Category: News

  • ‘समिति’ अल्झनमा संसद्

    ‘समिति’ अल्झनमा संसद्

    नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले साढे दुई महिनाअघि सत्ता समीकरण फेरेदेखि नै संघीय संसद् सञ्चालनमामा अवरोध सिर्जना भएको छ। गत फागुन २१ मा दाहालले कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितसँग काँध मिलाएपछि संसद् सञ्चालनमा कुनैकुनै कारणले अवरोध भइरहेको छ।

    प्रधानमन्त्रीले दाहालले सरकारमा रहिरहन संक्रमणकालीन न्यायको विषयमा सहयात्री नेपाली कांग्रेस सहमत हुन नसकेको भन्दै एमालेसँग नयाँ गठबन्धन गरेका थिए। सो गठबन्धनमा रास्वपालगायत सहभागी छन्। रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

    सत्ता समीकरण फेरिँदा संसद्को हिउँदे अधिवेशन जारी थियो। फागुन २४ गते प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी दिइएको भन्दै प्रश्न उठायो। त्यसयता यसै विषयमा संसद् अल्झिएको छ। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर बैठक अवरुद्ध गर्दै आएको छ। कांग्रेसकै अवरोधका कारण सरकारले संसद्को हिउँदे अधिवेशन एक साताअघि नै वैशाख २ गते अन्त्य गर्‍यो।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् चल्न नदिएको बहाना बनाएर सरकारले हिउँदे अधिवेशन बन्द गरेको थियो। कांग्रेसले एकाएक सरकारले अधिवेशन अन्त्य गरेपछि त्यसको विरोध गर्‍यो। ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छ।

    संसद्का कुनै पनि कामकारबाहीमा हामीले अवरोध गरेका थिएनौं। सरकारको तानाशाही प्रवृत्तिका कारण दुई दिन अवरोध भएको हो। यसको जिम्मा सरकारले नै लिनुपर्छ। यो निर्णय (संसद् अधिवेशन अन्त्य) को कांग्रेस निन्दा गर्छ। अलोकतान्त्रिक र संसदीय मूल्यमान्यताविरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौं,’ कांग्रेस नेता एवं सांसद रमेश लेखकले वैशाख २ गते सञ्चारकर्मीसँग भनेका थिए।

    सरकारले हिउँदे अधिवेशन अन्त्य गरेपछि कांग्रेसले बजेट अधिवेशन (हाल जारी) लाई प्रभावित पार्नेगरी रणनीति तयार गरिरहेको थियो। संसद्को बर्खे अधिवेशनको पहिलो दिन वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध भयो।

    नेपाली कांग्रेसको अवरोधका कारण त्यस दिन दुवै सदनको बैठक सञ्चालन हुन सकेन। अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा नेताहरूले धारणा राख्ने परम्परा थियो। त्यो यसपटक हुन पाएन अर्थात् अधिवेशनको पहिलो बैठकमा दलका नेताहरूले बोल्न पाएनन्।

    संसद्को हिउँदे अधिवेशन अन्त्य भएपछि गृहमन्त्री लामिछानेले आफूमाथि लागेको सहकारी ठगी आरोपमा सरकारी सयन्त्रमार्फत ‘क्लिन चिट’ लिन हरसम्भव प्रयास गरेका थिए। उनले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरीको सरुवा गर्नेदेखि महान्यायाधिवक्ताको कार्यालयबाट ‘क्लिन चिट’ लिनेसम्मका प्रयास पनि गरे।

    ‘सहकारी ठगी प्रकरणमा कहिले प्रहरीलाई त कहिले प्रधानमन्त्रीलाई बोल्न लगाइएको छ,’ वैशाख २८ गतेको प्रतिनिधिसभामा कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले भनेका थिए, ‘महान्यायाधिवक्ता त झुक्दाझुक्दा लम्पसार परिसक्नुभयो।’

    कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएकाले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने चेतावनी दिँदै सोहीअनुसार गर्दै आएको छ। संसदीय समिति गठन गर्न सत्ता पक्ष राजी नभएकाले कांग्रेसले संसद्को बर्खे अधिवेशनका बैठक सञ्चालनमा पनि अवरोधलाई निरन्तरता दिएको छ।

    नयाँ समीकरणपछि सत्तापक्षमा पुगेको एमालेले रास्वपा पनि सरकारमा सहभागी भएकै कारण कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेलाई मुछेर संसद्मा बखेडा निकाल्दै आएको आरोप लगाएको छ।

