Category: News

  • सबैभन्दा बढी गर्मी नेपालगन्जमा

    सबैभन्दा बढी गर्मी नेपालगन्जमा

    कोहलपुरका श्याम केसी बिहान १० बजे नेपालगन्ज ओर्लिए, अनि आफ्नो कामका लागि पैदलै हिँड्न थाले। तर, उनी दुई मिनेटभन्दा बढी पैदल हिँड्न सकेनन्।

    अत्यधिक गर्मी छल्न उनले छाताको साहारा लिए पनि सडक तातिएर पोल्न थालेपछि अटो प्रयोग गरेर गन्तव्यसम्म पुगे। ‘नजिकै सेतु विक चोक जानलाई हिँड्न खोजेको थिएँ,’ उनले भने, ‘सडक तातिएर पोल्दा हिँड्नै सकेन।’

    नेपालगन्जमा पछिल्लो समय अत्यधिक गर्मी बढेको छ। जबकि सडकमा हिँड्दा जुत्ता चप्पल तातिएर हिँडडुल गर्नै कठिन छ। कतिपय मान्छेले गर्मी छल्न छाताको प्रयोग गरे पनि सडक तातिँदा पैदल हिँड्न कठिन भएको बताएका छन्। गर्मीका कारण धेरै मानिस अत्यावश्यक कामबाहेक अरुबेला घरबाट बाहिरसमेत निस्किन छाडेका छन्। सहरहरु सुनसान भएका छन्।

    ‘यस्तो गर्मी छ छाता नलिएर त हिँड्नै सकिँदैन,’ नेपालगन्जकी सत्राधुन थारुले भनिन्, ‘छाता ओढेर पनि सडक तातो हुँदा हिँड्न सकिँदैन।’ घरको ढोकाभन्दा बाहिर घामले तातो हुँदा बाहिर निस्किन समस्या भएको उनले बताइन्।

    शनिबार बिहान ४१.१ भएको नेपालगन्जको तापक्रम दिउँसो ३ बजेसम्म ४१.५ डिग्री सेल्सियससम्म पुगेको थियो। यो देशभरिकै सबैभन्दा बढी तापक्रम हो। नेपालगन्ज, धनगढी र भैरहवामा ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालगन्जपछि धनगढीमा ४०.७ र भैरहवामा ४०.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

    दैनिक तापक्रम उकालो लाग्दै जाँदा नेपालगन्जलगायत पश्चिम तराईका जिल्लामा ‘लु’ (तातो हावा) लागेको छ। तातो हावाले यहाँको जनजीवन प्रभावित पारेको छ।

    बिरामी, बालबालिका, वृद्ध वृद्धा, दीर्घ रोगी र दैनिक ज्यालादारी काम गरेर खानेहरु मजदुरहरु अझ बढी प्रभावित भएका छन्। ‘लु’ का कारण यहाँका अस्पतालहरुमा बिरामीको चापसमेत बढेको छ। गर्मी बढेपछि भेरी अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको यहाँका सूचना अधिकारी संकेत रिसालले जनाए।

    अत्यधिक गर्मीका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा नेपालगन्जमा पानीको संकटसमेत देखिएको छ। गर्मी बढेसँगै नेपालगन्जमा भूमिगत पानीको स्रोत सुक्दै गएको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसीले जनाए।

    ‘नेपालगन्जमा बढ्दो सहरीकरणसँगै भूमिगत पानी सुक्दै गएको छ,’ उनले भने, ‘जमिनमुनि जति पानी सिञ्चित हुनुपर्ने हो सहरीकरणले गर्दा त्यति हुन सकेको छैन। गर्मीका कारण छिटै जमिनले पानी सोस्ने हुँदा भूमिगत पानी घट्दै गएको छ।’

    नेपालगन्जमा वैशाख दोस्रो सातादेखि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायले जानकारी दिए।

    बिहान १० बजेदेखि साँझ ५ बजेसम्मै ताता हावा लाग्ने गरेको उनको भनाइ छ। नेपालगन्जमा अत्यधिक गर्मी हुँदा पनि विद्यालयहरु भने बन्द गरिएको छैन। गर्मीका कारण पठनपाठनमा असहजता भएको विद्यालयहरुले बताएका छन्।

    आइतबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत जानकारी दिएको छ।

    ‘कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ,’ नियमित बुलेटिनमा भनिएको छ, ‘देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।’

