बागमती

पवित्र नामले बगेको

राजधानी अनि नेपालभरिको

बोकेर फोहोर

सकीनसकी देशभरिको।

इतिहास लुकेको छ

वेद, पुराण, बौद्ध युग

थामेको छ।

समय अनुसार परिवर्तन हेर्दै

बगेको छ।

गोपाल, किरात, लिच्छवी,

मल्ल, शाह झेलेको छ

देशको पाप, हत्या, हिंसा

पखाल्दै

माटो पवित्र बनाएको छ

बिरुवा, वनस्पति, प्राणी

सबैसबैलाई

शुद्ध बुद्ध बनाएको छ।

जनताको फोहोर

सत्ताको फोहोर

कहिले कालो

कहिले रातो

रगत पखालेर

देवताको शिरदेखि पाउ

शुद्ध बनाएको छ

विश्रान्ति दिन्छ

अपराधमुक्त बनाउँछ

देश चोख्याउन

आफू

कालोमैलो लिएर बग्छ।

मैले देखेको यो बागमती

सफा थियो

जल उभाई सूर्यलाई चढाउँथ्यो

पिपल, शमी हुर्काउँथ्यौ

सबैलाई फुलाउन

यही बागमतीले परीक्षणमा

बहुदल ल्यायो

गणतन्त्रको भेल ल्यायो

वैचारिक मान्छे जन्मायो

मानववादी जन्माउन सकेन

व्यक्ति, घर र कार्यालय

भव्य बनायो

देश बुझ्न सकेन

स्वार्थको मलमुत्रले पुरियो

नि: स्वार्थ जन्माउन

बाँचुन्जेलीको संसार चिनाउन सकेन।

हुन त बागमतीको के दोष?

ऊ त

ठेलमठेल गर्दै

फोहोर हटाउन

निरन्तर लागेको छ

किनारमा अड्किएको छ

उसैसँग घाँटी जोडेर हिंडेको छ

विचरा! बागमती

गन्ध बोकेर

विश्व गन्हाउने गरेर

आफ्नै सुरमा हिंड्न बाध्य छ

प्राकृतिक रूपमा सजीव भए पनि

निर्जीव बनेर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *