Blog

  • कार्यादेशबारे शीर्ष नेताहरुबीच भएन सहमति, आइतबार पुनः बैठक बस्ने

    कार्यादेशबारे शीर्ष नेताहरुबीच भएन सहमति, आइतबार पुनः बैठक बस्ने

    सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आइतबार बैठक बस्ने भएका छन्।

    आजको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि आइतबार पुन: बैठक बस्ने तय भएको हो।

    कार्यादेशमा टुङ्गो लाग्न सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने सहमति भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

    आज दिउँसो कार्यदलको बैठकपछि प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच छलफल भएको थियो

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत सहभागी थिए।

    सहमहामन्त्री परियारले छलफल सकारात्मक भए पनि टुङ्गोमा पुर्‍याउने बाँकी काम आइतबार शीर्ष नेताबीचको बैठकले गर्ने बताए।

    उनले भने, ‘सहकारी सञ्चालकहरू, गोर्खा मिडिया नेटवर्कलगायतका कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारेसमेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ। त्यो कुरामा सहमति हुन सकेन।

  • सडक डिभिजनले भन्याे: काठमाडौं महानगरको बलमिच्याई र अराजक शैली

    सडक डिभिजनले भन्याे: काठमाडौं महानगरको बलमिच्याई र अराजक शैली

    काठमाडौं महानगरपालिकाले मिनभवन स्थित सडक डिभिजन काठमाण्डौंको गेट अगाडि फोहोर फालिदिएकाे प्रति सडक डिभिजन काठमाण्डौंले आपत्ति जनाएको छ।

    कार्यालयले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरको यो बलमिच्याई तथा अराजक शैली भएको बताएको छ।

    ‘मिनि टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाण्डौंको गम्भीर ध्यानाकर्षण भएको छ। काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्त्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ।’ सडक डिभिजनले विज्ञप्ति मार्फत भनेको छ।

    सडक डिभिजनका सूचना अधिकारी प्रमोद खतिवडाले शुक्रबार काठमाण्डौं महानगरपालिकाका मेयर बालेन साह र डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल समेत भएको जानकारी दिए। उनले नियम बमोजिम सहकार्य गरेर अगाडि जाने विषयमा छलफल भएको सुनाए।

    यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति समेत दिइएको उनको भनाइ छ।

    विज्ञप्तिमा अझ प्रस्ट पार्दै भनिएको छ ‘शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमति सडक काटी सडकको चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ।’

    सडक डिभिजन काठमाण्डौंको कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन बताउँदै उनले डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका अराजक व्यवहार आगामी दिनमा सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन बाध्य हुने बताए।

    काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले विगत १५ वर्षदेखि चक्रपथ विस्तार अन्तर्गतको दोस्रो खण्ड (कलंकी- बसुन्धरा) विस्तारको नाममा काठमाडौंका जनताले धुलो र कष्ट बेहोर्नु परेको भन्दै शनिबार सडक विभाग र सडक डिभिजन काठमाडौं अगाडि एक-एक ट्रक धुलो खन्याएका थिए।

    मन्त्रालयको कमजोरीका कारण काठमाडौं महानगरले गाली खान परेको बताउँदै उनले यथाशीघ्र काम अगाडि बढाउन चेतावनी दिएका थिए।

    उनले सामाजिक सञ्जाल मार्फत भनेका थिए ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्विकार्नु होला।’

    सोही कुराको खण्डन गर्दै सडक डिभिजन काठमाण्डौंले विज्ञप्ति जारी गरेको हो।

  • मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न

    मार्सल आर्ट महासंघको तेस्रो अधिवेशन सम्पन्न

    नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघको तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ।

    काठमाडौंकाे चाबहिलस्थित स्मार्ट प्यालेसमा सम्पन्न अधिवेशनमा नयाँ कार्यसमिति गठनका लागि १३ वटा राष्ट्रिय संघ, महासंघमा आबद्ध ४ वटा प्रादेशिक संघ र ६ वटा अन्य संघसंस्थाको सहभागिता रहेको थियो।

    महासंघको तेस्रो अधिवेशनले सुदीप पण्डित क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ। कार्यसमितिमा ३ पदाधिकारी र ७ सदस्य गरी १० जना सर्वसम्मत निर्विरोध चयन भएका छन्।

    साथै, क्षेत्रीको अध्यक्षतामा अन्य पदाधिकारीहरू पनि सर्वसम्मत चुनिए। वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी निर्वाचित भए भने उपाध्यक्षहरूमा अञ्जु रावत, एनिप महर्जन, केशव डंगोल, होमबहादुर सुनुवार र राजेन्द्र लामा निर्वाचित भए।

