Blog

  • थाई एयरवेजको उडान पुनः सुरु

    थाई एयरवेजको उडान पुनः सुरु

    थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको छ। थाई एयरवेजले सन् १९६८ मा बैंककदेखि कलकत्ता हुँदै काठमाडौंसम्मको उडानमार्फत नेपालमा आफ्नो वायु सेवा सुरु गरेको थियो। एयरवेजको आधा शताब्दी लामो यात्रामा कोभिड महामारीका कारण मार्च २०२२ मा रोकिएको थियो।

    नेपालमा पुनः उडान सञ्चालन भएको डेढ महिनाभित्रै राम्रो प्रतिक्रिया प्राप्त गरेपछि थाई एयरवेजले १५ डिसेम्बर २०२३ मा दोस्रो दैनिक उडान सुरु गरेको जनाएको छ।

    थाई एयरवेजका डिरेक्टर अफ सेल्सखुन विट किचाथोर्नले काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको र यसले नेपाललाई थाइल्यान्ड लगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्ने बताए।

    सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका एक्जुकेटिभ चेयरम्यान र आरआर ग्रुप अफ कम्पनीका ग्रुप चेयरम्यान रविचन्द्र सिंहले काठमाडौं र बैंककलाई उडानमार्फत जोड्दै सेवाहरू पुनः सुरु गर्न पाउँदा भएको उल्लेख गर्दै सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य खोज्ने यात्रुहरूका लागि नेपाल सधैं लोकप्रिय गन्तव्य भएको बताए।

  • सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

    सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन

    काठमाडौं महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौं उपत्यकामा सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई सूचना अधिकारी तोक्न निर्देशन दिएको छ।

    महानगरको सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम कामपाले यही जेठ १४ गतेभित्र सूचना अधिकारी तोकेर महानगरपालकालाई जानकारी गराउन निर्देशन पनि दिएको हो।

    महानगरपालिका शिक्षा विभागप्रमुख गोविन्दप्रसाद शर्माका अनुसार कामपाले यसअघि पनि शैक्षिक सङ्घसंस्थालाई सूचना अधिकारी तोकेर विभागका पठाउन आग्रह गरेको तर कामपाको आग्रहअनुसार केही विद्यालयले मात्र सूचना अधिकारी तोकेको जानकारी प्राप्त भएकाले पुनः निर्देशन दिइएको हो।

    सूचना अधिकारी तोक्दा संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्ति हुनुपर्नेछ। हाल महानगरपालिकामा ८७ सामुदायिक विद्यालय सञ्चालनमा छन् भने ६ सय संस्थागत विद्यालय छन्।

    यसअघि महानगरपालिका क्षेत्रमा सञ्चालित सहकारीहरूले सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराएका छन्।

    यसैबीच, गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवेदन गरेकालाई स्थानीय विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम दिइने भएको छ।

    महानगरपालिकाले २०८१ सालको शुभारम्भमा दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएकामा आवेदन गरेका सबैलाई तालिम दिन लागेको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाले बताए। उनले भने, ‘६० हजार बढीले फाराम भर्नुभएको छ, त्यसबाट छनोट गरेर वा कागजात पूरा गरेका सबैलाई तालिम दिइनेछ।’

    महानगरपालिकाले सम्बन्धित क्याम्पस र विद्यालयहरूसँग सम्झौता गरिसकेको छ। फाराम भरेकामध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्रमा प्रशिक्षण दिइनेछ।

  • छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा नवजात शिशुसहित ३३ जनाको मृत्यु

    छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा नवजात शिशुसहित ३३ जनाको मृत्यु

    भारतको विभिन्न स्थानमा शनिवार भएको आगलागीमा परी ३३ जनाको मृत्यु भएको छ। पूर्वी दिल्लीको विवेक विहार क्षेत्रमा शनिवार एउटा बच्चाको अस्पतालमा आगलागी हुँदा ६ जना नवजात शिशुको मृत्यु भएको छ।

    दिल्ली प्रहरीका अनुसार राति करिब ११ः३२ तिर अस्पतालमा आगो लागेको थियो।

    प्रहरीले आगलागी पछि १२ जना नवजात शिशुको उद्धार गरिएको र उपचारको क्रममा ६ जनाको मृत्यु भएको बताएको छ। अन्य ६ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ।

