
Blog
-

काँक्रेबिहार जंगलमा मृत भेटिएका किशोर–किशोरीको पहिचान खुल्यो

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेबिहार जंगलमा मृत भेटिएका किशोर–किशोरीको पहिचान खुलेको छ। मृत फेला पर्नेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ घर भएका १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुरा बस्ने १६ वर्षीया दीपिका चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार, आज बिहान सवा ११ बजेको समयमा जंगलमा घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार अनुसार, किशोरीको सनाखत उनका काका राजु चौधरीले र किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। -

दर्ता दलको संख्या १३२ पुग्यो

हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यो सँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । २७ भदौमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेका छन् ।
प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल दर्ता गर्नुपर्छ । प्रतिनिधि सभा निर्वाचनमा भाग लिने गरी ५६ दलले दल दर्ता गरेका छन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय यही १० मंसिरसम्मको समय तोकिएको छ । १० मंसिरसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने दलहरूले चुनाव लड्न पाउँछन् ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय छ । सोही दिन बेलुका उम्मेदवारको सूची प्रकाशन हुनेछ। मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने दिने दिन ७ माघ हुनेछ । ८ माघमा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गर्नेछ । पुनः उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । ९ माघमा उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।
-

सुर्खेतको काँक्रेबिहारमा युवा र युवति मृत फेला

सुर्खेतको काँक्रेबिहार जंगलमा दुई युवायुवति मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ पर्ने काँक्रेबिहार जंगलमा युवायुवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार सोमबार बिहान सवा ११ बजेतिर उनीहरु झुण्डिएको अवस्थाम फेला परेका हुन् । जंगलमा घाँस काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको डिएसपी बुढथापाले जानकारी दिए ।
उनीहरुको पहिचान भने खुल्न सकेको छैन । मृत भेटिएका युवकको उमेर करिब २०–२१ वर्ष र युवतीको उमेर १९–२० वर्षको अनुमान गरिएको छ । ‘अहिलेसम्म पहिचान खुलेको छैन, हामी आफन्त खोज्दैछौं ।’ बुढथापाले भने ।
घटनाबारे जानकारी प्राप्त भएलगत्तै इलाका प्रहरी बिट लाटिकोइलीबाट प्रहरी सहायक निरीक्षक कृष्ण बोहोराको कमान्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा ५ जनाको अर्को टोली पनि घटनास्थलमा पुगेको छ ।
-

नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई अनावश्यक जोडियो : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई नियुक्त गरेको विषयमा मुख खोलेको छ ।
प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको जिकिर गरेको छ ।
चौतर्फी आचोचनापछि प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ ।’
‘यसबाहेक अन्य नियुक्तिहरुमा प्रमुख स्वकीय सचिवलाई लाञ्छना लगाई अनावश्यक रुपमा जोडिएको र कतै थर र कतै जातीय पृष्ठभूमि मिलेकै आधारमा जबरजस्ती नातेदार भनी प्रचार गरिएको देखिएकोले त्यसो नगरिदिन हुन पनि अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।
जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त कार्कीले मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सन्दर्भमा जिम्मेवार र संवेदनशील रही सोहीअनुरुपको आचरण र व्यवहार गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
राज्यकोषमा कमभन्दा कम भार परोस् र छरितो रुपमा काम गर्न सकियोस् भनेर निकै कम जनशक्तिबाट प्रधानमन्त्रीको सचिवालय सञ्चालन हुँदै आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘कार्यविधिअनुसार ७ जना सल्लाहकार राख्न सक्ने दरबन्दी भए पनि हाल २ जना मात्र नियुक्त हुनुभएको छ । १९ जना विज्ञ कर्मचारी राख्न सक्ने दरबन्दी भए पनि ४ जना मात्र नियुक्त गरिएको छ, जसमध्ये एक जना अवैतनिक हुनुहुन्छ । स्वकीय सचिवालयमा ४१ जनाको दरबन्दी रहे पनि १४ जना मात्र कार्यरत हुनुहुन्छ’ सचिवालयको विज्ञप्तिमा लेखिएको छ, ‘यी सबै गरी ६७ जनाको दरबन्दी रहेको र विगतका सरकारहरुले प्रायः ती सबैमा पदपूर्ति गरी आएकामा हाल सम्माननीय प्रधानमन्त्रीज्यूले अत्यन्त जरुरी र नगरी नहुने कामका लागि मात्र निकै कम जनशक्तिको अर्थात् २० जनाको मात्र सचिवालय बनाउनुभएको छ ।’
प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) को ३ (३) मा ‘स्वकीय सचिवालयका प्रमुख स्वकीय सचिव प्रधानमन्त्रीबाट नियुक्त हुने र अन्य पदमा प्रधानमन्त्रीको निर्देशनमा प्रमुख स्वकीय सचिवले नियुक्त गर्न सक्ने’ व्यवस्था स्मरण गराएको छ ।
सोही व्यवस्थाबमोजिम प्रधानमन्त्रीले आफूले भरोसा गर्न सक्ने व्यक्तिलाई प्रमुख स्वकीय सचिव नियुक्त गरेको जानकारी गराएको छ । प्रधानमन्त्रीको परिवारमा आफूसँग श्रीमान् मात्र रहेको र वृद्ध उमेरको कारण पारिवारिक रुपमा सहयोग गर्न सक्ने विश्वासिलो व्यक्ति छनोट गरी नियुक्त गरेको स्पष्ट पारेको छ ।
‘प्रधानमन्त्रीको निवासमा रही नजिकबाट सहयोग गर्नुपर्ने र चौबीसै घण्टा पनि सँगै रहेर खट्नुपर्ने भएकाले सुरक्षाका कारणबाट समेत विश्वासिलो, भरपर्दो र रातदिन खटिएर काम गर्न सक्ने व्यक्तिको कानुनसम्मत नियुक्तिलाई लिएर प्रश्न उठाई अन्यथा व्याख्या नगर्न अनुरोध छ,’ प्रेस संयोजक रावलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
-

