Blog

  • ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

    ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा

    ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।

    माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले जानकारी दिए।

    ‘पूर्वी खण्डको काम सम्पन्न हुने चरणमा छ। ढल्केबर पश्चिम खण्डमा भने विभिन्न स्थानमा अझै पनि अवरोध छ। अवरोध हटाएर आयोजना सम्पन्न गर्न हामी लागिपरेका छौँ, ’ उनले भने।

    देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी डबल सर्किट प्रसारण लाइन आयोजना सुरु गरिए पनि स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगलगायत समस्याका कारण रुग्ण बन्दै आएको छ।

    पूर्वी खण्डको काम सम्पन्न भएपछि माथिल्लो तामाकोशीलगायत आयोजनाको बिजुली पूर्वी भागका औद्योगिक क्षेत्रमा मागअनुसार आपूर्ति गर्न सहज हुनेछ।

    मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सब स्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ दुई सय ८८ किलोमिटर छ। पूर्वी खण्डको काम प्रायः पूरा भएकाले उद्घाटनको तयारी भएको तथा त्यसनिम्ति ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई अनुरोध गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    प्रसारण लाइनलाई हेटौँडा–ढल्केबर एक सय ३४ किलोमिटर र ढल्केबर–इनरुवा एक सय ५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी विगत ११ वर्षदेखि काम जारी छ।

    पहाडी, शिवालिक चुरे र तराई क्षेत्रमा पर्ने प्रसारण लाइनका लागि सात सय ९२ वटा टावर निर्माण गर्नुपर्छ। धेरै जसो टावरको काम भए पनि स्थानीयवासीले प्रसारण लाइनको मार्ग स्थानान्तरण गरिदिन माग गर्दै अवरोध गरेका कारण बाँकी ३५ वटा टावरको काम नै रोकिएको छ।

    मोरङ–सुनसारी औद्योगिक करिडोरलगायत समग्र पूर्वी नेपालको माग धान्नका लागि भारतबाट थप विद्युत् आयात तथा वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् निर्यात गर्न यो प्रसारण लाइन जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण छ।

    प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले रणनीतिक महत्वका हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन सम्पन्न गर्न राज्यको सम्पूर्ण संयन्त्रले सहयोग नगर्ने हो ठूलो विपत् आउन सक्ने बताए। कूल ४००/२२० केभी क्षमताका तीनवटा सब स्टेसन निर्माण सम्पन्न भइसकेको छ।

    हेटौँडा उपमहानगरपालिका वडाहरू १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ। हटिया क्षेत्रमा १४, हेटाैँडा–११ स्थित थानाभर्‍याङमा दुई र जियाजोर क्षेत्रमा आठ वटा टावर निर्माणमा अवरोध छ।

    थानाभर्‍याङमा रहेको सब स्टेसनमा लाइन जडानका लागि दुई वटा टावर निर्माण गर्नुपर्नेछ। यसबाट ऐलानी जग्गामा बनेका ४६ वटाभन्दा बढी घर प्रभावित हुनेछन्।

    स्थानीयको अवरोध अन्त्य गर्न प्राधिकरणको निरन्तर प्रयास जारी छ। यद्यपि यसमा सफलता प्राप्त भएको छैन। प्रसारण लाइन मकवानपुरबाट बारा– रौतहट,–सर्लाही–महोत्तरी–धनुषा–सिराहा–उदयपुर–सप्तरी हुँदै सुनसरीको इनरुवासम्म निर्माण हुनेछ।

    प्रसारण लाइनको मार्ग परिवर्तनको माग गर्दै निर्माणमा स्थानीयको अवरोध, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रूख कटान स्वीकृतिको प्रक्रियागत उल्झन, ठेकेदारको कमजोर कार्यसम्पादनलगायत कारणले निर्माण प्रभावित भएको छ। कूल ३० महिनामा निर्माण सम्पन्न गर्ने २०६९ सालको माघमा ठेक्का सम्झौता भएको थियो।

