Blog

  • सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    सहकारीको रकम हिनामिनामा राप्रपा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

    बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेस गरेको छ।

    बचतकर्ताको १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको हो।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपीकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।

    ‘प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा नै रहेका छन्, सांसद बस्नेतसहित फरार रहेका २५ जनाको खोजी जारी छ,’उनले भने, ‘सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्न सरकारी वकिलको कार्यालयलाई राय दिएका छौं।’

    रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ। सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

    ‘सेयर सदस्य नरहेका व्यक्तिलाई नगद दिएर रकम हिनामिना गरेको पुष्टि भएको छ। यहाँ कार्यालय रहेको यो सहकारीबाट बर्दियाको गुलरियामा रहेको कृष्णसार रिसोर्टमा सोझै करिब एक करोड रकम लगिएको छ,’ उनले भने। बस्नेत अध्यक्ष रहेको रिसोर्टमा लगानी भएको विषयमा अनुसन्धान गर्न प्रहरीले तीन हप्ताअघि पक्राउ पूर्जी जारी गरे पनि उनी अझै फरार छन्।

    प्रहरीका अनुसार संस्थाबाट कर्जा प्रवाह गर्दा ऋण समितिको सिफारिस अनिवार्य हुनुपर्ने व्यवस्था विपरीत व्यवस्थापक पाण्डे आफैँले ऋण उपसमितिको ‘माइन्यूट’ उठाएर बिनाधितो आफू निकटलाई कर्जा प्रवाह गरेको अनुसन्धानबाट खुलेको छ।

    कर्जा समितिका संयोजक श्याम भुसालले आफूसम्बद्ध समितिका तीन जनालाई थाहै नदिइ पाण्डेले १४० जनालाई ऋण दिएको बताए। ‘ऋण दिने नक्कली ‘माइन्यूट’ खडा गरेर एक सय ४० जनालाई पटकपटक गरेर पाण्डेले एक करोड ८५ लाख कर्जा दिएका छन्,’ उनले भने।

    विसं २०६६ मा स्थापना भएको यो सहकारीमा दुई हजार तीन सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन्।

  • स्रोत सुनिश्चित भएर स्रोत नभएका आयोजनाहरु खारेज गर्नुपर्छः अध्यक्ष सिंह

    स्रोत सुनिश्चित भएर स्रोत नभएका आयोजनाहरु खारेज गर्नुपर्छः अध्यक्ष सिंह

    नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्षको बजेटमार्फत श्रोत सुनिश्चित भई स्रोत विहीन भएका आयोजनाहरू खारेज गर्नुपर्ने बताएका छन्।

    सरकारले विगतमा स्रोत सुनिश्चिता गरेर अघि बढाएका आयोजनाहरूमा अहिले स्रोत विहीन भएर अलपत्र रहेकाले त्यस्ता आयोजनाहरू खारेज गरेर बजेट ल्याउनुपर्ने बताएका हुन्।

    अध्यक्ष सिंहले सरकारले ५ खर्ब ८५ अर्बको योजनाहरुले जनतालाई अनावश्यक आशा जगाएको तर निर्माण सम्पन्न गर्न स्रोत नभएको र लामो समयदेखि स्रोत सुनिश्चितता हुने तर काम नहुने आयोजनामा बजेट राख्न नहुने बताए।

    अध्यक्ष सिंहले सरकारले उक्त योजनाहरुमा बजेट व्यवस्थापन गर्न नसके स्रोत सुनिश्चितता भएर स्रोत नभएका आयोजनाहरू खारेजतर्फ लैजान जरुरी रहेको बताए। उनले सरकारले ठूलो आकारको बजेट बनाउने तर ६ महिनामा संशोधन हुने र ४० प्रतिशत मात्रै काम सम्पन्न गर्ने खालको बजेट बन्न नहुने जिकिर गरे।

    आगामी वर्षको बजेट पुँजीगत र विकास बजेटलाई प्राथमिकतामा राखेर हुने योजनाहरु प्राथमिकतामा राख्न उनले सुझाव दिए। उनले २० हजार बढी आयोजनाहरुको म्याद थप भएको भन्दै आगामी दिन स्रोतको लागि पुनः म्याद थप गर्नुपर्ने अवस्थाको सिर्जना नहुने वातावरण बनाउन माग गरे।