    हालसम्म अस्पतालमा भएको आगलागीको कारण खुल्न सकेको छैन।

    यस्तै, भारतको गुजरातस्थित राजकोटमा भएको आगलागीमा परी २७ जनाको मृत्यु भएको छ।

    राजकोटस्थित गेमजोनमा भएको आगलागीका कारण मृत्यु हुनेमा ९ जना बालबालिका पनि रहेका छन्।

  • लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी

    लागुऔषध तस्करी नरोकिँदा बढे दुर्व्यसनी

    गत वैशाख २७ गते अछामको तुर्माखान गाउँपालिका- ८ का कमल विकलाई प्रहरीले बुटवलबाट लागु औषधसहित नियन्त्रणमा लियो। बुटवलको कालिकानगरमा वैदवार फार्मेसी सञ्चालन गर्दै आएका विकले औषधि पसलबाटै औषधिजन्य लागुऔषध कारोबार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

    डाक्टरको सिफारिसबिना बेच्न नपाइने विभिन्न औषधिको मात्रा मिलाएर लागु औषध बनाई युवाहरूलाई बिक्री गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

    उनको पसलबाट लागुऔषध खरिद गरी बेचबिखन गर्ने अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका- १३ का ओमप्रकाश गैरे, देवदह- ७ का किरण दर्जी र बुटवल- २ का मनीष विक छन्।

    प्रहरीले विकको पसलबाट ठुलो मात्रामा औषधीजन्य लागु औषध बरामद गरेको छ। विकले नेपालमा बेच्न प्रतिबन्ध लगाइएका तथा चिकित्सकको प्रेस्क्रिप्सनबिना किनबेच गर्न नपाइने औषधि भारतीय बजार सुनौलीबाट अवैध रूपमा ल्याउने र ती औषधि मिसाएर लागु औषधका रूपमा बेच्ने गरेको पाइएको छ।

    सिद्धार्थनगर नगरपालिका- १ बेलहियाका विजय गुप्ता र उनकी श्रीमती मञ्जु गुप्ता वैशाख ३१ गते ठुलो परिमाणको लागु औषधसहित आफ्नै घरबाट पक्राउ परे। भैरहवास्थित बेलहिया नाकानजिकै रहेको गुप्ता दम्पतीको घरबाट प्रहरीले १ केजी ७५० ग्राम चरेस, आइपिपिएल ३२५ एम्पुल, डाइजेपाम १४१ एम्पुल, स्पास्मो ४८७ क्याप्सुल, नाइट्रोभेट ३४ ट्याब्लेट, कोरेक्स, फेनारगन २३० एम्पुल बरामद गरेको छ।

    ती दम्पतीले भारतीय बजारबाट लागु औषध तस्करी गरी घरबाटै बेचबिखन गरेको सूचनाका आधारमा प्रहरीले सोमबार छापा मारेको थियो। ती दम्पतीले आफ्नै घरलाई लागु औषधको गोदाम बनाएर बेचबिखन गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी मनोहरप्रसाद भट्टले बताए।

    गत महिना मायादेवी गाउँपालिकाको रमवापुरबाट ३२ वर्षका अखिलेश यादव र अर्का एकजना १५ वर्षे किशोरलाई प्रहरीले ब्राउन सुगरसहित पक्राउ गर्‍यो। गत चैतमा रूपन्देहीको रोहिणीस्थित रामनगर भन्ने स्थानबाट रोहिणीकै तीनजना युवा ब्राउन सुगरसहित समातिए।

    १९ वर्षे अनरजित यादव, आशिष धोबी र २९ वर्षका सहदेव हरिजनको साथबाट ७५ ग्राम ४१० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। भारतीय बजारबाट लागु औषध ल्याएर बेच्ने र गाउँका युवालाई दुर्व्यसनीमा लगाउने गिरोहले हैरान पारेको भन्दै स्थानीयले प्रहरीलाई सूचना दिएका थिए।

    त्यसको एक साता पनि नबित्दै रोहिणीबाटै प्रहरीले स्थानीय दुईजना युवालाई फेरि ब्राउन सुगरसहित समात्यो। गत साउनमा रूपन्देहीको सालझन्डीबाट प्रतीक थापा, सुनिल थारू, जितबहादुर दर्लामी र दिनेशकुमार पुनः ब्राउन सुगरसहित पक्राउ परेका थिए। उनीहरूका साथबाट स्थानीय युवायुवतीलाई बेच्न ठिक्क पारिएको ब्राउन सुगरको ३२ वटा पुरिया प्रहरीले बरामद गरेको थियो।