  • राष्ट्रिय साइकल दौडको उपाधि प्रकाश र उषालाई

    राष्ट्रिय साइकल दौडको उपाधि प्रकाश र उषालाई

    पोखरामा भएको राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन्।

    पोखरा महानगरपालिका खेलकुद विकास समिति तथा पोखरा महानगरपालिका वडा नम्बर–१७ र कास्की जिल्ला साइक्लिङ संघको आयोजनामा शनिबार पोखरामा भएको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश र उषाले जितेका हुन्।

    प्रकाशले निर्धारित २८ किलोमिटर दूरी एक घण्टा ३७ मिनेट १३ सेकेन्ड र उषाले निर्धारित २० किलोमिटरको दूरी एक घण्टा ३९ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जिते।

    प्रतियोगितामा पुरुषतर्फ एक घण्टा ३९ मिनेट २३ सेकेन्डमा दौड पूरा गरेका सुरज रानामगर द्वितीय र एक घण्टा ४३ मिनेट ५८ सेकेन्डमा दूरी पूरा गरेका हिमाल टमाटा तृतीय भए।

    प्रतियोगितामा एक घण्टा ४८ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका अच्युतकृष्ण खरेल चौँथो र एक घण्टा ५२ मिनेट ५१ सेकेन्डमा दौड पुरा गरेका लक्ष्मण मल्ल पाँचौ भएको पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए।

    महिलातर्फ निर्धारित २० किलोमिटरको दूरी एक घण्टा ४० मिनेट ११ सेकेन्डमा पूरा गरेकी हुमी बुढा मगर द्वितीय र एक घण्टा ५९ मिनेट १ सेकेन्डमा दूरी पूरा गरेकी ईन्द्रकुमारी तामाङ तृतीय भइन्।

    प्रतियोगितामा दुई घण्टा २१ मिनेट १२ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी सोफिया विक चौँथो र दुई घण्टा ३९ मिनेट ३ सेकेन्डमा दूरी पूरा गरेकी प्रेमा परियार पाँचौ भएको अध्यक्ष गोदारले जानकारी दिए।

    उपाधि विजेता दुवैले नगद ५०/५० हजारसहित मेडल र प्रमाणपत्र तथा द्वितीय हुने दुवैले ३०/३० हजार, तृतीय हुनेले २०/२० हजार, चौथो हुने दुवैले १०/१० हजार र पाँचौं हुने दुवैले ५/५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरेको अध्यक्ष गोदारले जानकारी दिए।

    विजेता र सहभागी खेलाडीहरूलाई गण्डकी प्रदेश सभा सदस्य भीमबहादुर कार्की, पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगी, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए।

  • बागमती प्रदेश: मन्त्रालय बढाएपछि भागबण्डा
मिलाउन विशेषाधिकार समिति

    बागमती प्रदेश: मन्त्रालय बढाएपछि भागबण्डा मिलाउन विशेषाधिकार समिति

    सत्ता टिकाउनका लागि मन्त्रालय संख्या बढाएको बागमती प्रदेशमा शनिबार विशेषाधिकार समिति गठन भएको छ।

    करिब डेढ महिना भन्दा बढी विना विभागीय रहेकी नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगरका लागि मन्त्रालय विभाजन गरिएको घटना सेलाउन नपाउँदै भागबण्डाका लागि प्रदेशसभामा विशेषाधिकार समिति बनाइएको हो।

    ५ वटा संसदीय समितिमा दलगत रूपमा भागबन्डा नमिलेपछि विशेषाधिकार समिति गठन गर्नेसम्मको अवस्थामा पुगेका हुन्। प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को परिच्छेद २० को नियम १६७ को व्यवस्थामा भए अनुसार विशेषाधिकार समिति गठन भएको हो।

    शुक्रबार बसेको प्रदेशसभाका मुख्य ५ दलका नेताहरूको बैठकले भागबन्डा मिलाउन विशेषाधिकार समिति बनाउने सहमति गरेका हुन्। यो समिति विशेष परिस्थितिमा गर्ने व्यवस्था रहे पनि भागबण्डाकै लागि बनाइएको चर्चा सुरु भएको छ।

    यसअघि एकीकृत समाजवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने आफ्नो अडान कायम राखेपछि सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको थियो।

    विशेषाधिकार समिति प्रदेशसभाको अधिकार, संसद्को अधिकार वा मानव अधिकार हनन् भएको परिस्थितिमा गठन गर्न सक्ने व्यवस्था रहिआएकोमा अहिले आवश्यकै नभएको समयमा गठन गरिएको हो।