बैंकद्वारा स्टेशनरी सहयोग

गरिमा विकास बैंकले विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइतबार स्टेशनरी वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत कक्षा १–८ सम्मका आर्थिक रुपमा कमजोर परिवारका जेहनदार विद्यार्थीहरुलाई स्टेशनरी तथा झोला वितरण गरिएको बैंकले जनाएको छ । आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्देश्यका साथ सामग्री वितरण गरिएको जनाईएको छ ।
उक्त कार्यक्रममा बैंकका सुर्खेत शाखा प्रबन्धक बिशाल अधिकारीले आर्थिक अभावका कारण मेहनती विद्यार्थीहरुको शैक्षिक क्रियाकलाप रोकिन नहुने बताए । शिक्षा नै बालबालिका उज्ज्वल भविष्य भएकाले आगमी दिनमा पनि यस्ता सहयोगमुलक कार्यक्रम निरन्तर राखिने उनले बताए ।
-

एकता नभएर कर्णाली पछि परेको हो: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश विकास र समृद्धिको आधार स्तम्भ नै राजनीतिक तथा सामाजिक एकता भएको बताएका छन् । शनिबार नेकपा (एमाले) सुर्खेत जिल्ला कमिटीको आठौँ जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले कर्णाली पछाडि पर्नुको मुख्य कारण इच्छा शक्तिको कमी नभएर एकतामा कमजोरी देखिएको बताए ।
मुख्यमन्त्री कडेँलले पार्टीभित्र र बाहिर देखिने विभाजनको सोचले विकास प्रक्रियामा प्रदेश अगाडि बढ्न नसकेको बताउँदै अब प्रदेश विकासलाई गति दिन सबै पक्ष एकै उद्देश्यका साथ एकै ठाउँमा उभिनुपर्ने औंल्याए । ‘कर्णालीलाई अगाडि बढाउने एउटै तागत भनेको एकता हो, हामी अलग–अलग भएर होइन, एउटै आवाज र साझा दृष्टिकोणका साथ अघि बढेमा मात्र कर्णालीले छलाङ मार्न सक्छ,’ उनले भने, एमाले पछिल्ला चुनौतीलाई अवसरमा बदल्ने उद्देश्यका साथ जनताको घर–घरमा पुगेको छ, तर वरिपरिको मान्छे नहेरी आफ्नै हितलाई मात्र प्राथमिकता दिने व्यवहारले संगठन र प्रदेश दुवै कमजोर बनाएको छ ।’
उनले सामूहिक भावनाभन्दा व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । अवसर खोज्ने मात्रै भन्दा पनि जिम्मेवारी बोकेर अघि बढ्ने समय आएको कँडेलले बताए । उनले हालको राजनीतिक परिस्थिति सहज नभएको उल्लेख गर्दै कठिन अवस्थालाई सहज बनाउन उपयुक्त निर्णय र सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालको प्रयोगमा नेतादेखि कार्यकर्ता सबै जिम्मेवार बन्नुपर्ने सुझाव दिए । ‘सामाजिक सञ्जाल अभिव्यक्तिको माध्यम मात्र होइन, संगठनलाई बलियो वा कमजोर पार्ने उपकरण पनि हो,’ कँडेलले भने, ‘त्यसैले सावधानीपूर्वक प्रयोग गर्नुपर्छ, दुरुपयोग होइन, सदुपयोग गर्नुपर्छ ।’




