Category: Opinion/Editorial

  • सम्पादकीय : १० औं राष्ट्रिय खेलकुदमा ध्यान दिऔँ !

    राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालको खेलकुद क्षेत्रको उच्चतम् उत्सव हो । यसका अवसरमा देशभरिका खेलाडीहरू, कोचहरू, र खेलकुद प्रेमीहरू एकत्रित हुन्छन्, र यसले राष्ट्रिय एकता, स्वास्थ्य, र खेलकुदको महत्वको सन्देश प्रवाहित गर्दछ । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीको खेलकुदको स्तरलाई अझ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यस पटकको प्रतियोगितामा नयाँ खेलहरूको समावेश, आधुनिक प्रविधिको प्रयोग, र खेलाडीहरूको विस्तृत तयारीले यो प्रतियोगिता विशिष्ट हुनेछ । देशभरिका प्रतिभाहरूको पहिचान गर्नु र उनीहरूलाई अवसर प्रदान गर्नु राष्ट्रिय खेलकुद प्रतियोगिताको एक मुख्य उद्देश्य हो । यसले खेलकुदमा रुचि राख्ने नवोदित खेलाडीहरूलाई प्रेरित गर्दछ । यो प्रतियोगिता आयोजना गर्नका लागि हामीले सरकार, खेलकुद संगठनहरू, र जनताको सक्रिय सहभागिता र समर्थन आवश्यक छ । यस प्रतियोगितामा जीतको मात्र महत्व हुँदैन, सहभागिता र प्रतिस्पर्धाको भावना झल्काउनु पनि आवश्यक छ ।

    अहिलेको प्रमुख ध्यान कर्णालीको क्षेत्रमा भएको खेलकुद पूर्वाधारको निर्माणमा केन्द्रित छ । कर्णाली, जुन प्रायः विकासको दृष्टिकोणबाट पछाडि परेको छ, अहिले खेलकुद पूर्वाधारको विकासमा अग्रसर देखिन्छ । अहिले कर्णालीमा आधुनिक खेल मैदानहरू, प्रशिक्षण केन्द्रहरू, र अन्य आवश्यक पूर्वाधारहरू निर्माण भइरहेका छन् । यद्यपि, यस क्षेत्रमा अझै केही काम बाँकी रहेको छ । उदाहरणका लागि, खेलकुद सामाग्रीहरूको उपलब्धता, स्थानीय स्तरमा प्रशिक्षकहरूको तालिम, र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरूको आयोजना गर्ने व्यवस्थाहरू अझै सुधार गर्न आवश्यक छ । राष्ट्रिय खेलकुद प्रतियोगिता निसन्देह नेपाली खेलकुदको जग बलियो बनाउन, खेलाडीहरूको मनोबल उकास्न र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न महत्वपूर्ण छ । यस प्रतियोगिताको सफल आयोजना हाम्रो खेलकुद क्षेत्रको उज्जवल भविष्यको सूचक हुनेछ । यसले हाम्रो युवा पिढीलाई खेलकुदतर्फ आकर्षित गर्ने र उनीहरूमा अनुशासन, मेहनत, र सहयोगको भावना विकास गर्ने छ ।

    अतः सबैले यस प्रतियोगितामा सहभागिता जनाउन, समर्थन गर्न, र राष्ट्रिय खेलकुदलाई उचाइमा पु¥याउन सहयोग गर्नुपर्छ । खेलकुदको माध्यमबाट मात्र हामीले हाम्रो स्वास्थ्यलाई सुधार गर्न सक्दछौं र राष्ट्रको गौरव बढाउन सक्छौं । हामी सबै मिलेर यस प्रतियोगितालाई सफल बनाऔं । खेलकुदको यो उत्सवलाई एकताका सूत्रमा बाधौं र नेपाली खेलकुदलाई विश्वमाझ उज्यालो पारौं । यस प्रतियोगिता मार्फत हामीले हाम्रो खेलाडीहरूको क्षमता र प्रतिभा प्रदर्शन गर्ने मौका पाउँछौं, जसले हाम्रो खेलकुदको भावी दिशा निर्देश गर्नेछ । राष्ट्रकै रूपमा यस खेलकुद उत्सवलाई सफल बनाउन, सबैको संयुक्त प्रयास आवश्यक छ । खेलकुदमा सफलता प्राप्त गर्ने र खेलकुद संस्कृतिलाई प्रवद्र्धन गर्ने यो उत्कृष्ट अवसरलाई हामीले गुमाउन हुदैन ।

  • सम्पादकीयः संसदीय समिति सदस्यमा जिम्मेवारी छैन ?

