला ट्राफिकलाई चार दिन बिदा दिने गृहमन्त्रीको घोषणा

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिकलाई बिदा दिने घोषणागरेका छन्।

    गणतन्त्र दिवसको अवसर पारेर लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन्।

    उनले लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास: अब देखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलङ्घन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनु हुनेछ।’

  • गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री

    गणतन्त्र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने प्रयासको प्रतिफल हो: प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताएका छन्।

    गणतन्त्र दिवस, २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सामूहिक प्रयास तथा सहकार्यबाट राजनीतिक व्यवस्था परिवर्तन गर्न सकिएको र सङ्घीयता तथा गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल भएको हुन्।

    ‘गणतन्त्र कसैको लहड थिएन, न त कसैको राजनीतिक स्वार्थमा चलेको आन्दोलनको परिणाम नै। यो त विभेदपूर्ण सामाजिक संरचनालाई भत्काउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्न परिवर्तनकामी राजनीतिक शक्तिहरू एक ठाउँमा उभिएर गरिएको सामूहिक प्रयास थियो’, प्रधानमन्त्री दाहालले भने, ‘हाम्रो सामूहिक प्रयास र सहकार्यमार्फत राजनीतिक व्यवस्था परिवर्तन गर्यौँ र एकात्मक वंशवादी सामन्ती राज्यसत्ता अन्त्य गरी सङ्घीयता र गणतन्त्रसहितको संविधान निर्माण गर्न सफल बन्यौँ।’

    सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै राजनीतिक रूपमा क्रान्तिको एउटा अध्याय पूरा भएको भए पनि जुन जग र सपनाको बलमा गणतन्त्र स्थापना भएको थियो, त्यसका सोच तथा लक्ष्य पूरा गर्ने अभिभारा भने बाँकी नै रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

    व्यवस्थामा हुने परिवर्तनले आमजनताको अवस्थामा परिवर्तन ल्याउन सकेन भने त्यसले राजनीतिक व्यवस्था परिवर्तनको अभिष्ट पूरा हुन नसक्ने उल्लेख गर्दै उनले गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा देखिएका अस्पष्टताको फाइदा उठाउँदै व्यवस्थालाई नै असफल पार्न कोसिस भइरहेको भन्ने आफूले सुनेको तर यस्ता प्रयास सफल नहुने बताए।

    उनले त्यस्ता गलत प्रयासलाई असफल पार्न सचेत र सामूहिक प्रयास एवं परिवर्तनका मुद्दामा राष्ट्रिय सहमति र सहकार्य आवश्यक भएको औँल्याए।

    प्रधानमन्त्री दाहालले भने, ‘संसारभरिको अनुभव हेर्दा इतिहासको रथ पछाडि कहिल्यै फर्किएको छैन र नेपालमा पनि त्यस्तो हुन दिइने छैन।’

    सरकारले लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै तथा समाजवादोन्मुख राज्य व्यवस्थाको आधारका लागि सक्रियताका साथ काम गर्दै आएको अवगत गराउँदै उनले भने, ‘हाम्रो मुख्य कोसिस भनेको देशका लागि राम्रो गर्ने हो। केही पनि हुँदैन, सकिँदैन भन्ने भाष्य चिर्दै थप उपलब्धिहरू हासिल गर्दै अघि बढ्ने हो।’ केही पनि भएन भन्नेहरूका लागि समावेशिता, स्वतन्त्रता, सामाजिक–आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा गणतन्त्रपछिका उपलब्धिहरूले ठोस जवाफ दिएको उनले बताए।

    नागरिक आवश्यकता र चाहनाको परिपूर्ति गर्दै मुलुकलाई आर्थिक–सामाजिक रूपमा सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने प्रयासले क्रमशः मूर्तरूप लिँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै राष्ट्रिय हितको रक्षा गर्न सरकार दृढ रहेको बताए।

    उनले छिमेकी मुलुकहरू र अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूसँगको सम्बन्ध सुदृढ भएकाले यसैको फलस्वरूप नेपाल २०८३ सालसम्ममा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सुनिश्चिित भएको बताए।

    प्रधानमन्त्री दाहालले भने, ‘संवत् २०८७ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्यसहित विकसित राष्ट्रको स्तरमा पुग्ने अभियान जारी छ।’

    गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘गणतान्त्रिक जीवनशैली विकास भएको छ र नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको छ। वास्तविक रूपमा गणतन्त्र अरुका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि हो।’

    उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयहरूमा स्वनिर्णयको अधिकार भएकाले यसका लाभहरूलाई आम नागरिकमा पुर्याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको बताए।

    पछिल्लो समयमा देखिएको आर्थिक शिथिलतालाई अन्त्य गर्न वित्त एवं मौद्रिक नीतिको सामञ्जस्यपूर्ण कार्यान्वयन गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसको फलस्वरूप अर्थतन्त्रमा सुधार भइरहेको बताए।