    हेटौँडा–ढल्केबर–इनरुवा चार सय ४० केभी प्रसारण लाइन विद्यमान एक सय ३२ केभी प्रसारण लाइन र पूर्व–पश्चिम राजमार्गको नजिक र प्रायः समानान्तर छ। प्रसारण लाइनको मार्गाधिकार क्षेत्र प्रसारण लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ २३ मिटर हुनेछ।

    आयोजनाले पाँच सय १८ हेक्टर वन क्षेत्रमा रहेका रूखहरु काट्नुपर्ने र ३० हेक्टर निजी कृषियोग्य जमिम अधिग्रहण गर्नुपर्नेछ। मार्गाधिकारमा चार सय ७५ हेक्टर निजी जग्गा र एक सय ७१ वटा घर तथा अन्य संरचना प्रभावित हुनेछन्।

    कूल १७ करोड अमेरिकी डलर अनुमानित लागतको आयोजनामा नेपाल सरकार, विद्युत् प्राधिकरणको लगानी छ। यसअघि सो आयोजनाका लागि विश्व बैङ्कले सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो।

    विश्व बैङ्कले आयोजनाबाट हात झिकेपछिको ऋण प्रवाह रोकिएसँगै बाँकी काम सरकार र प्राधिकरणले पूरा गर्नुपर्नेछ।

  • संसद्को गरिमा खस्कँदै गयो, मर्यादाहीन बन्यो: पूर्व सभामुख सापकोटा

    संसद्को गरिमा खस्कँदै गयो, मर्यादाहीन बन्यो: पूर्व सभामुख सापकोटा

    नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओझ खस्कँदै गएको बताएका छन्।

    शनिबार काठमाडौंमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    संसद्मा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहिन, मर्यादाहीन भएको उनको भनाइ थियो। ‘संसद् कुनैपनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भएपनि संसद्मा राम्रोसँग संसदीय गतिविधिहरू सञ्चालन हुन सकेन।’ उनले भने।

    अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताउँदै उनले आगामी आर्थिक वर्षको बजेट कुनैपनि रोकटोक विनै संसद्मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको सुनाए।

    उनले भने ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल, पेचिलो परिस्थिति पैदा भएको छ। मलाई भर्खरै नयाँ बनेको समीकरणमा खासै त्यस्तो ठूलो समस्या छैन। तर पनि सदन सुचारु गर्नका लागि दिनदिनै छलफल चलिरहेको छ। अहिले पनि छलफल जारी छ। भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ। सकारात्मक वातावरण बनिरहेको भनिएको छ। कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ।’

    उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताउँदै विचारहीनको स्थिति सिर्जना भएको टिप्पणी गरे।

  • जर्मनीमा ३५ औं नेपाल दिवस मनाइयाे

    जर्मनीमा ३५ औं नेपाल दिवस मनाइयाे

    जर्मनीमा ३५ औं नेपाल दिवस (नेपाल डे) मनाइएको छ। शनिबार जर्मन नेपाल मैत्री संघले जर्मनीको कोलोन सहरमा विशेष कार्यक्रम आयोजना गरी नेपाल दिवस मनाएको हो।

    यस वर्ष ‘परिवर्तनको चाहना, के सपना मात्र हो ?’ नारासहित मनाइएको नेपाल दिवसमा नेपालको पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र पूर्वाधार विकासमा वक्ताहरुले जोड दिएका छन्।

    जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले प्रत्येक वर्ष हुने ‘नेपाल डे’ ले नेपाल र जर्मनीबीचमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनहरूबारे सूचना आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

    ‘जर्मनी र नेपाल सरकारले पछिल्लो समयमा कृषि उत्पादन, आईटी, भौतिकपूर्वधार विकास, दिगो शान्ति लगायतका क्षेत्रमा संयुक्त रुपमा मिलेर काम गरेको छ। यस कार्यक्रमले नेपाल र जर्मनीबीचको व्यापार, पर्यटन र संस्कृति लगायतका क्षेत्रमा थप महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।’ उनले भने।

