Blog

  • ५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

    ५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह

    डेङ्गु सङ्क्रमण ५७ जिल्लामा देखिएको छ। मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए। उनका अनुसार ५७ जिल्लामा नौ सय चार जनामा सङ्क्रमणमा देखिएको छ।

    उनले पानी पनि पर्न सुरु भएकाले डेङ्गुको जोखिम बढ्ने भएकाले सचेतना अपनाउन आग्रह गरे। ‘पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्छ’, उनले भने, ‘त्यसैले सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ।’ गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो।

    उनका अनुसार यसपटक धेरैको सङ्ख्यामा कुनै पनि जिल्लामा सङ्क्रमण देखिएको छैन। उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालन गर्न ३३ स्थानीय तहलाई निर्देशन दिइसकेको बताए। डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ। ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु लाग्दछ।

    ‘गर्मीसँगै पानी सङ्कलन गरेर राख्ने गरिन्छ, त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ, सफा पानीमा त्यही लार्भा बन्ने र वयस्क भएपछि मानिसलाई टोक्ने गर्दछ’, उनले भने। डेङ्गु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन।

    लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ। यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनु हुँदैन।

  • जुवा खेलिरहेका २२ जना पक्राउ

    जुवा खेलिरहेका २२ जना पक्राउ

    नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    काठमाडौँ महानगरपालिका-२६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।

    साथै गोकर्णेश्वर नगरपालिका(४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया बिष्णू लिम्बु समेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले राससलाई जानकारी दिए।

    उनले भने, ‘मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो।’ पक्राउ परेकाहरुको साथबाट प्रहरीले रु दुई लाख ७० हजार पाँच सय ५० तथा केही थान तास समेत बरामद गरिएको प्रहरीको भनाइ छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए।

  • प्राचीन कपिलवस्तु तिलौराकोटमा प्रसुती उत्सव

    प्राचीन कपिलवस्तु तिलौराकोटमा प्रसुती उत्सव

    प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६८ बुद्ध जयन्ती र प्रसुती उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शुक्रबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट रथयात्रा निकालिएको हो।

    लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मालगायतको टोली शनिबार बिहानै बेबी बुद्ध लिन लुम्बिनीको मायादेवी मन्दिरमा पुगेको थियो। शिशु बुद्धलाई बुद्धको क्रीडास्थल तिलौराकोट ल्याइएको हो।

    टोलीले शिशु बुद्धलाई बुद्धजयन्तीको अर्को दिन अर्थात् शुक्रबार तिलौराकोट पु¥याएको हो। लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमिको भव्य यात्रा निकालेको हो।

    २०७० सालदेखि बुद्ध जयन्तीका अवसरमा सो यात्रा निकाल्ने गरिएको थियो। कोरोनाका कारण २०७७ र २०७८ मा यो यात्रा रोकिएको थियो।

    दुई वर्षदेखि पुनः सो कार्यक्रम सुचारु गरिएको हो। बुद्धको जन्मथलो लुम्बिीमा बिहीबार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाइएको थियो। रथमा धातुको बेबी बुद्धको मूर्ति राखेर यात्रा गरिएको थियो।

    राष्ट्रिय सभा सदस्य विमला घिमिरेले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै यो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्ने बताइन्। उनले सबै पालिकासंग समन्वय गरी यस्ता कार्यक्रमलाई भव्यरुपमा मनाउनुपर्ने बताइन्।

    तिलौराकोटको विकासका लागि आफूले विगतमा सदनमा धेरैपटक आवाज उठाए पनि अझसम्म तिलौराकोटमा सोचेअनुसार विकास नभएको बताइन्। उनले यसको विकासका लागि कोषले ठोस कदम चाल्नुपर्ने बताइन्।

    कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषले आगामी वर्ष भव्यरुपमा यो कार्यक्रम मनाउने बताए। उनले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व समपदा सूचीमा सूचीकृत हुने बताए।

    कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री अर्जुनकुमार केसीले ९० वर्ष हुँदा पनि तिलौराकोटको विकास हुन नसक्नु दुःखद भएको बताए। उनले तिलौराकोटमा हुने उत्खननमा नेपाली विज्ञ टोली उत्पादन गरी अघि बढ्नुपर्ने बताए।

    लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले लुम्बिनीमा बुद्ध जयनती तामझामका साथ मनाइरहँदा तिलौराकोटमा सामान्य कार्यक्रम गरिएको बताए। उनले तिलौराकोटको कागजमा मात्र विकास गरिँदा त्यसले मूर्तरुप भने लिन नसकेको बताए।

    कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले राज्यले तिलौराकोटलाई प्राथमिकतामा नराख्दा यसको विकासले गति लिन नसकेको बताए। उनले तिलौराकोटको समग्र विकासका लागि राज्यले ठोस कदम चाल्नुपर्ने बताए। तिलौराकोट दरबारको पश्चिमी द्धार नजिकै शिशु बुद्धलाई राखेर कार्यक्रमको गरिएको थियो।

    बौद्ध ग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माइत देवदह जाने इच्छा गरेकी थिइन्। रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभूति गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै शालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिइएकी थिइन्।

    यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्सोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो। सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन्।

    त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसीयालीमा घरघरबाट स्वागत गरेका थिए। सिंगो कपिलवस्तुमा कयौं दिनसम्म खुसीयाली भएको स्मरण गर्दै रथ यात्रा गर्न लागेको बताइएको छ।

  • रुसी सेनाका परिवारद्वारा कन्सुलर विभागमा धर्ना, प्रहरीद्वारा बल प्रयोग

    रुसी सेनाका परिवारद्वारा कन्सुलर विभागमा धर्ना, प्रहरीद्वारा बल प्रयोग

    कन्सुलर सेवा विभागमा धर्ना दिन पुगेका रुसी सेनामा भर्ती भएर मृत्यु एवं बेपत्ता भएका परिवारका आफन्तहरूलाई बल प्रयोग गरेर प्रहरीले हटाएको छ।

    अभियन्ता कृतु भण्डारीको नेतृत्वमा शुक्रबार त्रिपुरेश्वरस्थित विभागको कार्यालयमा धर्ना दिन पुगेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो नागरिक न्युजले संकलन गरेको भिडिओमा पुरुष प्रहरीहरूले धर्नारत् महिलामाथि बल प्रयोग गरेको देखिएको छ।

    रुसी सेनामा भर्ती हुन पुगेका नेपालीको जीवनरक्षा, मृत्यु भएकाहरूको उचित क्षतिपूर्तिसहित शव उपलब्ध गराउनुपर्ने, वेपत्ताहरूको स्थिती पत्ता लगाइदिनुपर्ने लगायतका माग राखेर उक्त समूह धर्ना दिन पुगेको थियो।

    नेपाल सरकार र कन्सुलर विभागजस्ता सरकारी निकायहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै उक्त टोली विभागका महानिर्देशक प्रकाशमणि पौडेलको कार्यकक्षमा धर्ना दिन पुगको हो।

    ‘हामीले पटक–पटक गरेका मागहरू उहाँहरूले ध्यान दिनुभएन। आज पनि ध्यानाकर्षण गराउन महानिर्देशकज्युलाई भेट्न आएका हौं,’ अभियन्ता भण्डारीले भनिन्,‘ उहाँले खास्सै महत्व नदिएपछि धर्ना बस्नुपर्‍यो।’

  • बाघ आक्रमणले महिलाको मृत्यु, त्रासले गाउँ नै जाग्राम

    बाघ आक्रमणले महिलाको मृत्यु, त्रासले गाउँ नै जाग्राम

    बाँसगढी नगरपालिका– ४ स्थित खानेपानी ट्यांकी टोलनजिकको सामुदायिक वनमा बिहीबार दिउँसै पाटे बाघको आक्रमणबाट वयस्क महिलाको मृत्यु भएपछि पूरा गाउँ त्रासले जाग्राम छ।

    बाघले आक्रमण गर्दा बाँके बैजनाथ गाउँपालिका– ८ हस्नापुरकी ३५ वर्षीया मनीषा रोकायको ज्यान गएको हो। बाँसगढी नगरपालिका– ४ स्थित जनचेतना सामुदायिक वनमा सौच गर्ने क्रममा बाघ आक्रमणले रोकायको मृत्यु भएसँगै गाउँमा त्रासदी छाएको छ।

    केटाकेटी बाघको त्रासले सुत्दै नसुतेको स्थानीय रमा रोकाले बताइन्। ‘हामी रातभरि सुतेका छैनम्’, उनले भनिन्, ‘सामुदायिक वनमा आएको बाघले घरमै आक्रमण गर्ने त्रासले जाग्राम छौं।’

    डिभिजन वन प्रमुख प्रवीण बिडारीले बाघको पहिचान खुलिसकेको बताए। उनका अनुसार वन, निकुञ्ज र एनटिएनसीको समन्वयमा घटनास्थलवरपर जडान गरिएको अत्याधुनिक क्यामरामा बाघ कैद भइसकेको छ।