    ‘लगानीको वातावरण सुधारका लागि यससम्बन्धी नीतिगत एवं कानुनी व्यवस्थाहरूमा परिमार्जन गरिएको छ’, उनले भने, ‘देशका मजदुर, किसान, विद्यार्थीलगायतका सम्पूर्ण गरीखाने वर्गलाई ध्यानमा राखी आधारभूत आवश्यकताको परिपूर्तिमा ध्यान दिँदै बीउ, मल, पाठ्यपुस्तक, औषधिजस्ता वस्तुहरूको उपलब्धता र आपूर्ति सरल तथा पहुँचयोग्य बनाइएको छ।’

    उनले सुशासन र समृद्धिलाई केन्द्रमा राखी राज्यको स्रोतमा सबै नागरिकको पहुँच सुनिश्चित हुनेगरी स्रोतको परिचालनमा मितव्ययिता, पूर्वाधार निर्माणमा तीव्रता, सामाजिक विकासमा समानता एवं सेवा प्रवाहमा सरलता कायम गरिएको बताए।

    गणतन्त्रलाई समृद्धिको मार्गका रूपमा उपयोग गर्न तथा समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि अझ बृहत् स्तरमा राष्ट्रिय एकताको सन्देश दिन र सबै नागरिक एकताबद्ध भई साझा हितका लागि परिचालन हुन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकार एउटै लय तथा तालमा अघि बढ्न जरुरी रहेको बताए।

    समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू,पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

    सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले गणतन्त्र दिवस–२०८१ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरेको थियो। समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले मार्चपास गरेका थिए भने नेपालको कला र संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो।-रासस

  • टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)

    टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (तस्बिरहरु)

    काठमाडौंको टुँडिखेलस्थित सैनिकमञ्चमा गणतन्त्र दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो।

    यस्तै,कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ।

    दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गरेर गणतन्त्र दिवस मनाउने निर्णय सरकारले गरेको छ।

  • करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु

    करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु

    मोरङको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर नाबालकसहित दुई जनाको मृत्यु भएको छ। सुनवर्षी नगरपालिका–९ डाइनियाँका ३५ वर्षीय उमेशप्रसाद साहको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

    उनका अनुसार साहले आफ्नै घरमा फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए। सोमबार राति साढे ९ बजेतिर फोटो स्टुडियोभित्र काम गरिरहेका साहलाई ल्यापटपमा पेनड्राइभ जोड्ने क्रममा अचानक करेन्ट लागेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘करेन्ट लागेपछि घाइते भएका साहलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ राति साढे १० बजेतिर चिकित्सकले मृत घोषित गर्‍यो। घटनाको थप अनुसन्धान अघि बढेको छ।’ पोस्टमार्टमका लागि साहको शव रंगेली अस्पतालमा राखिएको छ।

    त्यसैगरी, विराटनगर–८ देवकोटा चोकमा रहेको खानेपानी कार्यालयको क्वाटरमा बस्दै आएका कर्मचारी सुरज चौधरीका छोरा ४ वर्षीय टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    क्वार्टरको कोठाभित्रै खेल्ने क्रममा मल्टिप्लगबाट राति १० बजेतिर करेन्ट लागेर टेरेन्स घाइते भई उपचारका लागि गोल्डेन अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुढीगंगास्थिति विराट टिचिङ अस्पताल लगिएको थियो।

    अस्पताल पुर्‍याउनासाथ चिकित्सकले राति साढे १२ बजेतिर मृत घोषित गरेको डिएसपी बस्नेतले बताए। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

  • हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ!

    हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ!

    १) मुक्तक

    गर्नुपर्ने साहसपूर्ण काम बाँकी थियो सायद,

    डुल्न पाखापखेरा तमाम बाँकी थियो सायद।

    लेखेर राखिएका अनगिन्ती कथाव्यथाहरू,

    बन्द गरेको खोल्न खाम बाँकी थियो सायद।

    २) मुक्तक

    माटो भुल्नु बाध्यता थियो वा रहर उसको,

    बाटो भुल्नु बाध्यता थियौ वा प्रहर उसको।

    बटुलेर एक थान खुसीका छरपस्ट बुकीहरू,

    खाट‍ो भुल्नु बाध्यता थियो वा कहर उसको।

    ३) मुक्तक

    चैत्रको विचित्रता धुलो धमिलो मात्र,

    किन कुँडियो होला मन अमिलो मात्र।

    भरोसा जिजीविषाका सुषुप्त परिदृश्य,

    एकतमासका धून सन्नाटा गमिलो मात्र।

    ४) मुक्तक

    भौंतारिनेहरू शान्तिको खोजीमा नै रहेछन्,

    अनुसन्धान भ्रान्तिको खोजीमा नै रहेछन्।

    रुमलिने मन समुद्री मन्थनभन्दा जटिल,

    परिस्थिति त क्रान्तिको खोजीमा नै रहेछन्।

    ५) मुक्तक

    मनोबल नगिरोस् परिवर्तनको सुरुवात गर्दै जानु छ,

    सुवास छरिदिने पारिजात फूल जसरी झर्दै जानु छ।

    सबैको नजरले कहाँ ठम्याउन सक्छन् र अंशुमाली,

    बँचाउन कयौं अबोध सपना सुन्दर रङ्ग भर्दै जानु छ।

    ६) मुक्तक

    हुर्किएर खेलेको माटो कसले भुल्न सक्छ,

    पौरख र पसीनाले मात्र भाग्य खुल्न सक्छ।

    प्रकृतिका असङ्ख्य उपहार संरक्षण गरेदेखि,

    सिर्जनाका यहाँ सुन्दर डाली झुल्न सक्छ।

    ७) मुक्तक

    आफ्ना परम्परा भाषा वेश संरक्षण हामीले गर्नुपर्छ अब,

    नरहोस् कतै धमिलो, उज्याला इन्द्रेनी रङ भर्नुपर्छ अब।

    लोप नहोस् हाम्रा पुर्खाले आर्जेका धरोहर पुण्यभूमि यो,

    सबैले मिलेर सुनौला ज्ञानको किरण यहाँ छर्नुपर्छ अब।

    ८) मुक्तक

    माटोबिना जराको अस्तित्व हुन्छ र,

    बढ्दै जान्छ बाँस गगन कहाँ छुन्छ र!

    सङ्लिनु अगाडि धमिलो भएको खहरे,

    बाँध हालेर कसैले त्यसलाई थुन्छ र!

    ९) मुक्तक

    यसरी छर्लङ्ग ऐना लाग्छ बिउँझिएपछि भ्रमबाट,

    सार्थक बन्छ मिलेको सन्तुष्टि रहरको श्रमबाट।

    दुरात्माबाट दूर बस्नु छ हियो दुखाउँछन् घरिघरि,

    धैर्य नछोड ए जीवन, प्रदीप्त बन्नेछ क्रमबाट।

    १०) मुक्तक

    खोजे यहीं मिल्छ तीर्थ पवित्र धाम पनि,

    खनी खोस्रेर पुग्नेछ खानलाई माम पनि।

    सुन र चाँदीझैं टल्कन्छ सगरमाथा हाम्रो,

    भेदभावबिना न्यानो दिएकै छ घाम पनि।

  • मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह

    मुख्यमन्त्री सोडारीद्वारा गणतन्त्रलाई संस्थागत गर्न आग्रह

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले गणतन्त्रलाई संस्थागत गर्न हरेकले आफ्नो कामले देखाउनुपर्ने बेला आएको बताएका छन्।

    सत्रौँ गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित कार्यक्रममा उनले विश्वमै उत्कृष्ट व्यवस्था लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको उल्लेख गरे।

    ‘गणतन्त्रको खास आभास जनतामा हुन नसकिरहेकाले यो व्यवस्थाको कमीकमजोरी सुधार गर्दै अगाडि बढ्न जरुरी छ’, मुख्यमन्त्री सोडारीले भने।

    सुदूरपश्चिम प्रदेश सरकारका मुख्यसचिव डा.हरि लम्सालले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्र भएको व्यवस्थामा मात्र नागरिक स्वतन्त्र भएर बाँच्न पाउने बताए। सो समारोहमा स्थानीय लोकसंस्कृति झल्किने झाँकी र खेलकुद गतिविधि प्रस्तुत गरिएको थियो।

    यसअघि धनगढीको सहिदगेटबाट सुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग हुँदै प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङ्गणमा पुगेर मूल समारोहमा परिणत भएको थियो। यही जेठ १६ गतेसम्म विविध कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै छ।

    यसैबीच सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सत्रौँ गणतन्त्र दिवसले प्रदेशमा दिगो शान्ति, सुशासन र विकासको समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना दिएका छन्।

  • रोपियो जुम्ली कालीमार्सी धान

    रोपियो जुम्ली कालीमार्सी धान

    यतिखेर जुम्लाका कृषकलाई कालीमार्सी धान रोप्ने चटारो छ। सोमबार जुम्लाको प्रसिद्ध धार्मिक स्थल चन्दननाथ भैरवनाथ मन्दिरको सेरा (खेत) ज्युलोमा रोपाइँ सुरु गरिएको छ।

