Blog

  • चिनियाँ सेनाले घेर्‍यो ताइवान : पूर्वी एसिया मात्र नभई विश्व भूराजनीति नै तरंगित

    चिनियाँ सेनाले घेर्‍यो ताइवान : पूर्वी एसिया मात्र नभई विश्व भूराजनीति नै तरंगित

    चीनले ‘युद्ध अभ्यास’ भन्दै ताइवानलाई घेरेपछि पूर्वी एसियामा मात्र नभई विश्व भूराजनीतिमा तरंग सिर्जना भएको छ। चीनको जनमुक्ति सेनाले दुईदिने युद्धअभ्यास भन्दै बिहीबारदेखि ताइवानवरिपरि सैन्य शक्ति परिचालन गरेको छ।

    ‘ज्वाइन्ट स्वर्ड २०२४ ए’ अभ्यास कोड दिइएको उक्त सैन्य अभ्यासमा चिनियाँ सेनाको स्थलगत, नौसेना, वायुसेना र रकेट फोर्ससमेत परिचालन गरिएको छ। चीनको यो युद्धअभ्यासलाई सन् २०२२ अगस्टपछिको ठुलो मानिएको छ।

    दक्षिण चीन सागरमा अवस्थित ताइवानवरिपरि सात ठाउँबाट चीनले घेरा हालेको छ। ताइवान टापुवरिपरि उत्तरी, दक्षिणी र पूर्वी क्षेत्रमा रहेका किनमेन, मात्सु, वुकिउ, डोंगिन आइल्यान्ड (टापु) हरूमा बेसक्याम्प गाडेर चिनियाँ सेना अभ्यासरत रहेको विभिन्न सञ्चारमाध्यमले लेखेका छन्।

    चिनियाँ जनमुक्ति सेनाले यो अभ्यासलाई ‘ताइवानको स्वतन्त्रता चाहने पृथक्तावादी कार्यविरुद्ध कडा दण्ड र बाह्य शक्तिको हस्तक्षेप र उक्साहटविरुद्ध चेतावनी’ भनेर टिप्पणी गरेको छ।

    ताइवानमा भर्खरै सम्पन्न निर्वाचनबाट चीनविरोधी नेता विलियम लाई नयाँ राष्ट्रपति निर्वाचित भएका छन्। उनले पद सम्हालेको चार दिनपछि नै चीनले ताइवान घेरेको हो। लाईले शपथ लिँदा ताइवानलाई धम्क्याउने किसिमका गतिविधि नगर्न चीनलाई चेतावनी दिएका थिए। तर चीन ताइवान घेर्न आइपुगेको छ।

    युरोपमा रुस–युक्रेन युद्ध र मध्यपूर्वमा इजरायल र इरानबीच बढ्दो तनावबीच चीन ताइवान मामिला सतहमा आएपछि तेस्रो विश्वयुद्धतर्फ विश्व लम्किएको टिप्पणी विश्व भूराजनीतिका पण्डितहरूले गर्न थालेका छन्।

    के हो चीन–ताइवान विवाद?

    ताइवान दक्षिण चीन सागरमा अवस्थित एक टापु क्षेत्र हो, जसको क्षेत्रफल ३६ हजार १९७ वर्ग किलोमिटर छ। आदिवासी बस्दै आएको ताइवान १७औं शताब्दीमा चिनियाँ साम्राज्यअन्तर्गत थियो। त्यसपछि सन् १८९५ मा जापानसँग भएको युद्धमा चीनले हारेपछि ताइवान जापानले हड्पेको थियो। त्यहाँदेखि दोस्रो विश्वयुद्धको समाप्तिसम्म ताइवान जापानी उपनिवेशअन्तर्गत रह्यो।

    दोस्रो विश्वयुद्धमा हारेपछि बल्ला जापानले ताइवान छाडेको थियो। त्यसपछि चीनमा सत्ता चलाइरहेको राष्ट्रवादी कमिङताङ पार्टीको सरकारले ताइवानलाई नियन्त्रणमा लियो।

    चीनमा राजतन्त्रको समाप्तिसँगै कमिङताङको सरकार स्थापना भएको थियो। कमिङताङ सरकारले चीनलाई रिपब्लिक अफ चाइना (आरओसी) घोषणा गरेको थियो, जसमाथि माओत्से तुङको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिपी) बाट आक्रमण सुरु भयो, जसलाई चीनको गृहयुद्ध पनि भनिन्छ। सन् १९४९ मा माओको फौजसँग आरओसी सत्ता पराजित भयो।

    आरओसी नेता च्याङ काइसेक करिब १५ लाख पार्टीका कार्यकर्ता र समर्थक लिएर ताइवान पुगे। चिनियाँ भूभागमा सिपिपीले सत्ता कब्जा गरेर जनवादी गणतन्त्र चीन (पिआरसी) घोषणा गर्‍यो। दुवै सरकारले आफूलाई सम्पूर्ण चीनको एक मात्र अधिकारवादी सरकार भएको दाबी गरेका थिए।

    ताइपेईमा सत्ता सम्हालिरहेका राष्ट्रवादी नेता च्याङले एक दिन सम्पूर्ण चिनियाँ भूमि कब्जा गर्ने भन्न थाले। त्यसको विरोधमा बेइजिङमा स्थापित सिपिपीका अध्यक्ष माओत्से तुङको सत्ताले ताइवानलाई चीनकै अभिन्न अंग घोषणा गर्‍यो।

    माओले एकीकृत नयाँ चीनको अन्तिम टुक्राका रूपमा ताइवान रहेको घोषणा गर्दै ‘ताइवान समस्यालाई ढिलोचाँडो समाधान गर्न आवश्यक रहेको’ घोषणा गरे। चीनले ताइवानसहितको क्षेत्र समेटेर ‘एक चीन नीति’ बनाएर अन्तर्राष्ट्रिय समर्थनको खोजीसमेत गर्दै आएको छ।

    त्यसपछि ताइवानमा लोकतान्त्रिक विधिबाट आरओसी सरकार चलिरहेको छ भने चीनमा जनवादी गणतन्त्रात्मक (पिआरसी) अधिनायकवादी कम्युनिस्ट सत्ता छ। दुवैसँग आफ्नै सरकार, संविधान, सेना, मुद्रा छ। ताइवानले त आवधिक निर्वाचनबाट सरकार चुन्दै आएको छ। दुवै सरकारबीच दशकौंसम्म वैमनस्यता कायम छ।

    जनवादी चीन सरकारले ताइपेई सत्ताको नियन्त्रणमा रहेका टापुहरूमा पटक–पटक गोलीबारीसमेत गर्दै आएको छ। सन् १९८० को दशकमा दुवै सरकारबीच केही सहजता आएको थियो। केही निजी भ्रमण, अप्रत्यक्ष व्यापार र लगानीसम्मको अवस्था बन्दै आएको थियो। यसक्रममा चीन ताइवान सत्तासँग थोरै नरम हुँदै गएको टिप्पणी समेत हुने गरेका थिए।

    पछिल्लो समय चीनले अर्थतन्त्र र सैन्य शक्तिमा निकै ठुलो फड्को मारेको छ। पछिल्लो समय उसले महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई पनि चुनौती दिइरहेको छ। ताइवान पनि अर्थतन्त्रमा निकै मजबुत छ। ऊसँग शक्तिशाली सेना छ। जसले चीनजस्तो शक्तिशाली सेनालाई पनि तर्साउँदै आएको छ। त्यही त्रासले नै अहिलेसम्म चीनले सिधै ताइवानमा आक्रमण गर्न नसकेको मानिन्छ।

    यस्तै ताइवानको अर्को मजबुत पक्ष प्रविधि उत्पादन हो। उसले उत्पादन गर्ने केही आइटी प्रविधिमा अहिले चीनदेखि अमेरिकालगायत पश्चिमा देशहरू निर्भर छन्। तर पनि उदीयमान शक्तिशाली राष्ट्र चीनको त्रासले विश्का अधिकांश सरकारहरूले ताइवानलाई स्वतन्त्र देशको मान्यता दिन हिच्किचाइरहेका छन्। नेपालले पनि चीनको ‘एक चीन नीति’ को समर्थन गर्दै आएको छ।

    विश्व भूराजनीतिमा चीन शक्तिशाली बन्दै जाँदा ताइवानको सत्तालाई कूटनीतिक मान्यता दिने देशहरू घट्दै गएका छन्। सन् २०२१ सम्म ताइवानलाई कूटनीतिक मान्यता दिने १५ देश छन्। जसमध्ये महाशक्ति राष्ट्र अमेरिका एक हो।

    चिनियाँ गृहयुद्धदेखि नै राष्ट्रवादीहरूलाई अमेरिकाले समर्थन गर्दा तत्कालीन सोभियत संघले सिपिपीलाई समर्थन गरेको थियो। त्यसयता अमेरिकाले ताइवानको पक्षमा उभिँदै त्यहाँको अर्थतन्त्र निर्माण र विकासमा सहायता प्रदान गर्दै आएको छ। यस्तै उसले ताइपेईमा आफ्नो दूतावास पनि राखेको छ। उसले ताइवानको रक्षाका लागि हतियार तथा बन्दोबस्तीका सामग्रीसमेत प्रदान गर्दै आएको छ।

    अमेरिकाले जनवादी गणतन्त्र चीनलाई एकमात्र सरकारको रूपमा मान्यता दिएको छ। उसले ताइवान चीनको हिस्सा हो भन्ने बेइजिङको अडानलाई पनि स्वीकार गर्छ तर ताइवानमा सिपिपीले गर्न चाहेको सत्ता कब्जालाई भने स्वीकार गर्दैन।

    अहिलेको तनाव के हो?

    चीन शक्तिशाली हुँदै गएपछि उसले माओकालीन ताइवानमा सत्ता विस्तार गर्न चाहेको चर्चा हुने गरेको छ। सन् २०२२ को अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान यात्रा गरेपछि चीनले अहिलेजस्तै ताइवानलाई घेरा हालेर सैन्य अभ्यास गरेको थियो।

    उक्त क्रियाकलापले चीन पुनः सक्रिय भएको सन्देश गएको थियो। त्यसबेला चिनियाँ राष्ट्रपति सी जिनपिङले त सन् २०२३ भित्र ताइवान चीनमा मिलाउने घोषणा गरेका थिए।

    त्यसका लागि राष्ट्रपति सी ताइवानमा आफूनिकट व्यक्ति प्रधानमन्त्री निर्वाचित भएको हेर्न चाहन्थे। तर आफूलाई स्वतन्त्र र लोकतान्त्रिक देशको नागरिक चाहने ताइवानबासीले चीन विरोधी लाइलाई प्रधानमन्त्रीमा निर्वाचित गरे। अधिकांश ताइवानवासी चीनबाट अलग्गिएको घोषणा पनि गर्न नहुने र चीनसँग मिल्न पनि नहुने धारणा राख्छन्।

    यस्तो अवस्थामा सहज ढंगबाट ताइवान कब्जा गर्न नसकिने देखेपछि चीन सैन्य कारबाहीतर्फ अघि बढेको सन्देश विश्वभर गएको छ। ताइवानको समर्थनमा आउनसक्ने अमेरिका अहिले युक्रेन–रुस र इजरायल तथा अन्य अरेबियन मुलुकसँगको समस्यामा अल्झिएका बेला चीनले ताइवानमा हमला गर्नसक्ने आकलन भइरहेको छ।

    (अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीको सहयोगमा)

  • बजेट अन्योल: सदन कि अध्यादेशबाट?

    बजेट अन्योल: सदन कि अध्यादेशबाट?

    आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट सार्वजनिक गर्ने दिन नजिकिँदै गर्दा पनि संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्यका लागि सरकार गम्भीर देखिएको छैन। सहकारीको रकम ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्न सहमत भएका सत्तापक्ष र विपक्षी नेपाली कांग्रेसबीच कार्यविधिका विषयमा सहमति हुन सकेको छैन। सत्तापक्ष छानबिन कार्यविधिमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्न चाहँदैन। प्रतिपक्षी कांग्रेस आरोपित व्यक्तिलाई छुटाएर समितिको कार्यविधि बन्न नसक्ने अडानमा छ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। कांग्रेसले समिति गठन नभएसम्म सदन चल्न नसक्ने जनाउ दिएको छ। हरेक वर्षको जेठ १५ गते सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

    कांग्रेसले छानबिन समिति गठन गरी सदन सञ्चालन गर्न सत्तापक्ष गम्भीर नबनेको आरोप लगाएको छ। सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आआफ्नै अडानमा रहँदा संसद्को गतिरोध लम्बिन सक्छ। जेठ १५ गते पनि संसद्मा विपक्षीले अवरोध खडा गर्न सक्छ। यस्तो अवस्थामा सरकारले संसद्बाट वार्षिक बजेट सार्वजनिक गर्छ कि संसद् अन्त्य गरी अध्यादेशबाट ल्याउँछ भन्ने अझै प्रष्ट हुन सकेको छैन, अन्योल छ।

    यही अन्योलबीच प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्। भेटमा प्रधानमन्त्री दाहालले प्रतिपक्षी दलले संसद् अवरुद्ध गरिरहे बर्खे अधिवेशन अन्त्य गर्ने जनाउ पराष्ट्रपतिलाई दिएका हुन त भन्ने प्रश्न पनि उठेको छ। तर सरकारले यस विषयमा केही बताएको छैन।

    सरकारको नीति तथा कार्यक्रम पारित गर्न शुक्रबार बोलाइएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक प्रमुख प्रतिपक्षी कांग्रेससहितका दलहरूको अवरोधका कारण कार्यसूचीमै प्रवेश नगरी आइतबारसम्मका लागि स्थगित भएको छ।

    यसअघि ७ गते प्रतिपक्षी दलले प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दा पनि मार्सल प्रयोग गरेर प्रधानमन्त्रीले विश्वासको मत लिएका थिए। सोही दिन प्रतिपक्षी दलहरूको सहभागिताबिनै दुवै सदनबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित गरिएको थियो।

    राष्ट्रपतिले जेठ १ गते सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा पेस गरेका थिए। प्रतिपक्षी दलको अवरोधका कारण सदनमा नीति तथा कार्यक्रममाथि छलफल हुन सकेको छैन। छलफल नगरी पारित गर्ने कुरा भएन। त्यसैले सत्तापक्षले शुक्रबा नीति तथा कार्यक्रममा छलफल गराई पारित गर्ने तयारी गरेको थियो।

    प्रधानमन्त्रीले मार्सल लगाएर विश्वासको मत लिएको विषयमा आलोचना भएको छ। त्यसदिन सभामुखले पनि सत्तापक्षको पक्षपोषण गरेको आरोप प्रमुख प्रतिपक्षी कांग्रेसको छ। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव ल्याउन सकिने संकेत पनि गरेका छन्।

    सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा शून्य, विशेष र आकस्मिक समय नराख्ने निर्णय भएको जानकारी गराउँदै कार्यसूचीमा प्रवेश गराउन चाहेका थिए। कांग्रेसले भने आफ्नो भनाइ राखेर बैठक अवरुद्ध गर्ने नीति लिएको थियो। सभामुखल बैठकमा कार्यसूची प्रवेश गराउन खोजेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदले सिटबाट उठर विरोध जनाए।

    सभामुखले सहकारीको समस्या समाधानका लागि संसदीय समिति गठनको प्रयास भइरहेकाले निष्कर्ष निस्कनेमा आशावादी भएको जानकारी गराउँदै कांग्रेस सांसदलाई आसनग्रहण गर्न आग्रहसहित बैठक अघि बढाउन खोजे। कांग्रेस सांसदले सिटबाट उठेर बोल्न समय मागिरहे। सभामुखले यसअघि जस्तै जबरजस्ती बैठक अघि बढाएनन्।

    उनले सत्तापक्ष र प्रतिपक्ष दवै सदनमा सहज वातावरण गराउन उत्तिकै जिम्मेवारी हुनुपर्ने बताउँदै सदनको कारबाही सहज रूपमा अघि बढाउन सहयोगका लागि आग्रह गरे। तर कांग्रेस सांसदले बोल्न समय मागिरहे।

    सभामुखले उनीहरूलाई बोल्न समय दिनुको साटो कार्यसूचीका सबै विषय हटाएर बैठक स्थगित गरे। यसअघि ७ गते कांग्रेसले संसद् अवरुद्ध गर्दा पनि जबरजस्ती बैठक सञ्चालन गरेका सभामुख शुक्रबार भने त्यसको पुनरावृत्ति गरेनन् किन भन्ने प्रश्न पनि उठेको छ।

    ‘माननीय सदस्यहरू यहाँहरूको सहयोग नभइसकेपछि आजको बैठकको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम कार्यसूचीबाट हटाइएको बेहोरा म जानकारी गराउँछु। र, अर्को बैठक जेठ १३ गते ११ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ,’ उनले शुक्रबार बैठक स्थगित गर्दै भने।

    सभामुखले बैठकमा सांसदहरूलाई बोल्न नदिएको भनेर आफूविरुद्ध प्रतिपक्ष दलहरूले प्रचार गरेको भन्दै आपत्ति जनाएका थिए। उनले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई अनुरोध गरेका थिए। नीति तथा कार्यक्रममाथि छलफल गर्ने, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने र नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची थियो।

    कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनमा अवरोध जारी रहने बताउँदै आएको छ। प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिला सुरु भएको थियो।

    बैठकअघि प्रमुख कांग्रेससहितका विपक्षी दलहरूको बैठक बसेको थियो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा कांग्रेस संसदीय दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाको कार्यकक्षमा विपक्षी दलहरूको बैठक बसेको थियो।

    कांग्रेसले सदनमा कसरी अघि बढ्ने भन्नेबारे राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चासँग छलफल गरेको थियो। सहकारीको रकम ठगीसम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यविधि बनाउन गठित कार्यदलको शुक्रबारको बैठक पनि बिनानिष्कर्ष टुंगिएको छ।

  • शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भयोः प्रमुख सचेतक बर्तौला

    शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भयोः प्रमुख सचेतक बर्तौला

    शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्ने बारेमा छलफल भएको छ।

    शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकमा संसद गतिरोध अन्त्य गर्नेबारेमा छलफल भएको हो।

    छलफलपछि बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले छलफल सकारात्मक रहेको बताए। उनले सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय समितिको कार्यादेश बनाउने बारेमा पनि छलफल भएको र कांग्रेसको प्रस्ताव अनुसार व्यक्तिको नाम भने किटान नगरी संस्थाको नाम राखेर अघि बढ्न सकिने गरी छलफल भएको बताए।

    उनले भने, ‘हामीले संसद गतिरोध अन्त्य गर्ने सम्बन्धमा विशेष गरी क्षेत्राधिकार निर्माणका केही कामहरु गरिरहेका थियौँ। शिर्ष नेताहरुलाई पनि केही विषयहरु जानकारी गराउनुपर्ने थियो। कार्यदलमा रहेका नेपाली कांग्रेसका सदस्यहरुले जे प्रस्ताव ल्याउनुभएको छ, त्यस सन्दर्भमा नेपाली कांग्रेसका शिर्ष नेताहरुको बीचमा र सत्ता पक्षको बीचमा एउटा छलफल गर्दा उपयुक्त हुन्छ भनेर बैठक बसेका हौँ। बैठक सकारात्मक छ। हाउसको गतिरोध अन्त्य गर्न टिओआर निर्माण गर्न जेमा कठिनाइ भइरहेको छ, यसमा सहजीकरण आफ्नो आफ्नो तरिकाबाट गर्ने भन्ने छ। सत्ता पक्षबाट लचकता भएको छ। व्यक्तिको नाम किटान गर्ने कुरा सम्भव हुँदैन। अरु विषयमा संसदीय गरिमा कायम राख्ने गरी भुमिका निर्वाह गर्न आग्रह गरेका छौँ।’

  • प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

    प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

    प्रधानमन्त्री पुष्पकमल दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेष्ट कालामार्डले शिष्टाचार भेट गरेकी छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको भेटमा सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री दाहालले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारेका थिए । उनले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए ।

    सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पर्याउन प्रधानमन्त्री दाहालले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरेकी थिइन् ।

  • सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

    जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    धनुषा जिल्ला अदालतले आज दोस्रो पटक ३ दिनको म्याद थपेको हो।

    जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश दिएको हो।

    यसअघि बुधबार जिल्ला जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतसमक्ष अनुमति मागेका थिए भने अदालतले ३ दिनको समय दिएको थियो। पहिलो पटक दिइएको समय बिहीबार सकिएपछि शुक्रबार पुनः ५ दिन हिरासितमा राख्न सरकारी वकिल कार्यालयले अनुमति मागेको थिए। तर अदालतले पुनः ३ दिनको समय दिएको छ।

    सिरोहियाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, शेरबहादुर केसी, गोविन्द शर्मा बन्दी र टिकाराम भट्टराई तथा अधिवक्ताहरू रमणकुमार कर्ण, किशोर पौडेल र दीपेन्द्र झाले बहस गरेका थिए।

    सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ गरी बुधबार बिहान धनुषा ल्याइएको थियो।

  • पोखरामा नागरिक सम्मेलन सुरु, पहिलो दिन तीन सेसन सम्पन्न

    पोखरामा नागरिक सम्मेलन सुरु, पहिलो दिन तीन सेसन सम्पन्न

    पोखरामा गण्डकी प्रदेशस्तरिय नागरिक सम्मेलन सुरु भएको छ। गैरसरकारी संस्था (गैसस) महासंघको आयोजना तथा नागरिक संस्थाहरुको समन्वय र गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेजमा सम्मेलन सुरु भएको हो। शनिबारसम्म चल्ने सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे।

    उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले नागरिकका अधिकार सुरक्षाका लागि प्रदेश सरकार गम्भीर रहेको बताए। तर नागरिकले अधिकार मात्र मागेर नहुने भन्दै उनले भने, ‘नागरिकले अधिकारसँगै कर्तव्य पनि पालना गर्नुपर्छ। कर्तव्यविनाको अधिकार मात्र भनियो भने त्यसले मानिसलाई कर्तव्यविमुख बनाउँछ।’

    गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सीता सुन्दासले नागरिक अधिकारका लागि सरकारसँगै सरोकारवाला सबैको सहयोग आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘सरकारले त नागरिकको अधिकारका लागि सक्दो प्रयास गरिरहेको छ। यसमा सरोकारवालाहरुको सहयोग भएमा थप प्रभावकारी हुन्छ।’

    नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले व्यक्ति केन्द्रितभन्दा समग्रतामा समान अधिकारको प्रत्याभूति गराउनु राज्यको दायित्व भएको बताए।

    गैरसरकारी महासंघका केन्द्रीय अध्यक्ष राम्रप्रसाद पौडेलले व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन नभएको बताए। त्यसैले जनताको अवस्था पनि परिवर्तन गर्न आवश्यक छ, उनले भने, ‘यसका लागि आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन गर्नुपर्छ। यसका लागि राज्य जिम्मेवार बन्नुपर्छ।’

    राष्ट्रिय मानव अधिकार आयोगका महासचिव विदुर सुवेदीले मौलिक हकको ज्ञारेन्टी गर्नुपर्ने बताए। संविधानमा लेखिए पनि राज्यले मौलिक हकको उपभोग गर्न नपाएको उनको भनाइ थियो।

    सम्मेलन उद्घाटन सत्रमा गैसस महासंघका महासचिव अर्जुन भट्टराई, कोषाध्यक्ष नानीमाया थापा, केन्द्रीय सदस्य बिना सिलवाल, उत्पीडित समाज नेपाल गण्डकीका अध्यक्ष धनबहादुर नेपाली, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीलगायतले सबै नागरिकको अधिकार प्रत्याभूति गर्नुपर्नेमा जोड दिए।

    शनिबार पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न हुने सम्मेलनमा गण्डकी प्रदेशका दुई सय जना नागरिक अगुवाहरुको सहभागिता रहेको गैसस महासंघ गण्डकी प्रदेश अध्यक्ष गोपाल खड्काले जानकारी दिए।

    दुई दिनसम्म चल्ने सम्मेलनमा नागरिकसँग सरोकार सम्बद्ध १४ सेसन चल्ने छ। शुक्रबार उद्घाटन शत्रबाहेक तीनवटा सेसन चलेको अध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार शुक्रबार ‘गण्डकी प्रदेशमा गैससहरुको सवाल, समस्या र चुनौती’, ‘नेपालमा नागरिकका अधिकारको अवस्था, भूमिका र सहभागिता’ र ‘गण्डकी प्रदेशमा बालबालिकाको पोषणको अवस्था र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया’ र छलफल भएको छ।

    अब शनिबार ‘गण्डकीमा मानव अधिकारको अवस्था र सरोकारवालाको भूमिका’, ‘गण्डकीमा सामाजिक विकासको वर्तमान अवस्था, विकासका सवालहरु, सुशासन प्रवद्र्धन र समृद्ध गण्डकी प्रदेशको सम्भावना, अवसर चुनौती र नागरिक संस्थाहरुको भूमिका’, गण्डकीमा बाल अधिकारको अवस्था, बाल सुरक्षाका लागि कानुनी व्यवस्था, संस्थागत संरचना र बाल विकास तथा बाल संरक्षणको रणनीतिक योजना एवम् बाल संरक्षण, बाल विकास, बाल सहभागिता, बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बालश्रमको अवस्थाका साथै समग्र बालबालिकाको समस्या र चुनौती’ विषयक छलफल तथा अन्तक्र्रिया हुने अध्यक्ष खड्काले जानकारी दिए।

    त्यस्तै, शनिबार ‘गण्डकी प्रदेशमा महिलाहरुको अवस्था, सवाल, समस्या, चुनौती, अवसर र समाधान तथा व्यवस्थापन पक्षका लागि सरोकारवालाको भूमिका’, गण्डकीमा अपाङ्गताको अवस्था समस्या र चुनौतीका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक अल्पसंख्यक तथा तेस्रो लिंगीय समुदायमा सुधारका लागि आवश्यक नीति तथा कार्यक्रम’, गण्डकी प्रदेश सरकारले हालसम्म निर्माण गरेका कानुन र कार्यान्वयनको अवस्थाबारे प्रस्तुति, गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी, न्यूनीकरण, जलवायु परिवर्तन र यसको प्रभाव, अनुकूलन स्थानीयकरण तथा नागरिक संस्थाहरुको भूमिका विषयक प्रस्तुतीकरणसँगै छलफल र अन्तत्र्रिmया हुने जनाइएको छ।

    यसैगरी सम्मेलनमा शनिबार गण्डकी प्रदेशमा जलवायु परिवर्तन तथा विपद् जोखिमको अवस्था, यसको कृषि एवं खाद्य पोषण सुरक्षामा असर अनुकुलन न्यूनीकरणका प्रयास तथा सरकारी गैरसरकारी निकायको भूमिका, दिगो विकास लक्ष्य, कार्यान्वयनका चरण तथा स्थानीयकरण र हालसम्मका प्रयास तथा उपलब्धि र यसका लागि नागरिक संस्थाहरुको भूमिका, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, अवस्था र चुनौती र मानसिक स्वास्थ्यका रणनीति, कार्यक्रम तथा कार्ययोजना र मनोसामाजिक विमर्शका प्रयास र गण्डकी प्रदेशमा मानव बेचबिखनको अवस्था, समस्या, चुनौती र रोकथामका प्रयासका बारेमा छलफल तथा अन्तत्र्रिmया हुने अध्यक्ष खड्काले जानकारी दिए।

    सम्मेलन शनिबार विकासका सवालहरुमा साझा धारणा बनाउँदै गण्डकी प्रदेश नागरिक घोषणापत्र २०८१ जारी गर्दै सम्पन्न हुने अध्यक्ष खड्काले जानकारी दिए। ‘उक्त घोषणापत्र नीतिगत सुधार पहलका लागि प्रदेश मन्त्रालयहरु तथा संघीय सरकारमा पेस गरी आग्रह र ध्यानाकर्षण गर्छौं’, उनले भने।

  • पछिल्लो दशकका ‘महानायक’ दयाहाङ राई

    पछिल्लो दशकका ‘महानायक’ दयाहाङ राई

    ५० र ६० को दशकको मध्यसम्म नेपाली चलचित्र क्षेत्रको पुरा भारी नायक राजेश हमालले बोकेका थिए। चलचित्रको गुणस्तर जस्तोभए पनि नेपाली चलचित्रलाई त्यो समय एक विन्दुबाट अर्को विन्दुसम्म पु¥याउने हकको दाबी गर्नसक्छन् महानायको समेत उपमा पाएका राजेश हमालले। त्यस समय हमाल यती व्यस्त थिए कि एकै दिनमै तीन–तीन चलचित्रको अभिनयमा उनी काम गरिरहेका हुन्थे। ठीक उस्तै किसिमको अवस्थालाई डोर्‍याइ रहेका छन् अभिनेता दयाहाङ राईले ७० को दशक र ८० को दशकको सुरुमा ।

    भन्ने नै हो भने दयाहाङ राईका प्रत्येक महिना अहिले नयाँ चलचित्र बजारमा आइरहेका हुन्छन्। कुनै न कुनै चलचित्र वर्षैभरी सिनेमाघरमा प्रदर्शनमै हुन्छन्। गतवर्ष अर्थात् २०८० सालमा दयाहाङ बाह्रै महिना सिनेमा घरका पर्दामा छाइरहे। २०८० को बैशाख १ गते ‘जारी’लाई प्रदर्शनको पहिलो फिल्म मान्ने हो भने २०८१ को जेठ ‘मनसरा’ सम्म आउँदा १३ महिनामा ११ चलचित्र पदर्शनमा आइसकेका छन्। ‘जारी’ र ‘विहेपास’ तथा ‘दायारानी’ र ‘हात्तीछाप’ सँगै प्रदर्शनमा आएपछि दयाहाङ राईले दयाहाङ राईसँगै तीब्र प्रतिस्पर्धा गरे । त्यसको नाफा वा नोक्सानको हिसाब उनै गरुन। तर नेपाली चलचित्रलाई चलायमान बनाउन उनको भूमिका महत्त्वपूर्ण छ।

    दयाहाङका लागि चलचित्र भनेको निर्देशकको सुन्दर परिकल्पना हो। एक छुट्टै संसार निर्माण गरी आफ्नो समय वा आफूले भोगी आएको एक आनन्दको परिकल्पनामा लगेर मानिसलाई मानिससँग अन्तरसंवाद गर्ने माध्यमका रूपमा चलचित्रलाई परिभाषित गर्छन् दयाहाङ।

    उसो भए चलचित्र कस्तो हुनुपर्छ? हाम्रो प्रश्नमा एकछिन अडिए दयाहाङ, ‘यस्तै हुनुपर्छ भन्ने छैन। निर्देशकले जस्तो सोच्नुहुन्छ त्यस्तै हो’, समाजको ऐना, कल्पनाको प्रस्तुति, मनोरञ्जन मात्रैको कथा, वा इतिहास देखाउने, या कुनै अरू? प्रश्नको जवाफमा भन्छन्, ‘यी सबैथोक पर्छन्। कल्पना बेगर पनि फिल्म बन्दैन, समाज बिना पनि सम्भव छैन, इतिहास त चाहिन्छ नै। चलचित्रको कथा सृजना गर्दा त्यसभित्र सबै थोक हुन्छ।’

    वर्षभरी व्यस्त हुने कलाकारमध्येमा परेपनि दयाहाङ पनि आरोपबाट मुक्त भने हुनसकेका छैनन्। एउटै क्यारेक्टर, उस्तै शैली, लगभग मिल्दोजुल्दो कथावस्तु। नियमित दर्शक त वाक्क नै हुन्छन् होला? प्रश्न भुईमा झर्न नपाउँदै आफ्नै पाराले दयाहाङ भन्छन्, ‘एउटै कथा वस्तु र एकै चरित्र छैनहोला। दाबी गरेरै भन्छु। देख्ने बेला देखिए पनि । पारिवारक कथा भन्नाले बुबाआमा, छोराछोरी वा श्रीमती छोरा वा आमाछोरा यो कथा त एउटै भएन। परिवार त परिवारिक नै हो नि’, उदाहरण प्रस्तुत गर्दै आरोपबाट मुक्त हुन चाहन्छन् र भन्छन्, ‘जारी भन्ने फिल्म लिम्बुू समुदायको एक पात्रको हो, पछिल्लो समय आउँदै गरेको चलचित्र ‘गाउँ आएको बाटो’ मा राई समुदायको एक पात्र छ। देखिदा व्यक्ति त म एउटै हो। मैले नै गरेको विभिन्न चरित्रहरू छन्। मलाई लाग्छ एउटै कथा पनि छैन एउटै चरित्र पनि होइन।’

    ‘गाउँ आएको बाटो’ दयाहाङको पछिल्लो समय रिलिजका लागि कुरिरहेको चलचित्र हो। २५ जेठबाट प्रदर्शनमा आउने यो चलचित्रमा बाबु–छोराको सम्बन्ध देखाउन खोजिएको टिजर र टेलरले बयान गर्छ। नवीन सुब्बा, निर्देशित यो चलचित्रमा विकाशका हिसाबले सडक पूर्वाधार समेत नभएको नेपालको कुनै गाउँमा सडक पुगेपछि परिवार वा बुबा र छोराको सम्बन्धमा आएका विभिन्न किसिमका उतारचढावलाई देखाउन खोजेको छ। गाउँमा बाटोसँगै यातायातको पहुँचले हुने सुविधा र त्योसँगै आउने विकृति समेतलाई चलचित्रमा उतार्न खोजेको नायक दयाहाङ प्रष्ट पार्छन्।

    ‘गाउँ आएको बाटो’ क्यानडाको ‘टोरोन्टो’, दक्षिण कोरियाको ‘बुसान’, ब्राजिलको ‘साउ पाउलो’, भारतको ‘मुम्बई’ स्विडेनको ‘गोटेबर्ग’, चीनको ‘बेइजिङ’लगायतका विश्वका २० भन्दा बढी फिल्म फेस्टिवलमा प्रदर्शन भइसकेको छ। निर्माता र निर्देशकको सोच अनुसार यो चलचित्रलाई नेपालमा मात्रै सिमित नराखी विश्वव्यापी प्रदर्शन गरेको दयाहाङको बुझाइ छ।

    ‘हामीले हाम्रो बजारलाई मात्रै प्रदर्शन गरेर, रमाएर मात्रै पुग्दैन। विश्व बजारमा पनि हाम्रो फिल्म पुग्नुपर्छ र विश्व बजारले पनि हाम्रो फिल्मलाई हेर्नुपर्छ। भन्ने अवधारणा बनाएर नै उहाँहरूले चलचित्रको निर्माण गर्नुभएको हो’, उनी थप्छन्, ‘त्यसैलाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (चलचित्र महोत्सव) मा हाम्रो चलचित्र अफिसियल्ली छनोट भयो र त्यो प्रदर्शनको मौका मिल्यो।’ कार्यव्यस्तताले टोरोन्टो मात्रै जान पाएको बताउँदै दयाहाङ भन्छन्, ‘दर्शक चलचित्र हेरेर भावुक हुनुभयो, फिल्म मेकर, समिक्षकले निकै ठूलो तारिफ गरे। मैले नसोचेको प्रतिक्रिया पाए।’

    वर्षभरी व्यस्त रहिरहने अभिनेताका एक्ला दाबेदार हुन् दयाहाङ राई। सबैभन्दा व्यस्त हुने कलाकार दयाहाङ हुने भने कसै अरूले दाबी गर्ने वाला छैन। व्यस्तसँगै उनका चलचित्रले नेपाली चलचित्रको बजार पनि मज्जाले चलाएका छन्। त्यसो भए नेपाली चलचित्रप्रति दयाहाङले न्याय गरेकै छ त? ‘कोसिस गरिरहेको छु। न्याय केलाई भन्ने कुरा नि हुन्छ होला। योजना र सपना अनुसार अलिअलि भइरहेको छ’, विगत सम्झन्छन्, ‘कुनै समय फिल्म गर्छु गर्ने भनेर आउँदा बजार एक्दमै सुस्त भइसकेको थियो। लुट फिल्मको रिलिजताका त्यसको दुई साता अघि नेपाली चलचित्रको लागि संकटकालका लागि तयारी भइरहेको थियो। नेपाली चलचित्र कसरी बनाउने, किन बनाउने, कसरी प्रदर्शन गर्ने हाहाकारी थियो। किनभने त्यति बेला दर्शकको खडेरी थियो। त्यो समय हाम्रो लुट चलचित्र प्रदर्शनमा आयो।’

    लुटले त्यतिबेला नेपाली सिनेमा बजारमा तहल्का पिट्यो। निर्माताले पैसाका बोरा बोके। सिनेमा घरलाई बेस्सरी ततायो। निदाएका दर्शक आँखा मिच्दै हलसम्म पुगे । सकारात्मक रूपमा अर्थ लगाउने हो भने लुटले लुट नै मचायो। यसअघि देशबाहिर पार्टी प्यालेस र सानो स्केलमा मात्र प्रदर्शन गरिने चलचित्रलाई विदेशी सिनेमा घरका पर्दामा उत्रार्न सफल भयो ‘लुट’। त्यसकै देन भन्नुपर्छ नेपाली सिनेक्षेत्रले संकटकालको सामना पनि गर्नु परेन र डायसपोरा मार्केटमा पनि स्थान बनाउन सक्यो।

    त्यसपछि प्रदर्शनमा ल्याइएको चलचित्र थियो ‘कबड्डी’। नियमित भन्दै फरक कथा पस्किनु र डायसपोरा मार्केटलाई थप विस्तार गर्ने सोचले ‘कबड्ड’ को परिकल्पना गरेको अभिनेता दयाहाङ स्मरण गर्छन्। त्यो अनुसार भयो पनि। पछिल्लो समय मुलुक भित्र राम्रो आम्दानी गर्न नसकेका चलचित्रले मुलुकबाटै भएपनि लगानी उठाउने मात्रै नभई नाफा समेत कमाउन पाएका छन्। यसकारण पनि आफूले नेपाली चलचित्र क्षेत्रलाई न्याय गर्न सकेको अनुभुति हुनेगरेको दयाहाङ बताउँछन्।

    आफूले गरेको काम धेरैका सामु पुगोस् भन्ने कसलाई लाग्दैन र? फिल्म बनाउँदै जाँदा आफूले अभिनय गरेको चलचित्र नेपालमा मात्रै सीमित नभई विश्वव्यापी प्रदर्शन होस् भन्ने दयाहाङलाई पनि लाग्दो रहेछ। यसको सुरुवात नवीन सुब्बा, छिरिङ् सुब्बा वा दिपेन्द्र गौचनले गरिरहँदा सँगै दयाहाङ पनि सपना पालेर बसेका थिए। मीन भाम वा दीपक रौनियार पनि यसकै तयारीमा थिए। पछि दीपकसँगै सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘हाइवे’ वर्लिङ फिल्म फेस्टिवलमा वर्ल्ड प्रिमियर समेत गरे। ‘ह्वाइटसन’ भेनिसमा प्रदर्शन गरियो। गाउँ आएको बाटो टोरन्टोमा भयो। उनका चलचित्रले बक्स अफिसमा करोड कलेक्सन समेत गरिरहेकै छन्। तर यतीमै दयाहाङ चित्त बुझाएर बसेका भने छैनन्।

    गतवर्ष १३ महिनामा ११ चलचित्रको समीक्षा गर्दा ‘निरफूल’, ‘हात्तीछाप’ र ‘रंगेली’ बक्स अफिसमा कमजोर साबित भए। सृजनाका हिसाबले अब्बल नैै भएपनि बजारमा राम्रो प्रतिक्रिया पाएनन् र घाटाको व्यापार भएको स्वयम दयाहाङ बताउँछन्। तर बक्स अफिसको कमाइ मात्रै चलचित्र मापकको सूचक नभएको उनको बुझाई छ।

    ‘आजको बक्स अफिसका लागि मात्रै फिल्म बन्दैन। मैले १५-२० वर्ष अगाडि गरेको वा आज गरेको १५-२० वर्ष पछाडि ५० वर्ष पछि पनि फिल्मको त्यति नै महत्त्व हुन्छ होला। भविष्यमा आफूले आफैलाई समीक्षा गरौला’, उनी थप्छन्, ‘आजको मितिसम्म मैले गरिरहेको फिल्महरूलाई हेर्दा सृजनात्मक पक्ष र व्यावसायिक दुवै हिसाबले सन्तुष्ट छु।

    दयाहाङ राई कस्तो अभिनेता? भर्सटायल वा कुनै एक क्षेत्रमा सीमित नायक? दयाहाङ भन्छन्, ‘म कोशिस मन पराउने नायक हो। विविध चरित्रमा काम गर्ने कोशिस गर्छु। घरी थकाली, घरी गुरुङ भएर काम गरेको छु, घरी मगर भएर घरी राई भएर, घरी लिम्बू भएर कोशिस त गरिरहेकै छु’, पुनारो आरोपलाई स्मरण गरेहोलान्, ‘चलचित्रमा एउटै देखिनु एउटा कुरा होला। तर त्यो जुन समुदाय, परिवार, परिवेश वा पात्रको मनोविज्ञानसम्म पुग्नु मुख्य कुरा हो। त्यहाँ पुग्ने कोशिस गर्छु। त्यो हिसाबले म आफूलाई भर्सट्रायल त भन्न सक्दिन तर विविधता ल्याउन कोशिस गर्ने एक अभिनेता चाही हो। प्रफेन्ट केही पनि हुन्छ भन्ने लाग्दैन।’

    दयाहाङको पहिलो चलचित्र ‘अनागरिक’ हो। जुन सन् २००६ मा प्रदर्शनमा आएको थिया। यसरी हेर्दा नेपाली चलचित्र क्षेत्रमा करिब दुई दशकको इतिहास बोकेका अभिनेता दयाहाङ नेपाली चलचित्र क्षेत्रले स्वतन्त्र रूपमा काम गर्न नसकेको स्वीकार छन्। नेपालका निर्माता वा निर्देशकले स्वतन्त्र भएर काम गर्न नसक्दा त्यसको दबाब कलाकारलाई समेत परेको दयाहाङको तितो अनुभव छ।

    च्लचित्र निर्माणका क्रममा निर्देशकलाई निर्माताले दबाब दिने गरेको गुनासो सुन्ने गरेको दयाहाङको भनाइ छ । प्रदर्शनको समयसीमा, छायांकनमा पनि दबाब, समयसीमा तोक्ने, जस्ता कुराले दबाब सृजना हुनेगरेको उनको अनुभव छ। त्यसले गर्दा सृजना भन्दा पनि क्याल्कुलेटिभ हुने उनी बताउँन्।

    गुणस्तरीय चलचित्र निर्माण गर्ने हो भने अब सोच्ने बेला अबेला भइसक्यो। यो शुभेच्छा आमनेपाली चलचित्र शुभेच्छुकको हो। यसमा दयाहाङ पनि समर्थन गर्छन्, चलचित्र निर्माण अघि पूर्व तयारी गर्न जरुरी रहेको उनी देख्छन्। कलाकारले आफ्नो तयारीका लागि समय दिनुपर्ने र निर्देशकले पनि स्वतन्त्र भएर काम गर्न पाउनुपर्ने उनको बुझाइ छ।

    सिनेमाघरका पर्दामा नायकका रूपमा देखिने दयाहाङ दुई छोराका पिता पनि हुन्। ११ र डेढ वर्षका दुई छोरा छन् दयाहाङका। अरूकालागि अभिनेता भएपनि घरमा उनले पिताको भूमिका वास्तविक रूपमै निभाउनु पर्छ। तर परिवारलाई दिनुपर्ने समय दिन नसकेको दयाहाङको स्वीकारोक्ति छ। अरूबेला निर्धक्क बोलिरहेका दयाहाङ परिवार र छोराको कुराले भावुक भए र मलिन भएर भने, ‘नेपाली समाज संयुक्त परिवारमै बाँचेका छौं, एकअर्काका आडभरोसामै बाचिरहेका छौं। त्यो हिसाबले म कठोर र स्वार्थी भएर आफ्नो काममा अगाडि बढेको छु। जुन हिसाबले हुनुपर्ने हो परिवार, इष्टमित्र, नातागोतासम्म मैले समय दिन पाएको छैन। दिनुपर्ने थियो भन्ने त लाग्छ। महशुस हुन्छ।’ घरबाट सिधै गुनासो नआए पनि महशुस गर्ने गरेको उनी बताउँछन्। तर परिवारले आफ्नो कामलाई ठूलो सपोर्ट गरेको र आफ्नो व्यस्तता बुझेको उनले बताए।

    करिब पाँच दर्जन चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेका अभिनेता दयाहाङको कुनै गज्जबको सपना भने छैन। चलचित्रमा डाइलक दिए जस्तै उनी भन्छन्, ‘धेरै ठूलो सपना पालेर हिड्ने मान्छे म होइन। जो चाँही नपुगेर भोलि बीचमै अइठन परौ जस्तो खालको पनि सोच्दैन। जे होस यति चाँही छ म काम गरिरहन्छु। शारीरिक र मानसिक दुवै हिसाबले साथ दिउँजेल काम गर्नेछु’, गर्वका साथ भन्छन्, ‘नेपाली फिल्म बजार विश्वमै स्थापित भएको हेर्ने मेरो सपना छ।’

    कुनै समय नेपालमा राम्रो चर्चा बटुलेका कलाकार अहिले सिनेजगतबाटै लोपभएको अवस्थामा दयाहाङलाई एउटा प्रश्न नगरी भएन। विदेश पलायन बारे के छ बिचार? ‘त्यो त व्यक्तिगत आ–आफ्नो सोच हो। अहिले मेरो दिमागमा छैन’, तर उनी पनि आशंकामै रहेछन्, ‘कुनै दिन त्यस्तो सोच पनि आउन सक्ला नि त। शारीरिक वा मानसिक रूपमा थाकिला। थाके पछि गर्ने भनेकोे त विसराम नै हो। तर विसराम कस्तो प्रकारको गर्ने, त्यो चाहि थाकेकै दिन भनौला। सोचौला।’

  • कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

    कांग्रेसले प्रधानमन्त्रीसँग माग्यो सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे जवाफ

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउको बारेमा प्रधानमन्त्रीसँग जवाफ माग गरेको छ।

    बालुवाटारमा बसेको तीन दलको बैठकमा कांग्रेसले सिरोहिया पक्राउ प्रकरणमा ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

    त्यस्तै बैठकमा कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्रीको जवाफ मागेको छ।

    लेखकले गृहमन्त्रीले कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

  • रौतहटमा रासायनिक मलको अभाव

    रौतहटमा रासायनिक मलको अभाव

    अहिले किसानहरूले धमाधम धानको बिउ राखिरहेका छन्। धानको बिउ राख्ने समयमै रासायनिक मलको अभाव भएको छ। त्यसो त किसानहरूले अहिले रासायनिक मलबिना नै धानको बिउ राखिरहेका छन्।

    रौतहटको माधव नारायण नगरपालिका माइधिया मानपुरका किसान हाकिम मुखियाले बिना मल बिउ राख्नुपर्दा निकै दुःख लागेको बताए।

    नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पनि उखु बालीमा सिँचाइ गरी मल हाल्ने बेलामा रासायनिक मलको अभाव हुँदा किसानहरूलाई गाह्रो भएको बताए। धान खेती गर्ने किसानको लागि पनि मलको अभाव रहेको बताउँदै मैनालीले मलको अभावमा चिन्तित किसानलाई सरकारले ध्यान दिनुपर्ने बताउँछन्।

    नेपाल सरकारले दिने गरेको अनुदानको डिएपि दुई हजार चार सय रुपैयाँमा किसानले पाउने गरेका छन्। तर सोही मललाई बढी पैसा तिर्दासम्म पाउन गाह्रो भएको किसानहरू बताउँछन्।

    किसानको माग अनुसार सर्लाहीमा मल आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड सर्लाहीका प्रमुख ध्रुवप्रसाद साहले बताएका छन्। सर्लाहीमा पन्ध्र हजार मेटिक टन युरियाको माग रहेकोमा सरकारले छ हजार मेटिक टन मात्र पठाउने गरेको उनले बताए।

    किसानहरूको माग अनुसार सर्लाहीको लागि रासायनिक मलको कोटा बढाउन लिखित पत्राचार समेत गरिसकेको भए पनि मन्त्रालयले नसुनेको साह बताउँछन्।

  • काठमाडौँ  महानगरले आवेदन दिने सबैलाई सीप सिकाउने

    काठमाडौँ महानगरले आवेदन दिने सबैलाई सीप सिकाउने

    गत वैशाख १९ गतेदेखि काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलामा आवश्यकभन्दा बढी आवेदन परेपछि विद्यालय र क्याम्पससँगको सहकार्यमा तालिम उपलब्ध गराउने भएको छ।

    कामपाले २०८१ को शुभारम्भसँगै दुई हजार ८१ जनालाई सीपमूलक तालिम दिएर ‘स्वरोजगार’, ‘रोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्य लिएको थियो। तोकिएको सङ्ख्याभन्दा बढी आवेदन परेपछि शैक्षिक संस्थासँग सहकार्य गरेर तालिम उपलब्ध गराउने योजना रहेको कामपाले जनाएको छ।

    कामपा सामाजिक विकास विभाग निमित्त प्रमुख विमला कोइरालाले भने, “६० हजार बढीले आवेदन दिनुभएको। अवेदन परेकामध्येबाट छनोट गरेर वा कागजात पूरा भएका नागरिकलाई कामपाले भनेअनुसारको तालिम उपलब्ध गराउँछौँ।” उनका अनुसार महानगरले आवश्यकता आधारमा क्याम्पस र विद्यालयसँग सम्झौता गरिसकेको छ।

    फाराम भरेकामध्येबाट दुई हजार ८१ जनालाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षभित्र तालिम दिइने कोइरालाले जानकारी दिए। कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौँको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरेको हो। मेलाका लागि महानगरले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको जनाएको छ।

    मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको विभाग निमित्त प्रमुख कोइरालाले बताए। उनका अनुसार मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पु¥याउन मद्दत गर्ने छ।

    कोइरालाका अनुसार गत वैशाख १९ गते सुरु भएको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका पहिलो चरणका तालिम सकिएका छन्। अहिले ती कक्षाहरु दोस्रो चरणमा सञ्चालन भइरहेका छन्। ‘पहिलो चरणमा एक हजार पाँच सय ७७ जनाका लागि तालिमको कोटा थियो’, उनले भने, ‘यसमध्ये एक हजार पाँच सय पाँच जना तालिममा सहभागी हुनुभएको छ। यही जेठ ६ गतेदेखि १५ दिन अवधिका दोस्रो चरणका कक्षा सुरु भएका छन्।’

    कोइरालाका अनुसार १० क्षेत्रका ३० पेसासँग सम्बन्धित सीप तालिममा समावेश गरिएका छन्। अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्बल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन्।

    नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, नेपाल चेबर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत विभिन्न निजी क्षेत्रहरुले सीपमेलाबाट उत्पादन भएका जनशक्तिलाई कामको प्रकृति हेरेर रोजगार दिने जनाएका छन्।