    प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलसहितको टोली घटनास्थलमा।

    ‘घटना भएलगत्तै बाघ बस्न सक्ने सम्भावित क्षेत्रमा क्यामरा जडान गरेका थियौं’, उनले भने, ‘बाघले घटना गराएको ठाउँमा जडान भएको क्यामरामा बाघ कैद भइसकेको छ।’ बाघको उद्धारका लागि प्राविधिक टोलीसँगै हात्ती बर्दिया निकुन्ज मुख्यालय ठाकुरद्वाराबाट हिँडिसकेको छ।

    क्यामरामा कैद भएको बुढो पोथी बाघ रहेको खुलिसकेको छ। बाघ घटनास्थलनजिक घुमिरहेकाले अर्को अप्रिय घटना नहोस् भन्ने उद्देश्यले सजगता अपनाएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए।

    ‘बाघ घुमिरहेको स्थानमा आवागमन रोक लगाएका छौं’, घटनास्थल पुगेर फर्कंदै गरेका प्रजिअ खरेलले भने, ‘उद्धार गरेर बाघलाई सुरक्षित स्थानतर्फ लैजाने तयारी भइरहेको छ।’ बर्दिया निकुन्ज क्षेत्रभन्दा बाहिर बाघको आक्रमणबाट पाँचजनाको ज्यान गइसकेको छ।

    सामुदायिक वनमा बाघ आक्रमणको जोखिम

    पछिल्लो समय सामुदायिक वनमा बाघ आक्रमणको जोखिम बढेको छ। जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेको छ भने सर्वसाधारण त्रसित बनेका छन्।

    सामुदायिक वनसँग जोडिएको चल्ती बाटो हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ। आइतबार मधुवन नगरपालिका–४ कालिका सामुदायिक वनमा मृत अवस्थामा पाटे बाघ फेला परेको थियो।

    बाघले आक्रमण गर्दा बाँके बैजनाथ गाउँपालिका– ८ हस्नापुरकी ३५ वर्षीय मनीषा रोकायको ज्यान गएको छ। मृतक रोकाय आफ्नी दिदी बाँसगढी नगरपालिका– ४ बठुवाकी ४० वर्षीय कैलाशपति थारूसँगै उनको घर जाने क्रममा बाघले आक्रमण गरेको थियो। बहिनी सौच गर्न गएका बेला बाघले आक्रमण गरेको पीडित थारुले बताइन्।

  • ‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

    ‘गाउँ आएको बाटो’ बाट उत्साहित नवीन सुब्बा

    निर्देशक नवीन सुब्बा एउटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन युरोप जाँदै थिए। उनीसँगै यात्रामा थिए अर्का एक युवा पनि। ती युवा कहाँ जादै थिए सुब्बालाई थाहा थिएन। तर जब उनीहरु कतारमा झरे ती युवा कालो निलो भएर अत्तालिएको जस्तो देखिए। ती युवा मजदुरीका लागि विदेशिएका रहेछन्। त्यो समयमा आत्तिएका युवाको अनुहार अहिले पनि सुब्बालाई याद छ। उनलाई त्यो बेला लागेको थियो यस्तो किन हुन्छ? उक्त कुराले सुब्बालाई मनमनै पिरोलिरहेको थियो।

    एकदिन महेश राई एउटा कथा लिएर उनीलाई भेट्न आए। उक्त कथामा गाउँमा सडक पुगेपछि त्यसले बाउछोराको सम्बन्धमा पार्ने प्रभाव, सडकले कसरी मान्छेहरुलाई गाउँ छोडाउँछ र मान्छेहरु किन आफ्नो गाउँ छोड्न बाध्य हुन्छन् भन्ने विषय समेटिएको थियो। यो कथाले सुब्बालाई यात्रामा भेटिएका युवाको अनुहार सम्झायो। यहि कुरालाई लिएर उनले फिल्म बनाए। नाम दिए ‘गाउँ आएको बाटो’।

    फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।

    सुब्बा भन्छन्, ‘फिल्मले शासक र शक्तिको भन्दा पनि आममान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उठाउनुपर्छ। जसले गर्दा आममान्छेसँग फिल्मले संवाद गर्न सक्दछ। अधिकांश मान्छेहरु जे कुराबाट प्रभावित छन्। त्यो कुरा उठान गर्नुपर्छ। त्यहि कुराले नै मलाई सानो सानो विषय उठान गर्न प्रेरित गर्दछ।’