    उनले यस कार्यक्रमबाट दुई देशबिचको सम्बन्ध प्रगाढ हुने जिकिर गरे। ‘यस्ता कार्यक्रमले भविष्यमा सकारात्मक र रचनात्मक कार्यक्रम गर्न थप हौसला मिल्नेछ।’ उनले भने।

    नेपालको लागि अवैतनिक महावाणिज्य दूत एवम् संघका अध्यक्ष रामप्रताप थापाले ‘नेपाल डे’ कार्यक्रमले नेपाल र जर्मनीबीचको सम्बन्ध बलियो बनाउन औजारको रुपमा स्थापित भएको बताए।

    उनले विगत ३५ वर्षदेखि निरन्तर जर्मनीमा मनाउँदै आएको कार्यक्रमलाई सुरुका दिनदेखि सहयोग गर्नेहरू प्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा ‘नेपाल डे’ लाई थप परिष्कृत गर्दै लैजानेमा जोड दिए।

    नेपालका लागि जर्मनी राजदूत डा. थोमस प्रिन्सले शुभकामना सन्देशमार्फत ‘नेपाल डे’ कार्यक्रमले नेपाल जर्मनीबीचको सम्बन्धमा कोषेढुंगा साबित हुने बताए। जर्मनीले नेपालको विभिन्न विकासमा सहयोग गरेको स्मरण गर्दै उनले आगामी दिनमा नेपालको विकासमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

    कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने एक शुभकामना सन्देश मार्फत ‘नेपाल डे’ कार्यक्रमले नेपालको पर्यटन प्रवर्धनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रमले संस्कृति आदान प्रदान र व्यापार प्रवर्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ।

    कार्यक्रमका कलाकारहरूले नेपालको लोक संस्कृति झल्किने लोक नृत्य तथा विशेष संस्कृति कार्यक्रमको प्रस्तुति दिएका थिए।

    कार्यक्रममा नेपाली तथा जर्मन पर्यटन व्यवसायी, गैर आवासीय नेपालीहरू, डाक्टर, इन्जिनियर, लेखक, अनुसन्धानकर्ता, दोस्रो पुस्ताका युवा, पत्रकार, कलाकारहरू, समाजसेवी सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

  • कांग्रेसको अवरोध हटाउँछौँ, संसद्लाई बन्धक बन्न दिँदैनौँ: उपाध्यक्ष पौडेल

    कांग्रेसको अवरोध हटाउँछौँ, संसद्लाई बन्धक बन्न दिँदैनौँ: उपाध्यक्ष पौडेल

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसको अवरोध हटाएर संसद्लाई अगाडि बढाउने बताएका छन्।

    नेकपा (एमाले) चितवनको ११ औँ अधिवेशनलाई उद्घाटन गर्दै पौडेलले यस्ताे दाबी गरेका हुन्। कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएको भन्दै उनले त्यसलाई पन्छाएर अगाडि बढ्ने बताए।

    ‘कांग्रेसले बहुमतलाई बन्धक बनाएको छ। संसद्मा अलोकतन्त्रको हद देखायो। कुनै मर्यादा राखेन, सत्ता पक्षको ठाउँमा आएका हुलहुज्जत गर्‍यो,’ उनले भने, ‘कांग्रेसको अवरोधलाई हटाएर भएपनि संसद् बन्धक बनाउन दिँदैनौँ।’

    उनले कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो नहुने समेत जिकिर गरे। उनले कांग्रेस संसद्मा अलोकतान्त्रिक रूपमा अगाडि बढेको दाबी गरे। ‘कांग्रेसको भविष्य छैन’ उनले भने ‘आउने निर्वाचनमा कांग्रेसलाई प्रतिपक्षमा राख्छौँ।’

    उनले आगामी चुनावमा कांग्रेसलाई जसरी भएपनि परास्त पार्ने बताए। उनले २०८४ को चुनावसम्म यही गठबन्धन रहने दाबी गरे।