    प्रदेशसभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालको प्रस्तावमा समिति गठन गरेको हो। ढकालको प्रस्तावलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका सचेतक मधुसूदन पौडेल, राप्रपा संसदीय दल सचेतक कुमारी तामाङ र नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले समर्थन गरेका थिए।

    बैठकमा प्रस्तुत भएको उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले स्वीकृतिका लागि पेश गरेका थिए। सभामुख पाठकले पेश गरेको प्रस्ताव बहुमतले स्वीकृत गरिएको हो।

    बैठकले समितिमा १७ सदस्यको नाम अनुमोदन समेत गरेको छ। समिति सभापतिमा एकीकृत समाजवादीबाट मायादेवी शर्मा तथा सदस्यमा कांग्रेसका ४ जना, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाका ३/३ जना, एकीकृत समाजवादीका २, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टीका १/१ एक जना संसद् रहेका छन्।

    प्रदेशसभा बैठक जेठ ६ गते ११ बजे बस्ने गरी स्थगित भएको छ।

  • सहकारी प्रकरणबारे छानबिन समिति बनाउने सहमति

    सहकारी प्रकरणबारे छानबिन समिति बनाउने सहमति

    शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ।

    शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शीर्ष नेताहरुको बैठकबाट सो सहमति जुटेको हो।

    यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो।

    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए। उनले समिति बनाउन कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए।

    ‘आज हामी मुख्य दलको शीर्ष नेताहरुको बैठक बस्यो। प्रधानमन्त्रीजी, नेपाली कांग्रेस सभापतिजी, नेकपा एमाले अध्यक्ष ओलीजी, उपप्रधानमन्त्रीजी लगायतका नेताहरू बस्नुभएको हो। भोलिको सदनको विषयलाई लिएर छलफल भयो। सकारात्मक रुपमा नै अघि बढ्छ। समिति बनाएर जानुपर्छ नै भन्ने हो, सबै सहमत भएकै अवस्था छ। समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ। समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धारणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ। कानूनमन्त्रीजीले सहजीकरण गर्नुहुनेछ। संसदीय समिति बनाएर जाने विषयमा सबैको सहमति भएर समान धारणा बनेको छ।’

    प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतबार बनाउने बताइएको छ। समिति बन्ने भएसँगै आइतबारको संसद् सहज रुपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए।

  • मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

    मकवानपुर कार दुर्घटना: २ जनाको मृत्यु, एक गम्भीर

    कान्तिलोक पथ सडक अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-१२ स्थित चौतारामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    शनिबार ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार भीरबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–६ का १७ वर्षीय विवेक साह र बकैया गाउँपालिका–१२ का ६५ वर्षीय प्रेमबहादुर ब्लोन रहेका छन्। उनीहरुको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    दुर्घटनाका थप एक घाइते छन्। बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साहको उपचार भइरहेको हो। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

  • संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

    संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैन: महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्को गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्न नहुने बताएका छन्।

    कश्यपप्रसाद पौडेलको कथा सङ्ग्रह ‘आरनको आगो’ विमोचन समारोहमा आज यहाँ उनले देशभित्र राजनीतिक सङ्कटको स्थिति नभएको स्पष्ट पार्दै आर्थिक र सामाजिक रूपान्तरणबाट समृद्धि हासिल गर्न सबै एकजुट हुनुपर्ने बताए।

    देशभित्र आर्थिक सङ्कट वास्तविक चुनौतीका रूपमा रहेकाले यसको समाधान गर्न सबै राजनीतिक दललाई एक ठाउँमा आउन उनले आग्रह गरे।

    ‘देशमा राजनीतिक सङ्कट छैन। राजनीतिक सङ्कट त्यसबेला हुन्छ जब हिंसात्मक द्वन्द्व चलिरहेको हुन्छ। ती सङ्कटसँग सामना गरेर हामी एउटा बाटोमा आइसक्यौँ। काम गर्नका लागि प्रतिस्पर्धाको मनोविज्ञान बनाउनुपर्छ’, महामन्त्री शर्माले भने, ‘जुनसुकै दल र आस्था भए पनि अब सोच्ने साझा कुरा भनेको आर्थिक र सामाजिक रूपान्तरण नै हो । त्यसका लागि हामी एकमत हुन आवश्यक छ।’

  • सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ

    सभामुख नै भन्छन्: संसद् अवरोध भइरहे अध्यादेशबाट बाटाे खोल्नुपर्छ

    प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्‌मा जारी गतिरोध अन्त्य नभए अध्यादेशबाट बाटाहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।

    नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश शाखाले आयोजना गरेको ‘पत्रकारिताको सामयिक विमर्श तथा साधारसभा’ कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन्।

    सभामुख घिमिरेले निकट आइरहेको बजेट र बजेटसँग सम्बन्धित विषय पारित गर्नुपर्ने अवस्थामा संसद् सुचारु हुनुपर्ने बताए।

    ‘त्यसमा पनि अहिले त सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिसकेको बेलामा सरकारले बहुमत देखाउँछु भनेर देखाउनका लागि तिथिमिति तोकेको बेला छ,’ उनले भने,‘यस्तो बेला संसद् अवरोध भयो, चलेन भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसद् अन्त्य गरेर अध्यादेशका माध्यमबाट कतिपय बाटाहरू खोल्नुपर्ने परिस्थिति आउँछ।’

    अहिलेकै अवस्थामा देश त्यो बाटोमा गए प्रजातन्त्रको कसरी उपयोग भयो भन्ने प्रश्न उठ्ने घिमिरेले बताए। यी कुराहरू आज सबैको बहसको विषय भएको सभामुख घिमिरेले बताए।

  • नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले

    नेपाली कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ: एमाले

    सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेसले संसद्‌मा मुठभेडमा लैजान चाहेको आरोप लगाएका छन्।

    नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीबार संसद् अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहारको प्रयास गरेको उल्लेख गर्दै उनले कांग्रेसले संसद्‌मा उद्दण्ड, अभद्र, अशिष्ट र अमर्यादित ढंगले प्रस्तुत भएर मुठभेडमा लैजान चाहेको जिकिर गरेका हुन्।

    शनिबार काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा बोल्दै प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्‌मा उद्दण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको नै खिल्ली उडाएको बताए।

    उनले संसद्‌मा कांग्रेसले सत्तापक्षको आशनमा आएर गरिएको दुर्व्यवहारको जति निन्दा गरे पनि कम हुने उल्लेख गरे।

    प्रमुख सचेतक बर्तौलाले सहकारीको ठगी प्रकरण फौजदारी अभियोग भएकाले त्यसलाई संसद्ले नभई सरकारी निकायले अनुसन्धान गर्नुपर्ने तर्क समेत गरे।

  • अक्करे भीरको सहज यात्रा: अपि हिमाल वेश क्याम्प ट्रेकिङ

    अक्करे भीरको सहज यात्रा: अपि हिमाल वेश क्याम्प ट्रेकिङ

    विश्वभरिका पदयात्रा प्रेमीहरुका लागि नेपाल एक आकर्षक गन्तव्य मुलुक रहिआएको छ। यहाँको भूगोल, अतुलनीय प्राकृतिक सम्पदा, यहाँ बसोबास गर्ने रैथाने मानिस र तीनका भाषा, भेषभुषा, खानपिन आदिका कारणबाट नेपाल पदयात्राका लागि अत्यन्त उपयुक्त स्थलको रुपमा रहेको छ।

    हाल प्रचलनमा रुहेका र विकास भइरहेको अधिकांश पदयात्रामार्गहरु पदयात्रीका लागी मात्र विकास नभएर यी मार्गहरु स्थानीय मानिसहरुले आफ्नो दैनिक जीवनयापनका लागि परापूर्वकालदेखि प्रयोग गर्ने बाटाहरु पनि हुन, यसकारण यी पदमार्ग आफैमा स्थानीय जनजीवनको ऐना पनि हो।

    सुदूरपश्चिम जसलाई सुन्दर सुदूरपश्चिमको रुपमा ब्रान्डिङ गर्ने कोसिस भइरहेको छ, वास्तवमै सुन्दर छ। यस प्रदेशमा शुक्लाफाँट र खप्तड वन्यजन्तु, राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षण क्षेत्र रहेका छन्।

    यही अपि नाम्पा संरक्षण क्षेत्रभित्र दार्चुला जिल्लाको गुँरास हिमश्रृखलामा सुदूरपश्चिमकै अग्लो (७१३२) मिटर उचाइको अपि हिमाल अवस्थित छ।

    यो अपि हिमाल र यसको वेश क्याम्पसम्मको पदयात्रा मार्गको विकास, विस्तार र प्रबद्र्धनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास परियोजना युएनडिपीको सह-लगानीमा सञ्चालित ‘जीविकोपार्जनका लागि दिगो पर्यटन विकास कार्यक्रम’ (एसटिएलआरपि) र स्थानीय अपि हिमाल गाउँपालिकाबीच सहकार्य भएको छ।

