Blog

  • प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा सुरू

    प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक संसद भवनमा सुरू

    प्रतिनिधि सभाको कार्यव्‍यवस्था परामर्श समितिको बैठक सुरू भएको छ। सोमबार अहिले बानेश्वरस्थित संघीय संसद भवनमा समितिको बैठक सुरू भएको हो।

    नेपाली कांग्रेसको संसदीय दलको बैठकका कारण १० बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरू भएको संसद सचिवालयले जनाएको छ।

    सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तयारी छ। प्रधानमन्त्री कार्यालयले विश्वासको मत लिने भन्दै संसद सचिवालयमा पत्र पठाएका थियो। त्यसबारे छलफल गर्न परामर्श समितिको बैठक बसेको हो। बैठकमा विभिन्न दलका प्रमुख सचेतकहरू सहभागी छन्।

    बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मत लिने प्रस्तावमा अवरोध नपुर्‍याउन अनुरोध गरेका छन्। प्रमुख प्रतिपक्षी र प्रतीपक्षी दलहरूलाई प्रस्तावलाई प्रभावित नबनाउन भन्दै सभामुख घिमिरेले ध्यानाकर्षण गराएका छन‍।

  • सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्यो

    सुनको मूल्य १ लाख ४१ हजार ८ सय रुपैयाँ पुग्यो

    स्थानीय बजारम सुनके मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबारको तुलनामा सोमबार प्रतितोला ९ सय रुपैयाँले मूल्य बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो।

    आज सोमबार फेरि तोलामा १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीले पनि अघिल्लो दिन प्रतितोला १ हजार ९१० रुपैयाँ रहेको थियो। आज १ हजार ९४० रुपैयाँ चाँदी कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • कांग्रेस लगायत विपक्षी दलको बैठक  बानेश्वरमा सुरु

    कांग्रेस लगायत विपक्षी दलको बैठक बानेश्वरमा सुरु

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलको बैठक सुरु भएको छ। बानेश्वरस्थित संसद भवनमा विपक्षी दलको बैठक सुरु भएको हो।

    बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी जनाएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ।

    यस्तै,कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

  • एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

    एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्। नयाँ कार्यसमितिका लागि आइतबार भएको निर्वाचनको आज विहान सार्वजनिक मतपरिणाम अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्दा प्रत्यासी डिल्ली बिसीले एक सय ५४ मत पाए।

    शुक्रबारदेखि चलेको नवौँ अधिवेशनमा सर्वसम्मत चयनको प्रयास गरे पनि सहमति नहुँदा निर्वाचन भएको थियो। कार्यसमितिको उपाध्यक्षमा रत्न खत्री विजयी भए।

    उनले तीन सय १३ मत प्राप्त गरे। उनी लुम्बिनी प्रदेश सरकारको सामाजिक विकासमन्त्री समेत हुन्।

    सचिवमा बलराम भट्टराईले एक सय ३९ मत प्राप्त गरी विजयी भए भने उपसचिवमा महिलातर्फ निर्मला सुनार र खुलातर्फ किशोर थापा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत सुनिता शर्माले जानकारी दिए।

    कूल चार सय ६६ मतदाता रहेकोमा चार सय ५८ मत खसेको थियो।

  • जिनियसद्वारा शैक्षिक सामग्री वितरण

    जिनियसद्वारा शैक्षिक सामग्री वितरण

    जिनियस स्कुलले महालक्ष्मी नगरपालिकाभित्रका १४ वटा सामुदायिक विद्यालयका छात्रछात्रालाई छात्रवृत्तिस्वरूप शैक्षिक सामग्री वितरण गरेको छ। जिनियस स्कुल १० वर्ष पूरा गरेको अवसरमा सामग्री वितरण गरेको हो।

    अभावका कारण विद्यार्थी शिक्षाबाट बञ्चित हुनु नपरोस् भनेर २८ बालबालिकाहरूको माध्यमिक तहसम्मको शिक्षाको लागि छात्रवृत्ति दिएको जिनियस स्कुलले जनाएको छ।

    महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द्र श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष नवीन जोशी र कार्यकारी निर्देशक राजेशकुमार जोशीको पनि उपस्थिति थियो।

  • रहेनन् ईरानी राष्ट्रपति रईसी, हेलिकप्टर दुर्घटनामा विदेशमन्त्रीको पनि मृत्यु

    रहेनन् ईरानी राष्ट्रपति रईसी, हेलिकप्टर दुर्घटनामा विदेशमन्त्रीको पनि मृत्यु

    ईरानी राष्ट्रपति इब्राहिम रईसीको मृत्यु भएको पुष्टि भएको छ। समाचार संस्था रोयटर्सका अनुसार आइतवार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रईसीको मृत्यु भएको ईरानी अधिकारीहरूले बताएका छन्।

    ६३ वर्षीय राष्ट्रपति रईसीको मृत्युबारे ईरानको स्टेट मिडिया प्रेस टिभी र अर्ध आधिकारिक तास्निम एन्ड मेहर समाचार संस्थाले पनि मृत्युबारे पुष्टि गरेको छ।

    राष्ट्रपति रईसीसँगै ईरानका विदेश मन्त्री हुसैन अब्दुल्लाहयानको पनि मृत्यु भएको बताइएको छ।

    अजरबैजानसँग सम्बन्ध सुधारका लागि दुबै मुलुकले सीमा क्षेत्रमा संयुक्त रुपमा ड्याम निर्माण गरेको छ। जसको उद्घाटनका लागि रईसी अजरबैजान गएका थिए। अजरबैजानबाट ईरान फर्कने क्रममा उनको हेलिकप्टर दुर्घटनामा परेको हो।

    हेलिकप्टर दुर्घटना भएको १७ घन्टा पछि ड्रोनको माध्यमबाट घटनास्थलको पत्ता लागेपछि उद्दारकर्ता टोली त्यसतर्फ गएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर पूर्णमा जलेको अवस्थामा फेला परेको तथा कसैको पनि जीवित हुने सङ्केत नदेखिएको उद्दारमा खटिएका अधिकारीहरूले बताएका छन्।

  • भूमिगत तार बिछ्याउने काम सुस्त

    भूमिगत तार बिछ्याउने काम सुस्त

    काठमाडौं उपत्यकाभित्र भूमिगत तार बिछ्याउने काम सुस्त देखिएको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ सुरु गरेको तार भूमिगत गर्ने कार्य चार वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको हो।

    काठमाडौं उपत्यकामा पहिलो पटक २०७६ फागुन २७ गते भूमिगत तार बिछ्याउने काम रत्नपार्क–महाराजखण्डबाट सुरु भएको हो। निर्माण थालेको झन्डै चार वर्ष बितिसक्दा पनि हालसम्म काम पूरा हुन भने सकेको छैन।

    हालसम्म काठमाडौं उपत्यकामा भूमिगत तार बिछ्याउने काम ६० प्रतिशत मात्र सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    कोरोना महामारी लगायतका कारणले भूमिगत तार व्यवस्थापनमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ। आगामी डेढ महिनाभित्र काठमाडौं र ललितपुरक्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने काम पूरा हुने प्राधिकरणको दाबी छ।

    ‘हालसम्म समग्रमा ६० प्रतिशतभन्दा बढी ठाउँमा भूमिगत तार बिछ्याउने काम सकिएको छ,’ प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भने, ‘आगामी ४५ दिनभित्र सक्ने गरी निर्माण प्रक्रियालाई तीव्रता दिएका छौं।’

    उनका अनुसार, भक्तपुर क्षेत्रमा भने भूमिगत तार बिछ्याउने काम निकै सुस्त छ। भक्तपुरक्षेत्रमा भूमिगत तार बिछ्याउने काम बल्ल सुरु भएको उनले बताए।

    प्राधिकरणका प्रवक्ता घोषले ४५ दिनभित्र भूमिगत तार व्यवस्थापनको काम सकिने बताए पनि अहिलेकै गतिले निर्धारित समयसीमाभित्र निर्माण सम्पन्न हुने अवस्था भने देखिँदैन।

    कारण, मुख्य मुख्य सहरक्षेत्र र चक्रपथक्षेत्रमा तार भूमिगत गर्ने काम अघि बढ्न सकेको छैन। त्यति मात्र होइन, केही हप्ताभित्र नेपालमा भित्रिने ‘मनसुन’ का कारणले पनि निर्माण कार्यमा केही न केही ढिलाइ हुने देखिन्छ।