    ‘नेपाली कांग्रेस प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छै’, उनले भने ‘यस पटक कांग्रेसलाई प्रतिपक्षमा राखेर आउने निर्वाचनमा हामीले बहुमत ल्याउँछौ।’

  • नेपलले २४ खर्ब सार्वजनिक ऋण तिर्न बाँकी

    नेपलले २४ खर्ब सार्वजनिक ऋण तिर्न बाँकी

    मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

    साथै चालु आर्थिक वर्षको १० महिनामा ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो।

    ‘चालु आर्थिक वर्ष २०८०/८१ को सुरुमा कूल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा २०८१ वैशाख मसान्तसम्ममा ९८ अर्ब आठ करोड थप प्राप्त भई कूल ऋण २३ खर्ब ९७ अर्ब रहेको छ’, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनमा उल्लेख छ, ‘चैत महिनाको तुलनामा कूल सार्वजनिक ऋण ११ अर्ब ६४ करोड थप भएको छ। कूल गार्हस्थ्य उत्पादनका आधारमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ।’

    गत वैशाख मसान्तसम्मको कूल सरकारी ऋणमा आन्तरिक ऋणको दायित्व ११ खर्ब ८४ अर्ब ४८ करोड बराबर रहेको छ। यो अवधिसम्मको आन्तरिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को २० दशमलव ७६ प्रतिशत प्रतिशत बराबर हो।

    त्यस्तै बाह्य ऋण दायित्व १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको छ। जिडिपी अनुपातमा बाह्य ऋणको दायित्व २१ दशमलव २६ प्रतिशत बराबर हो।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारले कूल दुई खर्ब ६४ अर्ब ६३ करोड बराबर ऋण उठाउँदा एक खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख बराबर साँवा ब्याज भुक्तानी गरेको छ।

    यो अवधिमा सरकारले उठाएको ऋणमध्ये आन्तरिक ऋण एक खर्ब ९१ अर्ब र बाह्य ऋण ७३ अर्ब ६३ करोड बराबर हो। त्यस्तै, साँवा ब्याज भुक्तानीतर्फ आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीमा एक खर्ब ३५ अर्ब ६२ करोड र बाह्य ऋणको साँवा ब्याजतर्फ ३० अर्ब ९३ करोड बराबर भुक्तानी भएको छ।

    गत वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८ दशमलव ४५ प्रतिशत बराबर ऋण उठाइएको पनि कार्यालयले जनाएको छ।

    ‘चालु आर्थिक वर्षमा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा वैशाख मसान्तसम्ममा दुई खर्ब ६५ अर्ब ऋण प्राप्ति भएको छ’, कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ५८ दशमलव ४५ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ७९ दशमलव ५८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ३४ दशमलव ६१ प्रतिशत रहेको छ।’

    चालु आर्थिक वर्षका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि तीन खर्ब ३० अर्ब बराबर वार्षिक बजेट विनियोजन भएको थियो। वैशाख मसान्तसम्ममा दुई खर्ब २२ अर्ब बराबर भुक्तानी भएको छ। यो वार्षिक विनियोजनका आधारमा ७० दशमलव ५७ प्रतिशत बराबर हो।

  • ‘केपी’ भेरियन्ट: कम घातक, बढी सङ्क्रामक

    ‘केपी’ भेरियन्ट: कम घातक, बढी सङ्क्रामक

    नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ।

    सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताएका हुन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको थियो।

    ‘यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घ रोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्छ।’

    कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिने सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ।

    ‘केपी१’ १२ जनामा, ‘केपी २’ १७ जनामा, ‘केपी ३’ र ‘केपी ४’ एक/एक जनामा देखिएको थियो।

  • रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

    रुपन्देहीको बुटवल र तिलोत्तमामा भएको छुट्टा छुट्टै मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

    दुर्घटनामा परी घाइते भएका तिलौत्तमाका विवेक डुम्रे र सैनामैनाका गोविन्द अर्यालको उपचारका क्रममा आज बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