    एमाले सदनमा रास्वपा र त्यसका सभापति एवं गृहमन्त्री लामिछानेको पक्षमा उभिएको छ। संसद्मा यतिबेला रास्वपा र कांग्रेसभन्दा पनि एमाले र कांग्रेस भिडिरहेका छन् भन्ने आभास हुन थालेको छ।

    कांग्रेसले बल्लतल्ल सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसद्मा प्रस्तुत गर्न दियो। राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गरे। सोही दिन दोस्रो बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने कार्यक्रम थियो। तर कांग्रेसको अवरोधका कारण संसद्मा धन्यवादको प्रस्ताव प्रस्तुत हुन सकेन। नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई संसद्बाट धन्यवाद दिने चलन छ। त्यो यसपटक अहिलेसम्म हुन सकेको छैन।

    जेठ ३ गते संसद् चलाउन खोजियो। सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच प्रतिष्ठाको लडाइँ सुरु भयो।

    सभामुखले लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेस सांसदले संसद् अवरोध गर्दा सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल हुन पुग्यो। कांग्रेस सांसद धनराज गुरुङ उपसभामुख इन्दिरा राणा भएको स्थानमा गएर उभिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षको स्थान यहाँ होइन सभामुखअगाडि हो भन्दा उनीमाथि दुव्र्यवहारसमेत भयो।

    सदन मुडभेडतर्फ उन्मुख हुने देखिएपछि सभामुख घिमिरेले बैठक स्थगित गरे। बैठक सञ्चालनका लागि शुक्रबार पनि दलहरूबीच सहमति हुन नसकेपछि सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित गरिएको छ।

    प्रतिपक्षी दलहरूले शुक्रबार संसद्मा आफ्नो भूमिकाबारे छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा प्रतिनिधिसभामा विपक्षी बेञ्चमा बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएको छ।

    विशेषगरी सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरू एउकजुट भएका छन्। बैठकमा कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाका नेता सहभागी थिए। विपक्षी दलबीच बनेको समझदारी सभामुखलाई जानकारी गराइएको छ। जेठ ३ गते संसद्मा भएको घटनामा सभामुख जिम्मेवार रहेको निष्कर्ष पनि प्रतिपक्षी दलहरूले निकालेका छन्।

    सत्ता पक्षले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन आनाकानी गरिरहेको छ। सत्तापक्षले गृहमन्त्रीले संसद्मा बोल्न पाउनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

    प्रधानमन्त्री दाहालले समेत सदनमा गृहमन्त्रीलाई बोल्न अवरोध नगरे समिति बन्ने आश्वासन दिइरहेका छन्। रास्वापले गृहमन्त्री लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने, गृहमन्त्रीले सदनमा बोलेपछि छानबिन समिति बने सरकारलाई समर्थन कायमै राखेर सरकारबाट सबै बाहिरिने वा गृहमन्त्री मात्रै बाहिरिने भन्ने विषयमा छलफल गरिरहेको छ। यस विषयमा रास्वपाले सार्वजनिक रूपमा केही बोलेको छैन।

    सत्ता घटककै नेकपा एकीकृत समाजवादीले भने संसदीय छानबिन समिति बनाउनुपर्ने धारणा राखिसकेको छ। छानबिन समिति बनाउने र नबनाउने झमेलामै अल्झिरहेको संसद्लाई निकास दिन अब दलहरूले ढिला गर्नु हुँदैन।

  • सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण

    सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण

    सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ झोराटोल औराबनीस्थित विपन्न परिवारका २० घरपरिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले आज एक कार्यक्रमकाबिच उक्त बस्तीमा निर्माण भएको भवन परिवारलाई हस्तान्तरण गरेकी हुन्।

    त्यहाँस्थित भूमिहीन दलित र आदिवासी जनजाति तथा अति विपन्न परिवारहरूका लागि सुरक्षित भूमि ९भूमिहीन परिवारलाई भूमिको स्वामित्व हस्तान्तरण गर्ने गरी० र सुरक्षित आवास निर्माण गर्ने उद्देश्यले सुरक्षित आवास परियोजना अन्तर्गत गढी गाउँपालिका औराबनी, ह्याविट्याट फर ह्युम्यानिटी इन्टरनेशनल नेपाल र सङ्कल्प नेपालले संयुक्त रूपमा उक्त भवन निर्माण सम्पन्न गरेको हो।

    गढी गाउँपालिकाले उपलब्ध गराएको जग्गामा भवन निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिएको हो। २०७९ पुस २० गते सम्झौता भएको उक्त परियोजना २०८० फागुन २५ गते सम्पन्न भएको हो। विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्य अन्तर्गत निर्माण गरिएका भवनमा २ वटा कोठा, बरन्डा, भान्सा घर, शौचालय रहेका छन्।

    गढी गाउँपालिकाको ४९ लाख ५० हजार रुपैयाँ, ह्याविट्याट फर ह्युम्यानिटी नेपालको ४० लाख दुई रुपैयाँ, सङ्कल्प नेपालको १८ लाख रुपैयाँ लागत तथा घरधनीको श्रमदान ६ लाख रुपैयाँ बराबर सहित १ करोड ७ लाख ५० हजार २ रुपैयाँ कुल लागतमा उक्त भवन निर्माण परियोजना सम्पन्न भएको हो।

    नवनिर्मित भवन विपन्न परिवारलाई हस्तान्तरण गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वयं समुदाय सक्रिय नहुँदासम्म परियोजना सफल हुन नसक्ने बताइन्।

  • उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा १४ सय बढी मुद्दा फर्छ्यौट

    उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा १४ सय बढी मुद्दा फर्छ्यौट

    उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आइतबार प्रगति विवरण सार्वजनिक गरेको छ।

    अदालतले चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि बैशाख मसान्तसम्म १ हजार ४ सय २१ वटा मुद्दा फर्छ्यौट गरेको छ।

    उक्त अवधिभित्र अदालतले १ हजार ४ सय ४६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेको थियो । अदालतले साउन महिनामा ६८, भदौंमा १ सय १४, असोजमा ७२, कात्तिकमा ३३, मंसिरमा ८४, पुसमा १ सय ३, माघमा २ सय ३९, फागुनमा २ सय ८९, चैतमा २ सय २२ र बैशाखमा १ सय ९७ मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार सरोजनिधि वाग्लेले जानकारी दिए।

    अदालतले वार्षिक रुपमा १ हजार ८ सय ३२ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा हालसम्म ९८.२७ प्रतिशत प्रगति भएको उनले बताए। अदालतमा सबैभन्दा बढी रिट निवेदन ३ सय ७८ वटा दर्ता भएकोमा २ सय ८० वटा फर्छ्यौट भएका छन्।

    यस्तै लागु औषध सम्बन्धी २ सय ५१ वटा मुद्दा दर्ता भएकोमा १ सय ४५ वटा फर्छ्यौट भएका छन् । अंश सम्बन्धी १ सय ७५ वटा मुद्दा दर्ता भएकोमा ७९ वटा मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार वाग्लेले जानकारी दिए। यसै गरी करणी सम्बन्धी १ सय ५४ वटा मुद्दा दर्ता भएकोमा ८८ वटा फर्छ्यौट भएका छन्। चोरी सम्बन्धी १ सय ८ वटा मुद्दा दर्ता भएकोमा ५५ वटा फर्छ्यौट भएका छन्।

    कर्तव्य ज्यान सम्बन्धी ९५ वटा दर्ता भएकोमा ६६ वटा फर्छ्यौट भएका छन्। ज्यान मार्ने उद्योग अन्तर्गत ६७ वटा दर्ता भएकोमा ४१ वटा मुद्दा फर्छ्यौट भएका छन्। सम्बन्ध विच्छेद सम्बन्धी ४७ वटा दर्ता भएकोमा २७ वटा मुद्दा फर्छ्यौट भएका छन्। त्यस्तै अन्य १ हजार २ सय २४ वटा मुद्दा दर्ता भएकोमा ५ सय ४० वटा मुद्दा फर्छ्यौट भएको रजिस्ट्रार वाग्लेले बताए।

    पत्रकार सम्मेलनमा अदालतका मुख्य न्यायाधीश चन्द्रबहादुर सारुले वार्षिक लक्ष्य अनुसार अदालतले मुद्दा फर्छ्यौट गरेको बताए। अदालतमा धेरै कुरा आफूहरूले सुधार ल्याएको उनको भनाई छ। अदालतमा डिसिएम पद्धति लागु भएपछि काममा धेरै सहजता आएको मुख्य न्यायाधीश सारुले बताए। अदालतका आदेश कार्यान्वयन गराउन अनुगमन हुन नसकेको उनले सुनाए।

  • ‘उपाय’मा २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सुनिश्चित

    ‘उपाय’मा २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सुनिश्चित

    प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सुनिश्चित गरेको छ । काठमाडौंमा एक कार्यक्रमबीच उसले ‘क्वार्टरब्याक’ नाम दिइएको उक्त लगानी सुनुश्चित भएको घोषणा गरेको हो ।

    प्रविधिको उपयोग गर्दै सहरभित्र र बाहिर सामान ओसारपसारमा सक्रिय रहँदै आएको यो कम्पनी उपायले नेपालकै सबैभन्दा ठुलो निजी इक्विटी फर्म डोल्मा इम्प्याक्ट फन्टले लगानी गरेको उल्लेख गरेको छ । सन् २०१९ मा स्थापना भएको यो कम्पनीमा योसँगै हालसम्म ७० करोड रुपैयाँ बराबरको लगानी सुनिश्चित भएको छ ।

    आगामी दिनमा नेपालकै पहिलो एक लाख वर्गफुटको तेस्रो पक्ष लजिस्टिक वेरहाउस सुविधा अगाडी बढाउने लक्ष्य राखेको यो कम्पनीले वृहत परियोजनाका लागि थप लगानी सुनिश्चित गर्ने उपायबारे समेत परामर्श र खोजी गरिरहेको उल्लेख गरेको छ । यसका लागि केही अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरुसँग सम्झौता भइसकेको कम्पनीको भनाइ छ । नेपाल बाहिरसमेत विस्तार गरी अन्तर्राष्ट्रिय रुपमा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

    एकीकृत लजिस्टिक सुविधा उपलब्ध गराउँदै आएको उपायले सामान ढुवानीदेखि भण्डारण, परिपूर्ति, सहरदेखि सहरसम्म समानको भुक्तानी र अन्तिम बिन्दु ढुवानीसम्मका सेवाहरु उपभोक्तासम्म सेवा दिँदै आएको छ । अहिलेसम्म २५ हजारभन्दा बढी व्यवसायिक ग्राहकलाई २० लाखभन्दा बढी पटक डेलिभरी दिएको बताउँदै उपायले नेपालका विभिन्न दुई सयभन्दा बढी स्थानमा ढुवानी सुविधा दिएको उल्लेख गरेको छ ।

  • सरकारको प्राथमिकता सुशासन  : कार्की

    सरकारको प्राथमिकता सुशासन : कार्की

    कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सुशासन सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै कार्कीले सुशासन सरकारको पहिलो प्राथमिकता भएको बताएका हुन्।

    कार्कीले प्रदेश संरचनालाई स्थापित गर्ने दाबी पनि गरे। मुख्यमन्त्री कार्कीले सरकारको दोस्रो प्राथमिकता नै प्रदेश संरचना स्थापित गर्नु रहेको बताउँदै जनताले महसुस गर्ने गरी प्रदेश सरकारलाई स्थापित गर्ने स्पष्ट पारे।

    उनले भने, ‘हाम्रो दोस्रो एजेन्डा नै प्रदेश संरचनालाई स्थापित गर्नु हो। जनताले बुझ्न सक्ने, महसुस गर्न सक्ने गरी प्रदेश संरचना स्थापित गर्छौं।’ प्रदेशमा देखिएका समस्या सहमतीय बाटोबाटै हल गर्न सकिने कार्कीले बताए। उनले भने, ‘सहमतिबाहेक यसमा अर्को विकल्प छैन। सबैको सहकार्य हुने गरी सहमति गर्न सरकार तयार छ।’

    एकीकृत समाजवादी पार्टीसँग दूरी बढाउने पक्षमा सरकार नरहेको उनले बताए। मुख्यमन्त्री कार्कीले अहिलेको सत्ता समीकरण आउँदो साढे तीन वर्ष र नयाँ निर्वाचनमा समेत सँगै बढ्ने बताए।

    उनले भने, ‘अहिलको जुन सत्ता समीकरण बनेको छ, यो नयाँ शक्ति सन्तुलनको सुरुआत फागुन २१ बाट भएको छ। यसले आउँदो साढे तीन वर्ष र निर्वाचनपछि पनि सँगै जान तयारी गरेका छौं। यो समीकरण हामी टुट्न दिँदैनौं।’

  • कान्सको रेडकार्पेटमा मेयर बालेन शाह

    कान्सको रेडकार्पेटमा मेयर बालेन शाह

    कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौं महानगरका मेयर बालेन शाह सहभागी भएका छन्।

    शाहले शुक्रबार साँझ सामाजिक सञ्जालमा रेडकार्पेटमा सहभागी भएको तस्बिरहरु सेयर गरेका छन्।

    उनले तस्बिरसंगै कान्स फिल्म फेस्टिभलमा निमन्त्रणका लागि मेयर डेभिड लिसनार्ड धन्यवाद दिएका छन्।

    कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा मेयर शाह फेस्टिभलमा सहभागी हुन मंगलबार फ्रान्स गएका थिए।

    मेयर शाहका साथमा व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्सालसमेत रहेका छन्।

    मेयर शाहले ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कने कार्यक्रम गरेको छ।

  • एमाले भक्तपुर जिल्ला अधिवेशन : दुईवटा प्यानलद्वारा उम्मेदवारी दर्ता

    एमाले भक्तपुर जिल्ला अधिवेशन : दुईवटा प्यानलद्वारा उम्मेदवारी दर्ता

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको नवौं अधिवेशनको अन्तिम दिन शुक्रबार दुईवटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।

    बिहीबारदेखि सुरु भएको दुईदिने अधिवेशनको अन्तिम दिन पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेत र वर्तमान अध्यक्ष तथा उपाध्यक्षको संयुक्त प्यानल गरी दुईवटा प्यानलले उम्मेदवारी दर्ता गराएका हुन्।

    साँंझ सात बजेबाट मतदान तालिका राखिएको छ। नौ बजेभित्र मतदात सकाउने र मतगणना पनि सुरु हुने बताइएको छ। मेसिनमार्फत मतगणना हुने भएकाले निर्धारित समयमा मतदान सकिए नतिजा पनि आजै सार्वजनिक हुने कार्यक्रम छ।

    एमाले भक्तपुरमा वर्चश्व राख्दै आएका पार्टी केन्द्रीय सदस्यसमेत रहेका बस्नेत र उनीविरुद्धको गरी दुईवटा प्यालनले उम्मेदवारी दर्ता गराएका छन्।

    बस्नेतले पार्टी जिल्ला सचिव मोहनवीर श्रेष्ठको अध्यक्षतामा प्यानल तयार पारेका छन्। बस्नेतको प्यानलबाट अध्यक्षमा वर्तमान सचिव श्रेष्ठ, उपाध्यक्षमा बागमती प्रदेशका भक्तपुर क्षेत्र नं २ ख बाट प्रदेश सदस्य रहेका किरण थापा, सचिवमा शम्भुप्रसाद दाहाल र दुईजना उपसचिवमा राजकुमार जोशी (सूर्यविनायक नगरपालिका ५ का वडाध्यक्ष) र उतरा नेपाल (मध्यपुर थिमि नगरपालिकाको उपमेयर उम्मेदवार पराजित) रहेका छन्।

    उता त्यसविरुद्धको प्यानलमा वर्तमान पार्टी अध्यक्ष वचन देउजा, वर्तमान पार्टी उपाध्यक्ष वासुदेव थापा (सूर्यविनायक नगरपालिकाका मेयर) को उम्मेदवारी परेको हो। वर्तमान अध्यक्ष र उपाध्यक्षको नेतृत्वको प्यानलमा अध्यक्षमा देउजा नै, उपाध्यक्ष वर्तमान उपाध्यक्ष वासुदेव थापा नै, सचिवमा विष्णु तामाङ र दुईजना उपसचिवमा सानुकाजी कायस्थ (सूर्यविनायक नगरपालिका १ का वडाध्यक्ष) र सुचित्रा श्रेष्ठलगायतको प्यानल रहेको छ।

    देउजालाई अध्यक्ष बनाउन बस्नेत तथा पूर्व जिल्ला अध्यक्ष राजेन्द्र राजथलाको प्यानलबाट खासै असहमति थिएन, तर उपाध्यक्षमा वर्तमान उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा हटोस् भन्ने चाहना हो। यस हिसाबले खास द्वन्द्व बस्नेत र वासुदेव थापाबीच नै हो। बस्नेत थापालाई माइनस गर्न चाहन्छन् तर अध्यक्ष देउजा थापालाई नै उपाध्यक्ष बनाउन चाहन्छन्। यही द्वन्द्वमा दुईवटा प्यानल खडा भएको बताइएको छ।

    अधिवेशनमा जिल्लाका चार नगरपालिकाबाट चार सय ९८ मतदाता रहेका छन्। त्यसमध्ये सूर्यविनायक नगरपालिकाबाट एक सय ३१, चाँंगुनारायण नगरपालिकाबाट ७२, मध्यपुर थिमी नगरपालिकाबाट ५१ र भक्तपुर नगरपालिकाबाट १६ जना रहेका छन्।

    यसबाहेक जनवर्गीयलगायतका विभिन्न समितिबाट मतदाता अधिवेशन प्रतिनिधि रहेका छन्। पार्टी विधानमा व्यवस्था भएअनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनीतसहित चार सय ९८ जना प्रतिनिधि चयन गरिएको थियो। अधिवेशन भक्तपुर सल्लाघारीको चुनदेवीस्थित इम्पेरियल ब्यांकेटमा भइरहेको छ।

  • करार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भइरहेको छ: मन्त्री अर्याल

    करार श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भइरहेको छ: मन्त्री अर्याल

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भइरहेको बताएका छन्।

    कोहलपुरमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले आगामी साउन महिनादेखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने जानकारी दिए।

    ‘सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेटेको छ, यसलाई सहज बनाउन श्रम र अर्थ मन्त्रालयका अधिकारीबिच छलफल भएको छ,’ उनले भने, ‘करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि हामीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अर्थ मन्त्रालय बिच छलफल गरेका छौँ।’

    छलफलमा विदेशका कारागारमा, कोमा र श्रमिकको शव लगायतका बिषयमा मन्त्रालयले तथ्याङ्क संकलन गरी रहेको पनि मन्त्री अर्यालले बताए। ‘केही तथ्याङ्क प्राप्त भएको छ, पूर्ण तथ्याङ्क प्राप्त भएपछि राहत र उद्धारका लागि रणनीति बनाइनेछ,’ उनले भने।

    श्रम स्वीकृति लिएर गएका नागरिकको उद्धार, शव व्यवस्थापन, बीमा, उपचार लगायतका सबै खालको जिम्मेवारी मन्त्रालय अन्त्रगतको वैदेशिक रोजगार बोर्डले लिने उनले बताए । तर, गैर कानुन तवरबाट श्रम स्वीकृति नलिई गएका श्रमिकको हकमा भने मन्त्रालयले आर्थिक सहयोग नगर्ने मन्त्री अर्यालले स्पष्ट पारे।

    मन्त्रालयले अहिले सीप विकासका कार्यमा जोड दिएको उनको भनाई छ। प्रत्येक श्रमिकलाई सीप सिकाउने गरी मुलुक भर व्यवसायिक सीप विकास तालिम केन्द्र परिचालन गरिने उनले जोड दिएका छन्। आगामी दिनमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले बताए।

    त्यस्तै श्रम सचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितोमा सरल कर्जा उपलब्ध गराउने बिषयमा मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरिरहेको बताए। ‘चर्को ब्याजमा कर्जा लिएर श्रमिकहरू विदेश जानुपर्ने बाध्यता छ, यो बाध्यतालाई हटाउन मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी रहेको छ,’ उलने भने।

    मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने, रोजगार बैकको स्थापना गर्ने, आन्तरिक रोजगारलाई अभिवृद्धि गर्ने गरी प्रधानमन्त्री रोजगारी कार्यक्रमको संरचनालाई परिवर्तन लगायतका कार्य गरिरहेको जानकारी दिए।

    यसैबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री अर्यालले श्रम तथा वैदेशिक रोजगार सम्बन्धी जानकारीलाई व्यापक बनाउन आग्रह गरेका छन्। कोहलपुरमा शुक्रबारदेखी सुरु भएको रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धि तालिम उद्घाटन गर्दै उनले रोजगार संयोजक भनेको सूचना संवाह भएकाले गाउँ–गाउँमा सही सूचना दिएर ठगिनबाट जोगाउन र स्वरोजगार हुनका लागि आवश्यक सहयोग गर्नुपर्ने बताए।

    ‘तपाईहरुको उपस्थिति अत्यन्तै महत्त्वपूर्ण छ, हामीले यस कार्यक्रमको ढाँचा परिवर्तन गरी तपाईँलाई अझै जिम्मेवार बनाउन खोजेका छौँ,’ अर्यालले भने ‘आफ्नो जिम्मेवारीलाई इमान्दारीतका साथ पुरा गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु।’

    श्रम मन्त्रालय अन्त्रगतको प्रधानमन्त्री रोजगार कार्यक्रमले शुक्रबारदेखि लुम्बिनी प्रदेशका रोजगार संयोजकका लागि प्रशिक्षण तालिम सुरु गरेको छ। तालिममा लुम्बिनी प्रदेशका २ सय ४ जना रोजगार संयोजकको सहभागिता रहेको छ। उक्त तालिम यही जेठ ७ गतेसम्म सञ्चालन हुनेछ।

  • टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

    टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता : टपरीमा टीकादेवी र धुपबत्तीमा सुकमाया प्रथम

    ताप्लेजुङ पर्यटन महोत्सवको दोस्रो दिन टपरी गाँस्ने र धुपबत्ती काट्ने प्रतियोगिता आयोजना गरिएको छ। धुपबत्ती बाट्ने प्रतियोगितामा सुकमाया फुरुम्बु प्रथम, कृष्णमाया कार्की द्वितीय र राधिका खवास तृतीय भएकी छन्।

    धुपबत्ती बाट्ने प्रतियोगिताका संयोजक अञ्जना कडरियाका अनुसार प्रतियोगितामा १७ जना सहभागी थिए।

    उता टपरी बुन्ने प्रतियोगितामा टीकादेवी भट्टराई प्रथम, विष्णुमाया गिरी द्वितीय र दिलमाया तामाङ तृतीय भएकी छन्। टपरी बुन्ने प्रतियोगिता संयोजक मात्रिकादेवी प्रसाईका अनुसार प्रतियोगितामा २२ जना सहभागी थिए।

    नयाँ पुस्तालाई दैनिक जीवनमा आइपर्ने सीप पुस्तान्तरणको उद्देश्यसहित टपरी गाँस्ने र धुपबत्ती बाट्ने प्रतियोगिता सञ्चालन गरिएको हो।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले पछिल्लो पुस्तामा बत्ती बाट्ने र दुना–टपरी गाँस्ने सीपको ज्ञान कमै रहेकाले सीप पुस्तान्तरणका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

    शनिबार डोको बुन्ने प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका सदस्य–सचिव देवराज गुरुङले जानकारी दिए।

  • मावि तहमा २५ हजार शिक्षक अभावलाई इन्टर्नले पूरा गर्लान् !

    मावि तहमा २५ हजार शिक्षक अभावलाई इन्टर्नले पूरा गर्लान् !

    अगामी वर्षको नीति तथा कार्यक्रममार्फत् सरकारले विद्यालयमा देखिएको माध्यमिक तहको विषयगत शिक्षक अभाव समस्या हाल गर्न समाधानको उपाय खोजेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा माध्यामिक तहमा अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षकको अभाव पूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसिपमा पठाउने प्रबन्ध गरिने उल्लेख छ । शिक्षाशास्त्र संकाय बाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिम प्राप्त जनशक्तिलाई समेत शिक्षक सेवा प्रवेश गर्न पाउने व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ ।

    सीमित स्रोत खर्चेर धेरै काम लिने सरकारी उपाय सकारात्मक भएपनि यो दीर्घकालिन समाधान भने होइन । यसले सरकारले तय गरेको विद्यार्थीको गुणस्तरीय सिकाईका लागि पर्याप्त हुँदैन । यसमा सरकार संवेदनशील हुनु पर्ने विज्ञको सुझाव छ ।

    हाल विद्यालय तहमा विशेष गरी गणित, विज्ञान र अंग्रेजीको विषयगत शिक्षक अभाव छ । सरकारले नै गठन गरेको शिक्षक दरबन्दी, पुनर्वितरण सुझाव कार्यदलले गरेको अध्ययन अनुसार देशभरी अहिले २५ हजार शिक्षक अभाव रहेको औंल्याइएको छ। कक्षा ११ र १२ मा प्रत्येक विद्यालयमा अनुदानका दुई शिक्षकले धानेका छन् ।

    कार्यदलका संयोजक एवं राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अध्ययनले देशभरी मावि तहको २५ हजार शिक्षक अभाव रहेको देखाएको छ भने कक्षा ११ र १२ मा ६ हजार अनुदानका शिक्षकले धानेका छन् । विद्यार्थीको संख्या बढेको, शिक्षकहरुको अवकाश लिनेक्रम जारी नै रहेका भएपनि दरबन्दी भने उहीँ छ ।

    ‘सरकारले विश्वविद्यालयको विद्यार्थी प्रयोग गरी सीमित स्रोतमा धेरै काम लिने उपाय सकरात्मक भएपनि दीर्घकालिन उपाय होइन,’ अध्यक्ष शर्माले सुझाए, ‘मावि तहमा विषयगत विशेष गरी गणित र विज्ञानमा शिक्षक नै छैनन् । यस्तो अवस्थामा सरकारले दरबन्दी नै सृजना गरी स्थायीरुपमा मावि तहमा शिक्षकको व्यवस्थापनतर्फ संवेदनसिल हुनुपर्छ । अनि मात्र विद्यार्थीको शिक्षण सिकाई गुणस्तीय हुन्छ ।’

    यसैगरी शिक्षक कर्मचारीले राजनीतिक दलको सदस्यता हुन नपाइने सरकारले कानूनी व्यवस्था गरेको छ । ‘सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीति दलको सदस्य हुन नपाउने कानूनी व्यवस्थाको पूर्ण कार्यन्वयन गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘शैक्षिक वातावरण र गुणस्तर सुधारका लागि अवकाशप्राप्त शिक्षक तथा कर्मचारीको ज्ञान, सिप तथा अनुभव उपयोग गरिने छ।’

    शिक्षकलाई छात्रवृत्ति र मासिक तलबको सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलबार बसेको संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

    सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालयको कक्षा कोठाको शिक्षण सिकाईस्तर अभिबृद्धि गर्न सरकारले शैक्षिक क्षेत्र तर्फको नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको हो । ‘शैक्षिक तालिम केन्द्रको क्षमता बृद्धि गरी शिक्षकको क्षमता र शैक्षिक गुणस्तर बढाइने छ,’ राष्ट्रपति पौडेलले घोषणा गरे, ‘यसका लागि शिक्षकलाई छात्रावृत्ति तथा नेतृत्व विकासका अवसर प्रदान गरी शिक्षण पेशालाई थप गुणस्तरीय, आकर्षण र मर्यादित बनाइने छ ।’

    नीति तथा कार्यक्रममा थप भनिएको छ, ‘शिक्षकको पारिश्रमिक चौमासिकबाट अगामी आर्थिक वर्षदेखि मासिकरुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ। शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन, मूल्याङ्कन, तालिमलगायतका विषयको वस्तुपरक जानकारी दिने एकीकृत विधुतीय प्रणाली विकास गरी संचलानमा ल्याइने छ ।’

    यसैसरी नेपाललाई शैक्षिक हब बनाउने सरकारी प्रयासले कानूनी रुप लिएको छ । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विदेशी विद्यार्थी नेपाल भित्राउन भिसा प्रकृया सहज बनाइने बताइएको छ । नेपालमा शिक्षा हासिल गर्न आउने विदेशी विद्यार्थीलाई भिसा सहजीकरण गरिने उल्लेख छ । साथै समान प्रकृतिका पाठ्यक्रममा आधारित विभिन्न विश्वविद्यालयका शैक्षिक उपाधिको समान स्वीकार्यता कायम गर्न नीतिगत तथा संरचनागत प्रबन्ध गरिने समेत उल्लेख छ ।

    सरकारी नीति तथा कार्यक्रमले विद्यार्थीको सिपसँग जोडेर प्राविधिक शिक्षालाई बढी जोड दिएको छ । श्रमबजारको मागको आधारमा राष्ट्रिय दक्षता मापदण्ड निर्माण गर्न प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी पाठ्यक्रम तयार विधि परिमार्जन गरि अघि बढ्ने कार्यक्रम तय गरेको छ ।

    यसैगरी अगामी पाँच वर्षभित्र सबै बालबलिकालाई आधारभूत शिक्षा प्राप्तको सुनिश्चिता गरिने र विद्यालय बाहिर रहेका बालबालिकालाई बैकल्पिक अनौपचारिक शिक्षा प्रदान गर्ने ब्यवस्था गरेको छ । दैनिक जीवनसँग सम्बन्धित विषयमा दस वर्षमाथिका विद्यार्थीलाई सम्बद्ध निकायसँगको सहकार्यमा सिप तथा प्रशिक्षण प्रदान गरिने कार्यक्रम सरकारले तय गरेको छ ।

    साुमदायिक विद्यालयका विद्यार्थीलाई अध्ययनपछिको सही बाटो पहिल्याउन सहयोग पुग्ने गरी सामुदायिक विद्यालयमा करिअर काउन्सेलिङ कार्यक्रम संचालन गरिने व्यवस्था सरकारले गरेको छ ।

    कार्यक्रममा अब सरकारी विद्यालयका विद्यार्थी कक्षा १० पछि आफू के बन्ने भन्ने बारे जानकार भइसक्ने अध्यक्ष शर्माको विश्लेषण छ । ‘जसका कारण कक्षा ११ मा पुग्दा विद्यार्थी आफु कुन बाटो लाग्ने निश्चित भइसक्छन्,’ अध्यक्ष शर्मा भन्छन्,‘अब विद्यार्थीहरु कसैको दबाबमा विषय छनौट गर्न बाध्य बन्ने छैनन्,’ उनले थपे, ‘करिअर काउन्सेलिङले विद्यार्थीले आफनो भविष्य कतातिर लाने बारे स्पष्ट बन्छन् ।’

    अनुसन्धान, नवप्रवर्तन, व्यवसायिक शिक्षा र उद्यमशीलतालाई उच्च शिक्षाको अनिवार्य अंग बनाइने, सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसैवर्ष संचालनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    राष्ट्रपति पौडेलले स्वास्थ्य शिक्षा सबैको पहुँचमा पुर्याउन देशका अन्य स्थान र क्षेत्रमा शिक्षण अस्पतालसहितको स्वास्थ्य संस्था स्थापना गर्ने सरकारी नीति तथा कार्यक्रम रहेको बताए । उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा संचालनका लागि आवश्यक तयारी गरिने राष्ट्रपति पौडेलले बताए ।

    ‘पोखरा विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्यसा शिक्षा शास्त्रमा स्नातक तहको कक्षा सुरु गरने छ, ’राष्ट्रपति पौडेलले भने, ‘पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगत अस्पताल संचालनको तयारी गरिने छ।’