    लागु औषध तस्करी, किनबेच तथा दुर्व्यसनीका यी केही प्रतिनिधिमूलक घटना मात्र हुन्। रूपन्देहीमा पछिल्लो १० महिनामा ७३ वटा लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चालु आवको साउनदेखि वैशाखसम्ममा ११२ जना लागु औषध मुद्दामा पक्राउ परेको बताए। पक्राउ पर्नेमा १४-१५ वर्षका किशोरदेखि ५० वर्षका अधबैंसे पनि छन्। गत आव २०७९-८० मा ७८ वटा मुद्दामा १३६ जना पक्राउ परेका थिए।

    अघिल्लो वर्षको तुलनामा यो वर्ष लागु औषधसम्बन्धी मुद्दाको संख्या केही घटेको देखिन्छ। तर लागु औषध ओसारपसार नियन्त्रण तथा दुर्व्यसनी रोकथाममा उल्लेख्य कमी आउन सकेको छैन।

    प्रहरीले मुख्य र सहायक नाकाको चेकजाँचमा कडाइ गर्दा तस्करले रातसाँझको समयमा खेतखलियानबाट लागु औषध बोर्डर कटाउने गरेको स्रोतको दाबी छ। तर डिएसपी भट्ट भने अन्यत्रभन्दा रूपन्देहीमा लागुऔषधसम्बन्धी घटना निकै कम भएको दाबी गर्छन्।

    लागु औषध प्रयोगकर्ताका अनुसार सीमावर्ती भारतीय बजार सुनौलीलाई लागु औषधका तस्कर र दुव्र्यसनीले सुनौलो बजारका रूपमा लिन्छन्। किनभने सुनौलीका औषधि पसल तथा भित्री गल्लीका किराना पसलमा समेत लागुऔषध सजिलै किन्न पाइन्छ।

    जहाँ ब्राउन सुगर, स्पास्मो, नाइट्रोसन, टिडिजेसिक फेनारगन, फेन्साडिल, डाइजेपाम, नुफिन, लुपिजेसिकजस्ता औषधिजन्य लागुऔषध सस्तो मूल्यमा बिक्री हुन्छ। सुनौली आसपासका गाउँ फरेना, कैलाशनगर र कालिमन्दिर विगतदेखि नै ब्राउन सुगर बिक्रीको अखडाकै रूपमा चिनिन्छ।

    भारतीय बजारमा सस्तोमा सजिलै किन्न पाइने तीनै नसाजन्य औषधि र ब्राउन सुगर तस्करले प्रहरीको आँखा छलेर सहायक नाका तथा खुला स्थानबाट नेपाल भित्र्याउँछन्। नेपालबाट पनि ठुलो परिमाणमा गाँजा र चरेस भारतीय बजारमा पुग्छ।

    केही वर्षअघिसम्म लागु औषधका तस्करले सीमाक्षेत्रका बेरोजगार युवा, दुर्व्यसनी तथा मेला मजदुरी गर्नेहरूलाई प्रलोभनमा पारेर लागुऔषध तस्करीमा लगाउँथे। तर भरिया बनाइएकाहरूलाई नेपाल प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि भारतीय बिक्रेताले आफ्ना एजेन्टमार्फत लागु औषध बोर्डर कटाइदिन थालेको नाका क्षेत्रका स्थानीय बताउँछन्। कतिपय एजेन्टले त विगतदेखि नै नेपाल–भारत दुवैतिर लाइन मिलाएरै तस्करी गर्ने गरेको उनीहरूको दाबी छ।

    लागु औषधको धन्दा चलाएकाहरूको पहिलो टार्गेट स्कुल कलेज पढ्ने युवायुवती हुन्। लागुऔषध ओसारपसारका घटनामा कानुन कठोर भए पनि नियन्त्रणका उपाय भने प्रभावकारी देखिएका छैनन्। प्रहरीले ओसारपसारमा संलग्न साना भरिया समाते पनि मुख्य नाइके तथा कारोबारी पक्राउ परेका घटना बिरलै भेटिन्छन्।

    पक्राउ पर्नेहरू पनि सुरक्षाका थुप्रै युनिटलाई छलेर बुटवल, पाल्पा, नवलपरासी पुगेपछि बल्ल समातिएका घटना पनि छन्। सुनौली र आसपासका क्षेत्रबाटै खुलमखुला लागुऔषध किनबेच तथा ओसारपसार भइरहँदा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा चासो दिएको देखिँदैन।

    सीमापारिबाट हुने सहज आपूर्ति र जनचेतनाको अभावका कारण नेपालमा दुव्यर्सनीको संख्या घट्न नसकेको सरोकारवाला बताउँछन्। दुर्व्यसनीविरुद्ध सुमदाय स्तरमा चेतनामूलक कार्यक्रम पुर्‍याउनुपर्ने र लागुऔषधको सहज उपलब्धतालाई रोक्नुपर्ने बताउँछन् रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष राजकुमार गुप्ता। लागु औषध ओसारपसार नियन्त्रणका लागि सीमाक्षेत्रमा दुई देशको सुरक्षा संयन्त्रबीच बलियो सहकार्य हुनुपर्नेमा पनि उनले जोड दिए।

    दुव्यर्सनी एउटा व्यक्ति वा परिवारका लागि मात्रै नभई समाज र राष्ट्रकै लागि घातक रोग भएकाले यसको रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र निजी क्षेत्र सबैको सहकार्य हुनुपर्ने उनले बताए।

    ‘वडा तहदेखि नै दुव्यर्सनीले निम्त्याउने विनाशबारे समाजका हरेक वर्गलाई सुसूचित गर्न आवश्यक छ। स्कुल, कलेजमा विद्यार्थी र अभिभावकका लागि अवेरनेसका कार्यक्रम गरिनुपर्छ,’ युवा व्यवसायीसमेत रहेका गुप्ताले भने।

    प्रहरीको एक्लो प्रयासले मात्रै लागु औषध नियन्त्रण सम्भव नहुने भन्दै उनले स्थानीय सरकार, प्रहरी, नागरिक समाज, प्याब्सनलगायत सामाजिक संघसंस्थाको सहकार्यमा दुव्यर्सनी रोकथाम गर्न सम्भव हुने बताए।

    लागुऔषध ओसारपसार तथा तस्करी रोक्न रूपन्देही प्रहरीले स्कुल-कलेजका विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग अन्तरक्रिया छलफल कार्यक्रम गरी सन्देश प्रवाह गरिरहेको डिएसपी भट्टले बताए।

    लागुऔषध ओसारपसार नियन्त्रण तथा दुव्यर्सनी रोकथामका लागि समुदायसँग सहकार्य गरिएको उनले बताए। भट्टले आम नागरिक तथा अभिभावक पनि यसबारे चनाखो हुनुपर्नेमा जोड दिए।

  • आज देशभर मौसम आंशिक बदली रहने, यी प्रदेशमा वर्षाको सम्भावना

    आज देशभर मौसम आंशिक बदली रहने, यी प्रदेशमा वर्षाको सम्भावना

    आज देशभर मौसम आंशिक बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार हाल नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

    महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ।

    कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

    महाशाखाले कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

    यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

    २०८१ जेठ १४ गते (सोमवार)

    दिउँसोː कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम बर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०८१ जेठ १५ गते (मङ्गलवार)

    दिउँसोː कोशी प्रदेशमा पूर्ण बदली, मधेश, बागमती, गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातिː कोशी प्रदेशमा पूर्ण बदली, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • आयोजकका तीन टोली क्वार्टरफाइनलमा

    आयोजकका तीन टोली क्वार्टरफाइनलमा

    आयोजक न्युटन हाइ स्कुलका तीन टोली शनिबार प्रथम न्युटन एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

    बालुवाटारस्थित घरेलु कोर्टमा जारी प्रतियोगितामा न्युटनको ब्वाइजमा दुई तथा गर्ल्समा एक टोली क्वार्टरफाइनलमा पुगे। ब्वाइजमा न्युटन ‘ए’ ले ऋत एकेडेमी ‘ए’ लाई १८–१५ तथा न्युटन ‘सी’ ले क्यान्भासलाई १६–१० ले पराजित गरे। सोही स्पर्धामा एचएचसिए ‘ए’ ले एन्जल्स हार्टलाई १८–१५, हुपर्सले न्युटन ‘बी’ लाई १७–१६, दि लियोसले फेरिल्यान्डलाई १४–१०, भ्याली पब्लिकले ब्रुक्सलाई १५–१०, सरकारले एचएचसिए ‘बी’ लाई १३–१० र ग्रिनल्यान्ड ‘ए’ ले गोल्डेनपिकलाई १९–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे।

    गर्ल्समा न्युटन ‘बी’ ले टिम सोनिसलाई १३–११ ले पराजित गर्‍यो। गल्र्समै पृथ्वीले एन्जल्स हार्टलाई १४–१३, वसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले न्युटन ‘ए’ लाई १५–१०, ग्रिनल्यान्डले न्यु एरालाई १८–१२, क्यान्भासले मानसिंहलाई १२–१०, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१४, फेरिल्यान्डले ग्याबालाई १५–१३ र के सुपरभिजनले एचएचसिएलाई १४–१० ले पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे।

    प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी र न्युटनका कार्यकारी निर्देशक रमेश पन्थीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे।

    दुवै समूहमा विजेताले १० हजार र उपविजेताले पाँच हजार नगद पुरस्कार पाउनेछन्। उपाधि विजेता, उपविजेता, नकआउट चरणमा पुग्ने टोली र सहभागी टोलीको प्रत्येक खेलाडीलाई विभिन्न प्रतिशतमा छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।

  • ‘…नेछ’ नीति तथा कार्यक्रम

    ‘…नेछ’ नीति तथा कार्यक्रम

    गठबन्धन सरकारले ‘वर्तमान सरकार देशमा समाजवादउन्मुख आर्थिक–सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिबद्ध छ’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याएको छ।

    हामीले सरकारका नीति तथा कार्यक्रम र बजेट भाषण सुन्दै आएको वर्षौं भयो। हिजो पञ्चायतकालदेखि बहुदलीय प्रजातन्त्र र अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि हामीले हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम र बजेट भाषण सुन्दै आएका छौं। राष्ट्रिय योजनादेखि जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता नीति तथा कार्यक्रम र बजेटबारे जान्ने उत्सुकता हरेक नागरिकमा हुन्छ। त्यसैले धेरै नागरिकले आफ्ना महत्वपूर्ण काम छोडेर पनि सरकारको नीति तथा कार्यक्रम र बजेट भाषण सुन्न समय छुट्याउने गरेका छन्। सुनिसकेपछि केही आशा र केही निराशाले मिश्रित प्रतिक्रिया जनाउनु र छलफलको विषय बन्नु नियमित प्रक्रिया जस्तै भएको छ।

    सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम आद्योपान्त पढौँ। पढुन्जेल रमाइलो लाग्नेछ। आनन्द पनि आउनेछ। सरकारप्रति आशा लाग्नेछ। भरोसा पनि जाग्नेछ। अब त केही हुन्छ कि भन्ने आशाले मन पुलकित पनि हुनेछ। तर त्यो रमाइलो, त्यो आनन्द, त्यो आशा, त्यो भरोसा र त्यो खुसी सरकारको नीति तथा कार्यक्रम पढुञ्जेल मात्रै रहनेछ। पढिसकेर सरकारको कार्यशैलीतर्फ दृष्टि नियाल्नेबित्तिकै ती सबै रमाइलो, आनन्द, आशा, भरोसा र खुसीहरू क्रमशः निराशामा परिणत हुनेछन्। किनभने सरकारले यसरी हरेक वर्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसो गरिनेछ र उसो गरिनेछ भनेर जनतालाई आश्वासन मात्रै दिँदै आएको वर्षौ भइसक्यो। तर ती आश्वासन कहिल्यै पूरा भएका छैनन्।

    सरकारले आफ्नो प्रतिबद्धता कहिल्यै पूरा गरेको छैन। सरकारको नीति तथा कार्यक्रम निराश जनताको मनमा फेरि एक पटक आशा जगाएर जनतालाई थामथुम पार्ने हतियार मात्रै हो। आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा जम्मा २१७ वटा बुँदा छन्। ती बुँदाहरूमा विभिन्न विषयमा सरकारका नीति र कार्यक्रम उल्लेख गरिएका छन्। मूलभूतरूपमा आर्थिक र सामाजिक विषयमा उल्लिखित नीति र कार्यक्रमहरूले देश र जनताको भविष्य निर्धारण गर्ने अपेक्षा गर्ने गरिन्छ।