    तिलोत्तमा नगरपालिका-६ का २४ वर्षीय विवेक डुम्रेले चलाएको लु ३१ प १६४२ नम्बरको मोटरसाइकल शुक्रबार राती बुटवल–भैरहवा ६ लेन सडकको ड्राइभरटोलमा दुर्घटना भएको थियो।

    दुर्घटनामा गम्भीर घाइते भएका डुम्रेको उपचारकै क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

    गएराती नै बुटवल उपमहानगरपालिका-२ जितगढीमा मोटरसाइकल दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको छ।

    प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पल्टिदा चालक सैनामैना नगरपालिका-४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

    दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको हो।

  • फरार सांसद बस्नेत र गृहमन्त्री लामिछानेको सहकारी मुद्दामा के समानता छ ?

    फरार सांसद बस्नेत र गृहमन्त्री लामिछानेको सहकारी मुद्दामा के समानता छ ?

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेतले सहकारीको रकम निजी कम्पनीमा लगेर हिनामिना गरेको भेट्टाएपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रहरी पक्राउ पुर्जीको अनुमति माग्दै जिल्ला अदालत पुग्यो। वैशाखको तेस्रो साता अदालतले प्रहरीलाई पक्राउ पुर्जी पनि दियो।

    त्यसयता सांसद बस्नेत फरार छिन्। यसै बीचमा प्रहरीले कावासोतीस्थित छिपछिपे बचत तथा ऋण सहकारी संस्थामा भएको सर्वसाधारणको बचत रकम हिनामिनाको अनुसन्धान सकाएको छ। शुक्रबार मात्रै नवलपुर प्रहरीले फरार सांसद बस्नेतलाई मुख्य प्रतिवादी बनाइ मुद्दा चलाउनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ।

    प्रहरीले सांसद बस्नेतसहित १२ जनालाई मुख्य प्रतिवादी किटान गरेको छ भने, ३५ जनाविरुद्ध बिगो, कैद र जरिवानाको मागदाबी गरेको छ ३५ मध्ये १० जना प्रहरीको हिरासतमा छन् भने, सांसद बस्नेतसहित बाँकी फरार छन्। उनीहरूबाट १६ करोड ५६ लाख ९१ हजार ३१ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

    सांसद बस्नेतले सहकारी ऐन २०७४ को दफा १२२ को (त) बमोजिम कसुर गरेको पुष्टि भएको प्रहरीको दाबी छ। जसमा ‘सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याउने उद्देश्यले कसैले कुनै काम गराउन वा नगराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन, बिना मूल्य वा कम मूल्यमा कुनै माल, वस्तु वा सेवा लिन वा दिन, दान, दातव्य, उपहार वा चन्दा लिन वा दिन, गलत लिखत तयार गर्न वा गराउन, अनुवाद गर्न वा गराउन वा गैरकानुनी लाभ वा हानि पुर्‍याउने बदनियतले कुनै कार्य गरे वा गराएमा’ कसुर गरेको मानिने उल्लेख छ।

    सांसद बस्नेतको हकमा उक्त कसुर आकर्षित भएको भन्दै ऐनको दफा १२४ को उपदफा (१) (घ) बमोजिम बिगो भरी सजायको मागदाबी प्रहरीले गरेको छ।

    जसमा ‘१० लाख रुपैयाँसम्म बिगो भएमा एक वर्षसम्म कैद, १० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म बिगो भएमा दुई वर्षदेखि तीन वर्षसम्म कैद, ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म बिगो भएमा तीन वर्षदेखि चार वर्षसम्म कैद, एक करोड रुपैयाँभन्दा बढी १० करोड रुपैयाँसम्म बिगो भएमा चार वर्षदेखि ६ वर्षसम्म कैद, १० करोड रुपैयाँभन्दा बढी एक अर्ब रुपैयाँसम्म बिगो भए ६ वर्षदेखि आठ वर्षसम्म कैद र एक अर्बभन्दा बढी जतिसुकै रुपैयाँ बिगो भए पनि आठ वर्षदेखि १० वर्षसम्म कैद’ हुने व्यवस्था छ। सांसद बस्नेतले छिपछिपेबाट कृष्णसार रिसोर्टमा लगानी गर्न करिब एक करोड लगेको खुलेको छ।