    उनले सरकारले ल्याउने बजेटहरु आयातवेस बजेट हुने गरेको र आयातलाई कडाइका साथ चोरी पैठारीबाट सामानहरु आउने,न्युनबिजिकिकरण भएर आउने भएकाले वास्तविक उद्योगी व्यवसायीहरु पलायन भएको भन्दै बजेटमार्फत उनीहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए।

    यस्तै, उनले पुँजीगत खर्चमा वृद्धि गरी साधरण खर्चमा कटौती गर्न आवश्यक रहेको बताउँदै निर्माण व्यवसायीहरूले करिब एक वर्षदेखि भोग्दै आएको भुक्तानीको समस्या वर्तमान अर्थमन्त्री आएपछि पनि समाधान नभएको गुनासो गरे।

  • सहकारीमा बदनाम व्यक्ति जोगाउने प्रयास भएकाे देख्दा आश्चर्य लागेको छ :  केसी

    सहकारीमा बदनाम व्यक्ति जोगाउने प्रयास भएकाे देख्दा आश्चर्य लागेको छ : केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सार्वभौम सम्पन्न नेपाली जनताका लागि ठूलो महत्वको गणतन्त्रलाई फलाउन, फुलाउन र जोगाउन सबै लोकतन्त्रवादी पक्षको सामूहिक जिम्मेवारी रहेको बताएका छन्।

    विसं २०१४ मा नेकपाको सदस्यता ग्रहण गरी २०२१ मा बागलुङमा पार्टी गठन गरेका नेता केसी नेकपा (चौथो महाधिवेशन) को केन्द्रीय सदस्य भए। राजनीतिक यात्राका क्रममा २०२८ मा नौ महिना कारागार जीवन बिताएका अध्यक्ष केसी लामो समयसम्म अध्यापनमा पनि संलग्न रहे। विसं २०४० मा दलको महामन्त्री भएका उनी पाँचौं महाधिवेशनबाट पोलिटब्युरो सदस्य भए।

    नेता केसी २०५६, २०६४, २०७० र २०७९ सालमा बागलुङबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भए। राजमो गठनपछि हालसम्म निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा रहेका केसी २०७२-७३ सालमा करिब १० महिना उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारणमन्त्री भएका थिए

    नेपाली राजनीतिमा स्पष्ट वक्ताको परिचय बनाएका केसी हाल प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सदस्य छन्। प्रस्तुत छ, अध्यक्ष केसीसँग राससका नारायण न्यौपाने र सिबी अधिकारीले गरेको संवादको सम्पादित अंश :

    मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिलाई कसरी लिनुभएको छ ?

    नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त यो गणतन्त्र नै हाम्रा लागि सबैभन्दा ठूलो उपलब्धि हो। गणतन्त्र पक्षधरले लोकतन्त्रको स्थापनापछि आर्थिक, सांंस्कृतिक र सामाजिक क्षेत्रसँग यसका उपलब्धिलाई जोडेर जानुपर्नेमा त्यसो नभएकाले विरोधीले गणतन्त्रको औचित्यमाथि प्रश्न गर्दै आक्रमण गरिरहेका छन्। सयौँ वर्षदेखि लडेर, जेलनेल खाएर ल्याएको गणतन्त्र कसरी नराम्रो हुन सक्छ ? गणतन्त्र प्राप्तिपछि आर्थिक र कृषि क्रान्तिसँगै औद्योगिकीकरणमा मुलुकलाई लैजानुपथ्र्याे, त्यो गर्न सकेनौँ। मैले भन्दै आएको छु– गणतन्त्रलाई खतरा अरूबाट नभई परिवर्तनकारीबाटै भइरहेको छ। गणतन्त्रमा राष्ट्र र जनतालाई जे–जति सेवा, सुविधा, विकास र परिवर्तन दिन सकिन्थ्यो, त्यो भएन। यसको कारण गणतन्त्रको दोष होइन, यसलाई हाँक्नेको कमजोरी हो। गणतान्त्रिक व्यवस्थालाई विशुद्ध गुटगत स्वार्थ र व्यक्तिगत महत्त्वाकांक्षा पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरियो। त्यसले लोकतन्त्रमाथि खतरा निम्त्यायो। यद्यपि, गणतन्त्रको स्थापनापछि जनतामा ठूलो जागरण र चेतना आएको छ। लोकतन्त्र हुँदैनथ्यो भने सत्ताधारीका कमजोरीका कुरा जनतालाई थाहा हुन्थेन। त्यसकारण पनि गणतन्त्रको ठूलो महत्त्व छ। यसलाई जोगाउन सबै लोकतान्त्रिक शक्तिको साझा जिम्मेवारी हुनुपर्छ।

    जनआन्दोलनको उपलब्धिका रूपमा निर्माण भएको संविधान, लोकतन्त्र र गणतन्त्रको सुदृढीकरण कसरी अघि बढ्दा सम्भव होला ?

    अहिले एकातिर लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भएको छ भने अर्कातिर जनतामा वितृष्णा छ। गणतन्त्र ल्याएका साथीहरूले आफैंले महसुस गरी कमसेकम आफू प्रजातान्त्रिक सीमाभित्र रहेर यसलाई बचाउनुपर्छ। विशुद्ध सत्ता र शक्तिका लागि मात्रै केन्द्रमा राखेर गुटबन्दी र दलबदल गर्ने कार्य गर्नुभएन। आज एउटा दलमा छ, भोलि अर्कामा छ, आज एउटा गठबन्धनमा छ, भोलि अर्कामा जाँदा दुनियाले के भन्लान् भन्ने चेत राजनीतिकर्मीमा हुनुपर्छ।

    गणतन्त्रको डेढ दशकका अभ्यासमा तपाईं सत्तामा पनि सहभागी हुनुभयो, जनअपेक्षा र सरकारका काम गराइबीच कत्तिको तालमेल पाउनुभयो ?

    सत्तामा जाने भनेको राष्ट्र र जनतालाई केन्द्रमा राखेर नीति बनाउने र तिनको व्यावहारिक कार्यान्वयन गर्ने हो भन्ने मेरो बुझाइ र सिद्धान्त हो। राजनीतिक व्यक्ति सत्ता र शक्तिकै लागि मात्र हुने हो भने लोकतन्त्र र गणतन्त्र किन चाहियो ? निरंकुश व्यवस्थामा पनि सबैखाले सत्ताधारी रसास्वादन गरी सधैं हराभरा नै थिए। राजनीति भनेको निष्ठा र आदर्शमा रहनुपर्छ भन्ने लाग्थ्यो, सत्तामा गएपछि मैले त्यो अनुभव गर्न पाइनँ। अधिकांश सबै राजनेता र राजनीतिकर्मीमा राज्यसत्तामा हालिमुहाली गर्ने प्रवृत्ति विकास भएको पाएँ। मलाई त्यहाँ अप्ठेरो लाग्यो। मलाई सहकारीमन्त्री बनाइयो। त्यस विषयमा मलाई जानकारी नै थिएन। अर्कातिर सहकारीबाट ठगिएका छौँ, हाम्रो बचत हिनामिना भएको छ, चित्रबहादुर मन्त्री भएको छ, हाम्रो रकम अब डुब्ने भएन, तुरुन्तै उठाइदिन्छ भनेर नियुक्त भएदेखि नै धेरैले भन्न थाले। मन्त्रालयमा पीडितको ओइरो लाग्यो। त्य।ितबेलादेखि नै सहकारीको रकम हिनामिना गर्नमा उपल्लो तहका व्यक्तिको हात रहेछ भन्ने थाहा भयो।

    तपाईंले कुनै बेला जिम्मेवारी सम्हालेको मन्त्रालयमातहतकै विषयमा अहिले सडकदेखि सदनसम्म सहकारीकै विषय सुन्नुपर्दा कस्तो अनुभूति भएको छ ?

    मलाई दुःख र चिन्ता लागेको छ। राजनीति गर्दा जनतालाई आदर्श र सिद्धान्तका कुरासँगै नैतिकताको पाठ पढाइयो, त्यो कृत्रिम रहेछ। सहकारीमा बदनाम भएका व्यक्तिलाई जोगाउने प्रयास देख्दा आश्चर्य लागेको छ। अधिकांश उपल्लो तहका कर्मचारी, मन्त्री र सांसदलगायतकोे सहकारीमा रजाइँ छ, जसलाई अरूले आँखा चिम्लने चलन रहेछ। विसं २०४८ को सहकारी ऐनलाई संशोधन नगरी विचलन अन्त्य गर्न सकिन्न भन्ने भएपछि म ऐन संशोधन गर्न लागेँ, तर कतिपयले कालो धनलाई सेतो बनाउन पनि सहकारीमा जम्मा गर्ने चलन छ। जम्मा गरेका रकम सहकारीको सिद्धान्त र नीतिभन्दा पनि टाठाबाठाले चर्काे ब्याजको लोभलालचा देखाएर दुनियाँका पैसा अपचलन गर्ने प्रवृत्ति छ। सहकारीको क्षेत्र, नीति र विधि विपरीत यावत् कुरा छाडेर कारोबार हुने गरेकाले ऐन बनाउनै दिइएन। ऐन संशोधन गर्न विज्ञ कर्मचारी छनोट गरी जिम्मेवारी दिएकामा उनको नै सरुवा गरियो। नेपालमा राजनीति कमाउन र कमाउन प्रयोग गरेको बाटो ढाकछोप गर्न प्रयोग भएको छ।

    सहकारी आफँंमा समाजवादको अभिन्न अङ्ग र जग हो। देशको तीनखम्बे अर्थनीतिको एउटा खम्बाका रूपमा सहकारी छ। एउटा अङ्गलाई क्षतविक्षत पारिएको छ। दिनभर सुनेको सहकारी हिनामिनाको विषयको दृश्यले रातभर निद्रै पर्न छाडेको छ। प्रतिपक्षकै पङ्क्तिमा रहेकाहरुले हामीले छानबिन समिति बनाउन गरेको मागलाई बेवास्ता गरेका छन्। राजनीतिक दल पुरेत र गाईजस्ता भएकालको कहाँ, कतिखेर मिसिने र प्रयोग हुने हो, टुङ्गो छैन। निष्ठा र आदर्श हराएको छ।

    कतिपय एक वर्षभित्र बनाइसक्नुपर्ने कानुन १७ वर्षसम्म पनि बनेनन्, यसको कारण विधायकको कार्य सम्पादन कमजोर भयो भन्ने आरोप छ नि ?

    हो, यो एकदम ठीक भनाइ हो। ‘म लागेँ रमितामा, लौरी हरायो’ भन्ने उखानजस्तै भएको छ। सहकारीका मुद्दामा संसद् चलाउनुपर्छ र खोल्नुपर्छ भन्ने होडबाजी चलेको छ। विधेयक ल्याउने, छलफल गर्ने र पारित गर्ने मुख्य जिम्मेवारी कहाँ पुगेको छ, कसैलाई अत्तोपत्तो छैन। यो अवस्थाको अन्त्य हुनुपर्छ। कानुन निर्माणकै लागि हामी चुनिएर आएका हौं। अर्कातिर आवश्यकता र औचित्यका आधारमा सन्तुलित रूपमा बजेट विनियोजन नहुँदा मन्त्रालयमा गएर ‘लौ मलाई योजना पार्दिन प¥यो’ भनी कर्मचारीका अगाडि कपाल कन्याउने अवस्था बन्यो।

    विधेयक पारित गर्नुपर्ने मूल जिम्मेवारीमा रहेका सांसद मन्त्रालय धाउन थालेपछि कोरम (संख्या) नपुगेर कतिपय अवस्थामा हाउस (सदन) समेत बन्द हुन पुग्यो। यी सबै कुरा शक्ति र प्रभाव हुनेले बजेट लैजान थालेको परिणामको उपज हो। बजेटमा सबै जनताको समान पहुँच र अधिकारसहितको इन्साफ हुने भए सुगमले भन्दा दुर्गमकाले बढी पाउनुपर्ने हो। हामी त न्यायका लागि कानुन बनाउन आएका हौँ नि ! बजेटमा भेद्भाव रहेकाले विधायक कानुनमा नभई मन्त्रालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ। आफूले त्यो नगरेकाले मेरा विरोधीले ‘चित्रबहादुरले केही विकास ल्याउन्न अनि भोट दिनको औचित्य छैन’ भन्दै आएका छन्। हाम्रो मुख्य काम भनेको दर्जनौं विधेयक थाँती रहेकोमा अघिल्लामा एउटा विधेयक पारित भयो भने अहिले सहकारीका मुद्दामा अड्किएको छ।

    मुलुकमा राजनीतिक स्थायित्वका लागि तपाईं र तपाईंको दलको आगामी कार्ययोजना के छ ?

    राष्ट्रिय जनमोर्चाले पद र फाइदाका लागि राजनीतिलाई बार्गेनिङ गर्नेहरूलाई पार्टीमा टिक्नै दिँदैन। अरू दलमा सत्ता र शक्तिका लागि पदको दुरुपयोग गरेको सबैले देखेका छन्। यो पार्टी २०५१ सालदेखि निरन्तर संसदमा छ। म आफैँ पनि सत्तामा गएको हो नि ! मेरा अरू कमीकमजोरी होलान् तर नौ महिना सत्तामा रहँदा जस्तो गएको त्यस्तै फर्केको हो। म १० महिना सार्वजनिक लेखा समितिका सभापति पनि भएँ। त्यहाँ पनि ‘चाँदीकटाइ’ हुँदोरहेछ। देश बनाउन सबैभन्दा पहिले राजनीतिक पार्टीका नीति, सिद्धान्त र नेताको चरित्र जनपक्षीय हुनुपर्छ, निष्ठावान् र कर्तव्यपरायण हुनुपर्छ।

    राजनीतिबाट पद प्राप्त गर्ने र पदको दुरुपयोग गरी सम्पत्ति कमाउने हो भने जनताको पार्टी र नेताप्रति वितृष्णा भइहाल्छ, त्यो बेठीक भन्नै सकिन्न। जसले राम्रो गर्छ, चरित्र स्वच्छ छ, त्यसलाई आरोप लगाइँदैन नि ! नत्र भ्रष्टाचार नगर्ने र राज्यको दोहन नगर्नेलाई पनि भ्रष्टाचारी भन्थे नि जनताले ! राजनीतिप्रति वितृष्णा आउनु जनताले देखेर र थाहा पाएर नै हो। यसलाई राजनीतिक पार्टीले सच्याउनुपर्छ नत्र राष्ट्रलाई सङ्कट ल्याउँछ।

    परिवर्तनका लागि एउटै मोर्चामा रहेर लडेका ठूला र पुराना राजनीतिक शक्तिबीचमा किन हार्दिकता बढ्न सकेन भन्ने लाग्छ ?

    यो सबै सत्ता स्वार्थबाट भएको छ, भ्रष्टाचारबाट कोही मुक्त छैनन्, आश्चर्यको कुरा त्यो छ। कोही चोखो भए जनताले पनि विचार गर्छ। राजनीति सम्पत्ति कमाउने र निजी स्वार्थ पूरा गर्ने हतियार बनेको छ। यसलाई राष्ट्र र जनताका लागि प्रयोग गरेका कारणले नै कतिपय देश विकास र समृद्धिका शिखरमा पुगेका हुन्। जुनसुकै दुःखकष्ट भोग्नुपरे पनि नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्छ, ‘सत्ता र शक्ति मात्रै ठूलो कुरा हो, अरू केही होइन’ भन्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। आफू र आफ्नालाई जोगाउने र सहुलियत दिने सोच हट्नुपर्छ। अहिलेसम्म जेजति कमजोरी भए, त्यसबाट पाठ सिक्दै मूल्याङ्कन गर्दै सच्चिनुपर्छ।

    मुलुकमा गणतन्त्रपछि स्वास्थ्य, सूचना प्रविधि, सडक, सिँचाइ, खानेपानी, शिक्षालगायत भौतिक पूर्वाधारका क्षेत्रमा ठूलै परिवर्तन आएको छ होइन ?

    काठमाडाँैलाई नेपाल भन्ने चलन थियो। हामी बागलुङबाट १३ दिन हिँडेर यहाँ आउनुपथ्र्याे। अहिले म एक दिनमै घर पुग्छु। यो त एक उदाहरण मात्र हो। प्राकृतिक साधनस्रोत र सम्भावना प्रशस्त भएर पनि जति विकास हुनुपर्ने थियो, त्यो भएन भन्ने साँचो हो तर ठ्याप्पै केही भएन भन्ने होइन। सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, सडकलगायत भौतिक पूर्वाधार निर्माणमा धेरै प्रगति भएको छ, निराशा मात्रै छर्न पनि भएन।

    हामीकहाँ शिक्षा प्रणाली भने राम्रो भएन, अनुशासन हरायो। पहिले शिक्षक र विद्यार्थीबीच निकै हार्दिकता हुन्थ्यो, अहिले द्वन्द्व देखिन्छ। नैतिक शिक्षाको पढाइ नहुँदा पश्चिमको छाडा र विकृति मौलायो। हाम्रा मौलिक आहारविहार, विचार, चरित्र र व्यवहार भने खुम्चन र खस्कन पुग्यो।

    अन्त्यमा जनतामा आशा भर्ने केही सन्देश छ ?

    नेपालमा ‘अब यहाँ केही हुन्न’ भन्ने भाष्य खडा गरिएको छ। एक करोडसम्म खर्च गरेर विदेश जाने होड चलेको छ। त्यतिका रकम खर्च गरेपछि त यहाँ पनि केही हुँदो हो नि ! विदेशमा पढ्न जाने बेग्लै कुरा हो। यहाँ अहिले शिक्षा र स्वास्थ्य निजीकरण भयो। नेपालमा गरे के हुन्न ? लसुन, खुर्सानी, धान, मकै के खेती हुन्न ? तर सबै विदेशबाट ल्याइन्छ।

    अहिले विकास भएका मुलुकले पनि एकाएक रातारात गरेको होइन। त्यसकारण निराशा मात्रै भरेर हुन्न। हामीले सम्भावना र सपना देख्नुपर्छ र मुलुकलाई परिवर्तन गर्न सकिन्छ। अहिलेको निराशाको प्रतिकूल स्थितिलाई अनुकूल तुल्याउन आफू चरित्रवान्, निष्ठावान् र इमानदार हुनुपर्छ। केही कमजोरी हुनुमा गणतन्त्र र लोकतन्त्रको दोष होइन, नकारात्मक परिस्थितिलाई बदल्न जनता नै जागरुक हुनुपर्छ।

  • कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

    कञ्चनपुर, बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

    कञ्चनपुर,बैतडी, जुम्ला र गोरखाका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदैछ।कञ्चनपुरका ३३ हजार नौ सय ४२ बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइने छ। पाँच वर्ष मुनिका बालबालबालिकाई राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ गतेदेखि २६ सम्म सम्बन्धित पालिकाका विद्यालय र खोप केन्द्रमा खोप लगाईने भएको हो।

    खोप अभियानका लागि जिल्लामा एक सय ५३ स्वास्थ्यकर्मी र सात सय १० महिला स्वास्थ्य स्वयंसेविका गरी आठ सय ६३ जना परिचालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। यो खोप २०७१ सालदेखि लगाउन सुरु गरिएको हो।

    शुक्लाफाँटा नगरपालिकाका तीन हजार पाँच सय ८०, भीमदत्त नगरपालिकाका आठ हजार पाँच सय ६२, बेल्डाँडी गाउँपालिका एक हजार एक सय ७४, बेलौरी नगरपालिकाका दुई हजार सात सय ९३, लालझाडी गाँउपालिकाका एक हजार तीन ८१ बालबालिकालाई खोप लगाइने छ।

    पुनर्वास नगरपालिकाका चार हजार तीन सय ११, बेदकोट नगरपालिकाका तीन हजार दुई सय ३२, कृष्णपुर नगरपालिकाका पाँच हजार छ सय ६७ र दोधाचाँदनी नगरपालिकाका तीन हजार दुई सय ४२ बालबालिकालाई खोप लगाइने छ।

    यसैगरी बैतडीका १३ हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार जेठ १६ देखि २३ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ।

    यसैबीच जुम्लाका पाँच हजार आठ सय बालबालिकालाई पोलियोेविरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा जेठ १३ गतेदेखि १५ गतेसम्म पातारासी, गुठिचौर, चन्दननाथ र तातोपानीमा खोप अभियान सञ्चालन हुनेछ।

    दोस्रो चरणमा जेठ १८ गतेदेखि २० गतेसम्म तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा खोप अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। खोप अभियानअन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका पाँचदेखि आठ वर्ष उमेर समूहका बालबालिकालाई मात्र खोप लगाइने छ।

    यसैबीच गोरखाका आठ हजारभन्दा बढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने भएको छ। जिल्लाका सबै पालिकामा जेठ १६ गते एकैसाथ खोप अभियान सञ्चालन गरी आठ हजार पाँच सय ३९ जना बालबालिकालाई खोप लगाउने तयारी जारी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    एघार पालिका रहेको गोरखामा गोरखा नगरपालिकामा सबैभन्दा धेरै दुई हजार चार सय ८६ जना बालबालिकालाई खोप लगाइने छ। पालुङटार नगरपालिकामा एक हजार ९१, आरुघाट गाउँपालिकामा सात सय ३०, बारपाक सुलिकोट गाउँपालिकामा छ सय ६७ जना बालबालिकालाई खोप लगाइने छ।

    गण्डकी गाउँपालिकामा छ सय ४१, धार्चे गाउँपालिकामा छ सय २८, सहिदलखन गाउँपालिकामा छ सय तीन, सिरानचोक गाउँपालिकामा चार सय ९९, भीमसेन थापा गाउँपालिकामा चार सय ८५, अजिरकोट गाउँपालिकामा चार सय १२ र चुमनुब्री गाउँपालिकामा दुई सय ९७ जना बालबालिकालाई खोप लगाउने कार्यक्रम छ।

    खोप कार्यक्रम सञ्चालन गर्न जिल्लाभर दुई सय ५९ केन्द्र तोकिएको छ भने दुई सय ५९ जना स्वास्थ्यकर्मी र पाँच सय १८ जना स्वयंसेवक परिचालन गरिने छ। साथै एक सय २३ जना जनशक्ति पनि परिचालन गरिने छ।

  • दमकमा एक घर, एक लिची र कागती रोप्दै माओवादी केन्द्र

    दमकमा एक घर, एक लिची र कागती रोप्दै माओवादी केन्द्र

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दमक नगरमा लिची र कागतीको एक लाख बिरुवा रोप्ने भएको छ।

    सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत दमकमा एक घर, एक लिची र कागतीको बिरुवा रोप्न लागिएको माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए। उनका अनुसार भोलिदेखि औपचारिक रुपमा दमकका प्रत्येक घरमा पुगेर बिरुवा रोप्न लागिएको हो ।

    जनतालाई उत्पादनसँग जोड्ने नीतिअनुसार पाँच वर्षभित्र दमकलाई लिची र कागतीमा आत्मनिर्भर बनाउने अभियान रहेको उनले बताए।

    बिरुवा रोप्नेसँगै जनयुद्धमा सहयोग गर्ने दमकका एक हजार दुई सय परिवारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शुभकामना पत्रसमेत सम्मानस्वरुप हस्तान्तरण गरिने माओवादी केन्द्रले जनाएको छ।

  • मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

    मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

    कपिलवस्तुमा मोटरसाइल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको कपिलवस्तु नगरपालिका– ३ महिता चोक नजिकको मोडमा शनिबार बिहान साढे ९ बजेतिर मोटरसाइलक दुर्घटनामा परी एक जनाको मृत्यु हो।

    मृत्यु हुनेमा रुपन्देहीको सैनामैना नगरपालिका– ५ गडवाका २३ बर्षिय कुमार थारु रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि बहादुर ओलीले नागरिक न्युनलाई जानकारी दिए।

    तौलिहवातर्फ आइरहेको लु ४४ प १३१४ नम्बरको मोटरासाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको बताइएको छ। उनी मोटरासाइकलको पछाडिको सिटमा बसेका थिए। दुर्घटनामा परी उनको टाउकोमा चोट लागेका थियो।

    त्यसपछि उनलाई उपचारका लागि तौलिहवा अस्पतालमा लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    यस्तै,मोटरसाइलक चालक गडवा गाउँकै ३८ बर्षिय निर कुमार थारु गम्भीर घाइते भएका छन्। उनको कपिलवस्तु अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा पठाइएको प्रहरीले जनाएको छ।

  • प्रेस स्वतन्त्र हुँदा मात्र न्यायपालिका स्वतन्त्र रहन सक्छः प्रधानन्यायाधीश श्रेष्ठ

    प्रेस स्वतन्त्र हुँदा मात्र न्यायपालिका स्वतन्त्र रहन सक्छः प्रधानन्यायाधीश श्रेष्ठ

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका र सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

    शुक्रवार साँझ काभ्रेको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्। ‘न्यापालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन सक्दैन,’ प्रधानन्यायाधीश श्रेष्ठले भने,‘स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न सक्दैन।’

    नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसात गरेको उनले बताए। ‘त्यसैले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिन्छ। स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

    न्यायपालिका र सञ्चार क्षेत्रको भुमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य र उद्देश्य एउटै हो भन्ने आफूलाई लाग्ने गरेको प्रधानन्यायाधीश श्रेष्ठले सुनाए।

    उनले भने,‘त्यो हो स्वतन्त्र न्याय, नागरिक अधिकारको संरक्षण, न्यायपूर्ण समाजको प्रत्याभुति गर्नु नै हो।’

    न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने उनले बताए। नागरिकको त्यो आस्था र भरोसा सावित गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ।

    ‘न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत सम्बद्ध सबैमा सोहीअनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय रहने पनि प्रधानन्यायाधीश श्रेष्ठले बताए। यस्तै न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश नै हुने पनि उनले बताए।

  • अण्डाको लागत मूल्यको खोजी

    अण्डाको लागत मूल्यको खोजी

    पछिल्ला वर्षहरुमा कुखुरा पालक किसानले अण्डाको लागत मूल्य पाउन नसकेपछि विज्ञ समूह बनाएर अण्डाको वैज्ञानिक लागत मूल्य खोजी गरेका छन्। न्यून मूल्यमा अण्डा बिक्री गर्नु परेपछि अधिकांश किसान विस्थापित हुन थालेसँगै लागत मूल्यको खोजी गरिएको हो।

    नेपाल कुखुरा व्यवसायी मञ्चको अग्रसरतामा पोल्ट्री विज्ञ डा.तिलचन्द्र भट्टराई, कृषि तथा वन विज्ञान विश्व विद्यालयका सहप्राध्यापकहरु डा रेवन्त भट्टराई, डा सुविर सिंह, उपप्राध्यापक डा. अनन्त दाहाल र डा.विष्णु पोखरेल समूहले अण्डाको वैज्ञानिक लागत मूल्य निकालेको हो।

    मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार अण्डा प्रतिगोटा १६ दशमलव ५६ किसानको लागत मूल्य विज्ञ समूहले निकालेको छ। हाल फार्म मूल्य किसानले सरदर रु १५ दशमलव ३३ पाउने गरेका छन्। अहिले पाएको मूल्य हालसम्मकै बढी हो। एक वर्ष छ महिना अघि प्रतिगोटा रु आठमा समेत बिक्री गर्न किसान बाध्य थिए।

    मञ्चले लागत मूल्यका बारेमा स्थानीयस्तरमा सरकारी र निजी क्षेत्रसँग छलफल गरेर समर्थन मूल्य निर्धारणका लागि सरकारलाई अनुरोध गर्ने निर्णय गरेको लामिछानेले जानकारी दिए। उनका अनुसार उद्योग वाणिज्य सङ्घ, उद्योग सङ्घ, च्याम्बर अफ कमर्स, स्थानीय जनप्रतिनिधि, पशु सेवा कार्यालय, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला लगायत सरोकारवालासँग छलफल गरेर कम्तीमा लागत मूल्य धान्ने गरी समर्थन मूल्य तोक्न सरकारलाई आग्रह गर्ने निर्णय गरिएको हो।

    डा.अनन्त दाहालका अनुसार फार्म निर्माण, चल्ला खरिद, दानाको खपत, बैंक ब्याज, औषधि, मजदुरलगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो।

    नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले यसअघि धेरै उत्पादन भएको तुलनामा अहिले अण्डाको उत्पादन आधा घटेको छ।

    नेपालमा धेरै उत्पादन हुँदा दैनिक ६० लाखसम्म अण्डा उत्पादन भएको अनुमान गरिन्छ। हाल दैनिक २८ लाख मात्रै अण्डा उत्पादन हुँदै आएको उनले जानकारी दिए।

    पोखरेलले ७५ प्रतिशत किसान लागत मूल्यमा उत्पादन बिक्री गर्न नपाएपछि विस्थापित हुनु परेको बताए। टिकेकाहरुले पनि बैंकको ऋण थप गरेर व्यवसाय धानेको उनको भनाइ छ। -रासस

  • मुटुको चालमा गडबडी आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

    मुटुको चालमा गडबडी आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

    चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन्। शुक्रबार साँझ उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना भएका हुन्।

    नागरिकता प्रकरणमा मंगलबार कान्तिपुर अफिसबाट पक्राउ गरेर प्रहरीले जनकपुर लगेको थियो। नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई गए राति १० बजे अस्पताल भर्ना भएकाे बताइएको छ। हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

  • समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैनः न्यायाधीश फुँयाल

    समाचारमा आएको विषयले न्यायाधीशले फैसला गर्न डराउनु हुँदैनः न्यायाधीश फुँयाल

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन्। शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको र न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताए। अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको उनको भनाइ छ।

    उनले भने भने, ‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरू छन्। अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ। हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ। मेन स्ट्रिम पोलिटिकल न्युजहरूबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ। अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरुको रिपोर्टिङ गर्दा त्यसपछि कहिलेकाहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरूले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ।

    अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने। हाइ प्रोफाइल केसेसहरू। अहिलेकै केही हाइ प्रोफाइल केसेसहरु हामीले उदाहरणका रूपमा लिन सक्छाैँ। कतिपय जजहरूलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ। कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ। मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छाैँ। अहिले पछिल्लो चरणमा क्रमशः पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ।’

    न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ छ।