    फिल्म ‘गाउँ आएको बाटो’ले क्यानडाको टोरोन्टो, दक्षिण कोरियाको बुसान, ब्राजिलको साओ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटेबर्ग, चीनको बेइजिङलगायत स्थानमा भएका डेढ दर्जन चलचित्र महोत्सवको यात्रा गरिसकेको छ। उक्त महोत्सवमा फिल्मले राम्रो प्रतिक्रिया पाएको फिल्म निर्माता अमोद राई बताउँछन्। अन्तर्राष्ट्रिय दर्शकहरुले मन पराएको हुँदा घरेलु दर्शकको पनि साथ राम्रो पाउनेमा राई ढुक्क छन्।

    राई भन्छन्, ‘विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्मलाई राम्रो प्रतिक्रिया दिनुभएको छ। उहाँहरुले मन पराउनु भएको छ। अन्तर्राष्ट्रिय दर्शकले त फिल्म मन पराउनु भएको छ भने हाम्रो घरेलुमा त झनै आफ्नै देशको, आफ्नै माटोको, हाम्रै जनजिवनको कुरा छ। त्यसैले घरेलु दर्शकले नी माया गर्नुहुन्छ।’

    निर्माता अमोद राई

    राई समुदायलाई नै आधार बनाएर बनेको फिल्मले बाबु छोराको सम्बन्ध, मानवीय संवेदनाको कुरालाई उठाएको राई बताउँछन्। फिल्ममा सडकले बाउछोराको सम्बन्धमा पार्ने प्रभाव, सडकले गाउँमा लिएर आउने सपनाहरू, सपनासंगै आएका दुःख, बाउले आफ्नो छोराको सपना पुरा गर्न गरेका संघर्षहरु देखाइएको उनले बताए।

    फिल्ममा दुख, मनोरञ्जन, कमेडी, बौद्धिकता सबै रहेको निर्देशक सुब्बा बताउँछन्। ‘मैले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा दर्शकहरुले फिल्म हेर्दा रोएको, हुटिङ गरेको, सिटि बजाएको तालि बजाएको देखेको छु। नेपाली दर्शकहरुले पनि त्यो गर्नुहुन्छ। दुख, मनोरञ्जन, कमेडी, बौद्धिकता सबै कुराको प्याकेज बनेको छ फिल्म, उनले भने।

    फिल्म व्यक्तिगत नभएर सामुदायिक लगानीमा बनेको छ। विश्वभरिका राई समुदायले फिल्ममा लगानी गरेका छन्। फिल्मबाट आएको मुनाफा लगानीअनुसार समुदायलाई नै वितरण गरिने छ।

    नेपाली फिल्म मेकरले अन्तर्राष्ट्रिय र घरेलु दर्शकलाई जोड्न नसकेको सुब्बा बताउँछन्। उनी भन्छन्, नेपालमा सफलता पाइसकेका फिल्म मेकरहरु अन्तर्राष्ट्रिय स्तरमा जान सक्दैनन्।

    नेपाली फिल्म मेकरहरु किन अन्तर्राष्ट्रिय रुपमा नजाने भन्ने कुरामा बहस हुन आवश्यक छ। नेपाली फिल्म क्षेत्र पनि अन्तर्राष्ट्रिय स्तरसम्म पुगिसकेको सुब्बाको दाबी छ। नेपाली फिल्म मेकरलाई फिल्म बनाउन आर्थिक समस्या नभएको उनी बताउँछ। उनी भन्छन्, नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट आर्थिक सहयोग लिएर फिल्म बनाउने अवस्था छ। नेपाली फिल्मले सजिलै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्दछ।

    अन्तर्राष्ट्रिय दर्शकका लागि पनि फिल्म बनाउन थालेमात्र नेपाली फिल्म क्षेत्रको पनि विकास हुने उनी बताउँछन्। उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय दर्शकका लागि पनि फिल्म बनाउन थाले मात्र नेपाली फिल्म क्षेत्रको विकास हुन्छ भन्ने मेरो बुझाइ छ। हाम्रो नेपाली फिल्म क्षेत्रको विकास अन्तर्राष्ट्रिय दर्शकहरुसँग पनि सम्बन्धित छ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म पुगेपछि फिल्म मेकर, नायक नायिकालाई पर्ने मनोवैज्ञानिक प्रभाव छुटै पारेको छ।’

    फिल्मको सिधा प्रचारप्रसार गर्न गाह्रो हुने र फिल्म अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा गए बिस्तारै प्रचारप्रसार पनि हुने सुब्बा बताउँछन्।

    अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जानका लागि फिल्म कतैपनि रिलिज भएको हुनुहुँदैन। त्यसकारणले गर्दा फिल्म गाउँ आएको बाटो देशभित्र प्रदर्शन नगरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पठाएको निर्माता राई बताउँछन्। देशभित्र फिल्म प्रदर्शन गरेर बाहिर देशमा जाँदा अन्तर्राष्ट्रिय प्रिमीएर नभएर अन्तर्राष्ट्रिय रिलिज मात्र हुने उनको भनाइ छ।

    सामुदायिक लगानीमा निर्मित भनिएको फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, प्रेम सुब्बा, केशव राई र राज थापाल गायतको मुख्य भूमिका छ। फिल्म जेठ २५ गतेदेखि नेपालमा प्रदर्शनमा आउँदै छ।

  • रामका परम् भक्त काग–भुषुण्डीकाे  निवासस्थल नीलगिरि र अन्नपूर्ण हिमाल

    रामका परम् भक्त काग–भुषुण्डीकाे निवासस्थल नीलगिरि र अन्नपूर्ण हिमाल

    हिमालपारिको जिल्ला मुस्ताङस्थित नीलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमालनजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग–भुषुण्डीको निवासस्थल रहेको बताइएको छ।

    धार्मिक ग्रन्थ र संस्कृत साहित्यमा नीलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्यद्रष्टा सन्त (ऋषि) काग–भुषुुण्डी द्धापर युगमा यही आएर बसेका वर्णन गरिएकाले यस क्षेत्रलाई काग–भुषुण्डीको निवास क्षेत्रका रूपमा व्याख्या गरिएको संस्कृतविद् डा. जगमान गुरुङ (दोलखास्थित चरणावती त्रिवेणीधाम विकास तथा प्रवर्द्धन संघले गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधिले सम्मान गरेको छ) ले बताए।

    संस्कृत साहित्यका महाकवि कालिदासले आफ्नो कृति ‘कुमारसम्भव’ मा ‘अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः’ अर्थात् उत्तर दिशामा देवतास्वरूपका हिमालय नामका पर्वतराजहरू विराजमान छन् भनेर वर्णन गरेका छन्।

    भारतीय संस्कृति र साहित्यका महाकवि गोस्वामी तुलसीदासले श्रीराम चरित्रमानसमा पनि काग–भुषुण्डीको निवास नीलपर्वत (नीलगिरि हिमाल) भएको उल्लेख गर्दै यो हिमालको महिमा गान गरेका छन्। काग–भुषुण्डीलाई कागस्वरूपका एक सन्त ज्ञानी ऋषि मानिन्छ।

    नेपाल ऋषि प्राध्यापक डा. गुरुङले श्रीराम चरित्रमानसमा नीलगिरि हिमाल परिसरको सुन्दर वनजङ्गल, पवित्र नदी, सरोवर र स्वर्णमय पर्वत शिखरको वर्णन गरिएको उल्लेख गरे। उनका अनुसार श्रीराम चरित्रमानसमा वर्णित पवित्र नदी कालीगण्डकी हुन्।

    ‘वनजङ्गलचाहिँ त्यहाँका देवदारुका जङ्गल हुन्। सरोवरचाहिँ दामोदर कुण्ड हो। नीलगिरिबाट दामोदर कुण्डसम्मको भूभाग मुक्ति क्षेत्र हो’, डा गुरुङले भने।

    उनका अनुसार अन्तका काग काला र साना हुन्छन् भने दामोदर कुण्डका काग सेता र ठूला हुन्छन्। दामोदर कुण्डमा पाइने यी सेता कागलाई अहिले पनि काग–भुषुण्डीको स्वरूप मानिने उनको भनाइ छ।

    मधेस र पहाड खण्डमा पाइने कुश दामोदर कुण्डमा उम्रेको पाइन्छ। दामोदर कुण्डका सेता काग र त्यहाँ उम्रेका कुश नेपाललाई प्रकृतिको वरदान भएको उनले बताए।

    को थिए काग–भुषुण्डी ?