    मौसमविद्का अनुसार यसपालीको बर्खायाममा सबैभन्दा बढी पानी पर्ने प्रक्षेपण छ। वर्षायाममा काम नहुने हुँदा प्राधिकरणले भने जसरी डेढ महिनाभित्र काठमाडौं र ललितपुर क्षेत्रको भूमिगत तार व्यवस्थापनको काम सपम्न्न हुन चुनौतीपूर्ण छ।

    पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम करिब ९० प्रतिशत सम्पन्न भएको छ। त्यसबाहेक अन्य वितरण केन्द्रहरूमा भूमिगत तार व्यवस्थापनको काम भइरहेको छ। कतिपय वितरण केन्द्रका क्षेत्रहरूमा भने अहिलेसम्म पनि भूमिगत तार बिछ्याउने काम सुरु हुन सकेको छैन्।

    मुख्य गरी कोर बजार क्षेत्र र सडक विभागअन्तर्गत पर्ने सडकखण्डमा भूमिगत तार व्यवस्थापनमा समस्या देखिएको प्राधिकरणले जनाएको छ। दोस्रो चरणको चक्रपथखण्ड अन्तर्गत पर्ने कलंकीदेखि चाबहिलसम्मको खण्डमा भूमिगत तार बिछ्याउने काम अघि बढ्न सकेको छैन। चक्रपथ विस्तार नगरेसम्म सो सडकखण्डमा भूमिगत तार बिछ्याउँदा समस्या हुने देखिएको छ।

    बानेश्वर, बालाजु, पुतलीसडक, न्यूरोड, लैनचौर, माइतीघर, थापाथली, तीनकुने, एयरपोर्ट आसपासका क्षेत्रमा पनि भूमिगत तार बिछ्याउने काम अघि बढ्न सकेको छैन।

    काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा भूमिगत तार बिछ्याउने काम केही हदसम्म सन्तोषजनक देखिए पनि भक्तपुर जिल्लामा भइरहेको निर्माण कार्य निकै सुस्त ढंगले भइरहेको देखिन्छ।

    ललितपुर क्षेत्रमा भूगित तार बिछ्याउने काम १० प्रतिशतमात्र भएको प्राधिकरणले जनाएको छ। यसअघि कोभिडका बेला निर्माण कार्य झन्डै डेढ वर्ष अवरुद्ध हुन पुगेको थियो।

    कोभिड महामारीका कारण जारी बन्दाबन्दीका बेला संक्रमण हुने जोखिम बढेपछि कतिपय श्रमिक तथा मजदुरहरू आफ्नो गाउँ फर्किएकाले निर्माण कार्य रोकिन पुगेको थियो। त्यसकारण पनि निर्माणले अपेक्षित गति लिन नसकेको प्राधिकरण स्रोत बताउँछ।

    बिजुलीका पोल पोलमा गुजुल्टिएका तारहरूले सहरी सौन्दर्य कायम गर्न नसकेको र विद्युतीय जोखिम बढाएसँगै सरकारले बिजुली, इन्टरनेटलगायतका तारहरू भूमिगत गर्नुपर्छ भन्ने अवधारणा लिएको थियो।

    विद्युतीय तार भूमिगत गर्न अहिलेको सडक भत्काउनुपर्छ। सडक खन्नका लागि प्राधिकरणले सडक विभागलगायतका निकायबाट समेत अनुमति लिनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको प्राधिकरणले दाबी गरेको छ।

    कोरोना महामारीका बेला निर्माण अवरुद्ध भएपछि १५ महिना म्याद थप गरिएको थियो। थपिएको समयसीमा २०७९ माघमा सकिएपछि सरकारले पुनः म्याद थप गर्दै आएको छ। विद्युतीय तार भूमिगत गर्ने निर्माणको जिम्मा भने भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडले लिएको थियो।

    कुल सात अर्ब लागत अनुमान गरिएको भूमिगत तार बिछ्याउने काममा ढिलाइ हुँदा लागतसमेत बढ्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकाभित्र विभिन्न तीन वटा छुट्टाछुट्टै ठेक्कामा तार भूमिगत गर्ने काम अघि बढेको छ।

  • ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता

    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ।

    सम्झौताअनुसार बैंकले सिमेक्स इंक तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाइडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहनेले आवश्यक कागजात तथा विवरणसहित बैंकमा निवेदन दिए पश्चात् बैकले उचित ठहर्‍याएका ग्राहकलाई तीन कार्यदिनभित्र सहज रूपमा सवारी साधन कर्जा दिनेछ।

    सम्झौता पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंकका सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन्।

  • सुन लुटपाट गर्ने दुई पक्राउ

    सुन लुटपाट गर्ने दुई पक्राउ

    नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिए।

    प्रहरीले पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए। रासस

  • हराउँदै चराहरू

    हराउँदै चराहरू

    किरा मन पराउने चराहरूको संख्या ४० प्रतिशतले घटेको वैज्ञानिकहरूले जनाएका छन्। गौंथली, स्विफ्ट तथा हाउस मार्टिन प्रजातिका चराहरु कुनै समय बेलायती गाउँ तथा कस्बारुमा निकै देखिन्थे। तिनले विषाक्त र बिउ नै मास्ने किसिमका किराहरू खाइदिन्थे।

    किरा मार्ने त्यस्ता चराहरूको संख्या विगत एक दशकमा ४० प्रतिशतभन्दा बढीले घटेको देखिएको छ। ब्रिडिङ बर्ड सर्भे (बिबिएस)ले निकालेको सो रिपोर्टमा यस्ता चराहरूको कमी हुनुमा तिनले आफ्ना चल्ला कोरल्न नसकेको अवस्था हुन सक्ने आकलन गरिएको छ। तिनले गुँड बनाउने ठाउँको अभाव, पुराना चरामैत्री घर हराउन थालेपछि यस्तो अवस्था आएको बताइएको छ। खासमा पहिलेका घरमा चराहरूका लागि भनेर केही दुलादुलीहरू छाडिन्थ्यो। त्यस्ता घरहरू अचेल पाइन छाडेको छ। नयाँ बनेका घरमा चरामैत्री वातावरण नहुनाले तिनले चल्ला कोरल्न नसक्दा तिनको संख्या घटेको हुनसक्ने शोधकर्ताहरूले बताएका छन्।

    कुनै समय त्यस्ता किरा खाने चराहरूको प्रजाति ११९ सम्म थिए। अहिले बेलायतमा ४२ वटा प्रजाति मात्र रहेको बताइएको छ। पहिलेको तुलनामा जंगल र खेती पनि घटेको छ। सन् १९९५ यता त्यस्ता चराहरू ९७ प्रतिशतले घटेका छन्।

    बिबिएस बेलायतको सबैभन्दा लामो समय चलेको नागरिकद्वारा सञ्चालित विज्ञान आयोजना हो। यसमा नौ हजारभन्दा बढी चासो राख्ने सर्वसाधारण सहभागी छन्। पछिल्लो समय सन् २०२२ र २०२३ मा एभियन फ्लुका कारण पनि धेरै चराचुरुङ्गीहरूको ज्यान गएको विज्ञहरू बताउँछन्। यही अवधिमा किराप्रेमी चराहरू पनि सखाप भएको हुनसक्ने विज्ञहरूको आशंका छ।

    विगत ३० वर्षमा यसरी घट्ने चराहरूमा फ्लाई क्याचर र पाइड फ्लाइक्याचरजस्ता चरा पनि परेका छन्। तिनको संख्या ६८ प्रतिशतले घट्न पुगेको छ। ‘यहाँ नाम लिइएका चराहरू मात्र लुप्त भएका हैनन्,’ बिबिएसका राष्ट्रिय आयोजक डा. जेम्स हेवुड भन्छन्, ‘रिपोर्टले हराउँदै गएका खेतीयोग्य जमिन, विलाउँदै गएका जंगल, तिनको विलुप्तताले अन्य किरा र चराहरूको दैनिन्दिनीमा फरक पारेको कुरालाई औँल्याएको छ । त्यसमाथि एभियन फ्लुजस्ता रोगले त तिनको अस्तित्व नै संकटमा पारिदिएको छ।’