    त्यसैगरी, महासचिवमा रूपसिंह तामाङ र सचिव द्वयमा कृष्णगोपाल राजथला र आशिष् कार्की चुनिए।

    तुलसी थापामगर कोषाध्यक्षमा निर्वाचित भइन् भने सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानुकान्छा श्रेष्ठ, कमल मगर, सीताराम दराई, तेजबहादुर सिंह, बाबुराम तमाङ, धनराज तमाङ, सपुत मोक्तान, सुशान पुन, नहकुल राई, राजन पन्थ छनोट भए। महासंघको नयाँ कार्यसमितिमा २३ जना पदाधिकारी रहेका छन्।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल थिए भने अतिथिहरू राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमला, महासंघका संस्थापक उपाध्यक्ष तथा पूर्व राखेप सदस्य निरण खड्का, संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीका साथै आबद्ध संघका अध्यक्षहरू थिए।

  • संसदीय छानबिन समितिको कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरु बैठकमा

    संसदीय छानबिन समितिको कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरु बैठकमा

    संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ।

    शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने कार्यादेशमा सहमति जुटाउने भनिएकाे छ।

    सङ्घीय संसद्का दुवै सदनमा जारी गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु प्रतिनिधि सम्मिलित कार्यदलमा सहमति जुटाउने अन्तिम बिन्दुमा पुगेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

    सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने ‘निकास निकाल्न अन्तिम बिन्दुमा पुगेका छौँ, कार्यदलको बैठकमा भएको छलफलको विस्तृत विषयलाई प्रमुख दलका शीर्ष नेताहरुबीच राख्दै छौँ। यसलाई अन्तिम टुङ्गोमा पुर्‍याउन कार्यदलको आजको छलफल निकै महत्त्वपूर्ण रह्यो।’

    मन्त्री गिरीका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिले कार्यदलको बैठकमा सहकारीको रकम अपचलन तथा हिनामिनाको विषयमा संसदीय छानबिन समिति गठन गर्दा निश्चित व्यक्ति एवं पदाधिकारी किटान गर्नुपर्ने माग दोहोर्‍याएका थिए।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना भएको सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गरेपछि छानबिन समिति गठन गर्न एक साताअघि समझदारी भएको थियो।

    समझदारी भए पनि समितिको कार्यादेशबारे टुङ्गो नलाग्दा गतिरोध कायमै छ। कार्यदलको बैठक लगतै प्रमुख दलका शीर्षनेताहरूबीच संसद्को गतिरोध हटाउने विषयमा पुनः बैठक बसेको हो।

  • कर छली गर्ने उद्योगलाई जोगाउन चलखेल !

    कर छली गर्ने उद्योगलाई जोगाउन चलखेल !

    चोर बाटोबाट इ–सिगरेट (भेप) उत्पादन गरि कर छली गर्ने एक उद्योगका सञ्चालकलाई कारबाहीबाट बचाउन चलखेल गरिएको घटना सार्वजनिक भएको छ।

    बाराकाे महागढीमाई नगरपालिका-५ गंजभवानीपुरमा अवस्थित इ–सिगरेट (भेप) उत्पादन गर्दै आएको हिमालयन टेक्नोलोजीका सञ्चालक राजाबाबु साहलाई जोगाउन चलखेल भइरहेको हो।

    सो उद्योगले इ–सिगरेट उत्पादन गरी चोर बाटोबाट तेस्रो मुलुकहरूमा निर्यात गरेको र तिर्नु पर्ने कर समेत छली गरेको सूचनाका आधारमा आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराले माघ १८ गते उद्योगमा शिलबन्दी गरी कागजपत्रहरु नियन्त्रणमा लिएका थिए।

    उद्योगमा शिलबन्दी गर्न पुगेको टोलीको नेतृत्व आन्तरिक राजश्व कार्यालय सिमरा, बाराका प्रमुख राजकुमार खतिवडाले गरेका थिए। उनका अनुसार अनुगमनको क्रममा उद्योगले आवश्यक प्रक्रिया नपुर्‍याएर उद्योग संचालन गरेको र र कर समेत नतिरेको पाइएको थियो। ‘त्यसपछि हामीले उद्योगमा शिलबन्दी गरेका हौं।’ प्रमुख खतिवडाले भने।

