Blog

  • काठमाडौं महानगरभित्रका १२९ विद्यालय नाम परिवर्तनको प्रक्रियामा, बाँकीलाई पनि ताकेता

    काठमाडौं महानगरभित्रका १२९ विद्यालय नाम परिवर्तनको प्रक्रियामा, बाँकीलाई पनि ताकेता

    काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्रको सुरुवातमै निजी विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न ताकेता गरेपछि अहिले महानगर शिक्षा विभाग प्रमुखको कार्यालयमा दिनहुँ जसो नाम परिवर्तन गर्न आउनेको संख्या बृद्धि भइरहेको छ । जस अनुसार १ सय २९ विद्यालयले नयाँ नाम परिवर्तन गरि महानगरसमक्ष प्रस्ताव पेस गरिसकेका छन् ।

    महानगरपलिकाको शिक्षा विभागले नाम परिवर्तनका लागि प्रस्तावित विद्यालयहरुको कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ताका लागि सूचना जारी गर्ने तयारी गरिरहेको निजी विद्यालय हेर्ने शाखा प्रमुख नेत्र पौडेलले बताए । ‘केही दिनभित्र नाम परिवर्तनका लािग प्रस्ताव गरेका निजी विद्यालयको हकमा सूचना जारी गरी कम्पनी रजिष्ट्रिार कार्यालयमा दर्ताका लागि अनुमति दिने तयारी भइरहेको छ,’ प्रमुख पौडेलले नागरिकसँग भने,‘काठमाडौंमा निजी विद्यालयहरु कम्पनीमा दर्ता भई चलेका छन् । यसकारण नयाँ नाम परिवर्तनका लागि पनि कम्पनीको स्वीकृति आवश्यक छ ।’ शैक्षिक गुठीमा संचालनको हकमा विभागले नै स्वीकृति दिने पौडेलको भनाइ छ ।

    गत चैत्रमा जारी गरेको सूचनामा महानगरले विद्यालयहरुले सात दिनभित्र विदेशी नाम परिवर्तनको प्रकृया थालनी नगरे नयाँ शैक्षिक सत्रका लागि भर्ना रोकिने चेतावनी दिएको थियो । लगत्तै निजी विद्यालयहरुले बाध्य भएर अंग्रेजी नाम परितर्वन गरि नेपालीपन झल्कने नाम राख्न नामै प्रस्ताव गरेका हुन् । महानगरभित्र कुल ५५० निजी विद्यालय छन् । जसमध्ये हालसम्म १२९ निजी विद्यालयले नाम परिवर्तन गर्ने प्रकृयामा गएको निवेदन दिएका छन् । भने ३५ निजी विद्यालयले पुरानै नाम कायम गर्ने जानकारी विभागमा गराएको पौडेलले बताए ।

    ‘महानगरभित्र कुल निजी विद्यालयमध्ये विभागले ३ सय ३५ लाई नेपालीपन झल्कने नाम राख्न परिपत्र गरेको थियो, ’शाखा प्रमुख पौडेलले नागरिकसँग भने, ‘एक सय २९ विद्यालयले नामपरिवर्तन गर्न नयाँ नाम प्रस्ताव गरेका छन् भने १२९ नाम परिवर्तन गर्ने प्रकृयामा आइसकेका छन् ।’ उनले थपे, ‘विगभाले शिक्षा ऐन नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गराएको मात्र हो ।’

    प्रमुख पौडेलले विभागले निजी विद्यालयको वर्गीकरण गर्ने काम पनि सुरु भएको जनाए । ‘निजी विद्यालयको श्रेणी वर्गीकरण गर्ने तयारी छ,’ प्रमुख पौडेलले भने, ‘शुल्क निर्धारण पनि श्रेणी अनुसारै हुन्छ ।’

    शिक्षा विभाग प्रमुख गोविन्द शर्माका अनुसार कानुन सबैले पालना गर्नुपर्ने भएकोले काठमाडौं महानगरले शिक्षा ऐन नियममै भएको व्यवस्था कार्यन्वयन गराउन मात्र खोजेको हो ।

    यति मात्र होइन २०२८ सालको नयाँ शिक्षा ऐन जारी भएपछि त्यसबखत नै काठमाडौं जिल्ला शिक्षा समितिको बैठकले विद्यालयहरुको नामकरण नेपालीमा गर्ने निर्णय गरी सूचना जारी गेको थियो । तर आजसम्म निजी विद्यालयले अटेर गरिरहेका छन् । अहिले पनि निजी विद्यालयहरुका छाता संगठन प्याब्सनले सरकारले बलजफ्ती गरे कानूनी उपचार खोज्ने चेतावनी पनि दिँदै आएको छ ।

    महानगरपालिका शिक्षा विभागका अनुसार काठमाडौं महानगरभित्र कुल ८५८ विद्यालय छन् । जसमध्ये निजीको संख्या ५५० छ । ‘शिक्षा ऐन २०२८, शिक्षा नियमावली, २०५९को नियम १५४(१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४को नियम ७०मा ब्यवस्था भए अनुसार नेपालीपन झल्कने गरी नामाकरण गर्नु पर्ने ब्यवस्था छ ,’ विभागीय प्रमुख शर्माले भने,‘ विभागले महागरभित्र संचालित विद्यालयहरुलाई कानुन भित्र ल्याउन खोजेको हो ।’

  • सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

    सभामुखले प्रतिपक्षलाई बोल्न दिएनन्, सवाल–जवाफमा सात मिनेट खर्च

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठक दश मिनेट चलेर स्थगित भएको छ। यस क्रममा सभामुख देवराज घिमिरे र प्रतिपक्षी दलबीच चर्को सवाल–जवाफ भयो। सात मिनेटसम्म चलेको सवाल–जवाफका बीचमा प्रतिनिधिसभा बैठक नियमित काममा प्रवेशै नगरी स्थगित भएको हो।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति माग्दै आएका विपक्षी दलहरूले बैठक सुरु हुनासाथ स्थानबाट उभिएर अवरोध गरेका थिए।

    त्यसपछि सभामुख घिमिरेले बैठकका लागि शून्य समय, आकस्मिक समय र विशेष समय नराख्ने निर्णय भएको सुनाएका थिए। त्यसपछि संसद्को नियमित काम अगाडि जानुपर्छ भन्ने कोसिस जारी रहेको भन्दै प्रतिपक्षी दलले उठाउँदै आएको सहकारीसम्बन्धी मुद्दामा छलफल जारी रहेको बताएका थिए।

    ‘हामीले थाहा पाएसम्म कार्यदलमा पनि छलफल जारी छ। त्यसैले हाम्रो सभा पनि अगाडि बढाउँदै रहौं। त्यहाँबाट पनि निष्कर्ष निस्कनेमा हामी आशावादी छौं’, सोही क्रममा सभामुख घिमिरेले भने, ‘त्यसैले माननीय सदस्यहरू आसन ग्रहण गरेर नियमित अगाडि लैजानका लागि म अनुरोध गर्दछु।’

    त्यसपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले ‘हुँदैन, हुँदैन, बोल्ने समय चाहिन्छ’ भनेर प्रतिक्रिया जनाएका थिए।

    तर, सभामुख घिमिरेले प्रतिपक्षले माग गरेको बोल्ने समय दिन चाहेनन्। ‘माननीय सदस्यहरू अब हामी विषयअन्तर्गत गएर बोल्ने विषय पनि राख्ने छौं। त्यसैले विशेष समय, शून्य समय र आकस्मिक समय नराख्ने निर्णय गरेको यहाँहरूमाझ राख्न चाहन्छु’, सभामुख घिमिरेले जवाफ फर्काए।

    त्यसपछि उभिएको प्रतिपक्षी बेन्चबाट सामुहिक आवाजसँगै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सुनिए, ‘समय उपलब्ध गराउनुस्, समय उपलब्ध गराउनुस्। प्रतिपक्षलाई बोल्नु नदिने यो कहाँको नियम हो सभामुख महोदय ?’

    सभामुखले जवाफ फर्काए, ‘माननीय सदस्य, हामी नियमावलीअन्तर्गत नै कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौं। कार्य व्यवस्था परामर्श समितिमा पनि यो विषयमा छलफल गर्ने प्रयास भइरहेकै छ।’

    त्यसपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ‘बसेर छलफल गर्ने कुरा छँदै छ। सम्मानित संसदमा पनि बोल्न पाउनुपर्छ।’

    त्यसैमा महामन्त्री शर्माले थपे, ‘सभामुख महोदय प्रतिपक्षले बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने भन्ने कोणबाट बुझिनु हुँदैन। प्रतिपक्षले राख्न खोजेका विषय प्रतिपक्षका विषय मात्रै होइनन्, जनताका विषय हुन्।’

    सभामुख घिमिरेले कुरा सुन्न चाहेनन्। उनले कांग्रेसका कुरा नजरअन्दाज शैलीमा बोले, ‘माननीय सदस्यहरू आसन ग्रहण गरौं, नियमित कारबाहीलाई अगाडि बढाउनका लागि सहयोग गरिदिन हुन अनुरोध गर्दछु।’

    त्यसपछि प्रतिपक्षबाट तीव्र असन्तुष्टि आउन थाल्यो। महामन्त्री शर्मा फेरि सुनिए, ‘सदनमा प्रतिपक्षलाई बोल्न नदिएर कस्तो नजिर बसाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ? हामी समय चाहन्छौं।’

    ‘विषयवस्तुलाई अगाडि बढाउन सहयोग गरिदिनुस्’, सभामुख घिमिरे बोले।

    अगाडिबाट कांग्रेस प्रमुख सचेतक कुर्लिए, ‘प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक अभ्यास होइन सभामुख महोदय’, उनले अगाडि भने, ‘मेरो आग्रह छ– प्रतिपक्षले सदनमा बोल्न पाएन भने बोल्ने कहाँ हो त ?’

    केहीबेर अरू सांसद बोलेपछि लेखकले फेरि बोले, ‘संसद्मा प्रतिपक्षले बोल्न नपाए अनि संसदीय अभ्यास सिस्टमले अगाडि बढ्छ ?’

    सभामुख घिमिरेले कड्किए, ‘माननीय सदस्य सभा नियमअनुसार नै चलाउने हाम्रो कर्तव्य हो। माननीय सदस्यहरूले बोल्न पाउनुपर्छ भन्ने मागलाई सभामुखले बोल्न दिएनन् भन्ने प्रचार गर्ने कुरा होइन।

    बोल्ने वातावरण कसरी बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्ष दुवै त्यत्तिकै जवाफदेही र जिम्मेवार छ। त्यसैअनुसार लैजानका लागि म आसन ग्रहणका लागि अनुरोध गर्दछु।’ सभा विधिसम्मत ढंगबाट चल्ने, छलफल गर्ने र निष्कर्ष निकाल्ने विषयमा आफू प्रतिबद्ध रहेको सभामुख घिमिरेले बताए।

    ‘प्रतिपक्षले बोल्न पाएन भने त बोल्न दिइएन भन्ने पर्ला नि सभामुख महोदय’, लेखकले तत्कालै जबाफ फर्काए।

    सभामुखले ढिपी कसे, ‘बोल्ने विषयमा हामीले यही संसदमा यही सत्रमा पटकपटक बोल्नका लागि आग्रह गरेको स्मरण गराउन चाहन्छु। तलबाट बोलेको कुरा माथिबाट आएर बोल्नुस् भनेको कुरालाई पनि स्मरण गराउन चाहन्छु।’

    सम्भावित कार्यसूची वितरण गरेको, अन्तिम कार्यसूची वितरण गरेको कुरा बताउँदै सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि नाम टिपाउन आग्रह गरेको संसदलाई सुनाए।

    ‘यी विषयमा माननीय सदस्यलाई बहस, छलफल गरेर नीति तथा कार्यक्रमलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यले बैठकलाई अगाडि बढाउन आसन ग्रहण गरेर समय सदुपयोग गर्नुहुनेछ’, सभामुख घिमिरेले अगाडि सुनाए।

    फेरि लेखक सवालमा उत्रिए, ‘सभामुख महोदय, प्रतिपक्षी दल नबोल्दा संसदीय अभ्यास विधि अगाडि बढ्छ ? बढ्दैन, त्यसकारण विपक्षी दलले संसदमा आफ्ना भनाइ राख्न पाउनुपर्‍यो।’

    सभामुख घिमिरेले फेरि आफू विधिसम्मत नै अगाडि बढिरहेको दोहो¥याए। ‘त्यसका लागि सबै माननीयले वातावरण बनाउनुपर्छ। हामी खासगरी नियमावलीअनुसार अगाडि जान माननीयज्युहरूलाई आग्रह गर्छौं।’

    त्यसपछि सभामुखले सभा सञ्चालन गर्न सहयोग गर्नुहुने छ, समस्या समाधान गर्न कार्यदललाई सहयोग पु¥याउनुहुने छ र राष्ट्रका अगाडि पूरा गर्नुपर्ने सत्रका महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने आशा राखेको सुनाए।

    विपक्षी बेन्ज बैठक सञ्चालन गर्न तयार भएन। त्यसपछि सभामुख घिमिरेले प्रतिपक्षी दलले सहयोग नगरेको भन्दै जेठ १३ सम्मका लागि स्थगित गरेको घोषणा गरेर निस्किए।

  • अन्तर्राष्ट्रिय चिया महोत्सव जेठ अन्तिममा

    अन्तर्राष्ट्रिय चिया महोत्सव जेठ अन्तिममा

    इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ। चियाको राजधानीको नामले चिनिने इलाममा जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो।

    नेपाली चियाको गुणस्तर विश्वमाझ पुर्‍याउन अन्तर्राष्ट्रिय चिया महोत्सव गर्न लागिएको इलाम नगपालिकाका प्रमुख केदार थापाले बताए। उनले चिया उद्योगी, व्यवसायी किसान तथा अन्तर्राष्ट्रिय चिया पारखी र व्यवसायीलाई समेट्ने गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए।

    ‘नेपालको चिया विश्वमै स्वादिष्ट र अग्र्यानिक मानिए पनि प्रचार–प्रसार नहुँदा किसान तथा व्यापारीले कम मूल्यमा बिक्री गरिरहेको गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा चिया महोत्सव आयोजना गरेका हौं’, नगर प्रमुख थापाले भने, ‘कृषिजन्य उत्पादन चियालाई विदेश निर्यात गर्न सके विदेशी मुद्रा आर्जन प्रमुख स्रोत बन्ने थियो।’ चियाको बजारीकरण गर्ने र किसानलाई खेती गर्न प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ छ।

    महोत्सवपछि इलामसहित नेपालमा उत्पादित चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन र बजारीकरण गर्न सहजता हुने अपेक्षा गरिएको नगर प्रमुख थापाले बताए। उनका अनुसार महोत्सव इलाम बजारमा आयोजना गरिने छ।

    महोत्सव आयोजनाका लागि नगर प्रमुख थापाको संयोजकत्वमा समिति गठन भएको छ। इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको सहयोगमा महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा चियासँग सम्बन्धित विभिन्न सङ्घसस्थाका साथै चिया किसान तथा व्यापारी सहभागी हुनेछन्।

    महोत्सवपछि चिया किसान, व्यापारी र विदेशी चिया व्यापारीबीचको दूरी कम हुँदै जाने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलले बताए। उनका अनुसार इलाममा १९२० सालमा नै चिया रोपन सुरु भएको इतिहास छ।

    महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइने छ। विदेशी चिया पारखी तथा चिया व्यापारीले महोत्सवबाट चिया खरिद तथा बिक्री गर्नसक्ने आयोजकले जनाएको छ।

    इलाममा उत्पादन हुने चियालाई प्रदर्शनसँगै बिक्रीवितरण र प्रचार–प्रसार गर्न महोत्सव आयोजना गरिएकामा यहाँका किसान उत्साहित भएका छन्। महोत्सवमा ‘चिया’ विषयमा छलफल एवं अन्तक्र्रियासमेत हुने नगर प्रमुख थापाले जानकारी दिए। –रासस

  • त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द

    त्रिभुवन विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान बन्द

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डो परेको छ। विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डो परेको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।

    धावनमार्गमा खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको उनले बताए।

    उनले भने, ‘धावनमार्गमा सानो आकारको खाल्डो परेको छ। खाल्डो पुर्ने गर्ने काम भइरहेको छ। एक घण्टासम्मका लागि हामीले उडान बन्द गरेका छौं।’

  • कार्यदलको बैठक पुनः अनिर्णित, कांग्रेस केही लचक

    कार्यदलको बैठक पुनः अनिर्णित, कांग्रेस केही लचक

    सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानविन समितिको कार्यादेश (टीओआर) लाई टुंगामा पुर्‍याउन दलहरुको प्रयास अझै जारी छ ।

    शुक्रबार बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसके पनि सहमतिका लागि वैकल्पिक उपायहरु निस्किएको नेताहरुले बताएका छन् । शुक्रबारको बैठकमा नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्रीको नाम किटान गर्ने विषयमा केही लचक बनेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए । टीओआरलाई अन्तिमरुप दिन थप केही समय लाग्ने उनको भनाइ छ ।

    शुक्रबारको बैठकमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टीओआर बनाउन नयाँ प्रस्ताव गरेको बर्तौलाको भनाइ छ ।

    यो बारे दलहरुले आन्तरिक छलफल गरेर सम्भवतः शुक्रबार नै यसलाई अन्तिम रुप दिने तयारी भएको नेताहरुको भनाइ छ । कार्यदलमा सहमति हुन नसकेपछि प्रतिनिधि सभाको बैठकसमेत प्रभावित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

  • कार्यदलको बैठक नसकिँदा संसद् बैठकमा ढिलाई

    कार्यदलको बैठक नसकिँदा संसद् बैठकमा ढिलाई

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बनाउन गठित कार्यदलको बैठक नसकिँदा संसद बैठक अझै सुचारु हुन सकेको छैन।

    ८ बजे बोलाइएको कार्यदलको बैठक निर्धारित समयभन्दा ढिलो गरी सुरु हुँदा संसद बैठक पनि प्रभावित बनेको हो।

    प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लािग तय गरिएको थियो। तर, आजको बैठकमा पनि सहमति हुन सकेन भने प्रमुख प्रतिपक्षी कांग्रेसले आजको बैठक पनि अवरोध गर्ने यसअघि नै चेतावनी दिइसकेको छ।

    खासगरी संसदीय छानबिन समितिको कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद देखिएको छ। प्रतिपक्षी नेपाली कांग्रेस गृहमन्त्री लामिछानेसमेत समेटिने गरी कार्यविधि बनाउनुपर्ने पक्षमा छ भने सत्ता पक्ष गृहमन्त्रीको नाम कार्यविधिमा उल्लेख गर्न तयार देखिएको छैन।

    छानबिन कार्यविधिमा लामिछानेको नाम राखिए उनले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने अवस्था आउन सक्छ। उनले राजीनामा दिए सरकार अप्ठेरोमा पर्ने सम्भावना छ। त्यसैले सत्ता पक्ष कांग्रेसको मागमा सहमत हुन नसकेको हो।

  • ३० लाखको सडकमा अनियमितता आंशका

    ३० लाखको सडकमा अनियमितता आंशका

    स्थानीय पूर्वाधार विकास आयोजना सुर्खेत मार्फत दैलेखको नारायण नगरपालिका –२ मा निर्माण गरिएको रोटीखोला माँझगाउँ सडक स्तराेन्नत्तिको काममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन्।

    स्थानीयहरूले योजनामा विओकेमा उल्लेख गरिएभन्दा फरक रूपमा काम गरेको आरोप लगाएका हुन्। स्थानीयले ठेक्का गर्दा विओकेमा उल्लेख भएअनुसार काम नभई निर्माणस्थलमा फरक भएको दावी गरेका छन्।

    उक्त सडक स्तरउन्नतीको नाममा साईटमा पिसिसि गरिएको छ। तर, स्थानीयले विओकेमा आरसिसि गर्ने उल्लेख रहेको बताएका हुन्। ३० लाख रुपैया बजेट भएको उक्त सडक उन्नत्ति योजनामा अनियमितता भएको स्थानीयहरूले आरोप लगाएका छन्।

    कार्यालयबाट साईटमा खटिएका ईन्जिनियरले सस्तोमा सडक ढलान गराएको आरोप स्थानीयले लगाएका हुन्। स्तराेन्नत्ति गरिएको सडकमा २५ मिटर आरसिसि गरिएको छ,भने १ सय मिटर पिसिसि गरिएको स्थानीय धुव्रविक्रम थापाले बताए।

    विओकेमा आरसिसि गर्ने भनिए पनि साईट हेर्ने प्राविधिकको मिलोमत्तोमा आरसिसि गरिएको छ। स्थानीय धुव्रविक्रम थापाले भने, ‘बोलपत्र आह्वान गर्दा उल्लेख भएको विओकेअनुसार साईटमा काम भएको छैन्। ढलानको मोटाइ पनि कम छ। आरसिसि गर्दा सरिया राखेर गर्नुपर्छ भने पिसिसि गर्दा सरिया राखिदैन्।’

    सरिया नराखेर ढलान गर्दा ठेकेदारलाई फाईदा हुने र बचेको पैसा प्राविधिकहरूले बाँडेर खाने भएकाले अनियमितता भएको स्थानीयहरु बताउँछन्। निर्माणस्थलमा सुचनापार्टी पनि राखिएको छैन।

    दैलेखमा आयोजनास्थलबाट १४ वटा सडक योजनाको ठेक्का भएको थियो। आयोजना कार्यालयले स्टेटमेन्टअनुसार काम भएको प्रतिक्रिया दिएको छ।

  • १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    स्थानीय बजारमा सुनको मूल्य शुक्रबार पनि तोलामा १८ सय रुपैयाँ घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार र शुक्रबार गरी दुई दिनमा सुनको मूल्य ३६ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन पनि सुन १८ सय रुपैयाँले घटेको थियो।

    शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो। गत सोमबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो।

    चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ।

    यसअघि सोमबार चाँदी हालसम्मकै उच्च तोलाके १९ सय ४० रुपैयाँ पुगेको थियो।

  • पपुआ न्युगिनीमा पहिरोमा परी कम्तीमा सय जनाको मृत्यु

    पपुआ न्युगिनीमा पहिरोमा परी कम्तीमा सय जनाको मृत्यु

    पापुआ न्यू गिनीमा पहिरोमा परी कम्तिमा एक सयजनाको मृत्यु भएको अनुमान गरिएको छ।

    अस्ट्रेलियाको सरकारी मीडिया एबीसीका अनुसार स्थानीयका अनुसार पहिरोमा परी हालसम्म ५० भन्दा बढी शव निकालिएको र सय जनाभन्दा बढीको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको हो।

    पपुआ न्यू गिनीको एङ्गा राज्यको काओकलम गाउँमा बिहीवार करिब ३ बजे पहिरो गएको हो।

    पहिरोका कारण पहाड भाँसिदा आसपासका घरहरू पनि क्षतिग्रस्त भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

  • उच्च अदालतको न्यायाधीशमा भद्रकाली पोखरेल सिफारिस

    उच्च अदालतको न्यायाधीशमा भद्रकाली पोखरेल सिफारिस

    न्याय परिषद् सचिवालयका निमित्त सचिव भद्रकाली पोखरेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।

    न्याय परिषद्को शुक्रबार बसेको बैठकले पोखरेललाई बरिष्ठताको आधारमा न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो।

    पोखरेल यसअघि सर्वोच्च अदालतको सह-रजिष्ट्रार थिए।