    श्रीराम चरित्रमानसमा उल्लेख भएअनुसार कागको रूपमा देखिने काग–भुषुण्डी भगवान् श्रीरामका परम् भक्त थिए। उनलाई भविष्य तथा भूतकालको पूर्ण ज्ञान पहिले नै हुन्थ्यो। उनी समय बन्ने र बिग्रिने पाङ्ग्रालाई देख्न सक्दथे। पुराणमा उल्लेख भएअनुसार सबैभन्दा पहिला राम कथा भगवान् शङ्करले पार्वतीलाई सुनाउँदा काग–भुषुण्डीले सुनेका थिए।

    रावणको पुत्र मेघनादले रामसँग युद्ध गर्दै गर्दा भगवान् रामलाई नागपासले बाँधेका थिए। त्यसपछि पक्षीराज गरुडले नागपासमा बाँधिएका सम्पूर्ण नागलाई मारेर भगवान् श्रीरामलाई बन्धनबाट मुक्त गराएका थिए।

    ‘भगवान् राम नागपासमा बाँधिएको देख्दा गरुडलाई बाँधिएका व्यक्ति राम भगवान् हुन् कि होइनन् भन्नेमा शङ्का लाग्यो। गरुडको सन्देहको निवारणका निम्ति नारद ऋषिले उनलाई ब्रह्माजीकहाँ पठाए। ब्रह्माजीले शङ्करजीकहाँ पठाइदिए। भगवान् शङ्करले पनि गरुडको सन्देहको निवारणका निम्ति काग–भुषुण्डी भएको ठाउँ नीलगिरि पर्वतमा पठाएपछि काग–भुषुण्डीले भगवान् श्रीराम चरित्रको कथा सुनाएर गरुड़को सन्देह हटाएको श्रीराम चरित्रमानसमा उल्लेख गरिएको छ’, नेपाल ऋषि प्राध्यापक डा. गुरुङले भने।

    उनका अनुसार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधार शिविरनजिकै पञ्चकुण्ड ताल र तालनजिकै काग–भुषुण्डी ऋषिले तपस्या गरेको भनिएको काग–भुषुण्डी डाँडो छ।

    धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाइ झन्डै एक किलोमिटर र चौडाइ दुई सय मिटर रहेको अनुमान गरिएको छ। वरिपरिबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल नीलो रङमा देखिन्छ। यो ताल समुद्री सतहबाट चार हजार ५० मिटरको उचाइमा रहेको छ।

    तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छायाँ) देख्न सकिन्छ। तालबाट माथि चार हजार एक सय ९० मिटरको उचाइमा ग्राउन्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चार हजार तीन सय पाँच मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पर्दछ। तालको छेउबाट नीलगिरि र अन्नपूर्णको सबै क्षेत्रलाई अवलोकन गर्न सकिन्छ। –रासस

  • विदेशी पर्यटकको नेपाल बसाई अवधि १३.२ दिन

    विदेशी पर्यटकको नेपाल बसाई अवधि १३.२ दिन

    नेपाल आएका विदेशी पर्यटकको औसत बसाई अवधि १३.२ दिन रहेको पाइएको छ। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएका थिए। ती विदेशी पाहुनाको नेपाल बसाई अवधि १३.२ दिन रहेको पर्यटन मन्त्रालयले बताएको छ।

    मन्त्रालयका अनुसार यो बसाई अवधि सन् २०२२ मा १३.१ दिन थियो। सन् २०२२ मा नेपालमा ६ लाख १४ हजार ८ सय ६९ जना विदेशी पाहुना आएका थिए। विदेशी पाहुनाको नेपाल बसाई अवधि सबैभन्दा बढी सन् २०२१ मा १५.५ दिन थियो। त्यो वर्ष नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पाहुना आएका थिए।

    सन् २०२० मा भने नेपालमा विदेशी पाहुनाको बसाई अवधि १५.१ दिन थियो। २०१९ मा नेपालमा विदेशी पर्यटकको बसाई अवधि १२.७ दिन थियो। नेपालमा सन् २०२० मा २ लाख ३० हजार ८५ र २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पाहुना आएका थिए। २०१९ मा भित्रिएका विदेशी पाहुनाको त्यो संख्या नै अहिलेसम्मको सबैभन्दा बढी हो।

    पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पर्यटकको बसाई अवधि बढाउन पर्यटक भुलाउने गतिविधि गर्न जरुरी हुन्छ। उनका अनुसार पछिल्लो समय संसारभर नै विदेशी पाहुनाको बसाई अवधि घट्दो क्रममा रहेको छ। ‘संसारभरी नै पर्यटकको बसाई अवधि बढ्न सकेको छैन। पर्यटकको बसाई अवधि बढाउन सक्ने हो भने त्यसको लाभ पर्यटन क्षेत्रमा पर्छ,’ लामिछानेले भने, ‘पाहुना जति बढी समय बस्छन, उत्ति नै खर्च पनि गर्छन। पर्यटकको बसाई अवधि थपिँदा खर्च स्वतः बढिहाल्छ।’

    उनका अनुसार टुरमा आउने पर्यटकको बसाई अवधि भने कम हुन्छ। टुरका लागि आएका पर्यटकको बसाई अवधि ३/४ दिनमात्र हुने उनले बताए। तर, पदयात्रा, हिमाल आरोहणका लागि आएका पाहुनाको बसाई अवधि भने बढी हुन्छ। हिमाल आरोहणका लागि आएका पाहुना त ६०/७० दिनसम्म पनि बस्छन। आरोहणको पर्खाइमा लामो समय बस्नुपर्ने हुँदा ती पर्यटकको बसाई अवधि बढी हुन्छ।

    ‘पर्यटकलाई घुम्न र समय बिताउनेगरि गतिविधि बढाउने हो भने त्यसले बसाई अवधि बढाइदिन्छ। सरकारले पनि पर्यटकको बसाई अवधि बढाउने योजना अघि सारिसकेको छ,’ उनले भने, ‘पर्यटकका लागि नयाँनयाँ प्रडक्ट पस्किन सके त्यसले बसाई अवधि बढाउँछ।’

    सन् २०२० र २०२१ मा सबैभन्दा बढी बसाई अवधि थियो। कोरोना भाइरस संक्रमणले गर्दा त्यो बेला पर्यटकको निर्धारित यात्रा प्रभावित हुन पुगेको थियो। आएका पर्यटक पनि तोकिएको समयमा फर्किन सकेका थिएनन। जसोतसो भित्रिएका कतिपय विदेशी पाहुना क्वारेन्टिनमा बस्नुपर्ने बाध्यताले पनि उनीहरुको बसाई अवधि बढेको थियो।

    लकडाउनका कारण कतिपय विदेशी पर्यटक लामो समयसम्म नेपालमै बस्न बाध्य भएका थिए । भीसा अवधि थप्दै ती पर्यटकहरु नेपालमा बसेका थिए। उद्धार उडानको तालिका अनुसार विदेशी पाहुना फर्किनुपर्दा त्यो बेला बसाई अवधि थपिन पुगेको थियो। त्यसबाहेक आएका पाहुना पनि क्वारेन्टिनमा बस्नुपर्दा उनीहरु अतिरिक्त समय नेपाल बसेको व्यावसायीले बताउँदै आएका छन्।

    पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार नेपालमा विदेशी पर्यटकको बसाई अवधि अन्य मुलुकको तुलनामा केही कमी भएपनि साह्रै कमजोर भन्न मिल्दैन। ‘ठूला र धेरै सहर हुने मुलुकको तुलनामा त नेपालको बसाई अवधि केही कम हो। साह्रै कमजोर नै भन्न पनि मिल्दैन। अनुपातमा नेपालको बसाई अवधिलाई ठिकै मान्नुपर्छ,’ सापकोटा भन्छन, ‘हामीसँग थोरै मात्र गन्तव्य भएकोले बसाई अवधि पनि त्यही अनुसार हुन्छ । ठुला मुलुकमा धेरै नै गन्तव्य हुन्छन्, जहा धेरै गतिविधि र आकर्षण पनि हुन्छन।’

    पर्यटकीय सहरमा हुने गतिविधि र आकर्षणले त्यो मुलुकमा पर्यटककको बसाई अवधि तय हुने उनले बताए। ‘नेपालको बसाई अवधि बढाउन सकिन्छ। त्यसका लागि अहिले भन्दा बढी गन्तव्य पहिचान गर्नुपर्छ। भएका गन्तव्यको संरक्षण गर्नुपर्छ,’ उनले भने। उनका अनुसार पदयात्रामार्गमा मोटरबाटो गएपछि अहिले बसाई अवधि पनि कम भएको छ। त्यसका लागि पदयात्राका लामो र नयाँ रुट पहिचान गर्न सक्नुपर्छ।

    ‘हिजोको पदयात्रा रुट अहिले मोटरबाटोसँगै निकै नै खुम्चिए । त्यसले गर्दा अब नयाँ पदमार्ग पहिचान गर्ने र पर्यटकलाई हिडाउन सकियो भने बसाई अवधि थपिन्छ,’ उनले भने, ‘बसाई अवधि बढाउने आधार नै बलियो हुन सकेन । त्यसले गर्दा एकैनासको अवधि रहिरह्यो ।’पछिल्लो समय जहाजको यात्रा बढ्दै गएको, हेलिकप्टरमा उच्च हिमाली भेगसम्म पुगेर फर्किन पाउने गर्दा पनि बसाई अवधि घटेको पनि उनले बताए।

    ‘अहिले त हेलिकप्टर चढेर उच्च हिमाली भेग घुमेर फर्किन सकिन्छ। हिजोका दिनसम्म पदयात्रा गर्ने कैयौं दिनसम्मको त्यो रुट अहिले केही घन्टामा सीमित बनेको छ। त्यसले गर्दा पर्यटकको बसाई अवधि कम भएको हो,’ उनले भने। त्यसबाहेक नयाँनयाँ गन्तव्य पहिचान गर्ने र ती ठाउँमा विदेशी पाहुनालाई पठाउन सक्ने हो भने बसाई अवधि थपिन्छ। ‘पर्याप्त खर्च गर्ने पर्यटक आउँदा पनि बसाई अवधि कम हुन्छ। किनकी उनीहरुको छिटोगरि यात्रा पुरा हुन्छ। त्यस्तै खर्च नै गर्न नसक्ने पाहुना आउँदा पनि बसाई अवधि घट्छ,’ उनले भने, ‘पर्यटनमा आम्दानीले दोहोरो अर्थ राख्छ।’

    सहरमा मात्र पर्यटकलाई घुमाउने हो भने त्यहाँ पर्याप्त गतिविधि बढाउनुपर्ने उनले बताए। ‘काठमाडौं र पोखरा मात्र हेरेर भएन। पोखरा आसपासका ‘साइड ट्रिप’ पनि बलियो बनाउनुपर्छ,’ उनले भने, ‘साइड ट्रिप बलियो बनाउन सकियो भने पाहुना जान्छन। त्यसले बसाई अवधि पनि बढाउँछ। त्यसैले गन्तव्य नै महत्वपूर्ण रहन्छ।’

  • जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो : अध्यक्ष दाहाल

    जनताले बाटोमा भत्ता खाने र काम नगर्ने सांसद भनेर फोटो टाँस्ने स्थिति आइसक्यो : अध्यक्ष दाहाल

    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ।

    शुक्रवार बसेको सभाको बैठकमा कार्यसूचिमा प्रवेश गर्न लाग्दा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाएसँगै बैठक स्थगित भएको हो।

    प्रमुख प्रतिपष दल नेपाली काँग्रेसले लामो समय यता उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्ध सहकारीको रकम अपचलनको आरोप लगाउँदै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

    संसदीय छानबिन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने भन्दै काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ।

    सभाको बैठकमा बोल्दै अध्यक्ष नारायणप्रसाद दाहालले सभाको परिस्थिति राजनीतिक रुपमा पेचिलो बन्दै गएको बताए।

    अहिलेको स्थितिले भोलिको दिनमा कस्तो पाठ सिक्ने भन्नेबारेमा गम्भीर बन्न जरुरी रहेको र नीति तथा कार्यक्रम अवरोधका कारण छलफल हुन नसकेको उनको भनाइ छ।

    पहिला संसदको लोगो फुकालेर सार्वजनिक सवारी साधनमा चढ्नुपर्ने स्थिति रहेको भएपनि अहिले त्यो भन्दा गम्भीर स्थिति सिर्जना भएको बताए।

    उनले जनताले बाटोबाटोमा यी सांसदहरु भत्ता खाने र काम नगर्ने हुन् भनेर फोटो टाँस्ने स्थिति आउनसक्ने बताए।

    राष्ट्रिय सभाको अर्को बैठक जेठ १३ गते आइतबार बिहान साढे ११ बजे बस्नेगरी स्थगित भएको छ।

  • राष्ट्रियसभा बैठक जेठ १३ गतेसम्मका लागि स्थगित

    राष्ट्रियसभा बैठक जेठ १३ गतेसम्मका लागि स्थगित

    राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ। आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठेर विरोध जनाएपछि आजको बैठक सञ्चालन हुन नसकेको हो।

    राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सञ्चालनका लागि सहजीकरण गर्न प्रतिपक्ष दलहरुलाई आग्रह गरेका थिए।

    ‘संसदमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल नै हुन पाएको छैन। जनताले चाहेको र खोजेको विषयमा हामीले काम नै गर्न पाएका छैनौं। बजेट प्रस्तुत हुने दिन आइसक्यो। संसदको गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रियसभा अझ बढी जिम्मेवार बन्नुपर्ने र सोच्नुपर्ने बेला आएको छ’, उनले भने।

    त्यसपछि पनि प्रतिपक्षको विरोध कायमै रहेपछि आजको बैठक स्थगित भएको उनले जानकारी दिए। सभाको अर्को बैठक यही जेठ १३ गते आइतबार बिहान ११ः३० बजे बस्नेगरी स्थगित भएको छ।