    नवलपरासी प्रहरीका अनुसार सांसद बस्नेतमाथि सहकारीको सञ्चालक, बचतकर्ता वा सदस्य भएकाले मुद्दा चलाउने निर्णय भएको होइन, सहकारीको रकम कृष्णसार रिसोर्टमा लगेर हिनामिना गरेका कारणले प्रतिवादी बनाइएको हो। बस्नेतले कृष्णसार रिसोर्टमा चितवनको सनसाइन सहकारी, बर्दियाको नमस्ते सहकारीबाट पनि ऋण ल्याएकी छन्।

    यहीकुरालाई अहिले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति मागिरहेका प्रतिपक्षी दलले नजीरका रुपमा उठाइरहेका छन्। केही दिनअघि पत्रकार सम्मेलन गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्याख्या नै गरेका थिए।

    ‘यो ठ्याक्कै राष्ट्रिय प्रजातन्त्र पार्टीको सांसद गीता बस्नेतसँग मिल्छ। उहाँ अहिले फरार हुनुहुन्छ। उहाँ कृष्णसार रिसोर्टको लगानीकर्ता हुनुहुन्छ,’ उनले भनेका थिए,‘ठ्याक्क रविजीले भनेजस्तो उहाँ पनि कृष्णसार रिसोर्ट चलाइराख्नुभएको छ। यहाँ तीनवटा सहकारीको नाम छ, उहाँ कुनै पनिलाई चिन्नुहुन्न। तर, उहाँको खातामा टनटन गरेर पैसा आउँछ। अहिले सहकारी डुब्छ। सहकारी डुबेपछाडि पैसा कहाँ गयो भन्दा कृष्णसार रिसोर्टमा गयो। सहकारीकालाई समाउँछ। सहकारीवालालाई मात्र होइन रिसोर्ट कसले चलाउँछ ? भन्दा गीता बस्नेत, अदालत भन्छ, होइन यही ऐनको दफा १२२ ले गीता बस्नेत पनि दोषी भएकोले पक्राउ गर भनेर पक्राउ पुर्जी दिन्छ।’

    सोही दिन संसद्‌मा गृहमन्त्री लामिछाने आफूमाथि कानुन नलाग्ने भनेर बोलिरहँदा आफू सांसद बस्नेतको सिट हेरिरहेको महामन्त्री थापाले बताए। ‘यही संसद्, यही भित्रको एक माननीय, यही कानुनले गर्दाखेरी आज संसद्‌मा उपस्थित हुन पाउनुभएन,’ उनले अगाडि भनेका थिए।

    महामन्त्री थापाले भनेजस्तै गृहमन्त्री लामिछाने र फरार सांसद बस्नेतको मुद्दामा लगभग समानता छ। जस कारण लामिछानेमाथि पनि बस्नेतको जस्तै अभियोजन हुनसक्ने अवस्था रहेको जानकारहरू बताउँछन्।

    लामिछाने गोर्खा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी फोरके टेलिभिजनमा प्रबन्ध निर्देशक (एमडी) भएकै बेला पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट झण्डै ९५ करोड बढी ऋण आएको छ। ती सहकारीबाट आएको रकममा स्वयम् लामिछानेले नै ल्याएको सम्मका विवरण आइरहेका छन्।

    सोही बेला लामिछाने गोर्खा मिडियाका १५ प्रतिशत सेयर लगानीसहित सञ्चालक समेत थिए। यद्यपि उक्त सेयरबारे उनले नेपालको कानुनले नचिन्ने कुरा दाबा गर्दै आएका छन्।

    यस्तोमा एकै प्रकृतिका मुद्दामा सांसद बस्नेतमाथि अभियोजनको तयारी हुँदै गर्दा गृहमन्त्री लामिछाने भने आफ्नो पक्षमा प्रधानमन्त्री, प्रहरी प्रमुख महान्यायाधिवक्ता कार्यालयलाई उभ्याएर बोलाइरहेका छन्।

    लामिछानेका पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌ को रोष्टममै उभिएर बोल्दा संसदीय समितिमा पुगेर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त कुँवरले बयान दिएका छन्। महान्यायाधिवक्ता कार्यालयले विवादित ‘क्लिन चिट’ पत्र नै थमाएको छ। उता सत्ता साझेदार ठुलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोडतोडका साथ लागेका छन्।

    यो बुझेको प्रतिपक्षले संसदीय छानबिन समितिको माग गरेर संसद् अवरोध गरिरहेको छ। पछिल्लो समय सत्तापक्ष संसदीय समिति बनाउन तयार भएको बताए पनि समितिको क्षेत्राधिकार (टिओआर) मा सहमति जुट्न सकेको छैन।

    सत्ता पक्षीय कार्यदलका सदस्यहरू गृहमन्त्री लामिछाने र उनी संलग्न गोरखा मिडिया प्रणालीमा ऋण दिएका सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारालगायतका सहकारीका नाम नै राख्न नहुने अडानमा छन्। कांग्रेस भने ती सहकारी र गोरखा मिडिया प्रणालीमा संलग्न लामिछानेमाथि छानबिन हुनुपर्ने अडानमा छ।

  • दुई दिन धुलिखेल–खावा सडक खण्ड बन्द

    दुई दिन धुलिखेल–खावा सडक खण्ड बन्द

    अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ। सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।

    सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) आजदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो।

    राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै आज र भोलि बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इन्जिनियर सुमन बस्नेतले जानकारी दिए।

    बैठकको निर्णयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए।

    बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। सो समय अवधिमा काठमाडौं-बनेपा हुँदै पाँचखालतर्फ जाने सवारी साधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ। उनका अनुसार साना सवारी साधनका लागि बनेपा चारदोबाटो-रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रुपमा व्यवस्था गरिएको छ।

    साना सवारीसाधनका लागि बिपी राजमार्ग-तिनपिप्ले-पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौँतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो–कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए।

    उक्त स्थान (धुलिखेल र पाँचखाल) चोकमा रोकिएका सबै सवारी साधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ। यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो। साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो।

    ‘जेठ ८ र ९ गते आवागमन बन्द गरेर काम गर्दा कामको प्रगति धेरै भएको थियो। साथै १० र ११ गते नियमित आवागमन सञ्चालन गरी काम गर्दा कामले गति लिन सकेको थिएन’, सूचना अधिकारी बस्नेतले भने। सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनःदुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए।

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका- २ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडक खण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ।

    बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमि बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक- २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए। उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उहाँले जानकारी दिए। –रासस

  • दुई दिन धुलिखेल–खावा सडक खण्ड बन्द

    दुई दिन धुलिखेल–खावा सडक खण्ड बन्द

    अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ। सडक स्तरोन्नति जारी रहेकाले आज र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो।

    सडक डिभिजन कार्यालय भक्तपुरले शुक्रबार सूचना जारी गर्दै उक्त खण्ड भएर यात्रा गर्ने यात्रु र सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

    सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ, सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै अरनिको राजमार्ग (धुलिखेल–जिरोकिलो–खावा खण्ड) आजदेखि दुई दिन दिउँसोको समयमा बन्द रहने जनाएको हो।

    राजमार्गको धुलिखेल जिरोकिलो–खावा खण्डमा थप मर्मत तथा विस्तार गर्नका लागि जिल्ला समन्वय समिति, सरोकार भएका निकाय तथा स्थानीयबीच यही जेठ ७ गते उक्त खण्ड दुई दिनसम्म बन्द गर्ने निर्णय भएसँगै आज र भोलि बन्द गरी स्तरोन्नति थालिएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी एवं इन्जिनियर सुमन बस्नेतले जानकारी दिए।

    बैठकको निर्णयअनुसार आज बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म र भोलि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दमकल, एम्बुलेन्स, शववाहन र सुरक्षा निकायका सवारी साधनबाहेक सबै किसिमका यातायात सञ्चालन पूर्णरुपमा बन्द रहने उनले जानकारी दिए।

    बन्द अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यलाई सहयोग गरिदिन सडक डिभिजन कार्यालयले आग्रह गरेको छ। सो समय अवधिमा काठमाडौं-बनेपा हुँदै पाँचखालतर्फ जाने सवारी साधनका लागि होराइजन होटल हुँदै आगन्तुक होटल–रविओपी हुँदै पाँचखालको बाटो प्रयोग गर्न आग्रह सूचना अधिकारी बस्नेतको भनाइ छ।

    उनका अनुसार साना सवारी साधनका लागि बनेपा चारदोबाटो-रविओपी हुँदै पाँचखालको बाटोलाई वैकल्पिक मार्गका रुपमा व्यवस्था गरिएको छ।

    साना सवारीसाधनका लागि बिपी राजमार्ग-तिनपिप्ले-पाँचखालको बाटो वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न र दोलालघाट पाँचखाल हुँदै काठमाडौँतर्फ जाने सबैखाले सवारीसाधनका लागि जिरोकिलो–कुन्ताबेंसी नगरकोट सडक प्रयोग गर्न आग्रह गरिएको सूचना अधिकारी बस्नेतले बताए।

    उक्त स्थान (धुलिखेल र पाँचखाल) चोकमा रोकिएका सबै सवारी साधनलाई बन्द अवधिपछि मात्र छोडिने सडक विभागले जनाएको छ। यसअघि जेठ ८ र ९ गते दुई दिन सडक विभागले यसरी नै सवारीसाधनलाई वैकल्पिक सडकको व्यवस्था गरी स्तरोन्नतिको काम गरेको थियो। साथै जेठ १० र ११ गते सडक नियमित सञ्चालन गरी स्तरोन्नतिको काम गरिएको थियो।

    ‘जेठ ८ र ९ गते आवागमन बन्द गरेर काम गर्दा कामको प्रगति धेरै भएको थियो। साथै १० र ११ गते नियमित आवागमन सञ्चालन गरी काम गर्दा कामले गति लिन सकेको थिएन’, सूचना अधिकारी बस्नेतले भने। सडक बन्द गरी काम गर्दा प्रगति धेरै भएको पाइएकाले जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनः दुई दिन उक्त खण्ड बन्द गरी कामलाई तीव्रता दिइएको उनले जानकारी दिए।

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका- २ स्थित पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङभित्रका सडक खण्डअन्तर्गत सिन्का फ्याक्ट्री मुसेखोल्सामा सोमबारदेखि ढलान कार्य सुरु हुने भएकाले सो सडक भएर आवतजावत गर्ने प्रयोगकर्तालाई वैकल्पिक बाटो प्रयोग गर्न वडा कार्यालयले आग्रह गरेको छ।

    बेथानचोक गाउँपालिकाको गौरवको कार्यक्रममार्फत प्रत्येक वर्ष पाँच किमि बाटो कालोपत्र गर्ने योजनाअनुसार चालु आर्थिक वर्षको कार्यक्रम पाट्नेखोला साँघुको मुखबाट ग्वाभञ्याङसम्म सञ्चालन हुने सडकखण्ड परेको सार्वजनिक सूचना जारी गर्दै जानकारी दिइएको बेथानचोक- २ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले बताए।

    उक्त सडकखण्ड भएर सञ्चालित सवारीसाधनका लागि वैकल्पिक मार्ग बसपार्क–बादुरेमुडा–डाँडाघर खण्ड प्रयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए।