Blog

  • गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

    गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप

    गण्डकी प्रदेशका ११ जिल्लाका एक लाख १० हजार तीन सय २७ बालबालिकालाई पोलियोविरुद्धको इनएक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) खोप दिइने भएको छ।

    राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत अभियानका रुपमा यही जेठ १३ देखि २६ सम्म गण्डकीमा खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    खोप कार्यक्रमका लागि तीन हजार चार सय ५३ खोप केन्द्र तथा स्वास्थ्यकर्मी र ६ हजार नौ सय ६ स्वास्थ्य स्वयंसेवक परिचालित हुने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोदविन्दु शर्माले जानकारी दिए।

    विसं २०७१ बाट सुरु भएको आइपिभी खोप विसं २०७३ को प्रारम्भदेखि विश्व बजारमा अभाव हुँदा दुई वर्षभन्दा बढी अवधिसम्म यो खोप लगाउनबाट छुटेका थिए। छुटेका बालबालिकालाई पालियो रोग लाग्ने जोखिम रहेकाले छुटेकालाई खोप दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको सचिव शर्माको भनाइ छ।

    सचिव शर्माका अनुसार नियमित खोप तालिकाअनुसार आइपिभी खोप दिनुपर्ने उमेर र उक्त समयमा यो खोप लगाउन छुट भएका हालको उमेरलाई विश्लेषण गरी बालबालिकाकोउमेर समूह निर्धारण गरिएको छ।

    विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई मात्र यो खोप दिने गरी लक्ष्य निर्धारण गरिएको र सोही आधारमा खोप तथा खोप जन्य सामग्रीको आपूर्ति तथा व्यवस्थापन गरिएको बताइन्छ।

    यस अभियानका लागि निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा अध्ययन गर्ने भएकाले खोप केन्द्रसमेत विद्यालयलाई बनाइएको छ।

    विद्यालय नजाने बालबालिका र विद्यालयमा खोप लगाउन छुट भएका बालबालिकाका लागि पायक पर्ने स्थानमा सञ्चालन हुने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा सञ्चालन हुने खोप केन्द्रमार्फत खोप लगाइने भएको छ।

    खोप अभियानमा मुस्ताङमा चार सय ५०, म्याग्दीमा चार हजार तीन सय ५६, बागलुङमा ११ हजार सात सय ७१, पर्वतमा पाँच हजार सात सय र स्याङ्जामा १० हजार एक सय ५४ बालबालिकालाई आइपिभी खोप दिइने छ।

    यसैगरी कास्कीमा २८ हजार तीन सय सात, मनाङमा एक सय ५३, लमजुङमा ६ हजार ६ सय ६५, गोरखामा आठ हजार पाँच सय ३९, तनहुँमा १४ हजार पाँच सय १२ र नवलपरासीमा १९ हजार सात सय २९ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ।

    पोलयो भाइरसद्वारा लाग्ने रोग हो। यो मुख्यरुपमा व्यक्ति–व्यक्तिबीचको सम्पर्कद्वारा फैलिन्छ। सङ्क्रमित व्यक्तिको दिसा–पिसाब समावेश खाना वा पेय पदार्थको सेवनबाट फैलिने यो रोगले मुख्य गरी पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने चिकित्सकको भनाइ छ।

    –रासस

  • एटिएफ यु-१२ टेनिसमा भारत पहिलो

    एटिएफ यु-१२ टेनिसमा भारत पहिलो

    शुक्रबार भएकाे एटिएफ यु- १२ टेनिस टिम प्रतियोगिता (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा भारत पहिलो भएको छ। नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भारत ब्वाइज र गल्र्स दुवैमा पहिलो भएको हो।

    सातदोबाटोस्थित टेनिस कोर्टमा सम्पन्न प्रतियोगितामा नेपालले भने यो प्रतियोगिता राम्रो प्रदर्शन गर्न सकेन। पुरुष टोलीले एक मात्र सफलता निकाल्दै सान्त्वना नतिजा प्राप्त गरेको थियो। ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २-० ले पराजित गर्‍यो।

    गर्ल्सको उपाधि भिडन्तमा भारतले श्रीलंकालाई पनि २-० ले नै हरायो। ब्वाइज-गर्ल्स दुवैमा फाइनल पुग्ने चारै टोली काजकिस्तानमा सेप्टेम्बरमा हुने एटिएफ यु- १२ टिम प्रतियोगिताका लागि छनोट भएका छन्।

    शुक्रबारै भएको गर्ल्सको राउन्ड रोबिन लिगमा नेपालले माल्दिभ्सलाई २-१ ले पन्छाउँदै सान्त्वना जित हात पार्‍यो। विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मूल, सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

    पाँचदिने प्रतियोगिताको ब्वाइजमा ७ तथा गर्ल्समा ५ राष्ट्र सहभागी थिए। नेपालले यो प्रतियोगिता आयोजना गरेको यो चौथो पटक हो।

  • अमादब्लमको काखमा हराइरहेका हिमाल प्रेमीहरू

    अमादब्लमको काखमा हराइरहेका हिमाल प्रेमीहरू

    सगौरव उपस्थित सर्वाेच्च चुलीचुचुराहरूलाई मनको क्यानभासमा आकृतिबद्ध गरेर। म यतिबेला अमादब्लमको काखमा छु। कल्पनातीत प्रकृतिले चुमेर हृदय स्पन्दित भइरहेछ। हर्ष र आनन्दले म विभोर भइरहेछु।

    यतिबेला म सुखद मिलनको घडीमा छु। धेरै वर्षपछि आमाको प्रेममा रमाउन पाएको छु। हार्दिकपन र प्रकृतिप्रेमले मदहोस छु। आमाको काखजस्तो प्यारो र ममतामयी स्थानजस्तो स्नेह अन्त कहीं पाइँदैन रहेछ।

    अमादब्लमको काखमा यसरी लुट्पुटिन पाउनु अहोभाग्यकै कुरा हो। जहाँ मिल्छन् खुसीका मिठा–मिठा भेटहरू। जहाँ भेटिन्छन् जीवनभरिकै मिठा–मिठा यादका कोसेलीहरू। अमादब्लमको पृथक् आकृति र आयाम साँच्चै मौलिक छ। मनकारी र मनमोहक पनि उत्तिकै लाग्छ।

    अविस्मरणीय मिलनका सौगातले भरिभराउ मन। एउटा प्रेममय दिन ! एउटा अलग्ग प्रणयोत्सवको प्रहरजस्तो। पदयात्राका यात्रीहरू अमादब्लमको सुन्दर संरचनामा हराइरहेको देख्छु। अमादब्लमको काखमा निदाइरहेको हेर्छु। अनेक देशका अनेकौं यात्रीको भिडभाडमा पनि सन्नाटा व्याप्त छ। बिनाभाषा पनि प्रकृतिको विराट वैभव सामु चुपचाप एकै भावना, एउटै कामना र उही चाहनाले सबै एकाकार छन्। खोजेको दृश्य देख्न पाएर खुसीले अवाक् छन्।

    सौन्दर्यको सागरमा म चुर्लुम्म। प्रकृतिको काखमा म आनन्द। यात्रा यस्तो होस्, पाइला टेक्दा ठक्कर लागे पनि जहाँ पुग्नुपर्ने गन्तव्यले आराम दिलाओस्। पुगेपछि खुसीले मन भित्रैबाट चिच्याउन थालोस्। सोचेभन्दा फरक र देख्न पाइनेभन्दा अझ मनमोहक दृश्यले अँगालोमा बेर्न आओस्।

    खुसीहरू दुधकोसीसँगै पोखिएर बगे बगून्। बिस्तारै ती सगरमाथाजस्तो अग्लो र सबैको आकर्षणको गन्तव्य बनून्। यात्राका यादहरू मनभित्र सुरक्षित रहिरहन सकून्। जसलाई सम्झिँदा सिलसिलाबद्ध सर्लक्क आँखैअघि भर्खर देखेजस्तो दृश्य देखियून्।

    मात्र अक्षरमा पढेको अमादब्लमलाई। मात्र तस्बिरमा देखेको अमादब्लमलाई। मात्र वृत्तचित्रमा हेरेको अमादब्लमलाई। मात्र अनुभूतिमा महसुस गरेको अमादब्लमलाई। सधैं उही र उस्तै तिमी। तर हरेक पटकको हेराइमा तिम्रा रङ–संरचनाको आकर्षणले म वशीभूत। तिम्रो रूप–सौन्दर्यको सौरभ–समष्टिले आकर्षित।

    तिमी रहस्यको भण्डार। तिमी अनुभूतिको सागर। तिमी पदयात्राको सारथि र यात्री। तिमी कहिल्यै नटुङ्गिने बाटो। हेरेर कहिल्यै धित नमर्ने तिम्रो सौन्दर्य। प्रथम स्पर्शमा मैले भेटेको हिमाल। प्यारी–प्यारी अमादब्लम तिम्रो काखमा बस्न पाउनुको सौभाग्य मेरो।