    सदरमुकाम खलंगास्थित चन्दननाथ भैरवनाथ बाबाको खेतमा रोपाइँ सुरु गरिएको हो। परा-पूर्वकालदेखि नै चन्दननाथ भैरव नाथ गुठी समितिले जेठ १४ गते हुने रोपाई यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो। चन्दननाथ भैरव नाथ गुठी समितिका अध्यक्ष अम्मर थापाका अनुसार यो वर्ष भने जेठ १४ गते रोपाइ गरिएको हो।

    चन्दननाथ बाबाको सेरा ज्युलो परापूर्वकालदेखि नै मन्दिरमा अक्षेता चढाउन मार्सी धान रोप्ने गरिन्छ। सेरा ज्युलोमा मार्सी रोपाइँको लागि चन्दननाथ नमुना माविका विद्यार्थी र स्थानीय महिलाहरू सहभागी थिए।चन्दननाथ नगरपालिका-५ का वडाध्यक्ष वृर्ख बहादुर कार्कीले विषादी निषेध गर्ने र जैविक मल उत्पादनका लागि पहल गर्ने बताए।

    जुम्लाको धार्मिक इतिहाससँग जोडिएको चन्दनाथको सेरा ज्युलो र पहिचानसँग जोडिएको मार्सी धान रोप्दा मागल गाउने परम्परा रहेको चन्दननाथ गुठी व्यवस्था समिति जुम्लाका नायब सुब्बा रत्ना आचार्यले बताए।

    २०३६ सालमा चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिको गठन भएको थियो। त्यस लगत्तै मन्दिरका सम्पूर्ण क्रियाकलापहरु उक्त समितिले गर्दै आएको समितिका अध्यक्ष अमर थापाले बताए।

    ‘पहिले चन्दननाथ बाबाको शेर जिउलोमा रोपाइँ भएपछि मात्र जिल्लाका अन्य ठाउँका ज्युलहरु रोपाइँ हुन्थ्यो,’ उनले भने। ‘अहिले त्यो प्रचलन हराउँदै गएको छ। पहिले रोपाइँ गर्नको लागि जिल्लाका विभिन्न ठाउँका मान्छेहरु आएर चन्दननाथ बाबाको शेर ज्युलोमा रोपाइँ गर्थे।’

    मन्दिर जस्तो पवित्र स्थलमा राजनीति हस्तक्षेप हुँदा मन्दिरको चौतर्फी विकास हुन सकेको छैन। नजिकको तिर्थ हेला भने झैं चन्दननाथ मन्दिर पनि सोचे जस्तो महत्त्वपूर्ण बन्न सकेको छैन,यो गम्भीर विषय हो। चन्दननाथ गुठीको नाम रहेका थुप्रै जग्गाहरुको अतिक्रमण गरिएको समेत उनको भनाई छ।

    प्रत्येक वर्ष गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा काली मार्सी धान स्थानीय सबैको सहयोगमा रोपाइ हुन्छ। जुम्ली काली मार्सी धानको उत्पत्ति १२ औँ शताब्दीमा भएको मानिन्छ। सन् १३०० मा गुरु चन्दननाथ बाबाले भारतको काश्मीरबाट काली मार्सी धानको बिउ ल्याई तातोपानीमा लछालकृति पैकलालाई तालिम दिई धान खेती विस्तार गरेको इतिहास छ।

    मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ। मार्सी धान खेतीले नेपालमा हुलाक स्थापना गर्न प्रेरणा दिइएको किंवदन्ती छ।

    जुम्ली किसानले उत्पादन गरेको मार्सी धानको चामल तत्कालीन राजा–रजौटालाई हुलाकबाटै पठाउन थालिएको थियो। जङ्गली धान भएकाले यसलाई काली मार्सी भनिएको जुम्लाका संस्कृतविद् रमानन्द आचार्यले बताए। जुम्लामा धान खेती बेँसी क्षेत्र (समुद्र सतहबाट २ हजारदेखि २२ सय मिटर) र उच्च क्षेत्र (समुद्र सतहबाट २८ सयदेखि ३ हजार मिटर) मा हुने गरेको छ।

  • एनआइसी बैंकको मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

    एनआइसी बैंकको मधेश प्रादेशिक कार्यालय आफ्नै भवनमा

    एनआइसी एसिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगन्ज शाखा कार्यालय वीरगञ्ज महानगरपालिका १० आदर्शनगरस्थित नवनिर्मित आफ्नै भवनबाट सञ्चालन गर्न थालेको छ।

    यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र विरगञ्ज शाखा यही नवनिर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ कारोबार सञ्चालन भइरहेको बैंकले जनाएको छ।

    नवनिर्मित भवनबाट ग्राहकले सम्पूर्ण किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ। साथै नवनिर्मित भवनमा क्यास डिपोजिट मेसिन, क्यास रिसाइकल मेसिन र डिजिटल बैंकिङ कारोबार गर्न बेग्लै हलसमेत सञ्चालनमा ल्याएको जनाएको छ।