    ‘दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ अहिले कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिमा छ । तर समितिले हालसम्म पनि यो विधेयकमाथि छलफल अघि दफावास छलफल अघि बढाएको छैन । गत जेठ २७ गते प्रदेश सभामा दर्ता भएको उक्त विधेयक असार ३ गते सभामा टेबुल भएको थियो । दफावार छलफल प्रक्रिया अन्र्तगत असार २८ गते नै सामाजिक विकास समितिमा गएको थियो । समितिको सभापति पदक रिक्त अवस्थामा छ । यसअघिका सभापति घनश्याम भण्डारी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्री भएपछि उक्त पद रिक्त अवस्थामा भएको हो ।

    अव कुरो हो, विधेययकको । विधेयक पनि यस अघि सामाजिक विकास मन्त्रालयले नै कर्णाली प्रदेशसभामा दर्ता गरेको थियो । विधेयकमा दफावास छलफल हुनुपर्ने विषयमा तत्कालिन सामाजिक विकास समिति सभापति घनश्याम भण्डारी पनि जिम्मेवार हुन् । यस अलवा, उनी हाल सामाजिक विकास मन्त्रालयको मन्त्री हुँदैगर्दा समेत उनले यस विषयमा चासो व्यक्त गर्नुपर्ने हो । तर नत कर्णाली प्रदेश सरकारको नै यस विषयमा चासो देखिन्छ न त सामाजिक विकास समितिको नै चासो देखियो । जेष्ठताका आधारमा समेत सामाजिक विकास समितिका अन्य सदस्य मध्यबाट खड्गबहादुर पोखरेलको अध्यक्षतामा बैठक बसेर पनि छलफल चलाउन सकिन्छ । तर यसो हुन पनि सकिरहेको छैन । गाउँमा सडक–पुल ल्यायौँ भन्दै भाषण दिन अघि सर्ने नेताहरुले भने प्रदेश सभामा आफ्नो खास जिम्मेवारी पुरा गरेका छैनन् । प्रदेश सभा सदस्य पोखरेल र यता सामाजिक विकास मन्त्री भण्डारी दुवै नेपाली कांग्रेसका नेता हुन् । राजनीतिक आस्थाका रुपमा समेत उनीहरु नजिक छन् । तर दलित समुदायको सशक्तिकरण सम्बन्धिको विधेयकमा भने उनीहरु सक्रियता देख्न सकिएको छैन । त्यस अलवा सामाजिक विकास समितिमा सदस्य रहेका रणसिंह परियार जस्ता दलित समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरु पनि सेलाएका छन् । उनीहरु यस विधेयकमा चाडो भन्दा चाडो छलफल गरेर अघि बढ्ने प्रयत्नमा लागेका छैनन् । यसरी हेर्दा प्रदेश सभाका सदस्य तथा कर्णाालीको प्रदेश सरकार समेत आफ्नो जिम्मेवारीमा सुस्ताएको अनुभुति हुन्छ ।

    विधेयकले कुनै नौलो विषय समावेश गरेको पनि छैन । नेपालको संविधानले व्यवस्था गरेबमोजिम नै समानुपातिक तवरमा दलित समुदायले अधिकार पाउने हुन् । उनीहरु आफ्नो आधारभुत आवश्यकता प्राप्तीका लागि नै संघर्ष गरिरहेका छन् । यस्तो अवस्थामा मानव अधिकारका रुपमा पनि यो विधेयकमा छिो छरिदो रुपमा छलफल अघि बढ्नुपर्ने हो । तर सभापतिको पद रिक्त भएको वहानामा संसदीय समितिको बैठक नै नबस्नु नागरिकका लागि दुःखको विषय हो । प्रदेश सभा निर्वाचन मार्फत नागरिकले उनीहरुलाई सरकार बनाउन मात्र पठाएका होइनन् । नागरिकका लागि काम गर्न पठाएका हुन् । यस तर्फ कर्णाली प्रदेश सभाका संसदीय समिति सदस्यहरु सदैव सचेत हुन जरुरी छ ।

  • सम्पादकीयः खेलकुद गतिविधिमा सहयोग खै ?

    कर्णालीमा निर्माणाधिन रंगशालाले अहिले नेपालभरको ध्यान आकर्षण गरेको छ । कर्णाली जस्तो भूगोलमा खेलकुदका पूर्वाधारको निर्माण हुनु गर्वको विषय हो । यहाँ वीरेन्द्रनगरमा रंगशाला मात्र होइन, अन्य जिल्लामा समेत खेलकुदका पूर्वाधार निर्माण प्रक्रियामा छन् । तर ठुलाखाले मात्र पूर्वाधारको निर्माणमा ध्यान दिईरहेको कर्णालीले भने वडा स्तर तथा स्थानीय स्तरमा खेलकुदका पूर्वाधार निर्माणमा भने त्यति ध्यान दिएको छैन । खेलकुदको विकासका लागि स्थानीय स्तर निकै महत्वपूर्ण पक्ष हो । खेलाडी निर्माणका लागि उसको बालापनमा नै पूर्वाधारमा पहुँच पुगेको हुनुपर्छ । अनि मात्र हामीले राम्रो खेलाडी पाउन सक्छौ ।

    अहिले कर्णालीका वडा स्तरमा खेलकुदका पूर्वाधारहरु छैनन् । उदाहरणका लागि वीरेन्द्रनगरकै कुरा गर्ने हो भने, यहाँ बालबालिकाका लागि खेल मैदानको अभाव देखिन्छ । वीरन्द्रनगर नगरपालिकाले शहरी क्षेत्रमा खेल मैदान निर्माणका लागि पार्कको व्यवस्था गरेपनि गाउँमा भने यसको व्यवस्थापन भएको देखिदैन । भएका पार्कहरुमा समेत खेलकुदका लागि व्यायाम, योग तथा बालबालिकालाई सामान्य खेलहरुका पूर्वाधारको निर्माण गरिएको छ । तर यो प्रयाप्त भने होइन । यसका लागि सम्बन्धित पालिका पहिलो जिम्मेवार तह हो । पालिकाले स्थानीय स्तरमा नै खेलकुदका पूर्वाधार निर्माण गरेका छैनन् । कुनैपनि खेलाडी उत्पादनका लागि पहिलो, उसले आफ्नो घर छेउमा खेलमैदान जस्ता खेलकुदका पूर्वाधार पाउनुपर्छ । अनि मात्र उ खेलमा व्यस्त हुन सक्छ ।

    पालिकाका वडा कार्यालयले समेत खेलकुदका पूर्वाधार निर्माणका विशेष ध्यान दिनुपर्छ । वडामा भईरहेकका खेलकुदका गतिविधिलाई सघाउँपर्छ । बालबालिकाहरु रित्ता खुट्टा विद्यालयका मैदानमा विहान–विहान दौडिरहेका छन् । उनीहरुलाई सघाउँ पु¥याउनेगरी वडाले ध्यान दिनुपर्छ, सो अनुसारका पूर्वाधारमा सहयोग गर्नुपर्छ । यसो भएन भने हामीले राम्रो सम्भावना भएका बालबालिकालाई समेत खेलकुद क्षेत्रमा पाउन सक्दैनौँ । उनीहरुले यो क्षेत्र परिवर्तन गर्न वाध्य हुनेछन् । पालिकाले आफ्ना बजेटमा भएका खेलकुदका कार्यक्रमलाई स्थानीय स्तरसम्मै समानुपातिक रुपमा लैजानुपर्छ । त्यसैले खागरी वडा र पालिकाले स्थानीय स्तरमा खेलकुदका पूर्वाधार निर्माण र खेलकुद गतिविधिमा सहयोग पु¥याउन जरुरी छ ।

  • एनपिएलले उघारेको सपना

    एनपिएलले उघारेको सपना

    डा शोभाकर पराजुली

    – डा शोभाकर पराजुली
    देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो । यसले देशीय मात्रै नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चा बटुल्न सफल भयो । यसले नेपाली खेल र खेलाडीको अन्तर्राष्ट्रिय परिचय उचाइमा पु¥याएको मात्रै छैन, बरु खेल क्षेत्रको विकासमा नयाँ आयाम पनि थपिदिएको छ ।

    जसरी नेपाली खेलाडीको अन्तर्राष्ट्रिय परिचय उँचो भएको छ, त्यो भन्दा अग्लो नेपाली क्रिकेटको परिचय अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूले पनि बनाइदिएका छन् । एनपिएलमा सहभागी आठ फ्रेन्चाइज समूहका लागि विभिन्न देशबाट आएका दर्जन बढी अन्तर्राष्ट्रिय खेलाडीले नेपाल र नेपाली खेलकुदलाई विश्व मञ्चमा पहिचान पु¥याउन सहयोग पुगेको छ । विदेशी खेलाडी नेपालको घरेलु प्रतियोगितामा भाग लिन आउँदा नेपाली खेलाडीमा उत्साह मात्रै सञ्चार भएको छैन, बरु उनीहरूले नेपालको प्राकृतिक र नेपाली भूगोलको समेत परिचय विश्वमाझ पु¥याएका छन् । यसरी हेर्दा क्रिकेटको यो घरेलु महाकुम्भले खेलमात्रै नभएर आर्थिक, सामाजिक र पर्टकीय हिसाबले पनि देशलाई निकै फाइदा पुगेको छ र सँगसँगै क्रिकेटको यो महामेलाले खेलको मनोरञ्जन मात्रै नभएर देशको अर्थतन्त्रलाई एउटा दिगो दिशा पनि दिएको छ । यो सँगै एनपिएलएले सामाजिक एकता तथा साम्प्रदायिक सद्भावको सुगन्ध पनि छरेको छ ।

    नेपालमा धेरै प्रकारका खेलहरू छन् । ती सबका आआफ्ना महत्व, मान्यता र इतिहास छन् । तिनले हाम्रो समाजलाई भावना र आत्मीयरुपमा पनि जोडिआएका छन् । कुनै कुनै खेलहरू यस्ता पनि छन्, जसले समुदायको पहिचान बोकेका हुन्छन्, इतिहास बोकेका हुन्छन् । ती आफैँमा हाम्रा समाजिक र सांस्कृतिक पहिचान पनि बनेका छन् । कतिपय खेलले नेपाललाई अन्तर्राष्ट्रियरुपमा चिनाइरहेका छन् । त्यस्तै पछिल्लो समय नेपाललाई चिनाउने एउटा आयाम बनेको छ, क्रिकेट पनि ।

    क्रिकेटको विश्व इतिहास सदियांै लामो छ । १६ औं शताब्दीको शुरुआततिर बाहिर खेलिन थालेको यो खेल नेपालमा भने १९औं शताब्दीतिरमात्रै शुरुआत भएको देखिन्छ । त्यो बेलाको राजनीतिक र सामाजिक व्यवस्था अनि अवस्थाका कारण यो खेल कुनै बेला दरबारका पर्खालभित्र मात्रै सीमित थियो । अर्थात् शासकहरूले आफ्नो परिवारको मनोरञ्जनका लागि मात्रै यो खेल खेल्न शुरु गरेका थिए । शासकीय दायराबाट विस्तारै गल्ली र मैदानसम्म आइपुगेको क्रिकेटले अहिले चौतर्फी उत्साह थपिरहेको छ । साँघुरा गल्ली, खेलबारी र अप्ठ्यारा मैदानबाट उठेर नेपाली क्रिकेट अहिले विश्वस्तरीय प्रतिस्पर्धासम्म पुगिसकेको इतिहास छ । यो खेलको साँघुरो इतिहास अहिले यो निकै विराट भइसकेको छ र अझ उज्यालो भविष्यको यात्रामा अघि बढिरहेको छ । १६ औं शताब्दीतिर युरोपबाट सुरु भएको यो खेल अब विश्वभरि फैलिइसकेको छ । र, यो खेल अब मात्रै मनोरञ्जनका लागि मात्रै रहेन, बरु क्रिकेट अब कैयौ राष्ट्रका लागि अर्थतन्त्रको एउटा हिस्सा बनिसकेको छ ।

    नेपालमा कुनै बेला बेलायततिरको सिको गरेर राणाहरूले आफ्ना सन्तान र परिवारबीच मनोरञ्जनका लागि पर्खालभित्र शुरु गरेको क्रिकेट अहिले हरेक नयाँ जन्मिने बालकको सपना बनिसकेको छ । त्यसैमा उनीहरूले भविष्य देखिरहेका छन् र खोजिरहेका छन् । नेपालमा राणा शासनकालदेखि नै क्रिकेटको शुरुआत भएको देखिन्छ । २००४ सालमै नेपालमा क्रिकेट सङ्घ गठन भएको थियो तर त्यसले २०५२ सालमा आएर मात्रै अन्तर्राष्ट्रिय क्रिकेट सङ्घबाट मान्यता पायो । यद्यपि, दरबारका पर्खाल नाघेर आम नागरिकस्तरमा क्रिकेट खेल २००६ सालदेखि नै खेल्न शुरु भएको इतिहासहरू भेटिन्छन् ।

    सुधार र आधुनिकतातिर झुकाव राख्ने कतिपय राणा शासकहरूले जनस्तरमै त्यो बेलादेखि क्रिकेट खेलाउन शुरु गरेका थिए । १९१९ तिर दरबार हाइस्कुलमा क्रिकेट खेलाइएको थियो तर खुल्लारुपमा २०३७ सालतिर मात्रै राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भयो । यस प्रतियोगितामा अञ्चलस्तरीय समूहहरू सहभागी भएका थिए । त्यसपछि विस्तारै गति लिन थालेको क्रिकेटले २०४६ साल तथा २०६३ सालपछि व्यावसायिकरुपमा पनि गति लिन थाल्यो । यसरी शासकको दरबारिया पर्खाल अनि साँघुरा गल्ली र घाँसे मैदानहरू हुँदै अहिले नेपाली क्रिकेट अब अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको छ । नेपाल अब एकदिवसीय क्रिकेटको मान्यता प्राप्त राष्ट्र मात्रै होइन, विश्वकपको प्रतिस्पर्धासम्म पुगिसकेको देश बन्न सफल भएको छ । पुरुष क्रिकेट मात्रै नभएर नेपालको महिला क्रिकेट पनि अहिले विश्वस्तरीय प्रतिष्पर्धामा भाग लिनसक्ने भइसकेको छ ।

    खासगरी अहिले क्रिकेट खेल एशियाली राष्ट्रहरूको एउटा ढुकढुकीका रुपमा स्थापित भइरहेको छ । छिमेकी भारतमा त यो खेल हरेक नागरिकको आस्थाजस्तै बनिसकेको छ । यहाँ क्रिकेटलाई मनोरञ्जन, आर्थिकोपार्जन अनि व्यवसाय मात्रै होइन, यसलाई त धेरै भारतीयले आफ्नो राष्ट्रियताको मानकसमेत बनाइसकेका छन् । अर्थतन्त्रका हिसाबले हेर्ने हो भने त विश्व क्रिकेटको आधाभन्दा बढी हिस्सा भारतकै देखिन्छ । यसमा लगानी गर्नेहरूको तँछाडमछाँड मात्रै होइन, त्यसले गर्दा धेरै खेलाडीको जीवनस्तर पनि उकासिएको छ । अहिले भारतमा ससाना प्रतियोगिताहरू मात्रै होइन, टोलटोलका क्रिकेट खेलाडीहरूको समेत प्रमुख आर्थिक र जीवनको आधार यही खेल बनेको छ र विस्तारै नेपालमा पनि अब हरेक खेलाडीले क्रिकेट खेलेरै जीवन धान्ने आधारहरू तयार भइरहेका छन् । भर्खरै सम्पन्न एनपिएलको पहिलो संस्करण त्यसकै एउटा जीवन्त उदाहरण हो । एनपिएलको पहिलो संस्करणमै देखिएको लगानीको उत्साहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाएको छ । यसको शुरुआती भव्यताले एकातिर क्रिकेटमाथि लगानी सम्भावनाका ढोकाहरू खुलेका छन् भने यसबाट अरु व्यापार व्यवसायमा पनि फाइदा नै पुगेको छ । नयाँ पुस्ताका खेलाडीहरूलाई आकर्षित गर्न मदत गरेको छ भने स्थापित खेलाडीहरूलाई पनि अब भविष्यका लागि देशै छोड्नुपर्ने बाध्यता हट्दैछ भन्ने सन्देश दिएको छ । खेल खेलेरै नेपालमा पनि आरामदायी जीवन बाँच्न सकिन्छ भन्ने एनपिएलले छोडेको छ ।

    हरेक खेल जति व्यक्ति वा उसको व्यक्तिगत स्वास्थ्य तथा मनोरञ्जनका लागि आवश्यक छ, त्यत्तिकै राष्ट्र र राष्ट्रियताका लागि पनि खेलक्षेत्र सबल हुन जरुरी छ । तर हाम्रो राज्यको नीतिगत तहमै खेल क्षेत्रलाई उतिसारो प्राथमिकता दिएको देखिँदैन । त्यसमा पनि खेल अनि खेलाडीको वृत्तिविकासका लागि गठन भएका सङ्घसंस्थाहरूमै राजनीति घुस्दा अझ तहसनहस हुँदै गइरहेको अवस्था छ । टोलका गल्लीहरू हुँदै अन्तर्राष्ट्रिय मैदानसम्म पुगिसकेको नेपाली क्रिकेटको अवस्था पनि त्यो भन्दा फरक छैन । क्रिकेटमात्रै होइन, अहिलेसम्म जति पनि खेलमा नेपालको नाम गाँसिएको छ, त्यो सब मात्रै खेलाडीको आफ्नो मेहनत र परिश्रमबाट मात्रै सम्भव भएको देखिन्छ । राज्यले न खेल क्षेत्रमा लगानी गरेको छ न खेलाडीलाई प्रोत्साहन गर्न सकेको छ ।

    अन्तर्राष्ट्रियस्तरसम्म पुगिसकेको क्रिकेटको हकमा पनि राज्यको यही र यस्तै उदासिनता छ । अहिलेसम्म नेपालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्रिकेट मैदानसमेत छैन । अन्तर्राष्ट्रिय क्रिकेट संघको आधिकारिक मान्यता पाइसकेपछि २०५५ सालमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको थियो । त्यही मौकामा कीर्तिपुर र पुल्चोकमा क्रिकेट मैदानहरू बनेका थिए । यद्यपि, पहिलोपल्ट भएको त्यो अन्तर्राष्ट्रियस्तरको एसिसी ट्रफीमा नेपाल सबै खेलहरूमा पराजित भयो । तथापि, त्यसबाट नेपालमा क्रिकेटको व्यावसायिक यात्राको शुरुआत भएको मानिन्छ । त्यो बेला बनेको क्रिकेट मैदान नेपालमा ठूला प्रतियोगिताहरू खेल्ने र खेलाउने एकमात्रै रङ्गशाला हो । यति हुँदासम्म पनि राज्यले रंगशालालगायत खेल क्षेत्रको भौतिक बिकासमा खासै उदार भएको देखिंदैन । ठाउँठाउँमा मैदानहरू बन्न शुरु भए पनि राज्यले त्यसको अपनत्व नलिँदा ती लथिलिङ्ग अवस्थामा छन् ।

    खेल क्षेत्रको यो भौतिक दूरावस्थासँगै कैयौं खेलाडीको पनि त्यस्तै अवस्था छ । एनपिएलकै बेला थाहा भयो विश्वभरि थुप्रै त्यस्ता राम्रा नेपाली खेलाडीहरू पनि छन् । यही प्रतियोगिता खेल्नका लागि विश्वका ठूल्ठूला क्लबहरूमा खेल्ने नेपाली मूलका खेलाडीहरू पनि एनपिएलमा सहभागी भए । उनीहरूलाई नेपालमै बस्ने वातावरण बनाउनु राज्यको दायित्व हो । त्यस्तै मैदानहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्तरोन्नतिले अरु पनि थुप्रै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू यहाँ खेलाउन सकिन्छ भन्ने सन्देश पनि एनपिएलले छोडेको छ । एनपिएलको पहिलो संस्करणमा खेलाडी, खेल क्षेत्र वा आर्थिक तथा सामाजिक क्षेत्रमा जुनखालको उत्साह, उमङ्ग र गतिशीलता देखिएको छ त्यसलाई राज्यले अवसरका रुपमा लिनुपर्छ । सबैभन्दा पहिला खेल क्षेत्रमा झाँगिएको राजनीतिको अन्त्य हुनुपर्छ । अनि राज्यले नीतिगत तहमै खेल क्षेत्रको भौतिक विकास र खेलाडीको व्यक्तिगत जीवनका लागि निर्णायक भूमिका खेल्नुपर्छ ।