    अमादब्लम तिम्रो कस्तो जादु हो ? कस्तो मन छुने दृश्यको खानी हो ? फर्केर आएका यात्रीहरू पनि फेरि फर्कीफर्की हेरिरहेका। हिँडिरहेका यात्रीहरू पनि आँखा जुधाएर रमाइरहेका। हेरेर नअघाइने रहेछ अमादब्लमलाई। दृश्य ओझेलमा नपरुन्जेल हेर्न मन लागिरहँदो रहेछ अमादब्लम तिमीलाई। अमादब्लमको आकर्षण। हिमालको आकर्षण। सौन्दर्यको आकर्षण। प्रकृतिको आकर्षण।

    प्रेममय अनुभूतिहरूको आलेखमा अमादब्लमका प्रत्येक इन्द्रेणी रङ–किरणहरू ! मधुरो, धमिलो रङहरूको लाली पोत्दै अस्ताउँछन्। अनि हिमालको शिरलाई सुनले लेपन गर्दै बिहान भएर उदाउँछन्। क्रमशः चाँदी रङमा बदलिँदै फेरि निलो रङमा रूप फेर्दै हिमाली छविको बहुरूपी रङ–सौन्दर्य सम्प्रेषण गर्दै।

    हिमाली ताँतीहरूमा बेग्लै रूप–लावण्यले युक्त। घामको लालीमा तिम्रा अङ्ग–अवयवका रङहरूका सुन्दरता बिछट्टकै बिम्बमा रूपान्तरित हुने रहेछ। दिव्य अनुभूतिहरूको खानीमा अमूल्य ज्वाहरत तिमी। मुस्किलले यहाँसम्म आइपुग्नेहरू भाग्यमानी नै हुन्।

    जसले सर्वाधिक सुन्दर हिमाललाई आँखाकै सामुन्ने देख्न पाए। र, उनैको काखमा लुटुपुटु लुट्पुटिँदै जीवनको ठुलो सफलता भेट्न सके। जहाँ भनेजति खुसीको बाढी आउने रहेछ। पुग्न सकेजति र हिँड्न सकेसम्म पाइला दौडाउँदै अमादब्लमको काखैमा घुप्लुक्क निदाइने रहेछ। चिसो तापक्रममा पनि साह्रै न्यानोपनको आभास।

    वास्तवमा अमादब्लमसँगको ‘मिलन–महसुस’ एकप्रकारले स्वर्गीय सुखको सुस्केरा र शान्ति हो। जहाँ मिल्छ जिन्दगीकै असीम आनन्द र खुसीहरू। जहाँ भेटिन्छ प्राकृतिक दृश्यावलीका लस्कर मार्गहरू।

    अमादब्लमको सन्निकट काखैमा टुसुक्क बसेर निलो आकाशमा आँखा डुलाउनु, अनुभूतिहरूको वेगमा बतासिँदै भावनाको ढुङ्गा चढ्नु, नवीन अनुभवका कोसेली चाख्दै र चखाउँदै सुस्तरी हिँड्नु, आहा ! यिनै हुन् प्रिय जीवनको मन छुने क्षणका बसिबियाँलाहरू। यही हो लामो यात्रापछिको गन्तव्यको दृश्य–परिदृश्य।

    नवोदित प्रेमको प्रथम मिलनजस्तो। बिनाबोलचाल मौन संवादका कति मायालु बुझाइहरू। समय गुज्रिँदै जाँदा आँखाको हेराइमा प्रणय–संलापको एक अव्यक्त पलजस्तो। घाम ओरालिँदै झर्दा, दिन ढल्किँदै गर्दा, थकाइ बिर्सिंदै बस्दा, हेराइमा भुलिँदै रमाइरहँदा अमादब्लमसँगको हेराहेरको क्रम झन् गहिरो, झन् आत्मीय र आकर्षक हुँदै जाने रहेछ।

    वास्तवमा अमादब्लमको काखमा बस्नु भनेको आमाकै काखमा बस्नुजस्तो। स्वयम् अमादब्लम पनि आफ्नो प्यारो बच्चालाई काखमा लिएर बसिरहेजस्तो। दिव्य आकृतिको उपस्थिति।

    निर्मिमेष हेराइ। हेर्नुको घडी गुज्रिएको पत्तो छैन। प्रणयपथको अविराम यात्राजस्तो। यौवनका उन्मादले भरिएको उन्मत्त अंगजस्तो। तथापि उत्ताउलो उपस्थिति छैन। सरल, सामान्य यौवनका बहाव तर त्यसमा छ मन हर्ने, आँखा लोभिने अनेकौं दृश्य–संसारको संरचना ! सभ्य, सुस्वादु र सुन्दर। सम्भ्रान्त सौन्दर्यले सुसज्जित अमादब्लम तिमी !

    अमादब्लम एक अनुपम प्राकृतिक विरासत–बिम्ब। हरेक यात्रीका आँखामा स्पर्श गर्न आउने। हरेक यात्री अमादब्लमलाई देख्न र भेट्न व्याकुल। अमादब्लमकै काखमा आफूलाई विश्राम गराउन आतुर।

    अमादब्लमसँग साक्षात्कार भई सर्वोत्तम सन्तुष्टि र सुखको प्राप्तिमा हराउन अग्रसर। आमाको पवित्र ममता खोज्न आएका यहाँसम्म। आमाको काखमा लुटुपुटु हुन मरितरी आजसम्म। आमाको वात्सल्य पाउन लालायित मजस्तै सयौं यात्रीहरू दिनदिनैको पैदलयात्रामा आइरहेका।

    अतः सभ्यताको साकार साक्षात स्वरूप तिमी। तिमीसँगको देखा–भेटमा कति आह्लाद। कति हर्षका आभासहरू अघाउँजी भएर पनि फेरि भोकै। जति हेरे पनि, जहिले हेरे पनि अतृप्ति नै अतृप्ति। बाँकी नै रहिरहने हेर्नलाई।

    हेरेर घटघटी जति पिए पनि आँखाको प्यास काकाकुल नै रहने। कस्तो अचम्मको आकर्षण अमादब्लम तिम्रो ? तिमीसँग नजिकिएर कहिल्यै नअघाइने रहेछ। तिम्रो काखमा सधैं बसिरहन मन लाग्दोरहेछ।

    सीमाहीन खुसीहरू। कल्पनातीत दृश्यहरू। अनुभूतिमय पलहरू। हर्षका आँसुहरू। निःशब्द मनका सन्नाटाहरू। हेराइका आआफ्ना आँखा र मनहरू। बुझाइका आफ्नै अवधारणाहरू। कति कल्पिनु, कति सम्झिनु, कति बिर्सिनु ? अथाह यात्राका आयामहरू जस्तै। पुगेर कहिल्यै नसकिने बाटो उस्तै उस्तै।

    कति प्रिय अमादब्लम तिमी। हेर्नेहरूको आँखाको प्यास नबुझ्ने। हेर्नुको धित नमर्ने। हेराइको भोकले पेट नभर्ने। जति हेरे पनि, झन् झन् हेरिरहन मन लाग्ने। अमादब्लमको साक्षात् स्वरूप कति मनमोहक !

    बाटोकै छेउ, दुधकोसीपारि, पहाडकै पल्लोपट्टि, आँखाकै नजिक प्राकृतिक स्वरूपमा तिमी। सदैव सजीव, हरदम जीवन्त तिमी। प्रचण्ड घामको तापमा पनि पग्लिएर नसिद्धिने हिउँ। हिमपातको अविरल भेलबाढीमा पनि बगेर नरित्तिने हिमाल। अटल, अमर हिमाल ! शानले उभिएको। गौरवले धपक्क बलेको। ७९८० मिटर उचाइमा चुलिएर बसेको। हजारौं वर्षदेखि उस्तै, आज पनि त्यस्तै। र, भोलि पनि उस्तै रहिरहने छ।

    अमादब्लमको काखमा सौन्दर्यको आकाश छ। सौन्दर्यको महासागर छ। त्यसैले छिमेकी देशसँगै समद्रपारिका साहसी यात्रीहरू यहाँ आउँछन्, आइरहन्छन्। हिमाललाई नजिकैबाट देख्नुको मज्जा लिन्छन्। अमादब्लमको काखैमा रमाउनुको आनन्दले लोभिएर जान्छन्।

    सुन्दरताको वर्णन र विवरणको हिसाब छैन। शानमानले भरिएको हिमाली वैभव। आउने र जाने पर्यटकहरूको गन्ती छैन। पाहुनापासा यात्रीजनलाई निम्त्याउनै पर्दैन। कसैले बोलाउनुपर्दैन। यात्री आफैं हुलका हुल आइरहेका छन्।

    भिडमा भिड अमादब्लम हेर्ने र आरोहण गर्नेहरू। एकै देश, एउटै महादेशका होइनन् यात्री। तिनीहरू देश देशका छन्। पटकौं आएर पनि हेर्न अझै नपुगेका अतिथि आत्माहरू। एउटै देशका पनि अनेकौ सहर र गाउँका प्रकृतिप्रेमी मनहरू ठुलो उत्साहले ओइरिएका छन्।

    हरेक यात्री घुम्नुको नाउँमा घुम्नु मात्रै मनसाय छैन उनीहरूको। अनेक उद्देश्यले आएका छन्। अनेक रहरले, अनेक चाहना बोकेर, अनेक अभिप्रायले अभिमुख भएर आएका छन्। जैविक विविधताको रहस्य उस्तै। स्थानीय जीवन र संस्कृतिको जिज्ञासा त्यस्तै।

    कठिन र लामो यात्राको निरर्थक उपलब्धी होइन। सार्थक र समृद्ध सुखद प्राप्तिका निम्ति यात्रीका लस्कर बाटैभरि हिँडिरहेको भेटिन्छ। हिँड्नुको हैरानी केही होइन। पुग्नुको उपलब्धी धेरै ठुलो हुने रहेछ।

    अमादब्लमको बेग्लै छाप, अर्कै अनौठो छवि। अमादब्लमको काखमा सुखमय भावनाका चाङहरू। अटेसमटेस अनुभूतिका भेलहरू। लिन सक्नेले लिइरहेका छन् प्रकृतिको स्वाद। ग्रहण गर्नेले गरिरहेका छन् प्रकृतिका मिठा मिठा दृश्यहरू। अनुभूति गरेर मनको क्यानभासमा आकृतिबद्ध गरिरहेका छन् पदयात्रीहरूले।

    त्यसैले अमादब्लमकै काखमा भेटिन्छन्– आँखाले पिएर अघाउनेहरूको जमात। तस्बिर खिचेर रमाउनेहरूको जमात। मनमा राखेर सजाउनेहरूको जमात। जीवनभरिका लागि हृदयमा राख्नेहरूको जमात। यो जमात सच्चा अमादब्लमप्रेमी मनहरूको हो।

    हिमाल प्रेमीहरूको प्रेम हो। प्रकृतिप्रेमीहरूको समर्पण हो। हेर्नु र हेराइको, बुझ्नु र बुझाइको अलग्गै दर्शन। कतिपय यात्रीहरू हिँड्छन्, हिँडिरहन्छन्। उनीहरूलाई कुनै कुराको, दृश्य–दर्शनको मतलब छैन। ती दिनदिनै ओहोरदोहोर गरिरहने भरिया हुन्। जसलाई भारी बोक्नु र त्यसबापत् ज्याला पाउनुसँग मात्रै मतलब छ।

    अमादब्लमको आकर्षणले तिनको पेट भरिँदैन। तर जो खास धोको लिएर हिँडेको हुन्छ, उसका लागि परिकल्पनाको तस्बिरजस्तो। सपनाको सुन्दर संसारजस्तो। आरोहणपछिको खुसी र मिलेको अलौकिक अनुभूतिजस्तो।

    अन्ततः अमादब्लमको सौन्दर्यले मन्त्रमुग्ध आँखाहरू ! स्वयम् नतमस्तक शिर। बिछट्टै राम्रो सुन्दरताले शोभित अमादब्लम। महालङ्गुर हिमशृङ्खलाको प्राङ्गणमा। दैवीशक्ति हो कि जस्तो गरी अद्वितीय विशिष्ट स्वरूप लिएर उपस्थित। अमादब्लम तिम्रो काखमा म मिठो सपनामा हराइरहेको छु।

  • दुईवटा नागरिकता विषयमा कांग्रेसको आपत्ति

    दुईवटा नागरिकता विषयमा कांग्रेसको आपत्ति

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखले माइक नदिएपछि कांग्रेस सांसदले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको दुईवटा नागरिकता भएको विषयमा बोल्न खोजेको जनाएका छन्। सभामुख देवराज घिमिरेले पनि झोक्किँदै सदनलाई सञ्चालन गर्नका लागि प्रतिपक्षको पनि जिम्मेवारी हो भन्दै बस्न आग्रह गरिरहेका थिए।

    तर संसद् स्थगितपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेताले महासचिव पाण्डेले ६ वर्ष उमेर घटाएर नागरिकता लिएको र सोही नागरिकता दुरूपयोग गरी पासपोर्ट लिएको विषय उठाए। उनीहरूको दोहोरो नागरिकता र राहदानीमा किन छानबिन नभएको भन्ने प्रश्न उनले गरेका थिए। महासचिवमा पाण्डेय नियुक्ति भएपछि उनको दुईवटा नागरिकताको विषय बाहिर आएको थियो। यस विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उजुरी पनि परेको छ। समितिले यसमा छलफल भने गरेको छैन।

    समितिले यससँग सम्बन्धित कागजात भने सम्बन्धित निकायबाट झिकाएको थियो। गृह मन्त्रालयमातहतका विभिन्न कार्यालय र निकालयले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिलाई लेखेका कागजातअनुसार पाण्डेयले २०६६ सालमा आफ्नो उमेर ६ वर्ष घटाएर नागरिकता लिएका थिए।

    पाण्डेयले ६ वर्ष उमेर घटाएर लिएको दोस्रो नागरिकता अनुसार राहदानीसमेत लिएका थिए। पाल्पा जिल्ला प्रशासन कार्यालयका अनुसार पाण्डेयले २०४६ असार २८ मा पहिलो पटक नागरिकता (नम्बर ३५) लिएका थिए र त्यसमा उनको जन्ममिति २०२६ असोज १५ कायम छ। नागरिकता हराएको भन्दै पाण्डेयले २०६६ भदौ ८ मा दोस्रो नागरिकता लिएका थिए, यसपटक भने उमेर ६ वर्ष घटाएर २०३२ पुस २६ कायम गरेका थिए।

    २०६७ मा महान्यायाधिवक्ता कार्यालयमा सहन्यायाधिवक्ता पदमा सेवा प्रवेश गर्दा पहिलो नागरिकता देखाएका उनले त्यसको एक वर्षअघि लिएको दोस्रो नागरिकता भने १० वर्षसम्म आफूसँगै राखेका थिए।

    उनले २०७६ भदौ २३ मा भने भुलवश विवरण फरक परेको भन्दै दोस्रो नागरिकता रद्द गराएका थिए। यस अवधिमा उनले नागरिकताबाट के के फाइदा लिए भन्ने विषयमा अनुसन्धान गरिएको छैन। सुरुमा लिएको नागरिकताको प्रतिलिपिका रूपमा उनले ३९–०१–७६–०५५१५ नम्बरको नागरिकता पाएका थिए। त्यसबीच १० वर्ष उनले दुवै नागरिकता प्रयोग गरेर भिन्नाभिन्नै राहदानी लिएका थिए। २०६६ मा उमेर घटाएर नागरिकता लिएको तीन वर्षपछि उनले सोही नागरिकताका आधारमा राहदानी बनाएका थिए।

    २०६९ साउन २ (१७ जुलाई २०१२) मा उनले पाल्पा जिल्ला प्रशासन कार्यालयबाट ०६०१८३७० नम्बरको ‘साधारण राहदानी’ लिएको अभिलेख परराष्ट्र मन्त्रालयले संसद्को राज्य व्यवस्था समितिलाई दिएको छ।

  • टेबल टेनिस टोली श्रीलंका जाँदै

    टेबल टेनिस टोली श्रीलंका जाँदै

    दक्षिण एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शनिबार श्रीलंकाको क्यान्डी प्रस्थान गर्दै छ।

    जेठ १३ देखि १६ गतेसम्म हुने प्रतियोगितामा नेपालले यु- १९ र यु- १५ उमेरसमूहमा चुनौती प्रस्तुत गर्नेछ। यु- १९ को ब्वाइजमा प्रिन्स थापा मगर, सिद्धार्थ तामाङ र एसियाली खेलकुदको अनुभव बटुलिसकेका रुविन महर्जन तथा गल्र्समा वियंका राई, इभाना थापा मगर र योङ्गी पौडेलले प्रतिस्पर्धा गर्नेछन्।

    यु- १५ को ब्वाइजमा जयस्नु महर्जन, रिजन शाक्य र सुविन क्षत्री तथा गल्र्समा शुभश्री श्रेष्ठ, सुरम्य शाक्य र महिमा महताले खेल्नेछन्। प्रशिक्षकमा सञ्जीव ढुंगेल तथा व्यवस्थापकमा सिक्का सुवाल श्रेष्ठ छन्।

    एटिटियु कम्पिटिसन म्यानेजर तेजेन्द्रसिंह महरा पनि सो प्रतियोगिताका लागि श्रीलंका जाँदै छन्। उनी शुक्रबारै प्रस्थान गरेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बिदाइ गरेका थिए।

    ‘टेबल टेनिसमा स्यान्टु श्रेष्ठले ओलम्पिकमा छनोट भएर इतिहास रच्नुभएको छ। अबको नयाँ अनुहार तपाईंहरूमध्येबाट हुन सक्छ। तपाईंहरू भविष्य मात्र होइन, वर्तमान पनि हो,’ उनले भने, ‘मनभित्रदेखि राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नुस्। अल दी बेस्ट।’

  • गति बढाउँदै लिंग क्यान्सर

    गति बढाउँदै लिंग क्यान्सर

    ब्राजिलका जोआओ (नाम परिवर्तन) ले सन् २०१८ मा आफ्नो लिंगमा गाँठो फेला पारे। यसलाई जँचाउन उनी डाक्टरकहाँ पुगे। ६३ वर्षीय जोआओ ती दिनहरू सम्झन्छन्, ‘म धेरै मेडिकल क्लिनिकहरूमा गएँ र मेरो समस्या के हो भनेर डाक्टरसँग परामर्श गरेँ।’ अधिकांश डाक्टरले छालाको वृद्धिका कारण यसो भएको भनेर औषधी दिए।

    औषधी सेवन गरे पनि जोआओको लिंगमा गाँठो बढ्ने क्रम रोकिएन। यसले उनको वैवाहिक जीवनमा समेत असर गर्न थाल्यो। जोआओ र उनकी श्रीमतीबीचको यौन सम्बन्धमा पनि कमी आयो।

    जोआओ आफूलाई के भएको थियो भनेर पत्ता लगाउनमा अडिग थिए। उनले पाँच वर्षसम्म विशेषज्ञहरूको लगातार सम्पर्कमा रहे। हरेक पटक डाक्टरहरूले उनलाई थप औषधी दिए र नयाँ बायोप्सी गर्न भने। ‘त्यसले पनि मलाई मद्दत गरेन,’ जोआओ भन्छन्।

    पाँच वर्षपछि २०२३ मा उनलाई लिंगको क्यान्सर भएको बताइयो। ‘यो म र मेरो परिवारका लागि एकदमै पीडादायी प्रहार थियो। विशेष गरी मैले मेरो लिंगको केही भाग काट्नुप¥यो। मलाई आफू अंगभंग भएको महसुस भयो,’ जोआओ भन्छन्।

    उनी थप्छन्, ‘यो यस्तो क्यान्सर हो जसबारे तपाईं कसैसँग कुरा गर्न पनि सक्नुहुन्न, किनकि तपाईंलाई हाँसोको पात्र बन्छु भन्ने डर हुन्छ।’

    लिंगको क्यान्सर दुर्लभ रोग हो। विश्वभर यो क्यान्सरका बिरामी र मृत्युको संख्या लगातार बढिरहेको छ। पछिल्लो अध्ययनअनुसार जोआओको देश ब्राजिलमा लिंगमा हुने क्यान्सरको दर उच्च छ अर्थात् प्रत्येक एक लाख मानिसमा २.१ जनालाई यो क्यान्सर छ।

    ‘शल्यक्रियाको नाममा डर’

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१२ देखि २०२२ सम्ममा देशमा लिंगको क्यान्सरका २१ हजार घटना दर्ता भएका थिए। जसका कारण चार हजारभन्दा बढीको मृत्यु भएको छ।

    यसैगरी विगत एक दशकमा यो क्यान्सरका कारण ६५ सयभन्दा बढी व्यक्तिले आफ्नो लिंग काट्नुपरेको छ। यसको मतलब औसतमा प्रत्येक दुई दिनमा लिंगको एक शल्यक्रिया हुन्छ।

    ब्राजिलको सबैभन्दा गरिब प्रान्तमध्येको एक मारान्हाउमा प्रत्येक एक लाख पुरुषहरूमध्ये ६.१ जनालाई लिंगको क्यान्सर हुने गरेको पाइएको छ, जुन संसारकै सबैभन्दा उच्च दर हो।

    लिंगको क्यान्सरका लक्षण प्रायः त्यसमा भएको घाउबाट सुरु हुन्छ। यो निको हुँदैन र लिंगबाट धेरै दुर्गन्धित स्राव निस्कन्छ। यदि लिंगको क्यान्सर छिटै पत्ता लाग्यो भने बिरामीलाई शल्यक्रियाद्वारा गाँठो हटाउने, रेडियोथेरापी वा केमोथेरापीमार्फत निको हुने राम्रो मौका हुन्छ।

    सरसफाइमा ध्यान नदिएका कारण क्यान्सर भएको हुनसक्ने ब्राजिलियन सोसाइटी अफ युरोलोजीका मौरिसियो डेनर कोर्डेइरो बताउँछन्। लिंग क्यान्सरलाई यथास्थितिमा राखिएमा र समयमै उपचार नगरिएमा लिंगको सम्पूर्ण वा केही भाग काट्नुपर्ने चिकित्सक बताउँछन्।

    कुनै अवस्थामा नजिकैका यौन अंगहरू अर्थात् अण्डकोषसमेत काट्नुपर्ने हुन सक्छ। यसै वर्षको जनवरीमा जोआओले क्यान्सरबाट छुटकारा पाउनका लागि आफ्नो लिंगको एक भाग शल्यक्रिया गरेर काट्नुपरेको थियो। यो उनका लागि धेरै कठिन समय थियो।

    ‘हामीले यस्तो अवस्थाबाट गुज्रनुपर्छ भनेर कहिल्यै सोचेका थिएनौं। जब यो रोग लाग्छ, तपाईंले कसैलाई के भयो भन्न पनि सक्नुहुन्न,’ जोआओ भन्छन्।

    ‘म शल्यक्रियाबाट धेरै डराएको थिएँ तर मसँग अर्को विकल्प थिएन। शल्यक्रियापछिका केही सातासम्म म धेरै दुःखी भएँ। लिंगको एक भाग मबाट वञ्चित हुनु एकदमै डरलाग्दो कुरा हो,’ उनी भन्छन्। चिकित्सकका अनुसार कतिपय बिरामीको लिंग पूरै काट्नुपर्ने हुन्छ, जसले गर्दा उनीहरूको जीवन पूर्णतयः परिवर्तन हुन्छ।

    के भन्छन् डाक्टर ?

    साओ पाउलोको एसी क्यामेरागो क्यान्सर सेन्टरका युरोलोजी विभागका प्रमुख डा. थियागो क्यामेलो मोउराओका अनुसार आशिंक रूपमा अंगविच्छेद गर्दा लिंगबाट नै पिसाब गर्न मिल्छ तर पूरै काट्नुपरेमा बिरामीले शौचालयको सिटमा बसेर पिसाब फेर्नुपर्ने हुन्छ।

    विज्ञहरूका अनुसार लिंगको क्यान्सर हुनुका धेरै कारण हुन सक्छन्। यसमा लिंगका अगाडि छाला मोटो हुनु र धुम्रपान प्रमुख कारण हुन सक्छन्। ब्राजिलियन सोसाइटी अफ युरोलोजीका चिकित्सक मौरिसियो डेनर कोर्डेरो सरसफाइमा ध्यान नदिँदा पनि क्यान्सर हुन सक्ने बताउँछन्।

    ‘लिंगको छालालाई राम्ररी सफा नगर्दा छालामुनि जम्मा भएको फोहोरका कारण ब्याक्टेरिया संक्रमण हुने वातावरण बन्छ,’ उनी भन्छन्। उनका अनुसार नियमित रूपमा यस्तो फोहोर भइरह्यो भने ट्युमर बन्ने खतरा बढ्छ।

    सरसफाइको अभावबाहेक ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) संक्रमण हुनु पनि लिंग क्यान्सरको जोखिम बढाउने कारक रहेको मौरिसियो बताउँछन्।

    एचपिभी भाइरसले कतिपय अवस्थामा मुख र लिंगको क्यान्सर निम्त्याउँछन्। कोर्डेरोका अनुसार यस भाइरससँग सम्बन्धित क्यान्सरबाट बच्न एचपिभी खोप निकै प्रभावकारी उपाय हुन सक्छ तर यो खोप लगाउने दर ब्राजिलमा अत्यन्त कम छ।

    ब्राजिलमा खोपको उपलब्धता भए पनि केटीहरूमा एचपिभी खोप लगाउने दर ५७ प्रतिशत मात्रै छ। केटाहरूमा भने खोपको दर ४० प्रतिशतभन्दा माथि छैन। यस रोगको समग्र रोकथामका लागि खोप लगाउनेको प्रतिशत ९० प्रतिशत हुनुपर्छ।

    खोपबारे गलत जानकारी हुनु र यसको प्रभावकारिताको आशंका र खोप अभियानको अभावका कारण खोप दर न्यून रहेको मौरिसियो ठान्छन्।

    ब्राजिलमा मात्र सीमित छैन यो समस्या

    यो समस्या ब्राजिलमा मात्रै सीमित छैन। लिंग क्यान्सर अर्थात् पेनाइल क्यान्सरबारे हालै गरिएको एक अनुसन्धानअनुसार यसप्रकारका बिरामीको संख्या विश्वभर बढिरहेका छन्। सन् २०२२ मा ‘जेएमआइआर पब्लिक हेल्थ एन्ड सर्भिलेन्स’ नामक पत्रिकाले ४३ देशको पछिल्लो तथ्यांक विश्लेषण गरेर एक प्रतिवेदन प्रकाशित गरेको थियो।

    सो प्रतिवेदनअनुसार सन् २००८ देखि २०१२ बिचमा अफ्रिकी देश युगान्डामा प्रत्येक एक लाख मानिसमा २.२ जनामा लिंग क्यान्सर रहेको देखिएको थियो। यसपछि प्रतिलाखमा ब्राजिलमा २.१ जना, थाइल्यान्डमा १.४ जनामा यो क्यान्सर रहेको पाइएको थियो। यो क्यान्सरको सबैभन्दा कम दर कुवेतमा रहेको पाइएको थियो, जहाँ प्रतिलाखमा मात्र ०.१ जनामा यो रोग देखिएको थियो।

    चीनको सनयात सेन विश्वविद्यालयका लिवेन फु र तियान टियानको नेतृत्वमा गरिएको एक अनुसन्धानअनुसार यो क्यान्सर र यसबाट हुने मृत्युका हिसाबले विकासशील देशहरू सबैभन्दा बढी पीडित छन्।

    यी देशमा सन् १९७९ देखि २००९ बीच यसको दर बढेको छ। यी देशमा यो अवधिमा प्रतिलाख व्यक्तिमा १.१ देखि बढेर १.३ जनासम्ममा यो रोग विस्तार भएको देखिएको छ।

    यसैगरी जर्मनीमा सन् १९६१ देखि २०१२ बीच यो रोग ५० प्रतिशतले बढेको पाइएको छ। यस अवधिमा जर्मनीमा यो क्यान्सरको दर प्रतिलाख मानिसमा १.२ बाट बढेर १.८ पुगेको पाइएको थियो।

    ग्लोबल क्यान्सर रजिस्ट्रीले यो रोगको प्रकोप अझै बढ्ने आँकलन गरेको छ। उक्त संस्थाका अनुसार सन् २०५० सम्म विश्वभर लिंग क्यान्सरका घटनाहरू ७७ प्रतिशतले बढ्न सक्छन्।

    विज्ञहरूका अनुसार यो परिवर्तनको मुख्य कारण बुढ्यौली पनि हो। यो क्यान्सरका धेरैजसो बिरामीमा ७० वर्ष पुगेका वृद्धवृद्धा देखिएका छन्। कोर्डेइरो थप्छन्, ‘यो क्यान्सर एकदमै दुर्लभ रोग हो र यसलाई रोकथाम गर्न सकिन्छ।

    सबै उमेरका पुरुषले यौनसम्पर्कपछि हरेक दिन आफ्नो लिंग साबुन र पानीले धुनु महत्वपूर्ण हुन्छ।’ उनी यौन सम्पर्क गर्दा कन्डम प्रयोग गर्नुपर्ने र लिंगको टुप्पोतिरको छालामा समस्या भएका व्यक्तिहरूले शल्यक्रिया गरेर लिंगको टुप्पो हटाउनुपर्ने सल्लाह दिन्छन्। यसले यो क्यान्सरको जोखिम कम हुन्छ।

    अहिले ब्राजिलका जोआओ आफ्नो लिंगको एक भाग काटिएपछि दुखाइ हटेको बताउँछन्। ‘म पहिलेभन्दा निकै सहज महसुस गरिरहेको छु तर बाँकी जीवनमा मेरो लिंगको एक भाग काट्नु परेको कठोर वास्तविकतासँगै म बाँच्नुपर्ने छ,’ उनी भन्छन्।

    ब्रिटिस क्यान्सर रिसर्चका अनुसार लिंग क्यान्सर भएको पत्ता लागेका ९० प्रतिशतभन्दा बढी पुरुषमा यो क्यान्सर लिम्फ नोड्स अर्थात् रोग प्रतिरोधक गाँठोसम्म फैलिएको छैन भने ती रोगी अर्को पाँच वर्ष अथवा सोभन्दा बढी बाँच्न सक्छन्। -बिबिसी

  • सुरु हुँदै नेपाली फिल्म महोत्सव ‘किम्फ’

    सुरु हुँदै नेपाली फिल्म महोत्सव ‘किम्फ’

    जेठ १६ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिन पारेर नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ। सन् १०५३ को मे २९ तारिखमा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण गरेको दिनलाई दिवसको रूपमा मनाउँदै यस वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सुरु हुँदै छ।

    यसअघि अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर डिसेम्बर ११ तारिखमा आयोजना हुँदै आएको किम्फले यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना हुन लागेको जानकारी आयोजक किम्फ फाउन्डेसनकी अध्यक्ष रम्यता लिम्बुले दिइन्।

    ‘किम्फको आयोजना गर्न थालेको २४ वर्ष भएछ,’ किम्फ फाउन्डेसनकी अध्यक्ष लिम्बुले स्मरण गरिन्, ‘किम्फको २१औं संस्करणसम्म आइपुग्दा विभिन्न खालका उताढचढावहरूको अनुभव गरियो। यत्तिका वर्षमा हामीले नयाँ फिल्म मेकरहरूलाई प्लेटफर्म प्रदान गरेर फिल्मको माध्यमबाट समाजलाई जगरुक बनायौं भन्ने लाग्छ।

    त्यत्ति मात्र नभएर दीपक रौनियार, अभिनाश विक्रम शाह र मीन भामजस्ता फिल्म मेकरलाई सुरुवाती दिनमा प्लेटफर्म दिएर राम्रा र कलात्मक फिल्महरू दर्शकमाझ पुर्‍याउन भूमिका निर्वाह गर्यौं। नयाँ फिल्म मेकरलाई प्रोत्साहन गर्नेदेखि ग्रान्डमार्फत राम्रा कलात्मक फिल्महरू किम्फबाट बनेका छन्।

    नेपाली कथालाई किम्फले स्पेस दिएको छ। त्यसबाहेक विदेशबाट आएका राम्रा तथा कलात्मक फिल्म नेपाली दर्शकलाई देखाएर बहससमेत गराउन किम्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो भन्ने लाग्छ।’

    २१औं संस्करणसम्म आइपुग्दा किम्फमा ११ सयभन्दा बढी कथानक फिल्म, डकुमेन्ट्री र सर्ट फिल्म प्रदर्शन भइसकेका छन्। त्यसमध्ये दुई सयभन्दा बढी ‘नेपाल पानारोमा’अन्तर्गत प्रदर्शन भइसकेका छन्। महोत्सवले सन् २००७ देखि ‘नेपाल पानारोमा’ सुरु गरेको हो।

    त्यस्तै ६० हाराहारीका मास्टरक्लास, कार्यशाला र प्रदर्शनी आयोजना गरिसकेको छ। सन् २०१९ देखि सुरू टोनी हेगन फाउन्डेसन डकुमेन्ट्री ग्रान्डअन्तर्गत हालसम्म १६ जनाले फिल्म बनाउन अनुदान प्राप्त गरिसकेका छन्। त्यसमध्ये १४ वटा फिल्म बनेका छन् भने दुईवटा बनिरहेका छन्।

    आगामी जेठ १६ (मे २९) देखि प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा सुरु हुने महोत्सव जेठ २० (जुन २ तारिख) सम्म चल्नेछ। महोत्सवमा २२ देशका ६० भन्दा बढी फिल्म प्रदर्शन हुनेछन्। ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ नारासहित आयोजना हुन लागेको महोत्सवको २१औं संस्करणको उद्घाटन इटालियन निर्देशक ब्रान्डो क्विलिचीको ‘द टाइगर्स नेस्ट’ को प्रिमियरबाट सुरु हुँदै छ। नेपालमा खिचिएको यो डकुमेन्ट्रीमा बाघको बच्चालाई सिकारीबाट बचाउन साहसिक यात्रामा निस्किएको एक युवाको कथा समेटिएको छ।

    किम्फको अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत डकुमेन्ट्री, कथानक, सर्ट तथा प्रयोगात्मक फिल्म समावेश छन्। त्यस्तै नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्जक फिल्महरू प्रस्तुत हुनेछन्।

    यसपटक किम्फमा ‘बाइ दोज हु व्हेयर देअर १९२१, १९२२, १९२३, १९२४’ शीर्षकमा फिल्मसँगै एक शताब्दीअघिको सगरमाथा आरोहण प्रयासका दुर्लभ फोटा तथा कथानकको प्रदर्शनी हुनेछ। नेपाल–कोरिया मित्रताको ५०औं वर्षगाँठको उपलक्ष्यमा भाषा र संस्कृतिमा भिन्नताका बाबजुद दुई देशबीचको समानता झल्कने उल्जु माउन्टेन फिल्म फेस्टिभल कोरियाका फिल्मको विशेष प्रदर्शन हुनेछ।

    मानवशास्त्री डा. सुरेश ढकाल, बेलायती निर्देशक तथा निर्माता डिना मुफ्ती र स्विटजरल्यान्डकी फिल्म सम्पादक रेजिना बत्स्र्कीको निर्णायक टोलीले यसपटक किम्फमा प्रदर्शन भएका फिल्महरूबाट उत्कृष्ट छनोट गर्नेछन्। उनीहरूले अन्तर्राष्ट्रिय विधाका तीनवटा फिचर कथानक, ११ वटा फिचर डकुमेन्ट्री, ७/७ वटा सर्ट फिल्म र डकुमेन्ट्री तथा नेपाल पानोरामामा विधाका १३ डकुमेन्ट्री र १६ कथानकमध्येबाट विजेता छनोट गर्नेछन्।

    अन्तर्राष्ट्रिय विधामा सर्वोत्कृष्ट फिचर डकुमेन्ट्रीलाई १५ सय अमेरिकी डलर, उत्कृष्ट सर्ट डकुमेन्ट्रीलाई एक हजार डलर, उत्कृष्ट फिचर कथानकलाई १५ सय डलर र उत्कृष्ट सर्ट कथानकलाई एक हजार डलर पुरस्कार प्रदान गरिने किम्फ फाउन्डेसनले जनाएको छ।

    नेपाल पानोरामा सर्वोत्कृष्ट डकुमेन्ट्री र उत्कृष्ट कथानक फिल्मले क्रमशः एक लाख रूपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दर्शक पुरस्कारको राशि एक लाख रूपैयाँ छ। इन्टरनेसनल एलायन्स अफ माउन्टेन फिल्म (आइएएमएफ) को सदस्य रहेको किम्फलाई यस महोत्सवलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्दै छ।

    सन् २०२२ को २०औं संस्करणसम्म किम्फलाई हिमाल एसोसिएसनले आयोजना गर्दै आएको थियो। हिमाल एसोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले किम्फको जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गरे।

    नयाँ संस्था दर्ता गर्न समय लागेपछि गत वर्ष किम्फ आयोजना हुन सकेन। किम्फ फाउन्डेसन दर्ता भएपछि पहिलो पटक यही संस्थामार्फत महोत्सव आयोजना हुँदै छ।

    ‘सधैं पुरानो टोली भइरहन्छ भन्ने छैन,’ उनले भनिन्, ‘किम्फको नेतृत्वमा युवा पुस्तालाई ल्याउनुपर्छ भनेर हामीले यसपटक विभिन्न संस्थासँग सहकार्य गरेर सोही अनुसार सेसन तयार गरेका छौं। काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुने महोत्सवले काठमाडौंलाई फिल्म सिटीको रूपमा अघि बढाउन जोड दिएको छ।’

    महोत्सवमा महिला फिल्मकर्मीलाई लक्षित गरेर ‘पर्दा पछाडिका महिला’ नामक अन्तक्र्रिया हुँदै छ। ‘नेपाल पानारोमामा अधिकांश महिला फिल्म मेकरहरूका फिल्म सहभागी छन्,’ उनले भनिन्, ‘महिलाको कथा महिलाले भन्नुपर्छ भनेर हामीले यसपटक उहाँहरूका फिल्मलाई प्राथमिकता राखेका हौं। अबका दिनमा महिलाका कथाहरू आउनुपर्छ भनेर विभिन्न कार्यक्रममार्फत हामीले उहाँहरूलाई प्रोत्साहन गरिरहेका छौं।’

    महोत्सवमा ‘कट कथा’ले स्टोरी पिचिङ गरिरहेको छ भने स्टोरी टेलर्सको सहकार्यमा निर्देशक मीन भाम, शिलशिला आचार्य र दावा याङ्जुङले आआफ्नो कथा सुनाउनेछन्। महोत्सवमा युवालाई लक्षित गरेर ब्रिटिस काउन्सिलको सहकार्यमा ‘च्याम्पिनिङ योङ फिल्ममेकर्स’ गरिँदै छ। यसमा उनीहरूले फिल्म बनाउने आधारभूत शैली सिक्नेछन्। किम्फले यसअघि गरिरहेको फोटो प्रदर्शनीले यसपटक समेत निरन्तरता पाएको छ।

    ‘नेपाल पानारोमा’अन्तर्गतका यस पटक महोत्सवका लागि सयवटा हाराहारी फिल्महरूले आवेदन दिएको उनले बताइन्। ‘यसअघि ४० हाराहारीको नेपाली फिल्म महोत्सवका लागि आउने गरेकामा भने यसपटक सय हाराहारीले आवेदन दिए,’ उनले सुनाइन्, ‘युवाहरूले बनाएका फिल्म देखाउने प्लेटफर्म नहुँदा धेरै फिल्म आएको हुनुपर्छ।’ ‘नेपाल पानारोमा’मा १६ वटा आख्यान र १३ वटा डकुमेन्ट्री छनोट भएका छन्।

    ‘सुरुवाती दिनदेखि किम्फमा आबद्ध भएकाले अहिले यसलाई कसरी टिकाउने भन्नेमा केन्द्रित भएको छु,’ उनले भनिन्, ‘दर्शक र फिल्ममेकरहरू अन्तक्र्रिया गर्ने प्लेटफर्मको रूपमा यसलाई अघि बढाएका छौं।

    त्यस्तै शैक्षिक, मानवीय र सांस्कृतिक अनुभव फिल्म, मिडिया कला र डिजिटल कथावाचनमार्फत आदानप्रदान गर्ने पुलको रूपमा विकसित गर्न जोड दिएका छौं। फिल्ममेकर मात्र नभएर दर्शकलाई फिल्म र कलामार्फत जागरूप गराउन लागिपरेका छौं। किम्फको स्वामित्व सबैले लिनुपर्छ।

    हामीले डिजिटल प्लेटफर्ममार्फत सामग्री तयार गर्न जोड दिएका छौं। फिल्ममेकरको विकासदेखि फिल्म आर्काइभ र सामुदायिक संलग्नताका कार्यक्रममा केन्द्रित भएर अबको किम्फलाई अघि बढाउन लागिपरेका छौं। यसले महोत्सवको महत्त्व बढाउनेमा आशावादी छु।’

    फिल्म निर्देशक केसाङ छेतेनका अनुसार फिल्म र फिल्म मेकरहरूलाई प्लेटफर्म चाहिने हुँदा नेपालको सन्दर्भमा किम्फप्रमुख फिल्म महोत्सव हो। ‘नयाँ फिल्ममेकर र फिल्महरूलाई प्लेटफर्म चाहिने हुँदा किम्फ प्रमुख फिल्म महोत्सव हो,’ उनले भने, ‘यो हाम्रो लागि सकारात्मक कुरा हो। हामीले बनाएका फिल्महरू विदेशले हेर्नका लागि बजारसम्म पुग्नु आवश्यक छ। किम्फले विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवसम्म नेपाली फिल्मलाई पुर्‍याउन प्लेटफर्म दिएको छ। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको किम्फले राम्रा फिल्म मेकरहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहयोगी भएको छ। त्यसमा देखाउने फिल्म हेर्न दर्शकहरूको घुँइचो लाग्ने गरेको छ। यो स्थितिमा फिल्म मेकर र दर्शकबीच विचार आदानप्रदान गर्ने प्लेटफर्मसमेत किम्फले सिर्जना गरिदिएको छ।’

    नेपाली फिल्म मेकरका लागि किम्फ महत्त्वपूर्ण रहेको दाबी उनले गरे। ‘हामीले बनाएको फिल्म दर्शकले हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘तर दर्शकमार्फत पुग्ने प्लेटफर्म कम भएको अवस्थामा किम्फ हाम्रा लागि समेत महत्त्वपूर्ण रहेको छ।’

    सरकार र स्थानीय प्रशासनले किम्फलाई सहयोग गरेर पर्यटकीय आकर्षणको रूपमा अघि बढाउनुपर्ने तर्क उनले गरे। ‘यसले फिल्म निर्माणलाई प्रोत्साहन गर्नेदेखि फिल्ममार्फत नेपालको पर्यटन प्रवद्र्धन सकिन्छ। यसका लागि सरकारदेखि व्यापारिक घरानालगायतले प्रोत्साहन गर्नु आवश्यक छ,’ उनले भने, ‘फिल्म महोत्सवका आफ्नै दर्शक हुने भएकाले यस महोत्सवले फिल्मको भ्यालु बढाउन मद्दत गर्दछ।

  • सहिद स्मारक ‘सी’ डिभिजन लिग : रोहित चन्दको टोली शीर्षमा

    सहिद स्मारक ‘सी’ डिभिजन लिग : रोहित चन्दको टोली शीर्षमा

    नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

    शुक्रबार मनोहरा युनाइटेड युवा क्लबमाथि २–१ को जित निकाल्दै आरसी ३२ लिगको शीर्ष स्थानमा उक्लिएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आरसी ३२ को जितमा आशिष लावती र किस्मत लिम्बुले गोल गरे। मनोहराका उत्तम शाहीले एक गोल फर्काए।

    यो जितसँगै आरसी ३२ ले १० खेलबाट २२ अंक जोडेको छ। पराजित मनोहरा समान खेलबाट १४ अंकका साथ पाँचौं स्थानमा छ। यो खेलसँगै दशौं चरणको खेल सुरु भएको छ। ९ खेल मात्र खेलेका बाग्मती २० अंकका साथ दोस्रोमा र पुल्चोक १९ अंकका साथ तेस्रो स्थानमा छन्।

    एक खेल कम खेलेका बाग्मती र पुल्चोकसँग दशौं चरणमा जित निकाल्दै शीर्ष स्थानमा उक्लिने अवसर छ। समान ९ खेलबाट समाज कल्याण १६ अंक जोड्दै चौथो स्थानमा छ। त्यसअघि शुक्रबार आरसी ३२ ले सुरुआतमा अग्रता लिँदै मनोहरामाथि दबाब बनाएको थियो।

    खेलको २०औं मिनेटमा आशिषको गोल गर्दै आरसी ३२ लाई अग्रता दिलाएका हुन्। त्यो गोलसँगै आरसी ३२ पहिलो हाफमा १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि आरसी ३२ ले दोस्रो गोल थप्दै अग्रता बढायो।

    ६७औं मिनेटमा किस्मतले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका हुन्। उनले मनोहराका गोलकिपर समीर विष्ट अगाडि बढेको अवस्था सदुपयोग गरेका थिए। यस क्रममा उनले पेनाल्टी बक्सबाहिरबाट गोल गरे। आरसी ३२ क्लिन सिटनजिक पुगेको थियो।

    तर इन्जुरी समयमा मनोहराले गोल फर्कायो। उत्तमले गोल गर्दै मनोहरालाई खेलमा फर्काउन प्रयास गरे। तर, त्यो पर्याप्त हुन सकेन। उनले आविष्कार खड्काको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी बक्सबाहिरबाट उत्कृष्ट गोल गरे।

    आविष्कार जारी लिगमा मनोहराका लागि सर्वाधिक गोलकर्ता (चार) हुन्। जारी लिगमा पुलचोकका लागि श्यरब लो तामाङ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन्। उनकै आठ गोल प्रेरणामा पुलचोकले शीर्षताको होडमा दाबेदारी दिइरहेको छ।

    सर्वाधिक गोलकर्ताको सूचीमा समाज कल्याणका रोशन क्षेत्री (६ गोल), सानेपामा पेम्बा दोर्जे (५ गोल), पुलचोककै खेलाडीद्वय सागर थिङ र सुमन श्रेष्ठले समान पाँच गोल गरेका छन्।

  • ‘माथिको आदेश’मा नक्कली लाइसेन्स

    ‘माथिको आदेश’मा नक्कली लाइसेन्स

    नक्कली लाइसेन्स वितरणमा यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशकहरूलाई शंकाको घेरामा राख्दै फरकफरक अनुसन्धान गरी सिआइबीले अदालतमा पठाएको मुद्दामा ‘माथिको आदेशले काम गरेको’ उल्लेख छ तर कसले आदेश दिएको त्यो खुलाइएको छैन। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तयार पारेको अभियोजनमा आरोपीले माथिको आदेशअनुसार काम गरेको बयान दिएको उल्लेख छ। तर आदेश दिने व्यक्ति खुलाइएको छैन।

    नक्कली लाइसेन्स तयार गरी वितरण गरेको र आर्थिक लाभ लिएर द्रुतगतिमा लाइसेन्स प्रिन्ट गरेको सम्बन्धमा फरकफरक अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयमा दुईवटा अभियोजन दर्ता गराएको थियो। पहिलो अभियोजनमाथि अदालतले थुनछेकको बहस सकी सजाय आदेशसमेत गरिसकेको छ।

    शशांक बस्याललाई नक्कली लाइसेन्स दिने मुख्य भूमिकामा रहेका यातायात व्यवस्था विभागका तत्कालीन इन्जिनियर सुरजप्रकाश अर्याललाई जिल्ला अदालत काठमाडौंले पाँच लाख रूपैयाँ धरौटीमा छाडेको छ। उनीलगायत सात जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो।

    जिल्ला न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले अर्यालसँग पाँच लाख रूपैयाँ धरौटी मागेको थियो। त्यस्तै उक्त मुद्दाका अर्का प्रतिवादी यातायात व्यवस्था कार्यालय, बुटवलका कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेसँग पनि जिल्ला अदालत काठमाडौंले पाँच लाख रूपैयाँ धरौटी मागेको थियो। उनीहरू दुवैले ‘माथिको आदेशबाट लाइसेन्स दिएको तर आदेश दिनेबारे आफूहरूलाई जानकारी नभएको’ बयान दिएका थिए।

    त्यसैगरी यातायात व्यवस्था विभागका करारका पूर्वइन्जिनियर हरिश भट्टसँग जिल्ला अदालतले दुई लाख रूपैयाँ धरौटी मागेको थियो। उनीविरुद्ध अर्को मुद्दा पनि सरकारी वकिल कार्यालयले अदालतमा लाने तयारी गरेको छ। उनीविरुद्ध सरकारी लिखत छाप दस्तखत किर्ते आरोपमा पनि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अभियोजनका लागि अध्ययन भइरहेको छ।

    ‘माथिको आदेश भनिएको छ, माथिबाट आदेश दिने अधिकारीबारे अनुसन्धान भइरहेको छ, यातायात व्यवस्था विभागमा कार्यरत उच्च तहका कर्मचारीबारे निरन्तर अनुसन्धान हुनेछ, यो सुरुवात हो अनुसन्धान सकिएको छैन, तत्काललाई कानुनी बाध्यता रहेकाले मुद्दा पठाइएको हो,’ सिआइबीका एक अनुसन्धान अधिकृतले भने।

    कारले ठक्कर दिई पैदलयात्रुको घटनास्थलमै मृत्यु भएपछि सम्भावित सजायबाट जोगिन बस्यालले नक्कली लाइसेन्स उपलब्ध गराइएको थियो। गिरोहले पैसा लिएर उनलाई नक्कली लाइसेन्स दिएको थियो। त्यही लाइसेन्स लिएर बस्याल हिरासतमुक्त भएका थिए। कारचालक बस्याल र उनका पिता ठानेश्वर बस्याललाई समेत प्रतिवादी बनाएर सिआइबीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

    सिआइबीले अकरामुद्दीन मुसलमान र अरूण कार्की भन्ने लट्टु नाउलाई पनि प्रतिवादी बनाएको छ। नक्कली कागजपत्र बनाएर गैरकानुनी तरिकाले लाइसेन्स प्रिन्ट गरी वितरण गरेको प्रकरणमा पनि सिआइबीले मुद्दा दर्ता गराएको छ।

    लाइसेन्स कार्डको अभाव हुन थालेपछि अध्ययन र रोजगारीका लागि विदेश जानेलाई लाइसेन्स दिन नसकिएको अवस्थामा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फास्ट प्रिन्टिङ’को व्यवस्था गरेको थियो। त्यही मेसोमा चलखेल गरेर पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म उठाएर लाइसेन्स प्रिन्ट गरिदिएको अभियोग लगाइएको छ।

    भिसा, पासपोर्ट, हवाई टिकट तथा विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) र श्रमिकका लागि श्रम स्वीकृति लिएको रसिदका आधारमा तीन दिनमा लाइसेन्स दिइने नियमलाई ‘फास्ट प्रिन्टिङ’ सुविधाको दुरूपयोग गरेर फर्जी कागजातका आधारमा लाइसेन्स प्रिन्ट गरेको आरोप लगाइएको छ। त्यसमा सिआइबीले हरिश भट्ट, प्रदीप सुनुवार, मिलन बास्तोला, बिर्जुकुमार चौधरी, वसन्त पाण्डे, गणेश भण्डारी र दीपा न्यौपानेलाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा पठाइएको छ।

    यसरी नक्कली लाइसेन्स वितरण गर्दा उनीहरूले संकलन गरेको रकम यातायात व्यवस्था विभागका माथिल्लो तहका कर्मचारीलाई समेत पु¥याउने गरेका थिए।

    थुनामा रहेका व्यक्तिलाई लिखित र ट्रायलबिनै ‘बी’ क्याटेगोरीको लाइसेन्स उपलब्ध गराउने धन्दामा संलग्न रहेको भन्दै सिआइबीले अर्याललाई आरोप लगाएको थियो। सिआइबीका अनुसार स्याङ्जाका १८ वर्षीय बस्यालले २०८० असारमा लाइसेन्सबिनै कार चलाएका थिए। उनले चलाएको कारको ठक्करबाट कृष्णप्रसाद भट्टराईको ज्यान गएको थियो। बस्याललाई तत्काल प्रहरीले नियन्त्रणमा लियो। उनीसँग मोटरसाइकल चलाउने लाइसेन्स मात्र थियो। कारबाहीबाट जोगाउन उनका बाबु कारको लाइसेन्स लिन गिरोहको सम्पर्कमा पुगेका थिए।

    नक्कली लाइसेन्स जारी गर्नेमा सक्रिय अर्याल र भट्टको गिरोहले आर्थिक लेनदेनमा कुरा मिलेपछि शिवपुजन मल्लाह नाम गरेका व्यक्तिको लाइसेन्समा छेडखानी गरेर बुटवलमा कार्यरत कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेको टिमलाई सबै विवरण भर्न लगाइै दिलाइएको थियो।

    काठमाडौंस्थित यातायात व्यवस्था विभागबाट कम्प्युटर इन्जिनियर अर्याल, कम्प्युटर अपरेटर भट्ट र बुटवलबाट कम्प्युटर अपरेटर नारायण पाण्डेको गिरोहले संगठित रूपमै कारले हानेर मान्छे मार्ने शशांकलाई नक्कली लाइसेन्स उपलब्ध गराएको थियो।

  • ‘जलवायु संकट रोक्न राजनीतिक इच्छाशक्ति अपरिहार्य’

    ‘जलवायु संकट रोक्न राजनीतिक इच्छाशक्ति अपरिहार्य’

    जलवायु न्याय, स्थानीय तहको नेतृत्वसहितको जलवायु कार्य, बढ्दो कार्बन उत्सर्जन न्यूनीकरणका लागि थप प्रयास तथा पर्वतीय मुद्दालाई सम्बोधन गर्न सहकार्यमा जोड दिँदै चन्द्रागिरिमा आयोजित ‘हिमाल, मानव र जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद सम्पन्न भएको छ।

    नेपाललगायत २५ देशका २५० प्रतिनिधि, सहभागी सम्मेलनले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको जोखिम सम्बोधन गर्न थप राजनीतिक इच्छाशक्ति तथा सामूहिक कार्यको आवश्यकता औंल्याउँदै यसका लागि ठोस नतिजा दिन सक्ने महत्वाकांक्षी काम गर्नुपर्नेमा जोड दिएको छ।

    दुई दिनसम्म चलेको संवाद बिहीबार अबेर सम्पन्न भएको हो। संवाद सम्पन्नपछि निष्कर्षका रूपमा दसबुँदे सन्देश जारी गरिएको छ। ‘जलवायु परिवर्तनले पर्वतीय प्रणाली र सर्वसाधारणमा परेको प्रभाव र यो चुनौती सम्बोधन गर्न विश्व नेतृत्वले तत्काल ठोस पहल गर्न आवश्यक छ,’ सन्देशमा लेखिएको छ।

    वैज्ञानिक तथ्य र प्रमाणले हरितगृह ग्यासको अत्यधिक उत्सर्जनका कारण हिमाली क्षेत्रको मौसमी चक्रमा परिवर्तन भएको, हिमनदी तथा जलप्रवाहमा ह्रास आएको तथा हिमताल विस्फोटको खतरा बढेको भन्दै पर्वतीय क्षेत्रका विषयमा रहेको समग्र बुझाइ र अध्ययनलाई थप सशक्त पार्नुपर्नेमा संवादले जोड दिएको छ।

    यसैगरी जलवायु परिवर्तनले निम्त्याएका हानि–नोक्सानी सम्बोधन गर्न अवधारणागत प्रष्टता र एकीकृत योजनाको आवश्यकता रहनेमा जोड दिँदै संवादले यस प्रकारको हानि–नोक्सानीले स्थानीयको परम्परागत जीवनशैली, स्वास्थ्य, पारिस्थितिकीय सेवा, सांस्कृतिक सम्पदा तथा समग्र जैविक विविधतामा के–कस्तो प्रभाव पारेको छ भन्ने निक्र्याेल गर्न सही विधि अवलम्बन गर्नसमेत सुझाव दिएको छ।

    ‘भविष्यमा आइपर्न सक्ने जलवायुजन्य जोखिम सम्बोधन गर्न सही व्यवस्थान तथा सक्रिय समाधान आवश्यक छ। यो विषयमा एकातिर सबै तहमा निरन्तर संवाद तथा सहकार्य आवश्यक छ भने अर्कातिर यो प्रक्रियामा जनजाति, स्थानीय समुदाय, महिला, युवाको सहभागितालाई सुनिश्चित गर्नुपर्छ’, सन्देशको पाँचौं बुँदामा लेखिएको छ।

    जलवायु परिवर्तनले पर्वतीय तथा सामुद्रिक पारिस्थितिकीय प्रणालीमा पारेको नकारात्मक असर सम्बोधन गर्न स्थानीयको नेतृत्वदायी भूमिका स्थापित गर्न संवादले जोड दिएको छ।

    ‘दिगो स्थानीय समाधानका लागि स्थानीय निकायको क्षमता र जलवायु वित्तमा पहुँच बढाउन आवश्यक छ,’ संवादको निष्कर्ष छ।

    संवादले विद्यमान सामाजिक तथा संरचनागत संरचनाले सिर्जना गरेको शक्ति असन्तुलन र निश्चित समुदायको सीमान्तीकरणको विषयलाई जलवायु नीतिले आत्मसात गर्नुपर्नेमाा जोड दिएको छ।

    स्वच्छ ऊर्जा तथा हरित अर्थतन्त्रसहित आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न ऊर्जा प्रणालीलाई कार्बन शून्य पार्नुपर्ने र विशेषगरी जलविद्युत्, खाना पकाउने क्षेत्र, हरित औद्योगिकीकरण तथा प्रकृतिमा आधारित समाधानलाई आत्मसात गर्न निजी क्षेत्रको सहभागिता र सहकार्य आवश्यक रहेको सम्मेलनको ठहर छ।

    यसैगरी विकसित देशले विकासशील देशका कार्बन उत्सर्जन कटौती योजना, स्थानीय अनुकूलन योजना तथा अन्य जलवायु कार्य सञ्चालन गर्न वित्तीय सहयोगसहित सम्वद्ध देशको क्षमता अभिवृद्धि गर्न थप सहयोग उपलब्ध गराउनुपर्ने माग गरिएको छ।

    ‘हाल अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच स्थापन गर्ने प्रक्रिया अन्यन्त चुनौतीपूर्ण छ। यसमा प्रक्रियागत झन्झट छन्। सहयोग आउने अथवा नआउने भन्नेमा भविष्यवाणी गर्न सकिने अवस्था छैन। यसअघि नै क्रृणको भारमा रहेका राष्ट्रलाई उपलब्ध गराउने जलवायु वित्त अनुदान र सहुलियतपूर्ण हिसाबमा हुनुपर्छ’, सन्देशको नवौं बुँदामा भनिएको छ।

    पर्वतीय अजेन्डा राजनीतिक सीमाभन्दा बाहिरको विषय रहेको चर्चा गर्दै यसलाई अगाडि बढाउन अन्तर्राष्ट्रिय सहयोग र क्षेत्रीय सहकारिताको आवश्यकतामा पनि संवादले जोड दिएको छ।

    ‘पर्वतीय अजेन्डा समग्र अन्तर्राष्ट्रिय जलवायु वार्तामा समाहित हुनुपर्छ। यसका लागि विशेषज्ञहरूको नेटवर्क, सशक्त वार्ता टोली, पर्वत र समुद्रको अन्तरसम्बन्धका विषयमा प्रमाण तथा ज्ञान संकलन, सरोकारवालाको बृहत् सहयोग, रणनीतिक एवंं सुसंगत सन्देश तर्जुमा गर्न आवश्यक छ,’ सन्देशको दसौं बुँदामा लेखिएको छ।

    सम्मेलन समापन सत्रमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को वैज्ञानिक तथा प्राविधिक विषयमा परामर्श दिने सहायक निकाय (एसबिएसटिए) का अध्यक्ष हेरी भिरुयल्सले जुन ५ देखि जर्मनीको बोनमा हुन लागेको ६०औं बैठकका लागि काठमाडौं बैठकको निष्कर्ष महत्वपूर्ण रहने बताए।

    ‘नेपालमा प्राप्त ज्ञान र सुझाव बोन बैठकका लागि महत्वपूर्ण हुनेछन्। यस्ता संवादलाई निरन्तरता दिन जरुरी छ,’ भिरुयल्सले भने।