    यस सहकार्यमा पर्यटक सूचनाकेन्द्र, कोसेली घर, स-साना काठेपुल, पर्यटकीय विश्राम घर, साइनेजहरुको निर्माण तथा स्थापना, डस्टवीनहरुको व्यवस्थापन लगायत होमस्टे संचालनका लागि आधारभूत तालिम र सहजीकरण जस्ता कार्यक्रमहरु संचालन भएका थिए।

    यो क्षेत्रको स्थलगत भ्रमण तथा प्रचारप्रसारका लागि विभिन्न संस्था तथा निकायका प्रतिनिधिहरू सम्मिलित एक टोलीले वैशाखको तेस्रो साता यो क्षेत्रको परिचयात्मक भ्रमण गरेको थियो।

    पहिलो दिन: काठमाडौं- गोकुलेश्वर दार्चुला

    यात्राको पहिलो दिन सहभागी टोलीले आफूलाई पदयात्रामा आवश्यक पर्ने जरुरी सामानहरू जस्तै: ट्रेकिङ्ग जुत्ता, ब्याग, न्यानो ज्याकेट, चस्मा, पानीको बोटल लगायतका सामानहरुको जोहो गरी सबेरै धनगढीका लागि हवाईयात्रा गर्न एयरपोर्ट पुगियो।

    आठ बजेका लागि तय भएको यात्रा हवाई ट्राफिक जामका कारण एक घण्टा ढिला भयो। करिब एक घण्टाको उडानपछि धनगढी एयरपोर्टमा अवतरण भइयो, यहाँबाट नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, होटल संघका प्रतिनिधि साथीहरु र नेपाल टेलिभिजनको क्षेत्रीय टिम समेत हाम्रो टोलीमा मिसिनुभयो।

    धनगढीको प्रचण्ड गर्मी अत्तरिया कटेर गोदावरीको उकालो काट्दा नकाट्दै कम हुन लागिसकेको थियो। महाकाली राजमार्गको भासुको भीर हुँदै अगाडी बढ्दा बाटामा प्रशस्त काफल र ऐसेलु बेच्न राखेको पाइयो।

    रैथाने यी फलफूलको स्वाद लिँदै हामी साहुखर्क भन्ने चिसो स्थानमा रोकियौ। यस ठाउँमा प्रायशः यो राजमार्ग भएर यात्रा गर्ने जोकोही खीर खान खोकिने गर्दछन्। खीर बुढाको नामबाट प्रख्यात यो खीर पसल झण्डै चालीस वर्षबाट संचालित छ।

    हाल दोस्रो पुस्ताबाट सन्चालित यो होटलमा आज पनि ४० लिटरको शुद्ध दूधको खीर पाक्दछ। ढिलो पुग्ने यात्रुहरुले यो खीर चाख्न नपाउन पनि सक्दछन्।

    बैतडीको पाटन एरियामा झुलिरहेका पाकेका गहुँका बालाहरु, सल्लाको रुखबाट भइरहेको खोटो संकलन जस्ता दृश्यहरू नियाल्दै पूर्व तय भएको आइटीनरी अनुरूप बास बस्न दार्चुलाको गोकुलेश्वर पुग्नै पर्ने भएकाले डडेलधुराको उग्रतारा मन्दिरको समेत राजमार्गबाटै दर्शन गरी हामी अगाडी बढी रह्यौँ। लखतरान भएर करिब २५० किलोमिटरको यात्रा पश्चात् यो रात हामी गोकुलेश्वरमा बास बस्यौ।

    दोस्रो दिन :गोकलेश्वर – नौपाटा

    बिहान उठी नियाल्दा गोकुलेश्वर बजार बैतडी र दार्चुलाको सिमानामा अवस्थित सुन्दर बजार रहेछ, यहाँ पर्यटकीय होटल लज सहजै उपलब्ध छ। हाल सन्चालनमा नहरेको एयरपोर्ट पनि रहेको यस बजारबाट तीन घण्टाको कच्ची सडकको यात्रा तय गर्न हामी स्थानीय भाषामा चौलानी नदी भनिने चमेलिया नदीको तीरै तीर अगाडि बढायौँ।

    चमेलिया नदीमा संचालित दुई वटा हाइड्रोपावरलाई पछि छाड्दै सडकको अन्तिम बिन्दु मकरीघाटमा हामी पुग्यौ। यहाँ निर्माण भएको पर्यटक सूचना केन्द्र र कोसेली घरको उद्घाटन कार्यक्रम पश्चात् हामीले दिवा खाना यही खायौ। अपि हिमालको खास पदयात्रा यहाँबाट सुरु भयो।