    सरकारको नीति तथा कार्यक्रमको बुँदा १५ मा उल्लिखित ‘सङ्घीय शासन प्रणालीको सबलीकरण तथा तहगत योजना प्रणालीमा अन्तरसम्बन्ध कायम हुनेगरी समन्वय र सहजीकरण गरिनेछ’ देखि बुँदा २१५ मा उल्लिखित ‘संविधान र प्रचलित कानुनले निर्देश गरेबमोजिम राज्यका नीति र दायित्वका साथै सरकारमा सहभागी राजनीतिक दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प कार्यान्वयन गरी आम नागरिकको सुशासन, विकास र समृद्धिको आकाङ्क्षालाई पूरा गर्न तथा अन्तर्राष्ट्रिय जगत्मा देशको सम्मान र प्रतिष्ठा वृद्धि गर्न सरकारले आगामी दिनमा आफ्नो कार्यशैली र कार्यप्रणालीलाई थप चुस्त, नतिजामुखी र नागरिकमैत्री बनाउँदै लैजानेछ’ सम्ममा जम्मा ६०१ वटा ‘…नेछ’ छन्।

    सरकारको नीति तथा कार्यक्रममा यसो गरिनेछ, उसो गरिनेछ, यस्तो बनाइनेछ, उस्तो बनाइनेछ, यस्तो ल्याइनेछ, उस्तो ल्याइनेछ भन्दै ६०१ वटा …नेछको प्रयोग गरिएको छ। सरकारले यति धेरै कार्यक्रम ल्याएको देखेर जनता दङ्ग मात्रै होइन, छक्क पनि परेका छन्। संयोग नै भन्नुपर्छ, नयाँ संविधान जारी हुनुअघिको संविधानसभामा पनि सभासद्हरूको संख्या ६०१ नै थियो। पहिला ६०१ सभासद्ले नेपाली जनतालाई सपना देखाउँथे, अहिले ६०१ ‘…नेछ’ ले नेपाली जनतालाई सपना देखाउँदैछ, जुन सपना पूरा हुने कुनै गुन्जाइस नै छैन।

    जनता र जनप्रतिनिधिले विरोध नगरेपछि सरकारले ढुक्कले पाँच वर्षको अवधि पूरा गर्न पाउँथ्यो। देशमा शिक्षाको विकास हुन्थ्यो। स्वास्थ्यको विकास हुन्थ्यो। गाउँगाउँमा स्कुल र कलेज खुल्थे। गाउँगाउँमा अस्पताल खुल्थे। बाटोघाटो बन्थे। पुलपुलेसा बन्थे। रेलमार्ग बन्थे। रेल चढेर एकैदिनमा पूर्वको मान्छेले पश्चिम र पश्चिमको मान्छेले पूर्वको यात्रा गर्थे। जनताले तुइनमा झुन्डिएर नदी तर्नु पर्दैनथ्यो। घोडामा चढेर यात्रा गर्नु पर्दैनथ्यो। दुर्गम गाउँमा पनि हेलिप्याड बन्थ्यो।

    सुत्केरी बेथाले च्यापेकी महिलाले समयमा उपचार नपाएर मर्नु पर्दैनथ्यो। गाउँ–गाउँसम्म सडक पुग्थ्यो। घर–घरसम्म गाडी गुड्थ्यो। सूचना, प्रविधि र सञ्चारको विकासले जनताको जीवनयापन सहज र सरल हुन्थ्यो। विकासले छलाङ माथ्र्यो। देश समृद्ध बन्थ्यो। जनता सुखी हुन्थे। तर…। तर सरकारको नीति तथा कार्यक्रममा उल्लिखित ‘हुनेछ’, ‘गरिनेछ’, ‘बनाइनेछ’ र ‘ल्याइनेछ’ जस्ता ‘…नेछ’हरू‘भयो’, ‘गरियो’, ‘बन्यो’, ‘ल्याइयो’ मा परिणत नहुँदा जनता सधैं निराश हुन बाध्य छन्। गरिबी र अभावको पीडा बोकेर बाँच्न विवश छन्। हेर्नुछ, यी ६०१ भविष्यत्कालका वाक्यहरू भूतकालमा परिणत हुनेछन् कि सधैँ भविष्यत्कालमै रहिरहने छन् ?

  • सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

    सिरोहिया पक्राउप्रति आनको ध्यानाकर्षण

    कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    अध्यक्ष सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको सबैभन्दा ठूलो सञ्चारगृहको अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको आनको धारणा छ।

    नागरिकता जस्तो संवेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्नु नहुने उल्लेख गर्दै आनले यस घटनामा राज्यले आफ्नो दायरा बिर्सेको र चुकेको अनुभव गरेको जनाएको छ।

    आनले अध्यक्ष सिरोहियाको यस प्रकारको पक्राउप्रति दुःख व्यक्त गर्दै कानुनको पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै आनले सञ्चार क्षेत्रमा हुने कुनै पनि किसिमका हस्तक्षेप अस्वीकार्य नहुने बताए।

  • आईपीएल उपाधि भिडन्त आजः कमिन्स र अय्यरमध्ये कसले रच्ला इतिहास?

    आईपीएल उपाधि भिडन्त आजः कमिन्स र अय्यरमध्ये कसले रच्ला इतिहास?

    १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधिका लागि आज दुई टिमबीच भिडन्त हुँदैछ।

    खाजको फाइनल खेलमा २ पटकको उपाधि विजेता कोलकोत्ता नाइट राइडर्स र एकपटकको विजेता सनराइजर्स हैदरावाद आमने सामने हुनेछन्। आजको खेल चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा साँझ ७ः४५ बजेबाट सुरु हुनेछ।

    विश्वकप विजेता एवं हैजरावादका कप्तान प्याट कमिन्ससँग आज इतिहास रच्ने अर्को अवसर छ। कोलकाता नाइट राइडर्ससँग पहिलो क्वालिफायरमा फराकिलो हारको सामना गरेको पाँच दिनपछि नै कमिन्सको टोली हैदराबाद आज फाइनलमा सोही टोलीको चुनौती सामना गर्दै छ। प्याटको कप्तानीमा रहेको हैदराबादले शुक्रवार अन्तिम क्वालिफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै उपाधि भिडन्त तय गरेको हो।

    दुई पटकको च्याम्पियन कोलकाताले गत मङ्लवार अहमदाबादमा हैदराबादलाई ८ विकेटले हराएको थियो।

    हैदराबादले विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग एक पटक मात्र जितेको छ, त्यो पनि सन् २०१६ मा अस्ट्रेलियाकै स्टार डेविड वार्नरको कप्तानीमा। कमिन्सले गत वर्ष नै विश्व टेस्ट च्याम्पियनसिप र एकदिवसीय फरम्याटमा अस्ट्रेलियालाई विश्व च्याम्पियन बनाएका थिए। त्यसकारण पनि आजको खेलमा उनीमाथि सबैको ध्यान रहने छ।

    कोलकाताले यस सिजन तीन खेल मात्र गुमाएको छ। अलराउन्डर सुनील नारिनलाई ओपनिङमा पठाउने कोलकाताको निर्णय सही साबित भएको छ। किनकि सुनीलले एक शतकसहित ४८२ रन जोडेका थिए। स्पिनर वरुण चक्रवर्थी र तीव्र गतिका बलर हर्षित रानाले संयुक्त रूपमा ३७ विकेट लिए। यही प्रदर्शनले गर्दा पनि कोलकाता शीर्ष स्थानमा पुगेको हो।

  • एसइई कप फुटसल आजदेखि

    एसइई कप फुटसल आजदेखि

    प्रथम भ्याली पब्लिक एसइई कप फुटसल प्रतियोगिता आजदेखि हुने भएको छ।

    भ्याली पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा १८ बोइज टोलीको प्रतिस्पर्धा हुने भएको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले प्रतियोगिताबारे जानकारी दिएका हुन्।

    तीन दिने प्रतियोगिताका खेलहरू भंगालस्थित भ्याली पब्लिकको आफ्नै फुटसल कोर्टमा खेलाइने छ। कुल १८ टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने भएको छ।

    समूह ‘ए’ मा टोखा एफसी, टिभ्स ‘बी’, टिम विष्ट, ब्रदर्श एफसी र डाउनटाउन तथा समूह ‘बी’ मा साइप्रस, भक्तपुर योङ्स, जुगल नव गुरुकुल, द सेभेन ब्रोस र श्रमशील एकेडेमी रहेका छन्।

    रोयल कपन, ड्रागन एलिट एफसी, समृद्धि, भ्याली पब्लिक ‘बी’ र विद्याआर्जन समूह ‘सी’ मा तथा टिभ्स ‘ए’, भ्याली पब्लिक ‘ए’ र सेक्रेड हार्ट समूह ‘डी’ मा छन्। विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पाउने आयोजकले जनाएको छ।