    उद्योगले उत्पादन गरेको भेपमा राखिएको मूल्यको ३० प्रतिशत अन्तःशुल्क लगायतका कर तोकिए पनि उद्योग सञ्चालक राजाबाबुले अन्तःशुल्क लगायतका करहरू नतिरेको बताउँदै प्रमुख खतिवडाले भने ‘उत्पादित भेप कहाँ बिक्री गरेको त्यो पनि प्रष्ट छैन।’

    उक्त उद्योगमा माघ १८ गते शिलबन्दी गरिएको थियो। तर हालसम्म पनि उद्योग सञ्चालकलाई न त प्रहरीले नियन्त्रणमा लिएको छ, न त कुनै जरिवाना नै गरिएको छ। आन्तरिक स्रोतका अनुसार उनी कारबाहीबाट बच्न आन्तरिक राजश्व कार्यालय धाउन थालेका छन्।

    सामान्यतया अन्तःशुल्क नतिर्ने र उत्पादित माल बस्तुहरूको बिक्री विवरण नदेखाउने उद्योगको सञ्चालनलाई नियन्त्रणमा लिई आन्तरिक राजश्व कार्यालयले छानबिन गर्ने गर्छ। तर यस घटनामा भने सम्बन्धित निकाय मौन देखिन्छ।

    यता आन्तरिक राजश्व कार्यालयका प्रमुख खतिवडाले उद्योग सञ्चालक राजाबाबु समाजमा प्रतिष्ठित व्यक्ति भएकोले उनलाई नियन्त्रणमा नराखिएको बताए। ‘राजाबाबुका बुवा प्रदेश सभा सदस्य समेत रहेका हुँदा बाहिर जान नसक्ने कारणले नियन्त्रणमा राख्न जरुरी नदेखिएको हो।’ खतिवडा भन्छन्।

    मधेश प्रदेश सरकारले पनि तयार गरेको उद्योग प्रवर्द्धन ऐनमा भेपको उत्पादन गर्न दिन घरेलु तथा साना उद्योग कार्यालयलाई अधिकार दिएको खतिवडा बताउँछन्। संघ र प्रदेशले भेप उत्पादन गर्न अनुमति दिन सकिने ऐन बनाएकोले भेप उत्पादनको अनुमति प्रदेशले दिने कि संघले दिने त्यसमा अन्योल रहेको उनले सुनाए।

    ‘भेप उत्पादनको अनुमति कुन निकायले दिएको भन्दा पनि भेप उत्पादन गर्ने उद्योगले कर तिरेको छ वा छैन त्यसलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न गरेको छौं’ उनले भने।

    खतिवडाका अनुसार प्रारम्भिक अनुसन्धानमा हिमालयन टेक्नोलोजीले करोड भन्दा बढीको भेप उत्पादन गरेको भेटिएको छ। ‘अबको दुई चार दिनमै कर निर्धारण गरेर असुल्न तर्फ हामी लागि परेका छौं’ उनले भने।

    उद्योग सञ्चालक साहलाई कारबाहीबाट बचाउन र कम कर तिर्न लगाउनको लागि आन्तरिक राजश्व कार्यालय र आन्तरिक राजश्व विभागका पदाधिकारीहरू बिच मोल मोलाई भइरहेको हो ? भन्ने हाम्रो प्रश्नमा खतिवडाले यो सबै बाहिरी हल्ला मात्रै भएको र यसमा केही कर्मचारीको संलग्नता नरहेको दाबी गरे।

    उद्योगमा शिलबन्दी गरेर आन्तरिक राजश्व कार्यालय सिमराले अनुसन्धान गरि रहेको अवस्थामा संचालक साह चीन समेत पुगेको थिए। उनले राजश्व कार्यालय र राजश्व विभागका पदाधिकारीहरूलाई पटक पटक भेटेर प्रभावित गर्ने काम गरिहरेको स्रोतको दाबी छ।

  • नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु

    नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर २ युवकको मृत्यु

    नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ।

    बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

    उनका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। तादीखोलामा पौडी खेल्ने गएका छ जना युवामध्ये उनीहरूलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो।

    अपराह्न २ बजेतिर को खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो।

    पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्ने जाने क्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ।

  • एउटै याममा ३ पटक सगरमाथा आरोहण गरेर पूर्णिमाकाे विश्व कीर्तिमान

    एउटै याममा ३ पटक सगरमाथा आरोहण गरेर पूर्णिमाकाे विश्व कीर्तिमान

    फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी छिन्।

    वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर उक्त कीर्तिमान बनाएकी हुन्।

    पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ः५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिए।

    पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला समेत बनेकी छिन्। उनको योसहित सगरमाथा आरोहण चौथो पटक हो। श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन्।

    विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी उनले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन्।

  • सहकारी प्रकरण: कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउने सहमति

    सहकारी प्रकरण: कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउने सहमति

    सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ।

    शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सो सहमति जुटेको हो। यद्यपि शीर्ष नेताहरुको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

    उनका अनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। शीर्ष नेताहरुको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनकाे भनाइ छ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्नुपर्ने माग गर्दै संसद् अवरोध गर्दै आएको छ।

    संसद्को अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको बताए। मन्त्री गिरीले कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरूको नाम स्वतः आउँदै जाने बताए।

  • भोलिको बैठक सरकारका लागि महत्त्वपूर्ण, के-के छन् कार्यसूची ?

    भोलिको बैठक सरकारका लागि महत्त्वपूर्ण, के-के छन् कार्यसूची ?

    प्रतिनिधिसभाको आगामी बैठक भोलि (आइतबार) बिहान ११ बजे बस्ने कार्यक्रम छ। सहकारी ठगी प्रकरणले संसद्मा चलिरहेको गतिरोधका बिचमा भोलिको बैठकमा सरकारले नीति तथा कार्यक्रम पारित गर्नेदेखि आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने तयारी गरेको छ।

    संघीय संसद् सचिवालयको बैठकको सम्भावित कार्यसूची जारी गरिसकेको छ। जसमा १४ वटा सम्भावित कार्यहरू उल्लेख छ।

    पहिलो नम्बरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू सुनाउने, दोस्रोमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने मनोनयन गर्ने, त्यसपछि सुरक्षित मुद्रण सम्बन्धी विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन पेश गर्ने, केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश अस्वीकृत गर्न सांसद प्रेम सुवाले सूचना राख्ने, उद्योगमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छन्।

    यस्तै त्यसपछिको कार्यसूचीमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम राखिएको छ।

    त्यसपछि चारवटा विधेयकमाथि विभागीय मन्त्रीहरूले प्रस्तावहरू पेश गर्नेछन्। भने ११ देखि १४ नम्बरसम्मका कार्यसूची नीति तथा कार्यक्रममाथि केन्द्रित छन्।

    यता विपक्षी दलहरूले संसदीय छानबिन समिति नबने संसद् चल्न नदिने बताएका छन्। यद्यपि सभामुख देवराज घिमिरेले पछिल्ला बैठकहरूमा प्रतिपक्षलाई मार्सल लगाउँदै पेलेर अगाडि बढ्ने गरेका छन्।

  • भौतिक पूर्वाधार मन्त्रीलाई बालेनको ‘एक ट्रक धुलो उपहार’

    भौतिक पूर्वाधार मन्त्रीलाई बालेनको ‘एक ट्रक धुलो उपहार’

    काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले विगत १५ वर्षदेखि चक्रपथ विस्तार अन्तर्गतकाे दोस्रो खण्ड (कलंकी- बसुन्धरा) विस्तारको नाममा काठमाडौंका जनताले धुलो र कष्ट बेहोर्नु परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ‘एक ट्रक धुलो उपहार’ पठाएका छन्।

    शनिबार यसको विरोध गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकाे सडक विभाग र सडक डिभिजन काठमाडौं अगाडि एक-एक ट्रक धुलो खन्याएका हुन्।

    मन्त्रालयको कमजोरीका कारण काठमाडौं महानगरले गाली खान परेको बताउँदै उनले यथाशीघ्र काम अगाडि बढाउन चेतावनी दिए।

    उनले सामाजिक सञ्जाल मार्फत भनेका छन् ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईँ काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईँलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्विकार्नु होला।’

    चिनियाँ सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलताका कारण सर्वसाधारण घुवाँ धुलोको सास्ती खेप्न बाध्य छन्।

    मुख्य ट्रयाक विस्तारको ठेक्का हुनुअघि सर्भिस ट्रयाक निर्माणको काम सक्ने भन्दै खन्न थालिएको स्वयम्भूदेखि बसुन्धरा खण्ड बजेट अभावले अलपत्र परेसँगै सर्वसाधारण घुवाँ धुलोको मारमा परेका हुन्।

    यो खण्डको दुवैतर्फ खनिएको छ। तर काम अपुरो रहँदा धुवाँ धूलोले सडक कुहिरीमण्डल बन्ने गरेकाे छ। धूलोका कारण कष्टकर यात्रा गर्न यात्रुहरु बाध्य छन्। यसैको विरोधमा महानगर प्रमुख आक्रामक रुपमा प्रस्तुत भएका हुन्।