    करिब ५ हजार स्टेप रहेको शिद्धमकरीघाट पदमार्ग भीरको बाटो ठाडै उकालो लाग्दछ, ढुङ्गाले छापिएको बाटामा फलामका रेलिङ्गले पदयात्रीलाई सुरक्षित महसुस गराउँछ। खुकुरी उद्‌दाउने धार भनिने अग्लो धारिलो ठाँउ हुँदै हामीहरू पहाडको शिरमा पुग्छौ।

    यो भूगोललाई स्थानीय भाषामा मल्देश पनि भनिन्छ। यो भूगोलको बारेमा धेरैपछि मात्र तल्लो भूभागका मानिसहरूलाई जानकारी प्राप्त भयो: जनश्रुति अनुसार माथिल्लो भूभागका मानिसहरुले खुकुरीले काटेको रुखको हाँगा चौलानी नदीमा बग्दै आएपछि मात्र यो बस्तीका बारेमा थाहा भयो।

    मिलेको उर्वरा भूमि र हिमालबाटै व्यास क्षेत्र भएर तिब्बत तिरै व्यापार र आउँजाउँ गरिने तत्कालीन अवस्थाले तल्लो भेगतिर खासै सम्बन्ध नभएको पनि हुन सक्दछ। डाँडामा त्यहाँका अन्तिम राजा सतारसिहको दरबारको भग्नावशेष पनि रहेको छ।

    त्यहाँबाट करिब दुई घण्टाको बाटोपछि हामी नौपाटा पुग्यौ, बाटामा हाम्रो समूह आ-आफ्नै तरिकाले हिँड्दा हामी गलत बाटो झरेछौँ। सही बाटो पुग्न घुम्नुपर्ने हुँदा स्थानीय व्यक्तिले आलुबारीबाटै हामीलाई हिँड्न दिए देख्ने साथीहरुलाई कृषि पर्यटनको सम्भावना हेर्न आलु बारी गएको, बाटो भुलेको हैन भनेर ढाँट्ने प्रयास गर्‍यौ।

    नौपाटामा हामीलाई नौपाटा होमस्टे समूहले स्थानीय चाहे र छलियाँ नाँच सहित न्यानो स्वागत गर्नुभयो। स्थानीय भाषामा बोदलु भनिने भाङ्गका पहिरनमा सजिएका स्थानीय कलाकारहरुको प्रस्तुत बेजोड र मनै लोभ्याउने रहेको थियो। गुजुमुज्ज परेको बस्तीमा साँझमा स्थानीय अन्नका परिकारहरुको स्वादिलो भोजन सहित अत्यन्त राम्रो पारिवारिक वातावरणमा नौपाटा होमस्टेमा हामीहरुले रात बितायौ।

    तेस्रो दिन : नौपाटा -सित्ती होमस्टे

    बिहान सबेरै कोदाको रोटी, तरकारी र लोकल कुखुराको अण्डाको अर्ग्यानिक ब्रेकफास्ट पछि हामीले आफ्नो बाटो ततायौ। गाउँपालिकाको नयाँ भवन हुँदै जुस्कुको ओरालो भएर करिब दुई घण्टामा हामीहरू काठेपुल तरेर चौलानी नदी पारी पुग्यौ, यहाँबाट उकालो लाग्दा बाटोमा गुस्याली झरनाको सुन्दरताले हामीलाई मोहित गरायो।

    पाटु होमस्टेका आमा समूहले चोली घाघरा पहिरनमा सजिएर गरेको स्वागत कार्यक्रम सँगसँगै स्वादिलो दिवा खाना हामीले खाइयो। यात्राको क्रममा घुस्साको पारिलो भीरको बाटोमा ठूला ठूला चीलहरूले समूह समूहमा कावा खाइरहेको दृश्यले आफु पनि चील सरी उड्न सके माथि उडी अपिहिमालको दर्शन गर्न पाए हुन्थ्यो भन्ने इच्छा जाग्दछ।

    बाटामा जहाँ पनि चिया भन्ने बित्तिकै डोलु भनिने स्थानीय जडिबुटीबाट बनेको चिया दिने चलन रहेछ। यो चियामा अझ गानानु भनिने बहु उपयोगी वनस्पतिको मिश्रणले थप मिठासता र शुद्धता थप्दछ। साँझमा वासको लागि सित्ती भन्ने स्थानमा पुगियो।

    भरखरै सुरु गरेको होमस्टे भएपनि आगन्तुक पाहुनाको बसाई सुखद बनाउनका लागि सित्ती होमस्टेले गरेको प्रयत्न सर्हाननीय त छदैछ, पर्यटन प्रतिको स्थानीय उत्साहले यस क्षेत्रमा पर्यटन विकासको सुनौलो भविष्यको समेत अनुमान लगाउन सकिन्छ।

    अपि गाँउपालिकाका युवा अध्यक्ष भक्त सिंह ठेकरे बाेहरा यस क्षेत्रको पर्यटन विकासका लागि लागिपरेका छन्। ट्रेक एण्ड ट्रिट भन्ने आँखा विशेषज्ञहरूको टोलीले यस स्थानका आएर आँखा शिविर सञ्चालन गरिहरेको रहेछ, शिविर सञ्चालन गर्नेहरूलाई हामीसँगै अपि हिमालको वेश क्याम्प सम्मको ट्रेकिङ पालिकाको तर्फबाट संयोजन गरिएको रहेछ।

    आहा ! कस्तो राम्रो आँखा बिशेषज्ञले यो विकट गाउँमा निःशुल्क आँखाको उपचार गर्ने, उनीहरुलाई स्थानीय सरकारले सुन्दर अपि भ्रमण गराउने, धन्यवाद ज्ञापन गर्ने यो भन्दा गतिलो उपाय केही होला र ?

    चौथो दिन: सित्ती – धौली ओडार

    आजको बाटो अलि लामो भएकाले बिहानै हामीले यात्रा सुरु गरी करिब डेढ घण्टाको ओरालो झराई पछि खायकोट भन्ने स्थानमा पुग्यौ। पोहर साल अपि भ्रमण वर्ष मनाएको गाउँपालिकाले यहाँ पर्यटक आगमनको तथ्याङ्क राख्न थालेको छ, सो अनुसार हालसम्म करिब ३५०० पर्यटकहरुले यो क्षेत्र भ्रमण गरेका छन्।

    अपि नाम्पा संरक्षण क्षेत्रको कार्यालय पनि यहाँ रहेको छ। अब हाम्रो यात्रा चमेलीया नदीको किनारै किनार अघि बढ्छ। सागर भेट्न हतारिएको नदीको सुसेली, निगालो घारीको बीचबाट लमतन्न परेको पदयात्रा मार्ग, चराको चिरचिराहट, पारि भीरमा झुण्डिरहेको भीर मौरीका चाकैचाका, गन्तव्यमा पुग्न हतारिएका खच्चडका बथान, ठाउँ ठाउँमा भेटिने भेडी गोठ र तीनका सुरक्षामा खटिएका भोटे कुकुरका एकोहोरो भुकाई, अपि हिमाललाई स्पर्श गरी फर्किएको चीसो सिरेटो, हिमाली भेगमा पाइने वनस्पतीहको बाक्लो जङ्गलले यो खण्ड वास्तवमै अतुलनीय छ।

    अहिले यो भेगमा याँर्सागुम्बा टिप्ने सिजन सुरु भएकाले हुलकाहुल मानिसहरु आफ्ना लागि अत्यावश्यक सामान बोकी उकालो लागेका छन्, उनीहरु अब असारको दोस्रो साता मात्र गाउँ फर्कन्छन्। जाने बाटै यती सुन्दर छ भने अपि तिमी कस्ती हौलि ? यो कौतुहलाताले हाम्रो मन थप रोमान्चित हुन्छ। करिब तीन घण्टाको यात्रा पश्चात् हामी २५०० मिटरको उचाइमा अवस्थित छिरछिरे भन्ने स्थानमा लन्चका लागि रोकिन्छौ।

    पर्यटन विभागबाट यस भन्दा अगावै यो पदयात्रा मार्गको निर्माण गरिएको छ, सोही क्रममा यात्रु विश्राम गृह समेत यहाँ सन्चालनमा छ। यहाँबाट केही बेरको हिँडाई पछि मौसम बदलिन लाग्दछ, सुरुमा सिमसिम परेको पानी पछि बाक्लो हुँदै जान्छ टोलीमा ओडा नभएका हामी सहभागीहरूलाई स्थानीय व्यक्तिहरूले उदारतापूर्वक आ–आफ्नो ओडा शेयर गर्छन्।

    एक घण्टा पछि सिमार भन्ने स्थानमा तातोपानी, चिया खादै केही बेर आगो तापी शरीर न्यानो बनाएपछि हामी पुनः हिँड्छौ। अब दौलीओडार नपुगी कुनै होटल नभेटिने हुनाले थाकेकै शरीर भएपनि हिँडाइको गति बढाउनुभन्दा विकल्प रहेन धन्न पर्यटन मन्त्रालयबाट टोलीमा सहभागी हुनुभएका अधिकृत गुणराज भट्टराईका रमाइला जोकले ऊर्जा प्रदान गरिरह्यो।

    हामीहरू दोमोल हुँदै करिब चार घण्टाको निरन्तर यात्रापछि झमक्क साँझमा दौलिओडार बास बस्न पुग्दछौ। अहिले यो सिजनमा दौलिओडारका आसपासका क्षेत्र गुलजार छ, यार्सागुम्बा सङ्गलनका लागि भेला भएका मानिसका अस्थाई टेन्टले यो क्षेत्र रङ्गीचङ्गी भएको छ। दौलीओडारमा परियोजनाले निर्माण गरेको विश्राम स्थल निजी क्षेत्रले सन्चालन गरिरहेको छ सोही स्थानमा हाम्रो बास भयो।

    पाँचौ दिन : धौली ओडार वेश क्याम्प– धौली ओडार

    हिजोको झरीले यो क्षेत्रमा हिउँ परि सेताम्मे भएछ, दौलीओडारबाट करिब डेढ घण्टाको उकालो पछि ३९०० मिटरको उचाइमा वेश क्याम्प पुगियो। आँखै अगाडि उभिएको अपि हिमाल काइयाकार, नाम्पा, भवैया, लाइकुपिकको प्रथम सात्क्षात्कारमै यात्राको थकाई भाग्यो, यी हिमालहरुको विशालताले हामी मानिसहरु प्रकृतिका अगाडि कति साना र निरीह छौ बुझ्ने मौका समेत पाइयो।

    यो वेश क्याम्प अत्यन्त ठूलो र फराकिलो छ सेतै हिउँले ढाकेको फाँटमा ठाउँ-ठाँउमा फूलहरु फूलेका देख्न सकिन्छ। अपि हिमालको ठ्याक्कै काखमा चमेलिया खोलाको मुहान छ, धार्मिक आस्थाको स्थलको रुपमा रहेको यस मुहानमा सानो मन्दिर पनि रहेको छ। यहाँबाट करिब तीन घण्टाको दूरीमा ४२०० मिटरको उचाइमा अत्यन्त आकर्षक कालीढुङ्गा ताल रहेको छ।

    वेश क्याम्पको मनमोहक वातावरणमा मन्त्रमुघ्द भएर हिउँसँग खेल्दै त्यहाँको सौन्दर्यलाई तस्बिरमा कैद गर्दा समय बितेको पत्तै भएन। यहाँ स्थानीय स्तरमा ‌सन्चालनमा रहेका दुई वटा होटल छन्। मन नहुँदा नहुँदै पनि वेश क्याम्पको स्वर्णिम अनुभवलाई जीवन भरका लागि हृदयमा समेटी साँझमा रातको बसाइका लागि पुनः दौलीओडारझरियो।

    अन्तमा, प्राकृतिक छटाले भरिपूर्ण यार्सागुम्बा, पाँचऔले बनलसुन, बलैचन लगायत अन्य बहुमूल्य जडीबुटी पाइने ओखर, तितिलो, पाड्गर,खस्ररु, भोजपत्र, चिमाल, धुपी लगायतका वनस्पतिको विविधता रहेको अत्यन्त राम्रो र सुरक्षित पदयात्रा मार्ग भएको, प्रकृतिसँग अन्योन्याश्रित सम्बन्ध बनाएर जीवन यापन गरिरहेका पर्यटक मैत्री स्थानीय बासिन्दाहरूले संचालन गरेका होमस्टेको आत्मीय बसाइँका साथमा कम भिडभाड माट्रेकिङ्ग गर्ने सोचमा हुनुहुन्छ भने अपि हिमाल वेश क्याम्पसाच्चै उपयुक्त छनौट हुन सक्दछ।

    लेखक प्रदिप बस्नेत नेपाल पर्यटन बोर्डका अधिकृत हुन्।

  • व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल

    व्यक्ति केन्द्रित समिति गठन हुँदैन: एमाले उपाध्यक्ष पोखरेल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन्।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समस्यालाई केन्द्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन।’ गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे।

    उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए। विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे।

    वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए। उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताए।

    सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए। उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए।