नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग माग गरेका छन्।
बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गिरिबन्धु टि स्टेट प्रकरणमा छानबिन आयोग बन्नुपर्ने कांग्रेसको चाहना रहेको बताएका हुन्।
उनले गिरिबन्धु टि स्टेटबारे सबै कुरा बाहिर आउनुपर्ने बताए। गिरिबन्धु टि स्टेटको सत्यता बाहिर ल्याउनुपर्नेमा कांग्रेस स्पष्ट रहेको उनको भनाइ थियो।
उनले भने ‘गिरिबन्धु टि स्टेटमा ३४४ रोपनी जग्गामा जुन किसिमले त्यसको कुरा आयो। त्यसको सत्यता बाहिर आउनुपर्छ भन्नेमा नेपाली कांग्रेस स्पष्ट छ। नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले ५१ बिगाहा र १९ बिगाहा कांग्रेसले नै बेचेको हो भन्नुभएको छ। त्यो सम्बन्धमा क्लियर हुनुपर्छ। यसमा छानबिन आयोग बन्नुपर्छ भन्ने नेपाली कांग्रेसको चाहना छ।’
प्रकाशित मिति : २०८१ जेठ २४ गते बिहीबार








